पहिलो बोली !

पहिलो पटक फ्रेन्चाइज लिग महिला क्रिकेट हुन लागेको र त्यसको अक्सनमा सहभागी भएको क्षण मार्की खेलाडीका लागि अझ विशेष बन्यो । 'को पर्ने को खेलाडी नपर्नेभन्दा डर पनि लाग्दो रहेछ,' नेपाली महिला क्रिकेट कप्तान रुविना क्षत्रीको प्रतिक्रिया थियो ।
विनोद पाण्डे

काठमाडौँ — लक्ष्मी साउद  । अक्सनर देवेन्द्र सुवेदीले धनगढीका यी खेलाडीको नाम पहिलो नम्बरमा लिएसँगैं महिला क्रिकेटले इतिहास रचेको थियो, चैत्र १५, २०७५ का दिन  ।

पहिलो बोली !

नेपाली क्रिकेटमा यो पहिलो अवसर थियो जहाँ महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने क्रममा छ । नेपाल क्रिकेट लिग वुमन्स ट्वान्टी २० लिगका लागि अक्सन गरिएको थियो ।


महिलाको घरेलु प्रतियोगिता खासै चहलपहल छैन । त्यसमा सुदूरपश्चिमकी लक्ष्मी परिचित नाम होइनन् । उनको नाममा चार फ्रेन्चाइज टोलीले कुनै भाउ लाएनन् । अक्सनमा नबिकेका खेलाडी ‘विस लिस्ट’ बाट पनि छानिन सक्ने प्रावधान थियो । ऐतिहासिक अक्सनको पहिलो नम्बरमा आएकी लक्ष्मीलाई अन्तमा भैरहवा क्विन्सले न्यूनतम १५ हजार रुपैयाँमा लिएको थियो । नेपाल क्रिकेट लिग स्पोर्टस प्राइभेट लिमिटेडले विराटनगरको बैजनाथपुरमा हुन लागेको नेपाल क्रिकेट लिग वुमन्स ट्वान्टी २० लिगले लक्ष्मीलाई अक्सनमा ल्याएको थियो । प्रतियोगिता सुरु भएपछि उनको क्षमता मैदानमा देखिनेछ ।


चार सहरको नामबाट टिम बनाई नेपाल क्रिकेट लिगमा प्रतिस्पर्धा गर्दै छन् । करुणा भण्डारी विराटनगर रोरिङ लायनेस, नेरी थापामगर काठमाडौं सुपर च्याम्पियन्स, रुविना क्षत्री भैरहवा क्विन्स र सीता रानामगर धनगढी वन्डर वुमनकी मार्की खेलाडी हुन् । मार्की खेलाडीको पारिश्रमिक १ लाख छ । टिमले चाहेमा त्योभन्दा बढी दिन पनि सक्छ । अक्सनमा आवेदन दिएका ८० खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको थियो । नेपाली राष्ट्रिय टोलीबाट कम्तीमा दुई वर्षदेखि खेल्दै आएका खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको थियो । ‘ए’ श्रेणीमा रहेका खेलाडीको भाउ ४० हजारबाट सुरु भई बढीमा ७५ हजारमा टुंगिन्थ्यो । विराटनगरले काजल श्रेष्ठ र अप्सरी बेगम, धनगढीले ज्योति पाण्डे र कविता कुँवर, काठमाडौंले ममता चौधरी, सरिता मगर र रोमा थापा तथा भैरहवाले सोनु खड्का, इन्दु बर्मा र विन्दु रावललाई पूरा ७५ हजार रुपैयाँ भाउ लगाएर लिएको थियो । धनगढीले सबनम राईलाई ७० हजार लगाएर लिएको थियो । ‘ए’ श्रेणीका १७, ‘बी’ श्रेणीका २८ र ‘सी’ श्रेणीका ३५ खेलाडी अक्सनमा सहभागी थिए । ‘ए’ श्रेणीका १० खेलाडीलाई दुई वा सोभन्दा बढी टोलीले भाउ लगाएका थिए । ‘बी’ श्रेणीका खेलाडीलाई २५ देखि ५० हजार र ‘सी’ श्रेणीका खेलाडीलाई १५ देखि २५ हजारसम्म बोली लगाइएको थियो । १३ खेलाडी अनुबन्ध गर्न अधिकतम ६ लाख ५० हजार खर्च गर्न पाइने नियम बनाइएको थियो । रेखा थापाको काठमाडौंले अक्सनमा सबैभन्दा बढी ५ लाख ७० हजार खर्च गरेको थियो ।


