कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुवा, बहिनी र समय

कल्पना बान्तवा

 
फ्रायडले भने, छोरी बाबुसँग र छोरा आमासँग ज्यादा निकट हुन्छन्  । अब संसारले मानेको फ्रायडियन सिद्धान्त के कसो हो कुन्नि, तर बाबुआमाले चाहिँ भेदभाव नगरी सबै सन्तानलाई भागशान्ति माया–ममता दिन्छन्  ।

बुवा, बहिनी र समय

हाम्रो बुवाले पनि छोराछोरीलाई दामासाही माया अंशबन्डा गरिदिनुभो । तर विशेषगरी हामी छोरीहरू, आआफ्ना दाबी अघि सार्दै ‘बुवाको नजिक सबभन्दा बढी म थिएँ’ भनेर अझै पनि हाकाहाकी होडबाजीमा लागेकै छौँ ।


मेरो तर्क हुन्छ, बुवाले महिनौँसम्म आफ्नो भागको उसिनेको अण्डाको आधा मलाई नखुवाई आफूले खानुभएन । बुवालाई टीबी लागेपछि घोपा क्याम्प–धरानले एक भारी दबाईसँगै डाइट पनि पेल्नुपर्छ भनेर सुझाउँदै बिदा दिएको थियो । त्यसैले आमाले ठूलो गिलासमा दूध र एउटा उसिनेको अण्डा बुवालाई सधैं बिहान खान दिनुहुन्थ्यो । बुवाले अण्डा खाने बेलाको छनक पाएर म सायद बुवाको नजिक परिरहन्थेँ किनकि मलाई सानैदेखि दुध र मासुभन्दा दहीमोही, घ्यू र अण्डा असाध्य मन पर्थे । त्यो बेला गाउँमा अहिलेजस्तो दैनिक अण्डा खानु सहज थिएन । कहिलेकाहीँ साथीभाइसँग कोठेबारीमा झ्यास्झुस् बालेर घरबाट चोरेर लगेको अण्डा पोलेर खान्थ्यौँ र तलतल मेट्थ्यौँ । घरमा टन्नै कुखुरा पालिएका हुन्थे, कुखुराको मासु नै चाहिँ बेलामौकामा खाइरहन्थ्यौँ । अण्डाचाहिँ खानभन्दा ओथारो दिएर चल्ला काढ्नमै आमाको ध्याउन्न हुन्थ्यो । त्यस्तो समयकालमा बुवाले खाने अण्डाप्रति म ६ वर्षकी फुच्चीको मोह किन नजागोस् ?


मेरी अन्तरी बहिनी भन्छे, मैले बुझ्ने भएदेखि बुवाको जीवनको आरोह–अवरोह, संघर्ष, पीडा र आँसुहाँसो सब बुझेँ । त्यसैले म बुवाको धेरै नजिक छु । अघिसरा भएर बुवाको प्रेम र सान्निध्यमा कहिल्यै हकदाबी नगर्ने मेरी कान्छी बहिनी बुवाको सबभन्दा नजिक थिई । उमेर पुगेका छोरीहरू आ–आफ्ना घरबार सम्हाल्न र कामको सिलसिलामा बुवाबाट टाढिए पनि, आफू जन्मेदेखि बुवाको अन्तिम बेलासम्म कान्छी बहिनी हरहमेसा बुवासँगै रही । बुवाको अन्तिम अवस्थामा उहाँलाई बडो प्रेमले स्याहार्ने कान्छी बहिनी र कान्छो भाइ थिए ।


