डायनोसर थेरम

रोशन शेरचन

प्राक्कथन डायनोसर थेरम भन्ने त्यस्तो कुनै थेरम छैन  । यो एउटा काल्पनिकी हो  ।

तर अर्थको हिसाबले त्यो थेरमलाई डायनोसर थेरम भन्न सकिन्छ । त्यस थेरमले भन्छ— मलाई नपढे, नबुझे र व्यवहारमा लागू नगरे, तिम्रो नियति पनि डायनोसरजस्तै हुनेछ । अथवा तिमी पनि लोप हुनेछौं । समाजमा अनेकन् डायनोसरहरू भेटिन्छन् । जैविक अर्थमा होइन । वैचारिक अर्थमा । यसबारे अन्तिम अनुच्छेदमा लेखेको छु ।

पृष्ठभूमि
साहित्य विज्ञानको नजिक बस्छ कि कलाको ? के साहित्य विज्ञानको विपरीत उभिन्छ ? राजनीतिसँग साहित्यको कस्तो सम्बन्ध हुन्छ ? सामाजिक यथार्थवादी र प्रयोगशील धारका शक्ति र सीमा के हुन् ? के वास्तवमै स्वैरकल्पनाले सामाजिक यथार्थलाई कमजोर बनाउँछ ? आदि महत्त्वको प्रश्नहरूमाझ हामी घेरिएका छौं ।
सहज ज्ञानले साहित्यलाई कला भन्छ । तर सौन्दर्यशास्त्रमा, साहित्यलाई सौन्दर्यपरक विज्ञान प्रवर्गअन्तर्गत राखिएको छ । यसले संकेत गर्छ— साहित्य सौन्दर्यशास्त्रको एउटा प्रशाखा हो र यसले सौन्दर्यशास्त्रका आधारभूत नियमहरूको पालना गर्छ । तर अधिकांश साहित्यले विज्ञानका नियमहरूको अवज्ञा गरेको पाउँछौं । साहित्यका विशेषता र प्रभावहरूको विज्ञानसम्मत व्याख्या धेरै भेटिँदैन । धेरै त मनोगत व्याख्या नै छ । भावुक व्याख्या त छ्यालब्याल । तापनि साहित्यको सृजन प्रक्रिया र वैज्ञानिक पद्धतिबीच हामी केही सम्बन्ध भेट्छौं । त्यस्ता केही समानताबारे यहाँ चर्चा गर्नेछु ।

वैज्ञानिक पद्धतिहरू
मूलत वैज्ञानिक पद्धतिहरू तीन प्रकारका छन् । प्रथम, अवलोकन (अब्जर्भेसन) पद्धति जसलाई जीववैज्ञानिक चार्ल्स डार्बिनले लोकप्रिय बनाए । यसको महत्त्व संसारभरि फैलाए । गालापागोस द्वीप, ब्राजिल, अर्जेन्टिना, चिलेका जीव, चट्टान, जीवाशेष र त्यसका नमुनाहरू संकलन र अवलोकन गरी डार्बिनले इभलुसनको सिद्वान्त प्रतिपादन गरे । अन्य धेरै वैज्ञानिक पनि छन् । तर डार्बिन प्रमुख थिए । दोस्रो कल्पनाशीलताको (इमाजिनेसन) पद्धति थियो, जसलाई आइन्स्टाइन र स्टिफन हकिन्सजस्ता भौतिकशास्त्रीहरूले विकास गरे । विस्तार गरे । आइन्स्टाइनको सापेक्षवादको सिद्धान्त धेरै दशकपछि सही ठहरियो । अर्बौं वर्षअगि दुई विशाल ब्लाकहोल ठोक्किई महाविस्फोटबाट (बिग ब्याङ्) उत्पन्न तरंगका ध्वनि सन् २०१४ मा पृथ्वीमा आइपुग्यो जसलाई अत्याधुनिक उपकरणले त्यसलाई रेकर्ड गर्‍यो । भर्खर खिचिएको ब्लाकहोलको तस्बिरले पनि यी वैज्ञानिकहरूको कल्पनाशीलता सत्य भएको पुष्टि भयो ।


तेस्रो प्रयोगको (एक्सपेरिमेन्टल) पद्धति । न्युटन र ग्यालिलियो आदि वैज्ञानिकले प्रयोग (एक्सपेरिमेन्ट) गरी पदार्थका गुण र विशेषता पत्ता लगाएका थिए । साहित्य अवलोकन, कल्पनाशीलता र प्रयोगको (?) बाटो हुँदै जन्मँदो रहेछ । यी वैज्ञानिक पद्धतिहरूको आलोकमा साहित्य सृजनका केही उदाहरणहरू हेरौं ।

