विवेकविरोधी 'पाठशाला'

सिंहदरबार
यादव देवकोटा

काठमाडौँ — आखिर सिंहदरबारमा के छ, जसले मै हुँ भन्नेलाई पनि बदलिदिन्छ ? सत्तामा नपुगुन्जेल हाे ठूला कुरा, सिंहदरबार पुगेपछि नेता औकातमा आउँछ । दशकाैं संघर्ष गरेर, बलिदानकाे राजनीति गरेर सिंहदरबार पुगेकाे नेता वर्ष दिनमा असली हैसियतमा प्रकट भयाे ! के छ सिंहदरबारकाे पाठशालामा जसले कलुषित बनाउँछ आफ्ना चेलाहरुलाई ?

विवेकविरोधी 'पाठशाला'

द्रोर्णाचार्यद्वारा धनुर्विद्या सिकाउन जात र सामाजिक हैसियतका कारण अस्वीकार गरिएका एकलव्य उनै द्रोणको मूर्ति बनाएर स्वध्यन गर्दै अद्वितीय धनुर्धर भएर निस्कन्छन्  । अर्जुनलाई अद्वितीय र अपराजेय धनुर्धर बनाउने वचन दिएका द्रोण एकलव्यको चमत्कारपूर्ण धनुर्ज्ञानबाट हतप्रभ बन्छन्  ।

एकलव्यलाई बाटोबाट पन्छाउन सुरुमा उनीमाथि बिनागुरु विद्या आर्जन गर्नु चोरी गर्नुसरह हो भनेर दण्डको भागीदार बनाउन खोजेपछि एकलव्यले आफुले द्रोणकै मूर्ति राखेर धनुर्विद्या सिकेको प्रमाणित गरिदिन्छन् । त्यसले द्रोण झनै बेचैन हुन्छन् । र, आखिरी षड्यन्त्रको अर्को ‘प्लट’ तयार छ, द्रोणसँग । आफूले कहिल्यै विद्या नसिकाएका एकलव्यसँग गुरु दक्षिणा माग्छन् ।

स्वेच्छिक दक्षिणाको माग गर्न गुरुलाई मौका छोडेका सरल एकलव्य गुरुको चलाखीपूर्ण मागको बन्धनमा पर्छन् । धनुर्वाण चलाउन महत्त्वपूर्ण मानिने बुढीऔंला मागेर एकलव्यलाई निसानेबाज धनुर्धर बन्न नदिने छल द्रोणले गरे पनि वचनमा प्रतिबद्ध एकलव्य द्रोणलाई निःसंकोच आफ्नो बुढीऔंला काटेर गुरुभेटी चढाउँछन् । यो कथाको पूर्वकथन हो । अब मुख्य तथ्य ।

अहंले उठेको सिंहदरबार
विसं १९५८ असार १० मा आफ्नै सहोदर दाजु देवशमशेरलाई जमल सेतो दरबारमा पाता फर्काएर कुर्सीमा बाँधी कोठामा कैद गरेर सत्तामा उदाएका चन्द्रशमशेरलाई बस्नका लागि फराकिलो दरबार चाहिएको थियो । त्यस्ता दरबारहरूको खोजबिनका क्रममा उनले जेठा दाजु वीरशमशेरले बनाएको लालदरबार र सेतोदरबारमा आँखा लगाएका थिए । दरबारका हकवालाहरूसँग कुरा गर्दा तेजशमशेर र गेहेन्द्रशमशेरले चन्द्रशमशेरका दूतहरूलाई ‘चन्द्रशमशेर हाम्रो दरबारको मोल तिर्न सक्ने अवस्थामा त छन्’ भनेर टक्टक्याएपछि चन्द्रशमशेरले ती दरबारहरू खरिद गर्ने आँट गर्न सकेनन् । त्यसपछि उनी रुद्रशमशेरको चारबुर्जे दरबार र जितशमशेरको लाजिम्पाट दरबारमा आँखा डुलाउँदै थिए, इन्जिनियरद्वय कुमार/किशोरनरसिंह राणाले वर्ष दिनभित्रै चाहेजस्तो दरबार बनाइदिने बताएपछि उनी मोडिए, आफ्नै नयाँ दरबारको निर्माणमा ।


नयाँ दरबार बनाउने प्रयोजनका लागि कुल्लगाँ (अनामनगर)–पताबुँ/खुसिबुँ (सिंहदरबार) मा ३ सय ५० रोपनी जमिन प्रति रोपनी रु. ९० का दरले मुआब्जा दिएर चन्द्रशमशेरले जबर्जस्ती अधिग्रहण गरे । ‘छरिया’ जङ्गलबाट ढिडो र नुन मात्र खर्च दिएर काठ कटाइयो र बोकाइयो । निमार्णका लागि सैनिक, प्रहरी र कैदीहरूलाई दैनिक ४ देखि ६ पैसा मात्रै दिएर काममा लगाइयो, जतिबेला दैनिक कमसेकम २५ पैसादेखि ६० पैसासम्म ज्याला चलेको थियो । यसरी सिंहदरबारको जग खडा गर्दा नै जबर्जस्ती, पसिनामाथि लुट सुरु भयो ।


