शंकर सिम्फोनी

साहित्य यथार्थवादी हुन सक्दैन, न कि आदर्शवादी हुन्छ भनेरै २०२० को दशकमा लेखेका शङ्करको दाबीविपरीत आजको साहित्य छ ।
भूपेन्द्र खड्का

यही हुनुपर्ने र भइनाका बीचको गोधूलि संसारमा म अहिले छु र म जान्दिनँ, म लेखक हुँ वा इन्टरप्रेटर  । ’ शङ्कर लामिछाने जीवन भोगाइको लगभग अन्तिम उत्कर्षको आत्मालाप हो यो साँच्चिकै अब्बलै, गज्जबै लेखेर पनि उनलाई आफू लेखक भएको वा नभएको ‘कन्फ्युज्ड’ अवस्थाको आफ्नै मनोविज्ञानको चिरफार पनि  ।

शंकर सिम्फोनी

शङ्कर लामिछानेको यो भनाइ त्यतिबेला उत्तरआधुनिक चेतको रूपमा नेपाली साहित्यमा हेरिए पनि अहिले समसामयिक छ । शङ्कर त साँच्चै लेखक नै थिए तर अहिले नेपाली साहित्यका अधिकांश लेखक व्याख्याता वा प्रस्तोताजस्तै मात्र छन् । न गहन लेखनी छ न छ जिम्मेवारीबोध । अधिकांश टिपटापे छन्, सतही छन् । लेखक हुने अल्छीको भोकजस्तो छ, आज हर कोही लेखकलाई यहाँ । लेखकको सामाजिक जिम्मेवारी र दायित्व हुन्छ । त्यसैलाई अचेल यहाँ मजाक बनाइएको छ ।


नेपाली निबन्ध लेखनमा ‘चेतनप्रवाह शैली’ (स्ट्रिम अफ कन्सिअसनेस) का होलोग्राम शङ्कर लामिछाने बिर्सेर (चाहेर ?) पनि बिर्सन सकिने लेखक होइनन् !नेपाली निबन्धलेखनका निबन्धमाला लामिछाने ‘ननफिक्सन’ लाई साँच्चिकै स्थापित गराउने नायक हुन् । उनका केही निबन्धमा प्रयोग भएका यस्तै चेत, बौद्धिकता, सामयिकता, व्यंग्य र अन्यान्य शैलीलाई आजको सन्दर्भसँगै जोड्दै छलफल गर्नु श्रेयस्कर हुन्छ । ‘रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ’ भन्दै जुन दिन देवकोटाले उनलाई दीक्षा दिए, त्यस दिनदेखि शङ्कर लामिछानेले आफ्नै बाटो आफैं खनेर नेपाली साहित्यमा अघि बढ्ने अठोट गरेका थिए । र पाए, मदन पुरस्कार ‘प्याज’ का लागि (उनकै भाषामा) । त्यही ‘एब्स्ट्रयाक चिन्तन ः प्याज’ निबन्धसंग्रहको ‘गोरेटोको खोजीमा’ निबन्धमा उनी भन्छन्, ‘म जान्दिनँ, मैले लेखेको यो साहित्य भयो, भएन !तर असलमा, साहित्यको परिभाषा नै मलाई थाहा छैन । साहित्य केका लागि ? जनताका लागि ? समाजका लागि ? धर्तीका लागि ? स्वयम्का लागि ? पैसा कमाउनका लागि ? प्रतिष्ठा कमाउनका लागि ? वा आफू मरेर कताकता हिँडिसकेपछि एउटा लाइब्रेरीका दराजबाट धूलोमा बेरिएर एउटा इच्छुकका आँखाका लागि वा कोर्सबुकका लागि ?’


र, वास्तवमै यो आजका निम्ति सबैभन्दा ठूलो प्रश्न हो, हामी किन लेखिरहेका छौं ? साँच्चै लेखक बन्नका लागि, पैसा कमाउनका लागि, चर्चा कमाउनका लागि, कि अब लेखक नभए समाजको त्यो वर्गभित्र परिन्न ?


