काठमाडौंमा 'डर्टी वार'

काठमाडौँ —  
लस्करै सुताइएका बन्दीहरू देखिन्छन् मञ्चमा, आँखामा पट्टी बाँधिएका अनि हातमा हतकडी कसिएका  । जेलरहरू चाबुक, डन्डा र पेस्तोल लिएर चिच्चाउँदै यताउता घुम्दै छन्, लाचार बन्दीमाथि हमला गर्दै छन्  ।

काठमाडौंमा 'डर्टी वार'

अनि चुरोट र रक्सीको मातमा बहकिंदै महिला बन्दीमाथि जाइलाग्दै छन् । एक छेउमा एउटी महिला यातनाको कहानी लिपिबद्घ गर्दै छिन्, आफ्नै विगतमा डुब्दै । घरीघरी साह्रै कहालिन्छिन् बन्दीकालीन यातना र अपमान सम्झँदै ।
आफ्नो भागको रोटी उबारेर सिरानीमा राख्छन् केही बन्दीहरू, अनि भोक लाग्दा आपसमा बाँड्छन् । रोटीले भोक मेटाउने मात्र होइन, उनीहरूबीच प्रेम र सूचनाको सञ्चारसमेत गर्छ । दबेको आवाजमा कुराकानी गर्छन् एकअर्कासँग । निर्मम जेलरले सुइँको पाउँदा भने असह्य यातनाको सिकार हुन पुग्छन् । दिसा–पिसाब गर्नसमेत स्वतन्त्र छैनन् उनीहरू, न प्यास लाग्दा पानी नै पाउँछन् । आँखामा पट्टी छ सधैं । कुन महिना, गते र बार ? दिन हो कि रात ? केही थाहा छैन । गर्भवती एक युवतीलाई दिइएको यातनाले आङ सिरिंग हुन्छ दर्शकको । नयाँ नयाँ बन्दीहरू थपिन्छन् दिनानुदिन । यातनाका हरेक विधि प्रयोग गरिन्छ— निर्घात कुटाइदेखि करेन्ट लगाउनेसम्म ।


यी भयावह दृश्य हुन् काठमाडौंको टेकुस्थित कौशी थिएटरमा हालै मञ्चित नाटक ‘दि लिटल स्कुल’ का । पीडा र यातनाका दृश्यहरू त अभिनय नै हुन् तर यसको जग भने सत्य घटनामै उभिएको छ । एलिसिया पार्टनोयको संस्मरण (मेम्वार) ‘दि लिटल स्कुल ः बेपत्ता र बाँचेकाको कथा’ मा आधारित छ यो मञ्चन । अनि बन्दीहरूले भोगेको अमानवीय व्यवहारलाई मञ्चमा उतारेकी छन् निर्देशक डेबोरा मिरोलाले । धेरै पहिलेदेखि नै अध्यापन र नाटकमार्फत नेपालसँग जोडिएकी छन् यी अमेरिकी नागरिक डेबोरा ।


