क्रिकेट भर्सेस चुनाव

हिमेश

काठमाडौँ — भारतमा आईपीएल कति लोकप्रिय छ भने यो चलिरहेका बेला प्रायः ठूला बलिउड फिल्म रिलिज हुँदैनन्  । यसपालि भने आईपीएलकै समयमा लोकसभा चुनाव हुँदै छ  ।

क्रिकेट भर्सेस चुनाव

केही साताअगाडि मात्र न हो, भारत र पाकिस्तानबीचको सम्बन्ध युद्धको संघारमा पुगेको । कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणमा ४० भारतीय सेनाको ज्यान गएलगत्तै भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको दाबी गर्‍यो । जवाफमा पाकिस्तानले पनि यस्तैयस्तै अनेक दाबी गर्‍यो । परमाणु बम भएका दुई छिमेकीबीचको यो द्वन्द्व वास्तवमै डरलाग्दो स्थितिमा पुगेको थियो । कहिले के होला भनेर भन्नै नसकिने ।


ठीक त्यही बेला झारतीय क्रिकेट टिम अस्ट्रेलियाबीच वान–डे सिरिज चलिरहेको थियो । त्रिकेटमै पनि त्यही द्वन्द्वको मार प्रस्टै देखियो । झारखण्डमा भएको तेस्रो वान–डेका क्रममा भारतीय खेलाडी सेनाले लगाउने जस्तै टोपी लगाएर मैदानमा उत्रे । खेलकुदका मैदानमा कहीं यस्तो पनि हुन्छ र ? पाकिस्तानी क्रिकेट बोर्डलाई पनि लागेन्, यस्तो हुन सक्छ भनेर । त्यसैले उसले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा उजुरी हाल्यो ।


हुनचाहिँ केही भएन । आईसीसीले के भन्यो भने भारतीय टिमले त्यस्तो टोपी लगाएर खेल्न अनुमति मागेको थियो । त्यसभन्दा अगाडि कुरा अगाडि बढेन । बरु भारतले के भनिरह्यो भने पाकिस्तानलाई विश्व क्रिकेटबाट अलग गर्नुपर्छ । उसलाई विश्व क्रिकेटबाट प्रतिबन्ध नै लगाउनुपर्छ । किनभने भारतको दाबी हो, पाकिस्तानले आतंकवादलाई समर्थन गर्छ । आईसीसीले भारतको यस्तो मागलाई पनि कहाँ पूरा गर्न सक्छ र ? त्यसमा पनि आईसीसी चुपचापजस्तै रह्यो । भारतले अझै भनिरहेको छ, आउने वान–डे विश्वकपमा आफ्नो टिमले पाकिस्तानविरुद्ध खेल्ने छैन । यो सबै प्रसङ्ग किन भन्दा विश्व क्रिकेटमा भारतले आजभोलि जे भन्छ, त्यही नै बढी हुन्छ । पूरा विश्व क्रिकेट भारतकै कब्जामा छ भन्दा पनि फरक छैन । केही दशक अगाडिसम्म पनि विश्व क्रिकेट इंग्ल्यान्ड र अस्ट्रेलियाको कब्जामा थियो, जति बेला यो खेलमा पैसा थिएन् । यी दुई देशको प्रभुत्वको सबैभन्दा बढी विरोध गर्ने देश भारत नै थियो ।


अहिले भारत आफैं विश्व क्रिकेटमा आफ्नो स्वर नै बढी सुनिनुपर्छ भन्छ । विश्व क्रिकेटको अर्थ भारतीय बजारमै टिकेको छ । यस्तो किन भन्दा भारतमा त्यस्तो ट्वान्टी ट्वान्टी क्रिकेटको प्रतियोगिता हुन्छ, जसले पूरा खेलमै ठूलो न ठूलो परिवर्तन ल्याएको छ । त्यस्तो प्रतियोगिता भनेको आईपीएल हो । अर्थात इन्डियन प्रिमियर लिग । यसपल्टको प्रतियोगिता १२ औं संस्करण हो, अहिले सन् २०१९ को प्रतियोगिता भर्खर सुरु भएको छ, सबै क्रिकेटप्रेमीको ध्यान उतै छ । विश्वका जति पनि नाम चलेका क्रिकेट खेलाडी छन्, तिनीहरूको एउटै माग के छ भने जति बेला आईपीएल चल्छ, त्यति बेला अरू कुनै अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि नहोस् । कारण पनि स्पष्ट छ, खेलाडीले आईपीएलबाट टन्नै कमाउने गर्छन्, जुन आफ्नै देशका लागि खेल्दा त्यत्तिकै कमाउन वर्षौ खेल्नुपर्ने हुन्छ । खेलाडीले बरु आफ्नो देशका लागि खेल्न छाड्नेछन् तर आईपीएल खेल्न भनेपछि हुरुक्कै हुन्छन् । आईपीएलले विश्व क्रिकेटमा भारतलाई अझ बलियो बनाएको छ । भलै अहिले पनि पाकिस्तान र अस्ट्रेलिया, अनि दक्षिण अफ्रिका र श्रीलंका भिडिरहेका छन् । तर यी दुवै सिरिजले धेरैको रुचि खिच्न सकेको छैन । लाग्छ, यी दुई सिरिजमा तिनै खेलाडी भिडिरहेका छन्, जसले यसपल्टको आईपीएलमा मौका पाएनन् । पाकिस्तानी खेलाडीमाथि आईपीएलमा खेल्न नपाउने प्रतिबन्ध त छँदैछ ।


साँच्चै आईपीएलमा के मात्र छैन ? सबै छ, पैसा र उम्दा खेलाडी मात्र होइन, ग्ल्यामर, सनसनी, रोमाञ्चकतादेखि लिएर विवाद पनि । यसपल्टको प्रतियोगिता कस्तो हुनेछ त ? भर्खरै लिग चरणका केही सकिएका छन् । बिस्तारै सबै टिमको नजर हुनेछ, अंकतालिकाको शीर्ष चारमा रहने । यिनै चार स्थानले त हो, उपाधिसम्मको यात्रा निश्चित गर्ने । यसपल्टको प्रतियोगितालाई प्रभावित पार्ने तीन तत्त्व छन् र यसले पूरा प्रतियोगिताको दिशा तय गर्ने निश्चित छ । सबैभन्दा पहिलो तथ्य, दुई अस्ट्रेलियाली खेलाडी । गत सिजनको बेला बल ट्याम्परिङको आरोपमा स्टिभ स्मिथ र डेबिड वार्नरमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो । त्यसैले उनीहरू दुवैले एक वर्ष आफ्नो देशका लागि खेल्न पाएनन् । उनीहरूमाथि लागेको प्रतिबन्धको अर्थ क्लब क्रिकेट नै खेल्न नपाउने भन्ने थिएन । आईपीएलले पछिल्लो सिजन धेरै विवाद नहोस् भनेर स्मिथ र वार्नर दुवैलाई खेल्न वञ्चित गरेको थियो । यसपल्ट दुवै खेलाडी प्रतियोगितामा फर्केका छन् ।


स्मिथ राजस्थान रोयल्सका कप्तान हुन् भने वार्नर सनराइज हैदरावादका लागि खेल्छन् । जति बेला उनीहरू खेलिरहेका थिए, विश्व क्रिकेटमै उपलब्ध सबैभन्दा उम्दा खेलाडी थिए । अहिले पनि उनीहरूको खेलमा कुनै कमी आएको छैन । बरु उनीहरू अझ ईखले खेल्नेछन् र आफूलाई उत्तिकै अब्बल दर्जाका छन् भने प्रमाणित गर्न प्रयास गर्नेछन् । यसले पूरा प्रतियोगिताको दिशा तय गर्नेछ । दोस्रो तथ्य, यसपल्टको आईपीएल वान–डे विश्वकप सुरु हुन केही साताअगाडि मात्र हुँदै छ । जति बेला इंग्ल्यान्ड र वेल्समा वान डे विश्वकप सुरु हुनेछ, त्यति बेला अहिलेको आईपीएल सकिएको तीन साताको हाराहारी मात्र हुनेछ । त्यसैले कोही पनि खेलाडी यसपल्टको आईपीएलका क्रममा घाइते हुन चाहँदैनन् । न त कुनै पनि देशको क्रिकेट बोर्ड चाहन्छ, आफ्ना प्रमुख खेलाडी घाइते भएको । त्यसैले हुन सक्छ, स्वंय भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्ना प्रमुख खेलाडीलाई प्रतियोगिताको अन्त्यतिर आराम दिन बाध्य पार्न सक्छ, विशेषतः फास्ट बलरहरूलाई । भारतीय कप्तान विराट कोहलीले पनि भनिसकेका छन्, खेलाडीले यसपल्टको आईपीएलमा मज्जा लिने हो, न कि गम्भीर हुने । यस्तै रोहित शर्माले पनि भनिसकेका छन्, अबको वान–डे विश्वकपमा उपाधिका लागि सबैभन्दा ठूलो दाबेदार भारत नै हो । त्यसैले भारतको तत्कालको पहिलो लक्ष्य पनि त्यही विश्वकप हो । डर छ, कतै यस्तै यस्तै कारणले यसपल्टको आईपीएल खल्लो हुने त होइन ?


अब तेस्रो तथ्य । यसपल्टको प्रतियोगिता र भारतको आम चुनाव सँगसँगै हुनेछ । पछिल्ला आम चुनावका बेला त पूरा प्रतियोगिता नै विदेशमा सारिएको थियो । यसपल्ट यस्तो गरिएन । अब प्रश्न भारतमा सबैभन्दा मन पराइने खेल, क्रिकेट । त्यसको पनि सबैभन्दा ठूलो प्रतियोगिता आईपीएल । यसले चुनावलाई कसरी लिने छ त ? यो त क्रिकेटविरुद्ध राजनीतिको द्वन्द्व पनि भयो । सुरक्षाको प्रश्न सबैभन्दा महत्त्वपूर्ण हुनेछ । फेरि कतै चुनावले आईपीएलको मज्जालाई किरकिरा गर्ने त होइन ? अथवा क्रिकेटको रोमाञ्चकतामा चुनावको गणित तल–माथि हुने त होइन ? कोलकाता नाइटराइडर्सका प्रमुख कार्यकारी वेन्की मैसुरका अनुसार पनि चुनावकै बेला आईपीएल हुनु, आफैंमा आश्चर्य हो, भारतजस्तो देशमा । यसपल्टको आईपीएल हेर्दै जाऊँ र कुरौं, यसपल्टको प्रतियोगिताका क्रममा के–के पो हुने हो ?
twitter: @himeshratna

प्रकाशित : चैत्र १६, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?