मैदारो ट्रेल

ब्लुज
रोशन शेरचन

काठमाडौँ — घामको टुक्रा निमेषभरलाई उज्यालो छर्दै रूखको आकाशबाट सामुन्ने खस्थ्यो  । फेरि तुरन्तै रूखको हाँगाबिँगामा अल्झेर कतै हराउँथ्यो  ।

हामी दुई सल्लाको वनमा हिंडिरहेका थियौं । गाउँलेहरू त्यसलाई सल्लेरी वन भन्दा रहेछन् । रूखहरू समान उचाइका भएकाले एकैसाल वृक्षारोपण गरिएको अनुमान गर्न सकिन्थ्यो । बुट्टयान नभएकाले सल्लेरी वन छ्यांगै थियो । हामी वनको उत्तर दिशातिर हान्निएका थियौं । पात कुल्चँदाको सर्‍याकसर्‍याक आवाज आइरहेकोथ्यो । तल्तिर मद्विम आवाजमा अविरल बगिरहेको कालीगण्डकी ।
उनी एकतमासले हिँडिरहेका थिए । म आफ्नै धुनमा पछ्याइरहेको थिएँ । निख्रिँदै गरेको सल्लाका रूखहरूलाई पार गरी उनको पैताला भीरको डिलनजिक रोकियो । म एकाध कदम अगाडि बढ्न थालेको थिएँ, उनले सचेत गराए, ‘त्यै ठीक होला ब्रदर, त्यहाँ अलि खतरा छ ।’ म भीरतिरै जान थालेको आशंकामा उनी झस्किए । अगाडि अझ राम्रो भ्यू प्वाइन्ट होला भनेर केही कदम बढ्न खोजेको थिएँ । अजंगको भीर, दैत्यस्वरूप मुख बाएर बसेको । जीउमा काडै उम्रियो । भीरको मध्यतिर थोरै उठेको भाग र त्यसरी उठेको भागमा केही रूख र बुट्ट्यानहरू । पाटे भीर भन्दा रहेछन् ।
पाटेभीरबाट एक दिन मगर्नी दिदीको बाख्रा खस्यो । उनले कथाको सुस्केरा हाले । सल्लेरी वनमा बाख्रा चराउन आएकी । कस्सो बाख्रा भीरको केही उठेको भागमा अड्किन पुगेकाले कालीगण्डकीमा खस्न पाएन । बाख्रा खसेको कुरा क्षणभरमा गाउँभरि फैलियो । ‘गाउँ नै उर्लियो । म पनि सानो थिएँ, साथीहरूसँग कुद्दै आएँ । अचम्भ ! त्यति ठूलो भीरबाट खसेर पनि बाख्रा मरेन । बरु बाख्रा चरिरहेको देखिन्थ्यो । मगर्नी दिदी केही दिनसम्म यहीं बसेर (जहाँ त्यतिबेला हामी उभिएका थियौं) बाख्रा हेरिरहन्थिन् । म कहिलेकाहीं हेर्न आउँथे । बाख्रालाई त्यस्तो निर्जन स्थानमा एक्लै चरेको देख्दा मलाई माया लाग्थ्यो । पछि भीर चढेर हल्ला गाउँभरि फैलियो— कुश्माका केही कामदारहरूले त्यहाँबाट बाख्रालाई निकालेर खाए,’ उनको स्वर भारी भयो ।
भीर किनारमा उभिएकाले तेज बतास शरीरभरि अनुभव हुन्थ्यो । फराकिलो कालीगण्डकी गल्छी पाङ हुँदै बाग्लुङसम्म तेर्सिएको देखिन्थ्यो । प्रकृतिको अद्भुत बनोट । विश्वकै गहिरो अन्धीगल्छी पनि उति सारो रोमाञ्चक होइन । बलेवाको यो गल्छी वास्तवमै रोमाञ्चक छ । यस्तो प्राकृतिक छटा धेरै छैन नेपालमा । मेरो मुस्ताङ कोबाङमा सय मिटर पूर्वी दिशाबाट बग्ने कालीगण्डकी कुन प्रेरणाले बलेवामा सयौं मिटर तल धस्सिँदै बगेको होला ? करोडौं वर्षअघि भौगर्भिक कारणले भूसतहमा विषमता आएको हुनुपर्छ तर शालिग्राम स्पर्श गर्दै बग्ने खोला, देखिने हिमाल, चल्ने बतास र सुसाउने वन उही हो भन्ने भावनाले संवेदित हुन्छु । सत्ते भनेको, तर्कहरू बदलिन्छन् तर भावना