हरिबहादुरको आक्रोश

खेलाडीलाई डाइट जुटाउन हरिबहादुर रोकायले धान कुट्ने र पिठो पिस्ने मिल खोलेका छन् । 'ट्रेनिङ गरेर मात्र हुँदैन डाइट खानुपर्‍यो,' रोकायले भने, 'म चाहन्छु मैले जस्तै अहिलेका खेलाडीले दुःख भोग्नु नपरोस् ।'
ध्रुव तुलाधर

जुम्लाका पूर्वधावक हरिबहादुर रोकाय बम्किँदै थिए, ‘हामी जहिल्यै विभेदमा पर्छौं । हरेकपल्ट यातायात भाडाबारे यस्तै समस्या भोग्नुपर्छ । यो सरकारले दिने हो । कसैको खल्तीबाट दिनुपर्दैन । बरु सक्दैनन् भने दिन्न भनोस् । मेरा खेलाडीलाई म आफैं भाडा तिरेर लैजान्छु ।’

हरिबहादुरको आक्रोश

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा भाग लिन दाङको तुलसीपुर आइपुगेको कर्णाली प्रदेश टोलीका लागि रोकाय आवाज उठाउँदै थिए । बेलझुन्डीस्थित नवर्निमित ट्र्याकमा प्रतियोगिता सकिनु अघिल्लो दिन राष्ट्रिय खेलकुद परिषद्ले बाँडेको यातायात भाडाप्रति उनको पूरै असन्तुष्टि थियो । कर्णाली प्रदेश टोलीमा जुम्ला, कालिकोट, जाजरकोट, रुकुम, सल्यान, सुर्खेतका खेलाडीसम्मिलित थिए ।


‘आ–आफ्नो जिल्लाबाट आउँदा कति भाडा लागेको त्यहीअनुसार लिने हो । त्यति दिँदैनन् भने भाडा लिस्टमा हस्ताक्षर गर्ने हैन खेलाडी हो’ भन्दै रोकाय उर्दी लगाइरहेका थिए । ‘हामीले प्लेन भाडा त मागेका छैनौं नि । आउँदा जाँदा नियमअनुसार पाउनुपर्ने गाडी भाडा पनि पूरा दिन्नन् । कति विकट ठाउँका खेलाडी आएका छन् । बस चढ्ने ठाउँसम्म आउन पनि घण्टौं हिँडेका छन् । त्यसको लेखाजोखा छैन । भाडाका लागि त संघर्ष गर्नुपर्छ, अरू त के कुरा गर्नु ?’ उनले गुनासो गरे ।


जुम्लाबाट सुर्खेत हुँदै दाङ आइपुग्दा एकतर्फी १८ सय रुपैयाँ बस भाडा तिरेकामा परिषद्ले साढे १५ सयमात्र उपलब्ध गराउने भएपछि प्रशिक्षक रोकायलगायत खेलाडीहरू आक्रोशित बनेका थिए । अन्य स्थानको भाडामा पनि त्यस्तै अन्तर थियो । एभरेस्ट म्याराथनका कीर्तिमानी धावक रोकायले स्मरण गराए, ‘विगतदेखि हामीले भोग्दै आएको समस्या हो यो । प्रतियोगिताको एक दिनअघि र पछि भत्तासहित आतेजाते खर्च दिनुपर्ने नियम छ । उस्तै परे त्यही दिन आएर खेल्दिए हुन्थ्योजस्तो गर्छन् खेलकुदका कर्मचारी ।’


राष्ट्रिय खेलकुदजस्तो महोत्सवमा भाग लिनु खेलाडीको ठूलो सपना हुनेगर्छ ।


आफ्नो वर्षौंदेखिको मिहिनेत प्रदर्शन गर्न उत्साही हुन्छन् । यस्ता झिनामसिना समस्यासँग जुध्नुपर्दा बिस्तारै उनीहरूको खेलभावना मर्दै जाने रोकायको तर्क छ । उनीहरूले आफ्नो खेलप्रति निश्चिन्त भएर खेल्न पाउनुपर्ने हो तर नेपालमा त्यो अवस्था छैन ।

