वर्षका 'स्टार'

गोकर्ण गौतम

काठमाडौँ — वर्ष २०७४ मा ८० फिल्म रिलिज भएका थिए  । यो वर्ष ९६ पुग्यो  ।

तर संख्याझैं न फिल्मको व्यापार उकासियो, न कलात्मक पाटो । घरेलु बजारबाट ‘छक्का–पञ्जा ३’, ‘नाइँ नभन्नु ल ५’ जस्ता सीमित फिल्मले नाफा कमाए । ‘जय भोले’ सँगै अरू एकाधले लगानी उठाए । ‘प्रसाद’ ले चर्चा पायो, एउटा बहसको पनि सिर्जना गर्‍यो । बाँकी ‘गोलखाँडी’ । लगानीचाहिँ तीन करोडसम्म पुग्यो । नेपाली दृश्यभाषा समृद्ध बनाउने ‘बुलबुल’ र ‘हरि’ बाहेक अरू फिल्म बनेनन् । अधिकांश फिल्ममा ‘छक्का–पञ्जा’ कै चर्को धङधङी देखियो । सीमापारिका सिनेमाबाट चोर्ने शृंखलाको अन्त्य भएन । ‘कोहलपुर एक्सप्रेस’ र ‘झमकबहादुर’ एउटै हिन्दी फिल्म ‘मुम्बई एक्स्प्रेस’ अनि ‘लभ स्टेसन’ टर्किस फिल्म ‘सेबिम्ली तेल्केली’ र ‘हर से असक्तन’ बाट हुबहु कपी गरेर बनाइयो ।
साउनदेखि काठमाडौं उपत्यकामा बक्सअफिस सिस्टम जडान गरियो तर अपेक्षाकृत फलदायी हुन सकेन । पारदर्शी हिसाब देखाउन आनाकानी भइरह्यो । न रिलिजको सुरुआती दिनमा करोड–करोड कमाएको ढोल पिट्ने रवैया नै रोकियो । ४०–५० लाख पारिश्रमिक असुल्ने भनिएका अनमोल केसी र प्रदीप खड्काका फिल्मले समेत लगानीअनुरूप व्यापार गर्न सकेनन्, घाटै लाग्यो । बजारको सुझबुझबिना लहडमा पैसा खन्याउनेहरू चुर्लुम्मै डुबे । यी सबैको कारण एउटै हो— स्तरीय फिल्म नबन्नु । जबकि नेपाली फिल्ममेकरको ठूलो समूह फिल्मलाई व्यापार मात्र ठान्छन्, सिनेमाको कला र समाजप्रतिको दायित्व पूरापूर नजरअन्दाज गरिदिन्छन् ।
कलाकारको अभिनय नियाल्दा पनि सुखद नतिजा प्राप्त हुन्न । ‘हरि’ मा विपिन कार्की र ‘बुलबुल’ मा मुकुन भुसालबाहेक अरू अभिनेताको अभिनय ऐजन–ऐजन मात्रै हो । नेपालमा यस्ता फिल्म बन्दैनन्, जसमा हिरोइन नभएका हुन् । र, यस्ता फिल्म पनि असाध्यै कम बन्छन्, जसमा हिरोइनको भूमिका प्रभावकारी होस् । अपवादबाहेक हिरोइनलाई ‘चास्नी’ वाला भूमिकामै सीमित गरिन्छ । यस वर्ष भने दुई अभिनेत्री प्रशंसाको अग्रभागमा रहे । ‘बुलबुल’ बाट स्वस्तिमा खड्का, ‘साइँली’ बाट मेनुका प्रधान । फिल्मका मेरुदण्ड उनीहरू नै ।
यहाँ यी दुई प्रतिभाशाली अभिनेत्रीको चर्चा गरिएको छ, जो ‘हिरोइन’ को परम्परागत छवि बदल्न सशक्त भूमिका खेले । कथावस्तु, पात्र छनोट र अभिनय कुशलतामा अगाडि देखिए । अभिनयप्रति संवेदनशीलता र इमानदारता देखाए । रमाइलो संयोगचाहिँ उनीहरूको आजसम्म चिनजान त परै जाओस्, देखभेट पनि भएको रहेनछ ।

