२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सिल्भिया

रोशन शेरचन

 
स्मृति बन्ने र सम्झने कुरामा मानिस गाईभैंसीभन्दा सायद भिन्न छैन  । अवसर पाउँदा गाईभैंसी अधिक घाँस निल्छन् र फुर्सदमा उग्राउँदै चपाई चपाई स्वाद लिन्छन्  ।

सिल्भिया

मानौं, खानपान बल्ल सुरु भएको छ । स्मृति बन्ने र सम्झने कुरामा मान्छे पनि ‘रुमिनेन्ट’ जस्तै छ । मौका पाउँदा स्मृतिहरूका धेरै घान हाल्छन् । फुर्सदमा मात्र चाल पाउँछन्, के कस्ता स्मृतिहरू निर्माण भएका रहेछन् भन्ने ।


सिल्भिया लेख्न बस्दा यस्तैखाले अनुभव भयो । घोत्लदै जाँदा सिल्भिया प्लाथसँग जोडिएको एउटा सिनेमा, केही थान कविता र एडिबराको संस्मरण रहेछ । उक्त विषय स्मृतिपटमा सजिलो गरी आएन । घटनाक्रम पुरानो भएकाले पनि होला, सोचाइमा बल पर्‍यो । एडिनबरा सहरमा अध्ययनबाहेक मैले गरेको अर्को नियमित कर्म थियो— सिनेमा हेर्नु । लोदियन रोडमा एडिनबराकै पुरानो सिनेमा हल छ— फिल्महाउस । मंगलबार विद्यार्थीको निम्ति टिकट मूल्यमा भारी छुट भएकाले नियमित सिनेमा हेर्नु मेरो प्राथमिकतामा पर्‍यो । अन्य दिन पाँच–छ पाउन्ड पर्ने टिकट त्यो दिन साढे दुई पाउन्ड हुन्थ्यो । सिनेमाले मेरो अध्ययनले निर्माण गरेको एकरसको जीवनलाई केही हदसम्म मुक्त गर्‍यो ।


हस्टेलछेउ बसस्टप थियो । पच्चीस–तीस मिनेटमै बसले फिल्महाउस पुर्‍याउँथ्यो । फिल्महल अत्याधुनिक बान्कीको थिएन बरु सांस्कृतिक शैलीको देखिन्थ्यो । ब्रोसर पनि बाँडिन्थ्यो । सिनेमा हेरेर फर्कंदा ब्रोसर बोकेर आउँथें । ब्रोसरमा त्यस महिना देखाइने सिनेमाको सूची र सारहरू सर्सती हुन्थे । मनपरेको सिनेमामा गोलो चिह्न लगायो । तोकिएको दिन बस चढेर फेरि फिल्महाउस गयो । त्यसरी दर्जनौं सिमेना हेरें । मानौं फिल्महाउस एडिनबरामा मैले पत्ता लगाएको अथाह खुसीको खानी थियो, जुन प्राप्त गर्न मैले धेरै खर्चन पर्दैनथ्यो । घोत्लेपछि थाहा भयो, त्यो पाटो कतै छुटेको रहेछ ।


त्यहाँ हेरेको एउटा सिनेमा थियो— ‘सिल्भिया’ । त्यो सिनेमा अमेरिकन कवि सिल्भिया प्लाथको जीवनकथा, कवितायात्रा, संघर्ष, प्रेम, प्रेरणा, वैवाहिक जीवन, मानसिक विचलन र आत्महत्याका शृंखलाको अनेकन पत्रहरूमा बेरिएर आएको थियो । उनको दुर्दान्त पीडा, कवि बन्ने सघन महत्त्वाकांक्षा, टेड ह्युससँगको असफल वैवाहिक जीवन र आत्महत्याको दृश्यले गहिरो स्पर्श गरेको थियो । सिल्भिया प्लाथको नाम नयाँ त थिएन । त्यति विस्तृतमा भने सिनेमा हेरेपछि थाहा भयो । सिनेमा हेरेको केही दिनसम्म सिनेमाले मलाई उदास बनायो । गम्भीर खालको कविता सृजना असाध्य एक्लो कर्म रहेछ भन्ने पनि बोध भयो ।


सिल्भिया अमेरिकी फुलब्राइट छात्रवृत्तिमा क्याम्ब्रिज युनिभर्सिटीमा पढ्न आउँछिन् । उनको टेड ह्युससँगको पहिलो भेट युनिभर्सिटीको एक पार्टीमा हुन्छ । टेड ह्युस त्यतिबेला चर्चित कवि भैसकेका हुन्छन् । सिल्भिया ह्युसका कविताबाट प्रभावित हुन्छिन् । त्यसो त उनी कवि डायलन थोमसको कविताबाट झन् बढी प्रभावित हुन्छिन् तर उनी थोमसलाई भेट्न पाउँदिनन् । पार्टीमा दुई जनाको पहिलो भेटको दृश्याङ्कन मनमोहक छ । टेड पार्टीको भीडभाडभन्दा पर कुनामा एक्लै उम्भिरहेको हुन्छ । नाचिरहेको भीड छिचोल्दै सिल्भिया कुनातिर हानिन्छिन् । ह्युसको सम्मोहन, धेरै अर्थमा सिल्भियाको दुःखद यात्राको आरम्भ विन्दु बन्छ ।