डर्टी वार र दि लिटल स्कुल
ल्याटिन अमेरिकी देश– अर्जेन्टिना । फोकल्यान्डको युद्घपछि अलि बढी चर्चामा रह्यो । विख्यात कवि खोर्खे लुइस् बोर्खेसका कालजयी कविताका कारण पनि चिनिन थाल्यो काव्य प्रेमीमाझ । अघिल्लो पुस्ताका म्याराडोना र आजको पुस्ताका मेसीका आकर्षक फुटबल खेलले गर्दा निरन्तर चर्चामा छँदै छ अहिले पनि । अर्को एउटा आततायी इतिहास पनि रहेछ अर्जेन्टिनाको चर्चामा । डर्टी वार अर्थात् सन् १९७६ देखि १९८३ सम्मको अवधिमा राज्यद्वारा सञ्चालित हत्या र आतंक । यो त्यही अवधि हो जतिखेर भिक्टर क्याम्पोराको पेरोनिस्ट सरकारलाई हटाएर सैनिक तानाशाह जर्ज राफेल भिडेलाले शासन हातमा लिए, संयुक्त राज्य अमेरिकाको उक्साहटमा । विपक्षीहरूलाई कम्युनिस्ट भएको आरोप लगाई व्यापक दमन गर्न सुरु गरियो, कम्युनिस्टविरोधी दस्ता नै गठन गरेर । धरपकड र यातनाको यो डरलाग्दो शृंखलामा तीस हजार मान्छे बेपत्ता बनाइए, कैयौं मारिए । डर्टी वारको अवधिमा कहर र यातनाको जाँतोमा पिसिनेमध्येकी एक थिइन् एलिसिया पनि । एलिसिया अर्जेन्टिनाको विद्यार्थी राजनीतिमा सक्रिय थिइन् त्यो बेला । त्यही समयमा उनी पनि कोचिन पुगिन् ‘दि लिटल स्कुल’ नामको यातनागृहमा ।
तिनै एलिसिया काठमाडौंमा व्यस्त थिइन् केही दिन अघिसम्म, आफ्नै मेमोअरमाथि बनेको नाटकमा अभिनय गर्दै । अनि उनकै छोरी इभा देखिएकी थिइन् युवती एलिसियाको भूमिकामा । सिलसिलेवार छैन घटनाक्रम, सम्झनाहरू पनि छिरलिएर होला । पीडाका पत्रहरू केलाउन सहज हुँदैन सायद । त्यसैले होला अर्की एक कलाकार युवती एलिसियाको प्रतिच्छाया (अल्टर एगो) बनी छुटेका प्रसंगहरूको वर्णनमा सघाउँदै थिइन् । भित्तामा टाँगिएका थिए वेदना झल्कने केही चित्रहरू । ती चित्रहरू एलिसियाकी आमा राकेल पार्टनोयका मौलिक सृजना रहेछन् । संयोग नै हो यो— पार्टनोय परिवारका तीनै पुस्ताको कला देख्न पाइन्छ नाटकमा । यातनाको निजात्मक अनुभूतिको सग्लो तस्बिर हो यो नाटक ।
सिर्जनाको संसारमा एलिसिया
एलिसिया मूलतः कवि हुन् । सानैदेखि कविताको लत लागेछ । तिनै कविता यातना र वेदना भुलाउने अस्थायी चौतारी बने बन्दीगृहका साथीहरूमाझ । गार्डहरूले पत्तो नपाउने गरी कविता सुनाउने गर्थिन् जेलमा उनी । एलिसिया कविताको पक्षधरतामा विश्वास गर्छिन्, उनका अग्रज गाब्रियल जेलाटाको कवितांश उद्धृत गर्न रुचाउँछिन्, ‘कुनै एक कित्तामा उभिन नसक्ने कविता कवितै होइन मेरा लागि ।’ पीडकहरूसँग मेलमिलाप हुनै सक्दैन, उनीहरू दण्डका भागीदार हुन् भन्ठान्छिन् । त्यसैले होला, उनका पछिल्ला कविताहरूमा विद्रोह र बदलाको भाव अझ सघन पाइन्छ । एउटा अंश :
मरेको दुर्गन्धित माछाझैं
आक्रोशलाई च्यापेर हिंड्दै छु म
आफ्नै काखीमा
घरी छातीमा रगड्दै, घरी साउती मार्दै
बाटोमा भेटिनेहरू भाग्छन्
मदेखि पर पर
उनीहरू किन टाढिन्छन् हँ ?
मृत्युको पूर्वाभासले हो वा
मभिक्रको आत्रोश
फेरि ब्युँतिने डरले ?
कविताबाहेक संस्मरणहरूसमेत छन् उनका । थुप्रै अर्जेन्टिनाका पीडितहरूका अनुभवलाई अनुवादसमेत गरेकी छन् उनले ।