काइँली बहिनी ममताले चाहिँ, छोराछोरी कसैले गर्न नसकेको काम गथीँ । साना छँदा हामीले बुवाबाट जेजति माया प्राप्त गर्‍यौँ, त्यो आफ्नो ठाउँमा छ, ठूला भएपछि बुवाको डरले हामी उहाँसँग झ्याम्मिनु त परको कुरा दोहोरो बातचित गर्नसमेत धकाउँथ्यौँ, न त ‘बाबा’–‘ड्याडी’ भन्दै बुवासँग लाडे पल्टन नै कहिल्यै सक्यौँ । मलाई ‘बाबा’ भन्न सारै मन लाग्थ्यो तर कहिल्यै भन्न सकिनँ किनकि बुवाले ‘बुवा’ भन्न नै सिकाउनुभयो । अझ हाम्रो मुखलाई बानी पर्ने भए त बुवाले ‘पिताजी’/‘माताजी’ भन्न लगाउनुहुन्थ्यो होला किनकि, बुवालाई संस्कृत मिसिएका नेपाली शब्द तथा श्लोकहरूसँग उधुमै लगाव थियो र साहित्यिक लेखन–पठनमा पनि रुचि थियो । ममता बुवाको निकट हुने मामिलामा हामी सबैभन्दा अग्रपङ्क्तिमा रही । ऊ बेलाबेला बुवासँग ढुक्कले झगडा गर्ने, बुवालाई सम्झाइबुझाइ गर्ने र बुवालाई नटेर्ने पनि गर्थी । बुवा ममतासँग वादविवाद गर्नुहुन्थेन, हाँसेर चुपचाप ममताका हकारपकार सहिदिनुहुन्थ्यो, सायद मरेर बाँचेकी छोरी भनेर होला !


ममता जब १७ वर्षमा प्रवेश गरी, उच्च ज्वरोले थला परी । सुरुमा मियादी ज्वरो होला आफैं जाती भइजान्छ भनेर घरकाहरूले पर्खे । तीन–चार दिन ज्वरोको लागछोड चलिरह्यो तर निको भएन र ममतालाई बुवाले स्थानीय आम्दा अस्पतालमा जँचाउन लानुभो । केही दिनको अन्तरालमा अस्पतालमा जँचाउने क्रम चलिरह्यो । ज्वरो त निको भएन तर ममताचाहिँ गल्दै गई । बिस्तारै उसले खान छाडी, जीउ थामेर बस्न नसक्ने भई । आम्दाले दिएको दबाईले उसलाई बीसको उन्नाइस भएन । एक्कासि, आम्दाले ‘तपाईंकी छोरीलाई रक्त क्यान्सर भएको छ, रगत चढाउनुपर्छ’ भन्दा मेरो परिवारको सातो गयो । अस्पतालले ममतालाई चार दिन भर्ना गरेर राख्यो र दुई पिन्ट रगत चढायो । त्यसपछि, ‘छोरीलाई घर लानुस् र उसले जे खान मन गर्छे खान दिनू, कुनै बारना नगर्नू । उसको जीवन धेरै छैन अब, जति बाँच्छे समयसमयमा उसलाई रगत भने चढाइरहन पर्छ । जहाँ लगे पनि तपाईंकी छोरीलाई गर्न सकिने यति हो’ भनेर ममतालाई डिस्चार्ज गरिदियो । तामाको मुनाजस्ती कलकलाउँदी छोरी ब्लड क्यान्सरका कारण नबाँच्ने अवस्थामा पुगेकी सुन्दा बुवा अस्पतालमै भक्कानिएर रुनुभो ।


सोही रात, छिमेकमा गएर दुखेसो बिसाउँदै छोरीलाई ठूलो अस्पतालमा लगेर उपचार गराउँदा जाती भई पो जान्छे कि भनेर सुझाव माग्नुभएछ । ती छिमेकीले ‘त्यसो हैन, अब यहाँका डाक्टरले ब्लड क्यान्सरको हदम्यादै तोकिदिएपछि जहाँका डाक्टरले पनि एकमुखै लागेर त्यही बात दोहोर्‍याउने हुन् । यता लागेर समय खेर फाल्नुभन्दा बरु विराटनगरमा एक जना होमियोप्याथीका कहलिएका डाक्टर गफुर मियाँ छन्, उनैकहाँ छोरीलाई लगौँ’ भनेर सल्लाह दिए । बुवाले भोलिपल्टै एक सहयोगी लिएर ममतालाई विराटनगर लानुभयो डाक्टर गफुर मियाँकहाँ । ममताको अवस्थाबारे वृत्तान्त सुनिसकेपछि र उसलाई एकसरो जाँच गरेपछि डाक्टर गफुरले भनेछन्, ‘१७ कटेकी भए यी नानीलाई म उपचार गर्न सक्दिनथेँ, धन्य ! १७ टेकेकी मात्र रैछिन्, उपचार सुरु गर्छु अल्लाहको कृपाले सब ठीक हुन्छ ।’


