नीरु राजवंशीका नेप्लिकाना अफेयर्स

कुमारजी उवाच
कुमार नगरकोटी

काठमाडौँ — नीरु राजवंशीको मनभित्र एउटा ग्रेभयार्ड थियो । यू मे कल इट अ नेप्लिकाना ग्रेभयार्ड, यू सी ! त्यो ग्रेभयार्डमा एउटा सर्रियल क्याफे थियो । क्याफेभित्र एउटा ग्यालेरी थियो । ग्यालेरी कुनै इन्स्टलेसन आर्टिस्टले बनाइदिएको हुनुपर्छ, जो निकै भव्य थियो । कलात्मक एवं सभ्य थियो । 

नीरु राजवंशीका नेप्लिकाना अफेयर्स

सहरको कोलाहलमा जब मेरो प्राण छटपटाउँथ्यो, त्यस्तो बखत नीरु राजवंशीको मृदुल आवाज मेरो कानमा गुन्जिन्थ्यो : सपनाहरूलाई गाँस, प्रार्थनाहरूमाझ अलिकति हाँस । तानपुराको तार कस अनि सन्तुर छेवै बस । मैले गाउने राग मल्हारको आलापद्वार हुँदै तिमी ग्यालरीभित्र पस ।

त्यसपछि म सुटुक्क ग्यालरीभित्र पस्थें । चुपचाप त्यहाँ हराउँथें । ग्यालेरीको कुनाकाप्चामा बाँसुरीको गिलो धुन एकनासले बजिरहन्थ्यो । ओसिला भित्ताहरूमा कहिलेकाहीं तानपुराको सुस्केरा रसाउँथ्यो ।

तानपुराको सुस्केरा रसाउने भित्तामा किताबका तस्बिरहरू लहरै झुन्डिएका हुन्थे । काठका कलात्मक फ्रेमभित्र सजिएका ती तस्बिर अद्भुत देखिन्थे ।

फ्रेमिल किताबहरू प्रेमिल लाग्थे । केही स्वप्निल लाग्थे ।

नीरु राजवंशी किताब अनुरागी थिई । अ प्यासोनेट बुक लभर, यू सी ! किताबहरूलाई ऊ प्राणसरी प्रेम गर्थी । किताब उसको पूजा थियो, किताब नै प्रार्थना । किताब उसको प्रेमी थियो, किताब नै उसको परमात्मा ।

अनेक भावमुद्रामा विवर्ण किताबहरूको ऊ सुन्दर तस्बिर खिच्थी । र, तिनलाई प्रेमपूर्वक ग्यालेरीका भित्तामा सजाईवरी राख्थी । किताबप्रति उसको अलौकिक अनुराग देखी म भावशून्य हुन्थें ।

एक दिन म त्यही ग्यालेरीमा थिएँ । तस्बिरहरू हेरिरहेको थिएँ ।

भित्तामा झुन्डिएको थियो ओशोको : द धम्मपद । युवाल नोहा हरारीको : होमो डियोस, अ बि्रफ हिस्ट्री अफ टुमरो । काजुओ इसिगुराको : एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्ड ।

सिल्भिया प्लाथको : द बेल जार भित्तामा झुन्डिएको थियो । त्यसैगरी झुन्डिएको थियो रुपी कौरको : मिल्क एन्ड हनी । र, एलिफ सफकको : द फोर्टी रुल्स अफ लभ ।

ड्यान ब्राउनको- द लास्ट सिम्बोल- त्यहीं थियो र त्यहीं थियो फन्ज काफ्कको : मेटामर्फोसिस ।

सबैसबै लेखकहरू किताबसितै भित्तामा झुन्डिएका थिए । पाउलो काहेल्लो र अ विनर स्ट्यान्ड्स अलोन । ओह्रान पामुक र द रेड हेयर्ड वुमन । डिएच लरेन्स र वुमन इन लभ । एलिजाबेथ गिल्बर्ट र इट प्रे लभ ।

हारुकी मुराकामीको- काफ्का अन द सोर- उपन्यासको तस्बिरले मलाई निकै आकषिर्त गर्‍यो । त्यसलाई म अचल-अपलक हेरिरहेको थिएँ । कालो कपाल फिंजाएर मुराकामीको तान्त्रिक उपन्यासले आफ्नो मुहार छोपी ओछ्यानमा ढलेकी नीरु राजवंशी मलाई निकै मायावी एवं हिप्नोटिक युवती लाग्थ्यो । तस्बिरले मलाई एकाहोरो बनायो ।

यस्तैमा कसलैले बोलेको सुनियो, 'तपाईंसँग लाइटर छ ?'

मेरो ध्यान भंग भयो । एकाग्रतामा भ्वाङ पर्‍यो । पछाडि फर्की हेरें । मेरो सामु शंकर लामिछानेको भूत उभिएको थियो । भूतसित हात मिलाएँ । खल्तीबाट लाइटर निकालेर दिएँ । 'लाइटर बोक्नेसित सिग्रेट पनि त होला नि !' भूतले भन्यो ।

खल्तीबाट सिग्रेटको प्याकेट निकालें । प्याकेटबाट दुई खिल्ली निकालेर ओठमा च्यापें । भूतले दुवै सिग्रेट सल्काइदियो । एउटा आफूले थुत्यो र एक सर्को तान्दै भन्यो, 'नीरु राजवंशीले भित्तामा विदेशी लेखकका किताबहरू मात्र झुन्ड्याएकी रै'छे । कि कसो ?' मैले भनें :

-त्यसो होइन ।

-त्यसो नभए कसो हो त ?

-नीरुले स्वदेशी किताबहरू अर्को भित्तामा झुन्ड्याएकी छे ।

-त्यसो भए अर्को भित्तातिर जाऔं न त !