अठार महिनामा तयार भएको चन्द्रशमशेरले बनाएको नयाँ दरबारको खर्च अधिकतम ५० लाख भएको थियो (पाँडे, भीमबहादुर– त्यस बखतको नेपाल, पृष्ठ २५०) । दरबार निर्माण भइसकेपछि एक दिन चन्द्रशमशेरले आफ्नी कान्छी पत्नी बालकुमारी देवीसँग दरबारको कौशीमा थिए । उनले परको दरबार अैल्याउँदै भने, ‘ऊ बाघदरबार !’ बालकुमारीले अहंताका साथ भनिन्, ‘महाराज ! त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ यसरी उक्त दरबार सिंहदरबारका नामले चिनिन थाल्यो (राणा, पुरुषोत्तमशमशेर, राणाकालीन ऐतिहासिक दरबारहरू, पृ ७८) । यसरी यसको नामकरण नै अरूभन्दा ठूलो देखिने या त्योभन्दा म पो भव्य, म पो ठूलो भन्ने अहंताको उतकर्षमा प्रकट भएको देखिन्छ । आज पनि सिंहदरबार, अरूलाई हियाउन आफ्नो अहंको प्रकट गर्न सधैं अग्रणी छ ।

राज्यकोषमा छुरा
त्यसपछि सिंहदरबार छिरेका चन्द्रशमशेरले ५० लाखमा बनाएको दरबार उप्रान्त राज्यको भएको घोषणा गर्दै राज्यकोषबाट २ करोड नगद निकाले । यसरी डेढ करोड नाफा गरेर चन्द्रशमशेरले राज्यको ढुकुटीबाट डेढ करोड नगद अनधिकृत रूपमा कुम्ल्याए । यसरी सुरु हुन्छ सिंहदरबारको यात्रा राज्यकोषबाट कमिसन खाएर । त्यसमा चन्द्रशमशेरले खाएको डेढ करोडमाथि कति थपियो होला आजसम्म सिंहदरबारमा बसेर खाएको कमिसनको हिसाब । देश टाट उल्ट्याएको हिसाब ? आज झन् नाफाको जिन्दगी भन्दै सिंहदरबार पुगेकाहरूले राज्यकोषको ढुकुटी मारेर, देश कंगाल बनाएर मुनाफा जोहो गर्ने क्रम बढोत्तरीमा छ ।

चन्द्रशमशेरको शासनकाललाई नेपालको इतिहासमा अँध्यारा दिनहरूको सुरुआत भन्नु गलत हुने छैन (गौतम, राजेश– नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजा–परिषद्को भूमिका भाग १, पृ २७) । सिंहदरबरमा बसेका चन्द्रशमशेर आफूले भन्दा बढी नाम अरू कसैले नकमाओस् भन्ने चाहन्थे । देवशमशेरलाई सत्ताच्यूत गर्न अघि सारिएका गेहेन्द्रशमशेरलाई चन्द्रले अघि बढ्न दिएनन् । भनिन्छ, गेहेन्द्रको भीमकाय कायासँग त्रस्त चन्द्रले गहेन्द्रलाई सुसारेमार्फत मदिरामा मन्द विष मिसाएर सिध्याइदिए । आज पनि सिंहदरबारमा विराजमान हुने हरकोही शासक, नोकरशाहीका हाकिमहरू अरूलाई आफूभन्दा नीच देखाउन आफ्ना सारा तागत लगाइरहेका हुन्छन् । यताका दिनमा आफ्नै पार्टीका आफू सरहको नेतालाई देश विखण्डनको भारी बोकाइएका ढोडको लौरोसँगको तुलना त्यही चन्द्रशमशेर ‘स्कुल’ को चेतनाको निरन्तरता मात्रै थियो ।


