१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शंकरले यसरी फर्काए अम्बरलाई

रमण घिमिरे

काठमाडौँ — शंकर लामिछाने र अम्बर गुरुङबीचको सम्बन्ध बुझ्न लामिछानेको ‘विम्ब–प्रतिविम्ब’ को अम्बर गुरुङ पढ्नुपर्छ  । लामिछानेको गुरुङप्रतिको आत्मीयता र उनको प्रतिभा यसमा झल्केको छ, ‘म अम्बर हुँ तिमी धर्ती, लाखौँ चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला  ।

शंकरले यसरी फर्काए अम्बरलाई

गुरुङलाई चिन्नुभन्दा धेरै वर्षअघि नै लामिछानेको कानमा यो गीत गुन्जिएको थियो । उनीहरू एकअर्कामा भौतिक रूपले अपरिचित थिए । तर, यस गीतका शब्द, सङ्गीत र गायनकलाले लामिछानेको हृदयलाई स्पर्श गर्‍यो । न्यानो तरंग चलायो । उनका आँखामा आकाश र धर्तीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो, जसमा सूर्य डुब्दै थियो— यो सिद्ध गर्न मानौँ यो मिलनरेखा एक महाशून्य हो । ‘अम्बरको फ्यान म यसरी बनेँ ।’ शंकर लामिछानेले अम्बर गुरुङको कलाकारितालाई संक्षेपमा यसरी वर्णन गरेका छन् ।


यो मान्छे कस्तो छ ? लामिछानेले कवि भूपि शेरचनसँग अम्बरका बारे सोधेका थिए । अनि कवि भूपिले भनेका थिए, ‘ऊ मान्छे सायद होइन— ऊ मित्र हो, र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो, र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन ।’
त्यतिबेला अम्बर गुरुङले शंकर लामिछानेलाई चिनेका थिए, थिएनन् थाहा छैन । तर लामिछानेका भनाइमा उनलाई अम्बरसँग पहिलो पटक परिचय गराइदिएका थिए कवि भूपिले । भूपिले परिचय गराउन नै अम्बरलाई लामिछानेको छाउनीको घरमा लिएर आएका थिए ।


त्यतिबेला गुरुङको ‘नौ लाख तारा’ ले नेपाल हल्लाएको थियो । तर त्यही गीत गाएका कारण भारतले भने अम्बरलाई दार्जिलिङमा हल्लाउन खोज्दै थियो । भारतभरि यो गीत प्रतिबन्धित भयो । भारतविरोधी गीत गायो भनेर उनलाई सार्वजनिक स्थलमा गाउनसमेत प्रतिबन्ध लगाइएको थियो । त्यसपछिको कुरा गरेका हुन् लामिछानेले । जुन कार्यक्रम बडो गोप्य रूपमा अगमसिंह गिरीको आयोजनामा दार्जिलिङमा गरिएको थियो । विशेष अतिथि लामिछानेलाई बनाएर अम्बरले त्यस रात आफ्ना पुराना र नयाँ गीत गाएर छर्लङ्ग बिहान बनाएका थिए ।


त्यतिखेर तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा गरुङलाई गीत गाउन काठमाडौँ झिकाइएको थियो । उनले फोहोरा दरबारमा ‘नौलाख तारा’ गाउँदा राजा महेन्द्रका पनि आँखा रसाएको कुरा गरेका थिए एक पटक गीतकार रत्नशमशेर थापाले यस पंक्तिकारसँग । हो त्यही बेला हो भूपिका माध्यमले शंकर लामिछाने र अम्बर गुरुङबीच पहिलो साक्षात्कार भएको । तर त्यस भेटमा न गुरुङले साहित्यकार लामिछाने चिनेका थिए, न लामिछानेले गुरुङभित्रको कलाकार (‘नौ लाख तारा’ र ‘म अम्बर हुँ तिमी धर्ती’ बाहेक) बुझेका थिए । दार्जिलिङमा उनीहरूबीच दोस्रो भेट भयो । यस भेटले लामिछाने र गुरुङभित्रको प्रतिभालाई एकअर्काले नजिकबाट चिने । लामिछानेका तीनवटा गीतमा गुरुङले संगीत पनि गरे । यद्यपि ती गीतहरू प्रकाशमा आएनन् तर यी दुई प्रतिभाहरू प्रगाढ मित्रतामा बाँधिए । र त्यही भेटपछि अम्बर गुरुङले बिसाउन खोजेको संगीत आरोहमा पुगेर गुन्जिन थाल्यो ।