केही उदाहरणहरू
सबभन्दा चल्तीको पद्धति अवलोकन हो । यसलाई निरीक्षण पद्धति पनि भन्छौं । अवलोकनलाई अन्वेषणको एक सबल माध्यम मानिन्छ । जीवन विज्ञानमा मात्र होइन, सामाजिक विज्ञानमा पनि यसको प्रयोग बढ्दो छ । लेखकले आफ्नो समाजको अवलोकन वा आफ्नो रुचिको फरक समाजको भ्रमण गरेर त्यहाँका रैथाने बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै साहित्यको विषयवस्तु खोज्नु यसअन्तर्गत पर्छ । प्राथमिक रूपमा, सामाजिक यथार्थवाद धारको साहित्य यही पद्धतिमा निर्भर छ ।


नयनराज पाण्डेले ‘उलार’, ‘लू’ को निम्ति नजिकदेखि देख्दै भोग्दै आएको नेपालगन्जको खास समाजलाई टिप्नु, सरस्वती प्रतीक्षा ‘नथिया’ लेख्न पश्चिमका बादी बस्ती पुग्नु यसका दृष्टान्त हुन । कल्पनाशीलताकै बलमा कसैले उलारजस्तो उत्कृष्ट आख्यान लेख्न सक्दैन । इतिहाससम्बद्ध साहित्य लेख्न सन्दर्भ सामग्रीको जोहो अत्यावश्यक काम हो । तत्् विषयका क्षेत्रगत भ्रमणमा निस्कनु, स्थानीय बासिन्दाबाट मिथक र तथ्यहरू संकलन गर्नु र विज्ञहरूको राय लिनु उत्तिकै महत्त्वपूर्ण छ । कि विषयमा जानकार हुनुपर्‍यो अन्यथा अन्वेषणमै निस्कनुपर्‍यो । सामाजिक तथा सांस्कृतिक पर्यावरणमा भिज्नु यसको अर्को ध्येय हो ।


नारायण ढकालको ‘प्रेतकल्प’, नीलम कार्की निहारिकाको ‘योगमाया’, भूपिनको ‘मैदारो’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, राजन मुकारुङको ‘हेत्छाकुप्पा’, यज्ञशको ‘भुइँया’, तीर्थ गुरुङको ‘पाठशाला’, उमा सुवेदीको ‘तोदा’ प्राथमिक रूपमा अवलोकन पद्धतिबाट जन्मिएका कृृृति हुन् । नारायण ढकाल काँठका बासिन्दा हुँदैनथे भने, ‘प्रेतकल्प’, ‘हजारमाइल’ को बाटोजस्ता इतिहाससम्बद्व आख्यान सायदै लेखिन्थे । त्यो भिन्दै कुरा, अवलोकनमा केही लेखकको आफ्नै अनुभव पनि मिस्सिएका छन् । अवलोकन, अन्वेषण र अन्तरक्रियाकै योगमा सृजनाहरू सम्भव हुन्छन्, यस पद्धतिमा ।


डार्बिनले लोकप्रिय बनाएको यो पद्धतिले आडभरोसा दिन्छ— अवलोकनबाट पनि प्रमाणहरू प्राप्त गर्न सकिन्छ । निरन्तरको अभ्यासले लेखन परिष्कृत बन्दै जान्छ । यसमा धैर्य त्यसरी नै अनिवार्य सर्त हो, जसरी विकासवादको सिद्धान्तमा करोडौं वर्ष लिई प्रजातिहरू आफ्नो वातावरणमा बाँच्न अन्यभन्दा फिट हुँदै जान्छ ।


