२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इतिहासमा महिलाहरू किन अदृश्य ?

सुरेश ढकाल

गत साता मातातीर्थ औंसी थियो । यसै उपक्रममा भावनाले लछ्रप्पै भिजेका केही साहित्यहरू लेखिए, छापिए, ती सुन्दर थिए । यसकै वरिपरि पौराणिक श्लोक, कथाहरूका फुनरोक्ति गरेर हामी मातृशत्तिको उपासना गर्थ्यौं वा गर्छौं भनेर दावा पनि गरियो ।

इतिहासमा महिलाहरू किन अदृश्य ?

मातृपहिचानसहितको वंश परम्परा पनि हुन सक्छ नि भन्दा किन त्रसित हुन्छौं भन्नेबारे खासै प्रश्न भने गरिएन । केवल नेपथ्यमा मातृशक्तिको भक्तिगान गुन्जिरह्यो । त्यस्तै केही व्याख्या वृत्तान्तबाट प्रभावित भएर, केही मिथकहरूमा विश्वस्त बनेर र सायद केही भावनामा बहकिएर पनि अरू कोही विश्वास गर्छन् कि एकादेशमा मातृसत्ता थियो । मिथकहरू आवश्यक हुन्छन् तर कहिलेकाहीँ यस्ता मिथकहरूले आवश्यक सन्धानलाई निरुत्साहित गर्छन् ।


जहाँसम्म अहिले पितृसत्तापोषित समाजमा फेरबदल ल्याउनुपर्नेछ, महिलाको राजनीतिक र आर्थिक सत्तामा पहुँच र नियन्त्रण बढाउनुपर्नेछ भन्ने सवाल कुनै मिथकमा आधारित भैरहनु पर्दैन ।


मानवशास्त्रीहरूले अहिलेसम्म कुनै भरपर्दो प्रमाण प्राप्त गरेका छैनन् जसले विगतमा कहीं कतै मातृसत्ता थियो भन्ने प्रमाणित गरोस् । यद्यपि केही मानवशास्त्रीरूरु छन् जसले कृषि युगभन्दा पहिला, सिकारी युगमा सबैतिर मातृसत्ता थियो भन्ने गरेका छन् ।

जर्मन–स्विस शास्त्रीय विद्वान् जोहान ज्याकोव बाकोफेन (इ. १८६१) ले जिरह गरे कि पितृसत्ताको रजाइभन्दा पहिला मातृसत्ता थियो । उनको यो थेसिसले त्यसपछिका वर्षहरूमा सामाजिक संस्थाहरूको उद्विकासबारेका अवधारणा बनाउन भूमिका निर्वाह गर्‍यो । सायद मातृसत्ताको ‘मिथक’ स्थापित गर्ने सबैभन्दा पहिलो र शक्तिशाली प्राज्ञ उनै थिए ।


बाकोफेनलगत्तै अमेरिकी मानवशास्त्री लिविस हेनरी मोर्गन (एनसिएन्ट सोसाइटी, इ. १९७७) ले उत्तरी अमेरिकी आदिवासी इरोक्विसहरूको अध्ययनबाट निचोड निकालेका थिए कि पाषाणकालीन समाजमा महिलाको स्थिति उच्च थियो । आर्थिक सहभागिता र राजनीतिक सक्रियता अधिक थियो र सन्तान आमा गोत्र जान्थे ।

मातृसत्ता सुरुआती अवस्थामा थियो । पितृसक्ताले त्रमश: मातृसत्तालाई विस्थापित गर्‍यो । उनको बुझाइ थियो कि मातृसत्ता सामूहिक सम्पत्तिमा र बहुपति प्रथामा आधारित थियो । तर मोर्गनले जे जति प्रमाण र तर्क अधिसारेका थिए ती पर्याप्त थिएनन् जसले महिलाको आर्थिक र राजनीतिक अधीनसहितको मातृसत्ता थियो भन्ने तथ्य स्थापित गरोस् ।


उनै मोर्गनबाट अधिक प्रभावित भएर फ्रेडिरक एंगेल्सले परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति (इ. १८८४) मार्फत तर्क गरे कि कृषिको सुरुआतसँगै निजी सम्पत्तिको अवाधारणाको पनि उत्पत्ति भयो र पछि त्यो पुरुषको नियन्त्रणमा जान थाल्यो । त्योभन्दा पहिला सामूहिक सम्पत्तिमा महिलाको नियन्त्रण रहन्थ्यो । उनको यो दाबीले त्यसपछिका विद्वतविमर्शमा अत्यधिक प्रभाव पारिरह्यो । अहिलेसम्म पनि । स्वाभाविक हो नेपालसम्म पनि त्यसको प्रभाव नपर्ने कुरै थिएन । मार्क्सबादबाट प्रभावितहरूमो यो मत अझै प्रवल देखिन्छ ।