बदलिन्न । दशकौंसम्म पनि । पारि डन्डीफोरजस्तो छरपस्ट कंक्रिट घरहरूको कुश्मा बजार देखिन्छ । असिनपसिन सहरीकरणको दौडमा सहभागी भएको । सहरको कुनै क्याफेमा पाटेभीरबारे सुनेको भए त्यसको प्रभाव खास पर्दैनथ्यो । तर, एकाध घण्टा सल्लेरी वनभित्र हिँडेर छेवैबाट मान्छेको बस्तीबाट टाढाको भीर हेर्नु भयप्रद अनुभव रहेछ । उनकी आमाका अनुसार, अहिलेसम्म त्यो भीरले १४ जनाको ज्यान लिइसक्यो। भीरसँग उनको व्यक्तिगत पीडा पनि गाँस्सिएको रहेछ । उनका ज्वाइँले त्यही भीरबाट हामफालेर आत्महत्या गरेछन् । पाटे भीर यति डरलाग्दो छ कि, सामान्य मनोदशामा त त्यसलाई देख्नासाथ मृत्युको कल्पना आउँछ । हतास मनस्थितिमा त त्यसले मान्छेलाई नाम काडेरै बोलाउँदो हो ।
टाढाको झोलुंगेपुलमा मानिसका आकृतिहरू देखिन्थे । त्यो नेपालकै सबभन्दा अग्लो झोलुंगे पुल । कुनै आकृति आख्यानकार तीर्थ गुरुङ र गनेश पौडेलको हुनुपर्छ । भर्खर दुबैलाई सल्लेरी वनको पुछारमा हामीले बिदा गरेका थियौं । त्यसपछि ‘मैदारो’ मा वर्णित भीर हेर्न यता हान्निएका थियौं । यान्त्रिक पुल बिग्रेकाले तीर्थ र गनेश झोलुंगेपुलबाटै फर्किए । तीर्थले ‘पाठशाला’ बेजोड लेखेको छ । गनेश पनि भोलि भारत जाँदै छ । दर्जनौं पैताला बोक्ने गनेश प्रायः यात्रामै भेटिन्छ । हिजो भ्युटावर उक्लँदा तीर्थलाई सारो पर्‍यो । ठिटाहरू उत्तेजित हुँदै कुदेपछि बाटो भुलेर वित्यास पर्‍यो । तीर्थ स्याँ स्याँ... भयो । ऊ तीर्थलाई सम्झाउँछ— बिस्तारै हिँड्नु तीर्थ, तिमीसँग गनेश छँदै छ ।
पाटे भीर ‘मैदारो’ मा भावभूमि भएर आएको छ । पाण्डुलिपि पढ्दा थाहा भयो । भीरको यथार्थलाई स्वैरकल्पनाको साँचोमा ढालेका छन् उनले । पहाडको ग्रामीण जनजीवन, जातीय विभेद, चित्रकार नदिमको निराशा र विद्रोह, माओवादी सशस्त्र संघर्षको पृष्ठभूमि, भीरको रोमाञ्चक प्रसंग, पँधेर्नीको कुराकानी र सुदूर भविष्यप्रतिको आशावादिता त्यसका कथ्यहरू छन् । उनले आफूले अनुभव गरेको, समाजकै कथा र पात्रहरूलाई उठाएका छन् । कुराकानीको दौरान थाहा भयो, उनकी भान्जीले गाउँको दलितसँग प्रेमविवाह गरेपछि परिवारमा भूकम्प नै गएछ । उनी र भाइले बुताले भ्याएसम्म सम्झाईबुझाई जेनतेन परिवारलाई सम्हालेछन् । त्यो घटनाले परिवारमा भयंकर हुन्डरी निम्त्याएछ । उनी सुनाउँछन्, ‘हाम्रो मनोविज्ञानमा जातीय विभेद कति भित्रसम्म जरा गाडेर बसेको रहेछ भन्ने त्यतिबेला मलाई अनुभव भयो ।’ त्यो घटनाले नै उनलाई ‘मैदारो’ लेख्ने प्रेरणा र साहस दिएको हुनुपर्छ । पाण्डुलिपि पढ्दाको सीमित प्रभाव पाटे भीर, पैयुँपाटा, अमलाचौर, कालिकास्थान, कुश्मिशेरा र सल्लेरी वन घुमेपछि सघन बन्दै गयो ।
