१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फराक मैदान, साँघुरो कथा

यज्ञश

काठमाडौँ — रपरसम्म फैलिएका सुनौला घाँसे मैदान  । हजारौं किलोमिटरदेखि दौडिँदै आएको घाम पहिलोचोटि धर्तीलाई देख्दा पग्लिएर पहेंलै भएजस्तो लाग्ने  ।

फराक मैदान, साँघुरो कथा

निःशब्द, शान्त र स्थिर । पृथ्वीको यो भाग हो मंगोलियाको । यो मैदान केही जीवात्माहरूको घर पनि हो । संसारकै सबभन्दा कम घनत्वको बस्ती मानिने यो मैदानले पालेका जीवहरूमा बेलगाम हावामा दौडिइरहेका घोडा, उनको भारी बोकेर थाकेजस्ता लाग्ने भेडा, पुस्तौंदेखि भोकै जन्मिएजस्ता लाग्ने ब्वाँसा, तीन दिनदेखि ब्याउन नसकेर छटपटाइरहेको गाई र चिरिएको जुरो भएको ऊँटलगायत छन् ।


यिनै जीवको बीचमा छ— कथाको मुख्य पात्र डाइनासोर । पृथ्वीबाट करोड वर्षपहिले हराएको डाइनोसर भने यो होइन । यो डाइनासोर एउटी गोठाली प्लस सिकारी स्त्री हो । ठिहिराले खाएको यो स्तेपी (मैदान) मा यो डाइनासोरको आफ्नो संसार छ, टेन्टको घरभित्र । परेको बेला सहयोग गर्ने र लाइन मारिरहने एउटा छिमेकी छ । कहिले यो छिमेकी भेडा काट्नलाई छुरी लिएर आउँछ, कहिले गाईको पेटबाट बाच्छो निकाल्न टर्च बालेर आउँछ । बेलाबेला भने आफूसँग बिहे गरेर सन्तान जन्माउने फरियाद पनि साथै लिएर आउँछ ।


उसैले भन्छ— पहिलो पटक डाइनासोरको फोसिल यही मैदानमा भेटिएको थियो । ऊ त डाइनासोरको अण्डासमेत लिएर आउँछ, प्रेमिकालाई गिफ्ट । अनडग अर्थात् अण्डा । डाइनासोरको अण्डा, मान्छेको अण्डा ! ७१ औं बर्लिन फिल्म फेस्टिभलको सबभन्दा प्रतीक्षित फिल्ममध्ये एउटा थियो– ‘अनडग’ । छैटौं जेनेरेसनका चिनियाँ निर्देशक क्वानान वाङ बर्लिनका फेभरेट नै हुन् । उनले यसअघि २००६ मा ‘तुयाज म्यारिज’ का लागि गोल्डन बियर जितेका थिए । यो फिल्मजस्तै ‘अनडग’ मा पनि उनले मंगोलियाको कथा ल्याएका छन् । जब पाँचौं जेनेरेसनका प्रसिद्ध निर्देशक च्याङ यिमायुको फिल्म ‘वान सेकेन्ड’ अन्तिम सेकेन्डमा प्रतिस्पर्धामा आएन, यसलाई नै सम्भावित विजेता मान्नेको संख्या ठूलो थियो । त्यस अनुमानविपरीत वाङ चिसो जर्मनीबाट रित्तो हात फर्किए । फिल्म हेर्ने दर्शकको मन भने रित्तो थिएन ।


‘अनडग’ धेरै अर्थमा अलग फिल्म हो । फिल्मको कथा र पात्र मात्र होइन, उनीहरूबीचको सम्बन्ध र दृश्यहरू पनि निकै फरक छन् । एउटा सामान्य फिल्म (बलिउड र हलिउडको कथावाचन शैलीलाई नै गुरु मान्नेका लागि त यो औषधिको वैज्ञानिक फर्मेसन हेरेजस्तो केही नबुझिने पनि लाग्न सक्छ) को जस्तो न यसको सिनेम्याटोग्राफी छ न पटकथा । न कुनै ठूलो घटना छ । न पात्रहरूको दिमागमा भयंकर द्वन्द्व चल्छ । न सुमधुर संगीत, न उम्दा लभ स्टोरी ।


फिल्म सुरु हुन्छ, लामो न लामो एउटा यात्राबाट । रातको समय । मैदानमा एउटा गाडी गुडिरहेको छ । क्यामेराले गाडीको लाइटलाई मात्र फलो गरिरहेको छ । गाडीमा को छन् ती को हुन् थाहा छैन । तर, उनीहरू सिकार र सिकारको दर्शनशास्त्रमाथि बहस गरिरहेका छन् । गाडीको बत्तीमा एकतमासले दौडिइरहेका घोडाको बथान देखिन्छ । गाडी नरोकिइरन अघि बढिरहेको छ । एउटा सिकारी भन्छ्, ‘सिकार गर्दा निकै चनाखो हुनुपर्छ । रातिको समयमा जे देखिन्छ, त्यो त्यही नहुन सक्छ । नांगो आँखाले यो मैदानको सबै सत्य देख्न सकिंदैन ।’


