गोरेटाहरू मेटिएछन्, गौँडाहरू भत्किएछन्

गंगा बीसी

काठमाडौँ —  
अहिले नुन, सुन, लत्ताकपडालगायत लिन १२, १३ दिन पैदल हिँडेर नेपालगन्ज जानुपर्ने अवस्था छैन  । चालीसको दशकको मध्यसम्म नुन लिन रुकुमबाट नेपालगन्ज हाट गइन्थ्यो  ।

गोरेटाहरू मेटिएछन्, गौँडाहरू भत्किएछन्

त्यसपछि आठ दिन पैदल हिँडेर सुर्खेतको छिन्चु, ६ दिन हिँडेर सल्यानको बोटेचौर गएर हाम्रा बाबा, काकाहरूले नुन ल्याए । सल्यानको शीतलपाटी, बरला नुन लिन पाँच दिन लागाए । हाट गर्ने टाढा जाने दिन घट्दै गए । सडक नजिकिंदै आयो, नुन पनि नजिक आयो । नेपालगन्जसँगको नुन, सुन र लत्ताकपडाको साइनो अब लगभग टुट्यो । अहिले अरू नै साइनो छ । मेरा बा अहिले पनि नेपालगन्ज पुग्दा निःशुल्क बसेका धर्मशाला सम्झन्छन् । त्यो नुन, सुन, कपडा घिउसँग साटेको साइनो हो ।


कसरी बिर्सनु ती दिन, जहाँ घिउसँंग नुन र सुन साटिएको थियो । १३ दिन पैदल हिँडेर नुन, सुन र कपडा ल्याएको गोरेटो अब छैन । त्यसबेलाका ती पदचाप परेका गोरेटा केवल सम्झनामा मात्र छन् । रुकुम नेपालगन्ज हिँडेका तीन दिन अब बा र उनका साथीहरूसँग मात्र बाँकी छन् । ती दिन साँच्चिकै जीवन्त र कठिन थिए भन्छन् बा । नुन लिन नेपालगन्ज जाने बेला झाडापखाला लागेर मृत्यु भएका हटारुको सत्यकथा बाले सुनाउँथे । नुन लिन नेपालगन्ज एक मात्र विकल्प थियो । घिउका टिन बाकेर नेपालगञ्ज जानु अनि नुन, सुन र लत्ताकपडा लिएर फर्कनु हरेक वर्षको हिउँदको बेला हुन्थ्यो । हाट जानुअघि तेल घसेर तिघ्रा बलियो बनाइन्थ्यो । हाट जाँदा खुट्टा सद्दे भइरहोस् भन्ने प्रार्थाना गरिन्थ्यो । त्यसबेलाका हटारु गाउँका हिरो हुन् । हटारुबिनाको घर नुनबिनाको तरकारीजस्तै हुन्थ्यो ।


ढिकेनुनको बोरा बोकेर बाबाको हटारु टोली करिब दुई साता लगाएर फर्कन्थे । जब हटारु गाउँ फर्कन्थे, माहोलै बेग्लै हुन्थ्यो । गाउँ पुग्नुअघि बिर्सौना हुन्थ्यो, हटारुहरू त्यहींबाट घर पुगेको संकेत गर्थै । हाट गएको घरमा मीठोमसिनो पाक्थ्यो । किनकि ढिकेनुन, सुन, जिरा मसला, मट्टीतेल, लत्ताकपडा कोसेली लिएर आउने हटारुको घरमा भव्य स्वागत हुन्थ्यो । अहिलेजस्तो बिजुली नभए पनि घर उज्यालो भएजस्तै हुन्थ्यो । घर पुगेपछि हटारु हिरोजस्तै हुन्थे । जति किलोग्राम धेरै नुन ल्यायो, ऊ त्यति बहादुर मानिन्थ्यो । गाउँभर चर्चा हुने नै भयो । आखिर त्यति टाढा हाट गर्न जाने अवस्था सडकले गराएको थियो । अहिले त केको हाट जानु ? घर आगनमै नुनको पोका आइपुगेको छ । अब न हाट जाने अवस्था रह्यो, न हटारु । केही औंलामा गन्न सकिने पूर्वहटारु मात्र छन् ।


