२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुम्ला कारागार, मो त गइकिन आइगें

साँधेको हिउँ कचौरामा टक्क ल्याएर मेरो अघि राखिदिए । बाहिर स्याँठ चलिराखेको छ, ज्यान ज्याकेटमा पनि सिउसिउ गर्दैछ । तैपनि कालोखैरो चटपटे हिउँले लोभ्याइरहेको छ । जे त पर्ला, एक चम्चा ग्वाम्म हालें । आहा ! स्वाद त आइसक्रिमभन्दा सानदार, भोगटेभन्दा मजेदार
शिवानीसिंह थारू

हिमाली जीवन हेरेर रोमाञ्चित हुनु छ भने मान्छे मनाङ जाओस्, नाम्चे जाओस् । पहाड उक्लिएको छु भनेर गर्व गर्न अन्नपूर्ण सर्किटको फेरि लगाओस् । सहरियाले यति सुविधा पाएपछि हिमाली जीवन हेर्न नै भनेर किन जाओस् जुम्ला, हुम्ला र डोल्पा !

जुम्ला कारागार, मो त गइकिन आइगें

ढुंगे पहाड हिँडेर कहाली छुटाउन किन जाओस् कालिकोट, जाजरकोट र बझाङ । दुखिया देशका सुसाइ कविता र उपन्यासमा पो ‘ब्लुज’ बन्न सुहाउँछ । ती देशका ‘मान्ठा जब डराउँछन्’ तब पो पढ्दा टेस पुग्छ ।


तर, म सहरियाले जुम्लै जान्छु भनेर सकार्‍यो । खुरुक्कन । उता कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले रेजा लगाए । ठ्याक्कन । योजना पक्का भयो ।


सन्दर्भ हो ‘कारागारलाई किताब’ अझियानको । र, म जोडिएँ कथाकार महेशविक्रम शाहको सत्रियताले । यो अभियानको उद्देश्य कर्णाली प्रदेशको दसवटा जिल्लाका कारागारमा पुस्तकालय स्थापना गर्ने हो । त्यसो भए के यसभन्दा अघि कारागारमा पुस्तकालय नै थिएनन् ? थिए तर गलित र थलित अवस्थामा । पुस्तकालयको नाममा एउटा र्‍याकमा केही थान किताबहरू लडेका हुन्थे । ती पनि स्थानीयले बाँडेका किताबहरू ।


जुम्ला कारागारमा जब महेशविक्रम शाह प्रदेशका प्रहरी प्रमुखको रूपमा पुगे, तिनले कैदीहरूसित सोधेछन् त्यहाँका गार्‍हासार्‍हा । यही क्रममा एक जना कैदीले आफूले र्‍याकमा भएको किताब दस–दसचोटि पढिभ्याएको भनेछन् । डीआईजी सा’ब छक्क !

र्‍याकरूपी पुस्तकालयमा अरू किताब पनि थपियोस् भनेर भन्दा उनलाई घत परेछ । सुरक्षाकर्मी कम साहित्यकार बढी भएर सोच्दा उनलाई ‘हो त नि !’ भन्ने भएछ । व्यवस्थित पुस्तकालय जुम्ला कारागारमा मात्र किन ? कर्णाली प्रदेशका अन्य जिल्ला पनि हुनुपर्छ भनेर खट्केछ । ‘कारागारलाई किताब’ अभियान यसैबाट शुरु भयो । हाललाई ठूलाठूला परिणामतिर नसोची कैदीबन्दीहरूमा किताबी संसारको कौतूहलले सके कन्याउने, नत्र एक दिन भए पनि कारागारलाई साहित्यमय बनाउने । बास् !


