जोखनाको जन्म

फूलमान वल

काठमाडौँ —  बितेको भदौका केही दिन रंगकर्मी किरण चाम्लिङ राईलगायतको टोली पोखरा नजिकैको पर्यटकीय गाउँ कालाबाङ घरेडीमा थियो  । मण्डला थिएटरले गरेको स्थलगत कार्यशालाका लागि रंगकर्मीहरू नाटकको विषय खोज्दै त्यहाँ पुगेका थिए  ।

नेपाली रंगमञ्चमा मौलिक विषयवस्तु र कथाहरू आउन छाडेको समय उनीहरूले द्वन्द्वोत्तर समाजको पीडा खोतले । बेपत्ता नागरिकको पारिवारिक मनोदशा उधिन्ने क्रममा किरणलाई एक महिलाले रुँदै भनिन्, ‘फर्की आउनुहोला भन्ने आशा त छैन, जे भए पनि खबरचाहिँ प्रस्ट भए हुन्थ्यो ।’
कालाबाङ घरेडीबाट पोखरा झरेपछि किरणलगायतको एक दर्जन रंगकर्मीले सामूहिक निर्देशक र अभिनयमा सानो नाटक तयार पारे, ‘खबर हराएको चिठ्ठी ।’ यतिबेला राजधानीको मण्डला नाटक घरमा मञ्चन भइरहेको नाटक ‘जोखना’ सित ‘खबर हराएको चिठ्ठी’ को सम्बन्ध छ । विषयवस्तुको एकरूपता मात्रै हैन, ‘जोखना’ को रचना गर्भसितै जोडिन्छ ‘खबर हराएको चिठ्ठी’ ।
‘राजधानी फर्केर केही नयाँ नाटक गर्छु भन्ने सोचिरहेको थिएँ,’ हालैको भेटमा रंगकर्मी किरणले भने, ‘साइँलीको सुटिङ भइरहेको बेला दयाहाङ राई दाजुले बीएस राईको ‘हिउँमाझी’ कथासंग्रह पढ्न सुझाउनुभयो ।’ किताब पढ्दै जाँदा ‘जोखना’ शीर्षकको कथामा किरण उद्वेलित बने । द्वन्द्वमा बेपत्ता जसबहादुरलाई पर्खिबसेकी धनसुवाको पीडा र किरणले पोखराको कालाबाङ घरेडीमा भेटेको महिलाको आँसुको रङ एउटै थियो । किरणले ‘खबर हराएको चिठ्ठी’ को अनुभवसमेत जोडेर ‘जोखना’ लाई अझ राम्रो बनाए । नाट्य रूपान्तरणमा सघाए राजन मुकारुङले । मुन्धुम संस्कृति, सभ्यता र मनोविज्ञान जोडेर दयाहाङ राईले पनि गीत लेखिदिए । एक दर्जन कलाकारले जोसिलो साथ मिल्यो । उनकै निर्देशन रहेको ‘जोखना’ यतिबेला चौथो हप्तामा चलिरहेको छ ।


द्वन्द्वको कथा
‘जोखना’ सशस्त्र द्वन्द्वमा बेपत्ता नागरिकको परिवारिक पीडाको विस्तृति हो । यो मुन्धुमी संस्कृतिको रङमा छ । मुलुकले भोगेको दशक लामो द्वन्द्वमा सत्र हजारको ज्यान गयो । हजारौं बेपत्ता छन् । पीडा सबैको उस्तै भए पनि किराँत समुदायको रङ दिइएको यो नाटक आफैंमा नेपाली रंगमञ्चका लागि अर्ग्यानिक प्रस्तुति हो । कथावाचनमा किराँत प्रतीक र विम्बहरू लोभलाग्दोसित प्रयोग गरिएको छ । कथाको बहाव, पात्र मनोविज्ञान र घटनाको उतार–चढावअनुरूपको प्रकाश र ध्वनिको लय उत्तिकै प्रशंसनीय लाग्छ ।
द्वन्द्व अब हाम्रो स्मृतिको छायामा मात्रै धिपधिप छ । नाटकमा पनि द्वन्द्व छायामा मात्रै आउँछ । तर, त्यही छायाजस्तो आफन्तको सम्झना बोकेर बाँचिरहेकाहरूको पीडा भने नाटकमा विशाल छ । किराँत सभ्यता, जीवन र संवेदनासित चुलोको तीन ढुंगा कति नजिकबाट जोडिएको छ भन्ने थाहा हुन्छ नाटक हेरेपछि । ब्लकिङ, प्रकाश परिकल्पनादेखि सेट डिजाइनसम्म तिनै चुलो ढुंगाको अवधारणामा खेलेका छन् किरणले । बिजुवा (सेलेमी) ले जोखना हेर्ने परम्परालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । जोखना हेर्दा आत्मा आएर मरिसकेको सन्देश दिए पनि काजकिरिया सकेपछि जसबहादुर खुट्टा खोच्याउँदै घर आइपुग्दाको सन्दर्भ आजको समयको विरोधाभास हो । परम्परा, संस्कृतिजन्य कतिपय तत्त्वहरू उल्टो भएको सन्दर्भ मार्फत ‘सबै कुरा अहिले उल्टै भइरहेको छ’ भन्ने बलियो सन्देश दिएको छ नाटकले । द्वन्द्वले पारेको सांस्कृतिक क्षति त छँदै छ । सबैभन्दा मुख्य कुरा त माओवादी द्वन्द्व, बीचको समयदेखि अहिले विप्लव समूहको द्वन्द्वसम्मको तीनवटा समय नाटकमा भेटिन्छ । जसबहादुरले फेरि घर छोड्नुले राजनीतिक अर्थ पनि राख्छ ।