शंकर लामिछानेको भूतलाई मैले ग्यालेरीको अर्को भित्तातिर पुर्‍याएँ । त्यो भित्तामा स्वदेशी लेखकहरु थिए । स्वदेशी किताबका तस्बिरहरू थिए । भूपि शेरचनको : घुम्ने मेचमाथि अन्धो मान्छे । केशवराज पिँडालीको : खै खै । लक्ष्मीप्रसाद देवकोटाको : कुञ्जिनी । मनु ब्राजाकीको : तिम्री स्वास्नी र म । विश्वेश्वरप्रसाद कोइरालाको : सुम्निमा । गोविन्द वर्तमानको : सोह्र साँझ । पारिजातको : शिरीषको फूल । इन्द्रबहादुर राईको : आज रमिता छ ।

के छ रे ? रमिता छ बाबै रमिता !

भूतले- एब्स्ट्राक्ट चिन्तन प्याज- को तस्बिर हेरेपछि मुस्कुराउँदै भन्यो, 'मेरो किताबसित त सिटामोलका चक्कीहरू पो राखिएका रहेछन् । आई एम इम्प्रेस्ड । आई लभ द आइडिया ।'

भूतले अरु तस्बिरहरू पनि चाखपूर्वक हेर्‍यो । सरुभक्तको : बाङ्गाटिङ्गा धर्साहरू । सरस्वती प्रतीक्षाको : नथिया । राजेन्द्र पराजुलीको : अघोरी । सुविन भट्टराईको : पि्रय सुफी । नीलम कार्की 'निहारिका' को : योगमाया । खगेन्द्र लामिछानेको : फूलानी । अमर न्यौपानेको : पानीको घाम । बुद्धिसागरको : कर्नाली ब्लुज ।

श्यामलको 'रित्तो गाउँ' को तस्बिर हेरेपछि भूत केही भावुक भइगयो । भन्यो :

-अरु तस्बिर अरु बेला हेरौंला । टाइम चैं बरु के भयो ?

-यहाँ टाइमको कुरा नगर्नुस् । - मैले भनें ।

-किन नगरूँ ?

-नगर्नुस् भनेपछि नगर्नुस् ।

-किन नगरूँ ?


'किनभने' मैले भनें, 'टाइम डज नट एक्जिस्ट हियर । हामी अहिले नीरु राजवंशीको मनभित्र छौं । र, यहाँ सयमको कुनै अस्तित्व छैन ।'

................


नगरकोटी र लामिछानेका भूतहरू जो छन्, सो छन् । ती भूतहरूलाई अब हामी गे्रभयार्डको ग्यालेरीमै छाड्नेछौं । तिनको कुनै चर्चा गर्नेछैनौं ।

बरु चर्चा गर्नेछौं नीरु राजवंशीको एनिग्मेटिक संसारको ।

अब प्रस्तुत छ नीरु राजवंशीसित सम्बन्धित किताबसित जोडिएका केही सेलेक्टेड प्रसंगहरू । कथा-किस्साहरू । एक प्यासोनेट बुक लभरको मायावी संसारमा सबैलाई स्वागत छ ।


घाटमान्डु

तपाईंको हातमा- घाटमान्डु- थियो जसलाई केही दिनअघि मात्र न्युरोडको फुटपाथबाट तपाइर्ंले उठाउनुभएको थियो । किताबलाई किन किन तपाईं घाटमा पढ्न चाहनुहुन्थ्यो । तसर्थ सेप्टेम्बरको एक अपराह्न पाशुपत क्षेत्रको एउटा परित्यक्त बेन्चमा बसी किताबको पहिलो कथा- आयुचोर- पढिरहनुभएको थियो ।

मानिसको आयु चोर्दै हिँड्ने कथाको पात्रले तपाईंलाई विस्मित तुल्याएको थियो । यस्तैमा आउट अफ नो ह्वेर एउटा छायाँ सुटुक्क आई बेन्चमा बस्यो ।

छायाँले तपाईंको ध्यान खिचिहाल्यो । छायाँमा देखिएको केशराशिले गर्दा उक्त छायाँको स्वामी स्त्री प्रजातिको हुनुपर्छ, यस्तै लख काट्नुभयो । छायाँले तपाईंसित भन्यो, 'घाटमा बसी किताब पढिरहनुभा'छ । पक्कै पनि यो किताब नगरकोटीको हुनुपर्छ । एम आई राइट ?'

तपाईंले प्रश्नको कुनै जवाफ दिनुभएन । मौन बसिरहनुभयो । तपाईंको मौनतालाई टर्मिनेट गर्ने हेतु छायाँले पुन: भन्यो, 'किन जवाफ नदिएको ? केही त बोल्नुस् ।' तपाईंले भन्नुभयो :

-म छायाँसित बोल्दिनँ । छायाँ त फगत माया हो ।

-वेल सेड । गुड । द्याट्स लाइक अ नगरकोटियाना रिडर !

-थ्याङ्क्स ।

-छायाँको कायासित चैं बोल्नुहुन्छ ?