दोस्रो वैज्ञानिक पद्धति छ, कल्पनाशीलता । प्रयोगधर्मी लेखकहरू यो पद्धति प्रयोग गर्छन् । प्रयोगधर्मी लेखकहरू संख्यामा कम भएकाले पनि यो पद्धति कम चल्तीमा छ । सरुभक्तको ‘पागल बस्ती’, कुमार नगरकोटीको ‘मिस्टिका’, गणेश पौडेलको ‘पैताला’ यस मार्काका पुस्तक हुन । यस पद्धतिले कथा, पात्र चयन र चरित्रचित्रणमा लेखकलाई खेल्न फराकिलो मैदान दिन्छ । परम्परा र यथार्थमा बाँधिनु नपर्ने भएकाले कल्पनाशील लेखकहरू यस पद्धतितिर आकर्षित हुन्छन् । यसमा लेखकको अभीष्ट हुन्छ, कल्पनाको बलमा भावभूमि, कथा र चरित्रलाई जति परसम्म लग्न सकिन्छ, लैजाने । यथार्थमा जे भइरहेको छ, त्योभन्दा पनि कस्तो हुनुपर्छ ? कस्तो हुन सक्छ ? त्यसको चित्रण गर्ने ।


इतिहास सम्बद्व लेखनभन्दा भविष्यउन्मुख (फ्युचरिस्टिक) लेखनका निम्ति यो उपयोगी छ । अधिकांश नेपाली साहित्य विगतमुखी भएकाले कल्पनाशीलतालाई स्थान कम छ । इतिहाससम्बद्ध लेखन पनि प्रकारान्तरले विगतमुखी लेखन नै हो यद्यपि त्यसको प्रयोजन भिन्न छ । राजनीतिक व्यंग्यको क्षेत्र त अत्यन्त टाक्सिएको छ, जबकि यो उपविधालाई कल्पनाशील पद्धति अत्यन्त उपयुक्त हो । राजनीतिक क्षेत्रमा घनघोर कमेडी र विद्रूपता व्याप्त छ तर आख्यानमा त्यसको कतै प्रतिविम्ब छैन । हास्यव्यंग्य गाईजात्राभन्दा माथि उक्लेन । ‘एनिमल फार्म’ र ‘नाइन्टी एटी फोर’ जस्ता आख्यान नेपालीमा कहिले लेखिने होला ?


केही लेखक छन्, जो मूलतः सामाजिक यथार्थवादी हुन् तर स्वैरकल्पनाका सहारा लिन्छन् । ध्रुवचन्द्र गौतम, नारायण ढकाल र नयनराज पाण्डेलाई यस कोटीमा राख्न सकिन्छ । अधिकांश प्रगतिशील लेखक स्वैरकल्पना उपकरण देखेरै तर्सन्छन् । उनीहरूलाई लाग्छ, स्वैरकल्पनाले लेखनको लक्ष्यबाट अल्मलाउँछ र त्यो पलायनको बाटो हो । माथि उल्लिखित लेखकहरू स्वैरकल्पनाको प्रयोग गर्छन् तर उद्देश्य हुन्छ— सामाजिक यथार्थको प्रभावलाई नै सघन बनाउने । यथार्थ र कल्पनाको दशगजामा बस्ने यी गोधूलिका लेखक हुन् । पाटेभीरलाई आख्यानीकरण गरिएको आख्यान मैदारो मार्फत भूपिन पनि यसै कोटीमा थपिएका छन् ।


यसको विपरीत, कल्पनाशीलतालाई प्रधान्य दिने प्रयोगधर्मी लेखकहरू यथार्थसँग धेरै सरोकार राख्दैनन् । बरु उनीहरू आफ्ना सृजनाले पाठकलाई नदेखेको ठाउँ देखाउने, नसुनेको कथा सुनाउने, नचिताएको घटना देखाउने र कल्पनामा पनि सोच्न नसकेको लोकमा लग्नुपर्ने आग्रह राख्छन् । त्यस्ता लोक युटोपियन वा डिस्टोपियन दुवै प्रकारका हुन सक्छन् । यस कोटीको सृजनालाई बेपत्ताको स्वैरकल्पना (बिजार) भन्नु उपयुक्त होला । यथार्थसँग जसको रत्तिभर साइनो हुँदैन तर पाठकलाई यस्ता कथाले विस्मयको स्थितिमा लगेर छाड्छ । मानसिक झट्का, भय, कौतूहल, बीभत्सता, उत्तेजना, वासना र विरानोपनलगायतका प्रभाव उत्पन्न गर्छन् । यस्ता प्रभावविचारको तहमा भन्दा पनि इन्द्रियको तहमा उत्पन्न हुन्छजस्तो लाग्छ । यी प्रभावलाई तर्कको पद्धतिले खासै भेउ पाउन सकिँदैन ।