कुरुम्बाको ठिटो
दशकअघि पाँचथर कुरुम्बाबाट झापा झरेपछि नै किरणको कला यात्रा सुरु भएको थियो । झापाबाट काठमाडौं आइपुग्दासम्म उनी दृश्य सम्पादक, संगीत विद्यार्थी र रंगकर्मी भइसकेका थिए । झापाको हिमशिखर टेलिभिजनदेखि काठमाडौंको न्युज २४ सम्मको जागिरे पनि नबनेका होइनन् । तर, परिस्थितिले जताजता हुत्यायो, उनी त्यही बने । शिल्पी थिएटर आइपुगेपछि एकाध वर्ष स्थिर बने । केही नाटक गरे । यसअघि उपेन्द्र सुब्बाको दुइटा कथा जोडेर उनले निर्देशन गरेको ‘लाटो पहाड’ ले पनि निकै चर्चा पायो । अनुप बरालको ‘थाङ्ला’ मा उनले गरेको देवरको चरित्र पनि सम्झनायोग्य थियो ।
‘तैपनि म निर्देशन नै गर्न चाहन्थें,’ २९ वर्षे किरणले भने, ‘लामो समय नाटक खोजी हिँडे । बीचमा द्वन्द्वकै कथामा स्क्रिप्ट पनि तयार पारेका थियौं हामी केही साथीभाइ मिलेर । तर, त्यो त्यत्तिकै बस्यो ।’ किरण नेपाली समाजमा थुप्रै कथाहरू थाँती रहेको र तिनलाई भन्ने प्रयासहरू पर्याप्त नभएको स्विकार्छन् । ‘हाम्रो रंगमञ्चको मौलिक अनुहार अझै प्रस्टसित देखिन सकेको छैन’, उनले भने, ‘जोखना एउटा प्रयास मात्रै हो ।’