शङ्कर अझै आजको पुस्तालाई (उनले त ५० वर्षपछिका लागि लेखेको भनेका छन् नि त !) त्यति बेलै टिप्स दिन्छन्, ‘र म ? मचाहिँ विदेशी साहित्य चोर्छु । विलियम सारोयान पढें, मेरो शैली परिमार्जित भयो । हेनरी मिलर पढें, लेख्ने कुरामा सत्यवादिताको पुट बढ्यो । एनास निन् पढें, गद्य काव्यात्मक रूपमा ढाल्न मन लाग्यो । सार्त्र र कामु पढें, शून्यवादको अध्ययन गर्न पुगें । जेम्स ज्वायस र वाल्डविन पढें, ‘के भो के भो, हिजोआज तिम्रै माया लाग्छ ।’


यो अन्तिम लाइन ‘बडा गज्जब र अजिब छ । हामीले हाम्रा लेखकको मौलिकता र आफ्नोपनको ‘लोकल स्वाद’ चाख्न नपाएको कति युग भइसक्यो ? शङ्कर अझै भन्छन्, ‘सोखका लागि साहित्य अगालेको थिएँ, अब यो श्रद्धा हुन गयो । आफ्ना लागि लेख्न आरम्भ गरेको थिएँ– प्रेमपत्रबाट, हृदयको व्याकुलताबाट, विदेशी–देशी विद्वान्को प्रभाव जो परेको थियो आफूउपर, त्यसलाई देशवासीउपर दर्साउने अभिलाषाबाट, डायरीबाट, अनुभवबाट, ‘वाहवाह’ बाट र प्रतिष्ठाको लोभबाट ! आजचाहिँ म अर्काका लागि लेख्दै छु ।’


अब लागौं, अलिकति दिलचस्पी कुरातर्फ । आज जे छ, मिडियामा छ । सबै हिट हुनु छ । सफल बन्नुको धुमधडाक गर्नु छ । हामीले गरिरहेको हो के र हुनुपर्ने हो के ? पदीय जिम्मवारी र तिनका प्रभाव के हुन् ? हामीलाई थाहा छैन । ‘एक पत्र सम्पादकलाई’ निबन्धमा शङ्कर सम्पादक मणिराज उपाध्यायलाई लेख्छन्, ‘थाहा छ तपाईंलाई... ? थाहा छ तपाईंलाई ? तपाईंलाई केही थाहा छैन । तपाईंलाई किन साढेमाथि सम्पादकीय लेखें भन्ने पनि थाहा छैन । तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्तिनँ भन्ने पनि थाहा छैन । मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो— त्यो पनि थाहा छैन तपाईंलाई, तपाईं सम्पादक नभए के हुनुहुन्थ्यो, त्यो पनि थाहा छैन तपाईंलाई ।’


आजका हाम्रा सम्पादक महोदयहरूलाई पनि सम्पादकीय किन, के लेखें भन्ने थाहा छ कि छैन ? (कसैलाई थाहा भएको भए माफ गर्नुस् है !)
लेखनबारे उनको कथन ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ मा यसरी आएको छ ः ‘यसकारण म बाँचिरहेछु किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु । रियलिस्ट चित्रणमा त, म एउटा प्याज हुँ— रंगहीन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिराइ ।’ यसलाई उनको लेखकीय इमानदारीको उच्च उदाहरण मान्न सकिन्छ । किनभने शङ्कर फेरि आफैं भन्छन्, ‘आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान्, जसले आफ्नो संसार स्वयम् निर्माण गरेको हुन्छ— छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुर्ख्याइँले ।’


