१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोसीछेउ उभेको जोर सिमल

गणेश रसिक

काठमाडौँ — मञ्जुल–गीत र रामेश–संगीतको त्यो समयलाई फर्केर हेर्दा आधा शताब्दीभन्दा लामो अन्तराल छाएको देखिन्छ । आज इतिहास भइसकेको त्यो कालखण्डका जीवित साक्षीमध्ये अझै केही छँदैछौं । धेरैपछि ती साक्षीहरूको फड्के किनारामा आफूलाई पनि उभ्याउन मन लागेको छ ।

कोसीछेउ उभेको जोर सिमल

कोसीछेउ उभेको सिमल
जति नि बाँच्दिनँ— म
त्यही सिमल काटी बनेको डुंगा
जति नि बाँच्दिनँ— म


वास्तवमा कोसीछेउ उभेको जोर सिमल नै थियो, मञ्जुल–रामेश मित्रता । जब उनीहरू शान्त कोसीको लहरझैं लाग्ने दर्शकसामु उभिएर एउटै गीतार, एउटै तालसुर र एउटै आवाज अनि लयमा मन फुकाएर एक से एक गीत गाउँथे, तब दर्शक–श्रोता खुसीले रमाउँथे, झुमेर नाच्थे । कतिपय गीत सुनेर भावुक हुँदै मन थाम्न नसकी भक्कानिंदै रुन्थे । वर्गीय चेत भएका केही गीत गीत सुनेर जुरुकजुरुक उठ्थे पनि । तर, समय–कालखण्ड एकनास रहिरहेन । भावनाको तरेलीले जोडिएको मञ्जुल–रामेश सम्बन्धबीच नसोचेको दिन आइलाग्यो । यहीकारण २० को दशकमा रचिएका यस्ता लयात्मक, मौलिक र शाश्वत जीवनवादी गीतहरू ४० को दशकसम्म आइपुग्दा एक्कासि ‘भूमिगत’ झैं हुन पुगे ।


झट्ट सुन्दा एकदमै निराशाले भरिएका यी गीतहरू वास्तविक भोगाइको अर्थमा भने अलग थिए । काठमाडौंका गल्लीगल्लीमा हल्लीहल्ली हिँड्ने युरोप–अमेरिकाबाट ओइरिएका बहुरूपी हिप्पीमाझ नेपालको पूर्वी पहाडी कुनाकाप्चाबाट भाग्यवादी सोच बोकेर राजधानी पसेको आलाकाँचा विद्यार्थी युवाहरूको तादात्म्य एकदमै नमिल्दो थियो । एउटा भीड मोहभंगको थियो, अर्को भने स्वप्नद्रष्टाको । तैपनि रामेश–मञ्जुलहरू सुनिंदै थियो, चर्को–चर्को स्वरमा । तर, एक दिन एकाएक नेपथ्यमा अलप भए यी गीतहरू । अचम्मै लाग्छ ।

जबजब म मञ्जुल र रामेशलाई यी गीतका प्रसङ्ग उठाउँथे, तब उनीहरू दुवैजना एकले अर्काको थाप्लोमा जिम्मेवारी पन्छाएर सर्लक्कै पन्छिन्थे । मलाई भने लागिरहन्थ्यो— शब्द, संगीत र गायकीमा यी गीतहरू मूलधारभन्दा नितान्त मौलिक र भिन्दै थिए, जैविक स्वादका थिए । यी गीतहरू यसरी कसरी बेवारिसे हुन सक्छन् ?


यी गीतको सिर्जनाकालीन सहयात्रामा म, रामेश र मञ्जुलसँगै थियौं । त्यसैले मलाई उनीहरू जत्तिकै प्यारो र आत्मीय लाग्छन् यी गीतहरू । आज म रामेश–मञ्जुलसँग भौतिक रूपमा निकै टाढा छु तर यी गीतसँग मानसिक रूपमा निकै नजिक छु । यसैले आज रामेश–मञ्जुल बारेमा कोसीछेउ उभेको जोर सिमलको विम्बमा म उभिएको छु ।


भन्छन्— संसारमा बाँच्न सार्‍है कठिन छ, त्यही भएर बाँच्न सक्नुपर्छ । तब न जीवनले अनेक ‘भोग्न’ पाउँछ । नभन्दै त्यस्तै चमत्कार भयो । झन्डै ३५/३६ वर्षअघि भूमिगत भएका ती गीतहरू ‘कोसीछेउ उभेको सिमल’ नाममा एकाएक बाहिर आए, मञ्जुलको शब्द र रामेशको स्वर–संगीतमा ११ वटा गीत समावेश गरिएको सीडी गत वर्ष सार्वजनिक भयो । म औधी खुसी भएँ त्यस दिन । यो पावन कर्मका लागि सार्थक जनसांस्कृतिक प्रतिष्ठानलाई धन्यवाद भन्नैपर्छ ।


राल्फा जुग अघि र राल्फा न्वारानकै सेरोफेरोमा सिर्जना गरिएका सीडीमा भएका यी गीतमा ‘भोकै मर्ने महाकविका सारङ्गीहरू हाम्रा गीतहरू, कोसीछेउमा उभेको सिमल, नबजाऊ बाँसुरी कान्छा, चाँदनी मेरो गीत सुनी, ओलाङ्चुङ्गोला, कार्यशील जिन्दगी हो, हिउँले टाँसिदिएको छ मेरो धुपीसल्लालाई, भोल्गाकी सानीलाई, धनुबाँसको मुरली त, सालोकेम्बो र मेरो सानो मुरलीमा’ शीर्षकका प्रयोगवादी गीत पनि छन् । मलाई लाग्छ— यी माथिका गीतहरू रामेश–मञ्जुल सृजनाकै उत्कृष्ट सिर्जना हुन् ।


०२४ सालको आरम्भमा मञ्जुलको गीतसङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशनमा आयो, ‘साइँली मोरीलाई’ । त्यसमा समावेश गरिएको केही गीतमा रामेशले संगीत भरिसकेका थिए । तीमध्ये एउटा गीत थियो—


घाँस काटेर आउनेलाई
बाटोमा पर्खेर
एउटा फूल गुराँसको
चुल्ठोमा सिउरी नै दिन्छु ।


रामेशको भित्री इच्छा थियो— यो गीत प्रेमध्वज प्रधानलाई गाउन दिने । कारण प्रेमध्वजसँग रामेशको राम्रो सम्बन्ध थियो र गीतको लय पनि लगभग उहाँकै स्वरलाई मिल्ने ढपको थियो ।

