१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तेन्जिङ–हिलारीसँग सगरमाथा चढ्दा

तेन्जिङ–हिलारीले सगरमाथा विजय गरेको यसै साता ६६ वर्ष पुग्दै छ । अभियानका सदस्य कान्छा शेर्पाको कथा ।
कुम्भराज राई

अबको चारदिनपछि (मे २९ बुधबार) विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पाइला टेकेको ६६ वर्ष पूरा हुँदै छ  । त्यस दिनलाई अहिले ‘सगरमाथा दिवस’ को रूपमा पनि मनाइन्छ  ।

तेन्जिङ–हिलारीसँग सगरमाथा चढ्दा

अबको चारदिनपछि (मे २९ बुधबार) विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पाइला टेकेको ६६ वर्ष पूरा हुँदै छ । त्यस दिनलाई अहिले ‘सगरमाथा दिवस’ को रूपमा पनि मनाइन्छ । त्यसयता ८ हजारभन्दा बढीले दसौं हजार पटक सगरमाथा शिखरमा पाइला राखिसके । त्यसअघि र पछि सयौंले ज्यान गुमाए । तर पहिलो पाइला राख्नेको इतिहास अमर नहुने कुरै भएन । त्यही पहिलो आरोहण दलका ३५ जनामध्ये एक मात्र जीवित सदस्य हुन्, सोलुखुम्बु नाम्चेका कान्छा शेर्पा ।


उनी नामले मात्र कान्छा भएनन् साँच्चै कान्छा बने । ८५ वर्ष पुगे पनि उनको शारीरिक अवस्था तगडा छ । बिहान उठ्नेबित्तिकै पूजापाठ गरेर उनी चिया–नास्ता गर्छन् । ‘कान्छा शेर्पा फाउन्डेसन’ मार्फत स्थानीय विद्यालयका विद्यार्थीहरूलाई झोला, पुस्तक बाँड्ने काम गर्दै आएका छन् । सामाजिक काममा सक्रिय हुने उनको चाहना छ । दुई छोराहरूसँग बस्दै आएका कान्छा जाडोको बेला केही समय राजधानीतिर बिताउँछन् । उनलाई अझै पनि त्यो पहिलो आरोहणको स्मरण प्रस्ट छ । मैले उनलाई नाम्चेस्थित उनकै घरमा हालैको एक बिहान भेट्दा ६६ वर्षपहिलेको त्यो दिन सरसर्ती सुनाउन भ्याए ।


त्यतिखेर नाम्चेमा १५ घरमात्र बस्ती थियो । बारीमा फलेको आलुले तीन महिना खान पुग्दैनथ्यो । जंगलमा उम्रेको च्याउ खोजेर मान्छेहरूले जीविका चलाउँथे । नाम्चेभन्दा माथि थामे घर भएका तेन्जिङ शेर्पा खान–लाउनकै दुःखले दार्जिलिङ गएका थिए । उनले त्यहाँ ‘कञ्चनजंघा’ नाम गरेको ट्रेकिङ कम्पनी खोलेका रहेछन् । एक दिन नाम्चेका कान्छा शेर्पालाई उनै तेन्जिङले काम गर्न बोलाएको खबर प्राप्त भयो । घरबाट सजिलै जान दिने अवस्था थिएन । उनी भागेर दार्जिलिङ गए । हिँडेरै भोजपुर हुँदै उनी दार्जिलिङ पुगे ।


दार्जिलिङ पुगेपछि कान्छाले तीन महिनासम्म तेन्जिङको घरमा बसेर काम गरे । एकदिन तेन्जिङले चोमोलोङमा चढ्न एक जना विदेशी आउने र त्यसका लागि सहयोग गर्नुपर्ने बताए । त्यसपछि उनीहरू दार्जिलिङबाट हिंडेर सिलिगुडीसम्म आए । सिलिगुडीबाट वीरगन्जसम्म रेलमा चढेर आए । रेलबाट झरेपछि दुई दिनको पैदल हिँडेर काठमाडौं उपत्यका पुगे । भक्तपुरमा गएर टेन्ट टाँगे । भोलिपल्ट न्युजिल्यान्डबाट एडमन्ड हिलारीको टोली प्लेन चढेर आइपुगे ।


हिलारीको बाँकी सामान आइपुग्न समय लाग्ने भएकाले उनीहरू एक हप्तासम्म भक्तपुरको टेन्टमै बसे । हिलारीको सामान आइसकेपछि उनीहरू ४ सय कुल्लीलाई भारी बोकाएर काभ्रेको दोलालघाट हुँदै चौबास, ठोसे हुँदै १६ दिनमा नाम्चे पुगे । नाम्चेबाट छ दिनमा आधारशिविर पुगे । भक्तपुरदेखि आधारशिविर पुग्न जम्मा २२ दिन लाग्यो । यहाँनेर आधारशिविर बनाउन उपयुक्त हुन्छ भन्ने टुंगो त्यही टोलीले लगाएको हो । कतिपयले त्यतिखेर आधारशिविर थुक्ला नजिकै बनाइएको बताउँछन् । तर कान्छाले भने हालको गोरक्सेपदेखि माथिी नै आधारशिविर भएको बताउँछन् ।


आरोहण दलमा २० जना शेर्पा थिए । न्युजिल्यान्ड र इंगल्यान्डका गरी १५ जना थिए । जम्मा ३५ जनाको आरोहण दल थियो । आधारशिविर पुगेर उनीहरूले दिनहुँजसो खुम्बु आइसफल छिचोल्ने प्रयत्न गरे । तर आइसफलको खर्पास (हिउँ चिरिएको खाल्डो) हेर्दाहेर्दा एक हप्ता बित्यो । खर्पासमा भर्‍याङ अभावले गर्दा उनीहरू अघि बढ्न सकेनन् । तीन जना शेर्पा फेरि नाम्चे आएर १० वटा सल्लाको रूख काटे । थामेबाट कुल्ली मगाएर बोकाएर आधारशिविर पुर्‍याए । त्यही सल्लाको काठलाई भर्‍याङ बनाएर उनीहरूले खुम्बु आइसफलको खर्पास कटेर उकालो लागे ।


कान्छासँगै तीन जना शेर्पा मात्र साउथ समिट (८००० मि) सम्म पुगे । त्यहाँभन्दा माथि जाने अनुमति उनीहरूलाई थिएन । तेन्जिङ र एडमन्डले शिखर चुमेपछि उनीहरू फेरि नाम्चे फर्किए । हिलारीले एक महिनामा आउँछु भनेर बिदा भए । एक महिनापछि उनले न्युजिल्यान्डबाट पैसा, तक्मा, मेडल लिएर आए । तीन जना साउथ समिट जानेले मात्र मेडल पाए । अझ रोचक कुरा त त्यतिखेर कागजको पैसा हुँदैनथ्यो । चाँदीको सिक्का हिलारीले काठमाडौंबाट २५ जना कुल्लीलाई बोकाएर ल्याएका थिए । पैसा ल्याएपछि ४ सय कुल्लीलाई पैसा बाँड्दा सकियो । कुल्लीले दिनको ५ रुपैयाँ पाउँथे । कान्छालगायतका शेर्पाहरूले भने दिनको ८ रुपैयाँको दरले पैसा पाए ।


कान्छाले त्यसपछिका सगरमाथा आरोहणमा पनि काम गरे । उनी सन् १९७१ मा अन्तिम पटक सगरमाथा गएका थिए । तर कहिल्यै चुचुरो चुम्ने अवसर भने पाएनन् । टोलीको नेताले अनुमति नदिए शिखर जान पाइन्नथ्यो । त्यतिखेर सगरमाथा आधारशिविरमा हिउँ बाक्लो भएपनि घाँस पाइन्थ्यो । गोरक्सेपदेखि माथि भारी बोकाएर लगेको याकलाई घाँसमा चराएको सम्झना कान्छालाई अझै छ । हिउँ धेरै बाक्लो हुन्थ्यो । हिउँ परेपछि तीन महिनामा पनि बिल्दैन थियो । अहिले अलिअलि परे पनि बिलिहाल्छ । कान्छाले अहिले पनि तेन्जिङ र हिलारीलाई भगवान् मान्छन् । ‘यही बाटो भएर टुप्पोमा पुगिन्छ भनेर कसले बाटो देखाएको हो र ?’ कान्छा भन्छन्, ‘उनीहरू भगवान् नै हुन् । खुम्बु आइसफल कटेर पनि त्यहाँबाट माथि टुप्पोमा पुग्ने बाटो थाहा पाउने उनीहरू भगवान् थिए ।’


तेन्जिङ र हिलारीकै कारण खुम्बुमा स्कुल, अस्पताल, पुल, विमानस्थललगायतका विकास भएको उनले बताए । नत्र खुम्बुका शेर्पाहरूले जीवनमा पैसा देख्न पाएका थिएनन् । भोकभोकै मर्नुपर्ने अवस्था थियो । अहिले सगरमाथा चढ्ने काम सजिलो भएको कान्छाको अनुभव छ । सबै काम अरूले गरिदिएर बाटोमा मात्र हिँड्न जानु साहसिक नभएको उनले बताए ।कान्छालाई हिमालमा हिउँ बिलेर कालो हुँदै गएकोमा चिन्ता छ । खुम्जुङ नजिकै रहेको खुम्बिह्युलामा उनले थाहा पाएसम्म हिउँ बस्थ्यो । अहिले कालो पहाड मात्र छ । समयसँगै मान्छेहरू साह्रै स्वार्थी भएको उनले बताए । ‘अब कहाँ रह्यो र त्यो समय ।’ उनले भने, ‘नाम्चे नै सहर बनिसक्यो ।’

प्रकाशित : जेष्ठ ११, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?