कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

स्टारडमको बोझ

फिल्म
यज्ञश

पार्श्वमा भगवा (गेरु) रङ पोतिएको छ । बिनापानीको पोखरीमा कमल फुलिरहेको छ । सेतो दाह्री भएको एउटा घुमक्कडको सिंहासन झन् झन् अग्लो हुँदै गएको छ । अर्को गढवाली विष्ट (कानचिरा जोगी) सँगैको अर्को सिंहासनमा बिराजमान देखिन्छ । महात्मा गान्धीलाई गोली हान्ने गोडसे बिस्तारै सहिद घोषित हुने क्रममा छ ।

स्टारडमको बोझ

र, यसको विरोध गर्ने कमल हासन नेता नबन्दै अल्पमतमा परिसकेका छन् । यो भारतको लोकसभामा भाजपाको जितको वर्णन । मोदी, योगी, शाह र इरानीहरूको विजय गाथा ।


यस्तो अर्को गाथा बुनिएको छ, बलिउडमा । जहाँ दुई सुपरस्टार खानहरू ट्विटरमा देशद्रोहीको पदवी पाएलगत्तै असफल भइरहेका छन् । हिन्दूवादी भारतीय जनता पार्टीको शासनमा अल्पसंख्यकलाई उपेक्षा र आक्रमण गरिएकाले आफूहरूलाई कहिलेकाहीं असुरक्षित पो छु कि जस्तो भान हुने गरेको बताएलगत्तै आमिर खान र शाहरूख खानसँगै नसिरुद्धिन शाहको करिअर खतरामा पर्न थालेको देखिन्छ । यी दुई खानका साथै तेस्रो, तथा मध्यमार्गी खान सलमानका फिल्म पनि फटाफट फ्लप हुन थाले । यसमा हिन्दू र हिन्दूत्वको कति (थोरै) प्रतिशत हात छ र यिनले खेलेको झुर फिल्मको कति (धेरै) प्रतिशत भन्नेमा कुनै एसी नेल्सनले अहिलेसम्म सर्वे गरेको छैन ।

अचम्मलाग्दो गरी यिनको असफलतासँगै भाजपा र मोदीका भक्तहरूको दिन फिरेको छ । अक्षयकुमार र अजय देवगनजस्ता कुनै बेलाका ‘बी ग्रेड’ एक्सन हिरो मानिने अभिनेताहरू एकाएक सुपरस्टारको कुर्सीमा पुगेका छन् । चुनावअघि अराजनीतिक अन्तर्वार्ताहरू भाइरल भएपछि रवीशकुमार र शेखर गुप्ताजस्ता पत्रकारहरू चकित छन् । क्यानडाको नागरिकता भएको भनेर होहल्ला भए पनि बलिउडमा राष्ट्रवादको झन्डा अहिले अक्षयकुमारको हातमा आइपुगेको छ ।

राष्ट्रवादको चास्नीमा घोलिएका यिनका जेरीजस्ता फिल्महरू धडाधड हिट भइरहेका छन् । अरू त अरू आयुष्मान खुराना, विक्की कौशल र राजकुमार रावको पनि चाँदी कटाइ छ । मोदी एन्ड कम्पनीविरुद्ध बोल्ने अनुराग कश्यपजस्ता निर्देशकको भन्दा विवेक अग्निहोत्रीको आवाज ठूलो भइरहेको छ । नसिरुद्धिन शाहभन्दा अनुपम खेर सिद्धहस्त अभिनेता कहलाइन थालेका छन् । र, उनकी पत्नी किरण खेर फेरि लोकसभामा निर्वाचित भएकी छन् ।


किरण खेरबाट याद आयो, उनको एउटा फिल्म थियो, खामोश पानी । २००३ मा प्रदर्शनमा आएको यो भारत–पाकिस्तान फिल्मका लागि किरणले स्विट्जरल्यान्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । फिल्मले उत्कृष्ट फिल्मको गोल्डन लियोपार्ड र निर्देशकको पनि अवार्ड पाएको थियो ।