सरुभक्त, नगरकोटी, गणेश पौडेल आदि यस वर्गका प्रतिनिधि लेखक हुन् । विगतमा ‘विर चरित्र’, ‘विरसिक्का’ जस्ता तिलस्मी उपन्यासहरू लेखिन्थे । बीस, तीसको दशकमा रोमाञ्चकता र रहस्य खोज्ने पाठकले नेपाली जासुसी उपन्यासमै भर पर्नुपर्‍यो । त्यसपछि यस्ता उपन्यासहरू लुप्तप्रायः भए । २०४६ को जनआन्दोलन, दसवर्षे माओवादी सशस्त्र यूद्वपछिका तीव्र राजनीतिक घटनाक्रमले सामाजिक यथार्थवादी धारलाई मलिलो धरातल प्रदान गर्‍यो । फलस्वरूप भुइँमान्छेको कथा, फेमिनिज्म र पहिचान साहित्य लेखन अहिले उत्कर्षमा छ । तर राजनीतिक संक्रमण सकिँदै गएको अवस्था र विज्ञान प्रविधिको तीव्र विकासले स्वैरकल्पनालाई फेरि उर्बर भूमि प्रदान गरेको छ । विजार स्वैरकल्पनाले आख्यानमा पुर्नजन्म लिएको देखिन्छ । नगरकोटीको सृजनात्मक सनकले त्यो गोरेटो कोरेको छ । त्यो गोरेटोले कति परको गन्तव्य छोला ? त्यो भविष्यकै गर्भमा छ ।


तेस्रो प्रयोगको पद्धति सायद साहित्य सृजनको निम्ति उपयुक्त छैन । साहित्य वस्तूत मानसिक निर्मिति भएकाले भौतिक विज्ञानको पदार्थझैं प्रयोगमा लग्न नसकिएको हो । साहित्य सृजनमा कल्पनाशीलताको वा निरीक्षणको प्रयोग गर्न सकिन्छ तर एक्सपेरिमेन्टकै अर्थमा सायद असम्भव छ ।


माथि केही वैज्ञानिकको नाम लिन परेको कारण नितान्त प्राविधिक छ । लेखकहरूलाई वैज्ञानिकसँग तुलना गर्नु मेरो ध्येय होइन । त्यो न सम्भव छ, न सुहाउँदो । यस लेखको उद्देश्य, पद्धतिको आधारमा साहित्य सृजना र विज्ञानबीच केही समानता देखाउने मात्र हो ।

सीमा र शक्ति
लेखकको चेतना विज्ञानसम्मत हुन आवश्यक छ/छैन ? ठूलो प्रश्न हो । साहित्य विज्ञान नभएकाले, कला भएकाले विज्ञानसम्मत हुन कति आवश्यक छ ? जिज्ञासा उब्जिन्छ । फेरि सौन्दर्यपरक विज्ञानको दर्जा दिइएकाले साहित्यमा विज्ञानको वस्तुनिष्ठता आवश्यक पनि होला ? प्रश्नले गहन छलफल माग्छ ।


केही छरिएका जवाफ वरपर देख्न सकिन्छ । मोटामोटी के भन्न सकिन्छ भने सामाजिक यथार्थवादी लेखकहरू विज्ञानसम्मत चेतनालाई आवश्यक तत्त्व मान्छन् । उनीहरू सिद्वान्ततः कन्टेन्टमा बढी जोड दिन्छन् । कन्टेन्ट तार्किक र रूपान्तरणको निम्ति हुनुपर्ने आग्रह राख्छन् । कोही त मुखर रूपमा क्रान्तिकै लागि लेख्नुपर्ने मान्छन् । त्यस्ता लेखकहरूलाई अभियन्ता लेखक भन्न सकिन्छ । राजनीतिसँग प्रत्यक्ष जोडिएर मुद्दा केन्द्रित विषयमा लेख्ने र तत् पार्टीसँग आबद्व लेखकहरू यस कोटीमा पर्दछन् । नवीनताप्रति सिद्वान्ततः उदासीनता र पुरातन फरम्याटको कथा वाचन सामाजिक यथार्थवादी धारको सिमा हो । साहित्यको प्रयोजन विस्मय नभएकाले यस्ता साहित्यमा नवीनता निम्छरो भेटिन्छ । केही साहित्यकारहरू सोच्छन्— साहित्यको सामाजिक दायित्व हुन्छ, साहित्यले क्रान्ति र समाज रूपान्तरणमा सघाउँछ तर सोझै नभएर अप्रत्यक्ष । नारायण ढकालजस्ता गैरसरकारी मार्क्सवादी लेखकहरू यस कोटीमा पर्छन् ।