जबजब म रामेशलाई भेट्छु, मञ्जुल पनि छाया बनेर आउँछन् । जब मञ्जुललाई भेटेर आउँछु, रामेश पनि छायाझैं उत्रन्छन् । यसरी दुवै मसँग जोडिएर आउनुमा मैले काठमाडौमा दुवैलाई सँगै भेटेको थिएँ । उनीहरू राल्फा हुँदा सँगै थिएँ । मैले राल्फा छोड्दा पनि उनीहरू दुवैलाई सँगै छाडेको थिएँ । यी दुवैलाई म छुट्याएर सम्झनै सक्दिनँ ।

– गायक मन्जुल र रामेश, २०२४ साल


रामेश र म एकदिन प्रेमध्वजको घर ज्याठा टोल पुग्यौं । अविवाहित प्रेमध्वज आमासँगै बस्थे । त्यो घडी प्रेमध्वज लोकप्रियताको शिखरमा थिए । भर्खरै रेकर्ड भएको ‘गोरेटो त्यो गाउँको’, ‘तारा मात्र होइन तिमीलाई’, ‘घुम्तीमा नआऊ है’ जस्ता गीतहरू रेडियो नेपालका फर्माइसमा सबैभन्दा धेरै बज्थे । यसरी प्रेमध्वज प्रसिद्धिको शिखरमा थिए, हामी (रामेश, रसिक) हरू त कहीं पनि थिएनौं । प्रेमध्वजकहाँ पुगेर साहसी बन्दै रामेशले कुरा कोट्याए—‘दाइ मञ्जुलले लेखेको र मैले संगीत गरेको एउटा गीत छ । तपाईंले गाइदिनुहुन्छ कि भनेर अनुरोध गर्न आएको...।’’


रामेशले पानामा सारेको गीत पढ्न दिए, प्रेमध्वजले सरसर्ती पढे र आफ्नै पाराले मसिनो स्वरमा भने, ‘भाइ, गीत राम्रो छ, लय सुनाउनुहोस् न, कस्तो छ ?’


छेउमै हार्मोनियम र गीतार थियो । रामेशले हार्मोनियम तानेर गीतको लय सुनाए । गीत सुनिसकेपछि प्रेमध्वजले भने, ‘गीत र लय राम्रो रहेछ । म गाउँछु । तर रेडियो नेपालले रेकर्ड गर्ने डेट पो कहिले दिन्छ । त्यसपछि म खबर गर्छु है... ।’
हामी दुवै फुरुङ्ग भएर डेरा फर्कियौं । दिन बिते, महिना बिते । तर ‘खबर’ कहिल्यै आएन । आजभन्दा ५१ वर्षअघिको स्मरण हो यो ।

रामेश आफैंमा कोसी नदी थिए जसलाई रोक्ने कुनै बाँध थिएन । पहरा, पहिरो, झारपात, पतिङ्गर पन्छाउँदै बहँदै गए रामेश । आज रामेश ७५ वर्षमा हिंड्दै छन् भने प्रेमध्वजले हालै ८३ औं जन्मोत्सव मनाए । समयले आज हामी तीनै जना वृद्धभत्ता उमेरमा पुगेका छौं । रामेश कम बोल्ने, मञ्जुल प्रायः बोलिरहनुपर्ने । म भने बीचको । हामी तीन जना तीनै स्वभाव, तीनै प्रकारका चेहरा र तीनै प्रकारका संस्कारबाट आएका थियौं । यसरी सुरु भएको यो सहयात्राबारे कतिलाई जिज्ञासा उठ्न सक्छ, यसको स्पष्टीकरण दिंदै छु । र, म तपसिलबमोजिम बयान लेखिरहेको छु । म जिल्ला भोजपुर, छिनामखु नौलागाउँमा जन्मे । गाउँकै स्कुलमा पाँच कक्षाभन्दा माथिको पढाइ थिएन । र, थप पढ्न २०१६ सालमा भोजपुर सदरमुकाम, विद्योदय हाइस्कुल झरें । त्यही स्कुलमा मेघराज शर्मा नामका व्यक्ति मैंले पहिलोपल्ट चिनें, उनै थिए मञ्जुल ।


भोजपुर, सिक्तेल गोगने गाउँमा २००३ सालमा जन्मेका मेघराज पिता टीकावल्लभ र माता जम्भकुमारी शर्मा (जानुका) को माइला छोरा थिए, स्कुलमा मभन्दा एक कक्षामाथि ७ मा पढ्थे । स्कुल जाने–फर्किने बाटो एउटै । मेघराज मेघझैं धक नमानी बोलिहाल्थे । हँसिलोरसिलो बोली–वचन । जिज्ञासु स्वभाव । तुरुन्तै घुलमिल भएर परिआउँदा गीत गाइहाल्ने । कविता पाठ गरिहाल्ने । यो खुला स्वभावले उनी साथीभाइमाझ प्रिय पनि थिए । मञ्जुलसँगै प्रायः उनका भाइ प्रदीप (प्रदीप नेपाल, नेता तथा साहित्यकार) पनि सँगै हुन्थे ।


मञ्जुलको घर बजारको पूर्वपट्टि अलिक पर पोखरे टोलमा । ठूलो वरको रूखमुनि तेर्सो बाटो । बाटोमुनि रातो माटोले लिपेको खर छाएको मञ्जुलको घर । अझै पनि आँखासामु ताजै छ । स्कुल बिदाको दिन हामी बजार टोलका साथीहरू सन्ते, ईश्वर, रमेश, साकार, सुधाकर, गोपाल, श्याम, देवेन्द्र, दिलीप, चतुर र भाइ रविन, सुवाससँगै हूल बाँधेर मञ्जुलको घरमाथिको बाटो हुँदै घट्टेखोलामा पौडी खेल्न जान्थ्यौं ।


मञ्जुलकै घर जाने बाटोको छेउमा बरबोटे टोल । त्यही बस्थे— त्यो समयका हार्मोनियम बजाउन सिपालु र गाउने रेशम श्रेष्ठ र अर्को थिए— बजारकै रुद्र प्रधान । गाईजात्रामा गाइने रामायण र भजन उनीहरूकै गायनको एउटा महत्त्वपूर्ण भाग थियो भने नृत्यमा बुलुङ, कर्णे, कोमल, एकान्ते, नवीनकिशोर र आईबी राना पनि थिए । त्यस्तै तालवादकमा खड्ग, पारिपट्टिको पूर्ण, छत्र र अन्यहरूमा केदारनाथ, समर, राजेन्द्र, कृष्ण जोशीलाई पनि म सम्झिरहेको छु ।