सिगमन्ड फ्राइडसमेत सुरुआती मातृसत्ताको अस्तित्व थियो भन्ने कुरामा विश्वास गर्थे । युरोपेली पुरातत्त्वविद् मारिया गिम्बुटासले त कुनै समयमा युरोपभरि नै मातृसत्ता मूलचरित्र थियो भनेर वकालत नै गर्थिन् । युरोपको प्राज्ञ जगत्मा उनको राम्रै प्रभाव थियो । के कुरा पुन:स्मरण गरौं भने हामीले हाम्रो विगत वा इतिहासको निर्माण विशुद्ध परिकल्पनाका आधारमा गरेका हुँदैनौं, न त केही मिथकका आधारमा मात्र पनि ।

खास भौतिक प्रमाण: पुरातात्त्विक अवशेषका आधारमा विगतको समाजको पुनर्निर्माण गरिन्छ । प्रश्न त्यति मात्र हो कि ति कुन त्यस्ता प्रमाणहरू हुन् जसले कुनै बेला मातृसत्ता थियो भनेर परिकल्पना गर्न सघाउँछ वा बताउँछ ?
के मातृसत्ता थिएन भन्नु, पितृसत्ता थियो झन्नु हो ? के संयँक्तसत्ता हुन सक्दैनथ्यो ? संयुत्तसत्ता भनेको कसैको पनि सत्ता हैन भनेको हुन्छ कि हुँदैन ? कोही न कोही सत्तामा भएन भने संसार चल्दैन ? महिला र पुरुषबीच समानता भएको, समान हैसियत भएको समाजमा कसको सत्ता चलेको हुन्छ ?


थाहा छ यी प्रश्नहरू तपाईंलाई सान्दर्भिक नलाग्न सक्छन् । उपयोगहीन पनि लाग्न सक्ला । तर बारम्बार यही प्रश्न सामना गर्नुपर्‍यो भने तपाईं के गर्नुहुन्छ ? यदि तपाईंलाई यी प्रश्नहरू सान्दर्भिक लागे भने त्यो केवल संयोग मात्र हो ?


हिजो मातृसत्ता थियो कि थिएन भन्ने प्रमुख चासो हो, प्रमुख मुद्दा होइन । थियो भन्ने मान्यता नै राख्ने हो भने त्यसको पुन:स्थापना त पक्कै अहिलेको मुद्दा होइन । मुद्दा त आजको विषमता र पितृसत्ताको चर्को दबदबाको मूल स्रोत के हो र किन हो भन्ने हो ।

वैकल्पिक यथार्थको निर्माण कसरी गर्ने भन्ने हो । यस विषयमा एउटा छुट्टै बहस आवश्यक पर्ला । आज यहाँ उठान गर्न खोजिएको विषय भने साधारण छ : किन इतिहासमा पुरुषमात्र होइन महिला पनि थिए भन्न हिचकिचाउँछन् इतिहासकारहरू ? हाम्रा निकट विगत हेर्दा लाग्छ त्यो इतिहास सिंगो समाजको होइन कि समाजका केही पुरुषार्थ प्रमाणित गर्न सफल लोग्नेमान्छेहरूको गाथा हो । इतिहासकारहरूले कुन त्यस्तो इरेजर फेला पारे जसले महिलालाई उनको भूमिकाअनुसारको परिच्छेदहरूबाट पनि मेटाइदिए । के यो सोचीविचारी गरिएको कार्य थियो ?


यहाँ इतिहास भन्नाले मैले मानवजातिको सिंगो विगत भन्न खोजेको हुँ । अलिक दूरको इतिहासको कुरा पनि गर्न खोजेको हुँ । ढुंगेयुगको पनि । अर्थात् पाषाणकालीन इतिहासको । वर्तमान यदि विगतको उत्पादन हो भने हालको लैंगिक विभेदको जरो त्यति परसम्म पुगेको पो छ कि ?


मूल प्रश्न यही थियो— महिला किन अदृश्य ? इतिहासमा महिला किन हराए ? यो मेरो अर्थात् एउटा विद्यार्थीको प्रश्न थियो आफ्नो प्राध्यापकलाई । पुरातत्त्व र प्राचीन इतिहासको ज्ञाता थिइन् उनी । उनकै ज्ञानको धरातल र कार्यहरूबाट प्रभावित भएर मैले उक्त प्रश्न गरेको थिएँ कुनै अनौपचारिक कफी गफ वा बियर सेसनमा । मानव उद्विकासमा केन्द्रीय भूमिका निर्वाह गर्ने, झुन्डहरूको सामाजिक केन्द्रमा थिए महिला । आर्थिक र प्राविधिक आविष्कारका जननी थिए उनीहरू । तर, तिनै महिला आखिर किन हराए हाम्रा इतिहासका पन्नाहरूमा ?


यो सन् १९९६ को कुरा थियो । जवाफमा प्राध्यापकले थपक्क सुझाव दिइन् मार्गरेट एहरेनवर्गको ‘विमन इन प्रिहिस्ट्री’ आफ्नो पाठ्यसूचीमा समावेश गर्न । विश्वविद्यालयमा आफ्ना रुचिका केही सीमित पाठ्यसामग्री आफैंले पनि छनोट गर्न पाइन्थ्यो । यद्यपि सम्बन्धित प्राध्यापकको पूर्वस्वीकृति भने आवश्यक पर्थ्यो, खासगरेर त्यसको विषय सान्दर्भिकताका सवालमा । मैले त्यसै गरें ।


उक्त पुस्तकमा मैले भेटेको जवाफ सामान्य नै थियो । पहिलो कुरो त ती इतिहास पुरुषले लेखे, अर्थात् उनका कथा लेखे, उनलाई मन पर्ने कुरा लेखे । त्यसैले त इतिहासलाई उसको कथा अर्थात् हिज–स्टोरी (हिस्ट्री) भन्ने गरिन्छ नि ! दोस्रो कुरा, ती इतिहास लेख्ने पुरुषले असाधारण घटनाहरूको अभिलेखनलाई मात्र महत्त्वपूर्ण ठाने ।

दैनिक जीवनका कथाहरू त्यस्तो इतिहासमा अभिलेखन गर्नलायक ठानिएन । जति महिला इतिहासमा उल्लेख गनलायक ठानिए ती पनि तिनै असाधारण कारण वा परिणामका लागि लायक ठानिएका हुन्थे । सामान्य महिलाका दैनिक जीवनका कथाहरू लेखिन योग्य ठानिएनन् । पितृसत्ताको लेन्स भएको चस्मा जतिसुकै पावरको भए पनि देख्ने यथार्थ उही हो । हाम्रा इतिहासकारका चस्माको लेन्स नै दोषी थियो सायद । दोषी लेन्स । अर्कातिर इतिहास लेखनको पद्धति पनि खोटी थियो सायद । खोटी पद्धति ।


म मानवशास्त्रको एउटा विद्यार्थीको नाताले मैले पढ्न चाहेको इतिहास त समाजको थियो, आम मान्छेका दैनिक जीवनका साधारण कुराहरूको थियो । मेरो रुचि त कसरी मानव समाज हिजोको ढुंगेयुगबाट यहाँसम्म आइपुग्यो भन्ने कुरामा थियो । समाज विकासको यो उपक्रममा महिलाको भूमिक के रह्यो होला भन्नेमा थियो ।


यसरी म साधारण प्रश्नको खोजमा विगतमा तानिएको थिएँ । विगत अध्ययन मेरा रुचि थिएन । रुचि त लैंगिक विभेदको जरो कहाँ छ भन्नेमा थियो । त्यो सामाजिक सांस्कृतिक परिवर्तनमा थियो त्यसैले नै तानेर विगतमा पुर्‍याएको हो । सिकारी युग अर्थात् कृषि युग सुरु हुनुभन्दा अगाडिको कुरा जति बेला मान्छेहरू घुमन्ते फिरन्ते जीवन बाँच्थे, जनावरको सिकार गर्थे, कन्दमूल बटुल्थे जीवन निर्वाहका लागि, अंग्रेजीमा हन्टिङ ग्यादरिङ ।

सिकार मूलत: पुरुषहरूको काम थियो र कन्दमूल खोज्ने महिलाहरूको । ‘म्यान : द हन्टर’ भनिन्थ्यो त्यसैले । तर त्यतिबेला पनि मान्छेको खाद्यान्नको ठूलो हिस्सा कन्दमूल संकलनबाट आउँथ्यो, सिकारबाट होइन । त्यसो त महिलाले पनि साना जनावर, फटेंग्रा आदिका सिकार त गर्थे नै । यसरी जीविकोपार्जन र सभ्यताको विकासमा महिलाको भूमिका अहं थियो ।


अहिले पनि फिरन्ते जीवन बाँच्ने, खोजी–बटुलीमा निर्वाह गरिरहेका कालहारी मरुभूमिका कुंग महिलाले ६० देखि ७० प्रतिशत कुल खाद्यान्न सकंलन गर्छन् भने सिकारले ३० देखि ४० प्रतिशत मात्र धानेको हुन्छ । खोजी–बटुली गर्दा महिलाहरूले एक घण्टामा औसत २४० क्यालोरी र सिकारबाट पुरुषहरूले १०० क्यालोरी बराबर जोहो गर्न सक्थे । यसरी एकातिर महिला प्रभावकारी ढंगबाट काम गर्थे भने अर्कातिर कुन कन्दमूल खान हुने र कुन खान नहुने विषालु हुन्छ भनी चिन्ने सीप र सक्षमता पनि महिलामा हुन्थ्यो ।