बिजुवाको नाति
‘जोखना’ मा बिर्सिन नसक्ने एक पात्र छन् सेलेमी । यो भूमिका गरेका छन् अनिल सुब्बाले । उनले गरेको भूमिका नाटक सकेपछि पनि याद आइरहन्छ । इलाम चुलाचुलीका यिनले यसअघि ‘जिउँदो आकाश’ मा गरेको एकल अभिनय पनि उम्दा थियो । यही नाटकबाट धेरै मान्छे यिनका फ्यान बने । त्योभन्दा अगाडि यिनी शिल्पी थिएटरमै थिए । ‘लाटो पहाड’, ‘हेड्डा ग्याब्लर’ लगायतमा अभिनय गरे शिल्पी छँदा । त्यसपछि सुनील पोखरेलको नजिक पुगे ।
‘शिल्पी अघिको मेरो कथा रोचक नै छ,’ २४ वर्षे ठिटोले चिया सुरुप्प पारे, ‘गोजीमा पाँच हजार सापटी बोकेर काठमान्डू छिरेको थिएँ ।’ खासमा शिल्पीले पुर्वकै चेतना समूहबाट एक जनालाई काठमाडौंमा कार्यशालाका लागि बोलाएको थियो । चेतनाबाट आउनुपर्नेले पारिवारिक कारणले भ्याएनन्, मौका मिल्यो चुलाचुली नाट्य समूहका अनिललाई । काठमाडौं जानुपर्ने भयो, पैसा थिएन । ‘चेतना समूहकै दाइबाट सापटी लिएर आएँ,’ उनले सुनाए, ‘शिल्पीको दोस्रो ब्याचमा सामेल भएँ ।’
त्यसअघि ‘जोखना’ का यी बिजुवा (धामी) ले थुप्रै सडक नाटक गरिसकेका थिए । गाउँमा दाइहरू पर्दा टाँगेर नाटक गर्थे । नाच निकाल्थे । देउसी खेल्थे । द्वन्द्वकै कारण दाइ अक्कल सुब्बा बिदेसिनुपरेपछि अनिलले त्यो ठाउँ लिए । चण्डीपूर्णिमाको बेला पाँच/सात सय मान्छेको भीडमा ‘परिवर्तन’ नामक नाटक गर्दाका क्षण उनी अहिले पनि सम्झिन्छन् । ‘नाटक खेलेर बाहिर निस्किँदै गर्दा निकै ठूलो हिरो भएको अनुभूति गरेको थिएँ । सबैले मलाई नै हेरिरहेको जस्तो लागेको थियो’, उनले सम्झे, ‘अहिले सम्झिँदा रोल त केही नै रहेनछ मेरो ।’
चुलाचुली थिएटरकै प्रस्तुति ‘देवाङ्सी राजा’ केही वर्षअघि दोलखाको नाट्य महोत्सवमा छानिएको थियो । यसमा पनि अनिल बिजुवाकै भूमिकामा थिए । ‘आफैं पनि पुस्तैनी बिजुवा हुँ, हाम्रो सबै पुस्ता बिजुवा,’ उनले भने, ‘त्यही भएर यो भूमिका गर्दा मेरो जिउ आफैं कामेर आउँछ । रगत उम्लेर आउँछ । नाच्ने ताल र मन्त्रको लय पनि कण्ठै छ । नाटक सकेपछि पनि जिउ कामिरहेकै हुन्छ, कहिलेकाहीं त डर लागेर आउँछ ।’
‘देवाङ्सी राजा’ को बेला त चरित्रमा जानुअघि उनलाई भेट्न आमा आउँथिन् । आमाले हेरीकन अक्षेता फुकेर जिऊ र कपडामा छर्केपछि उनी चरित्रमा पस्थे । ‘यो एउटा मुन्धुमी विश्वास हो,’ उनको तर्क छ, ‘यसप्रति मेरो पनि पूर्ण विश्वास छ ।’ यही विश्वास पद्धति, त्यसको उल्टो यात्रा र आयातित ज्ञानले घर गरेको अहिलेको समयको मनोविज्ञान पनि हो नाटक ‘जोखना’ ।

जापान छोडेर रंगमञ्च
केही महिनाअघिको एक दिन यिनै अनिलको फोन आयो, संगीता थापालाई । मकवानपुर भीमफेदीकी यी २८ वर्षीया जापान जाने तयारीमा थिइन् । गुरुकुल हुँदाताका नर्वेली रंगकर्मी मोर्टन क्रोगको ‘ताराबाजी लै लै’, सुनील पोखरेलको ‘पुतलीको घर’, मीन भाम–सुनील पोखरेलको ‘कर्णाली दख्खिन बग्दो छ’ जस्ता नाटक हेरेको प्रभावकै कारण केहीअघि यिनले कुञ्ज थिएटरमा मञ्चित ‘लिलामे माइलो’ मा सानो भूमिका गरेकी थिइन् ।
‘जोखनाका लागि त मलाई ठूलै प्रस्ताव आयो,’ कुराकानीको क्रममा संगीताले सुनाइन्, ‘त्यही पनि म जसको फ्यान थिएँ, उसैबाट ।’ खासमा किरणलाई ‘जोखना’ को धनसुवा चरित्रका लागि कलाकार चाहिरहेको थियो । गीति परम्पराको सघनता रहेको किराँत समुदायको यो चरित्रले नाटकमा पनि धेरैजसो गीतबाटै अभिव्यक्ति दिनुपर्थ्यो । गीत गाउँदै अभिनय गर्नुपर्ने भएकाले केही कलाकारले यो भूमिका छोडिसकेका थिए । पद्मकन्या क्याम्पसको संगीत स्नातक संगीता भने भोजनगृहमा साँझ–साँझ गाउने गर्थिन् । ‘त्यही भएर मेरो खोजी भएको रहेछ,’ संगीताले सुनाइन्, ‘सट्टा कलाकारको रूपमा ।’
सट्टा कलाकारको रूपमा ‘जोखना’ छिरेकी यिनी अहिले प्रशंसित छिन् अभिनयका लागि । बेपत्ता लोग्ने पर्खिबसेकी धनसुवाको चरित्रमा उनी अब्बल छिन् । सकारात्मक प्रतिक्रियाहरूका कारण अब संगीताको संगत बदलिएको छ । जापानको भाषा कक्षा र भिसा प्रक्रिया पनि रोकिसकेकी छन् उनले । बरु थिएटर भिलेजको ६ महिने कोर्समा भर्ना भएकी छन् । ‘अब यहीँ केही गर्छु,’ उनले भनिन्, ‘गाउँछु, नाटक गर्छु । सिक्न आएकी थिएँ, सिक्दै छु, अझै धेरै सिक्छु ।’

