कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फेरि 'ग्यालाकटिकोस'

हिमेश

काठमाडौँ — रियल म्याड्रिड आयाक्ससँग यति नराम्रो हार्न सक्छ भने कमैले सोचेका थिए  । सुरुमा रियल आयाक्सकै घरमा गएर २–० ले विजयी रह्यो  ।

फेरि 'ग्यालाकटिकोस'

पछि आफ्नै घरमा ४–१ ले पराजित रह्यो । यस्तो हुन्छ भनेर कम्तीमा कप्तान सर्जियो रामोसले पक्कै सोचेका थिएनन् । त्यसैले उनले पहिलो लेगको खेलमा जानाजान झेल्ली खेलेर कार्ड खाए र दोस्रो खेलका लागि प्रतिबन्धित भए । उनी कति ढुक्क थिए भने रियल सजिलै क्वाटरफाइनल पुग्नेछ ।


आयाक्सविरुद्धको त्यो हारलगत्तै क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज आफैं टिमको ड्रेसिङ रुममा छिरे र खेलाडीलाई गाली गर्न थाले । उनको आरोप थियो, रियलको खेल खस्किनुपछाडि खेलाडी नै बढी जिम्मेवार छन् । खेलाडीले खेल्नै सकेका छैनन् । साताको एक–एक लाख डलरभन्दा बढी कमाउने खेलाडी कोही कसैले अध्यक्षका विरुद्ध बोल्ने हिम्मत गर्न सकेनन् । खालि रामोसले मात्र बोले । उनको भनाइ थियो– रियलको खेल खस्कनुमा अरू कोही होइन, अध्यक्ष मात्र जिम्मेवार छन् ।


स्पेन पनि त्यस्तो देश हो, जहाँ एउटा फुटबल टिमको ड्रेसिङ रुममा भएको झगडा पत्रपत्रिकाका लागि पहिलो पानाको समाचार हुन्छ । त्यस दिन स्पेनमा त्यस्तै भयो । रामोसले भनेका रहेछन्, ‘रियल अहिले बिरामी छ । तर, अध्यक्षले यो बिरामीको उपचार गर्न खोजिरहेका छैनन् । बरु मार्न खोजिरहेका छन् ।’ पेरेज पनि के कम र ? भनेछन्, ‘त्यसो भए, क्लब छोड ।’ रामोस झन् के कम, उत्तर फर्काए, ‘मलाई मेरो पैसा देऊ, म आफ्नो बाटो लाग्छु ।’
पेरेज र रामोस एकआपसमा भिडेको यो पहिलोपल्ट होइन । यसअघि भिड्दा रामोसले झन्डै म्यानचेस्टर युनाइटेडको बाटो लिइसकेका थिए । यसपल्टको भिडन्तपछि भने दुवै चुपचाप रहे । दुवैले बाहिर आएर थप प्रतिक्रिया दिएका छैनन् । यसले कम्तीमा क्लबभित्र सुमधुर सम्बन्ध नभएको भने देखाउँथ्यो । यसबीच थप एक अर्को घटना पनि भयो । एउटा यस्तै प्रभावशाली टेलिभिजनले के समाचार दियो भने अब क्लबका प्रशिक्षक हुनेछन्, जोसे मोउरिन्हो ।


फेरि मोउरिन्हो नै ? त्यो टेलिभिजन आफ्नो स्रोतप्रति कति ढुक्क थियो भने उसको दाबी नै थियो, पेरेजले अब क्लबको जिम्मा फेरि मोउरिन्होलाई नै दिने भएका छन् । हुन पनि यस्तै भएको थियो । यता मोउरिन्हो आफैं पनि सलबलाइसकेका थिए । उनीमाथि म्यानचेस्टर युनाइटेडबाट बर्खास्तीमा परेको चोट थियो नै । तत्कालका लागि बेरोजगार पनि थिए । मै हुँ भन्ने फुर्ती उनमा अझै छ । उनी किन रियलको प्रस्ताव अस्वीकार गर्न चाहन्थे र ?


