कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अदालतमा किताब

'किताबमा त्यत्रो आपत्ति नै हो भने लेखकसित कुरा पो गर्नुपर्ने सुरुमै सडकमा ओर्लिने यो कस्तो घोषणा हो ?' समाचार पढिसकेपछि मेरो मनमा उठेको पहिलो प्रश्न त्यही थियो ।
सरस्वती प्रतीक्षा

'नथिया' निस्किएको ६ महिना भइसकेको थियो  । पश्चिमका केही सहरहरूमा पुस्तकको कार्यक्रम गरे पनि पूर्वका लागि समय मिलाउन सकिरहेकी थिइनँ  ।

अदालतमा किताब

सानो छोरा र एक्लो आमा हुनुको कठिनाइले टाढाको यात्रा मलाई जहिल्यै हम्मे पर्छ । म पूर्वतिर कार्यक्रम गर्न जाने तयारीमा थिएँ । अचानक पत्रिकाको एउटा समाचारमा आँखा गयो, जसमा बादी समुदायका केही मानिसहरूले ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ फिल्मप्रति आपत्ति जनाउँदै विरोध गर्ने भन्ने जानकारी थियो ।


‘किताबमा त्यत्रो आपत्ति नै हो भने लेखकसित कुरा पो गर्नुपर्ने सुरुमै सडकमा ओर्लिने यो कस्तो घोषणा हो ?’ समाचार पढिसकेपछि मेरो मनमा उठेको पहिलो प्रश्न त्यही थियो । बादी परिषद्ले ऊक्त विरोधको कार्यत्रम गर्दै छ भन्ने थाहा पाएपछि मैले बादी परिषद्का अध्यक्ष केशव बादीको फोन नम्बर पत्ता लगाएर तत्कालै फोन गरें । ‘नथिया उपन्यासलाई लिएर तपाईंहरूको आपत्तिसम्बन्धी समाचार पढें मैले । विरोधका कार्यक्रमबारे पनि थाहा पाएँ । किताबका कुराहरूलाई लिएर तपार्इंहरूको आपत्ति हो भने पहिले त एक पटक लेखकलाई सम्पर्क गर्नुपर्ने होइन र ? लेखकले आपत्तिजनक शब्द वा वाक्यहरू सच्याउन नचाहे बल्ल विरोधका अन्य कार्यक्रमहरू गर्नुपर्ने होइन र ?’ केशवजीसित एकसाथ केही थान प्रश्न गरें ।


‘हामीसित तपाईंको फोन नम्बर थिएन,’ उहाँले भन्नुभयो । ‘पत्रकार सम्मेलन गर्न सक्ने तपाईंहरूले एउटा लेखकको फोन नम्बर नै पत्ता लगाउन नसक्ने त पक्कै हुँदैन । चाहेको भए कुनै न कुनै पत्रकार वा लेखक मार्फत फोन नम्बर पत्ता लगाएर सम्पर्क गर्न सक्नुहुन्थ्यो । मैले पनि त तपार्इंको फोन नम्बर पत्ता लगाएर नै फोन गर्दै छु अहिले,’ मेरो तर्कमा उहाँले थप कुनै तर्क राख्नुभएन । नम्बर नभएको नै दोहोर्‍याउनुभयो । ‘किताब निस्किएको छ महिना भइसक्यो । यतिन्जेल तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? मदन पुरस्कारको सर्ट लिस्टमा पर्नासाथ एक्कासि विरोधको कार्यक्रम कसरी तय भयो ?’ कताकता मेरो मनमा पसेको चिसोलाई मैले पोखें ।


‘किताब निस्किएको थाहा थियो, हाम्रोतिर किताब ढिलो आएकाले पढ्न पाइरहेका थिएनौं, बल्ल पढ्यौं,’ उहाँले भन्नुभयो । यो कुराले मेरो चित्त बुझेन किनभने किताब विमोचनलगत्तै लगभग सबै सहरहरूमा पुगिसकेको थियो । ‘किताबको कुन शब्द, वाक्यमा आपत्ति हो ? म तपाईंहरूसित भेटेर कुरा गर्न सक्छु ?’ मैले भनें । ‘हामी काठमाडौंमा छौं । कुरा छ भने तुरुन्त काठमाडौं आउनुस् । होइन भने केही दिनमा हामी विरोधका कार्यक्रम सार्वजनिक गर्दै छौं,’ केशवजीले भन्नुभयो । ‘किताब निस्किएको ६ महिनापछि बल्ल पूर्व जाँदै छु । त्यहाँको कार्यक्रमलगत्तै काठमाडौं आएर तपाईंहरूलाई भेट्छु । छोरा सानो हुनाले भन्नासाथ हिँडिहाल्न सक्दिनँ । केही दिन कुर्दिर्नुस्,’ अनुरोध गरें मैले । उहाँ पर्खने मुडमा हुनुहुन्थेन । भन्नुभयो, ‘आउने भए तुरुन्तै आइहाल्नुस्, होइन भने हामी कानुनी बाटो समात्छौं ।’