गाडीको बत्तीमा मैदानमा ढलिरहेको युवतीको नग्न लास देखिएपछि गाडी रोकिन्छ, यात्रीहरूको सास । भोलिपल्ट बिहान घटनास्थलमा प्रहरीको टोली आइपुग्छ । यो क्षेत्रमा ब्वाँसाहरूको बास छ । मानव मांस उनीहरूका लागि गतिलो भोजन हो । यसैले प्रहरीले युवती को हो ? उसको हत्यारा को हो ? हत्या किन भयो पत्ता लगाउन यो लास जोगाउनु जरुरी छ । तर, प्रहरीसँग भएको सानो पेस्तोलको झिनो आवाजलाई यी ब्वाँसाहरूले पचाइसकेका छन् । पटकाजस्तो मानेर भाग्दैनन् । यसैले प्रहरी अधिकारीले ‘डाइनासोर’ को खोजी गर्छ । भेडा र घोडा पालेर मैदानको अर्को छेउमा बसेकी डाइनासोरसँग भएको राइफलको आवाजले ब्वाँसा तर्सिने गरेका छन् । उसको खोजी गरिसकेपछि भर्खर भर्ती भएको जवानलाई लास कुर्ने ड्युटी दिएर प्रहरी टोली फर्किन्छ । डाइनासोर र त्यो प्रहरी युवाले लासको रखवाली कसरी गर्लान् ? चिसो र अँध्यारो रातमा उनीहरूका बीच केही हुन्छ ? यसको अण्डासँग के सम्बन्ध होला ? जम्मा एक सय मिनेटको फिल्म यसै वरपर घुम्छ ।


बिनास्क्रिप्ट सुटिङ गरिएको यो फिल्म लङ सटहरूका लागि लामो समयसम्म सम्झनामा रहने छ । पहिलो पटक पर्दामा आएका कलाकारहरूको खासै एउटा पनि क्लोजअप छैन । सटहरू यसरी लिइएको छ कि, मानौं मैदान एउटा समुद्र हो, जसको कुनै सतह छैन । आकाशमा यो कहाँनेर पुगेर जोडिन्छ भन्ने थाहा छैन । यस्तो लाग्छ, स्थिर नीलो आकाशलाई धर्तीले काँध हालेर उभिइरहेको छ । र, त्यसकै टाङमुनि पृथ्वीका यावत् जीवातहरूको चलखेल छ ! विज्ञान र प्रविधिको चमत्कारमा अभिभूत भएर सहरको जञ्जालमा हराइरहेका मानिसलाई फिल्मले अचानक एकान्त र शून्यमा पुर्‍याउँछ । मैदानमा फैलिएका घोडा, ब्वाँसा र भेडाजस्तै मानिसलाई पनि प्रकृतिको ठूलो ओतमा ओत लागेका जनावर जसरी निर्देशकले प्रस्तुत गर्छन् ।


फिल्म साँच्किै निर्देशकको सिर्जना हो, उसको ज्ञान, बुद्धि र सनकको उजप हो भन्ने कुरा यस्ता केही फिल्म हेर्दा विश्वस्त भइन्छ । फिल्मका सबै तत्त्व भएर पनि केही नभएजस्तो । लय भएर पनि नभएजस्तो । तर्क भएर पनि नभएजस्तो । अनौठो । कतैकतै त दिगमिग लाग्दो । कतिसम्म भने लगभग चार–पाँच मिनेटको एउटा दृश्य ब्याउन नसकेको गाईको पेटबाट मानिसले हातैले तानेर बाच्छो निकालेको पूरै सिक्वेन्स खिचिएको छ, ग्राफिक्कली । दृश्यमा न श्लील र अश्लीलको भेद छ । न यसको सीधा अर्थ खोज्नतिर लागिएको छ । फिल्मले केही पात्र र उनीहरूको परिस्थिति दर्साउँछ । कुनै अर्थ वा सन्देश बताउने चेष्टा गर्दैन । त्यसको खोजी गर्ने जिम्मा दर्शकलाई नै दिइएको छ । सभ्यता निर्माणको क्रममा रहेको कुनै झुन्ड जसरी मानिसको स्वभाव र जीवनको यस्तो चित्रण फिल्ममा कमै मात्र देख्न पाइन्छ ।

प्रकाशित : चैत्र २, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?