नेपाली साहित्यमा भीरको प्रसंगहरू आउँदै नआएका होइनन् । पर्याप्त आएनन् कि ? भावभूमिकै रूपमा आउने त अझै कम होला । मलाई लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाइँ’को सम्झना आउँछ । प्रमाणपत्र तहमा पढ्नुपर्थ्यो । राँकेभीरबाट हामफालेर आत्महत्या गर्न खोजेकी झुमालाई मोटे कार्कीले बचाउँछ । त्यस्तै आख्यानकार राजन मुकारुङको उपन्यासको त शीर्षक नै छ ‘दमिनी भीर’ । काजीबाट बलात्कृत भएपछि घरमाथिको भीरबाट हामफालेर दमिनीले आत्महत्या गर्छिन् । असमानता र विभेदको कथा छ,
‘दमिनी भीर’ मा । भीर सजिलो उपायजस्तो देखिन्छ, आत्महत्या गर्न । घाँसदाउरा, चरिचरनमा जाँदा क्षणिक आवेशको क्षण मृत्युवरण गर्न सजिलो माध्यम । मान्छेले गर्दै आएको पनि त्यही देखिन्छ । खोलानजिक छ भने त्यसैमा हेलिने, भीर छ भने त्यसैबाट हाम फाल्ने । त्यस्ता माध्यमहरू सहजै उपलब्ध नहुँदा हुन् त, आवेश शान्त भएपछि आत्महत्या गर्न खोज्नेले पक्कै पुनर्विचार गर्थ्यो ।
कलंकीबाट बिहान हिँडेको, बलेवा पुग्दा साँझै पर्‍यो । सुई खेत, लुम्ले, नयाँ पुल एरियाको बाटो विस्तारले गाडी अबेर भयो । घाम डाँडामुन्तिर ओर्लिंदै थियो । गल्छी अँध्यारोमा डुब्दै थियो । त्यो नै त्यो दिनको अन्तिम ट्रिप थियो । मनमा डर पलायो । यान्त्रिक पुल धेरै अग्लाइमा चल्छ । घाम नदेख्दा यसै चिसो अनुभूति हुन्छ । तर रोमाञ्च भाव बढी हुँदा डर सतहमा आउन पाएन । अन्तरमा कतै चेपिएर रह्यो । डर निरीह भएपछि नै मानिस बलियो देखिने हो । डब्बा बिस्तारै अघि बढिरहेको थियो ।
धेरैमुनि धूमिल कालीगण्डकी बगिरहेको थियो । दिनभरको यात्राले थकित थिए । थाकेको अवसर पारेर हल्का उदासीपन घेर्न आउँदै थियो । काठमाडौं बस्दा उकुसमुकुसै भएको थिए । एक दिन उनको फोन आयो ‘बलेवा महोत्सव हुँदै छ, समय मिलाएर पुगौं ब्रदर ।’ त्यसो त उनको गाउँ जाने कुराकानी नभएको होइन तर व्यस्तताले जान सकिरहेको थिइनँ । यसपालि अनुकूल मिल्यो । झोलामा एक जोर कपडा र मञ्जन ब्रस हालेर कुदिहाले । उनी चितवनबाट गाडी चढ्छन् । म काठमाडौंबाट । पोखराबाट तीर्थ र गणेश मिस्सिएपछि यात्रा झन् रोमाञ्चक बन्छ ।
बलेवा महोत्सव मात्र थिएन । समाजको दुर्दान्त घाउलाई केही नजिकबाट नियाल्ने अवसर थियो । मानव जातिकै कलंक वर्णव्यवस्थालाई नजिकबाट बुझ्ने यात्रा थियो । उक्त यात्रालाई नामकरण गर्दा उपयुक्त नाम हुन्छ– ‘मैदारो ट्रेल’ । मोटरगाडीमै पुग्न सकिन्थ्यो भने अन्य नाम उपयुक्त हुन्थ्यो । हिँडेर मात्र पुग्न सकिने ठाउँ भएकाले ट्रेल । पदमार्ग । जीवनमा आधा दर्जन ट्रेलहरूको यात्रा गरियो । लाङटाङ, कञ्चनजंगा, अन्नपूर्ण, हेलम्बु, तीनजुरे, तामाङ हेरिटेज र सगरमाथा ट्रेल । ती मूलतः प्राकृतिक थिए, मैदारो ट्रेल सामाजिक र राजनीतिक लाग्यो । मैदारो ट्रेल सारमा विचारको भित्री यात्रा रहेछ ।