विराटनगर रोरिङ लायनेसका मालिक अनुप सक्सेना, काठमाडौं सुपर च्याम्पियन्सकी मालिक अभिनेत्री रेखा थापा, धनगढी वन्डर वुमनका मालिक हरि खनाल, भैरहवा क्विन्सका मालिकद्वय अनिल भण्डारी र दीपक सुवेदी छन् । उनीहरूसँग क्रिकेटको खासै अनुभव छैन । ‘पहिलोपटक यस्तो अक्सनमा सहभागी भए, त्यसैले एकदम उत्साहित छु । हरेक टिमका खेलाडी मेरा बहिनी हुन् । काठमाडौं मेरो टिम भए पनि म सबै टिमको प्रशंसक हुँ,’ रेखा अक्सनको क्रममा भन्दै थिइन् । आफ्ना प्रशिक्षक दीपेन्द्र चौधरीको संकेत पाउनेबितिकै रेखाले खेलाडीलाई लिन भाउ लगाउन झन्डा उठाउनु अक्सनको एउटा हिस्साजस्तै देखिन्थ्यो । फ्रेन्चाइज क्रिकेटमा फिल्म क्षेत्रको बाक्लो उपस्थिति विभिन्न देशका लिगमा देखिँदै आएको छ । इन्डियन प्रिमियर लिगमा अभिनेत्री प्रीति जिन्टाले किंग्स ११ पन्जाब चलाइरहेकी छन् । बलिउड किङ शाहरूख खान कोलकाता नाइट राइडर्सका मालिक हुन् र अभिनेत्री जुही चावला उनकी साझेदार हुन् । एक समय राजस्थान रोयल्सको मालिक्नी शिल्पा सेट्टी थिइन् । रेखाको हकमा उनी खेलकुदमा आएकी पहिलो पटक होइन । नेपालगन्जमा हुने प्रधानमन्त्री कपमा भलिबलमा उनी ब्रान्ड एम्बासडर थिइन् ।


पहिलो पटक फ्रेन्चाइज लिग क्रिकेट हुन लागेको र त्यसको अक्सनमा सहभागी भएको क्षण मार्की खेलाडीका लागि अझ विशेष बन्यो । ‘अक्सनले मलाई निकै उत्साहित र खुसी बनाएको छ । को खेलाडी पर्ने को खेलाडी नपर्नेभन्दा डर पनि लाग्दो रहेछ । पहिलो अनुभव भए पनि अक्सनबाट हामीले राम्रो टिम बनायौंजस्तो लाग्छ,’ नेपाली महिला क्रिकेट टोलीको कप्तान रुविना क्षत्रीको प्रतिक्रिया थियो । मैदानभित्रको प्रदर्शनले नै सबैजसो खेलको नतिजा टुंगो लगाउँछ । क्रिकेट, विशेषगरी फ्रेन्चाइज क्रिकेट यस्तो प्रतियोगिता हो, जसको अक्सनबाट मैदानभित्र कस्तो प्रदर्शन दिन्छ भन्ने पचास प्रतिशतजस्तो संकेत गरिसकेको हुन्छ । अर्थात् अक्सनबाटै टिमको संरचना कस्तो बन्ने मार्गचित्र कोरिसकेको हुन्छ । रुविना आफ्नो सन्तुलित टोली बनेको दाबी गर्छिन् । उनी अक्सनबाट आफ्नो र विराटनगरको टोली बलियो बनेको देख्छिन् ।


४ वर्षअघि धनगढी क्रिकेट लिगबाट नेपालमा फ्रेन्चाइज लिगको सुरुआत भयो । त्यसयता धनगढी प्रिमियर लिगका तीन संस्करण, एभरेस्ट प्रिमियर लिगका दुई संस्करण र पोखरा प्रिमियर लिगका एक संस्करण आयोजना भइसकेका छन् । यी सबै अक्सनमा आधारित प्रतियोगिता थियो । अर्को समानता के थियो भने यो सबै पुरुष क्रिकेटका लागि थियो । आखिर नेपालमा महिला फ्रेन्चाइज लिग क्रिकेट आउन यति समय किन लाग्यो त ? ‘कि मान्छेहरूले आँखा चिम्लेर बस्नुभएको थियो, कि महिला क्रिकेट छ भनेर थाहा पनि पाउनुभएको थिएन,’ पछिल्लो एक दशकदेखि नेपाली राष्ट्रिय टोलीमा रहेकी रुविना जंगिन्छिन्, ‘अहिलेको समयमा महिला क्रिकेटलाई पछ्याउने धेरै छन्, समर्थन पनि धेरैले गरिरहेका छन् । मिडियाले पनि महिला क्रिकेटलाई राम्रै प्रमोट गरिरहेको छ । हाम्रो आवाज सम्बन्धित ठाउँमा पुगेको छ । प्रशासन, खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा यो आवाज पुग्न बाँकी नै छ ।’