हामी फुच्चेहरू बा हाटबाट घर फर्केको दिन खुसीले नाच्थ्यौं । हाटबाट केही न केही चीज आएको हुन्थ्यो । केही नल्याए पनि कम्तीमा मुख गुलियो पार्ने गुड (सक्खर) खान पाइन्थ्यो । घरभरि केटाकेटी भएकाले हाटबाट ल्याउने ठूलो अपेक्षा हुँदैनथ्यो । केही गरी जुत्ता ल्याइदिएमा भने भुइँमा खुट्टा हुँदैनथ्यो । नयाँ जुत्ता देखाउन पूरै बिहानभरि गाउँ घुमिन्थ्यो । ती दिन साँच्चिकै रहरलाग्दा थिए । एउटा जुत्ता पाएमा, सानो खेलौना वा अरू कुनै चीज पाएमा संसारै खुसी हुन्थ्यो । हाल काठमाडौंबाट गाडीबाटै गए पनि बढीमा २४ घण्टामा रुकुम पुग्न सकिन्छ । नेपाल वायु सेवा निगमको जहाजबाट उडेर सवा घण्टामा रुकुम पुग्न सकिन्छ । रुकुमबाट ६ घण्टामा गाडी चढेर नेपालगन्ज पुगिन्छ । सडकले जोड्यो, बाटो छोटो भयो । यात्रा सहज छ । अहिले पश्चिम रुकुमका सबै गाउँमा गाडी पुगेको छ, घर गोठ नजिकै मोटरसाइकल राखेको देखिन्छ । कतिपयले भैंसी बेचेर त्यही गोठमा मोटरसाइकल पार्क गरेका देखिन्छ । अहिले सडक क्रान्ति नै देखिन्छ त्यहाँ ।

चैतको दोस्रो साता काठमाडौं विमानस्थलको धावनमार्गमा गुडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज फर्कार्एर ह्याङ्गर पुर्‍याएर मर्मत गरेपछि रुकुमतिर लाग्यो । काठमाडौंमा बाक्लो तुवाँलो थियो, अरू जहाज तुवाँलो फाट्ने प्रतीक्षामा थिए । नेपाल वायुसेवाको जहाज भने उड्यो । मध्यपहाडी जिल्लाहरू नुवाकोट, गोरखा, अर्घाखाँचीलगायत आधा दर्जन जिल्ला पार गरेर रुकुम पश्चिम चौरजहारी पुग्नु छ । पहाड छल्दै चालकले उडाइहेका थिए । ‘पाइलटले आफू ढुक्क भएरै उडाएका होलान् नि । म बेकारमा किन डराउनु ?’ मनलाई शान्त मार्दै मनकुरा गरे । मेरो नजिक बसेका केटा एयर होस्टेसतिर हेर्छु, उनी ढुक्कसँग बसेका छन् । उनको पेसानै यस्तै । हामीजस्तो डराएर साध्य छैन । ‘जहाज त तुवाँलो झल्दै पहाडको बीचबाट गइरहेको छ, कस्तो सिपालु पाइलट ?’ मैले कुरा गर्ने मेलो निकाले । ती केटा एयर होस्टेसले भने, ‘यो मौसम ठीकै हो । योभन्दा खराब मौसमा उड्नुपर्छ ।’ उनले त्यही दिन जुम्ला, डोल्पा, साँफेबगर पुगेर नेपालगन्ज फर्कने गर्ने सुनाउन भ्याए । मलाई भने चौरजहारी कतिबेला पुगौंजस्तो भइरहेको थियो ।


