कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

केली कथा

सजना बराल

काठमाडौँ —  केली जेनर यसअघि नै धेरैथोक थिइन्  । शृंगार उद्योगकी धनाढ्य, टेलिभिजन स्टार, मोडल, सामाजिक सञ्जाल सेलेब्रिटी र एक आमा  ।

केली कथा

गत हप्तादेखि उनको अर्को परिचय थपिएको छ– विश्वकै सबैभन्दा कान्छी खर्बपति । फोर्ब्स म्यागजिनका अनुसार उनी २१ वर्षको उमेरमा खर्बपति बन्न सफल इतिहासकै पहिलो व्यक्ति हुन् ।


गत साल फेसबुकका संस्थापक मार्क जुकरबर्ग २३ वर्षको उमेरमा कान्छा खर्बपति भएका थिए । त्यो बेला नै केलीले आगामी दिनमा मार्कको कीर्तिमानी तोड्न सक्ने फोर्ब्सको अनुमान थियो । गत जुलाईमा फोर्ब्सले ‘अमेरिकाकी महिला खर्बपति’ शीर्षकको समाचारमा केलीलाई सेल्फ–मेड अर्थात् आफ्नै बुतामा खर्बपति बन्न सफल युवा भन्ने वाक्य प्रयोग गरेको थियो । उसले भनेझैं केली ‘सेल्फ मेड’ हुन् वा होइनन् भन्नेमा विवाद छ ।


समीक्षकहरूका अनुसार उनी सम्पन्न परिवारमा नजन्मिएकी भए यो स्तरको आर्थिक सफलता सम्भव थिएन । अर्को जमातलाई भने पारिवारिक विरासतसँग उनको दश अंकको नाफाको खास साइनो नभएको भन्ने लाग्छ । क्रिस जेनरका छ सन्तानमध्ये कान्छी र सबैभन्दा कम चर्चित केली खर्बपति बन्नुलाई आश्चर्य भने पक्कै मानिएको छ । सौतेनी बाबुतर्फकी माइली दिदी किम कार्दसियनलाई समेत उछिनेर उनी खर्बपति बनेकी हुन् । यस पछाडिको वास्तविकता जान्न जो कोही उत्सुक छन् ।


भक्स पत्रिकाका अनुसार केली र उनका दाइ–दिदीको आर्थिक सफलताको जग निर्माण गर्ने एक मात्र महिला ऊनीहरूकी आमा अर्थात् क्रिस जेनर हुन् । ‘त्रिस आफ्ना सन्तानलाई काममा लगाउन सिपालु छिन्,’ भक्स लेख्छ, ‘त्यो पनि यस्तो तरिकाले कि तिनलाई काम गरिरहेको छु भन्ने महसुस हुँदैन ।’ क्रिसले नै सन् २००७ मा ‘किपिङ अप विद द कार्दासियन्स’ नामक टेलिभिजन कार्यक्रमको खाका कोरेकी थिइन् । माइली छोरी किमको सेक्स भिडियो लिक हुँदा उनले आमाका रूपमा आक्रोशित भए पनि व्यवस्थापकका रूपमा ठीकै लागेको प्रतिक्रिया दिएकी थिइन् ।


टीभी कार्यक्रम र लिक भिडियोपछि जेनर/कार्दसियन परिवारको चर्चा एकाएक बढ्यो । केली त्यो बेला टीभीमा खासै देखिँदैन थिइन् । दास्रो श्रीमान्तर्फका दुई छोरी केन्डल र केली टिन एजमा पुगेपछि क्रिसले तिनका लागि प्रायोजक खोज्नुका साथै व्यावसायिक गतिविधि मिलाउन थालिन् । जेनर दिदीबहिनीले मिठाई कम्पनी खोले । त्यसको केहीपछि केलीले बेलामी हेयरसँग मिलेर हेयर एक्स्टेन्सन लाइन सञ्चालनमा ल्याइन् । त्यसले उनलाई धन आर्जनमा प्रशस्त सहयोग गर्‍यो ।


यहाँ केलीकी आमा क्रिसबारे थोरै बताउनु सान्दर्भिक होला । क्रिस आफैं पनि टेलिभिजन पर्सानालिटी हुन् भने व्यवस्थापन र कार्यक्रम निर्माणमा उनको कौशल बेजोड मानिन्छ । पहिलो श्रीमान् रोबर्ट कार्दसियनतर्फ उनका कर्टनी, किम, ख्लोई र रब गरी चार सन्तान छन् । सन् १९९१ मा ओलम्पिक गोल्ड मेडलिस्ट ब्रुस जेनरसँग दोस्रो विवाह गरेकी उनले ब्रुसतर्फ केली र केन्डल गरी दुई छोरी जन्माइन् । सन् २०१३ मा क्रिससँग अलग भएका ब्रुस अहिले लैंगिकता फेरेर महिला बनेका छन् । उनी केट्लिन जेनरका नाउँले चिनिन्छ ।