‘म तुरुन्त आउने प्रयास गर्छु । सकिनँ भने पनि पूर्वको कार्यक्रम सकेर भेट्छु । त्यतिन्जेल कुर्दिनुहोला,’ मैले फेरि पनि अनुरोध टक्र्याएँ । मलाई तुरुन्त काठमाडौं जान मिलेन । पूर्वतिर लागें । पूर्वमा झापा र इलामको कार्यक्रम सकेर साहित्यकार मुनाराज शेर्माको घरमा के पुग्नासाथ मैले केशवजीलाई फोन गरें, ‘म भोलि काठमाडौं आउँदै छु । भोलि भेटेर किताबका सम्बन्धमा यहाँहरूको के कुरामा चित्त नबुझेको हो विस्तृतमा छलफल गरौं हैं,’ मैले भनें । उहाँको जवाफ आयो, ‘हामीसित तपाईंसँग गर्नुपर्ने कुनै कुरा छैन । हामी कानुनी उपचार खोज्ने निणर्यमा पुगिसक्यौं । तपाईंलाई केही भन्नु छ भने भेटौं, तपाईंका कुराहरू सुनिदिउँला ।’


‘मेरो किताबलाई लिएर तपाईंहरूको समस्या हो भने कुरा त झन् तपाईंहरूले पो गर्न खोज्नुपर्ने हो मसित । म आफैंले नम्बर खोजीखोजी सम्पर्क गर्दासमेत तपाईंहरूले हाम्रोतर्फबाट गर्नुपर्ने कुरा छैन भन्नुहुन्छ । यो कस्तो तरिका हो ?’ मनमा झनक्क रिस उठे पनि रिस दबाएरै बोलें म ।
‘तपाईं तुरुन्तै काठमाडौं आउनुभएन । हामीले आफ्नो तरिकाले विरोधका कार्यक्रमहरू सेट गरिसक्यौं,’ उहाँ आफ्नो बोलीमा दृढ सुनिनुहुन्थ्यो । ‘ठीकै छ त्यसो भए । समयमै फ्लाइट भयो भने म ११ बजेभित्रै काठमाडौं आइपुग्छु । भोलि १ बजे तपाईंको समूहका २–४ जना अगुवासित भेट्ने व्यवस्था मिलाइदिनुस्,’ मेरो कुरामा उहाँले ‘हुन्छ’ भनेर फोन राख्नुभयो । फोन राखिसकेपछि एकदम नरमाइलो लाग्यो । मुनाराज र बुकहिलका भाइ रमेश घोडासैनीसित केशवजीसित भएको कुराकानी सुनाएँ । मुनाराजजीले भन्नुभयो, ‘किताबमा आपत्ति छ भन्ने तर लेखकसित एक पटक पनि भेटेर कुरै नगरी कानुनी बाटो समात्छौं भन्ने कुरा मनासिब सुनिएन । उहाँहरू लचकदार हुने छाँटै नदेखिएपछि तपाईं झुकीझुकी भेट्न नजानुस्, बरु तपाईं पनि कानुनी कुराको जवाफ कानुनी ढंगले नै दिनुस् ।’ रमेश भाइको सल्लाह पनि उस्तै रह्यो । मैले पनि मन दह्रो बनाएँ । मभित्रको लेखकीय अहम्ले पनि मुन्टो उठायो । ‘तपाईंसित गर्नुपर्ने कुरै छैन’ भनेपछि म मात्र आफ्नो कुरा सुनाउन किन भेटूँ ? लेखकको पनि त
आफ्नो स्ट्यान्ड हुनुपर्छ ।