स्वस्तिमाको 'सरप्राइज'
जब लेखक/निर्देशक विनोद पौडेलले ‘बुलबुल’ मा स्वस्तिमालाई लिने निधो गरें, धेरै शुभेच्छुकको प्रतिक्रिया/गुनासो एउटै थियो, ‘मिस कास्ट’ भयो । टेम्पु चालकको भूमिकामा स्वस्तिमा सुहाउँदै–सुहाउँदिनन् । यसो भन्नेमा स्वस्तिमाका पति तथा फिल्म निर्देशक निश्चल बस्नेतसमेत थिए । स्वस्तिमा म्युजिक भिडियो हुँदै फिल्म खेल्न थालिन्, चमकधमक र चिरिच्याट्ट परेको भूमिकामा मात्र । त्यसैले टेम्पु चलाएर गुजारा गर्ने बच्चाकी आमाको चरित्रमा उनलाई नपत्याउनु स्वाभाविक भइहाल्यो । तर २३ वर्ष टेक्दै गरेकी यी अभिनेत्रीले यावत् अनुमान चिरिदिइन्, रणकलाको चरित्र जीवन्त बनाएर । बुलबुल हेरिरहँदा यस्तो लाग्छ, उक्त चरित्र स्वस्तिमाकै लागि लेखिएको हो । यथार्थ त्यस्तो थिएन ।
पटकथा लेख्दा पौडेलले धेरै टेम्पुचालक महिलालाई भेटे । तीमध्ये एकको चालढाल, भावभंगिमा, बोलीचालीलाई केन्द्रमा राखेका थिए, चरित्र निर्माण गर्दा । जब स्वस्तिमाको कुरा निस्कियो, पौडेल दुविधामा परे । फिल्म मन नपरे पनि ‘लभ लभ लभ’ का एकाध दृश्यमा स्वस्तिमाको अभिनयबाट प्रभावित भएका थिए उनी । त्यसैले पात्रको ‘इन्टरल जर्नी’ मा लान सकिन्छ भन्नेमा आशा राखे । पहिलो भेटपछि चाहिँ गल्ती गरेजस्तो भएछ । बोलेको–बोल्यै गर्ने स्वस्तिमासँग गम्भीरता भेटेनछन् । ‘स्क्रिप्ट पढेपछिचाहिँ स्वस्तिमा परिवर्तन भइन् । ‘न्युट्रल’ हुने र स्क्रिप्टभित्र आफूलाई समपर्ण गर्ने क्षमता रहेछ,’ पौडेल भन्छन्, ‘पहिल्यै सबै जान्या छु भन्ने कलाकारलाई काम गराउन सकिन्न । आधा दर्जन फिल्म खेलिसकेकी स्वस्तिमामा त्यो भ्रम रहेनछ । उनी शून्यबाट सुरु गर्न राजी भइन् ।’
स्क्रिप्टमा त्यस्तो के थियो र ? एकाएक बदलाब आयो । स्वस्तिमा भन्छिन्, ‘पात्रलाई चिन्नासाथ ममा आत्मीयता पैदा भयो । मैले आजसम्म पाएकाभन्दा उत्कृष्ट र सानदार भूमिका थियो । त्यसैले पात्रमा आफूलाई ढाल्न जस्तोसुकै त्याग गर्न तयार भएँ ।’ अनुबन्ध भएको धेरै समयपछि मात्र निश्चललाई थाहा दिएकी थिइन् । टेम्पु चलाउन सिक्दै ‘बुलबुल’ को यात्रा सुरु भयो । त्यस क्रममा टेम्पु चलाउने महिलालाई नजिकबाट नियालिन् । चरित्रप्रतिको यस्तो खोज उनका लागि बिल्कुल नयाँ थियो । वर्कसपमा आउँदा रणकला पात्रलाई लिएर उनीसँग अनेकौं सवाल थिए । लेखक/निर्देशक पौडेलले सम्झाउँदै गए । पौडेल भन्छन्, ‘रणकलाको भोगाइका बारेमा प्रचुर अभ्यास गरेकाले सुटिङअगावै स्वस्तिमाले पात्रलाई आत्मसात् गरिसकेकी थिइन । भोलि क्यामेरा अगाडि इमोसन नआउला भनेर वर्कसपमा धेरै अभिनय गर्न लगाइनँ ।’