-यस अफकोर्स ! कायासित चैं बोल्छु ।


हेर्दाहेर्दै छायाँ युवतीको कायामा ट्रान्सर्फम भई । मेटामर्फोज्ड भई । कायान्तरित युवतीले बडो मायावी अन्दाजमा भनी, 'द नेम इज नीरु । नीरु राजवंशी । तपाईंको सहरमा मलाई स्वागत गर्नुस् ।'

तपाईंले भन्नुभयो, 'स्वागत छ ।'

यसरी सेप्टेम्बरको एक अपराह्न घाटमा- घाटमान्डु- पढ्दै गर्दा नीरु राजवंशीसित तपाईंको पहिलो भेटघाट भएको थियो । घाटमा भेटघाट हुुनु एक सुखद संयोग थियो । यो भेटघाट अकल्पनीय त थियो नै, तपाइर्ंको निम्ति ज्यादै अविस्मरणीय पनि थियो ।


पल्पसा क्याफे

जहाँसम्म तपाईंलाई सम्झना छ, नीरु राजवंशीसित तपाईंको दोस्रो भेटघाट नारायण वाग्लेको- पल्पसा क्याफे- मा भएको थियो । ठमेलस्थित यो क्याफेमा भेट्ने आइडिया तपाईंकै थियो ।

तपाईं- पल्पसा क्याफे- को नियमित ग्राहक हुनुहुन्थ्यो । साँझको बेला । सुनसान वातावरण । पाश्र्वभूमिमा नेपथ्य ब्यान्डको इन्टोक्सिकेटेड गीत मन्द मन्द गुन्जिरहेको थियो : खान्न म त लामपाते सुरती/लाऊँ कि नलाऊँ जुग जाने पिरती ।

नेप्लिकाना कफी पिउँदै तपाईंहरू आ-आफ्नो रुचिबारे गफिँदै हुनुहुन्थ्यो । यस्तैमा नीरु राजवंशीले सोधी, 'ढोकाको ढुंगेमूर्ति कसको हो ?' तपाईंले क्याफेको इन्ट्रान्सतिर हेर्नुभयो जहाँ लाइफ-साइज्ड-ढुंगेमूर्ति हिँडी नै पो हाल्ला कि जस्तो गरी उभिएको थियो । तपाईंले भन्नुभयो, 'त्यो नारायण वाग्लेको मूर्ति हो ।'

-नारायण वाग्लेको मूर्ति ?

-हो, नारायण वाग्लेको मूर्ति ।

-वाग्ले किन कसरी मूर्ति हुन पुगेछन् त ?

-यसको किंवदन्ती सुनेकी छैनौ ?

-कस्तो किंवदन्ती ?

त्यसपछि तपाईंले मूर्तिको किंवदन्ती सुनाउन लाग्नुभयो । उक्त किंवदन्तीलाई अब मुनिका हरफहरूमा लिपिबद्ध गरिनेछ ।

पल्पसा क्याफेको- अकर्डिङ टु यु- ओपनिङ नाइटको कुरा हो । यो क्याफेमा नारायण वाग्लेले आफ्नो बेस्ट सेलिङ उपन्यासका सबै पात्रहरूलाई निम्तो गरे । प्रमुख, उपप्रमुख, सहप्रमुख सबै पात्रहरूले लेखकको निम्तो स्वीकार गरे । क्याफेमा भेला भए । रामरमितो गरे ।

फिमेल पात्रहरूले ह्विस्की अन द रक्स लिए । मेल पात्रहरूले मिल्क सेक ।

एक जना फिमेल पात्रलाई मिस्टर वाग्ले, द उपन्यासकारसित भयानक रिस उठेको रहेछ । उपन्यासमा आफूलाई पर्याप्त स्पेस नदिएका कारण तिनी आक्रोशित भएकी रहिछन् । तिनले मिस्टर वाग्लेलाई भनिन्, 'किताबमा मेरो भूमिका काटिदिने ? मैले बोल्ने डाइलगमाथि कैंची छुरी चलाउने ? मेरो चरित्रचित्रणमा जम्मा पचपन्न शब्दहरू मात्र खर्चने ? मिस्टर वाग्ले, तपाईंको मन ढुंगाको रै'छ । अब तपाईंको तन पनि ढुंगा हुनेछ । आजको मितिदेखि तपाईं ढुंगा बन्नुहुनेछ । तपाईंलाई एउटी लेडी पात्रको श्राप भयो ।'

त्यही साँझ नारायण वाग्ले ढुंगाको किङसाइज्ड मूर्तिमा कायान्तरण भए । ऊ ढोका छेवै उभिई 'पल्पसा क्याफे' मा आउने ग्राहकजनलाई मौन स्वागत गर्न थाले ।

किंवदन्ती सुनेर नीरु राजवंशी नि:शब्द भई । नारायण वाग्लेप्रति उसको मनमा दया पलायो । आफ्नो डीएसएलआर क्यामेरा बोकी ऊ ढोकातिर गई । मूर्तिलाई सहानुभूतिपूर्वक हेरी । र, फोटो खिची, खिचिक्क ।

खिचिक्क के हुनु थियो, मिस्टर वाग्ले फिसिक्क मुस्कुराए । लामो शीतनिद्राबाट ब्युँझिएजस्तो गरी आफ्नो आङ तन्काए । दसैंको फूलपातीमा मन्सिएको बोकोझैं थर्रर कामे । नीरु राजवंशीलाई फ्याट्ट भने, 'उपन्यासमा मैले तपाईंको निम्ति जम्मा पचपन्न शब्द मात्र खर्च गरें भन्दैमा तपाईंले मलाई यति ठूलो श्राप दिन मिल्छ ? मलाई ढुंगाको मूर्ति बनाउन पाइन्छ ?' नीरु राजवंशीले भनी :

-पाइँदैन, कदापि पाइँदैन ।

-त्यही त भन्या ! तपाईंले ममाथि घोर अन्याय गर्नुभयो ।

-अन्याय गरेकी थिएँ । अहिले न्याय गरें ।

-के म अब श्रापयुक्त भएँ ?