एकअर्काप्रतिको आकर्षण प्रेम हुँदै विवाहमा परिणत हुन्छ । दुई सन्तान भइसकेपछि घरायसी व्यस्तताले सृजना टाढिंदै गएकाले सिल्भियामा गहिरो निराशा छाउँछ । सिल्भिया सानै उमेरदेखि तीक्ष्ण बुद्वि भएकी प्रतिभाशाली व्यक्ति थिइन् । टेडको जीवनमा अर्को महिला आएपछि त सिल्भियाको निराशा अवसादमै पुग्छ । उनको लेखक बन्ने महत्त्वाकांक्षा, तीव्र संवेदनशीलता र बिग्रँदो वैवाहिक सम्बन्धले उनलाई आत्महत्यातिर उन्मुख गराउँछ । धेरै पटकको प्रयासपछि सिल्भियाले ११ फेब्रुअरी, १९६३ मा आफ्नो ज्यान लिन्छिन् । त्यसबखत उनको उमेर मात्र ३० वर्षको हुन्छ ।


सिल्भियाको मृत शरीरलाई कफिनमा शववाहनसम्म राख्दाको दृश्य बिथोल्ने खालको छ । कलात्मक शैलीको त्यो सिनेमेटोग्राफीले उच्चकोटिको प्रभाव उत्पन्न गर्छ । माथिबाट खिचिएको छ– एरियल सट । दुई जनाले सडकमा कफिन निकाल्छन् । कफिन रातो कपडाले ढाकिएको छ । त्यसबाहेक सडक, घर र नजिक रोकिएको गाडी सम्पूर्ण सेतो छ । छेउको गाडी हिउँले पुरिएको छ । अर्को छेउको शवबाहनको पछिल्लो भागमात्र देखिन्छ । त्यसको ढोका खोलिएपछि शववाहनमा कफिन राखिन्छ । बिस्तारै हिउँमा टायरका डोबहरू बन्दै गुडिरहेको शववाहन फ्रेमबाट बाहिरिन्छ । पार्श्वसंगीतले प्रभावलाई झनै सघन बनाउँछ ।


सिनेमा, सिल्भियाको उदास कविताजस्तै छ । यसको टोन कालो छ । निस्सासिँदो मौन फ्रेम छ । दृश्यांकन जति आउटडोरको छ, उत्तिकै इनडोरको पनि छ– कविमानसको । नैराश्य, आक्रोश र गुम्फनले लछप्पै भिजेको । सिनेमा सक्किएपछि हिँडेरै होस्टल फर्किएँ । सिमसिम पानी परिरहेको थियो । एडिनबरा सहर मानौं भर्खर नुहाएर बाथरुमबाट निस्किएको छ । पर्याप्त मादक । टुलिप फूलको रङहरूमा खुलेको एडिनबरा कल्पना कोष्ठमा ‘इम्प्रेसनिस्ट पेन्टिङ’ झै देखिन्छ । यो सहरमा भद्दा गगनचुम्बी भवनहरू छैनन् । प्रमुख रूपमा भिक्टोरियन ढाँचाको वास्तुकला भएको यसलाई उत्तरको एथेन्स पनि भनिन्छ । युनेस्कोले वैभवशाली संस्कृति र साहित्यको इतिहासलाई आधार मानी सन् २००४ मा एडिनबरालाई ‘सिटी अफ लिटरेचर’ नै घोषणा गर्‍यो । जे. के रोलिङको ‘ह्यारी पोर्टर’ को प्रसिद्विले पनि यो सहरको गरिमा चुलिएको थियो । रोबर्ट बन्स, रोबर्ट लुइस स्टिभेन्सन, अर्थर कोनन डोयल, वाल्टर स्कटहरू आदि त विश्वप्रसिद्ध धरोहर नै भए ।


‘सिल्भिया’ ले उत्पन्न गरेको प्रभावले मन र मस्तिष्क बेस्सरी बिथोलिएको थियो । माध्यम सिनेमा भएकाले प्रभावहरू अनुभव हुने मात्र होइन, देखिने पनि रहेछ । पुस्तकको प्रभाव भएको भए, सायद प्रभावहरू देखिँदैनथ्यो । विचारस्वरूपमा मात्र आउँथ्यो । चेतन वा अवचेतन तहमा विविध प्रभावहरूको जम्काभेट हुन्छन् । जुन प्रभावसँग संवेदना जोडिन्छन् ती स्मृतिमा तैरिन्छन् । बाँकी विस्मृतिको गर्तमा विलुप्त हुन्छन् । जति प्रबल संवेदना कुनै घटनाले हामीभित्र उत्पन्न गर्छ, त्यो स्मृति त्यति नै गहिरो गरी बस्छ । जतिसुकै पुरानो किन नहोस्, संवेदनाले त्यस्ता स्मृतिलाई मरिकाटे विलुप्त हुन दिँदैन । केही दिनसम्म सिनेमाले मलाई अर्को लोकमा पुर्‍यायो जबसम्म अध्ययनको चाप बढ्दै गएर त्यसका प्रभावहरू मस्तिष्कको पृष्ठभूमितिर धकेलिएनन् ।


