१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मध्यहिउँदमा सुदूरको स्वर्ग

गोरख विष्ट

 
मलाई आजभोलि एउटा प्रश्न खुब सुन्नुपर्छ  । खप्तड कहिले जाँदा राम्रो हुन्छ ? त्यसको ठ्याक्क उत्तर त मसँग छैन तर खप्तडमा गएर तपाईंलाई के हेर्न मन छ भन्ने कुराले कहिले जाँदा ठीक भन्ने ठम्याउन सकिन्छ  ।

मध्यहिउँदमा सुदूरको स्वर्ग

बान्की परेका पाटन नै खप्तडका आकर्षणहरू हुन् । एडभेन्चर रुचाउनेका लागि खप्तड मध्यहिउँदमा सबभन्दा सुन्दर हुन्छ । हेरिरहूँ लाग्ने सेताम्मे हिमाल, बीचमा हरियो जंगल अनि बान्की परेका सेता पाटनहरू । मध्यमनसुनमा भने खप्तड सिद्धहस्त मालीले ध्यानपूर्वक सजाएको सुन्दर बगैंचाजस्तो देखिन्छ ।


२०१४ को मध्यहिउँदमा म काठमाडौंमा थिएँ । तापक्रम ४–५ डिग्रीमा झरिरहेको थियो । देशभर हिमाली भागमा हिमपातको समाचार आइरहेका थिए । खप्तडमा हिमापात भएको समाचार सुनेपछि जीउमा काउकुती लागेजस्तो हुन थाल्यो । फोटोग्राफीको अलावा हिउँ र एडभाञ्चर गेमहरू एकदम मन पर्छ । खप्तड जाने निधो गरें । जहाजबाट साँझ धनगढी पुगेर अमरबहादुर शाही दाइले मिलाइदिएको सामान लिन आएको जिपमा डोटीतिर लागेँ । सामान भरिएका बोराबीचको यात्रा सुरु भयो । खानडाँडा नपुग्दै चिसोले झस्काइसकेको थियो । पुरानो जिप, झ्याल पनि राम्ररी नलाग्ने । राति त चिसो यति बढ्यो कि जिपभित्रै स्लिपिङ ब्याग निकालेर त्यसैमा घुस्रिएँ । खप्तडका लागि दिपायलसम्म गाडीमा जान सकिने भए पनि मेरो भने मुडेगाउँ पुगेर एक जना सहयोगी लिएर भोलि मात्र हिँड्ने योजना थियो । बिहान तीन बजे मुडेगाउँ पुग्दा डोटी निद्रामै थियो । म पनि जिपभित्रै निदाएँ ।


बिहान अमरबाहदुर शाहीका दाइलगायतका गाउँलेले हिउँ परेको खप्तड जानैपर्ने गरी तिम्रो के बितेको छ भनेर प्रश्नका घेरा हाले, ‘माघमास लेख नजानू साउन मास गाड नजानू भन्ने सुन्नुभया छैन ? क्या यस्तो बित्या छ ? अहिलै नगै नहुन्या ? माथि लेख हिउँ पड्या छ । मान्ठ मद्दाछन् चिसाले क्या काम छ त्यस्तो नगई नहुन्या ?’ हिउँमा खप्तडको फोटो राम्रो आउँछ त्यसैले जान लागेको भनेर सम्झाउन गाह्रो थियो । ५२–५५ वर्षका जोगी कार्की मसँग खप्तड जान तयार थिए । केही आवश्यक सामान किनेर हामी सलगढीतिर लाग्यौं । बागलेकमा खाना खाएर स्थानीय बस्ती एकसरो घुमियो । मानिसहरू न्यानो घामको मज्जा लिइरहेका थिए । केटाकेटीहरू खेल्दै थिए भने बूढापाकाहरू निगालोको डोको, छाप्री बुन्दै थिए । बेलुकी बास बस्नलाई झिग्राना पुग्दा घाम अस्ताइसकेको थियो । ससाना होटलहरू भएको यो सानो बस्ती खप्तडको गेटवेजस्तै हो ।


अचेल झिग्रानासम्म सिलगढीबाट जिपमै जान सकिन्छ । झिग्रानाबाट ८ देखि १० घन्टा हिँडेपछि खप्तड, बीचमा बास बस्ने ठाउँ छैन । हामी मध्यहिउँद (अफ सिजन) मा खप्तड जाने लागेको देखेर सबै अचम्म मानिरहेका थिए । जम्मा तीन हजार मिटर उचाइमा रहेको खप्तडको सुन्दरता सेतो हिउँमा मिसाएर हेर्ने मौका म छोड्नेवाला थिइनँ । होटलका काकाको सल्लाहअनुसार हामीले बाटो खोल्ने सेनाको टिम पछ्यायौं । खप्तड राष्ट्रिय निकुञ्ज नजिकैबाट सुरु हुने भएकाले यहाँ सेना तैनाथ थियो । खप्तडमा खटिएका सैनिकका लागि बीचपानी (आधीबाटो) भन्ने ठाउँसम्म झिग्रानाको ब्यारेकले खाना पुर्‍याउँदो रैछ । त्यसैले उनीहरू हरेक दिन हिउँले पुरिएको बाटो खोल्दै हिँड्ने रहेछन् । झिग्रानादेखि बीचपानीसम्म बाटो ठाडै छ । पूरै जंगलभित्र हिँड्नुपर्ने । करिब ५ घण्टाको यो बाटो खप्तड यात्राको सबभन्दा जटिल विन्दु पनि हो । हामीलाई करिब ६ घण्टाजति लाग्यो बीचपानी पुग्न । बाटोभरि हिउँ थियो । हिउँमा हिँड्दा ध्यान दिनुपर्ने कुरा के हो भने, बाटो राम्रो देखिएको ठाउँमा मात्र हिँड्ने । नदेखिएको ठाउँमा राम्रोसँग हिउँ थिचेर बाटो बनाउने अनि पाइला चाल्ने । हिउँ भरिएर सतह एक नासको देखिए पनि भित्र खाल्डाखुल्डी अथवा भिरालो बाटोका कारण समस्या निम्तिन सक्छ । हामी साँझ ७ बजे मात्र पुग्यौं खप्तड । रात परिसकेको थियो । पसिनाले निथ्रुक्क भिजेको बेला चिसो हावाले उडाएर ल्याएको हिउँले होस उडाइसकेको थियो । नेपाली सेनाको ब्यारेकबाट मात्र उज्यालो आइरहेको थियो । हामी ब्यारेकतिर लाग्यौं । ब्यारेकमै बास बस्न पाइयो ।


बिहान सूर्योदय नहुँदै म घोडादाउना पुगिसकेको थिएँ । घोडादाउना खप्तडको सबैभन्दा बढी पाटनसहितको स्थान हो । यहाँबाट खप्तडका सयौं पाटनसँगै सुदूरका प्रमुख हिमालहरू अपीदेखि सैपालसम्मको दृश्य देख्न पाइन्छ । खप्तड सेताम्य थियो । म पुगेको केही समयमा सूर्योदय भयो । हिउँमाथिको सुनौलो प्रकाशले घोडादाउना सुनौलो देखियो । त्यो प्रकाश मजस्ता फोटोग्राफरका लागि वरदान नै हो । वरपरको हिउँ पग्लेर कतैकतै टिलपिल–टिलपिल पानी टल्किरहेको थियो । यतिबेला मलाई कतै काल्पनिक स्वर्गमा छु कि जस्तो भान भयो । हिमालमा बिहानको घाम लागेको केही समयमै बादलले हिमालहरू छोपिन थाल्छन् । यहाँ पनि जमिन तात्दै गएपछि हुस्सु उड्न थाल्यो । हुस्सुले घोडादाउना छोपिन थालेपछि म फर्किएँ ।


खप्तड पुगेकाले हेर्न छुटाउनु नहुने भनेका खप्तड दह, खप्तडबाबाको आश्रम, त्रिवेणी, खप्तड भ्युटावर र घोडादाउना हुन् । यतिबेला हिउँका कारण सबै ठाउँमा जान त सम्भव थिएन तर फोटोग्राफीका दृष्टिले महत्त्वपूर्ण मानिएका सबै ठाउँमा पुग्ने मेरो योजना थियो । हरेक दिन एकएक ठाउँ पुगेर अन्तिम दिन मैले खप्तड दहका लागि छुट्याएको थिएँ । काठमाडौं फर्किने अघिल्लो दिन म तालतिर लागें । म खप्तडदह पुग्दा केही जंगली जनावर ताल किनारमै थिए, सायद पानी खान आएका होलान् । दह लगभग जमेको थियो । वरिपरिको जंगल हिउँले पुरिएको थियो । बल्लतल्ल तालको एउटा किनारमा पानी नजमेको ठाउँ भेटियो । यहाँबाट पूरै निहारेर हेर्दा ताल, बरफ र तालमाथिको जंगल र जंगलको छाया प्रस्ट देख्न सकिन्थ्यो । फोटोका लागि प्रकाश त्यति राम्रो थिएन, त्यसैले उपयुक्त प्रकाशका लागि मैले करिब ४ घण्टा तालको किनारमा प्रतीक्षा गरें ।


बिस्तारै घाम अस्ताउँदै थियो । ताल, तालमाथिको बरफ, जंगल र अस्ताउँदै गरेको सूर्यको प्रकाशसहितको छायाले तालमा एक अदभुत चित्र बनिरहेको थियो । त्यसको फोटो खिच्दै जाँदा कतिखेर रात पर्‍यो पत्तै भएन । म फर्किन लाग्दा झमक्कै रात परेर चराचुरुंगीहरू कराउन छाडिसकेका थिए । मनमा डर पलायो । राम्रो फोटो खिच्न पाएकोमा मन जति खुसी थियो त्यहाँको माहोल त्यतिकै डरलाग्दो थियो । बीच जंगलमा म एक्लै थिएँ, न साथमा कुनै हतियार थियो । मैले एउटा मोटो लट्ठी बनाएँ अनि ठूलो स्वारले कराउँदै लठ्ठी रूखमा बजार्दै फर्कें ।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?