साला पहाड मे क्या है

काठमाडौँ — मीनबहादुर विष्ट १. मुहानबाट निस्केर फुत्तकहीं हुत्तिँदै कहीं थामिंदैतर कहीं कतै पनिपछाडि फर्केरएक नजरसम्मनलगाउँदैबरु उल्टै दुई किनारहरुमासालीक झैं उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदीदेश छोडेर

२. काँधमा रातो रूमालले बीचमा
टपक्क बाँधेको झोला र
कम्मरमा
वर्षौदेखि शान नलगाई
खिया परेको
खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मूर्दाघर जस्तो घर
रूङ्न अह्राउँदै
पियारीहरुलाई साथमा लिएर
हिँडिरहेछन् तन्नेरी छोराहरु
जन्म ठाउँ छोडेर ।

३. बेमौसम
अज्ञात मुलुकबाट
आएको बताससँगसँगै
लहस्सिँदै र बतासिँदै
उडिरहेछन् दिशाहीन भएर
सुन्दर, मुलायम
फूलका कलिला कोपिलाहरु
र हरिया, नरम पातहरु
बिल्कुल नांगो र कुरुप पार्दै
पर्वतका शृंखलाहरुमा
लाम बाँधेर
परेडमा उभिएका सिपाहीझैं
उभिएका वटवृक्षहरुलाई ।

४. लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका
परेवाका बथानहरु
सुकुम्बासीझैं
खडेरीले शुष्क भएको छाती र
बर्सातले निथ्रुक्क भिजेको जीउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाासको ठेगान
बिल्कुल बेठेगान भएर
भौतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा ।

५. त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा
निबन्ध लेख्न सकोस्
जस्तो कि
धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरु
‘साला पहाडमे क्या है’
हो, केही छैन ’साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा
जस्तो–
नवजात शिशु मरेका आमाहरुझैं
असाध्यै पीडामा आँसु बगाइरहेका
नदीका मुहानहरु छन्,
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र
केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टानझैं जमेका
केही पोखरीहरु छन्,
एकैसाथ घर रूङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढीहरु छन्,
अनुहार सक्किएका केही पर्वतहरु र
यौवनमै ठहरै परेका
केही वटवृक्षहरु छन्
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी
घुरिरहेका सुकुम्बासी
परेवाका बथानहरु ।

प्रकाशित : चैत्र ९, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?