शङ्कर भन्छन्, आजको मान्छेले भगवान्लाई पनि आफ्नो रिमोटले चलाउन सक्छ, ‘भगवान् चाहियो, हाजिर छन्, भगवान् चाहिएन, गायब छन् ! जति मात्रामा चाहियो, उत्ति मात्रमा आउँछन् । कविताको निम्ति चाहियो, छन्दबद्ध भई हाजिर, स्तुतिका निमित्त चाहियो, कोष भई हाजिर– चाकरीका निमित्त चाहियो इन्साइक्लोपिडिया भई हाजिर । आजको मानिस स्वयम् भगवान् बनिसक्यो, उसमा ती सब गुण व्याप्त छन्, जो एक ईश्वरमा हुनुपर्छ— सिर्फ एक गुण आजको मानिसले हराएको छ र त्यो हो मानिसको गुण !’


शङ्करको यो महान् वाणी आजको समयमा अझै सान्दर्भिक हुन्छ, हाम्रोमा पानीजहाज कार्यालय भर्खर उद्घाटन भएको छ, ‘...नेपालमा मानिसले पौडी खेल्न जानेकै छैन म भन्दिनँ । यहाँ त मानिस यसरी पौडी खेल्छ, पानी नै देखा पर्दैन । वा फेरि यसरी पौडी खेल्छ, मानिस नै देखा पर्दैन, पानी मात्र, लेबल मात्र ! यो अनौठो शैली बुझेपछि, मैले एउटा कुरो बुझें । पौडी खेल्न सिक्नु गाह्रो छैन, सिकिसकेको पौडी खेल्न बिर्सुनु साह्रै गाह्रो छ । ...फिजिक्स पढ्दा सिकाइन्छ, वाटर फाइन्ड्स इट्स ओन ‘लेभल’ । यो उखान निर्माण गर्नुअघि अङ्ग्रेजहरू नेपाल आउनुपर्ने । यहाँ आएको भए उनीहरूले पानीको परिभाषा सायद यसरी गर्थे— वाटर फाइन्डस इटस ओन ‘लेबल’ । धीरधारा, चन्द्रधारा, वीरधारा, जुद्धधारा, सुनधारा, ढुङ्गेधारा ! सबका आआफ्ना लेबल छन् ।’ र, अहिले हामीले मेलम्चीको पानी पनि केपी–पिके धाराबाट खान पाउने आसमा बसिरहेछौं ।


अब केही कुरा गरौं, शङ्करका केही व्यक्ति–विम्ब र गहिरो चेतका । ‘विम्ब–प्रतिविम्ब’ मा उनले केही खास व्यक्तिका चारित्रिक जीवनका पत्र केलाएका छन् । अम्बर गुरुङलाई भेटेपछि उनी लेख्छन्, ‘उसको अनुहार अनि देखें । फक्का गुरङ अनुहारको छ । गोर्खा आर्मीमा गएर युनिफर्म लाएमा खसीभेडाको हूलमा मिल्लाजस्तै । भूपिजस्तो पुड्को, उस्तै ठूलो टाउको, उस्तै हँसिलो । जिउ भने स्यानो, अनुहार गहकिलो । बोल्दा उसको स्वरमा जुन नरमपना छ, गाउँदा त्यसमा त्यतिकै ठोसपना । म स्वरजत्तिकै प्रभावित अनुहारबाट भइनँ ।’


यस्तो विम्ब सायद अम्बर गुरुङलाई जीवनमा कसैले दिन सकेन होला । आफ्ना समकालिकका आनीबानी विचित्र–चित्र केलाउने शङ्करले मुक्तककार एवं त्यति बेलाका सिद्धार्थ वनस्थली स्कुलका अंग्रेजी मास्टर भीमदर्शन रोकाबारे यस्तो लेख्छन्, ‘ऊ जातैले मात्र मगर होइन, अनुहारले पनि, मिजासले पनि (माओत्सेतुङसँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा देखिन्छ) । उसको अनुहार र तिनताकको व्यवहारअनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने । परम्परागत सिपाही परिवारमा जन्मेर कविताजस्तो कोमल कला अपनाउनु तथा मास्टरजस्तो पेसाद्वारा जीविका चलाउनु नै ऊसको जीवनको ठूलो व्रान्ति हो ।’