यही उद्देश्यका साथ चैत २३ गते हामी लेखकहरू कारागार जाने भयौं । हामी अर्थात् कुमार नगरकोटी, सुबिन भट्टराई, अमर न्यौपाने, अर्चना थापा, युग पाठक, उमा सुवेदी, कुमारी लामा, शेखर खरेल, नयनराज पाण्डे, सनत रेग्मी, नवराज पराजुली । अनि म । दुई–दुई जनाको समूह नत्र एकै जना भए पनि जाने भयौं सुर्खेत, सल्यान, दैलेख, जुम्ला, जाजरकोट, डोल्पा, रुकुम र कालिकोट । त्यहाँ थपिएर चिरिच्याँट बनाइएका पुस्तकालय हेर्न पाउने भयौं । किताब, अध्ययन, साहित्यमाथि कैदीबन्दीहरूसित अन्तरक्रिया गर्ने भयौं ।
मलाई जब यो कार्यक्रमका लागि फोन आयो । आफू एक छिनका लागि कैदी भएर सोच्दा मनमा आयो– चार किल्लाभित्र जमेको समयलाई सलल बगाउन पढ्नुभन्दा उत्तम निकास के होला र ? बाहिरी संसारमै पर्याप्त पुस्तकालयको अभाव छ । यस्तोमा पुस्तकालय राख्नु त्यो पनि कारागारमा, सुन्दै बडो पुण्यको काम लाग्यो । मलाईचाहिँ दुर्गम नै पठाउनुस् । यही अनुरोध गरेकी थिएँ महेश दाइलाई । जतिसक्दो टाढा । र मेरो भागमा पर्‍यो जुम्ला । जतिसक्दो टाढा एक्लै यात्रा गर्नु भनेको दिशाभ्रममा पर्नु । हराउनु । अनि फेरि आफैंलाई पाउनु हो । यस्तो कसरत नगरी बस्नु भनेको एउटै दिनचर्यामा थपक्किनु हो । थपक्किनु अर्थात् छेउ लाग्नु । छेउ लाग्नु भनेको लेउ लाग्नु हो ।
...

२१ चैतको साढे एक बजे फिलफिले लुगा लगाएर जहाज चढें । भतभत पोल्ने नेपालगन्जको भुइँ छोडेको पन्ध्र मिनेटमात्र भएको थियो, मास्तिरको सिउसिउ बनाउने हिम युग आइपुग्यो । जहाजको झ्यालबाट मैले जे देखें, त्यो हेरिरहन सकिनँ । हतपत मोबाइल झिकें, क्यामेरा खोलें र खिच्न थालें । कतिसम्म भावविभोर भएँ भनें आफैंमा अटाउन सकिनँ । साथी भए कुहिनाले घुच्याएर सकार्न लाउनुहुन्थ्यो, ‘है, क्या गजब !’ त्यसैले छेउकालाई भने, ‘हिमाल क्या नजिक है ।’


‘कहाँ हुनु यो हिमाल,’ ऊ भन्छ, ‘डाँडा हुन् । हिउँले ढाकेका । अझसम्म नि पग्लेका छैनन् ।’ सहरिया गँवार हिस्स । पछि थाहा भयो जुम्लीहरूका अनुसार यस वर्ष पैंतीस वर्षसम्मकै सबैभन्दा धेरै हिमपात भएको रे । होला पनि ! मैले सम्झिएँ । काठमाडौंसम्म हिउँ परेर चन्द्रागिरि र शिवपुरी डाँडा त ट्विटरमा एकदिने सेलिब्रेटी भएका थिए । अनि किन नहोस् त जुम्लाका सुरेली डाँडा चिप्लेटी खेल्नेजस्ता स्विजरल्यान्डीय भूदृश्य ।


अबचाहिँ मेरो छेउको जुम्लेलीलाई थाहा भयो । उसको छेउमा जुम्लामा खुट्टै नटेकेको देशी जाँदै छ । अनि त सुरु भयो हवाई मार्गको कमेन्ट्री । यो कालिकोट, यो माबुङको लेक, ऊऽऽ त्यो ठाकुरज्यू र विष्टज्यू उक्लिने फेद । उः जुम्लाको एयरपोर्ट !