सिल्भियाले भोग्नुपरेको ट्र्याजडीका केही साझा कारणहरू हाम्रै समाजमा पनि सायद खोज्न सकिन्छ । सानै उमेरमा उनको बुबाको निधनले ल्याएको नियास्रोपन त छ नै त्यसभन्दा बढी पुरुषको वर्चस्व रहेको क्षेत्रमा आफ्नो स्थान बनाउन महिलाले गरेको अथाह संघर्षको कथा पनि छ । घरायसी र बच्चाहरूको लालनपालनको कामले लगाउने तगारा पनि पर्याप्त देखिन्छ । बाटैभरि महिला भएकै कारणले झेल्नुपरेको अवरोधको दृश्यकथा पनि हो— ‘सिल्भिया’ । उनको कवितासंग्रह ‘एरियल’ र अटोबायग्राफिकल उपन्यास ‘बेल जार’ कालजयी मानिन्छन् । यही सृजनाको बलमा उनी पाठकमाझ अझैसम्म बाँचिरहेकी छन् ।


सिल्भिया प्लाथका दुःख, पीडा र संघर्षलाई नेपाली महिला लेखकहरू बाँचिरहेको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक संरचनासँग पनि जोडेर हेर्न सकिन्छ । सशस्त्र संघर्ष र जनआन्दोलन, पछिल्ला वर्षहरूमा देखिएको फेमिनिज्मको उभार, लिङ्गीय विभेदविरुद्वको आन्दोलन, मिटू अभियान, कलाका प्रयोग र साहित्यिक फेस्टिभलका बहसहरूले देशभित्र र बाहिरका सिल्भियाहरूको जीवनलाई नयाँ आलोकमा हेर्न आग्रह गरेका छन् । उत्तिकै उत्सुकताको विषय पनि बनाइदिएको छ ।


नेपाली महिला लेखकहरूले भोग्दै र लेख्दै आएका समस्या र सवालहरू नितान्त भिन्न छैनन्, समान प्रकृतिका पनि छन् । जब महिलाले पुरुषको अंग मात्र भएर बाँच्न अस्वीकार गर्छन् र आफूभित्रको पृथक् व्यक्तित्वलाई जन्माउन थाल्छन्, तिनको जम्काभेट शताब्दीयौं पुरानो पित्रसत्तात्मक संरचनासँग हुन्छ नै । सिल्भिया ह्युसको छाया मात्र भएर बाँच्न चाहँदिनन् । ऊ आफूभित्रको कविव्यक्तिलाई अग्लाइमा पुर्‍याउन चाहन्छिन् । अवस्थाहरू प्रतिकूल बन्छन् र उनी अवसादको खाडलमा पुरिन्छिन् ।


सिनेमा हेर्दा अनुभव हुन्छ, टेड ह्युस तत्कालीन समाजको पितृसत्तात्मक संरचनाको एउटा प्रतिनिधि हुन् । लैङ्गिक विभेद र महिला हिंसा नेपाली समाजमा मात्र सीमित छैन । पश्चिमी देशमा पनि यसका क्रूर पञ्जाहरू यथेष्ठ गाडिएको देख्न सकिन्छ । सिल्भियाको गर्भको बच्चा तुहिनु केही दिनअघि टेडले उनलाई कुटेको तथ्य सार्वजनिक भएपछि, केही महिलावादी लेखकहरूले ह्युसलाई हत्यारा पनि भने । चर्चित कवि ह्युस किन त्यति कठोर बने ? जवाफहरू सजिलै भेटिँदैनन् । केही समीक्षकहरू त ह्युसप्रति सहानुभूति प्रकट गर्छन् । समीक्षक जोनाथन बेट्स ह्युसभन्दा सिल्भियाको मानसिक विचलनलाई आत्महत्याको प्रमुख कारण मान्छन् । सिनेमा हेर्दै गर्दा, सिल्भियाको जीवन त्यस्तो जीवन अनुभूत हुन्छ, जहाँ एक अत्यन्त प्रतिभाशाली लेखक आफू बाँचेको समाज र कविमानससँग जुध्दै केही कालजयी सृजनाहरू छाडेर शून्यमा कतै विलुप्त हुन्छ ।

घामसँग जिस्कन्छ मेरो छाया
जब म अँध्यारोलाई सुम्सुम्याउँछु
हामी एकै हो, भिन्न पनि
जब मेरो छाया मुस्काउँछ
मलाई अवसादले उकुसमुकस पार्छ
छाया चाँडै बिलाउनेछ
म मर्नेछु
एउटा खुसी, अर्को दुःख
–सिल्भिया प्लाथ

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?