उनी भूपि शेरचनको काव्यात्मक चरित्रलाई एक–दुई सय वर्षपछिको सामाजिक चिन्तनमा भन्छन्, ‘भूपिका कविताहरू निश्चय पनि उसको निमित्त एक नसुल्झने समस्या बन्न जानेछन् । कम्युनिस्ट नारावादबाट जन्मेको कवि रसवाद, रहस्यमयवाद र व्यक्तिवादका लोकहरूको यात्रा गरेर बिलाएको हुनेछ ।’ शङ्करको एउटा हास्य चेतको उदाहरण म यहाँ प्रस्तुत गर्छु । उनलाई ट्युसन पढाइरहेका गोपालप्रसाद रिमाल र उनी घुमेर सीतापाइलाको बाटो घर फर्कंदै थिए । बाटोमा सिपाही र साग बेच्ने महिलाका बीच यस्तो संवाद हुन्छ,‘दूध बेच्ने हो दिदी ?’ ‘हो ।’
‘एक मुठी दूधको कति लिने ?’


ठिटी पुलुक्क अनुहार हेर्छे सिपाहीको । गोपाल दाइ र मेरा आँखा जुध्छन् । वार्ताका जो एक भित्री तह त्यो अनायास वातावरणमा छरिन्छ । सिपाही हामीलाई आफ्नै सहधर्मी ठान्छ । हामीपट्टि हेरेर अर्थपूर्ण ढङ्गले खिसिक्क हाँस्छ । ‘मुटु कत्रो सानो दाइको । दुई मुठी किन्ने पनि आँट छैन !’ साहित्य याथार्थवादी हुन सक्दैन, न कि आदर्शवादी हुन्छ भनेरै २०२० को दशकमा लेखेका शङ्करको दावीविपरीत आजको साहित्य छ । शङ्करका विचार कतिपय अवस्थामा मिथकजस्ता पनि लाग्न सक्छन, जो आजको पुस्ता यही र यिनै कुरामा बहस गरेर असाहित्य लेखिरहेछ ।


‘शङ्कर लामिछाने’ आफैंलाई यस्तो मीठो स्केच गर्छन्, यस्तो स्केच उनका समकालिक बाङ्देलको चित्र थियो कि सायद, ‘ऊ मान्छे पनि त्यस्तै छ । बाहुन कुलमा जन्म्यो, एउटा पनि बाहुन साथी छैनन् उसका, हुँदाहुँदा स्वास्नी पनि त अब्राह्मणी नै छ । के त साँच्चि उसले बाहुनहरूसँग मित्रता नै गर्न खोजेन ? होइन, बाहुनसँग मित्रता जोड्यो, उनको अलि नजिक पुग्न खोज्यो, ती नेता बनिदिन्छन् । र बाहुन बाहुन हुन्जेल सही सक्ने लाग्छ मलाई, नेता भइसकेपछि त... कमसेकम ती मित्र बन्ने लायक रहँदैनन् ।’


खासमा यो प्रिय शङ्करलाई सम्झेको मात्र हो, यो केवल बहाना मात्र हो । खास कुरो पर्सि चैत ५ मा उनी ९२ वर्षका भएर जन्मँदै छन् । ह्याप्पी बर्थ डे शङ्कर !र, शङ्करलाई म शङ्करकै मनोलगमा बिदा गर्छु, ‘र शङ्कर लामिछाने, आफैंद्वारा निर्मित र निर्देशित मूभी–फिल्ममा ओर्लन्छ र शङ्कर लामिछाने मात्र एक दर्शक छ, जो सधैं हेरिरहन्छ– आफ्नै अभिनयको सफलता... या असफलता !’
Twitter @khadkabhupendra

प्रकाशित : चैत्र २, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?