उनको सान्त्वना मात्रैले पनि बुवाको अनुहार उज्यालियो । बातचितकै सिलसिलामा डाक्टरले ममताको जिब्रोमा सानो सिसीको तरल दबाई ४ थोपा चुहाइदिएछन् । त्यो दबाई जिब्रोमा पर्नासाथ कहिलेदेखि मरेर सुतेको ममताको भोक अचानक बौरिएर जुर्मुराई उठ्यो । छोरीको थामिनसक्नुको भोक देखेर बुवाले आडैको दोकानबाट दुइटा ठूल्ठुला सिँगडा र ठूलो गिलासभरि लस्सी ल्याएर ममतालाई दिनुभयो । ममताले क्षणभरमै ती खानेकुरा चाट्चुट् पारी । अनि डाक्टर गफुरले एक झोला दबाई, पथ–परहेज र फलोअपमा आइरहने निर्देशन अनि मनभरिको आसिक ममतालाई दिएर बुवाहरूलाई बिदा दिए । दबाईको प्रथम खुराकले नै छोरीमा देखिएको आशाजनक सुधारले हौसिएको बुवाको मन डाक्टर गफुरप्रति अत्यन्त आभारी बन्यो । लामा–सेता दारीवाला सुफी सन्तजस्ता डाक्टर गफुरका दुवै हात समाएर ढोग्दै बुवा निःशब्द रुनुभो । बाटो लागेपछि पनि ममतालाई भोक लागि नै रह्यो । ढुंगै खाऊँ कि माटै खाऊँ कि झैँ गरिरही । घर पुगेपछि आमाले हतारहतार भात तरकारी पकाएर दिनुभयो । त्यो खाएर बल्ल ममताको भोक केही साम्य भो ।


ज्यानले खानाको रूपमा पोषण भेटेपछि ममताको मरिसकेको आत्मविश्वास जागृत भयो । नियमित दबाई खाइरही र एक दिन दुई दिन गर्दै ऊ तङ्ग्रिँदै गई । बुवाले समयसमयमा ममतालाई डाक्टर गफुरकहाँ फलोअपका लागि लगिरहनुभो । तीन महिनापछि त, ‘अब यो केटीको आयु धेरै छैन’ भनेर तोकिदिएको आम्दाको हदम्यादलाई लात हानेर ममता पूरै तन्द्रुस्त भई । पूरै जाती भइसकेर पनि डाक्टर गफुरले ममतालाई एक वर्षसम्म दबाईचाहिँ नटुटाई दिइरहे ।अहिले डाक्टर गफुर मियाँ अल्लाहका प्यारा भैसके, तर मेरो परिवारले हरहमेसा उनको पाक रुहलाई जन्नत नसिब होस् भनेर अल्लाहसँग फरियाद गरिरह्यो र गरिरहन्छ ।त्यही साल रोगमुक्त भएर ममता काठमाडौँ आई । त्यो साल ऊ एसएलसी परीक्षामा बस्न सकेकी थिइन र घरकाले पनि उसलाई पढ्न दबाब दिएनन् । मृत्युलाई जितेकैमा घरकाहरू अत्यन्त खुसी थिए । मैले भने बहिनीलाई राम्ररी सम्झाएँ, शिक्षाको महत्त्व बुझाएँ र घर गएर राम्ररी तयारी गरेर एसएलसी दिन भनेँ । नभन्दै ममताले अर्को वर्ष एसएलसी दिई र पास भई । कलेज पढ्न ऊ काठमाडौँ आई । अब उसलाई देखेर लाग्दैनथ्यो कि यो केटीले मृत्युलाई हराएर अपराजिता बनेकी हो । त्यसपछि उसले कलेज पढी, बिहे गरी र छोरीकी आमा बनी । उसको गर्भावस्था एकदम सामान्य रह्यो । गर्भको नानी सामान्यभन्दा केही ठूलो भएको र आमा सानो गाँठीकी भएकीले ओम अस्पतालले सिजेरियन गरेर बच्चालाई जन्माउन ममतालाई सघायो । उसकी त्यही छोरीले आगे साल एसईई दिँदै छे ।