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आँटिली बालिका

कफीगफ
मैले कपास नलिई दुई–चारवटा चक्लेट झ्याप्प पारेँ, उसले मेरो कुरा बुझेर हातभरि मुठ्याई र त्यही पुन्टे झोलाभित्र कोच्न खोजी । कुनै चक्लेट त भित्र पस्न नमानेर अटेर गरेजस्तो देखियो, उसले गुच्चा ठेल्ने औँला बनाएर ट्वाक्क ट्वाक्क हानी ।
नारायण वाग्ले

काठमाडौँ — त्योबेलासम्म सोचिरहनू जबसम्म कुनै सोचाइले तिमीलाई छक्क पार्दैन  । सिपालु लेखकहरू त्यही भन्छन्, त्यो बेलासम्म लेखिरहनू जबसम्म कुनै कथाले तिमीलाई अचम्भित तुल्याउँदैन  । त्यो बेलासम्म हिँडिरहनु जबसम्म तिमीलाई ठेस लाग्दैन । अथवा, त्यो बेलासम्म उभिरहनू, जबसम्म तिमीलाई कसैले ठेल्दैन ।

एक जना कसैले नठेलेसम्म म बुद्ध एयरको काउन्टरमा त्यसैगरी उभिरहेको थिएँ । चन्द्रगढी विमानस्थलमा बाक्लो ज्याकेटबाहिर झोला भिरेका ती हतारेलाई काउन्टरका कर्मचारीले रोके । मतिर देखाउँदै सम्झाए, ‘धैर्य गर्नुस्, लाइनमा उहाँ हुनुहुन्छ ।’

उनी मतिर हेर्दै क्षमाशील हाँसो हाँसे । हेहेहेहे गर्दै थिए, तुरुन्तै मुख बन्द गरे । उनको हातमा लामो नेपाली कागजवाला नाबालिग नागरिकता थियो । मैले बोर्डिङ पास पाएपछि केही पर सर्दै एक छिन हेरेँ । उनले कर्मचारीसँग भने, ‘बच्चीलाई पठाउन लागेको । टिकट नम्बर यी यहाँ छ ।’

उनको हात समातिरहेकी बच्चीको कपाल पछिल्तिर दुइटा बाटुला दुई रङका काँटा थिए । कपाल कोरेर लपक्क थियो । मैले ढल्केर उनको आकृति हेर्न खोजेँ, आँखामा गाजल थियो । खैरो स्विटरबाहिर सिसाकलम थन्क्याउने आकारको पुन्टे झोला थियो । त्यो एकातिरको काँधबाट अर्कोतिरको काखीमुनिसम्म छातीमा टाँसिएको थियो ।

‘कति वर्षकी भइन् ?’ कर्मचारीले जर्‍याक्क उभिएर नानीलाई हेर्दै सोधे । धन्य, नानीलाई जुरुक्क उचालेर तौल नापेनन् । त्यसो गरेको भए कपासजस्तो हलुको ज्यान अटाउने सिट कौडीको भाउमा आउँथ्यो र ? तौलका आधारमा यात्रुको रकम समायोजन हुने गरेको छैन ।

‘आठ, दस वर्ष भइहोला,’ उनले जवाफ फर्काए, ‘०६७ सालमा जन्मेकी हो ।’

मैले आफ्नी छोरीभन्दा केही सानी देखेर मनमनै उचाइ दाँजेँ । मेरी छोरी एक बित्ता अग्ली होला भन्ने सोच्न औँला जोडेँ र सर्किएका ओठ नखुल्दै बन्द गरेँ । आफूले पनि छोरीको नाबालिग नागरिकता बनाउँदाको उमंग सम्झिएँ । साथसाथै सोचेँ, मैले त त्यसरी छोरीलाई एक्लै कतै यात्रामा पठाउन आँटेको छैन ।

‘आँटिली बालिका’ को नाबालिग नागरिकता पट्याउँदै कर्मचारीले बोर्डिङ पास बनाइदिए । बालिकाले त्यसलाई हातमा चकलेटझैँ समाती । पल्याकपुलुक गरेपछि पुन्टे झोलाभित्र हाली ।

सुरक्षा जाँच पार गर्न सूचना आइसकेकाले म अर्को लाइन लागेँ । यो विमानस्थलमा पूर्वोत्तर भारतदेखि समेत यात्रुहरू आउने भएकाले भाषा र भेष थपिन्छ, जाँचपड्ताल केही लम्मिएकै हुन्छ ।

झोला छाम्ने काइदा उही हो, जसरी डक्टरलाई जँचाउन जाँदा बिरामीसँगै सोध्छन्, तपाईंलाई के भयो ?
सुरक्षाकर्मीले सोध्ने उही हो, ‘झोलामा के छ ?’