पौडेलका अनुसार लामा–लामा ‘टेक’ मा पनि स्वस्तिमा आत्तिदैनथिइन् । भनेको कुरालाई छिटो–छिटो टिप्थिन् । उनी अगाडि थप्छन्, ‘मैले जे कल्पना गरेको थिएँ, कलाकारबाट त्यस्तै आउनुपर्छ भन्ने हुन्न । कलाकारलाई चरित्रमा पगाल्नचाहिँ सक्नुपर्छ । स्वस्तिमामा त्यो बदलाव आयोजस्तो लाग्छ ।’ ‘बुलबुल’ मा भिजिरहँदा स्वस्तिमालाई महसुस भएछ, खासमा मैले गर्न चाहेको भूमिका त यस्तो पो रहेछ । जहाँ सबै स्वाभाविक होस्, बनिबनाउ नहोस् । उनी भन्छिन्, ‘रणकला हुन पाउँदै म दंग थिएँ । अभिनयका क्रममा रणकला मात्र होइन, आफैंलाई पनि नयाँ ढंगबाट चिन्न पाएँ । त्यसैले हरेक पलमा रमाइरहेको थिएँ ।’
मेनुका प्रधानलाई पनि यो वर्ष सबैभन्दा मन परेको काम स्वस्तिमाकै रहेछ । भन्छिन्, ‘बुलबुल हेरिरहँदा रणकलासँग व्यक्तिगत रूपमै नजिक छु भन्ने महसुस भयो । पात्रप्रति यस्तो विश्वसनीयता र प्रेम असाध्यै कम पैदा हुन्छ ।’
शंकै छैन, ‘बुलबुल’ बाट स्वस्तिमाले ‘सप्राइज’ दिइन् । अभिनय क्षमताको नयाँ पाटो उघारेर आफ्नो छवि बदल्न सफल भइन् । तर यो वर्ष स्वस्तिमाका लागि विशेष हुनुको कारण ‘बुलबुल’ मात्र होइन । उनकै मुख्य भूमिका रहेको ‘नाइँ नभन्नु ल ५’ यही वर्ष हिट भयो । अर्को फिल्म ‘जय भोले’ ले पनि तुलनात्मक रूपमा राम्रो व्यापार गर्‍यो । १५ करोड कलेक्सन गरेको भनिएको ‘छक्का–पञ्जा ३’ मा समेत उनलाई देख्न पाइयो । यस हिसाबले हेर्दा यो वर्षका सप्पै हिट फिल्म र सबभन्दा प्रशंसित फिल्ममा स्वस्तिमा नै स्वतिमा भइन् । यो वर्ष उनकै हो भन्दा फरक पर्दैन ।
फिल्म फ्लप भएका हिरोहरूको पारिश्रमिक ४०–५० लाख पुगिरहेका बेला उनी अब कति लिन्छिन् ? ‘काम उत्तिकै हुँदा पनि अभिनेत्रीले कम पैसा पाउँनु विडम्बना हो । तर प्रायः नयाँ हिरोसँग काम गरेकाले होला मैलेचाहिँ हिरोभन्दा धेरै बढी पारिश्रमिक लिएकी छु,’ स्वस्तिमा भन्छिन्, ‘फेरि पनि पैसा मेरो लागि दोस्रो प्राथमिकता हो, पहिलो त टिम हो । स्क्रिप्ट र चरित्र अब्बल छ तर टिम (खासगरी निर्देशक) गतिलो छैन भने गतिलो परिणाम आउँदैन ।’ उनले ‘हजार जुनीसम्म’ को सुटिङ भ्याइसकिन् । अब ‘घामट शेरे’ र ‘दिमाग खराब’ मा व्यस्त हुनेछिन् ।

