१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'क्लास लिने होइन'

काठमाडौँ — छोटो फिल्मबाट करिअर सुरु गरेका रितेश बत्रा सनडान्स फिल्मल्याब र एकेडेमीका फेलो हुन्  । उनले अरबी भाषामा बनाएको छोटो फिल्म ‘क्याफे रेगुलर, कायरो’ ले फ्रिप्रेस्कीको क्रिटिक्स अवार्डलगायत १२ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो  ।

'क्लास लिने होइन'

२०१३ मा उनले बनाएको पहिलो हिन्दी फिल्म ‘द लन्च बक्स’ ले क्यान्स फिल्म फेस्टिभलमा ‘ग्रान्ड गोल्डेन रेल’ अवार्ड जितेको थियो । मुम्बईमा हुर्के बढेका न्युयोर्क निवासी बत्राको दोस्रो हिन्दी फिल्म ‘फोटोग्राफ’ अर्को सातादेखि प्रदर्शनमा आउँदै छ । सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको यो फिल्मको युरोप प्रिमियरका लागि बर्लिन फिल्म फेस्टिभलमा आएका बत्रासँग बर्लिनमा गरिएको कुराकानीको सम्पादित अंश । कुराकानीका क्रममा उनले अस्वस्थ रहेका आफ्नो पहिलो फिल्मका स्टार इरफान खानलाई पनि सम्झिए । ‘उनी ठीक भएर आऊन् र अर्को फिल्म उनीसँगै बनाउन पाइएला भनेर म कुरेर बसेको छु,’ उनले भने ।

तपाईंका दुवै फिल्म 'लन्च बक्स’ र 'फोटोग्राफ’ लाई रोमान्टिक फिल्म भन्न मिल्छ ?
अवश्य मिल्छ । यदि तपाईंलाई यी फिल्म रोमान्टिक लागे भने त्यो मेरो सफलता नै हो ।

तर यी दुवै फिल्म परम्परागत रोमान्टिक फिल्मभन्दा फरक छन् । 'लन्च बक्स’ मा हिरो र हिरोइनको भेट नै हुँदैन । 'फोटोग्राफ’ मा भेट त हुन्छ तर दुवैले सुरुदेखि नै एकअर्कासँग आफ्नो भविष्य देख्दैनन् । तपाईंको फिल्ममा प्रेम किन फरक र मौन छ ?


यसको ठ्याक्कै उत्तर मसँग पनि छैन । यी दुई छुट्टाछुट्टै कथा हुन् । यी पात्रको कथा पनि फरक छ । ‘लन्च बक्स’ का पात्र र तिनको कथा एकदमै फरकखाले छ । यसको आइडिया नै आफूले कहिल्यै नदेखेको वा महसुस नगरिएको मानिसका लागि सबै चीज त्याग्न कोही कसरी तय हुन्छ भन्ने थियो । कहिलेकाहीँ मान्छेले आफ्नो मनको कुरा पनि अरू कसैलाई भेटेपछि मात्र थाहा पाउँछ । तपाईंले कुनै मानिसलाई भेट्दा आफ्नै जीवनको नयाँ पाटोबारे पत्ता लगाउने कुराहरूबारे मैले ‘फोटोग्राफ’ बनाएको हुँ । सम्बन्ध वा प्रेम भनेको यस्तो चीज हो, जसले आफैंलाई चिन्न मद्दत गर्छ । संसारमा केही मानिस यस्ता हुन्छन्, जोसँग आफ्नो भन्नु यही सम्बन्ध मात्र हुन्छ ।


दोस्रो कुरा, प्रेम एउटै हुन्छ तर त्यसको अभिव्यक्ति फरक हुन सक्छ । सबैका लागि त्यसको अनुभूति र अभिव्यक्ति एउटै हुँदैन । फिल्म मेकिङमा पनि त्यही हो । फिल्ममा पनि कथा भन्ने शैली फरक हुन सक्छ । अरूले जे बनाउँछन् मैले पनि त्यही बनाएँ भने त मेरो फिल्म कसरी भयो ? मेरो फिल्म त मैले बनाएजस्तो, मैले सोचेजस्तो मेरो शैलीको हुनुपर्‍यो नि ।

तपाईंका लागि फिल्म व्यक्तिगत कुरा नै हो ?
हो । मैले बनाउने फिल्ममा मेरो व्यक्तित्व र मेरो सोच मिसिएको हुन्छ । साथै कथा त फेरि पात्रका हुन् । ती मेरा कथा होइनन् । मैले लेखे पनि ती मेरो पात्र, तिनको सोच र परिस्थितिअनुसार निर्माण भएका हुन्छन् । मेरा पात्र शान्त र स्थिर देखिन्छन् । तर, यसको मतलब तिनको जीवनमा हलचल छैन भन्ने होइन । हलचल भौतिक रूपमा पात्रको चालढालमा देखाउने कि मानसिक हलचलको कथा भन्ने ? यो कुरा फिल्ममेकरमा भर पर्छ ।

तपाईंका दुवै फिल्मको अन्त्यमा बिट मारिएको छैन । कथालाई यसरी खुलै छोड्नुको कारण के हो ?
मेरो हिसाबले दुवै फिल्ममा कथा खुला छैनन् । अन्त्यको कुनै दृश्यमा मैले नै दर्शकलाई निष्कर्ष नसुनाउनुको उद्देश्य त्यो दृश्य दर्शकको दिमागमा बसोस् भन्ने हो । दर्शकले आफ्नो हिसाबले त्यसको अर्थ निकालून् वा त्यसबारे सोचून् भन्ने हो । तपाईंको पात्रले अर्को कुनै पात्र, घटना वा जीवनबारे कुनै नयाँ अर्थ पायो भने कथा त्यहीं सिध्दियो नि । फिल्म सकिँदा तपाईंको पात्र अर्कै बुझाइको मानिस भइसकेको हुन्छ । त्यसलाई तन्काएर दर्शकलाई बताइरनु आवश्यक हुँदैन । फिल्ममेकरले कथा भन्ने हो, क्लास लिने होइन ।

प्रकाशित : चैत्र २, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?