धादिङ चरङ्गेका अच्युतानन्दले बनाएको हवाइजहाज उडाउनै दिइएन । नेपालको बन्द समाजमा जन्मेका अच्युतानन्दले काशीमा पढ्न जाँदा रेल देखे, चढेका थिए । त्यसैको भरमा उनले नेपाल फर्किएर सामान्य गाडाजस्तो चार जना चढ्न मिल्ने वाष्पशक्तिले चल्ने गाडी बनाए । गेहेन्द्रशमशेरले आफ्ना पिता वीरशमशेरसँग भनेर दस हजार दिलाइदिएका थिए अच्युतानन्दलाई । वीरको मृत्यु र देवशमशेरको छोटो कार्यकालपछि चन्द्रशमशेर सत्तामा आए र सिंहदरबार बनाई त्यहाँबाट शासन चलाउन लागेपछि उनै चन्द्रको समयमा एक दिन बाहिरी सूचनालाई मुठ्ठीले च्यापेर बन्द गराई राखिएको समाजमा उनले सुने, ‘मानिसले विमान चढेर आकाशमा उड्यो ।’ वीरशमशेरको पालामा आफूले बनाएको गाडी गुडाउन नदिएपछि हतोत्साही भएका अच्युतानन्द उत्साही भए— गुड्नलाई त मानिसले मलाई बाटो दिए, उड्नलाई त कसले रोक्न सक्छ ? आकाश त सबैको साझा हो ।


अनेकन मिहिनेतपछि तयार पारिएको उनको जहाज दरबारमाथि पनि उड्छ र विष्णु भगवान्को अवतारलाई मानिसले नाघ्छन् भन्ने अड्को थापेर कहिल्यै विमान उडाउने अनुमति दिइएन । अच्युतानन्दलाई हतोत्साही बनाउँदै मानसिक तवरले समेत विक्षिप्त बनाइयो (सम, उही, पृ १०५) । आज पनि अवस्था फरक छैन । देशका लागि वैज्ञानिक अनुसन्धान केन्द्र खोल्छु भनेर रोइकराइ गरेका महावीर पुनले राज्यबाट अपमानित हुनुपरेको छ । आवश्यक रकम जम्मा गर्न देशदेशावरमा सहयोगको पछ्यौरी थाप्नुपरेको छ । तर, उपयुक्त चिकित्सकीय उपचारको हक छिनेर बाल महाराज र वृद्ध महाराजको नाममा राज्यकोषको करोडौं रुपैयाँ लगानी गरेर आश्रम बनाइन्छ । उत्सव आयोजना गरेर चन्द्रशमशेरको सिंहदरबारका उत्तराधिकारी अट्टहास गर्छन्— यी बालक आजको विज्ञानका लागि चुनौती हो ।


विसं १९६९ मा बाबुराम आचार्यले ‘नेपाली शिक्षा दर्पण’ लेखेर प्रकाशित गरेका थिए । जसमा उनले राणाशासनलाई जापानका सोजुनहरूसँग दाँजेका थिए । चन्द्रशमशेरले प्रकाशित बाह्र सय प्रति पुस्तक जफत गर्न लगाए । त्यसको बदलामा नेपाली इतिहासका प्रखर मर्मज्ञ बाबुराम आचार्य राणाशासनकालभर खरिदारभन्दा माथि उक्लन पाएनन् । प्रजातन्त्रपछि मात्र उनी ‘इतिहास शिरोमणि’ ले विभूषित भए । राणाकालका अँध्यारा दिनमा कस्ता विद्वान्ले खरदारमै सीमित हुनुपर्‍यो र कस्ताले ‘विद्वच्छिरोमणि’ को ताज पहिरिए भन्ने नेपाली समाज, विद्या र ज्ञानका लागि खुला भएपछि प्रकट तिनको योगदानबाटै प्रस्ट हुन्छ ।


तिनै बाबुरामको पुस्तक प्रकाशित भएपछि चन्द्रशमशेरले उप्रान्त पुस्तकहरू आफ्नो रेखदेख र अनुमतिमा मात्रै छपाउनुपर्ने आदेश दिई त्यसका लागि विसं १९७० मा ‘गोरखा भाषा प्रकाशिनी समिति’ गठन गराई आदेश दिएका थिए— अबउप्रान्त जुनसुकै कुराको किताब छपाउनुपर्दा, गोर्खा भाषा प्रकास समितिमा लगी जँचाई, छाप्न, छपाउन हुन्छ भन्न्ये निस्सा लगाई दिएपछि मात्र छपाउन हुन्छ, निस्सा नली तेसै छापने छपाउने गर्न हुँदैन,....सो निस्सा नली तेसै छापने छपाउनेलाई, छापी प्रकाश गर्न हुने लायक्को कुरा लेखिएको किताप भए ५० रुपैया दण्ड गर्नु (राणाकालको मुलुकी ऐनको अदलको ३१ नं) ।


आज पनि चन्द्रशमशेरका उत्तराधिकारीहरू सिंहदरबारमा बसेर मानिसका विचार, अभिव्यक्तिलाई नियन्त्रण गर्न भनिरहेका भेटिन्छन्— गाऊ न गाऊ, तर यो गीत नगाऊ ।


