२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हरेक वर्ष पदयात्रा

सुरज कुँवर

काठमाडौँ — डिम्बाशयको क्यान्सर निको पारेकी ४८ वर्षीया अभिनेत्री मनीषा कोइराला चैत अन्तिम साता सगरमाथा आधार शिविरसम्मको पदयात्रामा थिइन्  ।

हरेक वर्ष पदयात्रा

नयाँ वर्षको दिन ५३ सय ८० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरमा पदैल पुगेर १० औं दिनमा सोमबार हेलिकप्टरमार्फत काठमाडौं ओर्लिएकी उनले केटाकेटीदेखि नै आफूले सगरमाथा आधारशिविर जान चाहेको बताइन् । 'नेपाल भम्रण वर्ष २०२०’ को विश्वभर प्रचार गर्ने उद्देश्यले उनका साथमा पर्यटन बोर्डले 'गाड्रेन अफ हिमालय’ डकुमेन्ट्री बनाउने टिम पनि पठाएको थियो ।

सगरमाथा आधार शिविरको पदयात्रा कसरी जुर्‍यो ?
बलिउडमा मेरा साथीहरू सगरमाथा पुगेर फर्केपछि त्यहाँको अनुभव र व्याख्या सुनाइरहन्थे । मलाई उनीहरूका कुराले बिझाइरहन्थ्यो । आफ्नै मातृभूमिमा रहेको हिमालको फेदीसम्म पुग्न नसकेकोमा ग्लानि भइरहन्थ्यो । जहाज चढेर काठमाडौं आउँदा देखिने हिमालले लोभ्याउँथ्यो । यस पटक मसँग कलेज पढेका तीन जना सहपाठीहरूले ‘लौ हिँड सगरमाथासम्म पुगेर आऊँ’ भनेपछि यात्रा जुरेको हो ।

केटाकेटी उमेरदेखि सगरमाथा जाने रहर कसरी जाग्यो ?
पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले बीपी बा (हजुरबुबा विश्वेश्वरप्रसाद कोइराला) लाई एउटा टेन्ट उपहार दिएका थिए । त्यो टेन्ट बनारसमा छँदा हामीले घरमा राखेका थियौं । त्यतिबेलादेखि नै म कुनै दिन सगरमाथा पुगेर हेर्नेछुजस्तो लाग्थ्यो ।

यसअघि कहिल्यै पदयात्रामा जानुभएको थियो ?
थिइनँ । यो नै मेरो पहिलो पदयात्रा हो । सगरमाथा आधारशिविर जानुअघि काठमाडौं आसपासका पहाडमा अभ्यास गरेकी थिएँ । अबचाहिँ म हरेक वर्ष पदयात्रामा निस्किनेछु । सगरमाथा पनि फेरि जाने रहर छ । अन्नपूर्ण ट्रेकमा पनि जानेछु । हिमाल नै चढ्नेचाहिँ योजना छैन ।

यो यात्राको खास कुरा के रह्यो ?
मैले सेतो गुरास देखेकी थिइनँ, यो यात्रामा देखें । अर्को कुरा के थाहा भयो भने, हामी सहरमा याकको चीज भन्दै खान्छौं । यसपालि थाहा भयो, खासमा याक त भाले हुनेरहेछ (हाँस्दै), चिज त नाकको पो हुने रहेछ !


हामी पाँच जना लुक्लाबाट हिँडेका थियौं । लुक्लाबाट फाक्दिन, मोन्जो, नाम्चे, तेङबोचे, पाङबोचे, फेरिचे, गारकसेप हुँदै सगरमाथा आधारशिविरसम्म हिंड्दै पुगियो । हरेक दिन कम्तीमा ७/८ घण्टा हिंड्यौं । यात्रा अवधिभर ९० प्रतिशत घाम लाग्यो । यसले गर्दा हामीलाई सजिलो भइदियो । सल्लाघारी जंगलबीचबाट शान्त बाटोमा हिँड्दाको आनन्द म वर्णन गर्न सक्दिनँ । सगरमाथा आधारशिविरमा पुगेको भोलिपल्ट बिहानै उठेर हेर्दा चारैतिर देखिएका अद्भुत हिमालको दृश्य मेरो आँखैमा छ । माइनस २५ डिग्री । मलाई लाग्यो, यी हिमाल वर्षौंदेखि यहाँ उभिएका छन् । उनीहरूका अघि हाम्रो जीवन त समयको एउटा सानो अंश मात्र हो ।

तपाईंलाई कुनै स्वास्थ्य समस्या त भएन ?
मेरो ‘मेडिकल हिस्ट्री’ भएकाले जीउले साथ दिँदैन कि जस्तो लागेको थियो । उमेर पनि भइसकेको तर हिँड्दै गएपछि रमाउँदै गएँ । दृश्यहरूले तान्दै लगे । प्रकृति अनि हिमाली जनजीवन देख्दा मैले यो देशको नागरिक हुनुमा गर्व गरें । हरेक नेपालीले जीवनकालमा एक पटक हिमालसम्मको यात्रा गर्नुपर्ने रहेछ । सगरमाथाले जागरण गर्ने रहेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?