फेरि मेसी भर्सेस रोनाल्डो

हिमेश

काठमाडौँ — विश्व फुटबलमा कहिल्यै नटुंगिने बहस हो रोनाल्डो कि मेसीमा को राम्रो खेलाडी ? यो यस्तै प्रश्न हो, जसरी पेले राम्रो कि म्याराडोना भन्ने गरिन्छ  । यसको बहस पनि कहिल्यै टुंगिने छैन  ।

फेरि मेसी भर्सेस रोनाल्डो

एउटा तथ्य निर्विवाद छ, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी अहिलेको पुस्ताका सर्वाधिक राम्रा दुई खेलाडी हुन् । एक दशकभन्दा बढी समय भइसकेको छ, यी दुई खेलाडीलाई केन्द्रमा राखेर आधुनिक विश्व फुटबल घुमेको । यी दुई खेलाडीबारे धेरैभन्दा धेरै लेखिएका छन् ।


तर पनि यसबारे लेख्ने क्रम टुंगिने भने छैन । यो यस्तो विषय हो, जसले आधुनिक फुटबललाई रोमाञ्चक बनाएको छ । प्रतिस्पर्धालाई लिएर दुवैलाई प्रश्न नसोधिएका पनि होइनन् । दुवैले यसबारे उक्तर दिने त्रममा किन यस्तो प्रश्न सोध्नुपरेको हो पनि भनेकै छन् । यी दुईको सम्बन्ध भने एकै ठाउँमा पर्दा सायद बोलचाल पनि नहुने खालको बुझिन्छ । भर्खरै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ का खेल सकिएका छन् । क्वाटरफाइनलको ‘ड्र’ पनि निस्किसकेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रोनाल्डो र मेसी दुवैले उत्कृष्ट खेल पस्के । लगभग यिनै दुई खेलाडीमा टिकेर उनीहरूको टिम अन्तिम आठमा पुगे । फुटबलमा ‘यदि र तर’ लागू हुने हो भने रोनाल्डो र मेसीले त्यति निर्णायक नखेलेको भए, सम्भवतः युभेन्ट्स र बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा रहने थिएनन् । रोनाल्डोले युभेन्ट्स र मेसीले बार्सिलोनालाई लगभग एक्लै क्वाटरफाइनल पुर्‍याएका हुन् भन्दा पनि हुन्छ । तय छ, यी दुई क्लबलाई अझ अगाडि बढ्ने हो भने यिनै दुई खेलाडीले फेरि दोहोराएर अब्बल दर्जाको खेल प्रदर्शन गर्नुपर्नेछ । त्यसैले फेरि एकपल्ट नयाँ दृष्टिकोणबाट यी दुई खेलाडीको ‘राइभर्ली’ बारे विश्लेषण गर्ने क्रम सुरु भएको छ, त्यो पनि त्यही च्याम्पियन्स लिगको पछिल्लो खेलमा टिकेर । र, भन्न सुरु भएको छ— यी दुवै खेलाडी अझै उत्तिकै उम्दा छन्, सकिएका छैनन् ।


रुस विश्वकपपछि के भन्न सुरु भएको थियो भने अब विश्व फुटबलमा नयाँ पुस्ताको आगमन भएको छ, पुराना खेलाडी गए । अझ सीधासीधा भन्दा रोनाल्डो र मेसीका दिन गए । रोनाल्डोको पोर्चुगल र मेसीको अर्जेन्टिनाले रुसमा खासै केही ठूलो गर्न सकेका पनि थिएनन् । त्यसैले यो अनुमान ठीकै पनि देखिन्थ्यो । तर विश्वकपपछिको एक सिजन फुटबल के अन्त्यतिर अग्रसर छ, भन्न करै लाग्छ, अहिलेको फुटबल पनि यिनै रोनाल्डो र मेसीकै हो ।


सबैभन्दा पहिला रोनाल्डोकै कुरा । एटलेटिकोविरुद्धको पहिलो लेगमा युभेन्ट्स दुई गोलले पराजित रह्यो । यो नतिजापछि केसम्म भन्न सुरु भयो भने यसपल्टको च्याम्पियन्स लिग जित्ने पालो एटलेटिकोकै हो । तर दोस्रो लेगमा यही एटलेटिकोले मार खायो । युभेन्ट्स त्यो खेलमा तीन गोलले विजयी रह्यो । तीनै गोल रोनाल्डोले गरे । यस क्रममा उनले आफ्नो पारम्परिक पाराले गोलको खुसियाली मनाउनुको साटो अर्कै शैली अपनाए र जुन प्रशंसायोग्य भने थिएन ।


एटलेटिकोले जित्दा उसका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनले दर्शकतर्फ फर्कदै माथि उठेको हातलाई तल झारेर ‘ई.....’ भन्दै अश्लील पाराले खुसी मनाएका थिए । पछि उनलाई यसकै लागि ठूलै जरिवाना पनि ठोकियो । रोनाल्डोले पनि युभेन्ट्सले जित्दा यस्तै गरे, ‘ई.....’ भनेर । रोनाल्डोलाई यस्तो किन पो गर्नुपरेको थियो होला ? रोनाल्डो यस्तै खेलाडी हुन् । युभेन्ट्सले जितेयता उनले फेरि भनि पनि हाले, ‘युभेन्ट्सले मलाई भित्र्याएको यस्तै खेल जितोस् भनेर त हो ।’