आफैँ हेरे भैगो त । होल बडी चेकअप याने कि सम्पूर्ण शरीर छामछुम गर्दा पनि सोध्ने त्यही हो– माचिस, लाइटर, चक्कू छ कि ?
होइन, चुइँगम मात्र छ चाहिन्जो भन्दिए हुन्छ ।

खैर, संवदेनशील क्षेत्रमा सुरक्षाकर्मीसँग असंवेदनशील हुनुहुँदैन ।

प्रतीक्षालयमा एकाध काखे शिशु पनि थिए, आमासँग टाँस्सिएका । कुनै त दूधको बोतल भुइँमा गुडुल्क्याउँदै, फेरि समात्न खोज्दै थिए । कोही हलक्क बढेका केटा थिए, अभिभावकसँगै । वा केटी । मोबाइलमा कुनै गेम हेरिरहेका वा नयाँ डाउनलोड गरिएको एप चलाउन हात चिलाइरहेका ।

त्यो आँटिली बालिका ओझेल परेपछि मैले बिर्सिएँ । त्यहाँ देखिएकी भए ख्याल आउने थियो । यात्रुहरूका चिन्ता आफ्नै थिए, उडान होला/नहोला । आकाश खुल्ला/नखुल्ला । दुई दिनअघि मात्र दिनभरिको हावाहुरी र झरीले धेरै उडान बिथोलेको थियो । कत्ति यात्रु आउनै पाएनन् वा जान ।

चैते याम नै उस्तै । उसमाथि अस्ति भर्खर बारा/पर्सामा त्यत्रो टोर्नाडो चलेको, जसको क्षति अझै संकलन हुँदै छ । त्यो हुण्डरी मच्चाउने विध्वंसकारीलाई नेपाली नाम के दिने भन्नेमा विशेषज्ञहरू विचार मथ्दै छन् ।

यती एयर उड्यो । बुद्धको पालो आयो । मेरो सिट १८ ‘सी’ थियो जुन जहाजको पुछारको लहर हो भन्ने मलाई थाहा थिएन । पारिचारिकाले नमस्ते गर्दै भित्र्याएपछि मैले रुक्स्याक थन्क्याउन माथिको ढकनी खोल्न खोजेँ । उनले सिटमुनि खुट्टाले च्यापेर राख्न सुझाइन् । त्यही बेला मैले देखेँ मेरो सिटछेउ झ्यालतिर त्यही आँटिली बालिका आएर बसिसकेकी छ ।

म मुस्काएँ । उसले मतिर हेर्दै गाला तन्काई, पिर्पिराउने आँखाका गाजल चम्काई । केही आत्तिएको, केही कसो गरूँ के गरूँ भइरहेको भान ओठ र आँखामा पारेको मैले पढेँ ।

‘हेलो,’ मैले सिटपेटी बाँध्दै भनेँ । हात मिलाऊँ कि जस्तो लागेको थियो, उसको हात भने उसकै सिटपेटीतिर अलमलिरहेका रहेछन् । मैले बाँध्न सिकाइदिएँ । उसले अझै जानिन । मैले आफैँ बाँधिदिएँ, अलिकति ठाउँ छाडिदिँदै, ताकि कम्मर चल्मलाउन अप्ठ्यारो नहोस् ।

मैले छोरीलाई विदेशमा पहिलोपल्ट जहाजबाट ओर्लिएपछि कारभित्र त्यसैगरी पेटी बाँधिदिँदा निर्दोषितापूर्वक मलाई सोधेकी थिई, ‘यो गाडी पनि उड्छ पापा ?’

म हाँसोले ठहरै भएको थिएँ । अहिले पनि म उसलाई त्यो घटना सुनाउने गर्छु । ऊ आफैँ सोध्ने गर्छे, ‘तिमी त्यतिबेला किन त्यस्तरी हाँसेका थियौ ?’

