३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बच्चा बुझ्नलाई

ऋषिराम शर्मा

काठमाडौँ — के बालबालिका स्कुल जान मान्दैनन् ? होमवर्क गर्न अटेरी गर्छन् ? बालबालिकालाई आफ्नो काबुमा राख्ने दुस्साहस गर्नुहुन्छ ? आफ्ना कुरा मात्र सुनाउनुहुन्छ र उसका कुरा सुन्नुहुन्न ?

बच्चा बुझ्नलाई

यी र यस्ता घर–घरका बालव्यवहारगत समस्या समाधानको उपचार छ, ‘स्कुल बेच्ने बालक’ । वास्तवमा शिशु आफैं एउटा यस्तो सुन्दर ऐना हो जहाँ प्रौढहरूले आफ्नो अनुहार हेरेर षड्यन्त्र, विकृति र तुच्छताका दागहरू पुछेर, सभ्य, सुसंस्कृत, भव्य र उदार बनाउन सक्छन् । बालबालिका हरेकका घरमा छन् । प्रायः हामी सबै बालबालिकालाई हाम्रो दृष्टिकोणबाट हेर्छौं । ‘स्कुल बेच्ने बालक’ले भने बालबालिकाको दृष्टिबाट हेर्न सिकाउँछ ।
पुस्तकका लेखक दामोदर न्यौपानेका घरमा पनि एक बालक छ ‘हार्दिक’ । न्यौपानेले उक्त बालकलाई एउटा जीवन्त पुस्तक बनाएका छन् र बालकलाई पूरै पढेका छन् । बालकबाट थुप्रै कुरा सिकेका छन् र गरेका छन् त्यसलाई साधारणीकृत । अनि हरेक घरमा बालकलाई अभिभावकले गर्नुपर्ने व्यवहारको मीठो कोसेली पस्केका छन् । साढे तीनवर्षे शिशुलाई ल्याब बनाएर परीक्षण गरेको यो पुस्तक बालबालिकाको दृष्टिकोणबाटै सिर्जित भएकाले रोचक एवं पठनीय बन्न पुगेको छ ।
बालबालिका ढाट्छन्, गल्ती गर्छन्, चकचक गर्छन् हामी बालबालिकालाई त्यसो नगर्न दबाब दिन्छौं । हप्काउँछौं र दण्डित गर्छौं । न्यौपाने भन्छन्– ढाँट्नु पनि सिकाइ हो, गल्ती गर्नु पनि सिकाइ हो, चकचक गर्नु, धूलोमा पल्टिनु र माटोमा खेल्नु बालापन हो । बालापन बालकको मौलिक हक हो । बालबालिकाले ढाट्नु र जिद्दी गर्नुका कारण खोतल्छन् न्यौपाने र समाधानको सूत्र पनि पहिल्याउँछन् । उनीहरू दण्डबाट जोगिन ढाँट्छन्, आमाबाबुको प्रतिक्रिया बुझ्न ढाँट्छन्, बाबुआमालाई आफूतिर आकर्षित गर्न ढाँट्छन् र आफूले चाहेका कुरा पाउन ढाँट्छन् । यी कारणहरू उनले हार्दिकको व्यवहार पढेर, कुरा सुनेर, हार्दिककै व्यवहार परीक्षण गरेर निकालेका तथ्य हुन् । हार्दिक चिडियाघर जाँदा बाघमाथि चढ्छु भनेर जिद्दी गरेको र बाघले त खान्छ नि भन्दा दुर्गादेवीको मुखुन्डो लगाएर बाघमाथि चढ्छु भनेको सुनेपछि बालबालिकाको मस्तिष्कलाई सिर्जनशीलता, कल्पनाशीलताको नमुना ठान्छन् न्यौपाने ।
बालबालिकालाई सुनौं अर्थात् उनीहरूका कुरा सुनौं आफ्ना कुरा मात्र नसुनाऔं । हामीले अहिलेसम्म हामीले आफ्ना कुरा मात्र सुनायौं र उनीहरूलाई आफूजस्तो बनाउन खोज्यौं । अब हामी बालबालिकाका कुरा सुनौं र उनीहरूजस्तो बनौं । कुरा ध्यानपूर्वक सुन्ने, चासो दिने, बोल्न उत्प्रेरित गर्ने गर्नाले उनीहरूको भाषिक र संज्ञानात्मक विकास हुन्छ, उनीहरू खुसी हुन्छन् र कुरा सुन्नेहरूप्रति उनीहरूको प्रेम, स्नेह, हौसला र सद्भाव लहलहाउँछ । जसले आफ्ना कुरा सुन्छ, उनीहरूका कुरामा चासो दिन्छ, उनीहरू अनुकूल भइदिन्छ र खेलिदिन्छ, त्यस्ता व्यक्तिहरू बालबालिकाका लागि प्रिय हुन्छन् । त्यस्ता व्यक्तिहरूलाई नै बालबालिकाले पछ्याउँछन् ।
बालबालिकाले गर्ने जिद्दी र उनीहरूका मागबारे पनि गज्जबको निष्कर्ष निकालेका छन् न्यौपानेले । बालबालिकालाई जे मन पर्दैन, त्यो व्यवहार नगर्नु नै बालमैत्री व्यवहार हो । उनी बालबालिकालाई जिद्दी बन्नबाट रोक्न पहिला उसैलाई केही बेर सोच्न दिनुपर्छ भन्ने ठहर गर्छन् । बालहठ वा जिद्दीबाट उम्कने जुक्ति बताउँछन्– बालकलाई जित्न दिऊँ र आफू हारौं । जितेको महसुस गरेपछि जिद्दी गर्ने कुरै आउँदैन (पृष्ठ १७५) ।