फ्लाइट डिले भएकाले म १ बजे काठमाडौंमा आइपुगें । १ बजेर ५ मिनेटमा केशवजीको फोन आयो, ‘हिजो तपाईंले आफ्ना कुराहरू राख्छु भन्नुभएको थियो तर १ बजे फोन गर्नुभएन त !’ मैले भनें, ‘हो भेट्छु भनेथें तर तपाईंहरूको मसित गर्ने कुरा नै छैन भनेपछि मेरो मात्र एकोहोरो कुरा सुनाउन भेट्नुको कुनै तुक देखिनँ मैले । अब एक पक्षले के गर्ने भनेर पहिले नै निणर्य गरिसकेको अवस्थामा मलाई पनि भेट्न जरुरी लागेन ।’ मैले आफ्नो दृढता पोखें । उहाँले ‘हस् धन्यवाद’ भन्दै फोन राख्नुभयो ।


उहाँले फोन राखेलगत्तै मलाई बादी समुदाय उत्थान विकास समितिबाट फोन आयो । समितिका कार्यकारी निर्देशक महेश नेपाली (बादी) को फोन थियो त्यो । महेशजीले भन्नुभयो, ‘बादी विकास समिति सरकारी निकाय हो । यो निकायमा बादी समुदायका केही व्यक्तिहरूले तपाईंको किताबलाई लिएर कुरा गर्न आएकाले सत्यतथ्य के रहेछ जान्न फोन गरेको । सक्नुहुन्छ भने एक पटक भेटेरै कुरा गरौं न !’


म उहाँको अफिस चाकुपाट पुगें । महेशजीको टेबलमै थियो ‘नथिया’ । उहाँले भर्खरै सरसर्ती किताब पढिसकेको र आरोपित कुरा सत्य भए, नभएको जाँच्न फेरि दोहोर्‍याएर किताब पढ्ने बताउनुभयो । उहाँले बादी परिषद्का अध्यक्षलगायतले लगाएको आरोपका सम्बन्धमा मेरो धारणा जान्न चाहेको बताएपछि मैले भनें, ‘एउटा जघन्य अपराधीलाई पनि आफ्नोतर्फबाट सफाइ पेस गर्न मौका दिइन्छ । तर मैले त्यो मौका पाइनँ । कम्तीमा उहाँहरूले पहिलो चरणमा लेखकसित कुरा गरेर मात्रै अन्य बाटाहरू खोज्नुपर्थ्यो । उल्टै म आफैंले सम्पर्क गर्दासमेत सहमतिमा आउने इच्छा देखाउनुभएन । लेखकको रूपमा मैले गल्ती नै गरेको रहेछु भने पनि गल्ती सच्याउन एक मौका दिनुपर्थ्यो । एक्कासि तैंले अपराध नै गरेको होस् भन्दै आफैं अदालत र आफैं न्यायाधीश बनेर एकतर्फी फैसला सुनाइयो । यसर्थ मेरो लेखकीय मन कुँडिएको छ ।’ महेशजीसित कुरा गर्दा मेरा ओठहरू काँपिरहेका थिए । म सायद बढी नै भावुक भएकी थिएँ ।


उहाँले केही अगुवा बादी महिलाहरूलाई पनि बोलाउनुभएको रहेछ । कोही नरम र कोही कडा रूपमा प्रस्तुत हुनुभयो । आवेगमा कुरा गर्नुको अर्थ थिएन, त्यसैले मैले प्रतिउत्तरमा केही भनिनँ । उहाँहरूको सम्मुखमा मैले ‘नथिया’ लेख्नुको उद्देश्य र लेख्दाका आफ्ना कठिनाइ र उत्सर्गका कुराहरू गरें । लगभग एक घण्टा जतिको उक्त कुराकानी सौहार्द रूपमै सकियो । अन्त्यमा महेशजीले ‘म बादी परिषद्का अन्य साथीहरूसित पनि कुरा गर्छु । यो केसलाई सकेसम्म आपसमै मिलेर सुल्झाउनुपर्छ’ भन्नुभयो । हिँड्ने बेलामा महेशजीको कुरामा आशाको मसिनो झिल्को महसुस गरेथें । अफशोच, त्यो आशाको झिल्को कहिल्यै दियालो बनेर बल्न पाएन ।


पोखरा फर्केलगत्तै समाचार पढें– बादी परिषद्ले ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ फिल्मले आफ्नो मानवाधिकार हनन गरेको भनेर मानवाधिकार आयोगमा उजुरी दिएको । उजुरीमा के छ मैले थाहा पाउन सकिनँ । अन्ततः आयोगकी सदस्य मोहना अन्सारीलाई फोन गरें । त्यसको २–४ दिनमा मेरो ठेगानामा मानवाधिकार आयोगबाट पत्र आयो, जसमा लिखित रूपमा स्पष्टीकरण माग गरिएको थियो । त्यतिबेला म तीन–चारवटा देशहरूको भ्रमणको तयारीमा थिएँ । मानवाधिकार आयोगले यति समयभित्र जवाफ दिनू नभनेकाले म आधा महिनाको विदेश भ्रमण सकेर मात्र जवाफ दिन्छु भनेर उतातिर लागें ।


म सिंगापुर हुँदा हो वा बालीमा हुँदा, म्यासेन्जरमा बुकहिल प्रकाशनका भुपेन्द्र खड्काजीले ‘नथियालाई लिएर लेखक तथा प्रकाशक दुवैमाथि सर्वोच्च अदातलमा मुद्दा परेको छ । लेखक तथा प्रकाशक तुरुन्त अदालतमा हाजिर हुनुपर्ने भो,’ भन्नुभयो । म यात्रा बीचैमा रोकेर फर्किन सक्दिनथें । त्यसैले ‘जे–जे गर्नुपर्ने हो, तपाईं गर्दै गर्नुस्’ भनें ।


त्यो २०७५ असोज महिनाको कुरा थियो । बीचमा एक, दुई पटक पेसी सरे पनि वादी–प्रतिवादीबीच गरमागरम बहस भयो । हाम्रोतर्फबाट वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी, प्रेमसिंह धामी र श्यामबहादुर पाण्डेले बहस गर्नुभयो । बहसपश्चात् २०७५ फागुन १५ गते निर्देशनात्मक आदेश जारी गरिने भन्ने अदालतको फैसला आयो । अदालतको फैसलाको पूर्णपाठ नआउँदै अनुमानका भरमा लेखकहरूले मुद्दा हारेको भन्ने आशयमा भ्रामक समाचार पनि आए । अन्ततः चैत २७ गते अदालतको फैसलाको पूर्णपाठ आयो ।

अदालतको फैसला
‘...विवादित कृतिहरूको अध्यननबाट बादी समुदायप्रति खराब भावना वा कुनै पूर्वाग्रह राखेर तयार गरिएको भनी मान्न सकिने अवस्था देखिंदैन । लेखकीय भावना सुधार, परिवर्तन र मूल राष्ट्रिय जीवनमा बादी समुदायलाई प्रवाहीकरण गर्नेतर्फ नै अभिमुख रहेको प्रतीति हुन्छ । ...बदेनी, पातर, वेश्या, रखेलजस्ता शब्दहरू सम्मानजनक शब्द हुँदै होइनन् । तर उपन्यासमा यस्ता शब्दहरू बादी समुदायका महिलाहरूलाई गाली गर्न, होच्याउन वा अपहेलित गर्न प्रयोग गरिएका हुन् कि बादी समुदायका मानिसहरूले भोग्नुपरेको अपमान, पीडा वा कथाव्यथालाई उजागर गर्ने हेतुले उल्लेख गरिएका हुन् भन्ने पक्ष महत्त्वपूर्ण छ । उपन्यासको अध्ययनबाट उल्लिखित शब्दहरूको प्रयोग परिस्थिति र परिवेशको चित्रण गर्नर्का लागि भएको देखिन आउँछ । ...उपन्यासमा प्रयोग गरिएका केही शब्दलाई लिएर लेखकीय स्वतन्त्रतामा अंकुश लगाउने किसिमबाट हेरिनु वा अर्थ लगाउनु विवेकपूर्ण देखिंदैन ।’


माथिका शब्दहरू न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमबहादुर श्रेष्ठको संयुक्त इजलालले गरेका फैसलाका हुन् । सर्वोच्चको फैसलाको पूर्ण पाठको बुँदा २९, ३० र ३१ मा यी कुरा छन् । फैसलामा स्पष्टसँग लेखकहरूका लागि कुनै परामादेश जारी गर्न आवश्यक नरहेको भनिएको छ । अर्को किताब लेख्दा वा अर्को संस्करण निकाल्दा सम्बन्धित व्यक्ति, वर्ग वा समुदायको भावनामा आघात नपुग्ने गरी लेख्न र प्रकाशन गर्न ध्यानाकर्षण गरिएको छ । निर्देशनात्मक आदेश भने चलचित्र बोर्ड तथा चलचित्र जाँच समिति एवं नेपाल सरकारका मन्त्रालयहरूको नाममा जारी गरिएको छ ।

र, अन्त्यमा
‘नथिया’ को मूलकथाको नायिका जो भए पनि उपन्यास बीजारोपणकी नायिका उमा बादी हुन् । २०६४ सालमा सिंहदरबारको गेटमा पेटिकोट मात्र लगाएर आफ्नो समुदायको हकहितका लागि सत्तालाई चुनौती दिंदै आन्दोलनरत उमा बादी र उमा बादीजस्ता एक हूल महिलाहरूको हाँक देखेपछि नै मैले बादीहरूको कथामा आख्यान लेख्ने सोच बनाएकी थिएँ । यो किताब त्यही आन्दोलनप्रतिको ऐक्यबद्घता हो ।


संयोग कस्तो भने जसलाई देखेर मैले उपन्यास लेख्ने सोच बनाएकी थिएँ, उहाँकै हातबाट यसको विमोचन पनि भयो । विमोचनअगावै कथाको सारसंक्षेप उहाँलाई सुनाएकी थिएँ, भूमिका अक्षरशः र केही अध्यायहरू आफैंले पढेर । हामीले लेख्नुपर्ने हाम्रो कथा बैनीले दुःख गरेर लेख्दिनुभएछ भन्दै भावुक भएर उहाँले अँगाल्नुभएको क्षण म कहिल्यै भुल्न सक्दिनँ । मानवाधिकार आयोगदेखि सर्वोच्च अदालतसम्मको यात्रामा उमा दिदी सधैं शक्ति बनेर मसँगै उभिनुभयो । फोनमा हुने हाम्रो कुराकानीमा जुझारु दिदीको स्वरमा उही र उस्तै आभा हुन्थ्यो सधैं । भन्नुहुन्थ्यो, ‘नथियालाई मैले विमोचनमा बादीहरूको गीता भनेकाले आधा मान्छेहरू उमा बादीमाथि खनिएका हुन् र तपाईंको किताब सबैले मन पराएकाले आधा मान्छेहरू तपाईंमाथि खनिएका हुन् । यो लडाइँ उमा बादीहरूको पनि हो । तपाईं पत्रकार सम्मेलन गर्नुस् । मानवाधिकार आयोग र सर्वोच्च अदालतमा पनि बोल्न बोलाउनुस् । नथियाको पक्षमा म बादी अगुवाहरू लिएर राजधानीमा लड्न आइपुग्छु ।’


उहाँले एक पटक ५–६ जिल्लाका बादी दाजुभाइ दिदीबैनी जम्मा गरेर राजधानी आउने तयारीसमेत गरिसक्नुभएको थियो । दिदीका शब्दहरू र आँटले ऊर्जा त दिन्थ्यो तर उहाँहरूलाई सडकमा ल्याएर विरोध गर्न मलाई कहिल्यै मन लागेन । उहाँले पटकपटक भन्दा पनि म नै तयार भइनँ । एउटा किताबको पक्षमा एक हूल बादी अगुवा र विपक्षमा अर्को हूल अगुवाहरू सडकमा ओर्लंदा किताबको त सित्तैमा विज्ञापन होला तर बादी समुदायभित्रको फुट र वैमनस्यता सडकमा छताछुल्ल पोखिन्थ्यो । यसले अन्ततः घाटा बादी समुदाय र आन्दोलनलाई नै हुन्थ्यो, जुन समुदायको उत्पीडन र संघष उजागर गर्न मैले मिहिनेत गरेर किताब लेखें, त्यही किताबका कारण समुदाय दुई कित्तामा उभिएर आन्दोलन गरोस्, त्यो मलाई पाच्य थिएन । लडाकु स्वभावकै भए पनि म बादी समुदायप्रति आफूलाई यति गहिरोसित जोडिएको पाउँथे कि मविरुद्घमा पटकपटक आक्रमण हुँदा पनि मौन नै बसिरहे सधैं । मेरो मौनतालाई कमजोरी ठानियो कतिपय अवस्थामा । ‘नथिया सरस्वतीले लेखेको भए पो बोल्थी, अरूले लेखेर आफ्नो नाममा किताब निकालेपछि चुप त बस्ने नै भई’ भन्नेसम्मका टिप्पणीहरू सुनें ।


किताबका केही नामहरू जीवित मान्छेका नामसित जुध्नाले हाम्रो अपमान भयो भन्दै हनुमानढोका प्रहरी परिसरमा पनि मेरोविरुद्व उजुरी हालिएको थियो । अदालतमै विचाराधीन रहेको किताबबार प्रहरीले कुनै निर्णय गर्न मिल्दैन्थ्यो । त्यसैले कानुनी राय लिएर नै अदालतको फैसला नआएसम्म हनुमानढोकामा स्पष्टीकरण दिन गइनँ । यस्तोमा सरस्वती डराएर हनुमानढोकामा गइनसमेत भन्न भ्याए केहीले । मेरो मौनतामा प्रत्यक्षतः म हारेजस्तो देखिए पनि अन्तत जित बादी समुदायकै हुन्थ्यो । बादी समुदायको लडाइँको परिदृश्यमा लेखकले त जितेजस्तो देखिएला तर हार बादी समुदायकै हुन्थ्यो । मलाई बादी समुदायको हार कदापि स्वीकार्य थिएन ।


इतिहास साक्षी छ, काला जातिहरूको उत्पीडन र दुःखका कथाहरू पहिले गोरा लेखकहरूले लेखेका हुन् । पशुझैं बेचिएर बँधुवा जीवन बाँच्न बाध्य काला जातिहरूको इतिहास, सुस्केरा र ऐंठनको कथा गोराले लेख्दा काला जातिकाहरूले अपमान महसुस गरेनन्, बल्कि हाम्रो स्वतन्क्रता र मुत्तिको अभिप्रायले नै लेखेका हुन् भनेर स्विकारे । हाम्रो घाउको कथा लेखेर तिमीहरूले हाम्रो घाउको बेइज्जत गर्‍यौ भनेनन् । आज स्वयं काला जातिकै चिनुवा अचेबे, टोनी मरिसन, चिमामान्डा अदिची, माया एन्जेलोहरू आफ्नो कथा आफैं लेख्छन्, लेखिरहेछन् ।


बादीका कथाव्यथा स्वयं बादीहरूले नै लेखेर नपस्केसम्म कसै न कसै लेख्नै पर्थ्यो । संवेदनशील मुद्दामा कलम चलाउने जोखिम मोल्नै पर्थ्यो । त्यसैले हिजो रामकृष्ण मजगैंयाले ‘अपराजिता’ खण्डकाव्य लेखे । मदन पुरस्कार विजेता रामलाल जोशीले ऐना कथासंग्रहभित्र ‘भर्जिन’ कथा लेखे । राजेन्द्रकुमार आचार्यले ‘बादी’ उपन्यास लेखे । विवेक ओझाले ‘ऐलानी’ लेखे । मैले ‘नथिया’ लेखें । अन्यायमा परेमा अदालतको ढोका ढकढकाउनु एउटा कुरा हो । आपसी छलफलबाटै टुंगिन सक्ने किताबको कुरालाई अदालतमा पुर्‍याइनुमा मेरो हिजो पनि विमति थियो, आज पनि छ । यसरी सिर्जनशीलतालाई कठघरामा उभ्याएर प्रश्न सोधिन सुरुआत हुनु गतिलो संकेत होइन ।


अदालतले नै बोलिसकेपछि लेखक नबोले पनि हुन्थ्यो । किनकि अदालतको फैसलाको बुँदा ३५ ले आगामी संस्करणका लागि ‘विद्वान्हरूलाई इसारा नै काफी छ’ भनेर लेखकहरूलाई स्वविवेकमा काम गर्न स्पेस छोडिदिएको छ । अदालतको फैसला जे भए पनि एक लेखकको रूपमा सम्बन्धित समुदायप्रतिको आफ्नो जिम्मेवारीपनप्रति पूर्णतः सचेत छु । लेखक पनि कमीकमजोरीसहितकै मान्छे हो । ‘नथिया’ मा जानाजान नगरे पनि अन्जानमा कहिकतै कसैको चित्त दुखेमा वा चित्त नबुझेमा त्यसको जिम्मेवार मै हुँ । लेखकीय स्वतन्त्रताको सम्मान गरिदिएकोमा अदालतको न्यायिक फैसलाको सम्मान गर्छु । अझै पनि कहींकतै कसैको मन कुँडिएको छ भने सँगै बसेर छलफल गर्न र निकास निकाल्न म हरदम तयार छु ।
twitter@saraswati_prati

प्रकाशित : वैशाख २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?