१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

व्यंग्यका जोखिम

कालीप्रसाद रिजाल

त्रिचन्द्र कलेजबाट वाणिज्यमा स्नातक परीक्षा पास गरेपछि मैले उच्च अध्ययनका लागि बनारस जानुपर्ने भयो  । काशी हिन्दू विश्वविद्यालयको बिडला होस्टेलमा बसेर पढ्नुपर्ने भयो  ।

व्यंग्यका जोखिम

काठमाडौंको साहित्यिक वातावरणमा रमाइरहेको मान्छेलाई एकाएक बनारस गएर पढ्नुपर्दा म पानीबाहिरको माछाजस्तो हुनपुगें ।


होस्टेलका विद्यार्थी कोही पनि नेपाली बुझ्दैनथे । मेरा नेपाली गीत, कविता उनीहरूका लागि कागका लागि बेल समान थिए । त्यहाँका विद्यार्थीहरूसित मेलजोल मित्रता बढाउनकै लागि भए पनि मैले हिन्दी साहित्य पढ्नुपर्ने भयो । कालान्तरमा म हिन्दी कविहरूका गीत आफ्नै लयमा गाउन सक्ने भएँ । हिन्दी भाषामा पनि गीत, कविता लेख्न थालें । आफूले लेखेका हिन्दी कविता वरपरका विद्यार्थी साथीलाई सुनाउन थालें । मेरा गीत, कविताका श्रोताहरू क्रमशः बढिरहेका थिए ।


यसैबीच सरस्वती पूजा आयो । त्यहाँ हरेक होस्टेलमा सरस्वती पूजा भव्यताका साथ मनाइँदो रहेछ । एकप्रकारले होस्टेलहरूबीच प्रतिस्पर्धा नै हुँदोरहेछ । मैले पनि सरस्वतीपूजाको सांस्कृतिक कार्यक्रममा भाग लिने विचार गरें । होस्टेल वार्डेनसमेतको टोलीले सुनेर जाँचपास गर्दोरहेछ । मैले महादेवी बर्मा, नीरज, सुमित्रानन्दन पन्त, हरिवंशराय बच्चन, वीरेन्द्र मिश्र आदि कवि, गीतकारहरूका केही गीत र कविता आफ्नै लयमा गाएर सुनाएँ । जाँचपास कमिटीले पास गरेपछि सरस्वती पूजाको सांस्कृतिक कार्यक्रममा मलाई मलाई पनि समावेश गराइयो । तर पहिलोपल्ट विश्वविद्यालयको समारोहमा गाउनुपर्दा मलाई कताकता धक लागिरहेको थियो । गाउँदै गएपछि आत्मविश्वास बढ्दै गयो । मैले गाएको हिन्दी गीत निकै जम्यो । ‘वान्समोर वान्समोर’ को आवाज घन्किएपछि मैले एकपछि अर्को गीत गाउनुपरेको थियो । आफूले तयार पारेको गीतको स्टक सकिएपछि श्रोताहरूको आग्रहमा हिन्दी फिल्मी गीत पनि गाउनुपर्‍यो । यसप्रकार बिडला होस्टेलको सरस्वती पूजाको समारोहले मलाई रातारात विश्वविद्यालयभरि नै चर्चित बनाइदियो । साहित्यप्रति रुचि राख्ने विद्यार्थीहरू मसित खोजीखोजी भेट्न थाले । धेरैसित मित्रता कायम भयो । साहित्यिक रचना सुन्ने सुनाउने क्रम फेरि सुरु भएपछि म बनारसमा पनि साहित्यिक मित्रहरूबीच रमाउन थालें ।


मित्रहरूले छुट्टीको बेला मलाई बनारसका साहित्यकारहरूकहाँ लगेर भेट गराउँथे । त्यसबेला बनारसलाई विद्याको राजधानी भनिन्थ्यो । विश्वविद्यालयको हरेक समारोहको प्रारम्भमा गाइने गीत नै ‘मधुर मनोहर अतीव सुन्दर यस सर्व विद्याकी राजधानी’ को बोलको गीतबाट सुरु हुन्थ्यो । नाम चलेका हिन्दी कवि, शायर र गायक गायिकाहरू बनारस आइरहन्थे । बेलाबेलामा संगीत कार्यक्रम, मुशायरा, कविगोष्ठी र हास्यकवि सम्मेलन भैरहन्थे । हामी आधारातसम्म बसेर कार्यक्रम सुन्ने गर्थ्यौं । लतामंगेश्वर, किशोरकुमार, मोहोमद रफी, ओंमारनाथ ठाकुरजस्ता सांगीतिक हस्तीहरूको गीत र हरिवंशराज बच्चन, निराला, शाहिर लुधियानवी, सुमित्रानन्दन पन्त, फिराक गोरखपुरी, नीरजजस्ता कवि र शायरका गीत गजल उनीहरूकै मुखबाट मैले पहिलोपल्ट सुन्न पाएँ ।