समाज उल्टो दिशातिर हिँडेकाले प्रमुख पात्र नदिन उल्टो पेन्टिङ बनाउँछ । चमेरा विम्ब कभरमा सटीक छ । चरम निराशाका क्षणबाट निस्केर उज्यालोतिरको यात्राले ऊर्जा दिन्छ । नदिन आफ्नो जीवन दृष्टिकोण यसरी अभिव्यक्त गर्छ, ‘उल्टोलाई उल्टाउँदा सुल्टो हुन्छ ।’ तर, यात्रा कदाचित सहज छैन । कथ्यले अनेकन घुम्तीहरू छिचोल्छन् र अनुभूतिको भिन्न लोकमा पाठकलाई पुर्‍याउँछन् । राजनीतिसँग जोडिएको वैचारिकी अर्को पाटो छ । शान्तिपूर्ण आन्दोलन र सशस्त्र संघर्षबीचको घर्षण वस्तुतः वैचारिक घर्षणहरू हुन् । उनको वैचारिकीलाई यी घर्षणहरूमा खोज्न सकिन्छ । ‘मैदारो’ मा प्राकृतिक भीर भन्दा मानव निर्मित भीरले तेर्स्याएका पीडा, विव्ल्याटा र संघर्षहरू धेरै छन् । जातीय विभेदका असुरी भीरहरू झन् निर्मम । दृश्यभन्दा अदृश्य भीर झन् खतरनाक । स्थूलभन्दा सूक्ष्म भीर थप जोमिखपूर्ण । उत्तिकै छली पनि । नदेखिनाले छैन भन्ने भ्रम पनि सिर्जना हुने । विसं २००४ सालमै बाग्लुङमा जन्मेका सर्वजित विश्वकर्माले सर्वजन संघ स्थापना गरी यस भेगमा दलनविरुद्व आन्दोलन थालेको इतिहास भेटिन्छ । अम्बेडकर र गान्धीको प्रभावमा बनारसबाटै पर्चा छपाएर सर्वजितले बाग्लुङको ओमप्रसाद चौतारामा पहिलो कार्यक्रम गरेका थिए । लामो समय त्यो इतिहास विस्मृतिकै गर्तमा पुरियो । ‘मैदारो’ ले त्यसलाई उत्खनन गर्दै वर्तमान समयको आलोकमा नियाल्ने प्रयास गरेको छ । त्यसैले त्यसको महत्त्व ऐतिहासिक छ । सारमा मैदारो मानवनिर्मित भीरहरूको कथा हो ।
उनी एकाङ्की छैनन् । न सामाजिक यथार्थवादी क्याम्पमा सीमित छन् । न त स्वैरकल्पनाको । बरु झोलुंगेपुलजस्तो दुवै विचारहरूको सेतु बनेका छन् । माटोको यथार्थ छ । बुनोटमा स्वैरकल्पना । कुशल संयोजन उनको आर्जन ।
हर्मन मेलभिलले सन् १८५१ मा कालजयी उपन्यास लेखे– ‘मोवी डिक’ । अहेब ह्वेलसँग बदला लिन चाहन्छ । कारण ह्वेलले उनको खुट्टा खाइदिएको छ । समुद्री भावभूमिमा उक्त पुस्तकले मान्छेको अठोटको कथा भन्छ । समालोचनाको एउटा स्कुलले अचम्मको निष्कर्ष निकाल्यो– ‘मोबी डिक’ मा ह्वेल छैन । ह्वेल मात्र मेटाफोर हो । आश्चर्य ! अधिकांश पाठक त्यहाँ समुद्री यात्रा, हारपुन र ह्वेलैह्वेल देख्छ । सिम्बोलिस्टहरूको त्यो निष्कर्ष अपत्यारिलो लाग्छ । ह्वेललाई प्राणी नमानेर खराब प्रवृत्तिको समुच्चय मान्दा भने त्यो पत्यारिलो सुनिन्छ । त्यसैको सापेक्षमा, ‘मैदारो’मा पनि भीर छैन भन्यो भने, त्यो संश्लेषण पनि तर्कसंगत बन्छ । अदृश्य भीरलाई सघाउने पाटेभीर पनि मेटाफोर नै हो । कविको अन्तरदृष्टिबिना त्यस्तो मेटाफोर बन्दैन । आख्यान साहित्यमा ‘मैदारो’ लाई सुखद आगमन ठानेको छु । मलाई यो सुन्दर लागेको छ, समग्र मूल्याङ्कन भने भविष्यको गर्भमै निहित छ । भोलि काठमाडौं फर्कनु छ । तर म सोच्छु, वैचारिक हिसाबले भोलि पनि म पृथ्वी राजमार्गभन्दा बढीे मैदारो ट्रेलमै यात्रा गरिरहेको हुनेछु ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