सिंहदरबार पुगेपछि मानिस किन बदलिन्छ ?
सिंहदरबार छिर्नुअघिसम्म आफूलाई उदार र रामभक्त भन्ने भीमशमशेर शिरमा महाराजको ताज पर्नासाथ बदलिए र कर्मचरी तथा भारदारमाथि बदला लिन तम्सिए । महाराजको पगरी शिरमा परेपछि भीमशमशेर अत्यन्तै क्रोधी र घमण्डीसमेत भएका थिए । अघिका प्रधानमन्त्रीले जस्तै उनले पनि शक्तिमा जानासाथ राष्ट्रको आम्दानीबाट बचेको सबै रुपैयाँ आफ्नो खल्तीमा हालेर एकदमै धनी भएका थिए ।


भीमशमशेरका उत्तराधिकारीका रूपमा आज पनि अनेकन संघर्ष, आन्दोलन गरेर सिंहदरबार पुगेर बदलिएका शासकहरूमा भीमशमशेरको क्रोध, बदलाको भावना र अहंकार उसैगरी हस्तान्तरण भइरहेको छ । भीमशमशेरझैं सिहंदरबार पुगेपछि बदलिने क्रम जारी छ । राष्ट्रको ढुकुटी मारेर आफ्नो खल्ती भर्ने र रातारात निजी जीवनमा समृद्धि ल्याउने क्रम जारी छ । जनतालाई झन्झन् हीनतर बनाउने र आफू भीमशमशेरहरूभन्दा पनि धनी बन्ने क्रम जारी छ । आफूलाई, आफ्नो सत्तालाई अलिकति खतरा देख्नासाथ आफ्नै मित्रमण्डलीलाई दूर हुत्याउने प्रथाको निरन्तरतामा सिंहदरबारले आज पनि नयाँ नयाँ रुद्रशमशेरको सिकार गरिरहेको छ । त्यहाँ पुग्नासाथ अहंकारले हिजो हिँडेरै आएको बाटो नै बिर्सनेहरूको सूची लम्बिँदै आउँदा आजका दिनमा पुष्पकमल दाहालमा आएर अडिएको छ । निश्चय छ, सिंहदरबाररूपी कलुषित पाठशालाको सिकाइ नबदलेसम्म नयाँ पुष्पकमलहरूको सिलसिला जारी रहनेछ ।


यो आलेख तयार गर्नुअघि पंक्तिकारले अनेकबार पढे, सुनेको छ— आखिर सिंहदरबारमा के छ, जसले मै हुँ भन्नेलाई पनि बदलिदिन्छ ? सत्तामा नपुगुन्जेल हो ठूला कुरा, सिंहदरबार पुगेपछि नेता औकातमा आउँछ । दशकौं संघर्ष गरेर, बलिदानको राजनीति गरेर सिंहदरबार पुगेको नेता वर्ष दिनमा असली हैसियतमा प्रकट भयो ! त्यसमा अनेकन अरू थप टिप्पणीहरू यहाँ सामेल गर्न सम्भव छैन । लाग्यो, साँच्चै किन बदलिन्छ हँ उही मानिस सिंहदरबार पुगेपछि ? शासक मात्रै हैन, प्रशासकका रूपमा सिंहदरबार पुगेका पनि किन बदलिन्छन् त्यहाँ पुगेर ? के छ सिंहदरबारको पाठशालामा जसले कलुषित बनाउँछ आफ्ना चेलाहरूलाई ?

फासीको तख्ता
विभिन्न शास्त्र र धर्मग्रन्थको व्याख्या गराएर सिंहदरबारमा भएको प्रजापरिषद्का कार्यकर्ताहरूको सुनुवाइमा माहिला गुरुज्यू हेमराज पाण्डे र पण्डित सोमनाथ सिग्द्यालले देशमा स्वतन्त्रता र नागरिक अधिकारको माग गरेकाहरूलाई ज्यान सजाय दिने माग गरे । स्वतन्त्रताको गला दबाउन चाकरीदारहरू जम्मा गरेर उज्यालोको पक्षमा उभिएकाहरूमाथि दमन गर्ने जुद्धशमशेर प्रवृत्तिको उत्कर्षमा धर्मझक्त माथेमा, शुत्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द मारिए । कैयनले सर्वस्वहरण र जन्मकैदको यात्रा स्विकारे । तर समयको चेतना र स्वतन्त्रताको उज्यालोलाई कथित शास्त्रहरूको रटान दिएर गला रेट्न सुझाव दिनेहरू, विदेशीलाई देशका अप्रकाशित पाण्डुलिपि, महत्त्वपूर्ण सामग्री हात लागि गरिदिएकै कारण, राज्यकोषबाट खातिरदारी गराइदिएकै कारण विद्वान् मात्रै होइन ‘जीवित ज्ञानकोष’ को पाल्सी महिमा छपाउन सफल भए । के आज पनि यो स्थितिमा बदलाव आएको छ ?
बालकृष्ण सम लेख्छन्, ‘एक दिन जनरल प्रचण्डले ममाथि दया देखाई एकान्तमा भने— हेर बाबु, तुलसीमेहर थुनिएकोबाट तिमीले महाराजको आशय बुझ्नुपर्ने ! घरबुना लगाएको मन पर्दैन । मैले भनेको मान्छौ भने तिमी पनि अब नलगाऊ ।’ कस्तो अँध्यारो ? हो नि अँध्यारोमा त नांगै हिँडे पनि कसले देख्छ र ! दरबार बुझ्ने प्रचण्डले भनेको मैले मानें, अनि विदेशी कपडा लगाउन थालें तर टोपीचाहिँ भक्तपुरे नै लगाउन छाडिनँ (मेरो कविताको आराधन, पृ ३१६) ।