काठमाडौंबाट उडेको जहाज मध्यपहाडको तुवाँलो छल्दै करिब सवा घण्टा बढीको यात्रापछि पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा आर्लिएपछि ‘क्याप्टेन सर, धन्यवाद’ भन्न कटपिटमा पुगेछु । उनले हाँस्दै भने, ‘तपाईं बढी डराउनुभएको थियोजस्तो लाग्यो ।’ जहाजमा जम्मा ६ जना यात्रु । अरू सबै महिला र बूढाबूढी मात्रै थिए । जहाज चौरजहारीबाट एक जना यात्रु टिपेर नेपालगन्ज उड्यो । निजी कम्पनीका वायु सेवा फाइदा हुने रुटमा मात्र चल्छन्, सरकारीले दुर्गममा सेवा पनि दिन्छन् । थोरै यात्रु हुँदा पनि दुर्गममा सेवा दिन्छन् । माथि गाउँबाट सरोज भाइ मोटरसाइकल लिएर मलाई लिफ्ट दिन चौरजहारी आएका थिए । सरकारले मध्यपहाडी राजमार्गमा निर्माण गर्न लागेका १० स्मार्ट सिटीमध्ये चौरजहारी पनि एक हो । तीव्र गतिमा पक्की भवन बन्ने क्रम चलेको छ । तराईको झल्को दिने गरी भाडाका अटोरिक्साको ताँती लागिसकेछन् । सरोजको मोटरसाइकलको तीव्र गति देखेर मैले भनें, ‘बाबु, बिस्तारै जाऔं । घर पुग्न हतार छैन ।’


गाउँ जान पाउँदा खुसी हुने दिन पनि आए अहिले । गाउँबाट सहरतिर जानु सामान्य भइसक्यो । सहर गाउँ पसेको होइन, गाउँ विकास हुन थालेका हुन् । सहरका कुरा गाउँ जाँदै छन्, बरु गाउँका कुरा सहर आउन मुस्किल । मान्छेचाहिँ सकीनसकी सहर पस्न खोज्दै छन् । जसरी सहर जबरजस्त गाउँलाई प्रभाव पार्न खोजेको देखिन्छ । गाउँलाई विकसित गर्नुपर्छ, सबै गाउँलाई सहर बनाउने होइन, सुविधासहितको मौलिकता दिनु राम्रो हुनेछ । गाउँ जान दसैँ, तिहार आउनुपर्छ भन्ने छैन । तर, चलन त्यस्तै बनेको छ, गाउँ जान दसैं तिहार आउनुपर्छ । दसैँ र तिहारले सहरका मान्छेलाई चुम्बकले तानेझैं गाउँ लैजान्छ । केही दिन ‘हेलो हाई’ पछि उनीहरू व्यस्त सहर फर्कन्छन् । प्रायः दसैँमा मात्र घर जाने भएकाले होला, आमाले भन्नुभयो, ‘यो बेला घर आउने अरू काम थियो कि भेटघाट मात्रै ।’ मिसन भेटघाट मात्रै थियो । ७५ वर्ष पुगेका बाआमा र नातेदारसँगको भेटघाट रिन्यु गर्ने धोको पूरा भयो ।

कालापहाड (हिमाञ्चल पहाड, भारत) जाने घटेका छन् । खाडी जाने बढेका छन् । गाउँ थोरबहुत नगद भित्रिएको छ । अब पाखो र केही खेतको उब्जनीमा भर पर्नुपर्ने अवस्था छैन । विदेशको कमाइले घरमा बस्नेहरूलाई अल्छी बनाइदिएको छ । १० वर्षे युद्धले थला पारेको रुकुममा विकासका लहरले अहिले नै ‘गाउँबाट भागिहालौं’ भन्ने अवस्था छैन । गाउँमा केही इलम वा जागिर भए गाउँमा सुगन्ध भरिन्छ ।


यसपटक गाउँघर जाँदा थाहा भयो, केही वर्ष अघि हिंडेका गोरेटाहरू मेटिइँदै गएका रहेछन् । गोरेटा नरहे त्यहाँ हिंड्ने चाहना पूरा हुन गाह्रो हुनेछ । गाउँगाउँमा सडक पुगेपछि गोरेटो को हिंडोस् ? कहिलेकसो गाउँ जानेहरूले याद गर्ने हो, त्यो ठाउँमा गोरेटो बाटो थियो, अहिले धेरै गोरेटा मेटिएछन् । धेरै गोरेटा बाटाहरू हराइसकेछन्, सडक नपुगेका ठाउँमा जंगलले छोपिसकेछ ।