महिलाको भूमिका प्रमुख थियो मान्छेको जीवन निर्वाह र निरन्तराताका लागि । तर त्यही युगलाई चिनाउँदा हन्टिङ पहिले आयो र ग्यादरिङ पछि । पुरुषको काम प्रथम र उन्नत । महिलाको काम द्वितीय र कमजोर ठानियो । दोषी लेन्सको कमाल । हाम्रोमा अनुवाद भएर आउँदा त सिकारी युग मात्र भनियो । सामान्य लाग्ने यस्ता कुरो इतिहासमा महिला अदृश्य हुनुका असामान्य विम्बहरू हुन् ।
जेरेड डायमन्डले आफ्नो चर्चित पुस्तक ‘गन्स, जर्म्स एन्ड स्टिल : द फेट्स अफ ह्युमन सोसाइटिज’ (१९९७) मा कटाक्ष गरे कि कृषिक्रान्ति इतिहासको एउटा ठूलै फरेब (फ्रड) थियो । पछि युवल नोहा हरारीले यसलाई आफ्नो किताब ‘स्यापियन्स’ को एउटा अध्यायको शीर्षक नै बनाइदिए : कृषि क्रान्ति इतिहासकौ सबैभन्दा ठूलो फरेब ।


महिलाका लागि त केही अपवादबाहेक कृषिको आविष्कार सामाजिक, राजनीतिक हैसियतका हिसाबले प्रतिक्रान्ति साबित हुन पुग्यो । पुरुषको स्वामित्वमा निजी सम्पत्ति र स्थायी परिवारको सुरुआतसँगैं निजी सम्पत्ति पुस्तान्तरण गर्नुपर्ने भएकाले सन्तान चाहियो, पुरुषको पहिचान निरन्तरता दिने । यसो हुँदा महिलाको पहिचानसहितको सन्तान नहुने भए र यौन छनोटको अधिकार पनि खोसियो । यसरी सुरु भएको पुरुषको पहिचानसहितको वंश परम्पराको अवशेष हामी अहिले पनि प्रत्यक्ष देखि–भोगिरहेकै छौं । यद्यपि कृषिको आविष्कारमा भने महिलाको अहं भूमिका थियो ।


यसरी एउटा क्रान्तिले खोसेको महिलाको शक्ति र सान विगत १०–१२ हजार वर्षमा भएका अनेक क्रान्तिले पनि पुन:स्थापित गर्न सकेन । कृषिको सुरुआत मूलत: पश्चिम एसिया (मध्यपूर्व) को खाडी वरपर क्षेत्रमा करिब १२ हजार वर्षजति पहिले भएको थियो, अन्यत्र त्योभन्दा पछि । यसरी महिलाहरूले लाखौं वर्षसम्म उपभोग गरेर आएको स्वतन्त्रता एकै पटक गुमाए आफैंले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको क्रान्तिमार्फत । समयले यस्तो क्रूर मजाक पटकपटक गरेको छ ।


फरक–फरक कारण होलान् तर इतिहासमा महिला हराए वा अदृश्य बनाइए । अदृश्य महिलाहरूलाई दृश्यमा ल्याउने कार्य अर्थात् हराएका महिलाको खोजी निरन्तर भइरहेको पनि छ । खोज आवश्यक र अनिवार्य छ । ताकि हामी हाम्रो विगतको सही र पूर्ण इतिहास पढ्न सकौं । जति विगतको यथार्थ बुझ्न सकियो त्यति नै वर्तमानको जटिलतालाई बुझ्न सकिन्छ र परिकल्पना गरिएजस्तो भविष्यको योजना गर्न सकिन्छ ।

यदि सन्धानकर्ताले पितृसत्ताको लेन्स हटाउने हो भने पनि दृश्य अलिक खुल्दै आउँथे । धेरै महिला इतिहास अनुसन्धान र लेखनमा सहभागी हुनु अर्को अनिवार्य सर्त हुँदै हो । सामान्यजनका दैनिक जीवनका कुराहरू पनि इतिहासका महत्त्वपूर्ण अवयव हुन् भन्ने स्थापित गर्न सके माथि भनेझैं खुलेका दृश्यमा भूमिकासहितका महिलाहरू देखिन्छन् नै ।


मिथक र संस्कारहरू यस्ता शक्तिशाली अवयवहरू हुन् जसको समयसमयमा गलत व्याख्या गरिन्छन्, विगतका बारेमा खास धारणा बनाउन । कतै यस्तै मिथक र संस्कारको आडमा महिलालाई अहिलेकै थान्कोमा बस भन्ने प्रपञ्च त रचिएका छैनन् । मिथकहरू विनिर्माण गरिनुपर्ने बेला पो भएको हो कि ?

प्रकाशित : वैशाख २८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?