मेनुकाको साहस
हेमन्त रानाको बहुचर्चित गीत, ‘साइँली...’ । यसको भिडियोमा देखिएकी थिइन्, मेनुका प्रधान । गीतजस्तै भिडियो पनि औधी लोकप्रिय भयो । दर्शकमाझ प्रेमील छाप छोड्न सफल भइन् । यही गीतको शीर्षकमा फिल्म बन्ने भएपछि मेनुका छुट्ने कुरै भएन । साइँलीकै चरित्र पाइन् । रामबाबु गुरुङले मेनुकालाई नै फोकस गरेर पटकथा लेखे, चरित्र बनाए । उनले यसअघि मेनुकालाई ‘पुरानो डुंगा’ मा अभिनय गराएका थिए । डुंगा खियाउने माझीको रोगी पत्नीको भूमिकामा मेनुकाले सानदार काम गरिन् । ‘साइँली’ मा त्यस्तै जीवन्तता पस्किन्छिन् भन्नेमा विश्वस्त थिए, रामबाबु । ‘तीन एकान्त’ नाटक हेरेपछि उनले ‘पुरानो डुंगा’ मा मेनुकालाई खेलाएका थिए । रामबाबु भन्छन्, ‘स्क्रिप्ट लेखिसक्दा चरित्र लगभग बनिसकेको हुन्छ तर त्यसलाई अझ परिपक्व बनाउन मेनुकाको ‘इनपुट’ रहन्छ । चरिक्रमा दुविधा हुँदा निर्धक्क बोल्न सक्छिन् ।’
‘साइँली’ को स्त्रिप्ट सकिनु र मेनुका दुर्घटनामा पर्नु एकै पटक भयो । लामो समय घरमै आराम गर्नुपर्‍यो । त्यसैले कथा सुनाउन रामबाबु आफैं उनको घर जान्थे । महिला हुनुको नाताले साइँलीप्रति मेनुकाको दृष्टिकोण बुझ्थे । त्यहीअनुरूप पात्रलाई थप सबल बनाउँथे । यही क्रममा मेनुका पात्रमा समाहित भइसकेकी थिइन् । भन्छिन्, ‘मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने साइँलीको स्वभावसँग आकर्षित भएँ । त्यसैले उनको आन्तरिक भोगाइ र मनोविज्ञान खोतल्न मज्जा आयो ।’ अनुप बरालसँग एक महिनाको वर्कसपले थप
निखारता ल्यायो ।
मेनुकाले थिएटर हुँदै फिल्ममा फड्को मारिन् । त्यसैले पनि हुनुपर्छ, यथार्थपरक पात्र र स्वाभाविक अभिनयप्रति उनको खुब लगाव छ । यस्ता पात्रलाई बुझ्दै जाँदा वास्तविक जीवनका लागि पनि ज्ञान पाइने अनुभव सुनाउँछिन् । कथित ‘हिरोइन मेटिरियल्स’ मा पटक्कै विश्वास छैन । न चमकधमक र गानाबजानामै रमाउँछिन् । हरेक पात्रको गहिराइमा पुग्नु र सोहीअनुरूप पर्दामा पस्कनु उनको खासियत हो । कहिल्यै क्यामेरा अगाडि कस्तो देखिन्छु भनेर तनावमा लिन्नन् । यसो हुँदा अभिनय बनावटी हुनबाट जोगिन्छ । पात्रलाई छिटै समाइहाल्ने खुबी छ । साइँलीका रूपमा उनले त्यही गरिन् । भन्छिन्, ‘मेरा लागि अभिनय कला व्यक्त गर्ने माध्यम हो, जसले मलाई आनन्द पनि दिन्छ । अभिनयलाई कहिल्यै बोझका रूपमा लिन्नँ ।’
‘साइँली’ मा मेनुकाको कामबाट स्वस्तिमा उस्तै प्रभावित छिन् । उनकै शब्दमा, पर्दामा हेर्दा मेनुकाले अभिनय गरेजस्तै लाग्दैन, सरल र सहज शैलीमा चरित्रलाई न्याय गर्छिन् । यही वर्ष वैशाखमा प्रदर्शित ‘डमरुको डन्डिबियो’ बाट पनि मेनुकाले तारिफ बटुलेकी थिइन् ।
हामीकहाँ रणकला, साइँली जस्ता सशक्त महिला चरित्र असाध्यै थोरै लेखिन्छन् । जति लेखिन्छ, ती पनि पुरुषकै आँखाबाट । महिलालाई प्रायः उडाएर कमेडी गरिन्छ । संवेदनशीलताको खडेरी छ । कलाको नाममा महिलालाई बिकाउ ‘वस्तु’ मा सीमित पार्ने नियतले अझ निरन्तरता पाइरहेको छ । सिनेमाको हकमा महिला लेखक छँदै छैनन् भन्दा हुन्छ । त्यसैले मेनुकालाई लाग्छ, ‘महिला लेखक र फिल्ममेकरको संख्या बढ्नुपर्छ । तब मात्र महिलाको नजरबाट संसारलाई हेर्ने तरिका पर्दामा देख्न पाइन्छ । यसका लागि पहिले महिलाका सवाल र चरित्र निर्माणमा जोड दिनु आवश्यक छ ।’
लेखक/निर्देशक रामबाबु भन्छन्, ‘हामीसँग जस्तै चुनौतीपूर्ण भूमिकामा काम गर्न सक्ने महिला कलाकार छन् भनेर स्वस्तिमा, मेनुकाले प्रमाणित गरिसके । अरू पनि छन् । यस्ता क्षमतावान कलाकारलाई बचाउन पनि प्रभावकारी महिला चरित्र जन्माउनुपर्छ ।’

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अविराम भोलाराज

हरेक चरित्रलाई जीवन्तता दिन अब्बल मानिन्छन्, भोलाराज सापकोटा । यो अभिनय कुशलताको स्रोत र निरन्तर सक्रियताको राज के होला ?
गोकर्ण गौतम

काठमाडौँ —  सात कक्षामा पढ्दै थिए, भोलाराज सापकोटाले नाटक खेल्ने मौका पाए  । जान्या केही थिएन तर रमाइलो लाग्यो रे  ।

हेर्नेहरूले तारिफ गरे । स्कुलकै अरू एकाध नाटक खेले । सन्तुष्टिको मात्रा बढ्दै गयो । अभिनय गरेर के पाइन्छ ? हेक्कै थिएन । निरन्तर लागिरहे । नाटक खेलेपछि टेलिफिल्म खेले । रणवीर कपुरसँग बर्फी खेले । उनी अभिनीत नेपाली फिल्म पनि एक दर्जन पुग्नै लाग्यो । भोलाराज हाँस्दै भन्छन्, ‘के पाउँछु/पाएँ, कहिल्यै लेखाजोखा गरिनँ । आफ्नै तालमा लागिरहें ।’ त्यसो नहुँदो त, न अनेक आरोह/अवरोहको सामना गर्ने साहस आउँथ्यो, न यो अविराम यात्रा सम्भव नै हुन्थ्यो ।


गत शुक्रबार कागजपत्र प्रदर्शन भयो । चचहुई नामक फिल्म छायाँकन हुँदै छ । दुवैमा छन्, भोलाराज । कागजपत्रको त मेरुदण्ड उनै हुन् । फिल्ममा उनलाई सरकारी हुलाक कार्यालयको पियनका रूपमा देख्न पाइन्छ । उनी त खुसी नै छन् तर पत्नीचाहिँ विदेश जानु भनेर किचकिच गरिरहन्छिन् । चचहुईको सुटिङका लागि पोखरा पुगेका भोलाराजले फोनमा भने, ‘यो चरित्रमा धेरै युवाले आफूलाई पाउँछन् । जो परिवारकै खुसीका लागि आफ्नो देश छोड्न बाध्य हुनुपर्छ ।’ कागजपत्रको व्यापार सुखद रहेन तर फिल्म हेर्ने जोकोहीले भोलाराजको कामको प्रशंसा गरेका छन् । कारण उही, उनले पात्रमा आफूलाई पूरापुर ढालेका छन् । हुलियाबाट मात्र होइन, आनीबानी, बोलीचाली र मनोविज्ञानबाटै । र, अभिनयको यो मूल मन्त्र सिकेका हुन्, आरोहण गुरुकुलमा । त्यसैले भोलाराजलाई नियालिरहँदा गुरुकुल भुल्नै सकिन्न ।


