कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नयाँ मानक

फुटबल
हिमेश

 
पेप ग्वार्डिओला अलि बढी नै भलाद्मी छन्  । उनी जोसे मोउरिन्हो होइनन्, घमण्ड गर्न आउँदैन  ।

नयाँ मानक

एफएकप जित्न म्यानचेस्ट सिटीले वाटफोर्डलाई ६–० ले हराउँदा ग्वार्डिओलालाई केही असजिलो भइरहेको थियो । यति ठूलो जितमा उनी आफैंलाई अप्ठ्यारो लागिरहेको थियो, त्यसैले उनको प्रतिक्रियामा असहजता देखिन्थ्यो । उनले भन्न सक्थे, सिटी वास्तवमै कति धेरै बलियो छ भनेर । तर भनेनन्, कुरा मोडेर लिगतिर पो लगे ।


ईपीएल पनि त सिटीले नै जितेको थियो, तर खालि एक अंकले । लिगको अन्तिम दिन मात्र यसपल्ट उपाधिको निर्णय भयो र सिटीले लिभरपुलबाट निकै कडिकडाउ चुनौती सामना गर्नुपर्‍यो । त्यसैले ग्वार्डिओला भन्थे, ‘अर्को सिजन हामीलाई अझ गाह्रो हुनेछ । अहिलेको टिममा अझ सुधार्ने काम भएन भने हामीलाई अप्ठ्यारो पर्नेछ ।’ अब प्रश्न हो, यो सिटी टिमलाई अझ बलियो बनाउने हो भने अरू टिमको काम खालि हार्ने मात्र हो त ? यसपल्ट युरोपका ठूला पाँच लिगमा एउटा समाना देखियो, जुन आफैंमा दुर्लभ थियो । सबै पाँचै लिगमा यसअघि नै विजेताले उपाधिको रक्षा गरे । सिटीले ईपीएल, बार्सिलोनाले ला लिगा, युभेन्ट्सले सिरी ए, पीएसजीले लिग वान र बायर्न म्युनिखले बुंडेसलिगा जिते । यस्तो यसअघि भएकै थिएन । बायर्नले पनि अन्तिम दिनमा आएर मात्र लिग जितेको हो, बोर्सिया डर्टमन्डलाई उछिनेर । तर त्यसका अगाडि सिटीको लिग यात्रा बेजोड थियो ।


त्यसैले नै होला, ईपीएल र सिटीको यात्राको यति धेरै चर्चा भयो कि अरू लिग त एक प्रकारले ओझेलमै परे । यसपल्टको युरोपेली फुटबल भनेकै साँच्चै भन्ने हो भने सिटीको दबदबाका लागि सम्झिनेछ । सिटीले यस सिजन त्यो काम गरेको थियो, जुन यसअघि कहिल्यै भएको थिएन, सायद त्यो दोहोरिने पनि छैन । सिटीले लिग र एफएकप मात्र जितेको थिएन, लिगकप पनि जितेको थियो । अझ सुरुमै कम्युनिटी सिल्ड पनि सिटीले नै जितेको थियो । त्यो भनेको यसपल्ट इंग्लिस घरेलु फुटबलमा जति जित्नका लागि राखिएको थियो, त्यो सबै सिटीले नै जित्यो । इंग्ल्यान्डमा प्रिमियर लिग सुरु भएयता कुनै एक टिमले यति राम्रो खेलेको यो नै पहिलोपल्ट हो र यस क्रममा सिटीले एउटा मापक तयार पारेको छ । अब कुनै टिमले राम्रो गरेमा त्यसको तुलना सिटीको यसपल्टको प्रदर्शनसँग तुलना हुनेछ । अबदेखि फुटबलमा विश्लेषण हुँदा सिटीको प्रदर्शन एउटा आधार हुनेछ र त्यसमा टिकेर थप चर्चा हुनेछ ।


प्रिमियर लिग सुरु भएको २७ वर्ष भयो र यसबीचमा यस्ता मापक यसअघि पनि केही छन् । सन् १९९८–९९ मा म्यानचेस्टर युनाइेटडले तीन उपाधि जितेको थियो, लिग, एफएकप र युरोपेली च्याम्पियन्स लिग । एलेक्स फर्गुसनलाई मन परे पनि मन नपरे पनि सबैले मान्न थालेको त्यही बेलादेखि त हो । त्यति बेला युनाइटेड वास्तवमै बलियो टिम थियो र यत्तिको टिम फेरि बन्दैन भनियो । खालि यति मात्र हो कि त्यही बेला फर्गुसनले सिटीमाथि गरेको गाली अहिले सम्झँदा हाँसो लाग्छ । उनी भन्थे, ‘म जीवित छँदै सिटी युनाइटेड जत्तिको कहिले पनि हुने छैन । सिटी भनेको खालि हल्ला गर्ने छिमेकी मात्र हो ।’ यति धेरै छुच्चो बोलेपछि यो प्रसङ्ग दोहरिएने सुनाउने र सुन्ने काम त हुन्छ नै । जे होस, त्यो सिजन युनाइटेडको जित प्रतिशत थियो, ५७.९, यत्तिले नै उनलाई तीन उपाधि दिलायो । सन् २००३–०४ मा आर्सनलले योभन्दा पनि राम्रो खेल्यो । व्यवस्थापक आर्सन वेन्गरले त्यति बेला वास्तवमै गज्जबको टिम बनाएका थिए ।


त्यसको प्रदर्शन अहिले पनि हेर्नुपर्छ, कायल भइन्छ । यति सुन्दर थियो, आर्सनलको टिम र प्रदर्शन । आर्सनलले त्यति बेला हार्न बिर्सेको थियो । त्यसैले यो टिमलाई अझै पनि भनिन्छ, इनभिन्सिबल । त्यति बेला आर्सलनको जित प्रतिशत थियो, ६८.४ । त्यसपछि आयो, मोउरिन्होको चेल्सी । चेल्सीले दुई सिजन त्यति बेला झन् गज्जब खेल्यो, सन् २००४–०५ र २००५–०६ मा । त्यो समय इंग्लिस फुटबलमा मोउरिन्होको राज चलिरहेको थियो । चेल्सीको जित प्रतिशत थियो, ७६.३ । अब सिटीले यस सिजन जितको प्रतिशतलाई कति पुर्‍यायो त ? उत्तर हो, ८४.२ । टिमले यस सिजन कुल ६१ खेल खेलेकोमा त्यसमध्ये ५० मा त विजयी रह्यो । यसले नै प्रस्ट पार्छ, सिटी वास्तवमै कति बलियो छ भनेर । अहिले फर्केर फर्गुसनको समयमा पुग्नुपर्छ र युनाइटेडले तीन उपाधि जितेको सिजनलाई नियालेर हेर्नुपर्छ, सिटीको अगाडि युनाइटेड त फिक्का फिक्का देखिन्छ, भलै यसरी दुई फरक समयको टिमलाई दाँज्नु राम्रो होइन । वास्तवमा भन्ने हो भने ग्वार्डिओला सफलताको ग्यारेन्टी दिन सक्ने खालका प्रशिक्षक हुन् । उनी व्यवस्थापक हुनुको अर्थ हो, उनले सम्हालेको टिमले केही न केही पक्कै जित्छ । ग्वार्डिओला बार्सिलोना छँदा पनि उनको क्लबले लगभग सबै जितेको थियो, ग्वार्डिओला बायर्न म्युनिख छँदा पनि यस्तै भएकै थियो । अहिले सिटी आइपुग्दा झन् राम्रो भएको छ । यसपल्ट झन् कति राम्रो भएको छ भने सिटीले तीन उपाधि जित्नु भनेको च्याम्पियन्स जित्नुभन्दा पनि ठूलो हो र यो ग्वार्डिओलाकै भाषा हो ।


उनको विश्लेषण के हो भने च्याम्पियन्स लिग पछि–पछि पनि जित्न सकिनेछ । बार्सिलानामा छँदा उनले दुईपल्ट यो उपाधि जितेर देखाइसकेका छन् । एकै सिजन लिग र दुई कपको उपाधि जित्न टिम बलियो भएर मात्र हुन्न, अरू धेरै चाहिन्छ, विशेषतः भाग्य । भन्नेहरू के पनि भन्छन् भने यो च्याम्पियन्स लिग जित्न नसकेको पीडा बोलेको हो, ग्वार्डिओलाको मुखबाट । तर एउटा तथ्य के निश्चित छ भने च्याम्पियन्स लिग नजितेको निहुँमा सिटीले यसपल्टको गरेको प्रदर्शनमा ख्याल गर्न पाइन्न ।


च्याम्पियन्स लिगबाट प्रतिबन्ध ?
सिटीको कथामा एउटा ‘ट्विस्ट’ अझै बाँकी छ । फेरि त्यही एफएकपको फाइनलमा फर्कने हो भने ६–० जित त हदै हो नि, होइन र ? पैसा छ भन्दैमा कोही टिम यति धेरै बलियो हुन पाउँछ कि पाउँदैन त ? अबुधाबीको शाही परिवारका सदस्य सेख मन्सुरले के एकपल्ट सिटीको स्वामित्व आफ्नो हातमा लिए, क्लबले जितेको प्रमुख उपाधिको संख्या १० पुगेको छ । उनले सिटी आफ्नो बनाएयता पैसाको त खोलो नै बगाएका छन् । सिटी र मन्सुरसँग कति धेरै पैसा छ भने उनीहरूले चाहेमा विश्वका कोही पनि खेलाडी किन्न सक्छ । त्यसैमा टिकेर त हो, एकपल्ट हल्ला चलेको लियोनल मेसी पनि सिटी जाँदै छन् भनेर । सिटी खेलाडीलाई सबैभन्दा बढी तलब दिने क्लबमा पर्छ । उसले खेलाडीका लागि उपलब्ध गराएका सबै खाले सुविधा पनि अचम्मले माथिल्लो दर्जाको छ । विश्व क्लब फुटबलका लागि केही क्लब धनीमाथि धनी हुँदै जाने र अरू क्लब हेरेको हेर्‍यै हुने राम्रो भने होइन ।


यसले टिमबीच स्तरमा ठूलो खाल्डो आउँछ र यसले दिने पीडा कति गहिरो हुन्छ भन्ने त कोही वाटफोर्ड समर्थकलाई सोधे हुन्छ । इंग्ल्यान्डमै भन्दा पनि युरोपेली फुटबल महासंघ यो विषयमा बढी गम्भीर छ र उसले एउटा आचारसंहिता नै बनाएको छ, क्लबले कति खर्च गर्न पाउँछ र त्यसको स्रोत के हुनुपर्छ भनेर । महासंघ के चाहन्छ भने क्लब त्यस्तो होस, जसले आफैं खेलाडी उत्पादन गरोस्, एकेडेमीको माध्यमबाट । क्लबका
आफ्नै घरेलु खेलाडी बढी होस् । धान्नै नसकिने गरेर खर्च पनि नगरोस् । आम्दानी जति हुन्छ, त्यसको खास अनुपातमा मात्र क्लबले खर्च गरे क्लबमा पनि राम्रो हुन्छ । त्यसैले त बनेको हो, एफएफपी नियम । अर्थात् ‘फिनान्सियल फियर प्ले’ नियम । सिटीमाथि आरोप छ, उसले यही नियम तोडेको छ । भएको के थियो भन्दा मन्सुरले एकपल्ट सिटीको खातामा सिधै ६ करोड डलर जम्मा गरिदिएको रहेछ । तर हिसाब देखाउँदा त्यसलाई प्रायोजकबाट पाएको रकम भनिएको रहेछ ।


युरोपेली महासंघ यसमै टिकेर सिटीलाई कारबाही गर्ने मनसायमा छ र यो मनसाय हो, सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्नबाट प्रतिबन्ध लगाउने । के यस्तो सम्भव होला त ? यसको उत्तर अबको केही दिनमै आउनेछ, नभए केही साता लाग्ला । तर महासंघ भने यसको पछाडि लागेको लाग्यै छ । सिटी र ग्वार्डिओलालाई अहिले तत्काल यसबारे केही बोल्नु छैन । ग्वार्डिओला नै भनेका छन्, ‘जति बेलासम्म दोष किटान हुन्न, हामी निर्दोष नै छौं ।’
twitter : @himeshratna

प्रकाशित : जेष्ठ ११, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?