फ्रेन्चाइज क्रिकेट खेलाडीलाई व्यावसायिक हिसाबमा हिँड्न सिकाउने माध्यम मान्दै उनी घरेलु क्रिकेटमा जति अवसर पाइन्छ, त्यत्ति नै यसको प्रभाव राष्ट्रिय टोलीमा देखिने बताउँछिन् । रुविना यसलाई एउटा सुरुआतको रूपमा लिन्छिन् र निरन्तरता पाउने आशा राख्छिन् । नेपाल क्रिकेट लिग वुमन्स ट्वान्टी २० र क्विन्स इभेन्टले गर्न लागेको अर्को फ्रेन्चाइज क्रिकेट एकै समयमा घोषणा भएको थियो । दुवै प्रतियोगिता भएमा यसले महिला क्रिकेटलाई चलायमान बनाउने छ । त्यसै पनि नेपाल क्रिकेट लिग तेस्रो पटक सर्ने निश्चित भइसकेको छ । पछिल्लो घोषणाअनुसार वैशाख ७ गतेदेखि विराटनगरको बैजनाथपुर मैदानमा हुने भनिएको थियो । आठौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति वैशाख ५ देखि १२ सम्म तोकिएसँगै नेपाल क्रिकेट लिग वैशाखको दोस्रो साता सर्ने निश्चितजस्तै भएको छ ।
नेपाली टोलीकी उपकप्तान सीता रानामगरलाई पनि रुविनालाई जस्तै अक्सनको अनुभव रमाइलो रह्यो । ‘पहिला अक्सनको अनुभव केही थिएन, त्यही भएर के गर्ने भनेर अलमल नै भयो,’ उनी आफ्नो टोली राम्रै बने पनि अक्सनबाट काठमाडौं र विराटनगरको टोली बलियो बनेको दाबी गर्छिन् । पहिलो पटकको अक्सनमा पनि राम्रा खेलाडीमाथि सबै टोलीले भाउ लगाएकाले उनी अक्सनबाट प्रभावित रहिन् । यसले नेपाली महिला क्रिकेटको आधार बसाल्दै माथि आउन निकै सहयोग गर्छ । ‘सी श्रेणीका खेलाडीहरूलाई अझ मिहिनेत गरेर माथि आउन बल प्रदान गर्छ । सबै जना गम्भीर भएर पनि खेल्न खोज्छन्,’ उनको तर्क छ । आफूले चाहेको खेलाडीलाई भाउ लगाउन पाउनुको अनुभव नौलो रह्यो अर्की मार्की खेलाडी करुणा भण्डारीसँग ।


नेपाल क्रिकेट लिग स्पोर्टसका प्रमुख जयराज राय र साहस स्पोर्टसका जनक न्यौपानेले महिला क्रिकेट लिग गर्न देखेको सपना अब मैदानमा उत्रिँदै छ । ‘महिला ट्वान्टी २० लिग गर्ने जुन सपना थियो त्यो अक्सनबाट अझ अगाडि बढेको छ । क्रिकेटका लागि केही गरौं भनेर आएका थियौं । महिलाको क्रिकेट खासै नभएकाले यसमा हात हालेर एउटा सपना देख्यौं केही गरौं भनेर,’ राय अहिलेसम्मको अनुभव सुनाउँछन्, ‘पहिलो पटक भएकाले होला कठिनाइ धेरै भयो, त्यसलाई पार गर्दै अगाडि बढेका छौं । महिला क्रिकेट भनेपछि प्रायोजक पछि हट्दा रहिछन् । अब सजिलो हुन्छ होला, हामी मिहिनेत गरिरहेका छौं ।’


विश्व क्रिकेटमै पनि अक्सनमा आधारित महिला क्रिकेट लिग खासै भएको छैन । त्यसैले पनि नेपाल क्रिकेट लिग वुमन्स
ट्वान्टी–२० लाई एसियाको पहिलो अक्सन महिला लिग भनिरहेका छन् । जे जति लिग भइरहेका छन्, ती सबै ड्राफ्टमा छन् । ड्राफ्टमा खेलाडीको पारिश्रमिक पहिला नै तय हुन्छ र टिमले त्यही रकममा खेलाडीलाई लिनुपर्ने हुन्छ । अक्सनमा जस्तो कुनै भाउ लगाउनु पर्दैन । लामो समयदेखि अस्ट्रेलियन क्रिकेटलाई पछ्याउँदै आएका रिक ऐयरले नेपाल क्रिकेट लिग वुमन्स ट्वान्टी २० लाई विश्वको पहिलो अक्सनमा आधारित महिला लिग हुन सक्ने ट्विटमा अनुमान लगाइरहेका थिए ।
twitter : @dearbinod

प्रकाशित : चैत्र २३, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?