आज पनि यो देशलाई कमजोर बनाउने, देशका नदीनाला बेच्ने, सत्तामा रहन, टिक्न विदेशीका गुलामी गर्ने, देशको उत्पादन क्षमता कमजोर बनाई विदेशी सामान आयात गर्ने र देशलाई टाट उल्ट्याउने काम देहातको कुनै झुपडीबाट हैन सिंहदरबारबाट भइरहेको छ । सिंहदरबारमा आसीनबाट भइरहेको छ । देशका संवेदनशील सूचनाहरू विदेशीलाई हस्तगत गर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने क्रम तीव्रत्तर भइरहेको छ ।

विवेकलाई तरबार
भारतबाट एक पटक सच्चिदानन्द काठमाडौं आएका थिए । उनी पशुबलिको विपक्षमा प्रवचन दिंदै हिंडेका थिए जताततै । नेपाली दरबारका पण्डित, पुरोहितहरू शक्तिपीठहरूमा दिइने बलिको कट्टर पक्षपाती थिए । चन्द्रशमशेरले सिंहदरबारमा नेपाली गुरुपुरोहित, पण्डितहरू र सच्चिदानन्दबीच बहसको आयोजना गरे । एकातिर माहिला गुरुज्यू हेमराज र नेपाली पण्डितहरू थिए भने अर्कातिर सच्चिदानन्द । बहसमा सच्चिदानन्दले बली प्रथामाथि सारा धार्मिक शास्त्र र पौराणिक कथनहरूको बलमा आलोचना केन्द्रित गरेपछि हेमराज तथा उनको पक्षका सारा पण्डितहरू क्रुद्ध भए र कराउन लागे, ‘हाम्रो चलिआएको सनातन धर्मको विरुद्ध बोल्ने यस्त पाखण्डी अघि पनि धेरै आएका थिए । हाम्रो गुह्येश्वरी माईलाई रगतको नित्य भोग चाहिन्छ । त्यो बन्द गराउन खोज्नेलाई हामीले पिटेर धपाएका थियौं । अहिले पनि यस्तो पाखण्ड’ (सम, उही, पृ २३५) ?


सिंहदरबारमा सत्ताको आडमा त्यसअघि नै आर्य समाजी माधवराज जोशी र उनका पक्षधरमाथि कुटपिट भइसकेको थियो । विसं १९६२ साउन १२ मा सिंहदरबारमा हेमराजको अध्यक्षतामा पण्डित मण्डली बनाई गरिएको शास्त्रार्थमा माधवराजले मूर्ति पूजाको तथ्यपूर्ण खण्डन गरेपछि पूर्वनिर्धारित योजनाअनुरूप ‘राजाको पालादेखिन् मानिआएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाऔं महाराज’ भनेर त्यहाँ उपस्थित सत्ता पक्षधर पण्डित मण्डलीले माधवराजमाथि बेस्सरी कुटपिट गरे (गौतम, उही, पृ ३०) ।
त्यसरी फरक मतमाथि दमन गर्ने शृंखलामा त्यसउप्रान्त पनि अनेकन माधवराज या सच्चिदानन्द सिंहदरबारको सत्ताकै आडमा कुटिएका, दबाइएका छन् । सिंहदरबारका मण्डलीबाट, मण्डलीका मण्डले योजनाबाट आज पनि नयाँ माधवराजहरूमाथिको दमन रोकिएको छैन । चन्द्रशमशेरका भारदार, मण्डलीको परम्परा सिंहदरबारका उत्तराधिकारी र तिनका भारदार मण्डलीले कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।