कुन ठाउँको गोरेटोमा कस्ता गौंडो थियो, सबै याद छ अहिले पनि । तर गोरेटा नै नरहेपछि ती गौंडाहरू पनि भत्किसकेछन् । सानोमा पानी र अरू भारी बोकेर हिंड्दा गौंडा काट्नुपर्दा सास्ती भोगेका सम्झनाहरू अहिले पनि छन् । यस पटक गाउँ जाँदा सानोमा हिंडेका थोरै गौंडाहरू मात्र भेटिए, धेरै हराइसकेछन् । गाउँमा धेरै गौंडा हुनु भनेको दुःख भोग्नु पनि हो । उकाली, ओराली गर्दा जति धेरै गौंडा उति धेरै समस्या पर्थ्यो । उकालो र ओरालो गर्दा यति गौंडा काटियो भनेर गणना नै हुन्थ्यो । यो सन्दर्भमा गायक प्रेमध्वज प्रधानले सन् १९६२ मा गाएको गीत अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छ ।

गोरेटो त्यो गाउँको लौ न आज, खोजी खोजी थाके नि,
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
एकलास वन माझ, बिराएँ बाटो आज, अलमलिए लौ न म त...
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ।
गाउँतिर अहिले मोटरसाइकल वा गाडीमा कति घुम्ती छन् भन्न थालिएको छ । कहिलै गाडी नदेखेका बूढापाकाहरू गाउँमा गाडी देखेर भन्दै छन्, गाडी त आयो । ल्याउने, नल्याउने चीज बोकेर आयो । गाउँमा गाडी मात्र पुगेन, त्यसले चाउचाउ, बिस्कुट, बियर, रक्सी, सोयाबिन मस्यौरा, खानेतेल, ग्यास, पेट्रोललगायत धेरै चीज ल्यायो । गाउँलेहरू मास, चना बेचर चाउचाउ खान थाले, भटमास सस्तोमा बेचेर सोयाबिनको मस्यौरा खाना थाले । बारी खेतमा फलेको धानचामल, गहुँ, मकै, कोदो नखाएर पसलको चामल उपभोग गर्नर् लागे । तोरी बेचेर सहरतिरबाट गएको तेल किनेर खाने बानी बस्यो । दहीभन्दा कोकमा बानी पर्दै गयो । अरू धेर्र कुरामा बानी फेरिंदै गयो ।


आम्दानीको भरपर्दो स्रोत नभए पनि महँगो मोटरसाइकल किन्नु सान ठानिन्छ । मोटरसाइकलमा हुइँकेर पुग्ने आखिर त्यही परको बजार हो । बानी बिग्रिइसकेका होइन, खाने बानीमा फेरिएको हो । बानी सुधार गर्न ढिला भइसकेको छैन । सहर भित्र्याउन होइन, मौलिकता जोगाउने मुख्य काम हुनुपर्ने हो ।सडक पुगेपछि उकाली–ओरालीको दुःख भुल्नु स्वाभाविक हो । आफ्नै बारी खेतको खानेकुरा भुल्नुचाहिँ अर्को भूल हो । चौरजहारीमा एक दशकभन्दा बढी पसल गर्दै आएका शशिराम रोकाय सडकसँगै बजार माथिमाथि सर्दै गएको सुनाए । मान्छेको आनीबानी फेरिएको बताए । ‘सडकले नै बजार सार्दै लैजाँदो रहेछ, माथिमाथि सडक गएसँगै व्यापार पनि उतै सर्‍यो,’ उनले भने ।


मान्छेको बानी फेरिएको हो कि बिग्रिएको ? उनी भन्छन्, ‘सजिलै किन्न पाइने भएपछि के भन्ने ? किनेर मसिनो खाने बानी बस्यो । अलिअलि बानी पनि बिग्रियो ।’ पढेका जति सबैले जागिर खोज्न थालेपछि अरू खेतीपातीको काम कसले गर्ने ? पढेर जागिरै गर्नुपर्छ भन्ने मान्यताले घर गरेपछि अन्य पेसा गरेर खाने कम छन् । ‘आफ्नो पेसा गरेर खानुपर्छ भन्ने कम छन् । बाउबाजेले गरेको कृषि पेसाले धानेन भने अन्य काम गर्न सकिन्छ,’ चौरजहारीका समाजसेवी तेजबहादुर बटालाको भनाइ छ, ‘सुविधासहितको हुनुपर्छ आफ्नो मौलिकता त्याग्नुहुँदैन भन्ने उनको बुझाइ छ ।युवाहरूमा सकेसम्म जागिर खाने, विदेश जाने त्यो सम्भव नभए केही न केही आयआर्जनको काम गर्ने प्रयास गरेको देखिन्छ । युवाहरूले घरमै कुखुरा, बाख्रापालन र अन्य नगदेबाली काम गरेको देखिन्छ । आयस्रोतले भ्याएसम्म अन्य व्यवसाय गरेको पाइन्छ । बाउबाजेले गरेको कृषि पेसाले अब गुजारा चल्दैन भन्ने बुझाइ उनीहरूको छ । यसले केही नयाँ काम गर्ने चेतना जगाउनु सकारात्मक पक्ष हो ।


दसैंतिहारबाहेक अरू बेला गाउँ पुग्दा खासगरी बूढापाकाहरूले प्रश्न गर्छन्, के कामले गाउँ आयौ ?’ दसैंतिहारमा गाउँ जानुपर्छ, अरू बेला नगए पनि हुन्छ भन्ने आम बुझाइले यस्तो प्रश्न आएको होला । गाउँमा भेटिने जोसुकै बूढापाकाहरू खुसी व्यक्त गर्छन्, ‘आउँदै गरे, माया नमारे ।’अब स्थानीय सरकार गाउँमै छ । जनताका कुरा सुन्ने जनप्रतिनिधि छन् । जनताको कुरा सुन्नु नसुन्नु अर्कै कुरा हो । गुनासा र अपेक्षा थामिनसक्नु छन् जनप्रतिनिधिलाई । काम भएको छ । विकास हार्डवेयरमा बढी देखिन्छ । मुख्यगरी बाटाघाटाका काम जताततै देखिन्छ । विकास भनेको सडक होझैं लाग्छ त्यता पुग्दा । सफ्टवेयर अर्थात् चेतनाको काम बाँकी छ । चौरजहारी नगरपालिकाको प्राथमिकता भने अर्कै रहेछ । ‘शिक्षा, स्वास्थ्य, कृषि उत्पादनलाई मुख्य योजना बनाएका छौं,’ मेयर विशाल शर्माले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि उत्पादन राम्रो भए नगरपालिका समृद्ध हुने विश्वास छ ।’ उनले जनतालाई विकासको अवधारणा बाटोघाटो, बिजुली, खानेपानी मात्र भएको बताए । उनले हार्डवेयर विकाससँग सफ्टवेयर विकास अर्थात् जनचेतनाको काम गर्न त्यति नै जरुरी रहेको बताए ।


खासगरी युवाहरू विकासलार्ई सही सदुपयोग गर्नेभन्दा देखासिकीमा रमेको देखिन्छ । रुकुम पश्चिमका स्थानीय तहले मदिरा नियन्त्रण गर्ने अभियान रोकिएको छ । गाउँमा दाउराको चाङजस्तै बियरका खाली बोटलको चाङ लाग्न थालेको छ । ‘विकास भएको छ, त्यसलाई आफ्नोअनुकूल कसरी प्रयोग गर्ने चुनौती छ । युवाहरूमा चेतना आउनु आवश्यक छ,’ चौरजहारीका स्थानीय व्यवसायी यदुकुमार आचार्यले भने ।गाउँलाई गाउँ रहन दिनुपर्छ, सुविधासम्पन्न गाउँ । न कि सहरको नक्कल । गाउँमा पाइने रैथाने चीजको जगेर्ना नगरे भोलि के होला ? त्यसबेला गाउँ न सहर जस्तो न गाउँजस्तो हुने छ ।
कवि मीनबहादुर बिष्टको कविताबाट व्यंग्य गरेजस्तो गाउँमा धेरै कुरा छ ।

धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा ।
जरुर पहाड अर्थात् गाउँमा केही छ र मान्छेहरू दुःखलाई सुखमा बदलेर बसेका बूढाबूढी मात्र होइन, युवाहरू पनि छन् । पहाड पक्कै उकालो छ, त्यो उकालोमा हिंड्ने बलिया पाइलाहरू छन् । अब त गाउँमा विकास पनि पुगेको छ, विकाससँगै सहरका कोसेली पुगेको छ । जरुर गाउँमा धेरै चीज छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?