दमकको आम्दा अस्पतालले ‘अब धेरै बाँच्दिन’ भनेर १८ वर्षअघि बिदा दिएको मेरी बहिनी ममता अहिले यूकेमा बसेर संघर्ष गदैँ जीवनलाई अघि लाइरहेकी छ । छनलाई त ऊ सासू–ससुराको छत्रछायामा छे यूकेमा । यहाँ स्वदेशमा कामै गरेर निस्फिक्री बाँचिरहेका हाम्रो तुलनामा ममताजस्तालाई बडो कठिन छ पराई मुलुकमा अडिन । पराईहरूको भीडमा दैनन्दिनमा कति अवहेलना र छोइछिटो सहँदै, कहिल्यै नगरेका कामहरूमा आफूलाई रत्याउँदै र भर्खर किशोरवयको संघार टेकेकी छोरीतिर हरदम नेपालमै तानिने मनलाई सम्हाल्दै कसरी मेरी बहिनी त्यो गल्तीलाई क्षमा गर्न नजान्ने, खालि काम मात्र खोज्ने गोराहरूको देशमा टिकिरहेकी होली भनेर अत्यास लाग्छ मलाई । तर यस मानेमा सन्तोष मान्छु कि ऊ स्वस्थ छे र भैपरी आउने कठिनाइहरूसँग जुझ्दै पाखुरी बजारेर अंग्रेजको भूमिमा आफूलाई कर्मयोद्धा साबित गरिरहेकी छे । पिरो खाने आदतका कारण ग्यास्ट्राइटिसबाट पीडित हुनुबाहेक उसलाई अर्को रोग छैन ।


धेरै पहिला, एक दिन म त्रिवि शिक्षण अस्पतालको इन्डोस्कोपी शाखामा काम गरिरहँदा काकी सासूले ममतालाई लिएर आउनुभयो । ग्यास्ट्राइटिसको दुखाइले हुरुक्क भएकी रैछ ममता ! मैले इन्डोस्कोपी गरिरहेका ग्यास्ट्रोलोजिस्टलाई हेरिदिन आग्रह गरेँ । उनले ममतालाई इन्डोस्कोपी गरिदिए । मुखबाट मोटो इन्डोस्कोप छिराएर गरेको जाँचले काबु भएर उसले त्यसपछिका केही महिना खोर्सानी बारी, तर फेरि यसोकसो बेलामौकामा अकबरे टोक्न भ्याइहाल्थी । उसको रोग भनेको त्यति हो । एसोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया–नेपाल अर्थात् ‘आम्दा नेपाल’, सन् १९८९ मा आम्दा इन्टरनेसनल–जापानको हिस्सा बनेपछि, सन् १९९० मा विधिवत् दर्ता भएर नेपालमा गैरसरकारी स्वास्थ्य संस्थाको रूपमा स्थापित भयो । सुविधाबाट वञ्चित तथा सीमान्तकृत नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उनीहरूको स्तरोन्नतिमा सहयोग गर्ने उद्देश्यसहित मुलुकका विभिन्न स्थानमा आम्दा अस्पताल सञ्चालन भइरहेका छन् । आम्दाले सेवा प्रदान गरिरहेका क्षेत्र वरपरका नागरिक यसको कार्यबाट लाभान्वित भइरहेका छन् । खासगरी, आम्दाको स्वास्थ्य सेवाका कारण पूर्वी तराईमा भयावह सर्पदंश समस्याबाट राहत मिलेको टड्कारो देखिन्छ ।


स्थानीय तहमा यति राम्रो काम गरिरहेको आम्दा अस्पताल दमकले, मेरी बहिनीलाई ब्लड क्यान्सर अर्थात् ल्युकेमियाको डाइग्नोसिस गर्दा म आफैं नर्स भएकी नाताले अविश्वास गर्ने अवस्था थिएन । विडम्बना के भने, जब मैले दमक घरमा फोन गरेर ममताको उपचारका क्रममा आम्दाले दिएका कागजात मागेँ, ती कागजात कतै फेला परेनन् । ती कागजपत्र बुवाले राख्नुहुन्थ्यो । हाम्रो बुवा यस्ता महत्त्वपूर्ण कागजपत्र एकदम सम्हालेर सुरक्षित राख्ने मानिसभित्र पर्नुहुन्थ्यो । ममताका कागजातबारे अब सोध्नलाई बुवा हुनुहुन्न । हुन सक्छ, बुवाले ती कागजात नष्ट पो गरिदिनुभयो कि ? अहिले बुवा हामीसँग नरहे पनि, बुवासँगै ती असहनीय शारीरिक–मानसिक तकलिफ बेहोरेर थिलथिलो भएको मेरो परिवार र स्वयं ममता त यही धरावासी छन् नि ?