यसै क्रममा एकपल्ट हास्यकवि सम्मेलनमा एउटा रमाइलो घटना भयो । त्यसको प्रत्यक्षदर्शी हामी बन्न पुग्यौं । तिनताका भारतमा सानाठूला दलहरूको मिलिजुली सरकार थियो । मान्छेहरू त्यसलाई खिचडी सरकार भन्ने गर्थे । त्यही मिलिजुली सरकारका एक जना मन्त्री थिए राजनारायण । टाउकोमा रुमाल बाँध्ने राजनारायण मन्त्रीको बोलीचाली र रंगढंग विचित्र किसिमको थियो । आयोजकले तिनै बहुरंगी राजनारायणलाई कास्यकवि सम्मेलनको प्रमुख अतिथि बनाएका रहेछन् । यो कुरा कवि हाथरसीलाई थाहा रहेनछ । उनले त तिनै मन्क्री राजनारायणको चालढाल, विचार र त्रियाकलापमाथि व्यंग्य गरेर कविता तयार गरेका रहेछन् । अब परेन फसाद । मुख्य अतिथिमाथि नै व्यंग्य गरेर लेखेको कविता कसरी सुनाउने ? हास्यकवि काका हाथरसीको समस्या र असहजता बुझेपछि आयोजकले मन्त्री राजनारायणलाई त्यसबारे अवगत गराए । प्रमुख अतिथिले निःसंकोच आफ्नो हास्य व्यंग्य कविता सुनाए हुन्छ भनेर स्वीकृति प्रदान गरेपछि कवि हाथरसीले आफ्नो व्यंग्य कविता बडो आकर्षक ढंगबाट प्रस्तुत गरे ।


श्रोताहरूले करतल ध्वनिका साथ कविताको प्रशंसा गरे । थपडी बजाउनेहरूमा स्वयं मन्त्री राजनारायण पनि थिए । पछि आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि राजनारायणले काका हाथरसीको कविताको मुक्तकण्ठले प्रशंसा गरे । ‘सत्तामा बस्ने हामी राजनीतिकर्मीहरू सधैं आफ्ना कार्यकर्ता र स्वार्थी चाटुकारहरूबाट घेरिएका हुन्छौं । जनमानसको धारणा र सही प्रतिक्रिया बिरलै सुन्न पाइन्छ । यस्तो परिस्थितिमा जनताको सही धारणा र प्रतिक्रिया सुन्न पाउने भनेको यस्तै कवि लेखक र सञ्चार माध्यमबाट हो । त्यसमा पनि जनताको सही प्रतिक्रिया र भए गरेका त्रुटि कमजोरी हामीलाई निःशुल्क रूपमा उपलब्ध गराएर कवि साहित्यकारहरूले ठूलो गुन लगाइरहेका हुन्छन् । सकारात्मक समालोचना र व्यंग्य लेखेर हामीलाई सचेत गराउने साहित्यकारहरूलाई धन्यवाद दिनैपर्छ । म हास्यकवि काका हाथरसीप्रति आभार प्रकट गर्दछु । भविष्यमा यसबाट शिक्षा लिने प्रयास गर्नेछु ।’
प्रमुख अतिथिको सारगर्भित सम्बोधनको त्यस बेला सबैले तारिफ गरेका थिए । उनको विचारधाराबाट म निकै प्रभावित भएँ । राजनारायण प्रकरणले मेरो मनमस्तिष्कमा गहिरो प्रभाव पार्‍यो । व्यंग्य कवितातिर मलाई आकर्षित गरायो । त्यसबेलादेखि समसामयिक बेथिति, विकृति र विसंगतिमाथि व्यंग्य गरेर कविता लेख्दै आएको छु । तर वास्तविकता राजनारायणजीले भनेजस्तो हुँदो रहेनछ । व्यंग्य कविताका कारण मैले मित्रभन्दा धेरै शक्रु कमाएको छु ।


म हरेक कालखण्डको हरेक व्यवस्थामा सत्ताधारी र शत्तिकेन्द्रहरूको आँखाको तारो बन्न पुगेको छु । कोपभाजनको सिकार पनि भएको छु । धेरैपल्ट जागिर खोसिने स्थितिसम्म पुगेर राजीनामा गर्नुपर्नेसम्मको अवस्था आएको छ । आदर्श र सिद्धान्तको जति नै बखान गरे पनि जहानियाँ राणाशासन, एकदलीय पञ्चायती व्यवस्थादेखि आजको गणतन्त्रात्मक व्यवस्थासम्म आइसक्दा पनि शासकहरूको मानसिकता र व्यवहारमा खासै फरक देखिएको छैन । चाकरी प्रथा र भाइभारदारी प्रशासनले कुनै न कुनै रूपमा प्रश्रय पाउँदै आएको छ । हरेक व्यवस्थामा सक्ताधारी र शत्तिकेन्द्रहरूले आफ्नो अगाडि आफ्नो प्रशंसा गर्नेहरूलाई नै आफ्नो सच्चा हितैषी ठान्ने गर्छन् । आफ्ना र आफ्ना दलको गल्ती त्रुटि देखाइदिनेभन्दा त्यसको ढाकछोप गरिदिनेलाई नै आफन्त ठान्ने गर्छन् । र, पुरस्कृत पनि गर्छन् ।


हिजोको दिनमा जस्तै आज पनि शासकहरू हुन्न, मिल्दैन भन्ने शब्द सुन्न चाहँदैनन् । त्यसैले गलत काम कारबाहीप्रति सतर्क गराउनेभन्दा प्रशासनको बजारमा होमा हो मिलाउनेहरूको माग बढी छ । परिणामस्वरूप आज कर्मचारीतन्त्रदेखि न्यायिक व्यवस्था एवं प्राज्ञिक क्षेत्रको पनि राजनीतिकरण भैरहेको छ । राम्रोझन्दा हाम्रो व्यक्तिलाई नियुत्त गर्ने परम्परा स्थापित भएको छ । समाजले पनि यी सबै काम कारबाहीलाई सहज रूपमा स्विकारिसकेको छ । सबै क्षेत्रमा महत्त्वपूर्ण पदहरू भागबन्डाको आधारमा बाँडीचुँडी गरेर नियुक्त गर्ने प्रणालीले वैधता प्राप्त गरेको छ । यस्तो परिस्थितिमा स्वतन्त्र भएर निष्पक्ष रूपमा आफ्नो विचार राख्ने व्यक्तिहरू आज पनि अराष्ट्रिय एवं प्रतिगामी हुन पुगेका छन् । यस्तो अवस्थामा असामयिक विकृति, बेथिति र विसंगतिमाथि व्यंग्य गरेर साहित्य रचना गर्ने काम जोखिमपूर्ण मात्र नभई मूर्खतापूर्ण पनि सिद्ध हुँदै गैरहेको छ । तर मेरो हविगत अर्कै छ ।


व्यंग्यलेखन मेरो साहित्यिक जीवनको अपरिहार्य अंग भैसकेको छ । अन्याय, अत्याचार, थिचोमिचो कतै भएको थाहा पाउनेबित्तिकै मलाई देउता चढिहाल्छ । दुराचार, विसंगति र विकृतिको समाचार पढ्नबित्तिकै मेरो हात सकसकाउन थाल्छ । नलेखी धर पाउँदिनँ । आफ्नो आक्रोश, उकुसमुकुस कागजमा पोख्न नपाउन्जेल मलाई शान्ति हुँदैन । धेरै हन्डर खाएको छु । धेरै खपेको बेहोरेको छु । परिवारले पनि सम्झाउँछन् । म आफैं पनि बेलामौकामा आफूलाई संयमित गर्न खोज्छु । तर यो ‘आफू’ यस्तो छ कि मान्दै मान्दैन । अब उमेरको उत्तरार्द्धमा आएर आफ्नो पहिचान भैसकेको आफ्नो प्रवृत्तिलाई म बदल्न पनि सक्दिनँ । एक प्रकारले निको नहुने रोगजस्तै भैसकेको छ मेरो व्यंग्यलेखन । यहाँसम्म कि मैले सीधा सोझो कुरा लेख्दा फनि मान्छेहरू कहीं बक्रोत्ति त छैन भनेर केलाउने गर्छन् । मेरो नेत्र दोष हो कि के हो । धेरै ठूला ठालूहरूले मुन्टो बटारेको देख्छु । आँखा तरेको देख्छु । अब यसको दोष म कसलाई दिऊँ । हास्यव्यंग्य कवि काका हाथरसलाई ? कि मन्त्री राजनारायणलाई ??

कालीप्रसाद रिजाल

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?