त्यसमाथि विकट क्षेत्रबाट आउने खेलाडीको कुनै कदर नहुने उनको भोगाइ पनि हो । ‘खेलाडी छ त प्रशिक्षक हुन पाउँछन्, निर्णायक हुन्छन् अनि खेलकुद पदाधिकारी भनेर चिनिन्छन् । खेलाडी नै छैनन् भने हामी कहाँ हुन्छौं अनि तिनै खेलाडीप्रति विभेद ?’ खेलाडीको सम्मान हुनुपर्ने आवाज थियो उनको । खेलाडी उत्पादनमा कति मिहिनेत पर्छ त त्यो उनीभन्दा अरू कसलाई थाहा होला ।


हो, यस राष्ट्रिय खेलकुदमा कसैले लाग्दो बसभाडाका लागि संघर्ष गर्नुपर्‍यो, कसैले खेलेर घर फर्कंदासमेत राष्ट्रिय खेलकुदको किट्स (ट्र्याकसुट, ब्याग, जुत्ता) समेत भेटेनन् । कति खेलाडी प्रतिस्पर्धा गर्दा आफ्नो प्रदेशको जर्सीमा उत्रन पाएनन् ।

प्रदेश ५ का विभिन्न जिल्लामा छरिएर खेल आयोजना गर्दा धेरै खेलाडीले राष्ट्रिय खेलकुदको उद्घाटन र समापनजस्तो महत्त्वपूर्ण समारोहको अनुभव गुमाए । आफ्नो प्रदेशको झन्डामुनि रहेर मार्चपास गर्न पाएनन् । फरक खेलका साथीसँग चिनापर्चीको अवसरबाट वञ्चित भए । खाली आफ्नो खेल खेले, घर फर्के । बृहत् राष्ट्रिय खेलकुदको अवधारणा त्यो होइन । एउटै स्थानमा विभिन्न जिल्लाका खेलाडीको उपस्थिति हुँदा सबै समान रहेको अनुभूति र गौरव महसुस गर्नसक्नु राष्ट्रिय खेलकुदको मूलमर्म हो ।


जातजाति, भाषाभाषी, को धनी को गरिब, सहरिया होस् कि गाउँले । सबैलाई एउटै मालामा उनेर राष्ट्रभावमा ओतप्रोत पार्नका लागि नै बृहत् राष्ट्रिय खेलकुदको अवधारणा ल्याइएको जानकारहरू बताउँछन् । तर पछिल्लो राष्ट्रिय खेलकुद च्याम्पियनसिपको अवधारणामा भएको छ ।

फरक–फरक ठाउँमा भएको पूर्वाधारले खेलाडीहरू विभाजित भएका छन् । एउटै थलोमा उनीहरूको उपस्थिति रहेन । एउटा खेलाडीले अर्को खेलको खेलाडीबारे कुनै भेउ पाएनन् । जसले गर्दा विभेद महसुस गर्न बाध्य छन् विकटबाट आएका खेलाडीहरू ।


राष्ट्रिय र क्षेत्रीय स्तरमा प्रतियोगिता हुँदा खेलाडी खोजेर उतार्नुपर्ने बाध्यता सबै प्रदेश टिमलाई छ । प्रतियोगिता खेलेर गएपछि एकले अर्कोलाई भेट्न मुस्किल हुन्छ । सँगै ट्रेनिङ गर्ने त अवसरै पाउँदैनन् । गेम हुँदा मात्र खेलाडी भेला पार्नुपर्छ । एकेडेमिक संरचनामा जिल्लाका खेलाडी रहन पाउँदैनन् । त्यो अवस्थालाई चिर्दै रोकायले भने जुम्लामा आफ्नै नाममा एकेडेमी खोलेका छन् ।

त्यो पनि आफ्नै विधामा । लामो दूरीमा दौड्ने खेलाडी तयार पार्दै छन् । उनले तयार पारेका खेलाडीले सफलता पनि भेट्टाइरहेका छन् ।
आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सबाट कर्णालीले चार पदक जित्यो । त्यसमा रोकायले उत्पादन गरेका धावक दुर्गा बूढाले एक स्वर्ण र दुई रजत जिते । अर्को एक रजत जाजरकोटका यामसाजन सुनारले दिलाए । रोकायकै उत्पादन विश्वरूपा बूढा, राजपुरा पछाई दुवैले पदक जिते ।

आर्मीमा रहेकी विश्वरूपाले १० हजार मिटर दौडमा स्वर्ण र ५ हजार मिटरमा रजत जितेकी हुन् । पुलिसमा रहेकी राजपुरा म्याराथनमा स्वर्ण र १० हजार मिटरमा रजत जित्न सफल भइन् । त्यस्तै म्याराथन दौडेकी आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले पाँचौं स्थानमा दौड पूरा गरिन् । उनी पनि रोकायकी चेली हुन् । दुर्गाले पनि विभागीय धावकको वर्चस्व तोड्दै १० हजार मिटरमा स्वर्ण, ५ हजार मिटर र म्याराथनमा रजत जितेका थिए ।


माटो ट्र्याकमा प्रशिक्षण गरेर सिन्थेटिक ट्र्याकमा दौड्न गाह्रो हुने रोकायको अनुभव छ । सुनाए, ‘हामीलाई फिल्डको समस्या छ । माटोमा प्रशिक्षण गरेर आउँछौं । यहाँ सिन्थेटिक ट्र्याकमा दौडनुपर्छ । यस्तोमा सुरुको दौड तीव्र हुन्छ । पछि मसल्स कसिलो हुँदै आएपछि गाह्रो हुन्छ । फिनिसिङ स्लो बन्छ ।’

विभागीय खेलाडीको ट्रेनिङ नियमित र सिन्थेटिकमा हुनाले उनीहरूले फिनिसिङ राम्रो गर्ने उनको बुझाइ छ । एउटा २०० मिटर मात्र सिन्थेटिक ट्र्याक भए आफूहरूले अन्तर्राष्ट्रिय स्तरमै राम्रो नतिजा ल्याउने रोकायको दाबी छ । माटोको ट्र्याक पानी पर्‍यो हिलो हुन्छ, दौड्न पाइँदैन । रबरको ट्र्याक बिछ्याइयो भने त त्यो अवस्था रहँदैन । बाह्रै महिना ट्रेनिङ गर्न पाइन्छ । अन्य खेलका लागि पनि हावापानी त्यत्तिकै राम्रो छ । त्यसका लागि जुम्लामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउन ढिलाइ गर्न नहुने उनको सुझाव छ ।


एउटा राम्रो खेलाडी उत्पादन हुन १० वर्ष लाग्छ । त्यो पनि निरन्तर लागिरह्यो भने । त्यसैले राम्रो खेलाडी उत्पादन गर्न ठूलै युद्ध जित्नुपर्छ । त्यो भोगाइ रोकायसँग छ । उनको एकेडेमीमा अहिले पनि दुई दर्जनभन्दा बढी प्रशिक्षणरत छन् । सुरुमा स्वतःस्फूर्त ट्रेनिङ गर्न आउन मान्दैनथे । अहिले त्यो अवस्था केही हदसम्म छैन । तर ट्रेनिङ गरेर मात्र भएन डाइट खानुपर्‍यो ।

घरको कमजोर आर्थिक अवस्थाले गर्दा कतिले त्यसको जोहो गर्न सक्दैनन् । त्यसका लागि रोकायले धान कुट्ने र पिठो पिस्ने मिल स्थापना गरेर खेलाडीका लागि डाइट खर्च उपलब्ध गराएका छन् । ‘ट्रेनिङ गरेर मात्र हुँदैन डाइट खानुपर्‍यो । धेरैथोर सहयोग हुन्छ भनेर मिल स्थापना गरेका छौं,’ रोकायले भने, ‘म चाहन्छु मैलेजस्तै अहिलेका खेलाडीले दुःख भोग्नु नपरोस् ।’


४०० र ८०० मिटर दौडन आएकी जुम्लाकी सीता न्यौपानेले बिरामी भएर खेल्न सकिनन् । सुर्खेतमा सम्पन्न क्षेत्रीय खेलेर जुम्ला पुग्दा १३ जना आएकोमा १२ बिरामी परेका रहेछन् । शरीरमा मौसमी फेरबदलको असर पर्‍यो । गर्मीमा आएर खेले । जुम्ला पुग्दा अत्यधिक हिउँ परिरहेको थियो । त्यसपछि उनीहरू एक्कासि बिरामी परे ।


उनीहरूले क्षेत्रीयमा १० स्वर्ण, ५ रजत र २ कांस्य जितेका थिए । ‘यसपालि राम्रो प्रदर्शन गर्छु भन्ने आशा थियो । क्षेत्रीयमा पनि राम्रो गरेको थिएँ । तर बिरामी परें । डाक्टरले तीन महिना रेस्ट गर्नु भनेको छ । त्यही यहाँ भएर खेलिनँ,’ सातौं राष्ट्रियमा पनि ४०० र ८०० मिटर दौडेकी सीताले सुनाइन् ।

राखेप च्याम्पियनसिपमा भने ८०० मिटरमा पदक जितेकी थिइन् । ट्रेनिङ गर्‍यो डाइट खान नपुग्ने यथार्थ उनले पनि बताइन् । ‘दौडन जान म लाग्छ । बिहान–बेलुका दौड्न गयो । सर (हरिबहादुर रोकाय) ले पनि एकदमै हौसला दिनुहुन्छ । यसतर्फ लाग्न प्रेरित गर्नुहुन्छ । तर घरको पनि काम गर्नुपर्छ । कतिले डाइट खान सक्दैनन् । बीचमै छाड्छन्,’ उनले पीडा सुनाइन्, ‘चाहेर पनि आर्थिक अवस्थाले साथ दिँदैन ।’


विभाग (आर्मी, पुलिस, सशस्त्र प्रहरी) मा छिरेपछि आफ्नो साथीहरूले राम्रो गरिरहेको उनको बुझाइ छ । विश्वरूपा, राजपुरा, पूर्णलक्ष्मीले राम्रो नतिजा दिइरहेका छन् । ‘उनीहरूले निश्चिन्त भएर खेल्न पाएका छन् । खेलमा ध्यान दिए पुग्यो । न डाइटको चिन्ता न त स्पाइकको । उनीहरूले एकपछि अर्को राम्रो नतिजा निकालिरहेका छन्,’ उनले साहस देखाइन्, ‘राम्रो वातावरण पायौं भने हामीले पनि राम्रो खेल्न सक्छौं भन्ने छ ।’


हरिबहादुर रोकाय पनि झन्डै ६ महिना बिरामी भएर बल्ल फिल्डमा फर्किएका हुन् । नसासम्बन्धी रोगले उनका हात नचल्ने भएको थियो । अहिले पनि फिजियोथेरापी गराइरहेका छन् । तर उनको जोस–जाँगर उस्तै छ । फिल्डमै खटिएका छन् । ल्याप गन्न पनि भ्याएकै छन् । आफ्ना खेलाडीको प्रदर्शनमा ध्यान दिएकै छन् । निर्देशन दिएकै छन् । भन्छन्, ‘आफूले गर्न सकुन्जेल खेलाडीकै लागि लाग्ने हो ।’

प्रकाशित : वैशाख २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?