प्रत्येक शनिबार हाट लाग्ने चलन थियो । त्यो हाटमा प्रायः सेतो कमिज सुरुवालमा काँधमा गम्छा राखेर हिंड्ने एउटा
भलाद्मी भेटिन्थे । सबैले यिनलाई देखेर भन्थे— यी टक्सार बजारका साह्रै ठूला गवैया उस्ताद भाजकृष्ण हुन् । बेला र तबला बजाउँछन् । टक्सारकै जोरधारामा गएर स्वर–राग आलाप्छन् । सुन्दै अचम्म लाग्थ्यो । त्यस्ता अर्का थिए— नाच्न बजाउन त्यति नै सिपालु प्रज्ञारत्न विरही । तर पछि एक्कासि विरही भने अलप भए ।

धेरै वर्षपछि आज मञ्जुल र रामेशसँग जोडेर म पुराना दिन उधिनिरहेको छु । हामी जुन सामाजिक परिवेश र माहोलमा जन्म्यौं, हुर्क्यौं र बढ्यौ, त्यसले मनको भित्री तहमा संवदेनशीलता बढाउन मद्दत गर्‍यो । भक्ते भन्ने एक जना हाम्रो साथी थियो, उसको दाइको नाम थियो टिकुटे । सार्‍है राम्रो मुरली बजाउने । हामी स्कुलबाट छुट्टी भएर फर्किंदा टिकुटे टुँडिखेलमा मुरली बजाइरहेका हुन्थे । कहिले बिदाइ भएर जाने ठूलाबडा र हाकिमलाई अघिअघि बिदाइको मुरली बजाउँदै हिंड्थे । सायद कवि–गीतकार मञ्जुलको किशोर हृदयलाई उसकै मीठो धुनले छोएर होला, उसको गीतमा मुरलीको प्रसङ्ग आउँछ—


मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाका राखूँ भन्छ...
त्यस्तै अर्को—
धनु बाँसको मुरली त भकिम्लाका ठेली
स्वर ल्याइदेऊ मैनाचरी भाका लाइदेऊ फेरि...


मञ्जुल एसएलसी पास गरेर कलेज पढ्न धरान झर्‍यो । म पनि एसएलसी तयारीमा लागें । त्यसपछि हाम्रो भेट एकैचोटि ४ वर्षपछि काठमाडौमा जुर्‍यो । यस्तो संजोग जुराइदिने स्कुलकै साथी थिए— शैलेन्द्र साकार ।


म इलामबाट जेटिए पढ्न काठमाडौ, मीनभवन पुग्दा त्यहीं साकारलाई टुप्लुक्क भेट्दा छक्कै परें । साकार पनि कृषि जेटीए पढाइ सकेर जागिर खोजीमा निस्केका रहेछन् । हामी दुवै जना कृषि प्राविधिक । एक दिन साकारले मलाई मञ्जुलको डेरा ठहिंटी टोलमा पुर्‍यायो । डेरामा पुग्दा ऊ अर्कैर् साथीसित गीत गाउँदै थियो । हामीलाई देख्नासाथै मञ्जुल कम्ती खुसी भएन । आवेशमा जुरुक्क उठेर हामीलाई झ्याम्मै अँगालो हाल्यो र छेउकै अर्को साथीलाई चिनायो— ऊ मेरो साथी गायक संगीतकार रामेश्वर श्रेष्ठ । घर ओखलढुङ्गा ।


रामेश्वर श्रेष्ठ भन्नासाथ मैले अन्दाज गरें— यो रेडियो नेपालबाट लोकगीत गाउने ओखलढुङ्गे रामेश्वर श्रेष्ठ र नारायणभक्त श्रेष्ठ पक्कै हुनुपर्छ । त्यो गीत ‘गाई चर्नेमा भैंसी चर्‍यो’ र ‘स्यामुना’ भाकाको लोकगीत थियो । मेरो अन्दाज सही निस्क्यो । यसरी मेरो पहिलोपल्ट परिचय जोडियो— रामेशसित ।



रामेशलाई मैले ओखलढुङ्गावासी भनेर चिनेपनि उसको जन्मचाहिं खासमा पाल्पा, तानसेनमा भएको रहेछ । तत्कालीन मालका हाकिम पिता कर्णबहादुर श्रेष्ठ र माता शिवलक्ष्मी श्रेष्ठको कोखबाट २००१ साल असार ८ गते जन्मेका साइँला छोरा थिए रामेश ।

२०१९ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिन उनी पहिलो पटक काठमाडौं आएका थिए । काठमाडौंबाटै आईएड पूरा गरेर रेडियो नेपालको ‘हिमाली सङ्गम’ र ‘लोकलहरी’ कार्यक्रममा केही समय करारमा उनले काम गरेका रहेछन् । ओखलढुङ्गा र खोटाङको स्कुलमा पढाउन पनि भ्याए । फेरि काठमाडौं फर्केर बाल संगठनको बालमन्दिरमा झन्डै १८ वर्ष पढाउने काम गरेछन् । त्यसपछि सहायक प्रशासकको जिम्मेवारीसमेत निर्वाह गरेछन् रामेशले । रामेशका काइँला भाइ पनि संगीतमै थिए । उनलाई बोलाउने तीनवटा नाम थियो— अरुन, ऋषि र मनोज । ‘राल्फा’ भएपछि तीनवटा नामबाट अघिल्लो एकएक अक्षर थुतेर नौरान गरियो— अरिम । अरिम गायक छँदै थिए, सँगै मुरली र गीतारवादक एवं दक्ष प्राविधिक पनि थिए । रामेश र अरिम दुई भाइ मात्र नभई हामी पञ्च–पाण्डवजस्तै रायन, मञ्जुल र मसहित सबै बराबरी थियौं ।