'मेरा गीत साहित्य नै हुन् त ?'

रोशन शेरचन

काठमाडौँ — अक्टुबर, २०१६ मा जब बब डिलनले साहित्यको नोबेल पुरस्कार पाउने समचार सार्वजनिक भयो, समाचार सुन्ने हरेक व्यक्तिसँग आफ्नैखाले प्रतिक्रिया थिए  । अपवाद थिए त, गीत लेख्ने बब डिलन मात्र, जोसँग न धारणा थियो, न प्रतिक्रिया  ।

हप्तौं डिलन क्याम्प मौन रह्यो । नोबेल कमिटीले प्रेस जगत्लाई भन्यो, ‘बब डिलनका तर्फ कसैले फोन रिसिभ गरेको छैन ।’ नोबेल कमिटी सदस्य पर हास्टवर्ग भन्छन्, ‘कसैले पनि भन्न सक्छ, त्यो बेवास्ता बडप्पन हो । तर ऊ त्यही हो, जो ऊ हो ।’


मौनता भत्काउँदै २९ अक्टुबरमा टेलिग्राफको अन्तर्वार्तामार्फत डिलनले भने, ‘आश्चर्यजनक, विश्वास गर्न कठिन ।’ लेखक एडिना गन्डरसेनको प्रश्न ‘स्टकहोममा हुने नोबेल पुरस्कार वितरण समारोहमा आउनुहुन्छ ?’ डिलनको जवाफ, ‘सम्भव भए अवश्य आउनेछु ।’ डिलनको सांगीतिक टुर केही हप्ताअगाडि सकिने भएकाले उनी आउने प्रवल सम्भावना थियो । अघिल्ला वर्षहरूमा सबै सम्मानित विजेताहरूले समारोहमा उपस्थित हुने उपाय पहिल्याएका थिए ।


१६ नोभेम्बरमा, डिलनको खास शैलीअनुसार सम्मान समारोहमा उनी नआउने खबर फैलियो । स्विडिस एकेडेमीलाई एक दिनअघि मात्र डिलनको पत्र प्राप्त भएको थियो । डिसेम्बरमा स्टकहोममा हुने नोबेल पुरस्कार वितरण समारोहमा आफ्ना पूर्वनिर्धारित प्रतिबद्घताहरूको कारण उनी आउन असमर्थ भए, एकेडेमीले विज्ञप्तिमार्फत जानकारी गरायो । साथै थप्यो ‘नोबेल पुरस्कारबाट सम्मानित भएकोमा डिलनले पुनः कृतज्ञता जनाएका छन् । साथै कार्यक्रममै उपस्थित भई पुरस्कार लिने इच्छा व्यक्त गरेका थिए ।’


नोबेल विजेताहरूलाई समारोहमा बोल्ने भाषणको तैयारीको निम्ति ६ महिनाको समय दिइन्छ । स्विडिस एकडेमीको अझैं विश्वास थियो, उनको सांगीतिक टुरले उपयुक्त समयमा डिलनलाई स्टकहोममा ल्याउनेछ । तसर्थ उनी आफैं उपस्थित भई आफ्नो भाषण पढ्न सम्भव हुनेछ । तर त्यस्तो भएन । डिलनले नोबेल ब्याङ्केट भाषणको लिखोट एकेडेमीमा पठाए । नोबेल पुरस्कार वितरणको दिन (१० डिसेम्बर) बब डिलनको ब्याङ्केट भाषण स्विडेनको निम्ति अमेरिकी राजदूत अजिता राजीले पढेर सुनाइकी थिइन् । त्यो भाषण यस्तो थियो,

