१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चर्को नाराजस्तै

यज्ञश

काठमाडौँ — नेटफ्क्सिका दर्शकले वाङ्गर मउरालाई चिन्छन्  । जसले ‘नार्कोस’ हेरेका छन्, तिनले पाब्लो इस्कोबारको भूमिकामा अभिनय गर्ने वाङ्गरलाई बिर्सन गाह्रै पर्छ  ।

चर्को नाराजस्तै

‘मारिगेला’ हेर्न पाउने दर्शकका लागि भने उनी अभिनेताभन्दा बढी निर्देशकका रूपमा चिनिनेछन् । चिनिनेछन् किन भनेको भने ‘मारिगेला’ अहिलेसम्म सार्वजनिक प्रदर्शनमा आएको छैन । र, वाङ्गरको देश ब्राजिलमा यो सार्वजनिक प्रदर्शनमा नआउने पनि पक्का भइसकेको छ ।


‘मारिगेला’ यस्तो फिल्म हो, जुन फिल्मलाई रिलिज हुनुअघि नै ब्राजिलका राष्ट्रपति बोसोनारोले अघोषित प्रतिबन्ध लगाएका छन् । बोसोनारो मात्र होइन, ब्राजिलका अन्य धेरै दक्षिणपन्थीले यो फिल्म र निर्देशक वाङ्गरको तीव्र विरोध गरेका छन् । उनीहरूको भनाइ छ, ‘वाङ्गरले एउटा आतंकवादीलाई हिरोका रूपमा प्रस्तुत गरे ।’ फिल्मका समर्थक पनि त्यत्तिकै छन् । समाजवादी र कम्युनिस्टको गतिलै प्रभाव रहेको ब्राजिलको समाजमा कार्लोल मारिगेलालाई हिरो वा सहिद मान्ने मात्र होइन, अहिलेको सत्तालाई जवाफका रूपमा लिने पनि छन् ।


क्युबाका क्यास्ट्रो वा अर्जेन्टिनाका चेजस्तै ब्राजिलको इतिहासमा पनि एक जना कम्युनिस्ट क्रान्तिकारी थिए— कार्लोस मारिगेला । ब्राजिलको सैनिक तानाशाहीविरुद्ध सशस्त्र विद्रोह थालेका मारिगेला १९६९ मा मारिएका थिए । मारिगेला श्वेत र अश्वेत मातापिताका सन्तान भए पनि फिल्ममा उनलाई पूर्णतः अश्वेत पात्रका रूपमा देखाइएको छ । यसलाई पनि आलोचकहरूले निर्देशकले ‘अति गरेको’ भनेका छन् ।


फिल्मले कार्लोस मारिगेलालाई एउटा क्रान्तिकारी र जनप्रिय नेताका रूपमा प्रस्तुत गर्छ । बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर गरिएको फिल्मको शोमा यसका निर्देशक, कलाकार र समर्थकको प्रस्तुति हेर्दा मलाई लाग्यो, मारिगेलालाई उनीहरू साँच्चिकै प्रेम गर्छन् । र, कम्युनिस्ट विचारबाट प्रभावित छन् । होइन भने, बर्लिनको रेड कार्पेटमा उभिएर उनीहरूले मुठ्ठी उचाल्ने थिएनन्, कम्युनिस्टका पक्षमा नारा लगाउने थिएनन् । न त राष्ट्रपति बोसोनारोको विरोधमा नारा घन्काउने नै थिए ।


फिल्मको सोपछि दर्शकका अघि उभिएर निर्देशक वाङ्गरले भने, ‘मलाई थाहा छ, मेरो फिल्म ब्राजिलमा प्रदर्शन हुनेछैन । तर, हामी संसारभरका फिल्मप्रेमीहरूमाझ पुग्नेछौं, फेस्टिभलहरूमा जानेछौं । यो कथा संसारलाई देखाउनेछौं ।’ समाचारहरूमा जनाइएअनुसार ब्राजिलका फिल्म वितरक र प्रदर्शकहरूले जारी गरेको क्यालेन्डरमा वर्षभरि नै ‘मारिगेला’ लाई एउटा हल पनि छुट्याइएको छैन । के छ यो फिल्ममा यस्तो कुरा जसलाई लिएर त्यहाँको सत्तालाई त्यत्रो आपत्ति छ ?


फिल्मको कथा निकै छोटो छ— सैनिक तानाशाहीलाई सशस्त्र आन्दोलनबाटै हटाउनुपर्छ भन्नेमा दृढ मारिगेलाको नेतृत्वमा एउटा सानो समूह छ— नेसनल लिबरेसन एक्सन । समूहले १९६८ मा साउ पाउलोमा एउटा रेल लुटे र हतियार जम्मा गरेबाट फिल्म सुरु हुन्छ । त्यही हतियार देखाएर एउटा बैंक लुट्छ । त्यसपछि सरकारले ‘सीआईए’ को सहयोगमा यो समूहलाई कसरी खोजीखोजी सिध्याउँछ भन्ने नै फिल्मको कथा हो । त्यो कारबाही कति निर्मम थियो र कसरी क्रान्तिकारीहरू तिनको फन्दामा परे भन्ने कुरा देखाउन निर्देशकले निकै मिहिनेत गरेका छन् ।


फिल्मको सग्लो कथा एउटा बाटेको डोरी हो, जसलाई स–साना धागोजस्ता उपकथा, पात्र र घटनाले मजबुत बनाउँछन् । फिल्ममा एउटा त्यस्तै धागो छ, मारिगेलाका बाबु–छोराको सम्बन्धको । एकातिर हतियारबन्द आन्दोलनको नेता अर्कातिर बालक छोराको मायालु र कोमल पिता । मारिगेला कवि र सांसद पनि थिए । फिल्ममा केही काव्यिक लाग्ने सिक्वेन्सहरू पनि छन् । रियो दि जेनेरियोको समुद्री किनारमा मारिगेलाको छोरासँगको संवादको र अन्तिम दृश्यमा उनीहरूबीचको मौनताले यो फिल्मलाई कला बनाइदिएको छ । एकदमै नरम मखमलको कपडाले बेरिएको बमको गोलाजस्तो !


अफ्रिकाबाट ल्याइएका दासका सन्तान मारिगेलाको राजनीतिभन्दा बढी कसिलो सम्बन्ध आफ्नो परिवारसँग छ । बाबुआमाभन्दा दूर पढ्न राखिएका छोराको स्कुले संसार पनि फिल्ममा छ । एउटा ठूलो उद्देश्य बोकेका र राजनीतिक महत्त्वाकांक्षाले बाँधिएका मानिसहरूको संसारको एउटा झलक यसले दिन्छ । संकटमा मानिसको विचलन होस् वा ‘कमरेडी’ फिल्मको अभिव्यक्ति चर्कै छ । यसमा सबै चीज उग्रजस्ता लाग्छन् । एक जना निहत्था मान्छेलाई मार्न प्रहरीलाई एक–दुई गोली काफी हुन्छ । तर, त्यही मानिस सरकारको खोजीमा रहेको वा प्रहरी अधिकारीहरूले निकै घृणा गर्ने मानिस हो भने त्यति काफी नहोला ! फिल्मले त्यो फरक पनि देखाउँछ । राजनीतिक महक्त्वाकांक्षा र सिद्धान्तको बुई चढेर त्रूर हर्कत गर्न पछि नपर्ने मानिसमा पनि एउटा कवि र पिता बसेको हुन्छ भन्ने देखाएर यसले कार्लोस मारिगेलाको मानवीयकरण पनि गरेको छ ।


नेपालजस्तो लामो राजनीतिक आन्दोलनको इतिहास भएको देशको धेरै कालखण्डका इतिहाससँग यसलाई जोड्न सकिन्छ । २००७ सालदेखि माओवादी ‘जनयुद्ध’ सम्मका पात्रहरूका यस्ता कथा छन् । राजनीतिक उद्देश्यका लागि उडिरहेको जहाज अपहरण गर्ने हुन् वा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ धेरै दुस्साहसी र रोमान्टिकलाई नेपालले देखेको छ । २२ वर्षको उमेरमा प्रजातन्त्रका लागि छातीमा गोली खाने सहिदलाई पनि देखेको छ । ‘वीर गणेशमान’ जस्ता केही असफल फिल्मको सम्झना बोकेर बसेको नेपालको फिल्म उद्योगले पनि कुनै दिन यस्ता कथातिर ध्यान देला !


२०१८ मा विश्व सिनेमामा चर्चित ‘सपलिफ्टर्स’, ‘रोमा’ वा ‘सिनोनियम्स’ भन्दा ‘मारिगेला’ फरक फिल्म हो । इतिहासका कुनै खास व्यक्ति, समय वा घटनाबारे प्रस्ट विचार र पक्ष लिएर फिल्म बनाउनुपर्छ भन्नेहरूलाई यसले प्रोत्साहित गर्छ ।

प्रकाशित : चैत्र १६, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?