केट्लिनकी जेठी छोरी केन्डलले जेनर खानदानलाई मोडलिङसँग जोडिन् । केलीले दिदीको बाटो समाइन् । सन् २०१४ मा उनले ब्रान्ड इन्डोर्समेन्ट र मोडलिङबाट कमाएको २ लाख ५० हजार अमेरिकी डलर ओठमा लगाउने प्रसाधन (लिपिस्टिक) उत्पादनमा लगानी गरिन् । उनले स्थापना गरेको ‘केली कस्मेटिक्स’ ह्वात्तै नाफामा गयो । कम्पनीकी उनी एक्ली मालिक हुन् । उनकी आमा क्रिस त्यहाँ प्रमुख वित्तीय अधिकृतका रूपमा जागिरे छिन् ।
क्रिसकै कारण अन्य उद्यमीले झैं केलीले कदापि बाह्य लगानीका स्रोत खोज्नुपरेन । क्रिसको ब्रान्डिङ कौशल र केलीको व्यावसायिक चार्तुयले खर्बपति बन्ने बाटो तय गर्‍यो । केलीको पहिलो लिप किट सन् २०१५ मा सार्वजनिक भएको थियो । क्यान्डी के (फिका गुलाबी), डल्सी के (गाढा न्युड) र ट्रयु ब्राउन के गरी तीन रङमा उपलब्ध ती लिपकिट हातहातै बिक्री भए । इन्स्टाग्राम र ट्विटरमा त्यो बेलाका आफ्ना ५ करोड ६० लाख फलोअर्सको मायाका कारण लिप किट्स तुरुन्त बिक्री भएको केलीको भनाइ छ ।


‘मेरो पहुँच यति बलियो थियो कि जे सुरु गर्दा पनि हुन्थ्यो,’ उनले फोर्ब्ससँग भनेकी छन्, ‘सामाजिक सञ्जाल अद्भुत माध्यम हो । यसले मलाई प्रशंसक र ग्राहकसँग सजिलै जोडिदिएको छ ।’ उनको कम्पनीले दुई वर्षभित्रमै ६ सय ३० अर्ब डलरको उत्पादन बेचेको थियो । केलीका लिप किट किन त्यसरी बिक्री भए वा उनले त्यो बेला अन्य कुनै शृंगार प्रशाधनको सट्टा किन ओठकै प्रशाधनमा लगानी गरिन् भन्ने प्रश्नको जवाफ अनुत्तरित छ ।


केलीको हुर्कंदो कस्मेटिक कम्पनीका लागि लिप किट उत्कृष्ट उत्पादन बनेको थियो । लगत्तै केन्डल र केलीले टपसप र प्याकसनसँग सहकार्य गरेर ‘जो कोही युवतीले निकै सस्तो मूल्यमा आफूहरूको जस्तै लुक्स बनाउन सक्ने’ बताइहिँडे । २९.९९ डलरमा लिक्विड लिपस्टिक किनेर केलीकै जस्ता ओठ बनाउन सकिने भन्दै जेनर दिदीबहिनीले प्रचार गरे । केलीका ओठलाई लिएर मानिसमा ठूलो उत्सुकता हुने गरेको छ । उनले सर्जरी गराएको अनुमान गरिए पनि केलीले त्यसको सट्टा आफ्नै कम्पनीका लिपस्टिक, लिपलाइनर लगाएर आकर्षक बनाएको दाबी गर्दै आएकी छन् । उनका ओठ नै उनको प्रशाधन प्रचारमा सहयोगी बन्ने गरेका छन् ।


‘मैले मेरै लागि लिप किट्स बनाएकी थिएँ,’ केली भन्छिन्, ‘म आफ्ना ओठको कारण संकोच मान्ने गर्थेँ । लिपस्टिकले मलाई कन्फिडेन्स दिन थाल्यो । मेरो संकोचबाट जन्मिएको चिजले कालान्तरमा अर्कै रूप लियो । मैले
आफ्नो करियरमा गरेको सबैभन्दा सच्चा र इमानदार काम यही थियो ।’ केली कस्मेटिक्स अचेल लिप किट्स मात्रै बेच्दैन, आइस्याडो प्यालेट्स, आइलाइनर, ब्लसेस, ब्रोन्जर्स, हाइलाइटर्स, कन्सिलर्स, मेकअप ब्रसलगायत शृंगार सामग्री बेच्छ । गत साल केलीको ब्रान्डले सौन्दर्य प्रशाधनको प्रख्यात रिटेलर उल्तासँग वितरण सम्झौता गर्‍यो । फोर्ब्सका अनुसार उल्तामार्फत केली कस्मेटिक्सले ५ करोड ४४ लाख डलरको उत्पादन बिक्री गरेको थियो । कम्पनीको नेट वर्थ ९ सय अर्ब अमेरिकी डलर छ ।


रोयटर्सका अनुसार सन् २०१७ मा शृंगार प्रशाधनको विश्व बजार ५ सय ३२ दशमलव ४३ खर्ब अमेरिकी डलर थियो भने त्यो बढेर सन् २०२३ सम्ममा ८ सय ५ दसमलब ६१ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । ‘कस्मेटिक्स वा सौन्दर्य उत्पादन उद्योग मात्रै यस्तो उद्योग हो जसलाई बजारको उथलपुथलले कुनै प्रभाव पार्दैन,’ रोयटर्स लेख्छ, ‘अन्य क्षेत्रमा मन्दी लागे पनि कस्मेटिक्स बजार स्थिर रहन्छ । विशेषतः महिला र सौन्दर्य प्रशाधन प्रयोग गर्ने पुरुषको बढ्दो संख्याले यो उद्योग तगडा रहने गरेको छ ।’
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : चैत्र २, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?