फेरि यहाँनिर एउटा अर्को निर्णायक घटना भयो । रामोसकै नेतृत्वमा क्लबका केही प्रमुख खेलाडीले त्यस निर्णयविरुद्ध विद्रोह गर्ने छाँट देखाए । इतिहासले भन्छ, मोउरिन्हो आएपछि उनको नेतृत्वमा रहेको टिमले उपाधि त जित्छ तर खेलाडीसँग उनको सम्बन्ध भने बिग्रिन्छ । चेल्सीमा यस्तै भएको थियो, म्यानचेस्टरमा पनि यस्तै भएको थियो । रियलमा छँदा पनि यस्तै भएको थियो । रामोससँगै पनि उनको सम्बन्ध राम्रा हुन सकेको थिएन, मोउरिन्होको अरू प्रमुख खेलाडीसँग पनि राम्रो सम्बन्ध थिएन ।

यस्तोमा पेरेजले सोचे, ओहो, मोउरिन्हो फेरि क्लबमा आए, विद्रोह पो हुनेछ । स्पेनी मिडियाले यसका लागि प्रयोग गरेको शब्द हो– गृहयुद्ध । अर्थात् मोउरिन्हो आयो भने रियलमा गृहयुद्ध हुनेछ । पेरेजले क्लबभित्रै र समर्थकमाझ धेरै शत्रु कमाइसकेका थिए । उनी थप तनावबाट गुज्रिन चाहेनन् । उनका लागि विश्वकै सबैभन्दा राम्रा फुटबल प्रशिक्षक हुन्, जिनेदिन जिदान । उनले यो कुरा धेरैपल्ट दोहराइसकेका छन् । प्रशिक्षकका रूपमा तथ्यांकले जिदानबारे यस्तै भन्छ ।


त्यसैले अध्यक्ष पेरेजले जिदानलाई फोनमा दुईपल्ट कुरा गरे । सनसनीपूर्ण रूपमा क्लब छाडेयता पनि जिदानले म्याड्रिड छाडेका थिएनन् । उनी रियलको अभ्यास गर्ने मैदानबाट केही दूरीको घरमा बस्थे । उनका दुवै छोराको फुटबल करियर रियलसँगै जोडिएको छ । फेरि रियल सम्हाल्ने पेरेजको प्रस्तावलाई उनले अस्विकार नै गर्न सकेनन् । दोस्रो फोन कुराकानीपछि जिदानले भनिहाले, ‘हुन्छ, म आउँछु ।’ यो समाचार तुरुन्तै मिडियामा चुहिहाल्यो ।


यसपल्ट समाचार भने पूर्णतः सत्य थियो । यसपल्ट पनि आश्चर्य मान्ने धेरै थिए, फेरि जिदान ? प्रश्न उत्तिकै कौतूहलपूर्ण थियो । जिदानको सुरुआती प्रतिक्रिया भने यस्तो थियो, ‘म फेरि आफ्नो घर फर्केको छु र त्यसमा निकै खुसी छु । म क्लब र अध्यक्ष पेरेज दुवैलाई खुबै माया गर्छु ।’ यहाँनिर सबैभन्दा पहिले उठ्ने प्रश्न, जिदानले सबैभन्दा पहिले क्लब किन छाडे त ? लिभरपुललाई हराएर लगातार रियलले तेस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको पाँच दिन मात्र के भएको थियो, उनले प्रशिक्षक पदबाट राजीनामा दिए ।


त्यति बेला भनिएको कारण थियो, क्लबमा जिदानले भनेजस्तो भइरहेको छैन । उनलाई थाहा थियो, टिमले भलै तेस्रोपल्ट च्याम्पियन्स लिग जितेको त छ तर यो बलियो छैन । यसले भनेजस्तो नतिजा निकाल्न सक्दैन । त्यसैले रियलले केही राम्रा खेलाडी नकिनेर सुखै छैन । तर उनको कुरा सुन्नुपर्ने खास मान्छे अध्यक्ष पेरेजले सुन्दै सुनेनन् । जिदानले राजीनामा दिइहाले । त्यसपछि रियलमा एकपछि अर्को त्यस्ता घटना भयो, जुन कुनै पनि राम्रो भन्नलायक थिएन ।