सन् १९४७ मा भारत–पाकिस्तान विभाजनको बखत परिवारसँग छुटेर पाकिस्तानमै रहेकी एक महिलाको कथा यो फिल्ममा छ । आफ्नो पूरै परिवार भारत गएपछि यो बच्चीलाई मुस्लिम परिवारले हुर्काउँछ, ऊ मुसलमानमा रूपान्तरण हुन्छे, विवाह गर्छे, विधवा हुन्छे । उसको छोरो इस्लामिक र्‍याडिकल हुने क्रममा रहेकै बेला जनरल जिया उलहकले भारतीय तीर्थयात्रीलाई पाकिस्तानमा रहेका तीर्थमा आउन २० दिने छुट दिन्छन् । शिखहरूको एउटा समूह यही महिलाको गाउँमा आइपुग्छ, जुन समूहमा आफ्नी छुटेकी बहिनी खोजिरहेको दाजु पनि हुन्छ । भनिरहनु नपर्ला त्यो दाजु यिनै महिलाको हो ।


बस, यो फिल्म हेरेका मानिसका लागि सलमान खानको ‘भारत’ कुनै नयाँ कुरा होइन । अझै २०१४ को कोरियन फिल्म ‘ओड टु माई फादर’ हेर्नेका लागि त यो तरकारीबाट नुन झिकेर पस्किएजस्तै लाग्ला । किनभने, सलमान खानको घनघोर राष्ट्रवादी, एउटा मानिससँगै राष्ट्रको पनि यात्राको वर्णन गर्ने दाबी गर्ने फिल्म, यही कोरियन फिल्मको ‘रिमेक’ हो । यस हिसाबले हेर्ने हो भने यो कोरियाको विकासको फ्रेममा फिट गरिएको भारतको फोटो हो ।


‘भारत’ मा तीनवटा चीज मिसाइएको छ । पहिलो कोरियन फिल्मको पटकथा, दोस्रो हलिउड फिल्म फरेस्ट गम्पको जस्तो पात्र र तेस्रो सलमान खान ।

सुपरस्टार र देशको यात्रा
५ सय ५० भन्दा बढी ससाना राज–रजौटामा टुक्रिएको भारतलाई अंग्रेजको शासनले एउटा सूत्रमा जोड्यो । सन् १७५७ मा पाल्सीको युद्धमा बंगालका नवावलाई पराजित गरेपछि भारतमा इस्ट इन्डिया कम्पनीको शासन सुरु भयो । त्यसको करिब दुई सय वर्षपछि १९४७ मा दोस्रो विश्वयुद्धका कारण विश्व शक्ति संरचनामा आएको परिवर्तनले बेलायतलाई भारतबाट निस्किन बाध्य पार्‍यो ।


भारतमा अंग्रेज विरोधी आन्दोलन चलाएकाहरूबीच नै फुट आएपछि अन्तिम भाइसराय लर्ड माउन्टवेटनले पाकिस्तानको निर्माण गरी बलिउडलाई सधैंका लागि एउटा मसला दिएर बेलायत फर्किए । आफैंमा कुनै परिकार नभए पनि मसलाको विशेषता के हो भने यसले अरूको स्वादलाई बनाउने र बिगार्ने काम गर्न सक्छ । आइरिस रिपब्लिक आर्मीको आक्रमणमा परी १९७९ मा मर्नुअघि माउन्टवेटनकै जीवनमा भारत–पाकिस्तानबीच १९७१ मा युद्ध भइसकेको थियो, जसले बंगलादेशलाई स्वतन्त्र बनायो । बलिउडले ‘बोर्डर’ पायो । १९६२ को इन्डो–चाइना वारले ‘हकिकत’ र सलमानकै ‘ट्युबलाइट’ दिएको थियो ।


पहिलो प्रधानमन्त्री निर्वाचित भएका पण्डित जवाहरलाल नेहरूले भारतमा बेलायती राजनीतिक प्रणाली र रुसी अर्थ प्रणाली अंगीकार गरे । राज्य नियन्त्रित अर्थतन्त्रको यो मोडललाई पछि उनकी छोरी इन्दिरा गान्धीले पनि अबलम्बन गरिन् । ‘भारत’मा कट्रिना कैफ मात्र हिरोइन छैनन्, भारतको ‘साइडकिक’ को नाम पनि बेलायती राखिएको छ । खालि एउटै फरक छ, यो बेलायती इस्लाम हो ।


सुपरस्टार सलमान खानको देशको यात्रा वर्णन भनिएको ‘भारत’ ले यो बीचमा भएका ठूला राजनीतिक घटना वा परिवर्तनलाई समेट्दैन । फिल्मले पण्डित नेहरूको मृत्यु, अरबमा भेटिएका तेलका कुवा, भारतमा टेलिभिजनको आक्रमण, शाहरूख खान र सचिन तेन्दुल्करजस्ता स्टारको उदय तथा उदारवादी अर्थमन्त्री मनमोहन सिंहलाई भारत निर्माताका रूपमा पेस गर्छ । मनमोहन, शाहरूख, सचिन र सलमान खानको यात्रा आपसमा जोडिएका छन् ।


मनमोहनले गरेका आर्थिक सुधारसँगै बदलिएको व्यापारिक भारतमा यी सबै स्टारको उदय भएको हो । त्यो आर्थिक सुधार हुन्थेन भने सलमान खान वा सचिन तेन्दुलकर एक मिनेटको विज्ञापन खेलेको तीन करोड लिने स्टार बन्ने थिएनन् । बलिउडलाई त झन् ९० कै दशकका उत्पादित तीन खान, देवगन र कुमारले धानिरहेका छन् । बलिउडको आधा कमाइ यिनै पाँच र ऋत्विक रोशनका फिल्मबाट हुने गरेको छ ।


फिल्ममा पाँच किसिमका सलमान खान छन्, पाकिस्तानबाट शरणार्थीका रूपमा भारत आएको बालकलाई छोडेर । सर्कसको मौतका कुवामा मोटरसाइकल कुँदाउने निर्भय । परिवारको आर्थिक समृद्धिका लागि अरबको तेलको खानीमा सुरुङभित्र पस्ने निडर । भाइको पढाइ र बहिनीको विवाहका लागि पैसा जोड्न समुद्रमा निस्किने कतर्व्यपरायण । दुई देशलाई जोड्ने टीभी कार्यक्रमको पछि लागेको अधेड । र, कथा वाचक ७० वर्षको बडिबिल्डर ।


जसको केवल दाह्री कपाल मात्रै बुढिएका छन्, शरीर जस्ताको तस्तै छ ! सलमानको फ्यानका लागि एउटै फिल्ममा उनका यति धेरै रूप पक्कै आकर्षक प्याकेज हुन सक्छ, किनभने यो फिल्मका निर्माताले मुख्य ध्यान यसैमा दिएजस्तो लाग्छ । बाँकी कलाकार भनेका उनका सहयोगी हुन् । त्यसमा पनि कट्रिना कैफ र सुनील ग्रोबर मात्रै स्मरणमा आउने खाले छन्, बाँकी सब अतिथि कलाकार !


‘फरेस्ट गम्प’ मा टम ह्यांक्सको चरित्रसँगै अमेरिकाले भोगेका मुख्य घटनाहरूलाई घोलिएको थियो । हिप्पी आन्दोलनदेखि भियतनाम लडाइँसम्ममा नै हिरो सहभागी हुन्छ । बलिउडले हिरोलाई यति धेरै दुःख दिंदैन । बरु, यसको सट्टामा चार–पाँचवटा गीत बलिउडले दिन्छ । एउटा आइटम र एउटा राष्ट्रवादी टाइपको गीतचाहिँ अनिवार्यजस्तै भइसकेका छन् ।


र, आवश्यकताको सिद्धान्त
‘ट्युबलाइट’ र ‘रेस ३’ को असफलता र व्यापक आलोचनापछि सलमान खानलाई आवश्यक थियो— एउटा राष्ट्रवादी, मानवीय, राजनीतिक र हिट फिल्म । हरेक सुपरस्टारलाई बजारले एउटा ठूलो बोझ बोकाएको हुन्छ— फिल्मका वितरकदेखि हलवालासम्मलाई कमाइ गरिदिनुपर्ने ! नेपालमा पनि यसका वितरक टन्नै पैसा कमाउने आसमै बुधबार फिल्म रिलिज गर्न अदालत पुगे ।


