मिज–एन–सिन

मिज–एन–सिनमा भने जम्मा एउटा सट हुन्छ र सबै एक्टिभिटीज कैद हुन्छ । सिन सुरु भएदेखि अन्त नहुँदासम्म क्यामेरा अफ गरिन्न । 'बुलबुल' पछि एकाध समीक्षामा लङ सटबारे लेखियो ।
किरण विक

काठमाडौँ —  
आजकाल नेपाली फिल्महरूमा लामालामा टेकहरूको प्रयोग बढेको छ  । जानेर हो या नजानेर लङ सट र टेकप्रति फिल्ममेकरको रुचि बढ्दै गएको देखिन्छ  ।

मिज–एन–सिन

समीक्षाहरूमा पनि लङ सटहरूबारे एक–दुई लाइन पर्न थालेको छ । यसले समीक्षकहरूमा पनि फिल्म लिट्रेसी बढेको देखाउँछ । यो खुसीकै कुरा हो ।
लङ सटबारे एक पटक ‘कालो पोथी’ रिलिजताका चर्चा भएको थियो भने अहिले ‘बुलबुल’ पछि पनि एकाध समीक्षामा लङ सट लेखियो । फिल्मी भाषामा यसलाई ‘मिज–एन–सिन’ भनिन्छ । नाटकमा प्रयोग हुने यस शब्दको प्रयोग अहिले फिल्ममा पनि उही अर्थमा प्रयोग हुन्छ । यस लेखमा चाहिँ फिल्मको दृष्टिबाट ‘मिज–एन–सिन’ बारे लेखिएको छ । ‘मिज–एन–सिन’ फ्रेन्च शब्द हो जसको अर्थ हुन्छ ‘सबै एकै पटकमा’ (अल टुगेदर एट वन्स) । फिल्मी अर्थमा भन्दा एउटा सिन एकै सटमा । यहाँ सिन भन्नाले एउटा घटना बुझ्न सकिन्छ । एउटा कथामा थुप्रै घटना हुन्छन् । एउटा फिल्ममा थुप्रै सिन हुन्छन् । एउटा घटनामा थुप्रै उपघटना हुन्छन् । एउटा सिनमा थुप्रै सटहरू हुन्छन् ।
उदाहरणका लागि हिरो कोठामा छिर्‍यो, हिरोइनसँग झगडा गरेर गयो । यति देखाउन प्रायः हामी हिरो आएको छुट्टै सट खिच्छौ, उसले हिरोइनसँग झगडा गरेको छुट्टै सट खिच्छौं, अनि ऊ कोठाबाट बाहिरिएको छुट्टै सट खिच्छौं । तीनवटा मास्टर सट त यसै भइहाल्यो, छिर्दा ढोका लगाएको, रुमभित्र छिर्दा जुत्ता फुकालेको, हिरोइन कता छ भनेर खोजेको, देखेको, बोलेको, झगडा हुन सुरु गरेको आदिआदि अन्य क्लोज अप, मिड क्लोज अप, एक्स्ट्रिम क्लोज अप पनि छँदै छ । मिज–एन–सिनमा भने जम्मा एउटा सट हुन्छ र सबै एक्टिभिटीज कैद हुन्छ । सिन सुरु भएदेखि अन्त नहुँदासम्म क्यामेरा अफ गरिन्न । क्यामेरा अफ गरिन्न भन्नाले क्यामेरा एक ठाउँ मात्र राखिन्छ भन्न खोज्या होइन । क्यामेरा अरू बेला जसरी नै चलाइन्छ ।
यसलाई लङ सट भन्नुको कारण पनि यही हो कि यो यसको लम्बाइ लामो हुन्छ । तपाईंले एउटा गीतमा प्रायः ५०–६० वटा सटहरू देख्नुहुन्छ । त्यो गीत एकै सटमा खिचियो भने त्यो मिज–एन–सिन भयो । सामान्यतया ४ मिनेटको गीत खिच्न एकदेखि तीन दिन लाग्छ । मिज–एन–सिनमा ४ मिनेटमै खिच्नुपर्छ । भन्नुको अर्थ हो मिज–एन–सिन तयार गर्न समय लाग्छ । किनभने सबै चीज एकै पटक मिलाउनुपर्‍यो ।
तपाईंले आजकलका अवार्ड विनर वा क्रिटिकल्ली एक्क्लेम्ड फिल्महरूमा मिज–एन–सिन को धेरै प्रयोग पाउनुहुन्छ । उदाहरणसहित चर्चा गर्नु अझ राम्रो होला । हिन्दी फिल्म ‘दिल धडकने दो’ को ‘गल्ला गुडिया’ बोलको गीत एकै सटमा खिचिएको छ । प्रियंका चोपडा, अनिल कपुर, रणवीर सिंह, राहुल बोसलगायत २० जना मेजर एक्टरको मिड क्लोज अपसहितको यो गीत ४ मिनेट ३८ सेकेन्डको छ । मिज–एन–सिनको अर्थ मात्र बुझ्न यो काफी छ तर मिज–एन–सिन को महत्त्व बुझ्न भने काफी छैन । यो गीत हेरिसकेपछि तपार्इंलाई लाग्न सक्छ कि मिज–एन–सिनमा सिनेम्याटोग्राफरले धेरै दुःख पाउँछन् ।