लामिछाने दार्जिलिङ पुग्दा त्यहाँ गुरुङ थिएनन् । अकस्मात एक साँझ गुरुङ लामिछानेलाई खोज्दै आइपुग्छन् । गुरुङलाई पनि सार्वजनिक स्थलमा गाउन प्रतिबन्ध लगाइएको थियो । उनीहरू एउटा हलजस्तो एउटा साँघुरो कोठामा कवि अगमसिंह गिरीको पहलमा जम्मा हुन्छन् र झ्यालढोकामा चुकुल लगाएर कोठेगायन सुरु गर्छन् । त्यहीँ हो अम्बर गुरुङले शंकर लामिछानेको मन जितेको । ‘पहाड सुक्योजस्तो लाग्छ’ पहिलो पटक अम्बरले लामिछानेलाई सुनाएका थिए । त्यसपछि लामिछाने र गुरुङबबीचको सम्बन्ध यसरी झाँगियो कि यी दुई आ–आफ्ना क्षेत्रका हस्तीहरू वर्षौंअघि बिछोडिएर भेटिएका संगातीजस्ता हुन पुगे । हुन त गुरुङ लामिछानेलाई दाइ नै भनेर सम्बोधन गर्थे । तर एकअर्कालाई ‘ओल्ड म्यान’ भनेर सम्बोधन गर्थे । उनीहरूबीच गहिरो मित्रता थियो । यो मित्रता कति गहिरो थियो भन्ने कुरा एक पटक यस पंक्तिका लेखकसँग अम्बर गुरुङका चेला पिटर जे कार्थकले पनि बताएका थिए ।


शंकर लामिछाने पारिश्रमिक नलिई कसैलाई आफ्ना निबन्ध दिँदैनथे । कसैले उनीसँग पत्रिकामा छपाउन निबन्ध माग्यो भने लामिछाने भन्थे, ‘कति (रुपियाँ) को निबन्ध लेखिदिऊँ ! आफ्ना सिर्जनाको मोल आफैँ तोक्ने लामिछानेले गुरुङको अनुरोधमा पिटरको ‘प्रत्येक ठाउँ ः प्रत्येक मान्छे’ को भूमिका पनि लेखिदिएका थिए । तर पारिश्रमिकस्वरूप एक पैसा भने लिएरै छाडे । यो धेरैपछिको कुरा हो । अम्बर गुरुङ राजा महेन्द्रको आग्र्हमा काठमाडौँ बसाइँ सरिसकेका थिए र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभागका निर्देशक भइसकेका थिए ।


योभन्दा धेरैअघिको कुरा । जतिखेर उनको ‘नौ लाख तारा’ प्रतिबन्धित भइसकेको थिएन तर उनी संगीतबाटै निराश भएर तरकारी खेती गर्न कालिम्पोङमा थिए । गीत गाएर घरलाई कन्चो दाम सहयोग गर्न सकेका थिएनन् । बाबुबाजे भारतीय सेनामा काम गरेर निवृत्त भई ‘पेन्सन’ थाप्दै सुखजिलो, सुबिस्ताको जीवन बाँचिरहेका थिए । उनीहरूको मानसिकतामा छोरो भने सेनामा नगई आयआर्जन नहुने सङ्गीतको मरुभूमिमा पानी खन्याइरहेको थियो । ‘नौ लाख तारा’ ले मान, प्रतिष्ठा र नाम त दियो तर दाम थिएन । विवाह भइसकेको थियो । श्रीमती र दुइटा छोराहरूको जिम्मेवारी पनि उनको काँधमा थपिएको थियो । संगीत गर्नु, गाउनु भनेको दामबिनाको मिहिनत, त्यसेबला यो कुनै ‘काम’ थिएन । बरालिनु मात्र ठहर्थ्यो । त्यसैले उनी संगीतिक कर्मलाई खालि सोखका रूपमा कुनै चाडवाडहरूमा आयोजना हुने कार्यक्रममा मात्र गाउने निधो गरेर तरकारी खेतीमा लाग्ने निश्चयका साथ कालिम्पोङमा थिए ।


अम्बर गुरुङको यो सीमान्त उदासीमा एक दिन शंकर लामिछाने कालिम्पोङ झरे । लामिछाने कामविशेषले कोलकाता पुगेका थिए । त्यहीँबाट उनले गुरुङलाई तार पठाए– ‘तिम्रो मुड कस्तो छ ? फुर्सद भए म तिमीलाई भेट्न कालिम्पोङ आउँदै छु ।’ अम्बरले प्रत्युत्तर पठाए, ‘म तपाईंलाई बसस्ट्यान्डमा पर्खिरहनेछु ।’

एक दिन बिहानै यो पंक्तिकार अम्बर गुरुङको निवास महाराजगन्ज पुगेको थियो । माघ–फागुनको महिना थियो सायद । किनभने हामी बाहिर चउरमा कुर्सी राखेर घाम ताप्दै थियौँ । कुरैकुरामा उनले भने, ‘साँचो अर्थमा भन्ने हो भने मलाई संगीतमा फर्काएकै शंकर दाइले हो ।’ त्यस दिन उनले पुराना स्मृतिलाई कोट्याएका थिए । ‘नौ लाख तारा’ को जताततै चर्चा थियो तर दाम शून्य । उनले भनेका थिए, ‘त्यसपछि म ठक्कर खान थालेँ । २६/२७ वर्षको थिएँ, दुइटा सन्तानको बाबु भइसकेको थिएँ । गलामा माला भिरेर र दर्शकको ताली खाएको भरमा परिवारको गुजारा हुन सक्ने अवस्था थिएन । अनि मैले संगीतलाई एउटा सोखको रूपमा ‘साइड’ मा मात्र सीमित राख्ने र जीवनयापनका लागि सरकारी खेती गरेर होल सेल व्यापार गर्ने निश्चय गरिसकेको थिएँ ।’