शुभ सन्ध्या,
सर्वप्रथम म यहाँ उपस्थित स्विडिस एकेडेमीका सदस्यहरू र अतिथिहरूमा आभार प्रकट गर्दछु ।यहाँहरूसामु उपस्थित हुन नसकेकोमा म क्षमा चाहन्छु । भौतिक रूपमा नभए पनि म भावनाको तहमा यहाँहरूसँगै छु । साथै, यस्तो गरिमायुक्त पुरस्कार पाउँदा आफू सम्मानित भएको बताउन चाहन्छु । साहित्यको नोबेल पुरस्कार पाउने कल्पना मैले कहिल्यै गर्न सकिनँ । सानै उमेरदेखि प्रस्ट देखिने किपलिङ, सा, थोमस मान, पर्ल एस बक, अल्बर्ट कामु, हेमिङ्वेका सिर्जनासँग म परिचित थिएँ र यी लेखकहरूले मलाई सधैं सम्मोहित पारेका थिए । साहित्यका यी अजंगका लेखकहरूबारे स्कुलका कक्षाकोठामा पढाइन्छ । संसारभरका पुस्तकालयमा उनीहरूका पुस्तकहरू भेटिन्छन् । मानिसहरूले एकआपसका कुराकानीमा ईश्वरझैं श्रद्घासाथ लिइने यी लेखकहरूको मउपर गहिरो प्रभाव छ । यी लेखकहरूकै पंक्तिमा उभिन पाउनुको अनुभूति शब्दातीत छ ।


मलाई थाहा छैन, यी लेखकहरूले कहिल्यै नोबेल सम्मान पाउनेबारे सोचेका हुन् ! तर मलाई लाग्छ, पुस्तक लेख्ने, कविता रचना गर्ने वा नाटक सिर्जना गर्ने हरेकले, संसारको जुनसुकै ठाउँमा बसे पनि, त्यो गुप्त सपना मनभित्र पालेको हुन्छ । सायद यति अटल गहिराइमा त्यो सपना गडिएको हुन्छ कि, उनीहरूलाई पनि त्यसबारे थाहा नहुन सक्छ । यदि कसैले मलाई नोबेल पुरस्कार पाउने सम्भावना कति छ भनेर सोध्दथ्यो भने, मेरो अनुमानमा त्यसको सम्भावना मैले चन्द्रमा टेक्नु जति नै हुन्थ्यो । तथ्य के हो भने, मेरो जन्म भएको वर्ष र त्यसपछिका केही वर्षहरूमा, विश्वमै नोबेल पुरस्कारको निम्ति सारो उपयुक्त कोही देखिएन । मेरो विचारमा म पनि त्यसैमध्येको एक थिएँ ।


यो आश्चर्यजनक खबर सुन्दा म यात्रामा थिएँ । खबरउपर राम्ररी सोच्न र आश्वस्त हुन मलाई केही मिनेट लाग्यो । मैले विलियम सेक्सपियर सम्झें, महान् साहित्यिक व्यक्तित्व । म सोच्छु, सेक्सपियर स्वयंलाई नाटककार सम्झन्थे । सेक्सपियरले आफूले साहित्य लेख्दै गरेको सायदै सोचे । वास्तवमा उनका कर्महरू नाट्यकारिताका लागि थियो । संवादको निम्ति, न कि पठनका निम्ति । जब उनी ‘ह्यामलेट’ लेखिरहेका थिए, म निश्चिन्त छु, उनी नाटकका धेरै सम्भावनाका बारे सोचिरहेका थिए । यी भूमिकाहरूको निम्ति योग्य कलाकारहरू को हुन सक्लान् ? कसरी यो नाटकलाई मञ्चन गर्ने ? के म यस नाटकलाई यथार्थमै डेनमार्कमा सेट गराउन चाहन्छु ? पक्कै सेक्सपियरको सिर्जनात्मक दृष्टि र महात्त्वाकांक्षाहरूले उनको मस्तिष्कको अग्रभाग ओगटेको हुनुपर्छ । तर साथै दोस्रो महत्त्वको अन्य पक्षहरू पनि थिए, जसलाई उनले मिलाउनैपर्थ्यो । जस्तै ः के नाटक मञ्चनको निम्ति आर्थिक स्रोतको जोहो छ ? के मैले सम्मान गर्नुपर्ने महानुभावहरूको निम्ति थिएटरमा उपयुक्त सिटहरू पर्याप्त छन् ? मान्छेको खप्परको व्यवस्था कसरी गर्ने ? म बाजी नै थाप्न सक्छु, सेक्सपियरको मनमा सुदूर प्रश्न कुनै उठेको थियो भने, त्यो अन्तिम प्रश्न यस्तो हुन्थ्यो— के मैले सिर्जेका नाटकहरू साहित्य बने ?