यसको विपरीत, कल्पनाशीलता र स्वैरकल्पनालाई प्रधान्य मान्ने धारका लेखकहरूको ध्येय विस्मय र रोमाञ्चकता भएकाले, उनीहरू नवीनतालाई पस्कने (विषयवस्तु र शैली) मामलामा अगाडि हुन्छन् । यी लेखकहरूको निम्ति सौन्दर्यशास्त्र प्रत्यक्षतः उपयोगितावादी हुँदैन । कन्टेन्टलाई उनीहरू प्राथमिक महत्त्व दिंदैनन,् जति कथावाचनको शैलीलाई दिन्छन् । राजनीतिसँग खासै गाँसिंदैनन् । विज्ञानसम्मत नहुनु, सामयिक राजनीतिप्रति निरपेक्ष हुनु, भौतिकवादी दृष्टि चिन्तनभन्दा प्रत्ययवादी हुनु यस प्रवृत्तिको सीमा मान्न सकिन्छ ।

डायनोसर थेरम
साहित्य लेख्नेहरूले विज्ञानबाट मात्र होइन, गणितबाट पनि सिक्न सक्छ । यो थेरमचाहिँ गणितबाट लिइएको हो । बेस् थेरमले भन्छ— तथ्यहरू फेरिए, धारणा पनि फेर्नु । जसलाई मनन र पालना गर्न सके डायनोसर हुनबाट जोगिन्छ । थेरममा तथ्यलाई धारणाको जग मानिएको छ । तथ्यको महत्त्वलाई बुझ्न नसकेर हो वा साधु बाबाहरूको पछि धेरै लागेर हो, केही लेखकहरू डायनोसर भैसके । तथ्यहरू फेरिइसके, धारणाहरू विगतकै तथ्यहरूमा आधारित छ ।


तथ्यहरू के हुन् ? कहाँ बस्छन् ? कस्ता स्थितिमा छन् ? त्यसका चालक शक्तिहरू के के हुन् ? निर्माण हुँदै गएको नयाँ यथार्थ के हुन् ? त्यसतर्फ दृष्टि नदिने हो भने, डायनोसरको पङ्क्तिमा थाहै नपाई हामी पनि उभिइने सम्भावना प्रबल छ । त्यसैले बेस् थेरमलाई डायनोसर थेरम भने । सचेत गराउने अर्थमा । सृजनात्मक लेखनमा लाग्नेहरूले बेस् थेरममा धेरै उपयोगी कुराहरू भेटाउन सक्छ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिल्भिया

रोशन शेरचन

 स्मृति बन्ने र सम्झने कुरामा मानिस गाईभैंसीभन्दा सायद भिन्न छैन  । अवसर पाउँदा गाईभैंसी अधिक घाँस निल्छन् र फुर्सदमा उग्राउँदै चपाई चपाई स्वाद लिन्छन्  ।

मानौं, खानपान बल्ल सुरु भएको छ । स्मृति बन्ने र सम्झने कुरामा मान्छे पनि ‘रुमिनेन्ट’ जस्तै छ । मौका पाउँदा स्मृतिहरूका धेरै घान हाल्छन् । फुर्सदमा मात्र चाल पाउँछन्, के कस्ता स्मृतिहरू निर्माण भएका रहेछन् भन्ने ।


सिल्भिया लेख्न बस्दा यस्तैखाले अनुभव भयो । घोत्लदै जाँदा सिल्भिया प्लाथसँग जोडिएको एउटा सिनेमा, केही थान कविता र एडिबराको संस्मरण रहेछ । उक्त विषय स्मृतिपटमा सजिलो गरी आएन । घटनाक्रम पुरानो भएकाले पनि होला, सोचाइमा बल पर्‍यो । एडिनबरा सहरमा अध्ययनबाहेक मैले गरेको अर्को नियमित कर्म थियो— सिनेमा हेर्नु । लोदियन रोडमा एडिनबराकै पुरानो सिनेमा हल छ— फिल्महाउस । मंगलबार विद्यार्थीको निम्ति टिकट मूल्यमा भारी छुट भएकाले नियमित सिनेमा हेर्नु मेरो प्राथमिकतामा पर्‍यो । अन्य दिन पाँच–छ पाउन्ड पर्ने टिकट त्यो दिन साढे दुई पाउन्ड हुन्थ्यो । सिनेमाले मेरो अध्ययनले निर्माण गरेको एकरसको जीवनलाई केही हदसम्म मुक्त गर्‍यो ।