ठ्याक्कै त्यस्तो अलि होइन । यसमा धेरै दुःख पाउँछन् सेट डिजाइनर र प्रोडक्सन डिजाइनरले ।
मिज–एन–सिन बुझ्न यी उदाहरण हेर्नुहोला । ‘सिटिजन केन’ को ओपनिङ सट (र पूरै फिल्म), ‘द स्याक्रिफाइस’ को ओपनिङ सट र पूरै फिल्म, ‘बर्डम्यान’, ‘द रसियन आर्क’, ‘कालोपोथी’, ‘बुलबुल’, ‘मिरर’, ‘४०० ब्लोज’, ‘इन द मुड फर लभ’, बेला टारको ‘द तुरिन हर्स’, लात्भियाजको पुराना लगभग सबै फिल्महरू हेर्नुहोला ।
चर्चित फ्रेन्च फिल्म समीक्षक तथा फिल्म थियोरिस्ट आन्द्रे बाजाँका अनुसार मिज–एन–सिन एक कोरियोग्राफ्ड मुभमेन्ट हो । उनले भनेको अर्थ पनि सेट डिजाइन नै हो भन्ने छ ।
कसरी बन्छ मिज–एन–सिन ?
मिज–एन–सिनमा ती सबै कुरा हुन्छन् जुन अन्य धेरै सटमा हुन्छ । मिज–एन–सिन गर्दा प्रोफिल्मिक एलिमेन्ट्समा ध्यान दिनुपर्छ । सेटिङ, प्रप्स (प्रपर्टिज), कस्ट्युम एन्ड मेक अप, लाइटिङ, एक्टिङ, टाइम एन्ड स्पेस र सिम्याटोग्राफी आदि प्रोफिल्मिक एलिमेन्ट्स हुन् ।
सेटिङ कस्तो ठाउँमा छ ? नेचुरल कि आर्टिफिसियल ? नेचुरल हो भने केही गर्न परेन तर आर्टिफिसियल हो भने कथाको, क्यारेक्टरको अवस्था साइकोलोजीअनुसार मिलाउनुपर्‍यो । फिल्मको जनराअनुसार पनि सेट डिजाइन गरिन्छ । सर्रियल हो भने त्यहीअनुसार, जर्मन एक्प्रेसनिज्म हो भने त्यहीअनुसार, फिल्म नोइर हो भने त्यहीअनुसार ।
सिनमा प्रयोग भएका सबै चीजबीजलाई प्रप्स (प्रपर्टिज) भनिन्छ । प्रप्स आइकनको रूपमा हो कि, इन्डेक्सको रूपमा हो कि सिम्बोलको रूपमा हो भन्ने कुरा निर्धारण गरेर प्रप्स जुटाइन्छ, प्रयोग गरिन्छ । प्रप्समा छुटाउन नहुने सेट प्रप्स, ह्यान्ड्स प्रप्स, ब्रेक अवे प्रप्स । प्रप्स स्टोरी मोटिफ पनि हुन्छ, प्रप्स नेचर मोटिफ पनि हुन्छ । कस्ट्युम र मेकअपलाई एकै पटक ख्याल गरिन्छ । उदाहरणका लागि कलाकारले राष्ट्रको प्रतिनिधित्व गर्दै छ भने त्यसैअनुसारको हुने भयो भने कुनै जाति विशेषको लागि हो भने त्यसैअनुसार हुने भयो । वेस्टर्न जनरामा ह्याट, बुट, स्ट्राइप जिन्स, लङकोट हुने भयो ।
मिज–एन–सिनको महत्त्वपूर्ण भाग हो लाइटिङ । यसमा लाइटको इन्टेन्सिटी, हार्ड लाइट–सफ्ट लाइटदेखि लिएर, लाइटको सोर्स, लाइटको दिशा, लाइटको कलर (जस्तो कि सेतो सूर्य हो कि पहेंलो सूर्य), प्राकृतिक हो कि कृत्रिम लाइट आदिको ख्याल गर्नुपर्छ । टाइम एन्ड स्पेसको संयोजन मिज–एन–सिनका लागि असाध्यै महत्त्वपूर्ण कुरा हो । टाइम प्रेसर, टाइम थ्रस्ट, टेम्प स्पिड, टाइम रिदम आदि ख्याल गर्नुपर्छ । फलो सट हो कि ? स्पेस क्लोज हो कि ओपन हो ? ब्यालेन्स सट हो कि अन्ब्यालेन्स सट हो ? फोरग्राउन्ड, मिडल ग्राउन्ड, ब्याकग्राउन्ड कस्तो प्लेन हो ? यो सबैको उचित संयोजन गर्न सेन्स अफ टाइम एन्ड स्पेस भएको हुनुपर्छ ।
यति सब बुझेपछि मिज–एन–सिनको क्लासिकल अर्थ बुझिन्छ । मिज–एन–सिनमा पनि नयाँ विचार थपिएका छन् । नयाँ विचारले भन्छ हरेक सट ‘मिज–एन–सिन’ हो । हरेक सट पूर्ण छ, सानोभन्दा सानो एक सेकेन्डको सट पनि मिज–एन–सिन हो । आखिर सानो सट पनि मिलेकै हुन्छ । खाली लामो सटमा जस्तो इफेक्ट नआउने न हो । यति भन्दाभन्दै पनि छोटो सटलाई सबै फिल्ममेकर र दर्शकले मिज–एन–सिनका रूपमा लिएको पाइँदैन ।
मान्छेले दृश्यहरू कट–टु–कटमा देख्दैन । सरर देख्छ । सिनेमा पनि दृश्यहरूको संयोजन हो । मिज–एन–सिनचाहिँ आँखाले हेरे जसरी हेर्ने एक प्रयास हो । भन्नुको अर्थ हो मिज–एन–सिन सत्यको नजिक जान खोज्ने एक प्रयास हो । फिल्म प्राकृतिक चीज होइन तर प्रकृतितर्फ लम्किने सोच हो । धेरैजसो सपनाका सिक्वेन्स मिज–एन–सिनमा हुनुको कारण यही हो कि हामीले सफना टुक्राटुत्रामा देख्दैनौं, सरर सीधा एकै पटकमा देख्छौं । मिज–एन–सिनमा कलाकार बाँधिनु पर्दैन । स्वतन्त्र भएर काम गर्न पाउँछ । जस्तो कि सामान मिलाउँछ, भान्सामा जान्छ, पानी खान्छ, ऐना हेर्छ, माखा धपाउँछ । वास्तविक जीवनमा यी सबै काम गर्दा मानिस सावधान हुँदैन । यस्ता क्रियाकलाप सधैको लयमा हुन्छन् ।
मिज–एन–सिन भनेको टाइम एन्ड स्पेसको रियल एप्रोच पनि हो । दर्शकलाई लाग्न सक्छ कि एउटा कट–टु–कट सिन एकै पटक खिचेको भनेर । खासमा त ती छुट्टाछुट्टै समयमा छुट्टाछुट्टै ठाउँमा खिचेर जोडिएका हुन्छन् । यस्तोमा दर्शकलाई धोका दिइएको हुन्छ, छलिन्छ । हुन त फिल्ममेकिङ नै छल हो तर मिज–एन–सिनले सत्यको नजिक पुर्‍याउँछ ।
मिज–एन–सिनमा म्यानुअल एडिटिङ हुँदैन । यो सम्पादन नगरी गरिने टाइम एन्ड स्पेसको म्यनिप्युलेसन हो । झ्याप झ्याप थुप्रै कट हालेर १० सेकेन्डमा १० मिनेट देखाउन सकिन्छ तर मिज–एन–सिन भनेको १० सेकेन्डमा १० मिनेट देखाउने तर कट नगरीकन । दर्शक कट–टु–कटमा १० मिनेट हेर्नुमा भन्दा सरर १० मिनेट हेर्दा बढी विश्वस्त हुन्छन् । आनन्द लिन्छन् । मिज–एन–सिनले ‘रिल’ टाइम एन्ड स्पेस र ‘रियल’ टाइम एन्ड स्पेस एउटै देखाउँछ, बराबर । म्यानुअल्ली टाइम एन्ड स्पेसलाई सम्पादनबाट जोडेर म्यानिप्युलेसन गरिन्छ । छिनमै कुकुर आउँछ, छिनमै कुकुरमाथि चरा बस्छ, कलाकारले चुरोट खान्छ, ट्वाइलेट जान्छ, रुन्छ हाँस्छ, छिनमै जाडो हुन्छ छिनमै पानी पर्छ, रङ परिवर्तन हुँदै जान्छ । सरर यो सब कट नभईकन एउटा सिनमा हेर्दा दर्शकले साँच्चै हो कि भन्ठान्छन् । यहाँ सट चेन्ज नभईकन नयाँ–नयाँ सूचना आइराछ ।
कट–टु–कट सिन र मिज–एन–सिनमा हुने खास फरक भनेको दर्शकले गर्ने अनुभूतिको हो । ५ मिनेटको सट मीठो छ भने ५ सेकेन्डको जस्तो लाग्छ तर बोर भयो भने ५ घण्टाको जस्तो लाग्छ । मिज–एन–सिनमा निर्देशकले खेल्ने भनेको यही ५ सेकेन्ड, ५ मिनेट र ५ घण्टामा हो ।

प्रकाशित : चैत्र ३०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?