किशोरवयमा मैले जब गीत लेख्न थालें वा जब केही प्रशंसाहरू बटुलें, मेरो गीतप्रतिको प्रेरणा र विश्वास झन् अगाडि कुद्यो । मैले कल्पना गरें, यी गीतहरू कुनै दिन कफी हाउस र बारमा सुनिनेछन् । हुन सक्छ, कार्नेगी हल वा लन्डन पालाडियममा पनि गुन्जिएला । त्यसबेला मैले ठूलै सपना देखेको भए, त्यो आफ्ना गीतको रेकर्ड निकालेको र रेडियोमा आफ्नै गीतहरू सुन्दै गरेको थियो । मेरो विचारमा त्यो वास्तवमै ठूलो पुरस्कार थियो । रेकर्ड निकाल्नु, रेडियोमा आफ्नो गीत सुन्नु, असंख्य श्रोतामाझ पुग्नु र आफ्नो इच्छाको क्षेत्रमा केही गरिरहन पाउनु ।


जे होस्, लामो समयसम्म मैले त्यही कर्म गरिराखेको छु, जो म चाहन्थें । मैले दर्जनौं रेकर्डहरू निकालें र विश्वभर हजारौं कन्सर्टमा आफ्ना संगीतहरू प्रस्तुत गरे । तर, मलाई लाग्छ, मैले जे जति गरे पनि केन्द्रमा मेरा गीतहरू नै छन् । भिन्न संस्कृतिका बेहिसाब मानिसका जीवनमा ती गीतहरूले आफ्नो स्थान बनाएको अनुभव गर्दा म आनन्दित बन्छु । तर एउटा कुरा छ, जुन मैले भन्नैपर्छ । परफर्मरको हिसाबले, मैले पचास हजार श्रोतामाझ गाएँ । पचास जनाको सानो समूहबीच पनि संगीत प्रस्तुत गरें । म भन्न सक्छु, पचास जनाको बीचमा गाउनु धेरै कठिन काम हो । पचास हजार श्रोता वास्तवमा एउटै बृहत्तर व्यक्ति हो तर पचास जना त्यस्तो होइन । पचास जनाको समूहमा प्रत्येक व्यक्ति भिन्न हो । भिन्न पहिचान । उनीहरू गीतलाई प्रस्ट ग्रहण गर्छन् । तपाईं कति इमानदारपूर्वक गाउँदै हुनुहुन्छ ? वा आफ्नो प्रतिभासँग कति गहिरो तादात्म्य राख्दै हुनुहुन्छ ? उनीहरू बुझ्छन् । नोबल कमिटी पनि सानो हुनाले मलाई पर्याप्त परीक्षण गरेको कुरा म थाहा पाउँछु । त्यो तथ्यगत कुरा हो ।


तर सेक्सपियरझैं, मेरो सोचाइलाई पनि सिर्जनात्मक कर्म र निर्वाह गर्नै पर्ने जीवनका अन्य विषयहरूले प्रायशः व्यस्त बनाइराख्छ । यी गीतका निम्ति सबभन्दा योग्य संगीतकार को हुन सक्छ ? के म उपयुक्त स्टुडियोमा रेकर्डिङ गरिराखेको छु ? के यो नोटेसन गीतको निम्ति सही छ ? केही चीज कहिल्यै बदलिँदैन, चार सय वर्षसम्म पनि ।


कुनै पनि यस्तो समय आएन जहाँ मैले स्वयंलाई सोधेको होस्, ‘के मेरा गीतहरू साहित्य बने ?’
त्यसैले उक्त प्रश्नउपर समय खर्चेर सोची दिएको र अन्ततः सुन्दर उत्तर खोजेकोमा स्विडिस एकेडेमीलाई धन्यवाद ।
सबैमा मेरोतर्फबाट शुभेच्छा,


बब डिलन

(नोबेल समितिको विज्ञप्तिअनुसार बब डिलनलाई अमेरिकी गीत परम्पराअन्तर्गत नयाँ काव्यिक अभिव्यक्ति सिर्जनाको निम्ति पुरस्कार दिइएको थियो ।)

प्रकाशित : चैत्र १६, २०७५ ११:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्