यसअघि रोनाल्डोले के पनि भनेका थिए भने मेसी खाली स्पेनमै बसिरहेर काम छैन । मेसीलाई उनको चुनौती थियो, ‘इटालीमा आएर खेलेर त हेर, कति बार्सिलोनामै खुम्चिरहन्छौं ।’ सन् २००९ मा उनी म्यानचेस्ट युनाइटेडबाट रियल म्याड्रिड आए र त्यहाँ नौ सिजन बिताए । रोनाल्डो इटाली आएयता मेसीसँग उनको भेटघाट पातलिएको छ । त्यसैले उनले भनिहाले, ‘सायद मेसीले स्पेनमा मेरो अनुपस्थितिलाई अनुभव गरिरहेका छन् ।’ यस्तै यस्तै बोलिरहन्छन्, रोनाल्डो । अब मेसीको पालो । उनको व्यक्तित्व रोनाल्डोभन्दा आकाश–जमिनले फरक छ । तर त्यसको अर्थ, उनले पनि नबोल्ने भने होइनन् । रोनाल्डोको खेलले युभेन्ट्सले जितेपछि सबैभन्दा पहिला बधाई दिनेमा मेसी पनि थिए । उनले ट्विट गर्दै यस्तै आशय पोखे, ‘रोनाल्डोले राम्रो खेले ।’ मैदानमै फर्कने हो भने रोनाल्डोको भन्दा मेसीको खेल पनि कम थिएन, बार्सिलोना र लियोनबीचको खेलमा । त्यो खेलमा मेसीको सन्देश थियो, ‘तिमी जति खेल्न सक्छौं, म त्योभन्दा पनि बढी राम्रो गर्न सक्छु ।’


लियोनविरुद्ध मेसीले दुई गोल मात्र गरेनन्, अर्को दुई गोलमा सहयोगी भूमिका पनि निर्वाह गरे । उनका समर्थकको दाबी के देखिन्थ्यो भने भलै मेसीले ह्याट्रिक गरेनन् तर उनको प्रदर्शन त्योभन्दा पनि माथि थियो । बार्सिलोनाको यो जितपछि यसपल्टको सिजन क्लबका लागि अद्वितीय हुन सक्नेछ, उसका लागि सबैखाले उपाधि जित्ने सम्भावना कायम छ । उत्तिकै सबैभन्दा ठूलो तथ्य के पनि हो भने च्याम्पियन्स लिगकै कारण रोनाल्डो र मेसीबीचको टक्कर पनि कायम नै छ । यहाँनिर फुटबलका पण्डितहरूले नयाँ तथ्य पनि अगाडि सारेका छन् । त्यो हो— रोनाल्डो र मेसी एकअर्काको खेलले प्रेरित हुने गर्छन् ।

त्यसो त धेरैले यस्तो अनुभव गरेका पनि थिए होला, शनिबार रोनाल्डोले राम्रो गर्‍यो भने आइतबार उत्तिकै राम्रो गर्ने प्रयासमा हुन्छन्, मेसी । दुवै स्पेनमा छँदा यस्तै देखिन्थ्यो, अहिले रोनाल्डो इटालीमा गएयता संयोग कम भएका छन् । च्याम्पियन्स लिगले यही तथ्यलाई फेरि ब्युँझाएको छ ।


रोनाल्डो हुने थिएन त मेसी उस्तै राम्रो खेलाडी हुने थिएनन् । अथवा त्यसको विपरीत मेसी हुने थिएनन् त रोनाल्डो पनि उत्तिकै सटीक हुने थिएनन् । हालै मात्र इंग्लिस फुटबल पत्रकार एन्डी वेस्टले मेसीबारे पुस्तक लेखेका छन् । वेस्ट काम्प नुमा रहेर बार्सिलोनाको फुटबलबारे लेख्ने गर्छन् । उनको नयाँ पुस्तक हो, ‘लियोनल मेसी एन्ड आर्ट अफ लिभिङ’ । मेसीबारे लेख्न वेस्टले अरू धेरैसँग कुराकानी गरेका छन् । त्यो पुस्तकको पनि सार हो— रोनाल्डो छन् त मेसी पनि छन् । अनि मेसी छन् त रोनाल्डो पनि छन् । एकअर्कासँगको प्रतिद्वन्द्विताले नै उनीहरू खारिएका छन् ।


वेस्टले लेखेका छन्, ‘रोनाल्डो र मेसीबीचको सम्बन्धलाई केही नकारात्मक ढंगले उचाल्दा धेरैलाई मज्जा आउँछ । धेरैले यस्तै गरेका छन् । तर एउटा तथ्य के हो भने उनीहरू एकअर्काको खेलले प्रेरित छन् । दुवै बढीभन्दा बढी खेल जित्न चाहन्छन्, बढीभन्दा बढी उपाधि पनि । यही कारणले उनीहरू सधैं राम्रो खेल्न प्रेरित हुन्छन् । फेरि उनीहरू दुवै अरूको तुलनामा एक तहमाथि राम्रा खेल्न पनि सक्षम छन् । उनीहरू सकिएका पनि छैनन्, उत्तिकै अब्बल दर्जाका छन् ।’
रोनाल्डो भर्सेस मेसीको पछिल्लो सार यही हो ।
twitter @himeshratna

प्रकाशित : चैत्र ९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?