बालबालिका जिज्ञासाका अनन्त स्रोत हुन्, उनीहरूको प्रश्न गर्ने कला अनौठो हुन्छ । ती प्रश्नको उत्तर दिएरै सकिँदैन । कतिपयको त उत्तरै हुँदैन । ४ वर्षको बालकको मस्तिष्कमा प्रश्नैप्रश्नहरूको ओइरो हुन्छ, ऊ जे देख्छ, जे सुन्छ र जे अनुभव गर्छ त्यसको प्रश्न बनाइहाल्छ र सोधिहाल्छ । बाबुआमालाई रिसै उठ्न प्रश्न पनि गर्दिन्छन्– जून के हो ? दाह्री किन आउँछ, दाह्री सबै ठाउँमा किन आउँदैन ? बिरालो किन उड्दैन ? । यी प्रश्न सुनेर हामी झर्किन्छौं बालबालिकालाई चुप लाग्न भन्छौं । यहीं हामीले बालबालिकाको सूचना र जिज्ञासाको अङ्कुर निमोठिदिन्छौं । यस्ता प्रश्नहरूको उत्तर सके दिएर, नसके उनीहरूको भावनामा ठेस नपुर्‍याएरै पनि त हामीले उनीहरूको जिज्ञासाको बिरुवा हुर्कन दिन सक्छौं ।
बालबालिकाको मस्तिष्क चुम्बक हो, सिर्जनात्मकता र प्रत्युत्पन्न मतिको खानी हो उसले जे देख्छ त्यो टप्प टिप्छ, हामी जे गर्छौं त्यो पनि सिक्छ, हामी जे भन्छौं त्योभन्दा बढी । स्कुल जान अल्छी लागेर वा स्कुलमा बालमैत्री वातावरण नभएर न्यौपानेको बालक एक दिन भन्दिन्छ– बाबा म आज स्कुल बेच्दिन्छु... स्कुल जानै पर्दैन । आनन्द हुन्छ (१३५) । तत्काल बालकको प्रत्युत्पन्न मतिले भनिहाल्छ, ‘म यही घल छेउमै स्कुल खोल्छु नि...!’
आफूले पढेको स्कुल बेचेपछि नयाँ स्कुल खोल्ने बालकको योजना कुनै घगडान बालमनोवैज्ञानिकको भन्दा कहाँ पो कम छ र ? ऊ भन्छ, ‘मेला सबै साथी मेलै स्कुलमा पढ्न आउँछन् । म डिभ्यान किन्दिनँ, लामो बस किन्छु । सबैलाई लामो बसमा स्कुल ल्याउँछु स्कुलमा म्यामहलु लाख्दिनँ, पढ् पनि भन्दिनँ, लेख पनि भन्दिनँ, खेल्छु अनि घल आउँछु (पृ. १३६) ।’ बालमनोविज्ञान बाल अभिव्यक्तिका यसरी सहज र स्वाभाविक रूपमा प्रकट भएको छ ।
विद्यार्थी स्कुल जान नमान्नाको कारण र त्यसका समाधानसमेत पुस्तकले सूत्रात्मक रूपमा पस्किइएको छ । विद्यार्थी स्कुल जान नमान्नुमा न्यौपाने अभिभावकको पनि कमजोरी औंल्याउँछन् । स्कुल पठाएपछि सर मिसले तँलाई ठीक पार्छन् भन्ने, स्कुल जाऊ बाबु गयौ भने यो किनिदिन्छु भन्ने तर नकिनिदिने, पिटेर स्कुल पठाउने, सानो बच्चालाई वाक्क लाग्ने गरी जतिखेर पनि ठूलो मान्छे बन्नुपर्छ, पढ्नुपर्छ, होमवर्क गर्नुपर्छ मात्रै भन्नेजस्ता कार्य पनि बालबालिका विद्यालय नजानाका कारण हुन् । यसविपरीत अभिभावकले विद्यालय गयौ भने खेल्न पाउँछौ, म धेरै खुसी हुन्छु, तिम्रा स्कुलका सर मिसहरू सारै जाति हुनुहुन्छ, मलाई तिमी सारै राम्ररी पढ्छौं भनेर सुनाउनुहुन्छजस्ता कुरा भनेर वा विद्यालय शिक्षकका बारेमा सकारात्मक भावना पैदा गरिदिएर खुसीसाथ विद्यालय जाने वातावरण पैदा गर्न सकिन्छ भनेर लेखकले उपाय दिएका छन् । किताबमा यस्ता धेरै उपायबारे उल्लेख गरिएको छ ।
‘स्कुल बेच्ने बालक’ पुस्तक बालबालिका, बालमनोविज्ञान, सिकाइ, मनोविश्लेषण, बालव्यवहार, बालरुचि र बालमैत्रीको सूचना दिने ग्रन्थ बनेको छ । बालबालिकालाई माया गर्ने, लालनपालन गर्ने र उनीहरूसँग रमाउने एवं पढाउनेहरूका लागि किताब गतिलो खुराक पनि हो ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?