हो, त्यसैबेला शंकर लामिछानेको तार आयो र उनी श्रीमान्/श्रीमती नै लामिछानेलाई लिन बसस्ट्यान्ड झरे । ‘म शंकर दाइलाई अत्यन्त आदर गर्थें,’ उनले भनेका थिए, ‘अनि हामीले उहाँलाई घर लिएर गयौँ ।’ घर पुग्नासाथ अम्बरलाई लामिछानेले सोधिहाले, ‘तिम्रो संगीतको हालचाल के छ त ?’ अनि उनले पनि आफ्नो मनमा लागेको कुरा फ्याट्टै भनिदिए, ‘दाइ अब मैले संगीतलाई सोखको रूपमा मात्र लिएर, यसो अवसर पर्दा मात्र गाउने, बजाउने निधो गरेको छु । व्यवसायका रूपमा चाहिँ अब तरकारी खेती गर्ने र त्यसैलाई बेचेर जीवन धान्ने निधो गरिसकेँ ।’
गुरुङको कालिम्पोङमा चार–पाँच रोपनी जग्गा थियो । खेतीपातीका लागि यति जग्गा प्रशस्त हुन्थ्यो । तरकारी ढुवानी गर्ने आफ्नै एउटा जिप पनि थियो । यति भए उनलाई यो व्यपारमा गर्न कुनै कठिनाइ थिएन ।


गुरुङको कुरा लामिछानेले बडो गम्भीरतापूर्वक सुने र यति मात्र भने, ‘तिम्रो यस कुराको उत्तर म एक–दुई दिनपछि दिन्छु ।’ त्यसको भोलिपल्ट उनीहरू दुवै जना दार्जिलिङ उक्लिए । सुरापान र संगीतका दुवै पारखी, दार्जिलिङ पुगेपछि एक–दुई दिन उनीहरू यसैमा रमाए । गुरुङले नयाँ–पुराना गीतहरू सुनाए लामिछानेलाई । दुवै प्रफुल्ल भए । त्यसबेला गुरुङलाई लागेको थियो शंकर दाइले कालिम्पोङमा ‘यसको उत्तर म एक–दुई दिनमा दिन्छु’ भन्ने कुरा नै बिर्सिए ।


तर, होइन रहेछ । लामिछानेले कालिम्पोङमा थाँती राखेको कुरा त्यहाँ कोट्याए । ‘तिमीले भनेको कुरा तिम्रो अवस्था र वातावरणलाई मनन गर्दा एकदमै सही छ । नेपाली समाज संगीतबाटै बाँच्न सक्ने अवस्थामा अझै पुगिसकेको छैन । कलाबाट कलाकार बाँच्न सक्तैन । तर तिमी तरकारी खेतीमै सफल हुन्छौ भन्ने के ग्यारेन्टी छ ? तिमीलाई खेतीपातीबारे के थाहा छ ? कुन याममा कुन तरकारी लगाउँदा फाइदा हुन्छ ? कुन माटोमा कुन तरकारी फस्टाउँछ ? तिमीले त माटो पनि चिनेका छैनौं । बीउबिजनबारे केही थाहा छैन । अनि कुन माटोमा कुन जातको खेती राम्रो हुन्छ भनेर अध्ययन गर्नमै तिमीलाई वर्षौं लाग्छ । यी कुरा बुझ्दाबुझ्दै तिम्रो अर्को आधा आयु बितिसक्छ । अनि तिमी किन यता हामफाल्छौ ?’ अनि उनले अम्बर गुरुङको पिठ्युँ थपथपाउँदै भने, ‘तिमी संगीत गर्न र गाउनका लागि नै जन्मिएका हौ । त्यसैले तिमीले संगीतबाहेक अर्को पेसा अपनाउनु नै अफापसिद्ध हुन्छ । तिमी संगीतमै लाग !’


त्यस बिहान अम्बर गुरुङले चियाको सुर्पी लिँदै भने, ‘शंकर दाइकै सुझावपछि हो, मैले पनि गहिरिएर सोचेँ— जसोतसो संगीतमा लागिहालेँ । मानिसले यति धेरै सम्मान दिइरहेका पनि छन् । अनि मैले त्यसउप्रान्त संगीतलाई आफ्नो मुख्य धर्म ठानेँ, यसप्रति नै आफ्नो जिम्मेवारी बोध गरेँ र निष्ठाका साथ लागेँ । त्यस दिन शंकर दाइ कालिम्पोङ नआएका भए, उनीसँग आफ्नो भविष्यबारे कुरा नउठाएको भए, म संगीतकार हुने थिएनँ । अरू नै केही हुन्थेँ होला तर म यो संगीतकार गीतकार, गायक अम्बर गुरुङ भने सायद हुने थिइनँ ।’

प्रकाशित : चैत्र २, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?