कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लेखनमा महिला जागरण, बजारमा बाँकी

'तोदा' र 'इति' उपन्यासपछि उमा सुवेदीको नयाँ कथासंग्रह 'सयौं पुतली' बजारमा आएको छ ।
लेखक वार्ता
उमा सुवेदी

 उपन्यासपछि कथामेरो कथासंग्रह प्रकाशन हुन लाग्दा धेरैले मलाई उपन्यास लेखिसकेर किन कथासंग्रह भन्ने प्रश्न गरेका छन्  । म गजल र कविता हुँदै आख्यानमा आएकी हुँ  ।

लेखनमा महिला जागरण, बजारमा बाँकी

आख्यानमा पनि एकैपटक उपन्यासमै आएकी हुँ । विषय र त्यसको बिस्तारले कथा र उपन्यासमा फरक ल्याउने हो । बलजफ्ती कथाको विषयलाई उपन्यास या उपन्यासको विषयलाई कथामा समेट्ने प्रयास गर्दा त्यसमा असफलता नै हात लाग्छ भन्ने मेरो बुझाइ हो ।


मेरा ‘तोदा’ र ‘इति’ लाई म चाहेर पनि कथा बनाउन सक्दिनथेँ । ती उपन्यासमा मुख्य कथा एउटा भए तापनि समानान्तर रूपले अरू सहायक कथानकहरू सँगै हिँडिरहेका थिए । त्यसैले ती उपन्यास नै बने । मसित केही त्यस्ता विषयहरू थिए, जसलाई बिस्तारमा भन्नुभन्दा छोटोमा भन्नु बढी प्रभावकारी होला भन्ने लाग्यो । त्यसैले यस पटक कथाहरूमा काम गरेँ र ‘सयौं पुतली’ नामक कथासंग्रह प्रकाशित गरेँ । कथामा उपन्यासमा जस्तो सिंगो समाज या समय नआउला तर कथाले जुन शक्तिका साथ जीवनका केही आयामहरूलाई अभिव्यक्त गर्न सक्छ, त्यसको तुलना अरू विधासित हुन सक्दैन ।

प्रकाशकको दबाबमा लेखिंदैन
आजभोलि प्रकाशकले नै लेखकलाई विषय र विधा तोकेर लेख्न दबाब दिन्छन् भन्ने पनि बेलाबेला सुन्नमा आउँछ । ‘तोदा’ लेखिसकेपछि मलाई प्रकाशकले फेरि उपन्यास नै लेख भनेर दबाब दिएनन् ‘तोदा’ र ‘इति’ का प्रकाशक पनि फरक थिए । यसमा लेखकले किन लेख्ने र कसका लागि लेख्ने भन्ने कुरा पनि आउँछ । म आफ्ना कुराहरू पाठकहरूसम्म पुर्‍याउनका लागि पक्कै लेख्छु, तर मेरो सिर्जनाले पहिलो सन्तुष्टि म आफैंलाई दिनुपर्छ । लेखकले आफूलाई हैन, बजारलाई कन्भिन्स गर्नका लागि लेख्न थाल्छ भने उसलाई बजारले यो लेख् र यस्तो लेख् भन्ने दबाब दिन थाल्छ । तर लेखक आफ्नो लेखनको अर्थ र औचित्यका बारेमा प्रस्ट छ भने बजारले उसलाई पथभ्रष्ट बनाउन सक्दैन ।

हाम्रो निजत्व स्थापित हुनुपर्छ
कथामा सबैभन्दा आवश्यक त ‘कथातत्त्व’ नै होला । त्यसपछि त्यो कथातत्त्व कस्तो वैचारिक धरातलमा उभिएको छ र त्यो कथानक या विचारलाई बोक्ने कस्ता चरित्रहरू निर्माण गर्छौं भन्ने कुराले कथालाई बलियो बनाउँछ भन्ने मलाई लाग्छ । मेरो खोजी सदैव त्यही दिशामा छ । विगतमा गुरुप्रसाद मैनाली, बीपी, पुष्करशमशेर, मनु ब्राजाकी, प्रेमा शाह, माया ठकुरी, बेन्जु शर्मा, मञ्जु काँचुली हुँदै सीता पाण्डेलगायत समकालीन धेरै लेखकहरूले समृद्ध गराएको कथा परम्परा हो हाम्रो । हामीले अब तिनकै पदचिह्नलाई पच्छाएर लेख्नुको अर्थ छैन । हाम्रो लेखनबाट यो समय र हाम्रो निजत्व पनि स्थापित हुनु जरुरी छ ।


साहित्य जगत् सधैं वैकल्पिक चिन्तनबाट नै अगाडि बढ्ने हो । ढंग पुर्‍याएर लेखिएको यथार्थले आफ्नो समयको छटपटी, असन्तुष्टि र आक्रोश अझिव्यक्त गर्छ । आत्रोश भनेकै स्थापित मान्यताविरुद्धको वैकल्पिक प्रस्तुति हो । स्वैरकल्पना, फ्यान्टेसी या सर्रियल भन्ने कुरा यथार्थलाई अभिव्यक्त गर्ने कलाकौशल मात्र हुन् । साहित्यमा समय र समवेदना महत्त्वपूर्ण कुरा हो । त्यसैले यी कुरालाई अभिव्यक्ति दिन लेखकलाई कुन माध्यम सजिलो लाग्छ, त्यसैमा काम गर्दा उसको लेखन बढी विश्वसनीय हुन्छ । ढंग पुगेन भने त आँखैअगाडि देखिएको यथार्थलाई अभिव्यक्त गर्दा पनि अतिरञ्जित भैदिन्छ ।

लेखनमा जागरण, बजारमा बाँकी
पछिल्लो समय साहित्यमा महिला लेखनको जागरण आएको छ । बजारसम्म त्यसको प्रभाव टड्कारो देखिइहालेको स्थिति भने अलिक छैन । लेखनको बजार चेतनाहीन व्यक्ति या पाठकबाट निर्माण हुने त पक्कै होइन । त्यसैले महिला लेखकमा आएको यो जागरणको प्रभाव ढिलोचाँडो किताबका पाठकहरूसम्म पनि पुग्छ । मलाई अहिले नै महिला लेखकका हजारौं हजार पाठक भएनन् भनेर दुःखित भइहाल्ने बेला भयोजस्तो लाग्दैन । हामीसित निर्माण भएको चेतनाको ऊर्जार् हामीले आफ्नै लेखनलाई अझ चेतनासम्पन्न, कलात्मक, शक्तिशाली र विश्वसनीय बनाउनमा लगाउनुपर्छ ।


यो महिला जागरणका लागि अग्रसर हुने युग हो । जागरणका लागि हामीले आफ्ना कुरा र अनुभूतिहरू जतिसक्दो बढी संख्यामा भन्नुपर्छ । यतिबेला हामीलाई संख्या र गुणस्तर दुवै चाहिएको छ । यी दुवैको सन्तुलन मिलाउन हामीले सक्दो मिहिनेत गर्नैपर्छ । आजसम्म नेपाली साहित्यमा देखिएको समाज मूलतः पुरुषको आँखाबाट हेरिएको समाज हो । अब हामी महिलाले आफूले देखेको समाजका कुराहरू आफैंले भन्ने बेला आएको छ । त्यसपछि मात्र नेपाली साहित्य एकांकी चिन्तनबाट मुक्त हुन्छ र नेपाली साहित्यको समृद्ध स्वरूप देखापर्छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?