चन्द्रशमशेरको पालामा निजामती सेवाका सुब्बा कृष्णलाल अधिकारी कुनै बखत एक कुशल र इमानदार कर्मचारी कहलाइएका थिए । उनी मुद्दा–मामिला हेरी फैसला दिन साह्रै सिपालु थिए । त्यसैले श्री ३ महाराजको सवारी–सिकारीमा सधैं पर्थे । पातलो कदका भएकाले ‘च्यांग्रे सुब्बा’ भनी बोलाइन्थे । फुर्सद भएको समयमा किताब पढ्थे र लेख्थे । त्यही क्रममा उनले ‘मकैको खेती’ लेखी प्रकाशित गराएका थिए । पुस्तक लेखकले महाराज र मुख्तियारप्रति व्यंग्य गरी लेखेको हो भनी गुरुज्यू हेमराज पाण्डेले चन्द्रशमशेरलाई जाहेर गरे । अधिकारीले पुस्तक प्रकाशित गर्नुअघि पाण्डुलिपि जनरल केशरशमशेर, गुरु दुर्गानाथ, कवि शम्भुप्रसाद ढुंगेलसमेतलाई देखाउँदा मौखिक स्वीकृतिसमेत दिएका थिए । तर, हेमराजले विषयवस्तुको अर्कै अर्थ लगाएर चन्द्रशमशेरको कान फुकेपछि कृष्णलाललाई पक्राउ गरियो ।


हेमराजको चुक्ली कृष्णलालमै सीमित रहेन । विसं १९७७ भदौ ८ मा ‘गोर्खा शिक्षा माला (दोस्रो भाग)’ मा सुब्बा राममणि आदीद्वारा लिखित श्लोकको अनर्थ लगाई हेमराजले चन्द्रशमशेरकोमा चुक्ली लगाए, ‘चन्द्रशमशेर नै अस्ताउन लागे भनी जनतालाई भड्काएर उकास्ने उद्देश्यले लेखिएको हो, त्यसैले लेखकमाथि कडा कारबाही गरिनुपर्छ ।’ तर, राममणि चन्द्रशमशेरको विश्वासपात्र हुँदा उनी बचे (राणा, प्रमोदशमशेर–राणाशासनको वृत्तान्त, पृ २१७–२१९) ।


विदेशका बफादार
चन्द्रशमशेर अत्यन्तै कुटिल, निष्ठुर र षडयन्त्रकारी थिए । ब्रिटिस दूतावासका कर्णेल बाङ्लीले अफ्ना परराष्ट्र सचिव ली वार्नरलाई लेखेको पत्रमा भनेका थिए, ‘देवशमशेरलाई हटाएर चन्द्रशमशेर प्रधानमन्त्री भएको हाम्रा लागि बेस भएको छ ।’ तिब्बतमाथि हमला गरेका अंग्रेजहरूलाई थापाथली सन्धिविपरीत सहयोग गर्ने कदमबारे सचेत गराउन खोज्दा मुन्सीखाना (परराष्ट्र विभाग) का सुब्बा देवीप्रसाद सापकोटालाई अंग्रेज विरोधीको आरोप लगाई जागिरबाट बर्खास्त गरिएको थियो । शासकहरूको स्वार्थभन्दा देशको स्वार्थ ठूले ठानेर, देशको अहित नहुने सुझाव दिने, देशको भलाइका लागि यत्न गर्नेहरू दण्डित हुने प्रथा सिंहदरबारका निर्माताले जसरी सुरुआत गरेका थिए, त्यो आज पनि सबा सय वर्ष पुरानो सिंहदरबारमा पुग्नेहरूबाट झन्झन् बढ्दै गएको छ । नेपालका दुर्लभ हस्तलिखित नेपालबाट खोजी बेलायतमा पठाएकाले चन्द्रशमशेरलाई बेलायतले ‘डक्टर अफ सिभिल ल’ को उपाधि दिएको थियो (राणा, प्रमोदशमशेर, उही, पृ १९८–२०४) ।


चन्द्रशमशेरले गोर्खा फौजमा भर्ती भएका गोर्खालीहरूलाई अधिकृत पदमा पदोन्नति नगरिदिन र अफिसरमा भर्ना नलिइदिन अंग्रेजहरूसँग अनुरोध गरेका थिए (राणा, उही, पृ २१५) ।


महालुट
धीरशमशेर गरिब भएकाले विसं १९४१ सालअघिसम्म नारायणहिटीमा रणोद्दीपको घरमा बस्नुपरेको थियो । उनका सत्र भाइ छोराहरूमध्ये कतिपय राम्रो पालनपोषण गर्न सकिने अवस्था नभएकाले आफ्ना काकाहरूको घरमा बसेका थिए । वीरशमशेर जङ्गबहादुरकहाँ बसेका थिए भने देवशमशेर कृष्णबहादुरकहाँ धर्मपुत्र भएर बसेका थिए । प्रधानमन्त्री बन्नुअघिसम्म भीमशमशेरलाई पन्ध्र हजार ऋण लागेको थियो । जुद्धशमशेरले घरखर्च चलाउने पैसा अपुग भएर जुवाडेहरूसँग सापटी मागेर घर खर्च चलाएका थिए । चन्द्रशमशेरसँग सजिलोसँग बस्ने एउटा गतिलो दरबार थिएन ।