हस्टेलछेउ बसस्टप थियो । पच्चीस–तीस मिनेटमै बसले फिल्महाउस पुर्‍याउँथ्यो । फिल्महल अत्याधुनिक बान्कीको थिएन बरु सांस्कृतिक शैलीको देखिन्थ्यो । ब्रोसर पनि बाँडिन्थ्यो । सिनेमा हेरेर फर्कंदा ब्रोसर बोकेर आउँथें । ब्रोसरमा त्यस महिना देखाइने सिनेमाको सूची र सारहरू सर्सती हुन्थे । मनपरेको सिनेमामा गोलो चिह्न लगायो । तोकिएको दिन बस चढेर फेरि फिल्महाउस गयो । त्यसरी दर्जनौं सिमेना हेरें । मानौं फिल्महाउस एडिनबरामा मैले पत्ता लगाएको अथाह खुसीको खानी थियो, जुन प्राप्त गर्न मैले धेरै खर्चन पर्दैनथ्यो । घोत्लेपछि थाहा भयो, त्यो पाटो कतै छुटेको रहेछ ।


त्यहाँ हेरेको एउटा सिनेमा थियो— ‘सिल्भिया’ । त्यो सिनेमा अमेरिकन कवि सिल्भिया प्लाथको जीवनकथा, कवितायात्रा, संघर्ष, प्रेम, प्रेरणा, वैवाहिक जीवन, मानसिक विचलन र आत्महत्याका शृंखलाको अनेकन पत्रहरूमा बेरिएर आएको थियो । उनको दुर्दान्त पीडा, कवि बन्ने सघन महत्त्वाकांक्षा, टेड ह्युससँगको असफल वैवाहिक जीवन र आत्महत्याको दृश्यले गहिरो स्पर्श गरेको थियो । सिल्भिया प्लाथको नाम नयाँ त थिएन । त्यति विस्तृतमा भने सिनेमा हेरेपछि थाहा भयो । सिनेमा हेरेको केही दिनसम्म सिनेमाले मलाई उदास बनायो । गम्भीर खालको कविता सृजना असाध्य एक्लो कर्म रहेछ भन्ने पनि बोध भयो ।


सिल्भिया अमेरिकी फुलब्राइट छात्रवृत्तिमा क्याम्ब्रिज युनिभर्सिटीमा पढ्न आउँछिन् । उनको टेड ह्युससँगको पहिलो भेट युनिभर्सिटीको एक पार्टीमा हुन्छ । टेड ह्युस त्यतिबेला चर्चित कवि भैसकेका हुन्छन् । सिल्भिया ह्युसका कविताबाट प्रभावित हुन्छिन् । त्यसो त उनी कवि डायलन थोमसको कविताबाट झन् बढी प्रभावित हुन्छिन् तर उनी थोमसलाई भेट्न पाउँदिनन् । पार्टीमा दुई जनाको पहिलो भेटको दृश्याङ्कन मनमोहक छ । टेड पार्टीको भीडभाडभन्दा पर कुनामा एक्लै उम्भिरहेको हुन्छ । नाचिरहेको भीड छिचोल्दै सिल्भिया कुनातिर हानिन्छिन् । ह्युसको सम्मोहन, धेरै अर्थमा सिल्भियाको दुःखद यात्राको आरम्भ विन्दु बन्छ ।


एकअर्काप्रतिको आकर्षण प्रेम हुँदै विवाहमा परिणत हुन्छ । दुई सन्तान भइसकेपछि घरायसी व्यस्तताले सृजना टाढिंदै गएकाले सिल्भियामा गहिरो निराशा छाउँछ । सिल्भिया सानै उमेरदेखि तीक्ष्ण बुद्वि भएकी प्रतिभाशाली व्यक्ति थिइन् । टेडको जीवनमा अर्को महिला आएपछि त सिल्भियाको निराशा अवसादमै पुग्छ । उनको लेखक बन्ने महत्त्वाकांक्षा, तीव्र संवेदनशीलता र बिग्रँदो वैवाहिक सम्बन्धले उनलाई आत्महत्यातिर उन्मुख गराउँछ । धेरै पटकको प्रयासपछि सिल्भियाले ११ फेब्रुअरी, १९६३ मा आफ्नो ज्यान लिन्छिन् । त्यसबखत उनको उमेर मात्र ३० वर्षको हुन्छ ।