हेटौंडाको तरंग सांस्कृतिक परिषद्सँग जोडिएर बेलाबखत नाटक गर्थे । अलिपछि सडक नाटक देखाउन नागढुंगादेखि जलेश्वरसम्म चहारे । पुगे । अभिनयप्रतिको भोक अझ बढ्यो, त्यहीबेला राष्ट्रिय नाचघरमा अभिनय प्रशिक्षण लिने मौका मिल्यो तर उनलाई हेटौंडा छोड्न त्यति सजिलो थिएन । त्यहाँ उनका साथी थिए, रामशरण दुलाल । मह जोडीबाट प्रभावित भएर रामशरण र भोलाराज पनि एक भएका थिए । ‘मामा–भान्जा’ जोडीको नाममा उनीहरूले हेटौंडा र आसपासका क्षेत्रमा टन्नै प्रहसन गर्थे । काठमाडौं आउँदा त्यो सहकार्य टुट्थ्यो । भोलाराज सम्झन्छन्, ‘त्यो पल निकै कठिन थियो तर मैले काठमाडौं आएर आफ्नो अभिनय तिखार्ने निधो गरें ।’ यहाँ उनका गुरु थिए, हरिहर शर्मा, सुनील पोखरेल, प्रभाकर शर्मा र वीरेन्द्र हमाल । एक वर्ष सिकें, केही होला जस्तो लागेन । हेटौंडा फर्किएर एउटा एनजीओमा जागिर खाएँ । तलब राम्रै थियो । तर मन रत्तिएन । ‘जति कष्ट आए पनि झेल्ने’ आफैंसँग वाचा गरे र फेरि काठमाडौं आए । यसपटकचाहिँ उतिविघ्न ठक्कर खानुपरेन । नाचघरका गुरु सुनीलको साथ पाए ।
नाचघरमा भोलाराजको लगनशीलताबाट प्रभावित थिए सुनील । त्यसैले गुरुकुलको पहिलो ब्याचमा भोलाराजलाई पनि लिए । गुरुकुलको नियमित बसाइ र सिकाइले भोलाराजको अभिनयप्रतिको बुझाइ बदलिँदै गयो । आत्मविश्वासको आयतन पनि फराकिलो हुँदै गयो । ताराबाजी लैलै, मायादेवीको सपना, आरूका फूलका सपना, अग्निको कथाजस्ता चर्चित नाटकमा क्षमता पस्कन पाए । त्यतिबेला च्यानल नेपालमा फिफ्टी–फिफ्टी नामक कमेडी सिरियल खेल्थे । अरू केही हुन्नथ्यो, जसरीतसरी हँसाउने मात्र । अग्निको कथा नाटक देखाउन कोलकाता जाँदै गर्दा लेखक अभि सुवेदीले भनेछन्, ‘रंगमञ्चमा यति गम्भीर चरित्रमा अभिनय गर्छौ तर सिरियलमा किन जोकर जसरी देखापर्छौं ? तिम्लाई सुहाउँदैन त्यस्तो काम ।’ भोलाराज हाँस्दै भन्छन्, ‘अभि सरले भनेको कुरा म आफैंलाई महसुस भइरहेको थियो । त्यसैले त्यो सिरियल र त्यस्तो काम चटक्कै छोडिदिएँ ।’


गुरुकुल भोलाराजलाई किन पनि विशेष लाग्छ भने त्यहाँ हुँदाहुँदै अर्थात् सन् २०१२ उनलाई बलिउडबाट अफर आयो, बर्फीका लागि । अनुराग बसुजस्ता गिनेचुनेका निर्देशकसँग काम गर्न पाइएला भनेर सोचेकै थिएनन् तर मुम्बई गएर अडिसन दिएपछि सबथोक सम्भव भयो । बर्फीमा उनलाई रणवीर कपुरको साथीका रूपमा देख्न पाइन्छ । समीक्षकहरूले समेत भोलाराजको भूमिका र अभिनय मन पराए । तर त्यहीं बसिरहने मेलोमेसो मिलेन । बरु यता आएर फिल्म खेल्न थाले ।


भोलाराज अभिनीत झुम्की, कुम्भकरण, रणवीर, पण्डित बाजेको लौरी, गोपीलगायत चलचित्र रिलिज भएका छन् । प्रायः फिल्ममा सहायक भूमिका हुन्छ तर त्यसमै आफ्नो विशिष्टता झल्काउँछन् । हिरोको परम्परागत मानकमा अटाउँदैनन् उनी । कद होचो छ । यही कारण उबेला नाटक त गुमाउनुपरेको थियो भने फिल्ममा झन् सकस पर्ने भइहाल्यो । तीतो–यथार्थ सुनाउँछन् उनी, ‘कलाकारलाई हेर्ने दृष्टिकोण परिवर्तन त हुँदै छ । तर अझ पनि यहाँ अभिनय क्षमताभन्दा रूप र हुलियालाई ज्यादा महत्त्व दिइन्छ । म आफैं यो प्रवृत्तिको सिकार हुँ ।’


तर पनि भोलाराजलाई कुनै गुनासो छैन । हिजो हेटौंडाबाट रित्तो हात आएका थिए, अहिले नाम कमाएका छन्, जीवन धान्न कष्ट छैन । अभिनय वर्कसप गराएर र कास्टिङबाट पनि बेलामौकामा कमाइ हुन्छ । अभिनय गर्दै हिँड्दा घरमा गाडी थियो । बुबाआमाको चाह थियो, छोराले गाडीको व्यापार सम्हालोस् । भन्छन्, ‘त्यता लागेको भए अहिले घर बनाइसक्थें । अभिनयमा लागेर घर बनाउन नसके पनि मनचाहिँ खुसी छ । जीवन चलिरहेकै छ ।’

gokarna.gtm@gmail.com

प्रकाशित : चैत्र १५, २०७५ १२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT