१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सधैं फाइनलमै...

नेपाली महिला टिम उपाधिको दाबेदार भएर पनि पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध हार्‍यो । नेपाली टिम फाइनलमा सधैं किन हार्छ त ?
राजु घिसिङ

काठमाडौँ — लैंगिक भेदभावविरुद्धको आन्दोलनबाट खेलकुद अलग छैन  । त्यसमा पनि विश्वकै लोकप्रिय खेल फुटबल अछुतो रहने कुरै भएन  ।

सधैं फाइनलमै...

राष्ट्रिय फुटबल संघले पुरुषलाई दिइरहेको तलब जति नै महिला खेलाडीलाई पनि दिनुपर्ने माग राख्दै अमेरिकाबाट सुरु भएको अभियानले हालै नर्वेमा पुगेर प्रभाव देखायो । नर्वे फुटबल संघ महिला खेलाडीलाई पनि पुरुषसरह तलब दिने पहिलो बन्यो ।


अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र होइनन्, महिला फुटबलका घरेलु लिग पनि लोकप्रिय हुँदै गएको छ । स्पेनी लिगमा बार्सिलोना र एट्लेटिको म्याड्रिडको खेलमा ६० हजार दर्शक रंगशाला पुगेका थिए भने इटालियन महिला फुटबल लिगमा युभेन्ट्स र फियोरेन्टिनाको प्रतिस्पर्धा ३९ हजारले हेरेका थिए । नेपालमा भने महिला फुटबलको घरेलु प्रतियोगिता खासै लोकप्रिय छैन । कहिलेकाहीं सञ्चालन हुने प्रतियोगितामा प्यारापिट सधैं खाली नै देखिन्छ । तीन दशकअघि भने यहाँ महिला फुटबल लोकिप्रय थियो । घरेलु प्रतियोगितामै पनि दशरथ रंगशाला भरिभराउ हुन्थ्यो । राजधानीबाहिरको माहोल पनि त्यस्तै थियो ।


पाँचौं साफ वुमेन्स च्याम्पियनसिपका प्रतिस्पर्धा हेर्न विराटनगरस्थित सहिद मैदानमा दर्शक भरिभराउ हुने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । समूह चरणमा नेपालको खेलमा दर्शकको संख्या हजार पनि पुगेको थिएन । प्यारापिट खाली खाली देखिन्थ्यो । अरू देशको खेलमा रंगशाला सुनसान नै हुन्थ्यो । सेमफिाइनलमा अलि भीड बढ्यो । नेपाल र भारतको फाइनल हेर्ने दर्शकले त १० हजार क्षमताको प्यारापिट भरियो नै । यही रंगशाला हो जहाँ पेमा लामा (एन्फाकी केन्द्रीय सदस्य) ले दुई दशकअघि घरेलु प्रतियोगिता खेल्दा दर्शकको भीड थामिनसक्नु थियो । ‘फाइनलमा दर्शक प्रवेश गरेपछि खेल भाडियो । पुनः सञ्चालन गर्न सम्भव भएन । त्यो फाइनल हामीले काठमाडौंमा खेल्यौं । दशरथ रंगशाला पनि दर्शकले भरिएको थियो,’ उनले बताइन् ।


उपविजेताको छवि बनाएको नेपाली महिला टिमले उपाधिको दाबेदार टिमको रूपमा फाइनलमा स्थान बनाएको थियो । भारत सधैंजस्तै बलियो थियो । शुक्रबार भएको फाइनलमा व्यावसायिक टिमको चरित्र प्रस्तुत गर्दै भारत लगातार पाँचौंपल्ट च्याम्पियन भयो । नेपाली टिमको भने सबैखालका प्रतियोगितामा गरी सातौंपल्ट फाइनलमा पुगेर पनि पहिलोपल्ट उपाधि जित्ने सपना फेरि अधुरै भयो । भारतको ३–१ को जितमा उसको उत्कृष्ट खेलभन्दा पनि नेपालको आफ्नै गल्तीले साथ दिएको थियो । वास्तवमा फाइनलमा नेपालको प्रदर्शन एउटा एमेच्योर टिमको विशेषता थियो । भारतले भने पाएको अवसर उपयोग गर्दै मैदानमा व्यावसायिक व्यवहार देखाएको थियो ।


महिला फुटबलको फाइनलमा भारतले नेपाललाई छैटौंपल्ट पराजित गरेको हो । नेपालको तुलनामा फिफा वरीयतामा भारत ४४ स्थान माथि भए पनि उसको महिला फुटबलमा गतिलो संरचना छैन । लिग पनि त्यस्तो व्यावसायिक छैन । तर, उसले सधैं नेपललाई किन पराजित गर्छ त ? गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसबाहेक नेपालले छिमेकी महारथीलाई हराएको छैन । ३३ वर्षअघि अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला टिमले सन् १९९९ देखि ११ वर्ष खेल्ने मौका नै पाएन । सन् २०१० मा मैदानमा फर्कियो तर २०१८ सम्म दक्षिण एसियाली प्रतियोगितामै सीमित भयो । यसबीच भारतले भने माथिल्लो स्तरका टिमविरुद्ध नियमित खलिरह्यो । त्यसैले नेपाली जोस र भारतको अनुभवलाई समान दृष्टिले हेर्न सकिँदैन ।


सवा अर्ब जनसंख्या भएको भारत विश्व बजारले नै आँखा लगाएको देश हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भारतलाई आफ्नो प्राथमिकतामा राखेको छ । भारत आफैंले पनि इन्डियन सुपरलिग आयोजना गर्दै विश्व फुटबलको बजारमा फड्को मार्ने प्रयास गरिरहेको छ । त्यसको प्रत्यक्ष–अप्रत्यक्ष फाइदा महिला फुटबललाई पनि भएको छ । उसको महिला टिमले निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेल्ने अवसर पाइरहेको छ । अमेरिका, युरोप र एसियाली क्षत्रेका अरू देशमा नियमित यात्रा गरिरहेको छ । उमेर समूहका प्रतियोगिता पनि नियमति हुन थालेको छ । महिला फुटबलकै एकेडेमी पनि सञ्चालन हुन थालेको छ ।


भारतीय फुटबलका यी सबै कुरामा नेपाली महिला खेलाडी धेरै पछाडि छन् । नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भनेजस्तै जुझारुपन अर्थात् गोर्खाली पारा नै टिमको मुख्य हतियार हो । गोर्खाली पाराको जोसले कहिलेसम्म काम गर्ला त ? जवाफ खोज्न निकै गाह्रो छ किनभने नेपाली महिला फुटबलमा लगानी शून्यजस्तै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला खेलाडी उत्पादनका लागि न ग्रासरुट फुटबल सञ्चालन गरेको छ न त विभिन्न उमेर समूहको प्रतियोगिता नै आयोजना गरेको छ । राष्ट्रिय लिग पनि नाम मात्रकै छ । झारो टार्ने किसिमको । एन्फाले महिला लिगमा दुई समूहमा विभाजन गरेर सेमिफाइनल हुँदै फाइनल खेलाउँछ । वास्तवमा फुटबल प्रतियोगिताको यो संरचना लिगको होइन, लिग कम नकआउट हो । पुरानै नेतृत्वले जे जस्तो गरेका थिए, नयाँ नेतृत्वले पनि त्यसै गरिरहेका छन् । यहाँ पुरुष फुटबलको भने कहिले एकोहोरो त कहिले दोहोरो प्रतिस्पर्धा गर्नुपर्ने लिग नै चलाइन्छ । वास्तवमा लैंगिक भेदभाव यही छ ।


पाँचौं साफमा सहभागी अहिलेको टिमले १० भदौयता निरन्तर प्रशिक्षण गरिरहेको छ । नोभेम्बर, २०१८ मा ओलम्पिक छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्‍यो र त्यसमा दोस्रो चरण पनि पुग्यो । एसियाली स्तरको मलिहा फुटबलमा १९ वर्षपछि फर्कदा दोस्रो चरणमा पुग्नुको मुख्य आधार यांगुन जानुअघि बेइजिङमा चिनियाँ सुपरलिग क्लबविरुद्ध खेलेको खेल थियो । बेइजिङ बीजी फोनिस्विरुद्धका दुई खेलमा देखिएको कमी कमजोरी सच्याएर नेपाल ओलम्पिक छनोटको दोस्रो चरण पुगेको थियो । दोस्रो चरणको प्रतिस्पर्धा अप्रिलमा यांगुनमै हुँदै छ, जहाँ नेपालले आयोजक म्यान्मार, इन्डोनेसिया र फेरि भारतविरुद्ध खेल्नेछ ।


भारत हिरो गोल्डकपमा नेपालविरुद्ध हारेपछि टर्किस कप खेल्न पुगेको थियो । त्यहाँ ठूला टिमविरुद्ध खेल्दै फेरि आत्मविश्वासी भएर भारत विराटनगर ओर्लिएको थियो । नेपाली टिम भने त्यही एक महिनाअघिको सफलतामा हौसिएर साफको प्रतीक्षा गरिरहेको थियो । यस्ता ठूला प्रतियोगिताअघि आफूभन्दा स्तरीय टिमविरुद्ध खेल्नु आवश्यक हुन्छ, जसमा देखिएको कमजोरी मुख्य प्रतियोगितामा सुधार गरेर सफलता हात पार्न सकिन्छ । यस पक्षमा नेपाली फुटबल सँधै चुक्दै आएको छ । प्रशिक्षक खड्काले पनि सफलता हात पार्नका लागि खेलाडीलाई ठूला टिमविरुद्ध खेल्ने एक्सपोजर चाहिएको बताए ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) आफैंले पनि महिला फुटबलको विकासमा ठूलो लगानी गर्न थालेको छ । फिफाले फुटबललाई लैंगिक भेदभाव हटाउने माध्यमको रूपमा अघि सारेको छ । त्यसैले उसले आफ्ना सदस्य देशहरूलाई दिने सहयोगमा १५ प्रतिशत रकम महिला फुटबलमा खर्च गर्नैपर्ने प्रावधान छ । विडम्बना नै मान्नुपर्छ, एन्फाले त्यो १५ प्रतिशत रकम पनि महिला फुटबलमा लगानी गरेको छैन । त्यसैले देखाउँछ नेपालमा महिला फुटबल कहाँ छ भनेर । सधैं सफलताको सपना देखेर मात्रै हुँदैन । पछिल्लो वर्षको बजेटबाट महिला फुटबलमा खर्च गर्न नसकेको रकम फिफाले कटौती गर्ने चेतावनी एन्फालाई दिइसकेको छ । वार्षिक २०–२२ करोड रुपैयाँको बजेमा चलिरहेको एन्फाले महिला फुटबलमा बिनालगानी नै दक्षिण एसियाली च्याम्पियन बन्ने सपना देखिरहेको थियो । त्यसबाट ब्युँझिनु आवश्यक छ ।


अहिलेका राष्ट्रिय टिमका २० मध्ये ६ खेलाडी चन्द्रपुर (पुरानो चन्द्रनिगाहपुर) का हुन् । उनीहरू निजी क्षेत्रबाटै सञ्चालित प्रशिक्षण र आफ्नै रहरमा खेलाडी बनेका हुन् । धेरैको फुटबल यात्रा खाली खुट्टाबाटै सुरु भएको छ । एन्फा आफैंले उत्पादन गरेको दाबी गर्न सक्ने एक जना पनि खेलाडी छैन । राष्ट्रिय टिमका सबै खेलाडी विभागीय टिम (सेना, प्रहरी र सशस्त्र) सँग आबद्ध छन् । उनीहरूसहित करिब डेढ सय महिला फुटबल खेलाडी दैनिक प्रशिक्षण गर्छन् तर वार्षिक एक दुई प्रतियोगिताभन्दा बढी खेल्ने अवसर पाउँदैनन् । त्यो उनीहरूको दुर्भाग्य हो भने एन्फाको व्यवस्थापकीय कमजोरी । राजधानीबाहिर पहिलोपल्ट आयोजित सिनियर फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन नै पनि अत्यन्तै फितलो थियो । होटलदेखि मैदानसम्मै कमजोरीका चाङ ।


जग बलियो भने घर बलियो हुन्छ भन्ने उखानमा विश्वास गर्ने हो भने पनि महिला फुटबलमा पहिला लगानी गर्नु आवश्यक छ । अनि मात्रै फलको आशा गर्न सकिन्छ । जबसम्म जुझारुपनभन्दा आफ्नै कौशलमा विश्वास गर्ने वातावरण बन्दैन, तबसम्म भारत वा ठूला टिमलाई पराजित गरेर अगाडि बढ्न वा उपाधि जित्न असम्भवजस्तै हुन्छ । पहिला, छोरी खेल्नुहुन्न भन्ने सामाजिक सोचको उल्झनलाई चिर्दै मैदानमा खुलेरै अभ्यस्त हुने वातावरण बनाउनुपर्छ । त्यसपछि उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छ, जसले नेपाली टिमलाई सफलता दिलाउन सक्छ ।

प्रकाशित : चैत्र १६, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?