सिटपेटी बाँधेपछि जहाज उड्ने पक्का भयो । बालिकाले झ्यालबाहिर दृश्य धेरै छिटो चलेको चाल पाउन थाली । पारिचारिकाको उद्घोषअनुसार मैले मोबाइललाई एरोप्लेन मोडमा राखेँ । उसले पाइन्टको खल्तीबाट सानो मोबाइल निकाली । अफ गर्न खोजी । सकिन । मलाई दिई । मैले त्यो श्यामश्वेत मोबाइल थिचेर बन्द गर्न खोजेँ, स्मार्ट फोन चलाउने बानीले मलाई बिगारिसकेछ । पल्लोपट्टिका यात्रुसँग सहयोग मागेँ । उनले अफ गरिदिए । बालिकाले खल्तीभित्र फर्काई ।

‘मेरो नाम नारायण हो,’ मैले दायाँ फर्केर भनेँ, ‘तिम्रो नि ?’
‘शीताष्मा,’ उसले भनी ।
मैले नबुझेर दोहोर्‍याएँ, उसले मलाई बुझाउन अलि चर्को बोली ।
‘पहिला जहाज चढेकी थियौ ?’
‘अहँ ।’
‘पहिला काठमाडौं गएकी थियौ ?’
‘अहँ ।’
‘तिमी आँटिली रहिछौ, गुड गर्ल,’ मैले भनेँ ।
उसले केही पनि भनिन । आँखा भने वरिपरि डुलाएको डुलायै गर्न थाली ।
‘कति कक्षामा पढ्छ्यौ ?’
‘चार,’ उसले भनी, ‘अब पाँचमा जाने ।’
‘ए,’ मैले भनेँ, ‘मेरी छोरी पनि अब पाँचमा जाने । फोटो हेर्छ्यौ ?’

उसले टाउको हल्लाएपछि मैले मोबाइलमा देखाएँ । छोरीका पोजहरू बाबुका मोबाइलमा किन यतिसारो भरिएका हुन्छन् मैले बुझेको छैन ।

‘अहिले त स्कुल छुट्टी छ हगि ?’
‘त्यही भएर त म काठमान्डू जान ला,’ उसले भनी ।
‘अघि तिमीलाई एयरपोर्टमा छोड्न आउनुभएको को हो ?’ मैले सोधेँ, ‘हजुरबुवा ?’
‘होइन,’
‘को त ?’
‘बुबा,’ उसले भनी ।

हुन्छ नि कति त घरमा अरूले जे बोलाउँछन् त्यही सिको गर्छन् । बुबालाई दाइ भन्छन्, आमालाई भाउजू वा हजुरबुबालाई पनि बुबा वा हजुरआमालाई पनि आमा भनेर बोलाउँछन् । त्यस्तै हो कि ?
‘तिम्रो ग्य्रान्ड फादर कि फादर ?’
‘फादर,’ उसले भनी ।
‘सरी है,’ मैले कान समात्दै भनेँ । ग्लानिबोध भयो । उसलाई सान्त्वना दिन थालेँ, ‘हेर न, मेरी छोरीलाई पनि मसँग देख्दा जल्ले नि हजुरबुबा हो भनेर सोध्छन् ।’

उसले फिस्स हाँसेझैँ गरी । मैले भनेँ, ‘बरु तिम्रो बुबाको त कपाल मेरोजस्तो फुलेको छैन नि, हगि ?’
उसले मुन्टो हल्लाई । फेरि बाहिर हेर्न थाली । जहाज हलक्क आकाश काट्न थालिसकेको थियो । बेलुनभन्दा छिटो उडेको हेर्ने उत्सुकता उसमा कम्ती होला र ? मैले उसको बुबालाई नानाथरी भनिदिएको उसले माइन्ड गरी कि ?

एकपल्ट त्यस्तै भयो । केही वर्षअघिको कुरा हो । पछ्यौरा ओढ्दै हिउँदे घाम तापिरहेका महिलाहरू बसेको मेचको ठिक्क बीचमा छोरीलाई राखेर म मकै खुवाउँदै थिएँ । व्यस्त बजारको त्यो खुला ठाउँमा एक जना बढी बाठा सज्जन टाढैबाट हात हल्लाउँदै चर्को स्वरमा कराउँदै आए, ‘ओहो नारायणजी, नातिनी हो ?’

‘हैन,’ मैले सानो स्वरमा भनेँ, ‘छोरी हो ।’
‘कान्छी छोरी ?’ नजिक आइपुग्दा पनि उनको स्वर उत्रै थियो ।
‘एउटै हो,’ मैले भनेँ ।
‘सेकेन्ड म्यारिज ?’
‘होइन हउ,’ मलाई चिट्चिट् हुन थाल्यो ।
‘लेट म्यारिज ?’ उनका प्रश्नहरू सिध्दिने छाँट देखिएन ।
‘खै, के भनूँ ?’ म लत्रिएँ ।

उनले जान्ने पल्टेर मेरो बायाँपट्टि पछ्यौरा ओढिरहेकी महिलातिर हेर्दै सोधे, ‘भाउजू हो ? ए भाउजू नमस्ते है ।’
कति हाँस्नु ? वा रुनु ?

यस्तै घटनाहरूको भुक्तमानी भएकी मेरी छोरीले आजित हुँदा कहिलेकाहीँ भन्ने गर्छे, ‘पापा, तिमी निदाएको बेला म कपालमा कालो दल्दिन्छु है ।’

म कत्ति सम्झाउने गर्छु । आज आफैँ अनाहकमा अर्काकी छोरीलाई त्यस्तै भन्न पुग्दा मलाई पछुतो मात्र लाग्यो भन्ने सोचेर पुगेन । मैले उनलाई क्षतिपूर्तिस्वरूप केही भन्नुपर्थ्यो, के भन्ने आफैँलाई थाहा थिएन ।
‘तिम्रो बुबा घर फर्किनुभयो ?’

‘अँ,’
‘काँ हो ?’
‘फिक्कल,’
‘फिक्कलबाट केमा आएको ?’
‘बुबाको बाइकमा,’
‘तिम्रो पछाडिको नाम ?’
‘घिमिरे,’
‘बुबा के गर्नुहुन्छ ?’
‘पढाउनुहुन्थ्यो, अहिले छाड्नुभयो,’
‘तिम्रो परिवारमा को–को हुनुहुन्छ नि ?’
‘आमा, दाइ, भाउजू, दिदी र एउटी बहिनी,’ उसले भनी, ‘बहिनी त सानी छ ।’
‘कति सानी ?’
‘सानी के,’
‘गाईभैँसी नि ?’
‘गाई र बाच्छो,’ उसले भनी, ‘बाच्छी हो क्या हो ।’
‘कुकुर नि ?’
‘छैन,’
‘बिरालो त पक्कै होला,’
‘छ नि,’
‘गाई ब्याएको घरमा त दूध चोर्न आइहाल्छ नि हगि ?’
‘मेरो त चोर्दैन,’
‘बिरालोलाई कसरी बोलाउनुपर्छ थाहा छ ?’
‘कसरी ?’
‘सुरी ।’

खासमा उसलाई थाहा छ बिरालालाई बोलाउनै पर्दैन । ऊ कसैले बोलाएर कतै जाने पनि होइन । ऊ कतै गएको पनि कसैलाई थाहा हुँदैन ।

पारिचारिका ट्रे तेर्स्याउँदै आएको देखेपछि मैले उसलाई हातभरि लिन सुझाव दिएँ । ‘के ल्याएको ?’ उसले सोधी ।
‘चक्लेट,’ मैले भनेँ ।

मैले कपास नलिई दुई–चारवटा चक्लेट झ्याप्प पारेँ, उसले मेरो कुरा बुझेर हातभरि मुठ्याई र त्यही पुन्टे झोलाभित्र कोच्न खोजी । कुनै चक्लेट त भित्र पस्न नमानेर अटेर गरेजस्तो देखियो, उसले गुच्चा ठेल्ने औँला बनाएर ट्वाक्क ट्वाक्क हानी ।
‘एउटा त खाऊ,’ मैले भनेँ ।

खोल्न सिकाइदिएँ । मुखमा क्वाप्प पारी, खोल राख्ने ठाउँ देखाइदिएँ । झ्यालबाहिर हेर्न थाली । पारिचारिकाको कुनै उद्घोष आयो । प्रस्ट सुनिएन । सिटपेटी बाँधिराख्न भनिएको थियो । केही बेरमा जहाज हल्लिन थाल्यो, उसले आबुई भन्दै दुवै हात सिटको पाखुरामा च्याप्प समाती । मैले हावा चलेको बेला बादलभित्र पस्दा केही बेर पिङ खेलेजस्तो हुन्छ भनेर सम्झाएँ । झ्यालबाट देखिने सेतो बादल निख्रिएपछि दसैँ पिङ हल्लिन छाड्यो ।