-मैले तपाईंलाई श्रापमुक्त गरें ।


चकलेट

नीरु राजवंशीलाई एक दिन चकलेट खान मन लाग्यो । र, ऊ लागी जंगलतिर ।

त्यसो त चकलेट सहरमा नै पाइने हो । तर त्यो दिन सहरी चकलेटमा नीरु राजवंशीको कुनै रुचि, दिलचस्पी थिएन । उसलाई त जंगली च्याउसरी- माफ गर्नुस्- चकलेट नै खानु थियो । तसर्थ ऊ जंगली चकलेटको खोजीमा जंगलतिर प्रस्थान गरेकी थिई ।

निकै बेरको हिँडाइपछि ऊ एउटा बगैंचाजस्तो ठाउँमा पुगी ।

बगैंचा सुखद आश्चर्यले भरिएको थियो । त्यहाँ विभिन्न रूपरंगका फूलका बोटहरू थिए । बोटहरूमा चकलेट फलेका थिए । बगैंचाको एक कुनामा एक जना मानिस भुइँमा गोडमेल गरिरहेका थिए । कोही आएको चाल पाएर उनले मुन्टो उचाले । एउटी जवान ट्रेसपासरलाई बगैंचामा देखेर उनी केही आश्चर्यमा परेजस्तो देखिए । नजिक आई उनले नीरु राजवंशीसित भने, 'नमस्कार ! मेरो नाम नयनराज पाण्डे हो । म यो चकलेट बगैंचाको माली हुँ ।' नीरु राजवंशीले सोधी :

-माली कि मालिक ?

-मालिक होइन । माली नै हुँ । तपाईंलाई कस्तो चकलेट दिऊँ ?

-मिठो चकलेट दिनुस् ।

-फूलको बोटमा फक्रेको चकलेट दिऊँ कि भुइँमा उम्रेको चकलेट ?

-मलाई भुइँ चकलेट दिनुस् ।

नयनराज पाण्डेले नीरु राजवंशीलाई बगैंचाको केही पर पुर्‍याए । भुइँमा च्याउसरी उमि्रएका चकलेटहरू देखाउँदै उनले भने, 'मन लागे जति टिप्नुस् ।' नीरु राजवंशीले मन लागे जति चकलेट टिपी । केही चकलेटहरू उसको प|mकको गोजीमा राख्दै दयालु मालीले भने, 'मेरा पाठकहरू सहरमा बस्छन् । यी चकलेट उनीहरूलाई बाँडिदिनू । भन्नू नयनराज पाण्डेले जंगलबाट पठाइदिएको हो ।'


जुनेली

जुनेली रातको निस्तब्ध सन्नाटामा बा. ९० प ७० नम्बरको कालो बाइक काठमान्डुका सडकमा गुड्यो । मानिसहरू भन्थे, त्यो बाइकका स्वामी ब्रजेशलाई जुनेली रातमा निद्रा लाग्दैन थियो ।

मानिसहरू सही भन्थे ।

जुनेली- उपन्यास निस्केदेखि ब्रजेश जुनेली रातहरूमा निदाउन सकिरहेका थिएनन् । उनको निद्रा हरण भएको थियो । औंसीको १५ रात त तैबिसेक ठीकै थिए, उनलाई मस्तसित निद्रा लाग्थ्यो । सपना पनि राम्रै देख्थे । किन्तु बाँकी १५ जुनेली रात उनलाई निकै कष्ट हुन्थ्यो । बाइक चढी चकमन्न सडकमा घुम्न निस्कन्थे । रातको यायावर बनी सहरका गल्ली, उपगल्लीहरू चहार्थे ।

आज पनि त्यस्तै रात थियो । जुनेली रात ।

कालो बाइक लगनखेल हुँदै, जावलाखेल हुँदै, पुलचोक हुँदै, कुपण्डोल हुँदै मन्द-मन्द गतिमा अघि बढिरहेको थियो । थापाथलीको पुलमा बाइक रोकियो । पुलको वल्लो किनारदेखि पल्लो किनारसम्म रातो मखमली कार्पेट बिछ्याइएको थियो ।

ब्रजेश बाइकबाट ओर्लिए । कार्पेटमा चुपचाप हिँड्न थाले ।

हिँड्दै उनी थापाथलीको क्रसरोडमा पुगे । क्रसरोडमा बरफको टेबल थियो । बरफकै दुइटा कुर्सी थिए । एउटामा एउटी युवती बसेकी थिई । अर्को खाली थियो । त्यसमा ब्रजेश बस्नुपर्ने थियो । उनी बसे ।

युवतीले- जुनेली- समातेकी थिई । सोधी, 'अन्तत: आइपुग्नुभयो होइन त ?' ब्रजेशले आइपुगें भने । र, टेबलको हिमक्रिम चाखीवरी मुख मिठ्याउँदै भने :

-तर म कहाँ आइपुगें ?

-मेरो मनभित्र । - युवतीले भनी ।

-तपाईंको मन सुन्दर रहेछ ।

-सबै लेखकहरू त्यसै भन्छन् । -युवतीले भनी ।

दुईबीच कुराकानीको सिलसिला आरम्भ भइगयो । तपाईं मेरो किताब पढ्दै हुनुहुन्छ !

हो, म तपाईंको- जुनेली- पढ्दैछु । यस्तो रातमा ? हो, यस्तो रातमा । तपाईं कहाँ बस्नुहुन्छ ? म लेखकहरूको दिमागभित्र बस्छु । के काम गर्नुहुन्छ ? किताबहरूको फोटो खिच्ने काम गर्छु । तपाईंको नामचैं के हो ? मेरो नाम नीरु राजवंशी हो, तर तपाईं मलाई फकिरा भन्न सक्नुहुन्छ । फकिरा ? यस फकिरा ।

फकिराले हरियो ह्यान्ड ब्याग खोली र भित्रबाट एउटा सिगार निकाली । ब्रजेशको हातमा सिगार थमाइदिँदै भनी, 'टेक दिस नेप्लिकाना सिगार ।' नेप्लिकाना सिगार ? यस यायावर, नेप्लिकाना सिगार । मैले सुनेकी छु, जुनेली रातहरूमा तपाईंलाई निद्रा लाग्दैन । त्यस्तो बेला यो नेप्लिकाना सिगार सल्काउनुस् र सुत्नुस् । तपाईंलाई गहिरो निद्रा लाग्नेछ । तब फकिरा, यो सिगार त सकिइहाल्छ नि ! त्यसपछि म के गरूँ ?