विसं १९४२ मा रणोद्दीपको हत्या गरि धीरशमशेरका छोराहरूमा सत्ताको रोल ल्याएपछि रणोद्दीप र जगतजंगको धनमाल र जग्गाजमिन सबै वीरशमशेरले लिए । त्यसरी लिएकोमा नारायणहिटी दरबार पनि उनैको भागमा रह्यो । जितजंग र डम्बरजंगका जफत गरिएका महल खड्गशमशेरले पाए । युद्धप्रतापजंगको थापाथलीस्थित सिंहमहल (हालको राष्ट्र बैंक भवन) चन्द्रशमशेरले पाए । पद्मजंगको भाटभटेनीको महल भीमशमशेरले पाए । रणवीरजंगको निवास (हालको प्रहरी हेडक्वार्टर) फत्तेशमशेरले पाए । जितशमशेरले लाजिम्पाट दरबार (हालको शंकर होटल) पाए । आफ्ना छोरा र पत्नीहरूका लागि सत्तामा पुग्नासाथ वीरले राज्यकोषबाट रकम दोहन गरेर अनेकन दरबार बनाए । १९५४ मा जमलगण्डीका किसानहरूले धान फलाउने १ सय ८० रोपनी खेतबारी कब्जा गरेर चारबुर्जा दरवार बनाएका थिए । त्यसअघि १९४२ मा प्रति रोपनी रु. ६० मुआब्जा दिएर स्थानीय ज्यापूहरूबाट उठाइएको जमिनमा वीरले सेतो दरबार बनाएका थिए । टंगालदरबार, जावलाखेलदरबार, पानीपोखरी दरबार, भाटभटेनी दरबार, लाल दरबार, फोहरा दरबार, हात्तिसार दरबार वीरले आफ्ना सन्तानका लागि राज्यकोषको दोहनबाट निमार्ण गराएका थिए ।


वीरपछि सत्तामा उदाएका चन्द्रशमशेरले सिंहदरबार, सिंहमहल, लक्ष्मीनिवास, बबरमहल, केशरमहल, शीतलनिवास, श्रीदरबार, हरिहरभवनलगायतका दरबार बनाए आफ्ना सन्तानका लागि राज्यकोष निचोरेर । भीमशमशेरले उसैगरी आफ्ना छोराहरलाई महावीरभवन, ललितानिवास, टंगालदरबार निर्माण र विस्तार गरे, राज्यकोषबाटै ।


प्रधानमन्त्री बन्नुअघिसम्म जुद्धशमशेरको अवस्था कस्तो थियो भन्ने कुरा घरखर्च चलाउन उनले आदिभक्त माथेमा (धर्मभक्तका पिता), जुवाडे दिव्यदेव पन्तलगायतसँग ऋण लिएका थिए । तिनै जुद्ध सत्तामा जानासाथ राज्यको ढुकुटी ब्रह्मलुट गरेर आफ्न सबै विवाहिता, अविवाहिता, भित्रिनी, रानी, नानीबाट जन्मेका सन्तानका लागि नामी नामी महल बनाइदिए, रैथाने किसानहरूको खेतीयोग्य जमिन हडपेर या नाम मात्रको मुआब्जा दिएर ।


वीरशमशेरले १९४२ मा जंग र शमशेरहरूको खिचातानीमा रणोद्दीपको हत्या गरी सत्ता हत्याउँदा कलिलो उमेरका जुद्धलाई दाजु भीमशमशेरको रेखदेखमा राखिएको थियो । विसं १९४७ मा जुद्धलाई थापाथलीको एउटा दरबार दिंदा कम्पाउण्ड नभएकाले जुद्ध बस्न नमानेपछि वीरले आफ्नो निजी निवास जावलाखेल दरबार (हाल, स्टाफ कलेज) दिए । प्रधानमन्त्री नबनुन्जेल जुद्ध त्यही जावलाखेल दरवारमा ४४ वर्ष बसे । उनका सन्तानका लागि उनले त्यही जावलाखेल दरवार वरपर अनेकन भव्य भवनहरू बनाए । किरणशमशेरका लागि किरणभवन, नीरशमशेरका लागि नीरझवन, विक्रमशमशेरका लागि जावलाखेलमा वित्रमभवन, १९९१ मा सुरेन्द्रशमशेरका लागि झम्सीखेलमा सुरेन्द्रभवन (हाल नर्स तालिम केन्द्र), १९९४ नारायण भवन (महिला तालिम केन्द्र), १९९३ मा शान्तशमशेरका लागि शान्तभवन (पहिले अस्पताल), मानशमशेरका लागि मानभवन, १९९७ किरण भवन, १९९६ मा मीनशमशेरका लागि मीनभवन र रविशमशेरका लागि रविभवन, १९९७ मा शशिशमशेरका लागि शशिभवन (हाल प्रधानसेनापति निवास) ।