मैले अर्को चक्लेट पनि मिठ्याएँ, ऊतिर हेर्दै सोधेँ, ‘अर्को खान्नौ ?’
उसले ‘अहँ’ भनी ।
एक छिनपछि अर्को एक झट्का पिङ खेल्नुपर्‍यो ।
‘तिम्रो फिक्कल रमाइलो छ, हगि ?’
‘जानुभएको छ ?’
‘त्यही बाटो झरेको हुँ म पनि,’ मैले भनेँ, ‘तिमीलाई सबभन्दा रमाइलो कहाँ लाग्छ ?’
‘अन्तु डाँडा,’
‘घाम उदाउने भएर ?’
उसले फेरि अँ भनी । मैले थपेँ, ‘मलाई त फिक्कल, करफोक, कन्याम, मिरिक नामै मन पर्छ ।’
‘डाँडाहरू हेर्नू त,’ उसले झ्यालबाहिर आँखा नहटाई मतिर इसारा गरी, ‘कत्ति रमाइलो हगि ?’

अर्को एक खेप झट्का लाग्नुअघि पारिचारिका आएर भन्न थालिन्, ‘ए नानु, तिमीलाई बान्ता आयो भने यी यसमा गर्नू है ।’
उनले सिटअगाडिको खल्तीबाट कलेजी रङको कागजी झोला निकालेर देखाइन् । फेरि भनिन् । बालिकाले मसँग भनी, ‘मलाई त कहिल्यै बान्ता आउँदैन ।’
‘राम्रो,’
‘हेर्नू न, कति धेरै घर है ?’
‘त्यही त,’
‘जता हेर्‍यो घर है ?’
‘त्यही भन्या,’
जहाज ओर्लिंदै गएपछि घर झन् ठूला देखिन थाले । उसले सोधी, ‘काँ हो यो ?’
‘काठमान्डू,’
‘यति छिटो ?’

त्यति छिटो हामी अवतरण भयौँ । सिटपेटी फुकाल्ने संकेत आउनासाथ पारिचारिकाले आएर बालिकालाई लगिन् । म उठ्न पाएकै थिइनँ । उसले मलाई नाघेर जानुपर्‍यो । किन त्यति चाँडै झारिदिया होला भन्ने सोचिरहेँ । एक छिनपछि थाहा भयो, झोलाहरूको प्रतीक्षालयसम्म पुर्‍याउने बसको ड्राइभर समानान्तर सिटमा उसलाई लगेर राखिएको रहेछ । भीडभाड बसभित्र मैले उसलाई चियाउँदा उभिरहेका यात्रुमध्ये कसैको काखीमुनि प्वालबाट मैले उसलाई देखेँ । उसले पनि त मलाई चियाइरहेकी रहिछ । त्यस्तो बेला आँखाहरू जत्ति पनि हाँस्न सक्छन् ।

बस रोकिनुअघि मैले झ्यालबाहिर हेर्दा एक जना महिला आँखा फट्टाउँदै र सम्पूर्ण दाँत टल्काउँदै प्रसन्नचित्तले बालिकातिर हेरिरहेको मैले देखेँ । यात्रुको बीचमा ऊ हतारिँदै ती महिलाछेउ पुगी । म ढुक्क भएँ । आफ्नो गतिमा बाहिर निस्किएँ । बालिकातिर हेर्दा ती महिलासँगै उभिरहेकी रहिछ । मैले बाई गर्न हात हल्लाउनुअघि ख्याल गरेँ— उसले मतिर हात हल्लाउँदै ती महिलालाई केही भनिरहेकी थिई ।

मैले भेटेरै जाऊँ भन्ने निधोसाथ पाइला ऊतिर सारेँ । उसको खैरो स्विटरले बाक्लो भएको ढाडमा थुप्थुप्याउँदै भनेँ, ‘ल, काठमाडौं रमाइलोसँग घुम है ।’ अनि महिलातिर फर्केर भनेँ, ‘कस्तो आँटिली रहिछन्, ढुक्कसाथ आइन्, भेरी स्मार्ट ।’

महिला हाँसिरहिन् । मैले सोधेँ, ‘यिनको ममी हुनुहुन्छ ?’
‘होइन,’ उनले मुद्रा अचानक गम्भीर बनाउँदै भनिन् ।
हँ ? म फेरि ट्वाल्ल पर्नुपर्ने भयो ।
‘दिदी हुँ,’ उनले भनिन् ।

तत्काल सरी भन्ने शब्द मरिगए झरेन । ओठभित्र त्यो कैद भएको भयै भयो । त्यसले सास पनि फेर्न पाएन । मैले कति छिटो टाप कसेँ त्यो आँटिली बालिकाले सम्झिरहनेछ, सायद ।

(वाग्लेद्वारा लिखित ‘कोरियाना कफीगफ’ हालै प्रकाशन भएको छ ।)

प्रकाशित : चैत्र ३०, २०७५ १२:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT