१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कक्षामा कार्ल मार्क्स

नारायणी देवकोटा

फोटो देखेको तीन वर्षपछि बीबीएस पढ्न थालेपछि सुरु भएको नेपालको जनआन्दोलन भाग दुईका क्रममा उनका बारेमा धेरै कुरा सुन्न पाइयो  ।

कक्षामा कार्ल मार्क्स

फोटो देखेको तीन वर्षपछि बीबीएस पढ्न थालेपछि सुरु भएको नेपालको जनआन्दोलन भाग दुईका क्रममा उनका बारेमा धेरै कुरा सुन्न पाइयो । गरिबलाई मुक्तिको सपना देखाउने स्वप्नद्रष्टाको रूपमा ।

म व्यवस्थापनको विद्यार्थी भए पनि राजनीति र समाजबारे रुचि थियो । हाम्रा गुरु घनश्याम भुसाललाई एक–दुई पटक भेटेपछि मैले ‘के पढ्ने ?’ भनेर सोधेकी थिएँ । उहाँले सिफारिस गरेको पहिलो किताब थियो, ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ । बागबजारको प्रगति पुस्तक पसलमा उक्त सानो किताब किनेर पढे पनि मैले छेउ–पुच्छर के भनेको हो भन्नेबारेमा बुझ्न सकिनँ ।

मैले टुकुचामा रहेको नेपाल अध्ययन केन्द्रछेउको चियापसलमा पढन्तेहरूको भीडमा नबुझेको कुरा भनेपछि कसैले भनेका थिए, ‘मैले बीसौँ पटक पढेँ होला, पटकपटक फरक अर्थमा बुझ्छु ।’ उनका कुराले मलाई हरेक पाठलाई मान्छेले आफ्नो ज्ञानको दायरामा बुझ्ने रहेछ भन्ने स्वीकार गर्न सघाएको थियो ।

आफूलाई चासो लाग्दै गएपछि बागबजारका कैयौँ पुस्तक पसलमा ती दाह्रीवाला बूढो मान्छेका फोटोसहितका झुन्डिरहेका किताब र पत्रिकामा आँखा पुग्थे । पैसा हुँदा म किनेर लैजान्थें । पार्टीका कार्यक्रममा तिनैको फोटोसहितको ब्यानरमा आँखा पुग्थे अनि मलाई ‘त्यही दाह्री बूढालाई यति धेरै किन मानेका होलान् ?’ भन्ने लाग्थ्यो । व्यवस्थापनको पढाइ र कामको चापबाट बचेको समय म गातामा मार्क्सको फोटो राखेका किताबभित्र पस्थेँ तर धेरै कुरामा मार्क्सले नै भनेको लेखेका कुरा कम पाउँथें, अरू नै मानिसले गरेका व्याख्या बढी हुन्थे ।

मानिसका गफ सुन्थें । चिया गफमा, पार्टीले आयोजना गरेका कार्यक्रमका भाषणमा, श्रमिक महिला दिवसको दिन कोही भन्थे, ‘मार्क्सले श्रम नगर्ने महिलाहरू हाम्रा आमा, दिदीबहिनी भए पनि बेश्या हुन् भन्नुभएको छ ।’ श्रम भनेको नै के हो भन्नेबारेमा र आफ्नै घरभित्रको श्रमको मूल्यांकन गर्ने प्रणाली नेपालमा र धेरै देशमा अहिले पनि छैन । महिलाले घरभित्र गर्ने श्रमलाई नहेरी महिलामाथि थोपरिएको सांस्कृतिक बन्धन र त्यसको यौनिकतासँग जोडेर मार्क्सले भनेका भनेर गरिएको परिभाषा सुनेर दिक्क लाग्थ्यो ।

काठमाडौंमा पाइने किताब र चिया गफहरूमा ‘संसारमा धनी र गरिब दुई वर्ग हुन्छ, धनीले सधैँ गरिबमाथि शोषण गर्छ, शोषणका कारण गरिबहरू मिल्छन् र धनीको सत्ता पल्टाउँछन् । धनी सधैँ धनी भइरहन्छ, गरिब सधैँ गरिब नै भइरहन्छ,’ भन्ने कुरा बुझ्थेँ । धनी सधै धनी र गरिब सधैं गरिब हुन्छ भन्ने मानिसहरू नै फेरि भनिरहेका हुन्थे, ‘सांसद हुँदा चप्पल लगाएर सिंहदरबार छिरेको फलानाले यत्ति सम्पत्ति जोड्यो । फलानो कम्युनिस्ट होइन, फलानोले आफूलाई कम्युनिस्ट भन्छ तर सप्ताहको आयोजना गर्छ’ वा ‘माधव नेपालले आफ्नी आमाको किरिया गरेनन् तर राजालाई दाम चढाए’ ।


पत्रपत्रिकामा लेखिने कुरा पनि यीभन्दा फरक हुँदैनथे । धेरै कुरा चित्त बुझ्दैन्थ्यो, धेरै कुरा फुकाउनै नसक्ने गरी जेलिएका जस्ता लाग्थे अनि म घनश्याम दाइलाई सोधिरहन्थेँ । यही सोधाइको क्रमहरूमा घनश्याम दाइले ‘तपाईंको रुचि र पढाइ मिलिरहेको छैन, समाजशास्त्र पढ्नुहुन्छ कि,’ भनेर भनिरहनुहुन्थ्यो ।


त्रिविमा समाजशास्त्रमा एमए भर्ना भएपछि मार्क्सवादभन्दा अगाडि हामीले समाजशास्त्र के हो र कसरी समाजशास्त्रीय रूपमा हरेक कुरालाई बुझ्ने र व्याख्या गर्ने भन्ने सिक्यौं । समाजशास्त्रले हरेक घटना, विचार वा सिद्धान्तलाई घटना हुने समाज र समयको फ्रेममा राखेर अध्ययन र व्याख्या गरिनुपर्छ भन्ने मान्यता राख्छ । पढ्दै गएपछि लाग्दै गयो मार्क्सले धेरै कुरामा हात हालेछन्, इतिहास, अर्थतन्त्र, समाज र दर्शन ।

र तिनलाई पहिलाका इतिहासकार, अर्थशास्त्री, समाज विज्ञ र दार्शनिकले भन्दा फरक ढंगले व्याख्या गरेछन् । इतिहास भन्ने कुरा राजामहाराजाको वंशावली हो भन्ने बुझाइलाई इतिहास मान्छेका दिन दिन क्रियाकलापले बनाउँछन् भन्ने कुरा उनले बुझाउने गरी लेखेछन् । आर्थिक आधारमा समाजमा भइरहेको विभाजन र दमनलाई परिवर्तन गर्न सकिन्छ र त्यो परिवर्तन हुन्छ भन्ने कुरामा जोड दिएछन्, जुन कुराले संसारभरिका मान्छे मानव जीवनमा भइरहेका दुःखको महासागर अलिकति प्रयास गरे तर्न सकिन्छ भन्ने ज्ञान दिएछन् ।


कार्ल मार्क्सले दिएको त्यही ज्ञानलाई संसारभर आफूलाई मार्क्सवादी भन्नेहरूले आफ्नै ज्ञानको दायरा, रुचि, क्षमता, आफूले भोगेको समाज र व्यक्त गर्न सकिने आफ्नो अवस्थाअनुसार व्याख्या गरिरहेका छन् । यसरी व्याख्या गर्ने विषय मानवमाथिको शोषणको आधार केलाउने र शोषणको अन्त्यका उपाय खोज्नै नै धेरैको चासोको विषय हो ।


यही क्रममा रुसका नेता लेनिनले सन् १९१७ मा मजदुरको नाममा एकदलीय शासनको स्थापना गरे । गरिबको सत्ता यसरी स्थान हुन्छ भनेर उदाहरण देखाउने प्रयास गरे । गरिबको पनि राज्य हुन्छ भन्ने त्यो एक आदर्शले बीसौं शताब्दीभरि धेरै मानिसको मनमा राज गर्‍यो । लेनिनकै समयमा रोजा लक्जेम्बर्गले ‘एउटा मात्रै दलको उपस्थितिले गरेको क्रान्ति दिगो हुन्न’ भनेर व्याख्या गरिन् ।

लेनिनको मृत्युपछि रुसको सत्तामा आएका कम्युनिस्ट पार्टीका नेता भित्रभित्रै तानाशाहमा परिवर्तन हुँदै गए । गरिबहरूको सपना र व्याख्याको एउटा आधारस्तम्भ समयक्रममा आफैँ ढल्यो । अहिले पनि संसारभर समतामूलक समाज निर्माणका लागि एकदलीय शासन उचित कि प्रतिस्पर्धामा आधारित बहुदलीय शासन उचित भन्ने दुई धार देखिन्छ ।


समाजमा भएको शोषणको आधारको बारेमा पनि संसारभरका मार्क्सवादीहरूले आफ्नो आफ्नो स्थानअनुसार व्याख्या गरेका छन् । यसरी गरिने व्याख्यामा मानवमाथिको शोषणको अधार आर्थिक नै हो भन्ने धार अहिले पनि बलियो छ । तर, व्यक्तिमाथि हुने शोषण र एउटा समाज, समुदाय र देशबीच हुने शोषणको बारेमा भने फरक फरक व्याख्या छन् ।

व्यक्तिमाथि हुने शोषणको कुरामा निकोलास पाउलान्तासले व्याख्या गर्छन् । किन कुनै देश गरिब र कुनै देश धनी हुन्छ ? किन कुनै ठाउँ विकासमा पछाडि परेको हुन्छ किन कुनै ठाउँ अगाडि हुन्छ भन्ने विषयमा नवमार्क्सवादीहरूले पर्याप्त व्याख्या गरेका छन् । यसरी व्याख्या गर्नेमा इमानुअल वालेस्टाइन, आन्द्रे गुन्डर फ्रेंक अगाडि छन् । उनीहरूको व्याख्या एकै विषयलाई लिएर गरिएको भए पनि व्याख्या गर्ने तरिकाहरू फरक छन् ।


समाजमा रहेको शोषणको आधार आर्थिक भए पनि कसरी शोषण गरिन्छ भन्नेबारेमा इटलीको जेलमा बसेर एन्तोनियो ग्राम्सीले आधा बुझिने आधा नबुझिने गरी शोषणको आधार आर्थिक पनि हो तर प्रभुत्व लादेर शोषण गरिन्छ भनेर व्याख्या गरे ।

ग्राम्सी हेजेमोनी र पुँजीको व्याख्या जर्मनीकै सामाजिक व्याख्याता माक्स बेबर, पियरे बोर्दियु हुँदै मार्क्सवादीहरूको एउटा हाँगो जर्मनीको फ्रेंकफर्ट स्कुल र त्यसका पछिल्ला दार्शनिक जर्जन ह्याबर्मासले पुँजी पैसा मात्रै नभई सामाजिक, सांस्कृतिक र सांकेतिक (सिम्बोलिक) पनि हुन्छ भन्ने कुरालाई तथ्यसहित बताएका छन् ।


समाज र मानिसहरूको सम्बन्ध तथा परिवर्तनबारे पनि ठाउँअनुसार फरक व्याख्या छन् । समाजशास्त्र पढ्दै जाँदा रुसमा लेनिन र उनका उत्तराधिकारीले व्याख्या गरेको मार्क्सवाद, रोजा युरो कम्युनिज्मले व्याख्या गरेको मार्क्सवाद, हिटलरले सातो खाएका मार्क्सवादीहरूले स्थापना गरेका फ्रेङ्कफ्रर्ट स्कुल र त्यसका अहिलेका हस्ती जर्जेन हावरमासले विकास गरेको आलोचनात्मक सिद्धान्तले व्याख्या गरेको मार्क्सवादको व्याख्या, इटालिमा मुसोलिनीले जेलमा सडाएर मारिएका ग्राम्सीले विकास गरेको हेजेमोनी सिद्धान्त, मार्क्सवादको नामै नलिइने अमेरिकी समाजशास्त्रीय अध्ययनमा लुइस कोजरहरूले व्याख्या गरेको द्वन्द्वात्मक प्रकार्यवाद, फ्रान्सका मार्क्सवादी निकोस पाउलान्तासले विकास गरेको पावर ब्लकका सिद्धान्तहरू आउनुका पछाडिका पाटाहरूलाई नबुझी मार्क्सवादलाई बुझ्न गाह्रो रहेछ भन्ने लाग्छ ।


नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले कार्ल मार्क्सभन्दा बढी लेनिन र माओ पढेका हौं भनेर हाम्रा गुरुहरू चैतन्य मिश्र र घनश्याम भुसालले भनेपछि धेरै भन्नै परेन । अहिले समाजशास्त्रको एमफिलको कक्षामा हामीले पढ्ने धेरै लेखमा कहीँ न कहीँ कार्ल मार्क्सको नाम जोडिएर आउँछ । अनि हामी कुरा गर्छौँ किन जर्मनीकै मान्छेले समाजलाई फरक ढंगले व्याख्या गर्‍यो ? किन कानुन पढिरहेको वा पत्रिका चलाइरहेका संसारका अरू मान्छेले समाजलाई त्यसरी व्याख्या गर्न सकेनन् जसरी कार्ल मार्क्सले व्याख्या गरे ? अथवा कार्ल मार्क्सको जीवनमा एंगेल्स साथी बनेर र जेनी श्रीमती बनेर नआएको भए उनले त्यही तहको योगदान दिन्थे कि दिन्थेनन् होला ?


फेरि पनि समाजशास्त्री भएर हरेक कुरालाई बुझ्ने र व्याख्या गर्ने मानिसको क्षमता मानिसभित्रको रुचि, उसले हासिल गरेको ज्ञानको दायरा, उसले पाउने सहयोग र वातावरण नै मुख्य भन्दाभन्दै पनि लागिरहन्छ यत्ति धेरै मानिसलाई सोच्न र परिवर्तनका लागि ज्यान दिने गरी प्रतिबद्ध बनाउने त्यो बूढो मान्छे साँच्चिकै एउटा दमदार मान्छे हो ।

प्रकाशित : वैशाख २८, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?