त्यसपछि तपाईं मेरो मनभित्र आउनुस् । नेप्लिकाना सिगार लिनुस् । तपाईंलाई यसै गरी म रातो कार्पेट ओछ्याएर स्वागत गर्नेछु । जुनेली रातमा यो क्रसरोडमा म तपाईंलाई पर्खिबस्नेछु ।


नेलकटर

यज्ञश, अ भुइयाँ मानव एक साँझ पाटनको योमरी गल्लीसित सुफियाना मोनास्ट्रीको मिलारेप्पा हलमा स्पेसल स्त्रिmनिङ भएको फिल्म- ट्राभलर्स एन्ड मजिसियन्स- हेरी बाहिर निस्के । मोनास्ट्रीको विशाल कोर्टयार्डमा एउटा अचम्मलाग्दो दृश्य देखेर उनी चमत्कृत भइगए ।

भुइयाँ मानवलाई चमत्कृत पार्ने दृश्य यस प्रकार थियो : १५/२० जना भिक्षु/भिक्षुणीहरू लाममा लस्करै उभिएका थिए । लस्कर चुपचाप अघि बढिरहेको थियो । यो लस्करलाई हामी लस्कर-ए-तौवा भन्न सक्छौं ।

नीरु राजवंशी लस्करमा उभिएका भिक्षु/भिक्षुणीहरूलाई नेलकटर बाँडिरहेकी थिई । एउटा उदयप्रकाशको किताब- नेलकटर- र अर्कोचाहिँ नङ काट्ने नेलकटर ।

किताबसितै नेलकटर पाएर भिक्षु/भिक्षुणीहरू बडो प्रसन्न भएका थिए । यज्ञश पनि लाममा उभिए । उनलाई सायद मनमनै लागेको हुँदो हो : म पनि भिक्षु नै हुँ, किनकि केशमुण्डन गरेको छु । चिन्डे भएको छु । केवल चीवर वस्त्र धारण नगरेको मात्र हुँ । नत्र त कपाल खौरेकै छु, टुप्पी पनि सफाचट पारेकै छु ।

केही बेरको बेसब्री इन्तजारपश्चात् अन्तत: यज्ञशको पनि पालो आइहाल्यो । उनको हातमा किताब र नेलकटर थमाइदिँदै नीरु राजवंशीले भनी, 'अहो यज्ञशजी ! कस्तो सुन्दर संयोग । किताबको अनुवादकलाई यहाँ भेटेर म आनन्दित भएँ । यस्तो किताब अनुवाद गरेर तपाईं धन्यवादको पात्र भइजानुभएको छ ।'

यज्ञश प्रसन्न भए । बडो आह्लादित मुद्रामा उनले भने, 'तपाईं पनि कमाल गर्नुहुन्छ नीरुजी ! यसरी किताबसितै नेलकटर बाँड्नुहुन्छ !' नीरु राजवंशीले भनी :

-आज मेरो बर्थ डे हो नि त !

-तपाईंलाई बर्थ डे मुबारक छ ।

-थ्याङ्क यु । अनि बर्थ डे गर्ललाई कफी खुवाउने चलन छैन ?

-छ छ छ । किन छैन !

दुवै जना त्यसपछि मोनास्ट्री छेवैको मिस्टिकाना क्याफेभित्र छिरे । नेप्लिकाना कफी अर्डर गरे । बर्थ डे चियर्स गरे ।


पाठशाला

नीरु राजवंशी रातो स्कुटीमा एक बिहान कतै गइरहेकी थिई । एउटा सुनसान मोडमा एक बालकले हात दिएर उसलाई रोक्यो । बालक स्कुल ड्रेसमा सजिएको थियो । घाँटीमा तुम्लेट झुन्ड्याएको थियो । ढाडमा पुन्टे स्कुल ब्याग बोकेको ऊ निकै सुन्दर थियो । परन्तु यस्तो सुन्दर बालक सुँक्कसुँक्क गरी किन रोइरहेको थियो ?

नीरु राजवंशीले उसलाई क्याडवरी चकलेट दिई । आँसु पुछिदिई । बालकले भन्यो, 'आन्टी, मलाई पाठशाला पुर्‍याइदिनुस् न ! मलाई साथीहरूले छाडेर गए ।' बालकलाई स्कुटीको सिटमा राख्दै उसले भनी, 'साथीहरूले छाडे भन्दैमा यसरी रुनुहुँदैन नि त ! छाडिजाने मानिसहरू जीवनको मोडमा अनेक आउँछन्, जान्छन् । जाने मान्छेहरूप्रति आँसु चुहाउनुहुँदैन । हस् ?' बालकले हस् भन्यो । उसले सोधी, 'बाबुको पाठशाला कहाँ छ ?' बालकले जवाफ दियो, 'मेरो मनमा छ ।'

बालकको जवाफ सुनेर नीरु राजवंशी आश्चर्यचकित भई । उसले भनी, 'कस्तो ठूलाबडाले जस्तो बोलेको ! साँच्चि भन त ! ठूलो भएपछि तिमी के बन्छौ ?' बालकले भन्यो :

-म लेखक बन्छु ।

-कस्तो राम्रो ! लेखकहरू संसारका राम्रा मानिस हुन् ।

-म राम्रो मानिस बन्छु ।

-बाबुको नामचैं के हो नि ?

-मेरो नाम तीर्थ गुरुङ हो ।

यस्तैमा पाठशाला आइपुग्यो । बालक स्कुटीबाट ओर्लियो । थ्याङ्क यू आन्टी भन्यो । बाई भन्यो । हिँड्न थाल्यो । किन्तु दुई चार पाइला हिँडेपछि अडियो । अलिक बेर घोत्लिएपछि उसले भन्यो, 'ठूलो भएपछि मैले लेख्ने किताबको नाम के पो राख्ने होला आन्टी ?' आन्टीले फ्याट्ट भन्नुभयो :

-पाठशाला ।

-पाठशाला ?