आजभन्दा ५२/५३ वर्षअघिको काठमाडौ । अहिलेजस्तो कंक्रिट जङ्गल र सडकको माकुरे जालो फैलिएको थिएन । अहिलेजस्तो ठेलमठेल र घुइँचो थिएन । सम्साँझै यात्रुहरूको अभावमा बसहरू बन्द हुन्थे । राति कार्यक्रम सकिएपछि डेरा फर्कन सार्‍है आपत् पर्ने । हिँडेरै जाने बाहेक अर्को विकल्प थिएन । रामेश, मञ्जुल, रायन, अरिम र मैले यसरी यो सहरमा खुबै पैदल नापेथ्यौं ।
कार्यक्रम सकेर ठहिटी पुग्दा मञ्जुलले खाना खाने गरेको भोटाहिटी शान्ति होटल प्रायः बन्द भइसकेको हुने । त्यसपछिको भोक मार्ने उपाय भनेको रामेश र अरिमले खाना खाने गरेको नरदेवीस्थित दिदीको घर थियो । रामेशसँगै म प्रायः दिदीको घर पुग्थें । चोकभित्र पर्ने दिदीको घरमा झ्यालपरैबाट बत्ती बलिरहेको देखिन्थ्यो । हामी आएको थाहा पाउनासाथै दिदी कपडाको बर्कोमा बेरेको एउटा पोका दिनुहुन्थ्यो । हामी त्यही पोको बोकेर फिर्थ्यौं—मञ्जुलको डेरामा । पोको खोल्दा सिलावरको डेक्चीमा दालभात, तरकारी हुन्थ्यो । हामी एउटै डेक्चीका वरपर घेरिएर कपाकप खान्थ्यौं, जुठोचोखोको बारना केही थिएन ।

संगीत जस्तै कोमल, कञ्चन, निश्चल र स्वच्छ क्षणहरू थिए ती । यसरी दिनरातको संगत जमाउने थलो थियो मञ्जुलको कोठा, जुन धर्मशाला जत्तिकै थियो । कहिलेकाहीं त ७/८ जना पनि त्यहीं सुत्थ्यौं । अहिले पनि ती दामले सम्झन्छु— शैलेन्द्र साकार, रमेश श्रेष्ठ, ईश्वर श्रेष्ठ, गणेश योञ्जन, झापाका दिव्य भुर्तेल, मञ्जुल र म । यस्तै अर्का मनमिल्दा थिए— नीरन । राष्ट्र बैंकमा मञ्जुलसँगै काम गर्ने । खास नाम थियो— निरञ्जन सापकोटा । राम्रा गीतकार थिए, संगीत गर्थे, गाउँथे पनि । तर, अलिक अन्तर्मुखी, भावुक, कम बोल्ने स्वभाव । मैले उनका दुई गीतमा संगीत भरें । पहिलो गीत ‘मलाई लेकाल्नीको माया’ बोलको नवीनकिशोरले गाए । अर्को गीत ‘उजुरी देऊ सकेजति’ म आफैंले गाएँ । त्यस्तै दिव्य भुर्तेलको शब्दमा पनि मैले संगीत गरेको थिएँ । बोल थियो— ‘लाखलाख बालेको बत्ती पङ्खाले हम्केर नदीमा बगाइदेऊ है ।’

रेडियो नेपालमा गाउनैपर्ने रहर । सुरुसुरुमा गाउन पाउनु सार्‍है गार्‍हो । धेरै पटक धाइयो । पाइएन । रामेशसँग जान थाले । बल्ल जनकवि धर्मराज थापाको घैंटोमा घाम लागेछ । लोकलहरी कार्यक्रममा एउटा गीत गाउने अवसर पाएँ । गीत रेकर्ड भयो । साँझपख लोकलहरीमा गीत बज्ने पनि भयो । तर, गीत सुन्नका लागि हामीसँग रेडियो थिएन । अब कहाँ सुन्ने आफ्नो गीत ? जहाँ जसरी भए पनि सुन्नु थियो ।

रामेश र म रेडियो नेपाल बज्दै गरेको चियापसल खोज्न थाल्यौं । खासै चियापसलहरू पनि थिएनन् । भेडासींमा थियो तर, त्यहाँ रेडियो थिएन । रञ्जना सिनेमा हलको फसिकेपको चेप हुँदै हामी दुई भाइ आरएनसी बिल्डिङ पश्चिम सङ्कटा जाने बाटोतिर मोडियौं । बल्ल त्यहाँ रेडियो नेपाल बजिरहेको सानो चियापसल फेला पर्‍यो । खुसी हुँदै भित्र पसेर चिया पिउँदै रेडियो नेपाल सुन्न थाल्यौ । बल्लबल्ल लोकलहरी कार्यक्रमको पालो आयो । जनकवि आफैंले भूमिका बाँधेर कार्यक्रम सुरु गर्दै भने, ‘यस हप्ताका नयाँ लोकगीतहरू प्रस्तुत हुँदै छ, गायक गणेश रसिक...’ यो सुनेर मेरो आङै जिरिङ्ग भयो । गीत सुरु भयो,


‘कहाँको दर्जी भनौला बिष्ट
गैरी गाउँको सन्ते म दर्जी
कसको छोरा भनौला बिष्ट
मेरै बाबु भुन्टे म दर्जी...’


खासगरी विवाह पर्वमा नौमती बाजा बजाएर गाउँदै नाचिने यो गीत पूर्वी पहाडी भेगमा अत्यन्तै लोकप्रिय छ । आफ्नो गीत सुनेर म दङ्गदास । यसरी सुरु भएको थियो मेरो साङ्गीतिक यात्रा । ती सबै यात्रालाई छिचोलेर आउन मलाई साथ, सहयोग, हौसला दिने मेरा अनन्य यारों रामेश, मञ्जुल, निरनलाई म कहिल्यै बिर्सन सक्दिनँ । रामेश कम बोल्ने, बोले पनि चाहिंदो मात्र बोल्ने । मलाई उसको त्यही बानी पर्‍यो । उसको संगीत र गायकी पनि चलनचल्तीभन्दा मौलिक पाराको । मलाई त्यही पारा मन पर्‍यो । मञ्जुलको शब्द, रामेशको संगीतले जोडिन पुगेको दुईको मित्रतामा म पनि टाँसिए । निरनजस्तै रायन र अरिमसँग पनि जोडिन पुगे ।


त्यसबेला अमेरिका र युरोपबाट आएका बहुरूपी हिप्पीको जमात काठमाडौका गल्लीमा छ्याप्छ्याप्ती देखिन्थे । पाश्चात्य संगीतमा बिटल्स्को एकछत्र राज्य थियो । तिनीहरूकै प्रभाव पर्दै गएको नेपाली युवा जमात । कलकताबाट आएका हङ्ग्री जेनेरेसन (भोको पींढी) ले थपेको विद्रोही सोच । गाउँबाट राजधानी छिरेका युवामा पलाएको महत्त्वाकांक्षा र सपनामाझ हाम्रो एउटा छुट्टै समूह हुनुपर्छ । तर चलनचल्तीभन्दा फरक, मौलिक पृष्ठभूमिमा नै मञ्जुलले जुराएको नाम थियो— राल्फा ।


बिना सैद्धान्तिक धरातल र बिना शाब्दिक अर्थ केवल प्रयोगका खातिर जन्मिएको राल्फालाई समयसँगै साहित्यकार पारिजात दिदीको संरक्षकत्व प्राप्त हुन पुग्यो । यसमा मञ्जुल, रामेश, रायन, अरिम, निरन, विमल र निनुजस्ता एक से एक प्रतिभासम्पन्न स्रष्टा सम्मिलित थिए । म पनि केही समय जोडिएँ राल्फासँग । यसरी पारिजात दिदीको प्रवेशसँगै राल्फामा सैद्धान्तिक विचार प्रवेश गरेको थियो भन्ने मलाई लाग्छ ।

मलाई स्मरण भएसम्म राल्फा नाम पहिलोपटक सार्वजनिक भएको पहिलो साङ्गीतिक कार्यक्रम थियो— गोपाल योञ्जन नाइट । ‘रूपरेखा’ मासिक पत्रिकाको आयोजनामा भएको त्यो साङ्गीतिक साँझमा नारायणगोपाल, माणिकरत्न, प्रेमध्वन, तारादेवी, ध्रुव केसी, उदयशमशेर, समा राणा आदिकै लस्करका हामी राल्फा पनि उभिएका थियौं । गीत लेख्ने मञ्जुल, संगीत भर्ने रामेश, गाउने थियौं— हामी राल्फा । बनेपा, बानेश्वर, गान्धी आश्रम मनोहरा फाँटलगायत थुप्रै थलोमा कार्यक्रमहरू भए । उद्घोषण गर्थे मञ्जुल जसको मोहनी शब्द जोडिएको गीती पृष्ठभूमि सुनेर लठ्ठै पर्थे दर्शक र श्रोताहरू ।


म राल्फामा धेरै टिक्न सकिनँ । यसरी म त्यहाँ अटाउन नसक्नुको कारण वैचारिक थिएन । नितान्त मेरो ‘व्यक्तिगत अहम्’ थियो भन्ने मलाई छ । मेरो स्थिति भनेको राल्फाको लस्कर छेउमा उभिएर गाउनु मात्र थियो । मञ्जुल स्तरको गीत पनि लेख्न नसक्ने, रामेश स्तरको संगीत पनि भर्न नसक्ने । त्यसमाथि आफूभित्र आत्मविश्वासको कमी र पछि गएर हीनताबोधले पनि हुन सक्छ— म आफैंमा थिचिन थालेछु । अरूको तुलनामा दबिएको तथा हेपिएको बोध बढ्न थालेछ । अहिले सोच्छु— यस्तो सोचाइ बढ्नाको मूल कारण म काठमाडौ आउनुअघि नै रामेश, मञ्जुल, रायन र अरिमको अघोषित रूपमै समूह तयार भइसकेको अवस्था थियो । म त्यही समूहमा ‘स्पेस’ खोज्न बलात घुस्रिएको जस्तो भएको थियो ।


म अलिक आलोकाँचो र कट्मेरो थिएँछु क्यार । आवेगमा आएर अप्रत्याशित रूपमा राल्फा छोड्ने निर्णयमा पुगेको थिएँ । मञ्जुलको नाममा मैले चार पृष्ठ लामो चिठी लेखेको थिएँ, मनको औडाहा पोख्दै । अहिले पनि त्यो चिठी मसँग सुरक्षित छ । राल्फा छाडेपनि मेरो व्यक्तिगत सम्बन्ध रामेश–मञ्जुलसँग यथावत् रहिरह्यो । सधैं बिरानो लाग्ने काठमाडौं सहरमा ‘तिमी एक्लो छैन’ भन्दै आड दिने साथीहरू तिनै थिए । मलाई परिचय दिलाउने उनै थिए । त्यस्ता गुणी यारोंलाई म कसरी बिर्सन सक्थें ?

हामी गाउने, संगीत गर्ने मात्रै थिएनौं, साहित्य लेखनमा पनि लागेका थियौं । सडक फुटपाथमा सस्तै दाममा छ्यासछ्यास्ती पाइन्थ्यो— रसियन र चिनियाँ कृतिहरू । विश्वप्रसिद्ध साहित्यकार गोर्की, टल्सटोय, लु सुन, चिङचिङमाई आदिका अनूदित कृति तथा चे ग्वेभारा, कार्ल मार्क्स, स्टालिन, माओत्सेतुङको प्रभावमा जन्मेका लेखरचना । राल्फा पनि यी कुरामा अछुतो रहेन । साहित्य–संगीतसँगै वर्गीय र विद्रोही चेत पनि हुर्कंदै गयो । समय परिस्थिति पनि राल्फा ‘प्रतिकूल’ बन्दै गयो । अनेक आशंका र प्रतिकूल घटनाको तिकडममा पर्दै गएपछि मञ्जुलले राष्ट्र बैकको जागिर चट्टै छाडे । अनि रामेशसँग मिलेर आम शोषितपीडित जनतामाझ वर्गीय चेत र आमूल परिवर्तनका लागि जनजागरण अभियानमा होमिए । उनी काँधमा झोला र गीतार बोकेर लागे पूर्वी पहाडतिर ।


मञ्जुल–रामेशले गरेको युगान्तकारी साङ्गीतिक अभियानको सम्पूर्ण गाथा मञ्जुलले ‘सम्झनाका पाइलाहरू’ (२०४४) पुस्तकमा लेखिसकेका छन् । यी हलजोडी जनताका घरदैलो, आँगनसिकुवा चहार्दै नितान्त आत्मपरक गीतलाई पनि त्यत्तिकै विद्रोही चेत भरेर गाउँदै हिंड्न थाले । र, मञ्जुल खुला हृदयले भनिरहेका हुन्थे, ‘राल्फा समूह होइन, परिवर्तनकारी सन्तति हो । प्रत्येक व्यक्ति एउटा राल्फा हो । चेतना, विकासका लागि शोषण र गरिबीबाट मुक्तिका लागि लड्ने एउटा सन्तति हो ।’ ‘जातिपाती होइन समानता हुनुपर्छ’ भन्दै रामेश राल्फा, मञ्जुल राल्फाजस्तै युवाजमातले आफ्ना नामका पछाडि ‘जात’ होइन, राल्फा लेख्ने अभियानै चलाए ।

तीसको दशकसम्म आइपुग्दा राल्फा भूमिगत कम्युनिस्ट पार्टीमा आबद्ध भइसकेको थियो । तर, दुर्भाग्य भनौं, कम्युनिस्ट पार्टीमा भएको राष्ट्रिय/अन्तर्राष्ट्रिय ध्रुवीकरण, आन्तरिक मतभेद र गुटबन्दीको झिल्को राल्फाभित्र पनि छिर्‍यो । अनि राल्फा दुई चिरा पर्‍यो । यसरी ‘सङ्कल्प’ भएर मञ्जुल, रामेश र अरिम अनि ‘वेदना परिवार’ भएर रायन बेग्लै कित्तामा उभिए । यही कालखण्डमा रायनले ‘सिम्मा’ गीतिनाटक तयार पारे ।


पक्कै पनि मञ्जुल र रामेशसँग कुनै पार्टीको सिकारु झोले कार्यकर्ता भएर आएको पृष्ठभूमि थिएन । उनीहरू दुवै नेपाली जनसंगीत र साहित्यमा आफ्नै पहिचान बनाएपछि पार्टीमा भित्रिएका थिए । तर, पार्टीको अनुशासनभित्र मात्रै नअटाउने अलिक स्वतन्त्रता र न्यायका पक्षपातीसमेत थिए । यसकारण पार्टीसँग अन्तरविरोध बढ्दै गयो । बिस्तारै व्यक्तिगत आचरण र चरित्रसँग सम्बन्धित कुराहरू उछालिंदै गयो । यो चरम चरणमा ४० सालतिर रामेश–मञ्जुलले चट्टै पार्टी छोडे र ‘कोसीछेउको जोर सिमल’ भएर उभिन खोजे । नियति क्रममा कोसीमा बाढी आयो । यो जोर सिमल बीच भागबाटै भङ्गालो पसेर दुवैलाई दुई चिरामा बाँढेर यति टाढा पुर्‍यायो कि वल्लो र पल्लो किनार भएर दुवै उभिन पुगे । जो टाढैबाट एकअर्कालाई हेर्छन् मात्रै । तर, चिन्दैनन् एकले अर्कालाई । बोल्छन् तर, बोली पनि एकअर्कासम्म पुग्दैंन । दुई दशकभन्दा बढीको यो जोर सिमलको सांगीतिक यात्रा र मित्रता टुटेकामा म निकै मर्माहत भएँ ।

२०३४ सालतिर झापाको किसान आन्दोलन (नक्सलाइट) र झोडा समस्यालाई जोडेर एउटा उपन्यास लेखेको थिएँ मैले, ‘देशको खोजी’ । त्यो उपन्यास मैले रामेश–मञ्जुललाई कोठामै बसेर दिनभर सुनाएँ । रामेशले भन्यो, ‘राम्रो छ । सैद्धान्तिक रूपमा अहिलेको अवस्थामा सत्य र यथार्थपरक छ ।’ मञ्जुलले भन्यो, ‘देशको खोजीभन्दा अरू नै शीर्षक राम्रो हुन्छ कि ?’ मञ्जुलको सुझाव थियो— तिमीले एकपल्ट ‘थ्याङ्क्यु मिस्टर ग्लाड’ भन्ने उपन्यास पढेर हेर है । तिमीलाई लेख्न धेरै सजिलो हुन्छ, आइडिया हुन्छ ।’
तर, मैले अझसम्म पनि त्यो किताब पढ्न पाएको छैन । मञ्जुलको सुझावअनुसार मैले उपन्यासको शीर्षक परिवर्तन गरे, ‘आकाशगङ्गाको ओतमुनि ।’

अब मञ्जुल र रामेश हिजोजस्तो नङ–मासु थिएनन् । बिल्कुलै विपरीत दिशामा उभिएर दुवै स्वतन्त्र रूपमा आफ्नै पाराका सिर्जनामा व्यस्त रहन थाले । रामेशले ‘आस्था’ समूह खोलेर सामूहिक रूपमा काम गर्न थाले भने मञ्जुलचाहिं कर्म योञ्जन, मणिकमल क्षत्री, दिव्य खालिङ, आभास, न्युह बज्राचार्य, प्रवीण बराइली र हारिहितो नोजु (जापानिज) सँग मिलेर आफ्ना गीत–संगीत बाँढ्न थाले । रामेशले पनि बम देवान, विमल निभा, रामबाबु सुवेदी, गोकुल जोशी, श्याम तमोट, पारिजात, सिद्धिचरण श्रेष्ठ, महाकवि देवकोटालगायतका शब्द लिन थाले । आफैं पनि लेख्न थाले ।


यो ०४५ सालतिरको कुरो हो । म राष्ट्रिय नाचघरमा थिएँ । मेरो अफिसमै भेट भयो मञ्जुलसँग । उसले मलाई भर्खरै निस्केको ‘सम्झनाका पाइलाहरू’ दियो । हामीले घन्टौंसम्म पुराना सुखदुःखका कुरा गर्‍यौ । रामेश, निरन र रायनका कुरा पनि भए । पारिजात दिदीका कुरा भए । राल्फालाई एकचोटि फेरि सम्झियौं । त्यसबेलासम्म मञ्जुल धरानकी कवि कुन्ता शर्मासँग विवाहबन्धनमा बाँधिएर छोराको बाबु भइसकेका थिए भने म पनि नीरा शेरचनसँग विवाह गरेर दुई छोराछोरीको बाबु भइसकेको थिएँ । नफर्किने ती दिनहरू सम्झिएर हामी कुनै क्षण भावुक भयौं, कुनै क्षण रमायौं पनि ।


०४६ सालको जनआन्दोलनको सफलतासँगै बहुदलको घोषणा भयो । पञ्चायतकालमा राजनीतिक नियुक्ति भएकाहरू कति निष्कासित भए, कति थामिए । मैले पनि सांस्कृतिक संस्थानको महाप्रबन्धकबाट राजीनामा दिएँ । र, आफ्नो जन्मस्थलो भोजपुर छिनामखु गएर अलैंची/चिया खेती थालें । रेकर्डिङ स्टुडियो खोलेर झोलामा क्यासेट राखेर बेच्दै हिंडें । ठेक्कापट्टामा लागेर ‘पेटी ठेकेदार’ हुन खोजें । अन्तमा केही लागेन, काठमाडौंको घर बेचेर ०५१ सालमा इलामको फिक्कलमा जग्गा किनेर चिया खेती गरेर ढुक्कै बस्न थालें ।


अब मेरा लागि साहित्यसंगीत सिर्जना एकादेशको कथा भइसकेको थियो । त्यो बाटो फेरि फर्केर जान्छु भन्ने कल्पना पनि थिएन । तर, त्यसो भएन, मेरा सिर्जनाका दिनहरू सकिएका रहेनछन् । विधाताजस्तै भएर एक दिन फिक्कल घरमा मञ्जुल, कुमार आले, श्रीमती सुष्मितासहितको टोली आइपुग्छ । त्यसैबेला मलाई थाहा भयो, मञ्जुलले दोस्रो विवाह गरेको कुरा । मञ्जुल घरमा आउनु गीतसंगीत र कविता आउनु एकैसाथ थियो । मेरो कोठामा थन्किएको पुराना हार्मोनियम रीडहरू बज्न थाल्यो । हामीले राल्फाकालीन गीत गायौं । लेकाली कालका गीत गायौं । नसोचेका पुराना दिनहरू पुनः दोहोरिएर आएका थिए । त्यही बीचमा इलाम नगरपालिकाले मञ्जुललाई सम्मान गर्ने खबर आयो । इलाम जिविसको दुई सय जना अट्ने सभाकक्ष श्रोता, दर्शकले खचाखच थियो । मञ्जुलले आफ्नै आकर्षक शैलीमा कवितावाचन गर्‍यो । दर्शक फर्माइसमा मञ्जुलले गीत गायो । र, हठात मञ्जुलले भन्यो, ‘म हिजो राल्फा हुँदा गाउने होइन, खास गीत गाउने त रामेश, रायन, अरिम र रसिक हो । रसिकले राल्फा छोडेपछि मात्र मैले गाउन थालेको हुँ । तपाईंहरूले उसको खासखास गीतहरू सुन्नै पाउनुभएको छैन । उसले आज गाउँछ... ।’


सबैले ताली बजाएर स्वागत गरे । मैले नगाई धर पाइनँ । मैले पुराना लेकालीकालीन गीत गाएँ । मञ्जुल ‘अब फलाना गीत गाऊ’ भन्दै उकास्ने । म पनि फुर्किंदै गाइरहने । आठवटा गीत गाएपछि मैले भने— अबचाहिं भयो । राल्फा छाडेको २३ वर्षपछि मञ्जुल र म एउटै सार्वजनिक मञ्चमा बसेर प्रस्तुति दिएको त्यो पहिलोचोटि थियो । यहींबाट मैले आफ्नो साङ्गीतिक जीवनको पुनर्जन्म पाएँ ।

सङ्कल्प समूह टुटेपछि मञ्जुललाई कुनै पनि समूहप्रतिको विश्वास हराएको थियो । तर। रामेश भने समूह मोहमै थियो । आस्था समूह गठन गरेर अघि बढिरहेका बेला (०४७ तिर) रामेश ४५ वर्ष पुग्नै लाग्दा बल्ल पो उसको विवाह साइत जुर्‍यो । पाल्पा, तानसेनकै जङ्गप्रसाद श्रेष्ठ र मायादेवी श्रष्ठको एक्ली छोरी त्रिवि उपप्राध्यापक लक्ष्मी श्रेष्ठसँग घरजम गरे रामेशले । गायक रामेशले संगीत मात्रै गरेनन्, गीत लेखे, निबन्ध र संस्मरण लेखे । झन्डै चार सय गीतमा संगीत गरे । रामेशलाई एक पटक राष्ट्रिय जागृति क्लब, इटहरीले राष्ट्रिय सम्मान गर्ने निर्णय गर्‍यो । म भर्खरै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवमा नियुक्त भएको थिएँ । इटहरीको कार्यक्रममा श्याम तमोट, प्रतिष्ठानकै सदस्य प्राज्ञ उदय श्रेष्ठ र प्राज्ञ माधव प्रधानलगायत म पनि निम्तो मान्न पुगे । हामी सबैको गाँस–बासको व्यवस्था एउटै होटल । रामेश हवाइजहाजबाट विराटनगर हुँदै हामी बसेकैमा आइपुगे । बेलुकी रमाइलो भेटघाट, कुराकानी भए । हामीले गीत गायौ । धेरैअघि ठहिंटी डेरामा बितेका दिनहरू सम्झ्यौ ।


राष्ट्रिय जागृति क्लब इटहरीले रामेशलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्‍यो । समारोहमा रामेशले सङ्कल्प र आस्थाका केही गीतहरू गाए । सिद्धिचरणका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘हिमगिरि मण्डित’, प्रमोद हमाल ‘आऊ मिलाऊँ हातहरू’ र श्याम तमोटको ‘गाउँगाउँबाट उठ’ भन्ने लोकप्रिय गीतहरू गाए । जब यो गीत गाउन थालियो, श्याम तमोट, उदय श्रेष्ठ, माधव प्रधान र मलाई पनि स्टेजमा रामेशले बोलाएर सामूहिक रूपमा सारा दर्शकवृन्दलाई पनि गाउन लगाए । यसरी राल्फासँग छुटेको ४७ वर्षपछि म र रामेश पहिलोपल्ट मञ्चमा सँगै उभिएका थियौ ।

रामेशको गीत गाउने शैली आफ्नै पाराको छ । ऊ नाभिस्थलदेखि स्वर निकालेर गाउँछ । जबजब म रामेशलाई भेट्छु, मञ्जुल पनि छाया बनेर आउँछ । जब मञ्जुललाई भेटेर आउँछु, रामेश पनि उसको छायाझैं लाग्छ । यसरी दुवै मसँग आउनुमा पनि कारण छ । मैले काठमाडौंमा यिनलाई एकैसाथ भेटेको थिएँ, उनीहरू राल्फा हुँदा सँगै थिएँ । मैले राल्फा छोड्दा पनि उनीहरू दुवैलाई सँगै छाडेको थिएँ । मेरा लागि यी दुवै बराबरी मित्रताको ‘जोर सिमल’ भएर उभिएका छन् । इटहरीको कार्यक्रमपछि रामेश विराटनगर हुँदै काठमाडौं फर्के । श्याम तमोट, उदय श्रेष्ठ, माधव प्रधान र म पनि सँगै थिएँ । बाटोमा मैले प्रसङ्ग उठाएँ— के रामेश–मञ्जुल एकै ठाउँ उभिन सक्दैनन् ? यदि त्यो सम्भव भएमा उनीहरूको केही अजम्बरी सिर्जना रेकर्ड गरेर सार्वजनिक सम्पत्ति बनाउन सकिन्थ्यो कि ?


मेरो कुरो सुनेर सबै साथीहरूले भने— हामी कोसिस गर्दै छौ । यस्तै कामको अभिलेखीकरण गर्न हामीले सार्थक जनसांस्कृतिक प्रतिष्ठान गठन गरेर काम गर्दै छौ । नभन्दै सार्थक जनसांस्कृतिक प्रतिष्ठानले मञ्जुल र रामेशको ‘कोसीछेउ उभिएको सिमल’ को रूपमा ती अजम्बरी गीतलाई सीडी रूपमा प्रकाशनमा ल्यायो पनि । सार्थक जनसांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक संस्थानसँग सहकार्य गरेर एउटा ऐतिहासिक कार्यक्रम गर्‍यो । रामेशको एक सांगीतिक प्रस्तुति ‘युगिन आवाज’ । ०७५ साल जेठ १९ गते शनिबार राष्ट्रिय नाचघरमा प्रस्तुत गरिएको युगीन आवाजको प्रमुख अतिथि थिए— प्रधानमन्त्री केपी शर्मा ओली । कार्यक्रममा सिद्धिचरण, महाकवि देवकोटा, प्रमोद हमाल, बम देवान, विमल निभा, रामबाबु सुवेदी, गोकुल जोशी, श्याम तमोट, मञ्जुल र आफ्नै रचनाका गीत पनि रामेशले गाए ।


रामेश ७४ वर्षमा हिंडिरहँदा पनि हिजोको त्यही २७ वर्षे जोसमा गीत गाएर आफूलाई सतीसाल साबित गरिसकेका छन् । मैले पछि सुनें— मञ्जुल भने दर्शकदीर्घामा बसेर सँगैका साथीको प्रस्तुति हेरेर ताली बजाइरहेका थिए । समय कति कठोर र निर्दयी छ, सँगै उभेको जोर सिमलमध्येका रामेश आज मञ्जुलको गीत गाउँदै छ, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू हाम्रा गीतहरू...’
यता दर्शकदीर्घामा बसेर ताली बजाइरहेको छ गीतकार मञ्जुल । यिनीहरूबीच विगत पच्चीस वर्षदेखि दोहोरो संवाद छैन तर शब्द र संगीतबीच संवाद छ । ताल र स्वरबीच संवाद छ ।

जीवनको उत्तरार्द्धमा पनि रामेशको स्वास्थ्य राम्रो छ । बरु रायन अलिक विसन्चो भन्ने सुनेको हुँ । दुई वर्षअगाडि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले रायनलाई पुरस्कृत गरेको थियो । त्यही मैले थुप्रै वर्षपछि भेटें रायनलाई । पहिलाभन्दा निकै दुब्लाएको, अनुहार र शरीर पनि कमजोर । मैले उसलाई बधाई दिएँ । उसले मलाई आत्मीयताको न्यानो अँगालो हाल्यो । राल्फाबाट छुटेपछि हामी बीचको यो सौहार्दता र आत्मीयता पहिलो पटक थियो । मञ्जुल भने विगत सात–आठ वर्षदेखि बिमारी छ । मैले उसको घर गएर भेटेको छु । बिमारी भएर सुतिरहने पनि होइन । दुब्लाउनुको साटो बरु मोटाएको छ । उसको बिमारी उसैलाई पनि थाहा छैन, के बिमारी हो ।

७० उकालो लागेका मञ्जुलले आफ्नो उमेरमा झन्डै आधा शताब्दी समय संगीत र साहित्य सिर्जनामा खर्च गरे । उनका गीतसङ्ग्रह, कविता, उपन्यास, यात्रासंस्मरण, आत्मपरक निबन्ध, अनुवाद गरे झन्डै दुई दर्जन कृति प्रकाशित छन् । शिरमा कालो भादगाउँले टोपी, पेन्ट, सर्ट, कोट पनि कालै । टाढैबाट ठम्म्याउन सकिने मञ्जुलको व्यक्तित्व तर, पहिलाजस्तो चञ्चल आँखा, मुस्कान छरेको ओठ अहिले देखिन्न । हर्ष–विष्मात केहीको आभासै छैन उसको अनुहारमा । मैले बोल्न चाहँदा पनि उसले कुनै चासो देखाएन । म छिनछिनमा उसको गतिविधि नियाल्छु । कहिले आफ्नै हातले आफ्नो हात मोल्छ । कहिले टाउको कन्याउँछ । कहिले आखीभौं चलाउँछ । कहिले आफ्नै गाला मुसार्छ । कहिले कन्सिरी कन्याउँछ । उसको यो विचित्र स्वभाव मैले मात्र होइन, तल दर्शकदीर्घामा बस्नेहरूले पनि बडो अचम्भित भएर हेरिरहेका थिए । त्यो अन्यमनस्क माहोलमा म आफैंसँग गाइरहेको थिएँ, उही मन्जुल–रामेशको गीत— मौन संवादको शैलीमा—

‘एक दिन म मरुँला संसारमा नरहुँला
मेरो सिमलको डुङ्गा पनि नरहला
तर युगयुगसम्म यो नदी, यो आकाश रहिरहला
नदी तर्ने बूढो माझीको काम संसारमा रहिरहला
ओहो ! जीवन भन्नु बाँच्न के हो र !
बाँच्दा गरिने काम न हो
अघिअघिका पुर्खाहरू
पछि आउने सन्ततिहरू
यी दुवै बीचमा बहान लिएर म
एकदमै बूढो भइसकें
त्यै सिमल काटी बनेको डुङ्गाजति नि बाँच्दिनँ म
कोसीछेउ उभेको सिमलजति नि बाँच्दिनँ म ।’

प्रकाशित : फाल्गुन २५, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?