सुपरस्टारको यही आवश्यकता पूरा गर्न अघि सरे सलमानको ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ का निर्देशक अली अब्बास जफर । जफरसँग सलमानको बक्स अफिस रेकर्ड जबरजस्त छ । अघिल्ला दुवै फिल्ममा उनले सलमानलाई भयंकर ‘हिम्यान’ का रूपमा पेस गरेका थिए । त्यसका बाबजुद दुवैमा केही भावुक प्रसंगहरू थिए, जो एक्सनभन्दा बढी मन पराइएका थिए ।


‘भारत’ मा पनि त्यसको कमी छैन । झन्डै २ घण्टा ५० मिनेट लामो यो ‘स्लो’ फिल्मको सुरु र अन्त्यतिरका प्रसंग यसको ओभरलोडले ढलपल गर्छन् । बीचको भाग भने घरी उदितनारायण त घरी शाहरूख खानजस्ता देखिने सुनील ग्रोबरका कमेडीको जिम्मा । सुनीलको कमेडी र गीतहरूबाट बाँकी रहेको समय कट्रिना र सलमानको ‘केमेस्ट्री’ लाई छुट्याइएको छ । बडो मुस्किलले हिन्दी बोल्ने कट्रिनाले जागिरदातादेखि टेलिभिजन एंकरसम्मको भूमिका पाएकी छन् ।


विभाजनका बेला भड्किएको हिन्दू–मुस्लिम दंगाका केही दृश्य, ट्रेन स्टेसनको विछोड र प्रि–क्लाइमेक्स फिल्मका हाइलाइट हुन् । यिनले एकसाथ दुःखद विगत र काल्पनिक भविष्यको चित्र प्रस्तुत गर्छन् । विभाजनको कथालाई आधार मानेरै बनाइएको फिल्म भए पनि यसले ‘गदर’ ले जसरी पाकिस्तानलाई गाली गर्दैन । छिमेकीलाई दिने गालीमा होइन, आफ्नै देशको विकासमा राष्ट्रवादको खोजी गर्ने सन्देश पनि यसमा छ ।


मोदीको युगमा मनमोहनको गुणगान गाउने यो फिल्मले अर्को पनि एउटा सन्देश दिन्छ— लिभिङ टुगेदरको । फिल्मको हिरोले आफूलाई भारतको पहिलो लिभिङ टुगेदर सम्बन्धमा रहेको मानिस दाबी गर्छ र प्रकारान्तरले यसको समर्थन पनि गर्छ ।
पहिलो दिन नै ४२ करोड कमाएर ‘भारत’ ले यो विषय र सलमान खान दुवैको महत्त्व स्थापित गरेको छ । तर, फिल्मको परख यसको कमाइबाट हुँदैन । सलमान खानको फिल्मको त झन् कठिन छ । भारतीय समीक्षक मयंक शेखरले त्यसै ‘सलमान खानको फिल्मको समीक्षा गर्नु भनेको अन्डरवेयरमा आइरन गर्नुजस्तो हो’ भनेका होइनन् । आइरन यस्तो चीज हो जसलाई बेलैमा यताउता चलाइएन भने त्यसले लुगै प्वाल पारिदिन्छ !


बलिउड फेरि पनि यस्तै मसलाहरूको पछि दौडिइरहने हो भने उसले चीन, अमेरिका र अरू साना देशहरूलाई पनि आफ्नै फिल्ममा मात्रै पछार्नेछ, विश्व सिनेमा बजारमा भने उसको कुनै औकात हुनेछैन । अहिलेसम्म जति बनेको छ, स्वतन्त्र फिल्ममेकर वा डायस्पोराका फिल्ममेकरले बनाएका छन् । हिजोको वीर गाथा एक ठाउँमा, आजको यथार्थ अर्कै । भारतको एउटा प्रमुख समस्या जाति व्यवस्थामाथि आयुष्मान खुरानाको ‘आर्टिकल १५’ ले आजको समयसँग साक्षात्कार गराउला कि !

प्रकाशित : जेष्ठ २५, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?