-हो बाबु ! तिम्रो किताबको नाम- पाठशाला- हुनेछ ।


त्यसपछि बालकको गालामा मायाले मुसार्दै आन्टीले भन्नुभयो, 'तीर्थ, तिम्रो नाम नै कति सुन्दर छ । जीवन स्वयम् एक तीर्थ हो । तीर्थयात्रा हो । तिमीले जीवनमा अनेक तीर्थयात्रा गर्नेछौ । तीर्थयात्राका अनेक मोड र घुम्तीहरूमा तिमीले प्रेम, विश्वास र श्रद्धाहरूको पाठशाला देख्नेछौ । तिनै पाठशालाहरूलाई तिमीले आफ्नो किताब- पाठशाला- मा लिपिबद्ध गर्नेछौ । तीर्थ, तिम्रो तीर्थयात्रा सफल हुनेछ ।'


काठमान्डुमा एक दिन

काठमान्डुमा एक दिन बम विस्फोट भयो ।

त्यसको भोलिपल्ट कस्तो भयो भने यस्तो भयो : सहरका सम्पूर्ण डेरावासीहरूको मनमा आफू बस्दै आएको डेरा सरिहाल्नुपर्ने इम्पल्सिभ इच्छा जागृत भयो । परिणाम, सबै जना डेरा खोज्ने उपक्रममा लागे । आफू बसेको घर परिवर्तन गर्न थाले ।

त्यो दिन सहरको दृश्य अभूतपूर्व देखियो । सामान लादिएका गाडीहरू सहरभरि छ्याप्छ्याप्ती देखिए । के साइकल, के मोटरसाइकल ? के ठेला, के टिपर ? सबै बाहनहरू सामान ओसार्नमा प्रयोग भए । एम्बुलेन्स तथा शवबाहनलाई समेत छाडिएन ।

राजधानीबासीहरू गुन्टा, झोलीतुम्बा बोकी नयाँ डेराको खोजमा यत्रतत्र सर्वत्र भौंतारिएका देखिए । यस्तो उदेकपूर्ण दृश्य देखेर शिवानीसिंह थारू बडो रनभुल्लमा परिन् । बम विस्फोटमाथि उपन्यास लेख्ने योजना बनाइरहेकी मिस थारूलाई एक मनमा लाग्यो : बम विस्फोटमाथि होइन, डेरा सरिरहेका यिनै मानिसहरूमाथि पो किताब लेख्नुपर्छ कि क्या हो !

मनमा अनेक कुरा खेलाउँदै शिवानीसिंह थारू सडकमा हिँडिरहेकी थिइन् । सहरको एकलास गल्लीमा उनले एउटी युवती देखिन् । युवती हि्वलब्यारो गुडाउँदै अर्कै दिशाबाट आइरहेकी थिइ ।

युवती नजिकै आइपुगी । मिस थारूको नजर हि्वलब्यारोमा थुपि्रएका किताबहरूको चाङमा पर्‍यो । कस्तो अचम्म ! ती सम्पूर्ण किताबहरूको नाम थियो : काठमाडौंमा एक दिन । रिटन बाई शिवानीसिंह थारू ।

आफूले लेख्दै नलेखेको किताब देखेर मिस थारू आश्चर्यचकित परिन् । ह्विलब्यारोबाट एउटा प्रति निकालिन् । पानाहरू सर्ससर्ती पल्टाइन् । युवतीसित बोलिन्, 'कस्तो ताज्जुब ! यो किताब त लेख्नै बाँकी छ ।' युवतीले भनी, 'चिन्ता नगर्नुस् । एक दिन जरुर लेख्नुहुनेछ ।'

शिवानीसिंह थारू अक्क न बक्क परिन् । ह्विलब्यारोतिर टोलाउँदै उनले भनिन्, 'तपाईं पनि डेरा सर्दै हुनुहुन्छ ?' युवतीले सर्दैछु भनी ।

-तपाईंका सामानहरू त देख्दिन त ।

-यिनै किताबहरू मेरा सामान हुन् ।

-कस्तो अचम्म ! तपाईं को हुनुहुन्छ ?

-म नीरु राजवंशी हुँ । म सकम्बरीको घरमा पेइङ गेस्ट बन्न जाँदैछु ।

-को सकम्बरी ?

-'शिरीषको फूल' पढ्नुभा'छैन ? उसैको घर जाँदैछु । खै बाटो छाड्नुस् ।

शिवानीसिंहले बाटो छाडिदिइन् । नीरु राजवंशी ह्विलब्यारो गुडाउँदै अघि बढी । सकम्बरीको घरतिर । पेइङ गेस्ट बन्न । एकलास सडकमा मिस थारू अलमलिएर उभिइरहिन् ।


खुसी

नीरु राजवंशी एक दिन एकाबिहानै खुसीको खोजमा निस्कि ।

चियापसलेलाई सोधी, 'एक कप खुसी दिनुस् ।' चियापसलेले यहाँ खुसी पाइँदैन भन्यो । एउटा किराना पसलमा पुगेर उसले सोधी, 'साहुजी, यहाँ खुसी पाइन्छ ?' साहुजीले पाइँदैन भन्यो ।

सहरका अनेक ठाउँहरूमा उसले खुसी खोजी । मल, मार्ट तथा डिपार्टमेन्टल स्टोरहरूमा खुसीको तलास गरी । किन्तु खुसी कतै थिएन । खुसी देख्नुभा'छ कि भनी सोध्दा स्वास्नीहरूले देखेका छैनौं भने । लोग्नेहरूले एकमुस्ट जवाफ दिए, 'खुसी कुन चराको नाम हो मैयाँ ?'