अमेरिकी र सोभियत संघ खेमामा विभक्त विश्व सत्तरी र असीको दशकमा शीतयुद्घमा मात्र सीमित थिएन । ल्याटिन अमेरिकाका धेरै देशमा अमेरिकी हस्तक्षेप युद्घकै तहमा थियो । यही हस्तक्षेपको गम्भीर प्रभाव छ अझै । मानवअधिकार र न्यायबाट वञ्चित छन् धेरै परिवार–अर्जेन्टिना, चिली, पेरू, एल साल्भाडोर, ग्वाटेमालाजस्ता देशहरूमा ।
अर्जेन्टिनाको डर्टी वारमा बेपत्ता पारिएकाका आफन्तहरू अझै पनि हराएकाहरूको खोजीमा जुलुसमा सहभागी हुन्छन् । आखिर सास छउन्जेल आस हुने रहेछ । राजधानी ब्युनसआयर्सस्थित मायो प्लाजामा जुलुसमा लाग्दालाग्दै कैयौं आमाहरूको उमेर ढल्किसक्यो, हजुरआमा बनिसके । तर यो निरन्तरता कायम छ । उनीहरूकै लगातारको खबरदारीले त्यतिखेर हराएका थुप्रै बच्चाहरू आफन्तको सम्पर्कमा आएका पनि छन् । ‘डर्टी वार’ का पीडकमध्ये धेरै अहिले सजाय काट्दै छन् । एलिसिया थप्छिन्, ‘यस्ता जघन्य अपराधमा सर्वसाधारणले न्याय पाउन सजिलो हुँदैन । लामो र झन्झटिलो प्रक्रियाबाट गुज्रनुपर्छ । निरन्तर दबाब दिइरहनुपर्छ । दशकौंसम्मको धर्ना, दबाब र बहस पैरवीपछि हामीकहाँ पहिलेको नरसंहारका दोषीहरूले सजाय पाएका छन् । सबै दोषी दण्डित भइसकेका छैनन् अझै पनि । तर हार मान्नु हुँदैन, निरन्तरको संघर्षले अन्ततः न्याय दिलाउनेछ ।’
अर्जेन्टिनाको डर्टी वारबाट प्रताडित एलिसिया जेलमुक्त भएपछि अमेरिका पुगिन् । ‘दि लिटल स्कुल’ सँगै कविता र अन्य संस्मरण छपाइन् । उनका लेखरचनाले त्यो स्मृतिलाई बचाइराखे । सरकारी भनाइमा भर नगरी वैकल्पिक धारमा ‘दि अफिसियल स्टोरी’ जस्ता सिनेमा पनि बने त्यहाँ । मानव अधिकारको पैरवी गर्दै हिंड्छिन् एलिसिया अहिले पनि । आफूजस्तै पीडितहरूको न्यायका लागि लडिरहेकी छन् अझै । लाखौं पीडितजनमाथि परेको अन्याय र अपमानको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न धेरै मद्दत मिल्यो उनको प्रयासबाट । लामो लडाइँपछि एलिसिया र अन्य पीडितहरूले अर्जेन्टिनामा न्याय पाउन सफल भए ।
नेपालमा पनि विभिन्न समयका द्वन्द्वकालीन न्याय निरुपणको अवस्था दयनीय छ । राज्य उदासीन बन्दै गइरहेको यो बेला नेपालका द्वन्द्वपीडितहरूको न्यायको बाटो अस्पष्ट र अनिश्चित देखिन्छ । त्यसैले पनि यी घटनाहरू आम स्मृतिमा रहनु आवश्यक छ । स्मृति पुँजी हो, चाहे जतिसुकै पीडादायी किन नहोस् । स्मृतिलाई किमार्थ मेटिन दिनु हुँदैन ।
घटनाहरूको यथार्थ अभिलेखीकरण गर्न जरुरी छ । तिनै निष्पक्ष अभिलेख पीडित पक्षलाई न्याय दिलाउने बलिया औजार बन्नेछन् आगामी दिनमा । एलिसिया र उनका अर्जेन्टिनी साथीहरूले जसरी नै निरन्तर खबरदारी, बहसपैरवी गर्दै अनि साहित्य र कलामार्फत पोख्दै द्वन्द्वका स्मृति सुरक्षित राख्नु अपरिहार्य छ हामीले पनि, न्याय नमिलेसम्म । नाजी अत्याचारलाई देखे भोगेका आख्यानकार नोबेल विजेता एली वेसलले ठीकै भनेझैं लाग्छ, ‘स्मृतिबिना कुनै संस्कृति बन्दैन, न त फस्टाउँछ कुनै सभ्यता । स्मृतिबिना समाजको न वर्तमान रहन्छ, न त भविष्य नै ।’

गणेश खनिया

प्रकाशित : चैत्र ९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?