आइसक्यो ! मेरो ढाड सोझियो । ब्यागेज ट्याग स्टिचिएको बोर्डिङ पास च्यापेर झ्यालमा जोतिएँ । र, तल्तिर हेर्न लागें । चिलका आँखा पारेर मैले तिला कर्णालीको छेउछाउ फैलिएको खलंगाभरि नजर फैलाएँ ।


एक्कासि जहाज हल्लिन थाल्यो । हावाले पल्टाउलाझैं गरी कावा खान थाल्यो । यो के भएको ? पहाडमा नठोक्किएको ट्विनअटर हावाले फिरफिराउन थाल्यो । कतै धावनमार्गमा नाकको बलले बजारिएर बगंलादेशी विमान हुने त हैन । मेरो त आन्द्रा हुँडलिन थाल्यो, यात्रुहरू वाक्क–हुक्क ! गर्न थाले । तल र माथि निफन्दा कानबाट दिमाग उछिट्टिएलाझैं भयो । हे चन्दननाथ ! खलंगामा टेक्न नपाई बान्ता गराउँदै स्वर्ग लाने भयौ ।


यो थियो जुम्ली हावाको आतिथ्य । जुम्लाले यसैगरी स्वागत गर्छ यदि बाह्र बजेपछि तपाईं जहाजमा खलंगा पुग्नुभयो भने । हामी तलकाले थाहा पाइआएको पश्चिमी हावा हैन । यहाँ दक्षिणी हावाले जहाज बस्न नदिने उत्पात गर्छ । यताहुँदो फेरि हावा चल्ने हैन, बग्ने पनि हैन, हुइँहुइँती वेगिन्छ । जुम्लामा प्याराग्लाइडिङ गर्ने हो भने त दपेटिएर हुम्लै पुगिने रहेछ । त्यसैले धावनमार्गमा हामीले ‘अवतरण’ गरेनौं, थ्याच्च लाएर थचारियौं ।


जुम्ला ओर्लिने चुमचुम हावाले झुत्ती खेलाएर झार्‍यो । ककपिटबाट दुई पाइलट फुत्तफुत्त झरे पनि मेरो कान बजिरह्यो । दिमाग हल्लिएकोले होला जीउ पनि हल्लिरहेझैं लाग्यो । ओर्लनेबित्तिकै भेट भए जिल्ला प्रहरी प्रमुख सीताराम रिजाल । भेट्नेबित्तिकै सोधे, ‘जहाजले कत्तिको हल्लायो ?’


धन्न कसैले सोध्यो भन्दै जोर दिएर भनें, ‘निकै नि !’


‘यो केही पनि होइन,’ भन्छन् बा उनी त । पछि थाहा भयो । यो ‘हल्लाउने’ प्रकरण जुम्ला उडानको नियमित आकस्मिकता रहेछ । कतिसम्म भने जहाजबाट ओर्लिनेबित्तिकैको सोधनी बनिसकेछ, ‘हल्लायो ?’


१२ बजेपछि हुइँकिने जुम्ली हावामा आर्द्रता छैन । शुष्क हावाले मान्छेको छालाको रङ पहिला ताछ्छ । त्यो कलेजी रातो हुँदै फुस्रो–कालोमा परिणत हुन्छ । अझ दिउँसोतिर आँखा चिम्लेर हावाको वेग सुन्नुपर्छ । हुइँहुइँको ध्वनिले उराठ चल्छ । बीच बजार पनि एकलासे लाग्दै आउँछ । साथीबिना यात्रा गर्नुको फाइदा । एक्लो यात्रामा ठाउँ सुनिन थाल्छ ।


यहाँको फुस्रो हावाले मान्छेका अनुहार धुस्रो बनाए पनि, यही हावाले चामलमा रातोपन भर्छ । स्याउमा गुलियोपन ल्याउँछ । टिम्मुरमा परपराउने स्वाद भर्छ । सिमीको दालमा लेसाइलोपन थप्छ । जिम्मुमा खाऊँखाऊँ लाग्ने बास्ना हराहराउँछ । यहाँको हावाले प्रकृतिमा सञ्जीवनी भर्छ । जुम्ली मौसमले काकरेजी भएका रिजाल सरलाई हेरेर भन्न सकिन्थ्यो, उनी आएको एक वर्ष भएको छैन ।

नभए पनि उनले जुम्लाको जाडोचाहिँ खाइसकेका थिए । अर्थात् जुम्लाको कहर काटिसकेका थिए । म भने सहरी जिल्लाबाट आएको ‘जिल्लराम’ न परे । वरिपरि खलंगालाई घेरेको पहाडलाई हेर्दा, आफू पुड्किएको भान भयो । चिउँडो उचालेर हेर्नुपर्ने पहाड कति अजंगका होलान् । कल्पना गर्नुस् ।


सल्लाका रूखले ढाकेका पहाडका टुप्पामा हिउँ हेरेर म पुलकित भएँ । ‘आहा ! कति सुन्दर ।’


रिजाल सरचाहिँ उतापट्टि हेर्दै नहेरी भने, ‘हिउँ हेर्दा राम्रो । बेहोर्न बडा गार्‍हो ।’ जाडोका कहर बाँचिसकेका रिजाल सर हिउँको हिउँपन भन्न सक्ने भएका थिए । हिउँ पर्दा जति मोहक देखिन्छ, छुँदा जति भुवादार लाग्छ । पग्लिदा उत्तिकै दिक्क लगाउँछ ।

बिस्तारै पग्लिने भएकाले छानाबाट पानी तप्पतप्प चुहिरहन्छ । दिनभरि, रातभरि, हप्तौं दिनसम्म तप्पतप्प सुन्दै बस्दा कति उच्चाहट लाग्छ । तलको माटो पनि भिजिरहने भएकाले भुइँ सुक्न पाउँदैन । सुक्खा जमिन टेक्न नपाएर सिकसिको लागिरहन्छ । हिउँको बेहोरा सुनेर मलाई प्रसिद्ध चित्रकार पिकासोको याद आयो ।


दुई प्रेमिकालाई झगडामा भिडाएर आफू चित्रमा मग्न हुने पाब्लो पिकासो कुख्यात प्रेमी थिए । उनकी एक जना पूर्वप्रेमिकाको कथन– ‘विश्व प्रसिद्ध पिकासो टाढाबाट हेर्दा भव्य लाग्छन् । उनीसितै बाँच्न भने गार्‍हो ।’ सुन्दर चीज नपाउन्जेल सुनको मृग, पाएपछि रामायण !


महिनौं दिनसम्म हिउँ थुप्रिने भएकाले यहाँको घरको छानो एकपत्र माटोले छाइएको हुन्छ । घर चुहिनबाट बच्न छानोलाई माटोको गद्दा । उपाय नि बड्डा !


तिला कर्णाली सुसाएको सुन्दै हामी पुग्यौं होटल । विमानस्थलबाट ओरालो टुङ्गिने कुइनेटामा पर्छ ‘पौवा’ । गुल्मेली भण्डारी दाइले खोलेका । चिसो ठाउँमा न्यानो सत्कार दिन कसैले यिनैबाट सिकोस् । स्यानो होटलको विशेषता नै यही । ढोकाको पाले, तौलिया चप्पल दिने कारिन्दा र मालिकसम्म सबै चिनारु भइहाल्ने ।

अन्तिम दिन जहाज नआएर होटल फर्किंदा सबै कत्ति खुसी भएका । पहिलो दिन होटल छिर्नेबित्तिकै भोक लागेको थियो । नेपालगन्जमा तिर्खा मात्र लागिरहेको थियो । जुम्लाको चिसोले भोक जगायो । वा होटलको रिसेप्सन जिम्मुको खारले रगमगाएर आँत भोकायो । जे ले भए पनि भन्नचाहिँ लजाइन, ‘भोक लाग्यो ।’


भण्डारी दाइले होटलको मेनुको सट्टा आफैंले खर्रर्र लाएर खानाको परिकार भट्याए । त्यसमा उनले मोमो र चाउमिन भन्न छुटाएनन् । भन्छन् प्रायः अमेरिकीहरू विश्वमा जहाँ पुगे पनि अमेरिका खोजी हिँड्छन् । हुँदाहुँदा प्लेटमा पनि अमेरिका नै खोजिरहेका हुन्छन् । हामी काठमाडौंमा बस्नेहरू पनि जहाँ गए पनि मोमो खोजी हिंड्छौं भन्ठाने कि भण्डारी दाइले ? उही पुरानो स्वादले म फेरि काठमाडौं किन फर्कूं ? मलाई यहीको परिकारमा भिज्नु थियो । जुम्ली स्वाद थाहा पाउनु थियो ।


त्यसैले सिमीको दाल, मार्सी भात र भाङको अचार खाने भएँ । मार्सी श्रमजीवी जुम्लीको तागतिलो भर हो । तर, जब ओली र प्रचण्डको त्यो गोप्य ‘ज्युनार’ सेसन सामाजिक सञ्जालमा भाइरल भयो, मार्सी, मार्सी रहेन । मेडिकल माफियाको कथामा मार्सीको पनि मुख्य रोल देखिएकाले रातारात ‘सेलिब्रेटी’ भयो । अहिले यहाँ मार्सीको भाउ सयबाट डेढ दुई सयसम्म पुगेछ ।


यहींको परिकार मात्र खाने मेरो रहर बुझेर भण्डारी दाइ चुकचुकाए । भने, अल्लि अघि आएको भए साँधेको हिउँ खुवाउने थिएँ । साँधेको हिउँ ! सुन्दै सर्दी लाग्लाजस्तो भयो । तर साँधेको हिउँ कस्तो होला ? जति कल्पना गर्न खोजे पनि स्वैरकाल्पनिकजस्तो सुनिने खान्कीको स्वादसम्म पुग्न सकिएन । मेरो उत्कट चाहना गमेर भण्डारी दाइले उपाय लगाए । अर्को दिन उनले रिसेप्सनको भाइलाई माथि पाखासम्म पठाए ।


चैतमा खानलाई सफा हिउँ खोस्रिन पाखामा मात्र पाइन्थ्यो । दिनभरि लगाएर त्यो भाइले ल्याइपुर्‍याए । भान्से भाइले हिउँमा पादेनुन, खुर्सानी, चिनी र अमिलो मोले । अनि साँझ सात बजेतिर कचौरामा टक्क ल्याएर मेरो अघि राखिदिए । बाहिर स्याँठ चलिराखेको छ, ज्यान ज्याकेटमा पनि सिउसिउ गर्दै छ । तैपनि कालोखैरो चटपटे हिउँले लोभ्याइरहेको छ । जे त पर्ला, एक चम्चा ग्वाम्म हाले । आहा ! स्वाद त आइसक्रिमभन्दा सानदार, भोगटेभन्दा मजेदार । (लेख्दै गर्दा फेरि घुटुक्क थुक निले !)


मान्छे प्रकृतिको प्रतिकूलतासित जुध्दा कि हार्छ कि जित्छ । तर जब मान्छेले प्रतिकूलतालाई नै माया गर्न थाल्छ, तब हिउँको चटपटे बनाउँछ । जुम्ली काइदा ! प्रतिकूलताले मान्छेलाई सिर्जनशील बनाएको पक्कै हो । अनि जुन कुरा दिमागले जित्न सकिन्न, मायाले हराउन सकिन्छ ।
....

२३ चैत शनिबार ‘कारागारलाई किताब’ अभियानको दिन । म, प्रजिअ दुर्गा बन्जाडे, जिल्ला प्रहरी प्रमुख रिजाल सर कार्यक्रमस्थल जुम्ला कारागारतिर लाग्यौं । त्यहाँ स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकारहरूलाई पनि निम्त्याइएको थियो । जुम्ला कारागार नयाँ भवनमा सरेको रहेछ ।

‘५८ सालमा खलंगामा माओवादीले सीडीओ कार्यालय, जिल्ला प्रहरी कार्यालय र कारागारमा एकैचोटि हम्ला गरेको थियो । त्यतिबेला सबै ध्वस्त भएको रहेछ । त्यही आक्रमणमा परी सीडीओ, दुई डीएसपी र नेपाल प्रहरीका ४७ जवान मारिएका थिए । राधा पौडेलको आत्मसंस्मरण ‘खलंगामा हमला’ त्यही घटनाबारे लेखिएको छ ।


जुम्ला कारागारको नयाँ भवन बजारभन्दा तलतिरको अग्लो फाँटमा थियो । कारागारको ठीक तलबाट तिला कर्णाली बगेको थियो । खलंगा बजारको कुनै कोणबाट पनि नछेलिने कारागार टाढाबाट किल्लाजस्तो देखिन्थ्यो । खलंगा टेकेदेखि मेरो आँखा घरीघरी त्यही गएर ठोकिन्थ्यो । कार्यक्रम कस्तो हुने होला ? उत्साह र आशंका एकै पटक लाग्थ्यो । यसभन्दा अघि म जेल कहिले गएकी थिइनँ । त्यसैले उत्साह लागेको थियो । नयाँ कारागार फराकिलो थियो ।

मुख्य चोक पुग्न करिडोर पार गर्नुपर्ने रहेछ । यो करिडोर सायद दशगजा हुनुपर्छ, दुइटा भूयथार्थ छुट्याउने सीमा । कसका लागि को ‘आउटसाइडर’ हो, तपाईं दशगजाको कतापट्टि उभिनुभएको छ भन्ने कुराले निर्धारण गर्छ । हामी मुख्य चोकमा पुग्यौं । कैदी बस्ने दुईवटा लङजस्तो भवन लाम्चिएको थियो ।

बीचको आँगन फराकिलो गल्लीजस्तो थियो । त्यही आँगनको एकछेउ अतिथि र अर्को छेउमा कैदीबन्दीहरूलाई बसाइएको थियो । बीचमा टेबल राखेर मञ्च बनाइएको थियो । उद्घोषण गर्न प्रहरी निरीक्षक नवीन ओली ठिक्क परेकी थिइन् ।


‘यो ठाउँ मैले आफैंले छानेर आ’की हुँ,’ एक दिनअघि नवीनले भनेकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा अघिल्लो साँझ भेट भएकी थिइन् उनी । महिला हिंसाको घटना अत्यधिक रहेको जिल्लाको अनुभूति उनको रोचक थियो ।

यहाँ घटनास्थलमा पुग्दा उनलाई हेरेर पनि स्थानीय ‘खोइ पुलिस ?’ भन्दा रहेछन् । इन्सपेक्टर उनी नै हुन् भन्दा अचम्म मान्दा रहेछन् । लोग्ने–स्वास्नीका झगडामा प्रायः महिलाकै दोष देखाउने समाजमा महिला इन्सपेक्टर हुनुले फरक पर्दोरहेछ । यो कुरा नवीनले स्पष्ट नभने पनि मैलेचाहिँ स्पष्टै महसुस गरें ।

त्यति माक्र कहाँ हो र कार्यत्रमकी अर्की अतिथि प्रजिअ दुर्गा बन्जाडेलाई जुम्लामा ‘सीडीओ सा’ब’ को रूपमा देख्दा स्थानीयहरू तीनछक परेका छन् । संघीय व्यवस्थामा कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको खबर पत्रिकामा आइरहेको छ । तर प्रायःले कर्णाली प्रदेश नरोजेको समाचार हामीले पढ्नुपरेको छ । यस्तोमा नवीन ओली र दुर्गा बन्जाडेजस्ता कर्मशीललाई भेट्दा आफूले राज्यलाई तिरेको करमा गर्व लाग्दो रहेछ ।


जुम्लामा अर्को नौलो के भएको छ भने यहाँ अहिले सीडीओ, मेयर, उपमेयर, इन्सपेक्टर सबै महिला छन् । यो ‘रिप्लिज बिलिभ इट अर नट’ संयोगले पक्कै प्रतीकात्मक अर्थ राख्छ । महिला अधिकारीको निर्णय वा उसको हस्ताक्षरलाई प्राधिकार मान्नुपरेपछि समाजले छोरीमा भविष्य खोज्न थाल्छ । छोरीमा भविष्य देख्ने समाजमा महिला हिसा हुँदैन । गाँठी कुरा ।


मञ्चको माइकमा नवीनले पुस्ताकालय उद्घाटनका लागि बोलाइन् । प्रजिअ दुर्गा र म पुस्तकालयतिर लाग्यौं । आँगनको अन्तिम कोठामा राखिएको रहेछ । न स्यानो न ठूलो, ठिक्कको रहेछ पुस्तकालय । र्‍याकमा पुस्तकहरू टम्म मिलेका थिए । मेरा आँखा आफ्नै उपन्यास पहिल्याउनतर्फ लाग्यो ।

‘उपन्यास’ लेखिएको र्‍याकमा नभेटिएपछि म त ‘राजनीति’ र ‘यात्रा’ तिर पो खोज्न थालें । एउटाले पछाडिबाट प्याच्चै भनिहाल्यो, ‘खोइ ‘काठमाडौंमा एक दिन’ ? लौ आजको अतिथि लेखककै किताब रहेनछ !’ यस्तोमा मलाई चार्ली च्याप्लिनको याद आइहाल्छ । म ङिच्च हाँसे । उनको स्केचहरू हेर्नुभएको छ भने थाहा पाइहाल्नुहुन्छ । मैले के भन्न खोजेको । भित्र खिस्रिक्क परे पनि बाहिर विनम्रतापूर्वक ‘बाउलर’ टोप निकालेर हल्का शिर निहुराउने । मेरो हाँसो मैलाई व्यङ्ग्य गरिरहेकै थियो भीडबाट कसैले भन्यो । ‘कैदीहरूसितै छ । पढ्न लग्या छन् । त्यसबारे सोध्छन् रे !’ म फेरि ङिच्च !


मन्तव्यबाट कार्यक्रम शुरु भयो । सीताराम रिजाल, प्रजिअ दुर्गा र नागरिक समाजका तोरण कठायतले मन्तव्य दिइरहँदा मेरो ध्यान कैदीहरूमा थियो । मन्तव्यले उनीहरूमा के कुरा खेलिरहेको होला भनेर मलाई खुल्दुली लाग्यो । उनीहरूको अनुहार पढ्न म एकेकलाई केलाउन थाले ।


त्यसपछि पालो आयो कैदीहरूको । अर्थात् ८२ पुरुष र ४ महिला कैदीका तर्फबाट मन्तव्य दिने पालो । वक्ता थिए सुर्खेतबाट सरुवा भएर आएका कैदी । भीडबाट तिनी सरक्क छुट्टिन्थे । गठिलो ज्यानमा कालो कमिज, कालो पाइन्ट, जेलले सपक्क मिलाएको केश । कद पाँच फुट एघार इन्च । उज्यालो आकर्षक अनुहार । हेर्दै अनमोल केसी मार्काका ‘हिरो’ जस्ता । ‘यिनी मोडल हुन्,’ रिजाल सरले खुसुक्क लाएर भने । मेरा आँखा झनै फारिए । र ध्यान तिनका हाउभाउतर्फ खिचिए ।


तिनले आफ्नो डायरी पल्टाए, हातमा लिए र माइकमा बोल्न थाले । तिनको मन्तव्य अंग्रेजीमा थियो । अंग्रेजीको उच्चारण र शब्द छनोटले थाहा हुन्थ्यो तिनको पठनपाठन बोर्डिङ स्कुलमा भएको हो । नेपालीमा भन्दा अंग्रेजीमा मनबोली खुल्दो हो । उनको मन्तव्यको सार जेलको नीरस जिन्दगी, परिवारबिनाको न्यास्रोपन र पुस्तकालयप्रतिको कृतज्ञता थियो । तिनका बारे जान्न मलाई अझ खसखस लाग्यो । मेरो छेउमा बसेकी दुर्गा बन्जाडेले भनिन् ।

तिनी मोडलिङ दुनियाँका मोडल मात्र हैनन्, जेलभरिमै ‘मोडल’ कैदी हुन् । तिनको असल आचरणले सजाय पनि केही माफ हुन्छ रे । उनको अभियोग के हो ? मैले सोध्न नहुने सोधे । दुर्गा बन्जाडेले ‘कर्तव्य ज्यान’ भनिन् । ग्याङ फाइटमा मान्छे मारेर आफैं थानामा आत्मसमर्पण गरेका रे । त्यसपछि मैले कार्यक्रममा सहभागी कुनै कैदीको अभियोगबारे सोधिनँ ।
....

कार्यक्रमको दोस्रो चरणमा कैदी र मेरो अन्तरसंवाद थियो । म कैदीहरुका प्रश्नले अचम्भित भएँ । एकजना कैदीले उपन्यास जसरी अन्त्य गरिएको छ त्यसबारे सोधे । अर्को कैदी अझ बौद्धिक निस्किए । उनले सोधे– उपन्यासको नायक घुर्ना सशस्त्र समूहमा लागेको छ । हिंसालाई तार्किक बनाउन ऊसित पर्याप्त कारण छन् । त्यसो भए लेखकको नाताले के तपाईं पनि हिंसामा विश्वास गर्नुहुन्छ ? उहिल्यै कुनै साहित्यिक बहसमा सोधिनुपर्ने प्रश्न मलाई यहाँ पो सोधिंदै थियो ।


अर्को एकजना कैदीले मार्मिक गुनासो गर्दै थिए । ‘जसरी विधवाको अनुहार एक बिहान हेर्नु हुँदैन भनेर भन्छन्,’ उनले भने, ‘त्यसरी नै कैदीलाई बिहानबिहान भेट्न गए भने दिन बिग्रिन्छ भन्छन् । र, हामीलाई बिहान कोही भेट्न आउँदैन । यस्ता अमानवीय व्यवहारलाई कसरी हटाउन सकिन्छ ?’


मलाई चस्स बिझायो । एकै पटक सबै कैदीको माया लागेर आयो । चारवटा कुर्सीमा अलग्ग बसेका महिला कैदीको झनै माया लागेर आयो । तिनका लत्रिएका शिर गएर उठाइदिन मन लाग्यो । यसको छुमन्तर उत्तर मसित थिएन । म आफूले जे गर्ने गरेको छु, त्यही भनिदिए । अन्याय चाहे मायाको रूपमा होस्, चाहे हेलाको रूपमा । आफूप्रति पूर्वाग्रह चाहे अन्जानमा होस्, चाहे जानाजान । त्यसविरुद्ध लड्ने । भद्रजनसित विनम्रतापूर्वक लड्ने । आक्रामकसित चोरीऔंला उठाएर लड्ने । बाँकीको चेतना फैलाउने काम तपाईं हामीले गर्ने त छँदैछ ।


यसरी ‘कारागारलाई किताब’ अभियान डेढ घण्टामा सकिनुपर्ने, तीन घण्टा लम्बियो । जेलबाट फर्कंदा मलाई लाग्यो म कुनै साहित्यिक भेलाबाट फर्किराखेको छु । सन्तुष्टि मिल्यो । चिन्ता एउटै हो । ‘कारागारलाई किताब’ अभियान नेपाल प्रहरीमा एउटा साहित्यकार फ्रहरी अधिकारी सक्रिय हुन्जेलसम्म मात्र हो ? वा सुधारगृह कार्यत्रमको अभिन्न पाटोको रूपमा स्थापित हुने हो ?

प्रकाशित : वैशाख २८, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?