उसले करोडपतिहरूलाई सोधी, 'खुसी काँ गयो ?' उनीहरूले भने, 'जतासुकै जाओस्, हामीलाई छु मतलब ?' रोडपतिहरूलाई सोध्दा उनीहरूले भने, 'खुसी हामीसित यतै कतै बस्थ्यो । अचेल काँ गयो, थाहा छैन ।'

सहरमा त्यो दिन नीरु राजवंशीले केवल उदास एवं हतास मुहारहरू देखी । खुसी कहीँ कतै फेला पारिन । उसलाई लाग्यो, सहरबाट खुसी हरायो । लापत्ता/बेपत्ता भयो ।

अस्ताचलको बेला खुसी हराएको रिपोर्ट लेखाउन ऊ प्रहरीचौकी गई । उसलाई सोधियो, 'के हरायो रे ?' उसले भनी, 'खुसी । खुसी हरायो । कृपया सर्च वारेन्ट जारी गर्नुस् ।'

नीरु राजवंशीको कुरा सुनेर प्रहरी निरीक्षक ट्वाँ पर्‍यो । अनि कपाल कन्याउँदै सक्दो मिजासिलो बन्न खोज्दै उसले भन्यो, 'म्याडम, तपाईं गलत ठाउँमा आइपुग्नुभएको छ । कृपया मानसिक अस्पताल जानुस् ।'


पैताला

नीरु राजवंशी पाटन दरबार स्क्वायरमा- पैताला- किताबका शब्दहरू रु. ५ प्रतिगोटा बेचिरहेकी थिई । ग्राहकहरू शब्द किन्न बेचैनीसाथ लाममा उभिएका थिए । उनीहरू- पैताला- उपन्यासमा संगृहीत शब्दहरू किन्न आतुर, व्यग्र थिए ।

नीरु राजवंशी ग्राहकहरूले इच्छाएका शब्द चिम्टाले टिप्थी र उनीहरूको अञ्जुलीमा थपक्क राखिदिन्थी । बदलामा उनीहरू पाँच रुपैयाँका नोट दिन्थे । आफ्नो पालो आएपछि एउटा ह्यान्डसम नवयुवकले भन्यो, 'मलाई 'बुलाकी' दिनुस् । गर्लप|mेन्डलाई गिफ्ट दिनु छ ।'

नीरु राजवंशीले- पैताला- का पानाहरू सरर्र पल्टाई । बुलाकी शब्दलाई उसले पेज नम्बर १७ मा फेला पारी । त्यसलाई जतनसित चिम्टाले टिपी र नवयुवकलाई दिई । नवयुगक दंग परी बुलाकी लिई गर्लफ्रेन्ड बस्ने गल्लीतिर गयो ।

ग्राहकहरू थरीथरीका थिए । थरीथरीका शब्दहरू माग्थे । कोही राज्य माग्थे त कोही कुर्सी । कोही पद माग्थे त कोही प्रतिष्ठा । नीरु राजवंशी सबैका हातमा तत्तत् शब्दहरू थमाइदिन्थी ।

दुवै नाडीभरि ट्याटु नै ट्याटु खोपाएको एउटा अधबैंसेले भन्यो, 'मलाई घृणा, तिरस्कार, तृष्णा, अहंकार र लोभ चाहियो । म डबल पैसा तिर्न तयार छु ।' नीरु राजवंशीले विनम्रतापूर्वक भनी, 'माफ गर्नुस्, महोदय, यो किताबमा त्यस्ता शब्दहरू छैनन् । बरु दया, माया, आत्मीयता, प्रेम र करुणा छन् । यी शब्दहरू लिएर घर जानुस् र परिवारहरूमाझ बाँड्नुस् ।'


सुन रे सियाराम

श्रवण मुकारुङको गीत- सुन रे सियाराम- किताबमा पढेर अनि त्यही गीतलाई युट्युबमा सुनेर/हेरेर एक अपराह्न नीरु राजवंशी व्यथित भई । उसले सोची : श्रवण मुकारुङहरूले जति नै चिच्याएर बोले पनि कसैले सुनिरहेका छैनन् । सहरमा प्रशस्त सियारामहरू छ्यालब्याल छन् जो कविता या गीत सुन्दैनन् । किनभने उनीहरूको कान कानेगुजीले भरिएको छ ।

नीरु राजवंशीको एक मनले सोध्यो, 'त्यो कानेगुजी निकाल्न के चाहिन्छ ?' उसको अर्को मनले उत्तर दियो, 'कटन बड्स चाहिन्छ ।' त्यही अपराह्न ऊ एउटा डिपार्टमेन्टल स्टोर गई र एक झोला कटन बड्स किनी ।

त्यसपछि एउटा क्याफेमा बसी उसले तमाम सियारामहरूको लिस्ट बनाई जसको कान कानेगुजीले भरिएको छ । लिस्टमा अधिकांश पोलिटिसियनहरू थिए । सरकारी अफिसरहरू थिए । बडेबडे ओहोदामा बसेका बडेबडे हाकिम साहेबहरू थिए । ती सबैको कानेगुजी सफा गर्नुपर्ने भयो । तिनीहरूलाई एक-एक प्याकेट कटन बड्स होम डेलिभरी गर्नुपर्ने भयो ।

नीरु राजवंशीलाई यो काममा क्याफेका वेटर एवं वेट्रेसहरूले साथ दिने भए । उनीहरूले 'सुन रे सियाराम' नामक अभियान नै चलाए । अभियानमा सयौंको संख्यामा मानिसहरूले हात जुटाए । घरदैलो कार्यक्रम गरे । जनताका कुरा नसुन्ने भ्रष्ट पोलिटिसियन र नागरिकका कष्ट नबुझ्ने दुष्ट सरकारी कर्मचारीहरू सबैलाई कटन बड्स दान गरियो ।