सुरुमा रियलले जुलेन लोपेटेगुईलाई प्रशिक्षक पदको जिम्मेवारी दियो । त्यति बेला रुसमा विश्वकप सुरु हुनै लागेको थियो । लोपेटेगुईकै काँधमै थियो, स्पेनी टिम । उनले रियलसँग भित्रभित्रै गरेको अनुबन्धबारे स्पेनी फुटबल संघसँग कुरा गरेकै थिएनन् । संघबाट उनी सिधै बर्खास्तीमा परे । उनी मस्को पुगिसकेका थिए, आँखाभरि आँसु बोक्दै उनी म्याड्रिड फर्कन बाध्य भए । रियलले उनको नेतृत्वमा राम्रो गर्न सकेन, त्यहाँ पनि उनी बर्खास्तीमै परे ।
त्यसपछि आए, रियलको एकेडेमी सम्हालिरहेका पूर्वखेलाडी सान्टियागो सोलारी । उनको नेतृत्वमा टिमले ठीकै खेलिरहेको थियो, आयाक्सविरुद्ध त्यो हारको नतिजा आयो । रियलका लागि यो कुनै पनि हालतमा सह्य हुन सकेन । सोझा सोलारी पनि बर्खास्तीमै परे । खासमा रियलका लागि त्यति बेलाको छ दिन साँच्चै निकै दुःखद रह्यो । सुरुमा रियल बार्सिलोनासँग कोपा डे रेमा पराजित रह्यो । लगत्तै ला लिगामा पनि रियल बार्सिलोनाकै हातबाट पराजित रह्यो ।


त्यसपछि आयाक्ससँगको स्तब्धपूर्ण नतिजा आएको हो । यो एक सातामा रियलको सबै सम्भावना यो सिजनका लागि समाप्त भएको थियो । कोपा डे रे र च्याम्पियन्स लिग त रियल बाहिरियो नै, लिगमा पनि अब उसले बार्सिलोनालाई उछिन्न सक्ने कुनै सम्भावना छैन । बार्सिलोना आरामले शीर्ष स्थानमा छ, रियल १२ अंकको दूरीमा तेस्रो स्थानमा छ । दोस्रोमा रहेको छिमेकी एटलेटिको म्याड्रिड पनि रियलभन्दा पाँच अंकले अगाडि छ ।
रियलले अब गर्न सक्ने एउटै काम भनेको अर्को सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुने हो । यत्तिको काम त सायद जिदानको नेतृत्वमा रियलले गर्नेछ नै । अबको सबैभन्दा महत्त्वपूर्ण प्रश्न, रियलले के गर्नेछ त ? धेरैले भनेजस्तै रियलमा यो सिजनको समाप्तिसँगै एक युगको अन्त्य भएको छ । अर्को सिजनको सुरुमा रियलको टिम बेग्लै भइसक्नेछ । धेरै परिवर्तन आउनेछ, अब । सुरुमा भनिएको थियो, सायद अध्यक्ष पेरेज आफैं रहनेछैनन् ।

जिदान आएपछि कम्तीमा त्यो सम्भावना टरेको छ । तर केही खासखास खेलाडीले दोहोर्‍याएर रियलको जर्सी लगाउने छैनन् । विशेषतः गेराथ बेल । जिदान छँदा पनि यी दुईको राम्रो सम्बन्ध थिएन । खालि जिदानले उनलाई हटाउन सकेका थिएनन् । यसपल्ट बेल आफैं हट्नुपर्ने स्थिति छ । पेरेजले जिदानसँग पहिलोपल्ट फोनमा कुरा गर्न भनेका थिए, ‘अब तिमीले जे चाहन्छौ, त्यही हुनेछ ।’ त्यो भनेको, अब जिदानले चाहेका खेलाडी किन्न पैसा उपलब्ध हुनेछ । क्लबका महत्त्वपूर्ण निर्णयमा जिदानको मत सबैभन्दा निर्णायक हुनेछ । पेरेज निकै महत्त्वाकांक्षी अध्यक्ष हुन् । उनी जुनसुकै मूल्यमा क्लबलाई सफल बनाउन चाहन्छन् । उनी सन् २००० तिर पहिलोपल्ट रियलको अध्यक्ष पदमा जितेका थिए, बार्सिलोनाबाट लुइस फिगोलाई जसरी पनि ल्याउने नारासहित । उनी अध्यक्षमा जिते पनि । फिगो रियल आए पनि । त्यसको वरिपरि धेरै ठूला नाम रियलमा आए । पेरेजको यो एक से एक खेलाडी किन्ने नीतिलाई भनिन्छ, ‘ग्यालाकटिकोस’ ।


त्यति बेला फिगोसँगै रियलमा भित्रिएका थिए, जिदानदेखि ब्राजिली रोनाल्डो, डेबिड बेकह्याम, माइकल ओवेन, रोविन्हो र अहिलेका कप्तान रामोस । यो पहिलो पुस्ताको स्टार भए । तिनलाई साथ दिन क्लबमा थिए, फर्नान्डो हिएरो, राउल, गुटी, रोबर्टो कार्लोस, फर्नान्डो मोरियन्टेस, माइकल साल्गाडो, इकर कासियास र क्याउडियो माकालेले । त्यसबेला यो टिम वास्तवमै अचम्मको थियो । यति धेरै स्टारको यति बलियो टिम विरलै फेरि बन्नेछ ।
दोस्रो ‘ग्यालाकटिकोस’ नीतिअन्तर्गत पेरेजले फेरि एकपल्ट उस्तै स्टार खेलाडी किने । त्यसमा पर्छन्, पोर्चुगाली रोनाल्डोसँगै काका, करिम बेन्जमा, ज्याभी एलोन्सो, एन्जेल डी मारिया, लुका मोडरिच, इस्को र बेल, टोनी क्रुस । यिनलाई पनि पछाडिबाट साथ दिन थिए, तिनै रामोस र कसिलाससँगै पेपे, मार्सेलो, गोन्जालो हिगुएन र मेसिट ओजिल आदि । अहिले यो पुस्ता पनि खिइँदै छ । अब जिदान फेरि आएपछि फेरि दोहोरिनेछ, उही ‘ग्यालाकटिकोस’ नीति, तेस्रोपल्ट ।


अब को–को आउन सक्नेछन्, रियलमा ? प्रश्न रोमाञ्चित तुल्याउनेछ । जिदान सुरुदेखि चाहन्थे, चेल्सीका एडेन हेजार्ड आउन् भनेर । हेजार्ड पनि चाहन्छन्, रियल आउन । यो पहिलो नाम भयो । त्यसपछि पीएसजीका केयलिन एमबापे । एमबापे फ्रान्सेली हुन्, त्यसैले जिदानले उनलाई सजिलै फकाउन सक्ने विश्वास छ । अनि पीएसजीकै ब्राजिली नेयमार । नेयमार कुनै बेला बार्सिलोनामा थिए, उनी पनि रियल आउन उत्सुक नै मानिन्छ ।


म्यानचेस्टरका पउल पोग्बा पनि सम्भावित खेलाडी हुन सक्छन्, किनभने उनी अहिलेको क्लबमा खासै खुसी हुन सकेका छैनन् । यस्तै एक अर्को खेलाडी हुन सक्छन्, लिभरपुलका साडियो माने । जिदानका दिमागमा लामो सूची होला, किन्ने खेलाडीको । सायद यसमा रोनाल्डो पनि छन् कि ? अहिलेका लागि सबै अनुमान हुन् । यसका लागि पैसाको त खोलै बनाउनुपर्नेछ । तर तय छ, फेरि ‘ग्यालाकटिकोस’ नीति लागू हुनेछ । र, यसका लागि क्लबले अहिलेका केही खेलाडीलाई पनि बेच्नेछ, हिसाबकिताबमा सन्तुलन राख्न ।
twitter : @himeshratna

प्रकाशित : चैत्र २, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?