विवाहितापट्टिबाट जन्मेका उपेन्द्रशमशेर सानैमा बितेका थिए । बाँकीमा रुद्रशमशेरलाई १९९० मा निष्कासित गर्दा जफत गरिएको चार बुर्जा दरबार (हालको निर्वाचन आयोग, उपराष्ट्रपति निवास र प्रभुशमशेर निवास) बहादुरशमशेरलाई दिइएको थियो । जितशमशेरबाट खोसिएको लाजिम्पाट दरबार (हालको शंकर होटल) अग्निशमशेरलाई दिलाएका थिए । हरिशमशेरको बागदरबार (हाल महानगरपालिका) साहेबज्यू उपेन्द्रविक्रमका सन्तान रामराजाबाट करकापमा पारेर किनिएको थियो । चेतशमशेरका लागि चेतभवन (हाल मनास्लु होटल) बनाइदिएका थिए ।


राणा महाराजहरूको राज्यरोहण, जन्मोत्सव, पुत्रलाभका तिथिमितिहरूमा बन्दीहरू छुट्थे । त्यो प्रथा आज पनि जारी छ । नयाँ वर्ष, दसैं, विभिन्न दिवस, तिथिमितिहरूमा शासकका मनमौजीमा कैदीहरू छुट्ने क्रम जारी छ । भ्रष्टहरूले तक्मा पाउने क्रम झन्झन् बढेको छ । सिंहदरबार पाठशालाको नयाँनयाँ बफादार चेलाचपेटा उत्पादनको क्रम फस्टाएको छ ।


विदेशमा धन
जंगबहादुरको पालासम्म विदेशमा धन लान सख्त रोकिएको थियो । तर उनका भतिजा वीरशमशेर सत्तामा आउनासाथ राज्यकोषमा चाँदी कटाइ गरेर करोडौं रकम विदेशी बैंकमा जम्मा गरे । चन्द्रशमशेरले त नेपाली तन्नेरीहरूलाई अंग्रेज फौजमा भाडामा लगाएबापत आएको रकमसहित राज्यकोष रित्याएर आफ्ना सन्तानका नाममा विदेशी बैंकमा पैसा जम्मा गरे । यसलाई भीम, जुद्ध, मोहन, देवशमशेरले पनि निरन्तरता दिए । तिनले मात्रै होइन, विदेशी बैंकमा देश चुसेर जम्मा गरेका धन थुपार्ने सिंहदरबार पाठशालाको ज्ञानबाट दीक्षित हुनेहरूको संख्या झन् बढ्दो छ । देशका तन्नेरी विदेशी श्रम बजारमा भाडामा लगाएर आएको पैसा निचोरेर मोट्टाउने चन्द्रशमशेरका अमुक अनुहारहरूको बढोत्तरी छ र सामान्य उपचार गर्न पनि महँगा विदेशी अस्पताल धाउने ‘बेरोजगार’ महाधनाढ्यहरूको दबदबा बढ्दो छ ।


नयाँ महाभारत
आज जनता एकलव्य भएका छन् । शासकहरू द्रोण या छलले योग्य बनाइएका अर्जुन । नयाँ अर्जुनहरू जो उभिएका छन्, द्रोणको छलले सर्वश्रेष्ठ धनुर्धरको रूपमा, तिनीहरू धनुर्वाणको निसाना साँधिरहेछन्, चतुरतापूर्वक बुढीऔंला छिमोलिएका एकलव्यहरूमाथि । जुन दिन एकलव्यहरूले घोषणा गर्नेछन्, म जाली गुरुलाई नाजायज गुरु भेटी चढाउन्नँ र बफादार शिष्य बन्न तयार छैन, त्यहीं दिनबाट सुरु हुनेछ नयाँ महाभारतको नयाँ कथा ।


हीनतर जात, वर्गको भनेर हेयपूर्वक शिष्य बनाउन पनि अस्वीकार गरिएका एकलव्य (जनता) हरू द्रोण (नेता) हरूलाई विश्वासको गुरु दक्षिणा (विश्वास) प्रस्ट माग (परीक्षण) बिना दिन्न भनेर उभिएको दिन हस्तिनापुर (देश) मा नयाँ अर्जुनहरू नायकको रूपमा आउनेछन् र सिंहदरबारको पाठशालामा नयाँ पाठ्यक्रम सुरु हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?