हाम्रो रगत तीन तत्त्वले बनेको हुन्छ । बोनम्यारो अथवा हाडभिक्रको मासीमा ज्यादाजसो बनिने यी तत्त्वहरू हुन् राता रत्तकोष, सेता रक्तकोष तथा प्लेटिलेट्स । राता रक्तकोषले अक्सिजन बोकेका हुन्छन् भने सेता रक्तकोष रोगविरुद्ध लड्छन् र फ्लेटिलेट्सले रगतलाई जमाएर रक्तmस्राव हुन दिँदैन । सेता रत्तकोषको क्यान्सर नै ल्युकेमिया हो । बोनम्यारोमा बेकामे सेता रक्तकोष अत्यधिक बनिन्छन् र रगतमा सेता रत्तकोष ह्वात्तै बढ्छन् र तिनको भीडले अन्य रक्तकोषलाई आफ्नो काम गर्न दिँदैनन् । सामान्यतया सूक्ष्मदर्शक यन्त्रमा रगत वा बोनम्यारोको जाँच गरेर ल्युकेमियाको पहिचान गरिन्छ । मैले ममतालाई सोधेकी थिएँ, ‘तिम्रो करङको माथिल्लो चेप्टो हाडबाट मासी निकालेर जाँच गरे ?’


उसले भनी, ‘अहँ ! बोनम्यारो टेस्ट गर्न पर्छ त भन्दै थिए तर गरेनन् । रगतचाहिँ धेरै पटक जाँचें ।’ बहिनी ममताको रोगको प्रकरणले दुई भिन्न सम्भावनालाई प्रस्ट्याउँछ । एक, ममतालाई ब्लड क्यान्सर भएकै थिएन, सायद गम्भीर रक्त–अल्पता वा अन्य कुनै रोग लागेको थियो । आफूलाई लागेका कुरा प्रमाणित गर्ने कागजात हातमा नभएकाले म सम्भावनाका कुरा गर्न बाध्य छु । दुई, ममतालाई ब्लड क्यान्सर नै भएको थियो तर एउटा निश्चित उमेर समूहका मानिसमा रोगको प्रारम्भिक चरणमा उपचार थालियो भने होमियोप्याथी उपचार पद्धतिले ब्लड क्यान्सर च्वाट्टै निको हुँदो रहेछ जसरी ममताको जाती भयो ।


म सोँचेर कहालिन्छु, यदि आम्दा अस्पतालले दिएको सल्लाह सुझावलाई नै बुवाले अन्तिम सत्य मानिदिनुभएको भए के हुन्थ्यो ? फेरि, आफैंले मनलाई सम्झाउँछु, हैन, दुनियाका बाबुहरू गच्छेले भ्याएसम्म सन्तानको जीवन रक्षाको लडाइँमा एक्लो सिपाही भएरै पनि मोर्चामा डटिरहन्छन्/लडिरहन्छन् ।२०७४ फागुन ४ गते, बुवाले अन्तिम सास फेरेर हामीलाई छाडिजानुभएको थियो । र म, उप्रान्त बुवालाई सशरीर कहीँकतै देख्न पाउँदिनँ, हिरिक्कै प्राण जान खोजे पनि बुवालाई छुन कहिल्यै पाउदिनँ र बुवाको वात्सल्यले भरिएको हातले मेरो शिर कहिल्यै सुम्सुम्याउने छैन भन्ने कल्पेर अधमरो भएकी थिएँ । तर मान्छेको जात सारै जब्बरे हुँदोरैछ ! बुवालाई केही भयो भने म कसरी बाँच्न सकुँला र ? म पनि उतिखेरै भुक्लुक्क मरिजान्छु नि ! भनेर जतिबेलै सोँचिरहने मैले, नचाहेर पनि बुवालाई धेरैजसो बिर्संदै एक वर्ष बढीको समय काटिसकेछु !

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?