सिल्भियाको मृत शरीरलाई कफिनमा शववाहनसम्म राख्दाको दृश्य बिथोल्ने खालको छ । कलात्मक शैलीको त्यो सिनेमेटोग्राफीले उच्चकोटिको प्रभाव उत्पन्न गर्छ । माथिबाट खिचिएको छ– एरियल सट । दुई जनाले सडकमा कफिन निकाल्छन् । कफिन रातो कपडाले ढाकिएको छ । त्यसबाहेक सडक, घर र नजिक रोकिएको गाडी सम्पूर्ण सेतो छ । छेउको गाडी हिउँले पुरिएको छ । अर्को छेउको शवबाहनको पछिल्लो भागमात्र देखिन्छ । त्यसको ढोका खोलिएपछि शववाहनमा कफिन राखिन्छ । बिस्तारै हिउँमा टायरका डोबहरू बन्दै गुडिरहेको शववाहन फ्रेमबाट बाहिरिन्छ । पार्श्वसंगीतले प्रभावलाई झनै सघन बनाउँछ ।


सिनेमा, सिल्भियाको उदास कविताजस्तै छ । यसको टोन कालो छ । निस्सासिँदो मौन फ्रेम छ। दृश्यांकन जति आउटडोरको छ, उत्तिकै इनडोरको पनि छ– कविमानसको । नैराश्य, आक्रोश र गुम्फनले लछप्पै भिजेको । सिनेमा सक्किएपछि हिँडेरै होस्टल फर्किएँ । सिमसिम पानी परिरहेको थियो । एडिनबरा सहर मानौं भर्खर नुहाएर बाथरुमबाट निस्किएको छ । पर्याप्त मादक । टुलिप फूलको रङहरूमा खुलेको एडिनबरा कल्पना कोष्ठमा ‘इम्प्रेसनिस्ट पेन्टिङ’ झै देखिन्छ । यो सहरमा भद्दा गगनचुम्बी भवनहरू छैनन् । प्रमुख रूपमा भिक्टोरियन ढाँचाको वास्तुकला भएको यसलाई उत्तरको एथेन्स पनि भनिन्छ । युनेस्कोले वैभवशाली संस्कृति र साहित्यको इतिहासलाई आधार मानी सन् २००४ मा एडिनबरालाई ‘सिटी अफ लिटरेचर’ नै घोषणा गर्‍यो । जे. के रोलिङको ‘ह्यारी पोर्टर’ को प्रसिद्विले पनि यो सहरको गरिमा चुलिएको थियो । रोबर्ट बन्स, रोबर्ट लुइस स्टिभेन्सन, अर्थर कोनन डोयल, वाल्टर स्कटहरू आदि त विश्वप्रसिद्ध धरोहर नै भए ।


‘सिल्भिया’ ले उत्पन्न गरेको प्रभावले मन र मस्तिष्क बेस्सरी बिथोलिएको थियो । माध्यम सिनेमा भएकाले प्रभावहरू अनुभव हुने मात्र होइन, देखिने पनि रहेछ । पुस्तकको प्रभाव भएको भए, सायद प्रभावहरू देखिँदैनथ्यो । विचारस्वरूपमा मात्र आउँथ्यो । चेतन वा अवचेतन तहमा विविध प्रभावहरूको जम्काभेट हुन्छन् । जुन प्रभावसँग संवेदना जोडिन्छन् ती स्मृतिमा तैरिन्छन् । बाँकी विस्मृतिको गर्तमा विलुप्त हुन्छन् । जति प्रबल संवेदना कुनै घटनाले हामीभित्र उत्पन्न गर्छ, त्यो स्मृति त्यति नै गहिरो गरी बस्छ । जतिसुकै पुरानो किन नहोस्, संवेदनाले त्यस्ता स्मृतिलाई मरिकाटे विलुप्त हुन दिँदैन । केही दिनसम्म सिनेमाले मलाई अर्को लोकमा पुर्‍यायो जबसम्म अध्ययनको चाप बढ्दै गएर त्यसका प्रभावहरू मस्तिष्कको पृष्ठभूमितिर धकेलिएनन् ।


सिल्भियाले भोग्नुपरेको ट्र्याजडीका केही साझा कारणहरू हाम्रै समाजमा पनि सायद खोज्न सकिन्छ । सानै उमेरमा उनको बुबाको निधनले ल्याएको नियास्रोपन त छ नै त्यसभन्दा बढी पुरुषको वर्चस्व रहेको क्षेत्रमा आफ्नो स्थान बनाउन महिलाले गरेको अथाह संघर्षको कथा पनि छ । घरायसी र बच्चाहरूको लालनपालनको कामले लगाउने तगारा पनि पर्याप्त देखिन्छ । बाटैभरि महिला भएकै कारणले झेल्नुपरेको अवरोधको दृश्यकथा पनि हो— ‘सिल्भिया’ । उनको कवितासंग्रह ‘एरियल’ र अटोबायग्राफिकल उपन्यास ‘बेल जार’ कालजयी मानिन्छन् । यही सृजनाको बलमा उनी पाठकमाझ अझैसम्म बाँचिरहेकी छन् ।


सिल्भिया प्लाथका दुःख, पीडा र संघर्षलाई नेपाली महिला लेखकहरू बाँचिरहेको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक संरचनासँग पनि जोडेर हेर्न सकिन्छ । सशस्त्र संघर्ष र जनआन्दोलन, पछिल्ला वर्षहरूमा देखिएको फेमिनिज्मको उभार, लिङ्गीय विभेदविरुद्वको आन्दोलन, मिटू अभियान, कलाका प्रयोग र साहित्यिक फेस्टिभलका बहसहरूले देशभित्र र बाहिरका सिल्भियाहरूको जीवनलाई नयाँ आलोकमा हेर्न आग्रह गरेका छन् । उत्तिकै उत्सुकताको विषय पनि बनाइदिएको छ ।


नेपाली महिला लेखकहरूले भोग्दै र लेख्दै आएका समस्या र सवालहरू नितान्त भिन्न छैनन्, समान प्रकृतिका पनि छन् । जब महिलाले पुरुषको अंग मात्र भएर बाँच्न अस्वीकार गर्छन् र आफूभित्रको पृथक् व्यक्तित्वलाई जन्माउन थाल्छन्, तिनको जम्काभेट शताब्दीयौं पुरानो पित्रसत्तात्मक संरचनासँग हुन्छ नै । सिल्भिया ह्युसको छाया मात्र भएर बाँच्न चाहँदिनन् । ऊ आफूभित्रको कविव्यक्तिलाई अग्लाइमा पुर्‍याउन चाहन्छिन् । अवस्थाहरू प्रतिकूल बन्छन् र उनी अवसादको खाडलमा पुरिन्छिन् ।


सिनेमा हेर्दा अनुभव हुन्छ, टेड ह्युस तत्कालीन समाजको पितृसत्तात्मक संरचनाको एउटा प्रतिनिधि हुन् । लैङ्गिक विभेद र महिला हिंसा नेपाली समाजमा मात्र सीमित छैन । पश्चिमी देशमा पनि यसका क्रूर पञ्जाहरू यथेष्ठ गाडिएको देख्न सकिन्छ । सिल्भियाको गर्भको बच्चा तुहिनु केही दिनअघि टेडले उनलाई कुटेको तथ्य सार्वजनिक भएपछि, केही महिलावादी लेखकहरूले ह्युसलाई हत्यारा पनि भने । चर्चित कवि ह्युस किन त्यति कठोर बने ? जवाफहरू सजिलै भेटिँदैनन् । केही समीक्षकहरू त ह्युसप्रति सहानुभूति प्रकट गर्छन् । समीक्षक जोनाथन बेट्स ह्युसभन्दा सिल्भियाको मानसिक विचलनलाई आत्महत्याको प्रमुख कारण मान्छन् । सिनेमा हेर्दै गर्दा, सिल्भियाको जीवन त्यस्तो जीवन अनुभूत हुन्छ, जहाँ एक अत्यन्त प्रतिभाशाली लेखक आफू बाँचेको समाज र कविमानससँग जुध्दै केही कालजयी सृजनाहरू छाडेर शून्यमा कतै विलुप्त हुन्छ ।

घामसँग जिस्कन्छ मेरो छाया
जब म अँध्यारोलाई सुम्सुम्याउँछु
हामी एकै हो, भिन्न पनि
जब मेरो छाया मुस्काउँछ
मलाई अवसादले उकुसमुकस पार्छ
छाया चाँडै बिलाउनेछ
म मर्नेछु
एउटा खुसी, अर्को दुःख
–सिल्भिया प्लाथ

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT