कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

के छ सूत्र विपिन ?

सुशील पौडेल

छड्के’ को विन्दु, ‘तान्डव’ को जँड्याहा ड्राइभर, ‘सुन्तली’ को टापटिपे चोर, ‘कालोपोथी’ को जँड्याहाका चरित्र ती फिल्मका लागि अति सामान्य हुन्  । तर त्यसमा विपिन कार्कीको अभिनयले चटनीझैं ट्वाक्क पारिदियो  ।

के छ सूत्र विपिन ?

विपिनलाई पछिल्लो समयका नेपाली मेथड एक्टर मान्न सकिन्छ । उनी आफू कम चरित्र ज्यादा बाँच्न सक्छन् । ‘पशुपतिप्रसाद’ को भस्मे डनले भने विपिनलाई पनि चिनायो, दर्शकमाझ । यसपछि विपिनले खेलेका सबै फिल्म ‘जात्रा’, ‘लुट २’, ‘लालपुर्जा’, ‘नाका’, ‘हरि’, ‘प्रसाद’, ‘गोपी’ सबैमा दर्शकले विपिनको चरित्रलाई पछ्याउन थाले । यतिबेला ‘जात्रैजात्रा’ बाट विपिनले फणीन्द्र बनेर दर्शक हँसाइरहेका छन् ।


रंगमञ्चबाट फिल्ममा आइपुगेका विपिन कलाकारका रूपमा अहिलेका सर्वाधिक सफल मान्न सकिन्छ । उनी अभिनयलाई कसरी बुझ्छन् त ? ‘राम्रो कलाकारले दर्शकको आँखा बिझाउने र अन्यत्र हेर्नुपर्ने अवस्था आउन नै दिँदैन,’ विपिनले दर्शकलाई आफूतर्फ ध्यान खिच्ने केही टेक्निक दिँदै भने, ‘मैले बोल्नुअघि खोकिदिएँ भने दर्शकले अब यसले के बोल्न लाग्यो भनेर पहिल्यै ध्यान दिइसकेका हुन्छन् । दर्शकलाई आफूतिर तानिरहन कमेडी मात्रै गरिरहनुपर्छ भन्ने पनि हैन । यस्ता केही तरिकाहरू हुन्छन् । कलाकार एउटा भावनामा डुबिसकेपछि दर्शक पनि ऊ आत्तिँदा आत्तिने, ऊ रुँदा दर्शक रुने, उसलाई दुःख पर्दा दर्शकले पनि त्यस्तै दुःख रिलेट गरिहाल्छ ।’ कलाकारलाई आफूले राम्रो गरौं भन्ने लोभ हुन्छ नै । अरूले जस्तो गरे पनि मचाहिँ राम्रो गरूँ भन्ने सोच विपिनलाई पनि आउँछ । त्यत्ति हो, यसका लागि उनी टेक्निक खोजिरहेका हुन्छन् । ‘टेक्निक भनेको थाहा नपाउने गरी लगाउने हो । जता पनि टेक्निक लगाउन थाल्यो भने त दर्शकलाई मेकानिकल लाग्न सक्छ । पत्तै नहुने गरी सहज रूपमा छिराउने हो,’ विपिनले यी कुरा एक जना नर्वेजियन गुरुबाट पाएको गुरुमन्त्रजस्तै रहेछ ।


थिएटरमा सबै कलाकार एउटै मञ्चमा हुने हुँदा दर्शकको ध्यान तान्न पनि कलाकारले बढीभन्दा बढी टेक्निक लगाउनुपर्छ । ‘हो, तर फिल्ममा धेरै गर्नु राम्रो हुन्न । फिल्ममा लेन्स र क्यामेराको भाषाले पनि फरक पार्ने रहेछ । मलाई यो कुरा थाहा नहुँदा दुई, तीनवटा फिल्म खेर गयो,’ उनले ‘छड्के’ देखि ‘सुन्तली’ सम्म आइपुग्दा बिना प्राविधिक ज्ञान जबरजस्तीको जोसमा मात्रै काम गरेको बताए । ‘त्यतिबेला एउटै लेन्सले खिच्ने होलाजस्तो लाग्थ्यो । अब त पहिल्यै थाहा हुने भइसक्यो । कुन लेन्सले खिचेको छ, त्यहीअनुसार इफोर्ट लगाउन जानें । क्यामेराको काम बुझ्न थालें । फिल्म त भवसागर नै रहेछ,’ आफ्नो क्यामेरालाई ध्यान नदिने कारणले कमजोरी भइरहेको त्यसपछि विपिनले थाहा पाए, ‘प्रविधिले निकै फरक पार्दो रहेछ । अहिले जानकारी राख्न थालेपछि धेरै सजिलो भएको छ ।’ अहिले गर्न पायो भने ‘छड्के’ कै विन्दु चरित्रलाई फरक ढंगले गर्ने मन रहेछ उनको । विन्दु चरित्रलाई अहिले हेर्दा अभिनय गर्नुपर्ने ठाउँमा नगरेको र अनावश्यक ठाउँमा बढी गरेको देख्छन् उनी ।


त्यसो त विपिन फिल्म हेर्दा आफ्नै चरित्र देखेर लजाउँछन् । ‘जात्रैजात्रा’ को बेला छोरासँगको दृश्य आउँदा रोएछन् । सँगै बसेकी वर्षा राउतले हल्ला मच्चाइछन् । विपिन आफ्नै फिल्म हेरेर रोयो भनेर । ‘मेरो चरित्रले कसैलाई झुक्यायो भने आफ्नो यता खित्का छुटिहाल्छ । पहिलो पटक हेर्दा म पूरै फिलमा डुबेर हेर्छु । दोस्रो पटक हेर्दा बल्ल गल्ती थाहा हुन्छ,’ विपिनले भने । विपिन कलाकारका लागि लेखपढ अति आवश्यक हुने जिकिर गर्छन् । ‘कलाकारले भाषा, साहित्यमा दखल राख्नु एकदमै जरुरी हुन्छ । त्यसले शब्दको भाव, उच्चारणको सही प्रयोग गर्न सकिन्छ । कलाकारले पढ्नु, लेख्नु एकदमै जरुरी छ । र, पढ्दा पनि बोलेर पढ्नुहोस् । त्यसले स्वर बनाउनेदेखि संवाद सम्प्रेषणलाई चुस्त पार्न सिकाउँछ,’ अझ विपिन त दैनिक जीवनमा आफू वरिपरि भेटिने चरित्रलाई अध्ययन गरिरहन सुझाव दिन्छन् । भन्छन्, ‘तिनका बारेमा पहिल्यै अध्ययन गरिरहँदा भोलि त्यही चरित्र निर्वाह गर्नुपर्ने अवस्था आयो भने सहज हुन्छ । यी एउटा कलाकारका लागि सूत्र नै होजस्तो लाग्छ ।’


जुनै चरित्रबाट पनि आजको भोलि नै च्वाट्टै छुट्न गाह्रै हुन्छ भन्छन् विपिन । ‘प्रसाद’ मा बाबुरामको पश्चिमेली टोन फलो गरेका उनले त्यही टोन अन्जानमै ‘जात्रैजात्रा’ मा बोलेका थिए । डबिङसम्म पनि त्यो टोनले नछोडेको उनी सुनाउँछन् । त्यसो त कतिपय बेला विपिनले रियल लाइफमै पनि रिल लाइफका डायलग बोलिरहेका हुँदा रहेछन् । चरित्र र आफूबीच द्वन्द्व चलिरहेको विपिन बताउँछन् । अप्ठ्यारो मान्दै एउटा घटना सुनाए । सुरुमा उनी भन्न राजी थिएनन् । विपिनले आफ्नै बिहे गरेको चार वर्ष भएको तर बच्चाबच्ची नभएको प्रसंग जोड्दै कुरा उप्काए, ‘एउटा कलाकारलाई चरित्रले कति असर गर्दो रहेछ जीवनमा भन्ने कुरा ‘प्रसाद’ को बाबुराम चरित्र गरेपछि पर्‍यो । दुर्भाग्यवश मैले ‘प्रसाद’ मा बच्चा पाउन नसक्ने पतिको चरित्र खेल्न पुगें । खेल्दा खासै असर त परेको थिएनँ । तर पछि म आफैंलाई पनि दिमागमा हान्न थाल्यो । डर लाग्न थाल्यो । पछि बूढी, घरपरिवारकाले पनि फिल्म हेरेपछि मलाई र्‍याख्र्‍याख्ती पार्न थाले । सान्त्वना दिन पनि थाले । हुँदैन भने हुँदैन भन, कहाँ लैजान पर्ने हो हामी लैजान्छौं भन्नेसम्मको अवस्था आयो ।’ अरूका लागि भए पनि बच्चा पाइदिनैपर्ने अवस्थामा पतिपत्नी पुगे । ‘तर त्यसको तीन महिनासम्म पनि केही भएन । त्यसपछि हामीलाई नै हान्न थाल्यो त्यो कुराले । म त यस्तो भएछु कि बूढीलाई टोन मात्रै फरक नत्र सबै बाबुरामले नारायणीलाई भन्ने संवाद बोल्दोरहेछु । माया ठूलो कुरा हो भनेर सम्झाउँदो रहेछु,’ यसो भनिरहँदा विपिन स्वयंले पनि आफूलाई या म पनि बाबुरामजस्तै नै पो हो कि भन्ने डरले हान्न थालेछ । ‘साला चरित्रले आफैंलाई पनि फसाउँदो रहेछ,’ विपिनले थोरै रिस पोख्दै थपे, ‘आफन्तहरूले हामीलाई पात्रसँग नै रिलेट गरेर हेरिदिने रहेछन् । झ्न आमाले त पर्दामा छोरा नै हेरिरहेको हुने रहेछ । आमाको आँखाले कहिल्यै पनि चरित्र देख्दोरहेनछ । छोरै देख्दोरहेछ ।’


विपिन त्यस्ता सशक्त कलाकार हुन्, जो फिल्ममा कम आँकिएका चरित्रलाई पनि उठाउने हैसियत राख्छन् । पासिङ सटदेखि फिलर आर्टिस्ट जसरी करिअर सुरु गरेका विपिन पछिल्लो समय मुख्य चरित्रमै खेलेर फिल्मलाई काँधमा हालेर हिँड्ने भइसकेका छन् । उनको ‘लुक्स’ परम्परागत हिरोको छैन । तर, चरित्रमा नायकत्व स्थापित गराउन सक्ने गरी चित्रण गर्न सक्छन् । भुइँमान्छेको चरित्रलाई उचाइ दिन सक्ने लायकको कलाकारमा विपिन देखिएका छन् । यतिबेला भने उनलाई पनि आफ्ना चरित्रलाई बलियो बनाउने चुनौती बढ्न थालेको रहेछ । ‘पहिलो पटक गर्दै थिएँ भने पनि चरित्रलाई लिएर त्यति चिन्ता हुने थिएन । आफ्नै सुरले काम गरेको हुन्थें । विगतमा पनि मेरा धेरै चरित्रहरू रुचाइदिएको भएर अब मेरो चरित्रलाई झनै मजबुत बनाउनुपर्छ, नत्र मप्रतिको दर्शक हेराइ नै फरक पर्न सक्छ भन्ने लाग्छ,’ उनले भने, ‘अब त केही बुझ्दै, सिक्दै गएको छु, पहिलेभन्दा त राम्रै गर्नुपर्छ नै । तर यसरी चरित्रलाई जसरी हुन्छ दर्शकको आँखामा पार्नुपर्छ भन्ने दबाब दिमागमा हुँदा बढी मेकानिकल हुने रहेछ । स्वतःस्फूर्त गर्नुपर्ने चरित्रलाई पनि अभिनय गरेको जस्तो फिल दिने रहेछ ।’

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?