१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बुनु विद्रोह

बुनुको ढुंगानाको फोटो कथालाई 'क्याराभान' पत्रिकाले ॅब्रेकिङ द साइकल’ शीर्षक दिएर चौध पृष्ठ स्थान दियो । नेपाली फोटोग्राफरका लागि यो आफैंमा ठूलै उपलब्धि थियो ।
सुरेशराज न्यौपाने

काठमाडौँ — अध्ययन र कामका सिलसिलामा बुनु ढुंगाना सन् २००१ देखि भारत बस्दै आएकी थिइन्  । केही महिनाको अन्तरालमा घर (नेपाल) आउने–जाने गर्थिन्  ।

बुनु विद्रोह

घर गएका बेला सधैं एकै किसिमका प्रश्नले उनलाई पिरोल्थ्यो । महिनाबारी भएका बेला यो गर्न हुन्छ र हुँदैन ? यतिका उमेर भइसक्यो ? बच्चा पाउन गाह्रो हुन्छ ? ढिलो भयो ? यस्ता प्रश्नले नेपाल गएका बेला उनलाई सधैं उकुसमुकुस हुन्थ्यो । पुरुषप्रधान समाज र त्यहीअनुसारको सोच देखेर । महिला र पुरुषले यो–यो गर्नु हुन्छ र गर्नु हुँदैन भनेर निर्धारण गरिएको थियो । घर, समाज जताततै त्यस किसिमको नियम थियो । सधैं विवाहको दबाब रहन्थ्यो । आफ्नो स्वतन्त्रता भन्ने नै थिएन । ती प्रश्नहरू उनका लागि नौलो भए पनि नेपाली समाजका लागि ‘सामान्य’ थियो ।


जब कि बुनु भने आफ्नो एक्लो जिन्दगीसँग खुसी थिइन् । रमाइरहेकी थिइन् । उनीभित्र अर्को प्रश्नले घर बनाउँथ्यो, ‘मेरा पालामा त यस्तो छ भने आमाका पालामा कस्तो थियो होला ?’ आमा सामुन्ने पनि उनी प्रश्न तेर्स्याउन छाड्थिनन् । आमाछोरीबीच पनि यिनै विषयलाई लिएर चर्काचर्की भइरहन्थ्यो । आमाले सुनाउने सामाजिक नियमहरूमा उनको पूरै असहमति हुन्थ्यो । उनी उल्टो प्रश्न गर्थिन्, ‘महिलालाई रगतले नै हो त चिनाउने ?’ यो समस्या उच्च बाहुन जातिमा अलि बढी नै रहेको उनले पाइन् । वादविवाद गरे पनि उनी आमालाई दोषी भने ठान्दिनथिन् । उनलाई आफ्नी आमा पनि यही समाजमा हुर्केको भन्ने राम्ररी थाहा थियो । ‘यही समाजमा हुर्किएर यहाँका मूल्यमान्यतालाई मान्दै आएपछि उहाँले आफ्ना सन्तानका लागि त्यस्तो सोच्नु स्वाभाविक पनि होला,’ बुनुले भनिन् ।

समाजले बनाएका यी नियमहरूप्रति ढिलोचाँडो उनी विद्रोह गर्न चाहन्थिन् । समाजमा व्याप्त पुरुषप्रधान मूल्यमान्यतालाई उदांगो पार्ने उपायको खोजीमा थिइन् । फोटोग्राफी रुचि भएकाले तस्बिरबाटै आफूभित्र वर्षौंदेखि बलिरहेको ज्वालालाई अभिव्यक्त गर्ने योजना बुनिरहेकी थिइन् । ‘१५ वर्षअघि काठमाडौं पोस्टमा इन्टर्न गर्दा पहिलो पटक कला–संस्कृतिबारे बुझ्ने पाएँ । त्यसले मलाई त्यो क्षेत्रप्रति रुचि जगायो,’ बुनु भन्छिन् । जेएनयूबाट समाजशास्त्रको अध्ययन सकेपछि केही समय फ्रिलान्स रिचर्सर र फोटोग्राफर रूपमा उनले काम गरेकी थिइन् । त्यसपछि त झन् फोटोग्राफी र समाजलाई जोडेर केही नयाँ गर्ने हुटहुटी जाग्न थाल्यो ।


एउटै फोटोमा त्यो सम्भव थिएन । त्यसका लागि एउटै पूरै तस्बिर कथा (भिजुअल स्टोरी) बुन्नुपर्थ्यो । तर, कसरी भन्ने थाहा थिएन । उनी आफैंभित्र वर्षौंदेखि दबेर रहेका कथालाई तस्बिरमा उतार्न चाहन्थिन् । त्यसको पनि उनलाई कुनै भेउ थिएन । तीन बर्षअघि फोटोग्राफीसम्बन्धी एउटा कार्यशालामा भाग लिने मौका पाएकी थिइन् । आफूले गर्न चाहेको त्यही फरक कामलाई अभ्यास गर्ने गर्ने अवसरका रूपमा कार्यशालालाई लिइन् । त्यो दौरानमा एउटा विधवाको कथालाई तस्बिरमा उतारेकी थिइन् । ‘म भने पूरै सन्तुष्ट थिइनँ, आफूलाई लागेको कुरा अरूमार्फत देखाइरहेको जस्तो मात्र लाग्यो । किनकि आफ्नो सोच र धारणा व्यक्त गर्न अरूलाई प्रयोग गरेकी थिएँ । त्यसपछि किन आफैंमा प्रयोग नगर्ने भन्ने भयो,’ बुनुले सम्झिइन् ।


त्यसैपछि उनी आफ्नै तस्बिर उतार्न थाालिन् । त्यतिबेला बल्ल उनले चाल पाइन् । अरूतिर फर्कने लेन्स आफूतिर सोझ्याउँदाको अन्तर । यसक्रममा पुरुषप्रधान समाजले बनाएका परम्परा र मान्यता एकएक गर्दै उनको मस्तिष्कमा घुम्न थाले । छोरीले यो गर्नु हुन्छ, यो हुँदैन । महिनाबारी भएपछि यहाँ छुन हुन्छ, यहाँ हुँदैन भन्ने सामाजिक आदेश उनका कानमा गुन्जन थाले । महिनाको एक पटक आफ्नो परिवारलाई छुनसमेत नपाइने ! पूजा कोठामा प्रवेश निषेध ! यी सबै घटना उनका आँखैसामु उभिए । ती सबैलाई उनलाई आफैंमार्फत तस्बिर उतारिन् । त्यसपछि विवाहका लागि परिवार र समाजबाट प्रहार हुने तिखा प्रश्नहरूलाई पनि सम्झिइन् । ‘यतिका उमेर भइसक्यो, बच्चा पाउन गाह्रो हुन्छजस्ता प्रश्नले महिला भएर जन्मनु नै अभिशाप हो कि भन्ने लाग्थ्यो,’ उनले भनिन् ।


यस्ता प्रश्नका कारण आफूले भोगेको पीडालाई पनि तस्बिरमा उतार्न थालिन् । बुनु कहिले एउटा मात्र टीका लगाउँथिन् । कहिले पूरै अनुहार टीकाले छोप्थिन् । विवाहका बेला बेहुलीले ओढ्ने घुम्टोलाई उनले घाँटीमा बेर्थिन् । रगतको बिम्ब देखाउन अनुहारभरि रातो रङले पोत्थिन् । ट्रायल एन्ड एरर चल्दै गयो । ३६ वर्षको उमेरसम्ममा भोगेका र अनुभव गरेका सामाजिक घटनालाई त्यति सहज पनि थिएन । ‘आफूलाई भित्रैदेखि लागेको कुरा गर्दै गएँ । महिला भएकै कारण सानैदेखि भोगेका विभेदलाई बाहिर ल्याउन थालें’ उनले भनिन् । यस कार्यमा फोटो सर्कलकी सञ्चालक नयनतारा कक्षपतिले पनि उनलाई प्रेरित गरिन् । यो फोटो कथालाई अन्तिम रूप दिन उनलाई करिब ३ महिना लाग्यो । गत कात्तिकमा पाटनमा भएको फोटो काठमाडौंमा बुनुको त्यही फोटो कथा ‘कन्फ्रन्टेसन्स्’ धेरैको प्रशंसा बटुल्यो ।


त्यहीताका भारतमा फरक धारका गहन लेख र विश्लेषणका लागि चिनिएको ‘क्याराभान’ म्यागजिनकी क्रियटिभ डाइरेक्टर तन्वी मिश्र पनि काठमाडौंमै थिइन् । त्यसो त मिश्रका लागि काठमाडौं नौलो थिएन । सन् २०१६ को फोटो काठमाडौं उनैले क्युरेट गरेकी थिइन् । झन्डै एक वर्षअघि फोटो काठमाडौंले आफ्नो वेबसाइटमा राखेको बुनु ढुंगानाको ‘बायो’ देखेर नै आफूलाई बुनु फरक हो भन्ने लागिसकेको मिश्रले बताइन् । त्यसमाथि मिश्र आफैं पनि ‘जेन्डर एन्ड बडी पोट्रेट’ काम गर्न चाहिन्थन् । बुनुले गरिरहेको काम नै त्यही विषयमा केन्द्रित रहेको थाहा पाएपछि त मिश्रलाई ढुंगा खोज्दा देउता भेटेजस्तै भयो । त्यसपछि उनले बुनुसँग सम्पर्क गरिन् । छलफल अगाडि बढ्यो । म्यागजिन र सार्वजनिक प्रदर्शनीको काम फरक हुन्छ भन्ने ।

‘त्यसपछि म फोटो काठमाडौंका लागि गएँ । विशेषगरी फोटो काठमाडौंमा राखिएका तस्बिरप्रति त्यहाँको नेवार समुदाय विशेषगरी पाटनका स्थानीयले के कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने हेर्न चाहन्थे,’ मिश्रले भने । गत दसैंताका भारतमा महिला हिंसाविरुद्धको ‘मिटु’ अभियान उत्कर्षमा थियो । बहालवला मन्त्रीदेखि ठूला कलाकारलाई समेत मिटुको ज्वालाले छोएको थियो । क्याराभनको सम्पादकमण्डलले त्यही महिलाविरुद्धको हिंसाकेन्द्रित रहेर नोभेम्बर अंक निकाल्ने निर्णय गर्‍यो । ‘मिटु अभियान चर्किएकै बेला अंक निकाल्नुपर्छ भन्ने निर्णयमा क्याराभनको सम्पादकमण्डल पुगेको थियो,’ मिश्रले बताइन् । बुनुको फोटो कथालाई पत्रिकाले ‘ब्रेकिङ द साइकल’ शीर्षक दिएर चौध पृष्ठ दियो । नेपाली फोटोग्राफरका लागि क्याराभनजस्तो प्रतिष्ठित पत्रिकामा त्यत्रो स्थान पाउनु आफैंमा ठूलै उपलब्धि थियो । ‘खुसी नहुने त कुरै भएन, त्यो क्याराभनमा । त्योभन्दा पनि आफूभित्र वर्षौंदेखि गुम्सिएर रहेको भावनालाई व्यक्त गर्न गर्न पाएकामा बढी सन्तुष्ट थिएँ,’ बुनुले भनिन् ।


त्यसो त बुनुको फोटो कथा छापिएको अंकमा छापिएका अन्य लेखहरू पनि महिलाविरुद्धको यौन हिंसामै केन्द्रित थिए । ‘बुनुको फोटोग्राफी परम्परागत होइन । त्यसका लागि दिन खोजेको सन्देश दह्रो हुनुपर्छ । आफ्नो अनुभवलाई तस्बिरमा उतार्नु निकै सिर्जनात्मक हो । र, आफ्नो भोगाइ र अनुभव तस्बिरमा उतार्नु आफैंमा एउटा साहसिक काम हो,’ मिश्रले भनिन् ।
यस किसिमको सिर्जनात्मक काम बिरलै देख्न पाइने भएकले पाठकवर्गबाट बुनुको कामको उच्च प्रशंसा भएको मिश्रले सुनाइन् । पाठकले भनेका छन्— गज्जब बुनु !

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?