भनिन्छ, पोलिटिसियनहरूको कानबाट मात्रै एक क्विन्टन कानेगुजी निस्क्यो ।


भुइँखाट

महेशविक्रम शाह प्रहरीको डीआईजी भई भर्खरै मात्र कणर्ाली प्रदेशको हेडक्वार्टर सुर्खेतमा पोस्टिङ भएका थिए । उनको दिमागमा कथाका नयाँ नयाँ प्लटहरू सलबलाउँथे तर व्यस्तताका कारण उनी लेख्न सकिरहेका थिएनन् । एक दिन उनी साहित्यिक मुड बनाउन काँक्रेविहार जंगल गए ।

जंगलमा उनको भेट नीरु राजवंशीसित भयो ।

नीरु राजवंशी सुकेका पात-पतिंगरहरूमा बसी- भुइँखाट- पढिरहेकी थिई । सुनसान जंगलमा आफ्नै किताब पढिबसेकी युवती देखेर महेशविक्रम शाह खुसी भए । दुवैले परिचय आदानप्रदान गरे । दिनभरमै जानपहिचान भइहाल्यो ।

कुरैकुरामा नीरु राजवंशीले भनी, 'भुइँखाट किताब त लेख्नुभयो, के तपाईंको घरमा भुइँखाट त छ ?' कथाकारले किन नहुनु छ भने । बडो प्रफुल्लिँदै थपे पनि, 'तपाईं चाहनुहुन्छ भने आजको रात मेरो पाहुना बन्नुस् । मेरो घरको भुइँखाटमा मस्तसित निदाउनुस् । चाहनुहुन्छ ?' नीरु राजवंशीले बिल्कुल चाहन्छु भनी ।

त्यो दिन ऊ महेशविक्रम शाहकी पाहुना बनी । भुइँखाटमा सुती ।

भोलिपल्ट बिहान महेशविक्रम शाह पाहुनालाई ब्रेकफास्टसितै पर्खी बसे । तर पाहुनाको भने अत्तोपत्तो थिएन । प्रतीक्षा लामो भएपछि उनी पाहुना-कक्षको ढोका ढक्ढकाउन थाले । चाइँचुइँ केही आएन ।

ढोका यसो धकेलेको, पूर खुल्यो । कोठामा पाहुना थिइनन् । केवल रित्तो भुइँखाट थियो । भुइँखाटको मध्यभागमा उनकै किताब- भुइँखाट- थियो । किताबलाई १७ वटा बिस्कुटले गोलो घेरा बनाइ सजाइवरी राखिएको थियो : भुइँखाटमा ।

नीरु राजवंशी भने अलप भइसकेकी थिई ।


एपिलग

नीरु राजवंशीलाई देख्ने-भेट्ने महेशविक्रम शाह नै अन्तिम लेखक थिए । उनको भुइँखाटबाट गायब भएकी नीरु राजवंशीलाई तहाँउप्रान्त कसैले देखेको-भेटेको छैन । ऊ एकाएक कतै अलप भई, कसैलाई थाहा भएन ।

नीरु राजवंशी एक रहस्यमय पहेली बनी ।

कसैकसैले भने, 'नीरु राजवंशी नगरकोटीको फगत एक स्वप्निल कल्पना हो । यथार्थमा ऊ कतै थिइन, छैन र हुने पनि छैन ।' यद्यपि उसलाई देख्ने-भेट्ने ब्रजेश, शिवानीसिंह थारू तथा यज्ञशहरूको मत छ, 'नीरु राजवंशी जरुर थिई, छे र सधैं हामीहरूमाझ रहने छे ।'

नीरु राजवंशी फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत कुनै पनि खालका सामाजिक सञ्जालबाट डिलिट भइसकेकी थिई ।

एउटी प्यासोनेट बुक लभर अस्तित्वबाट एकाएक विलिन भएकोमा लेखकहरूमाझ घोर निराशा छायो । सबैभन्दा चिन्तित एवं दु:खी त महेशविक्रम शाह थिए । डीआईजीकै क्वार्टरबाट एउटी ज्युँदीजाग्दी युवती अलप भएकी थिई । सम्भव भए जति सबै ठाउँमा खोजीकार्यका निम्ति उनले प्रहरी परिचालन गरे । इन्भेस्टिगेसन गरे । किन्तु नीरु राजवंशीले कतै क्लु पाइएन ।

एक दिन महेशविक्रम शाह आफ्नो क्वार्टरको त्यही पाहुना-कोठामा थिए । बिस्कुटमा घेरिएको- भुइँखाट- हेरिबसेका थिए । उनको सेलफोन बज्यो । फोन रिसिभ गरे । फोनमा उनले कुनै वृद्ध महिलाको आवाज सुने, 'तपाईंको भुइँखाटमा नीरु राजवंशी अन्तिम पटक देखा परेकी थिई, होइन ?

महेशविक्रम शाहको मुटु ढक्क फुल्यो । उनले भने, 'हो । तपाईं को बोल्दै हुनुहुन्छ ?' वृद्ध महिलाको कम्पित आवाज सुनियो, 'म सकम्बरी हुँ । नीरु राजवंशी मेरो पेइङ गेस्ट थिई । ऊ जसरी आएकी थिई, त्यसरी नै गई ।'

-कहाँबाट आएकी थिई ? कहाँ गई ?

-ऊ भविष्यबाट आएकी थिई । अतीततिर गई ।

-के भन्न खोज्नुभएको हो ? मैले बुझिनँ ।

-नीरु राजवंशी टाइम ट्राभलर थिई ।

-टाइम ट्राभलर ?

-हो, टाइम ट्राभलर । भविष्यबाट आएकी थिई । अतीततिर गई ।

प्रकाशित : वैशाख २८, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?