कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नमिलेका केही कुरा

प्रतिवाद
केशव वादी (नेपाली)

- सरस्वती प्रतीक्षाजीको २०७६ वैशाख २१ गते कान्तिपुर कोसेलीमा प्रकाशित ‘अदालतमा किताब’ लेखबारे केही लेख्नुपर्ने भएको छ  । उहाँले लेखेको ‘नथिया’, विवेक ओझाको ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी’ माथि बादी समुदायले आपत्ति जनाउँदै विरोध गरेको कुरा पत्रिकाबाट थाहा पाएको बताउनुभएको छ  ।

- सरस्वती प्रतीक्षाजीको २०७६ वैशाख २१ गते कान्तिपुर कोसेलीमा प्रकाशित ‘अदालतमा किताब’ लेखबारे केही लेख्नुपर्ने भएको छ । उहाँले लेखेको ‘नथिया’, विवेक ओझाको ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी’ माथि बादी समुदायले आपत्ति जनाउँदै विरोध गरेको कुरा पत्रिकाबाट थाहा पाएको बताउनुभएको छ । हामीले दुवै किताब पढेर र फिल्म हेरेर राष्ट्रिय बादी परिषद्मा आबद्ध बादी अगुवाहरूको बैठकबाट निर्णय गरेरै २०७५ साल साउन ८ गते नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत विरोध सार्वजनिक गरेका थियौं ।


बादी अभियन्ताहरूको उद्देश्य यी कृतिहरूमार्फत जनमानसमा गएको नकारात्मक सन्देशलाई सच्चाएर सकारात्मक बनाउनु थियो । यस्तो प्रेसरको अवस्थामा हरेक लेखक, प्रकाशक, निर्माता, निर्देशकलाई पत्ता लगाउन र उहाँहरूसँग बहस गर्न सम्भव थिएन । साथै पीडितले पीडकलाई खोज्दै जानुपर्ने हात जोड्नुपर्ने, लेखकसँग छलफल गनुपर्ने यो कहाँको सामन्ती सोच हो ? २०७४ फागुन ३० मा दाङमा भएको बहस कार्यक्रममा निर्मल नेपालीलगायतका अभियन्ताले सरस्वतीजीलाई किताब सच्याउन दिएको सझुावको उहाँले वास्ता गर्नुभएन । बरु, त्यसपछिका बहसमा बादीहरूलाई सहभागी नै गराइएन ।


- उहाँले बादी समुदाय सुरुमै सडकमा आयो भन्नुभएको छ । यो अभियानमा बादी समुदाय हालसम्म पनि सडकमा आएको छैन । हामीले कुनै सडक संघर्ष गरेनौं । हामीले बौद्धिक व्यक्तित्वलाई बौद्धिक तवरले नै जवाफ दिन अभियान चलाउनुपर्छ भनेर संयम भएर अभियान चलाएका हौँ । यद्यपि धेरै जनाले किताब जलाउने वा फिल्महलमा तोडफोड गर्ने सुझाव पनि दिएका थिए ।


- विज्ञप्ति निकालेको करिब १० दिनपछि हामी अभियानका लागि काठमाडौं आएका बेला उहाँको फोन आएको हो । उहाँले निर्देशनात्मक शैलीमा लेखकलाई सोधेर अभियान चलाउनुपर्ने होइन भनेर प्रश्न गर्नुभयो । उहाँले लेखकले शब्द र वाक्य सच्च्याउन नचाहे बल्ल विरोधका कार्यक्रम गर्नुपर्ने होइन भनी लेख्नुभएको छ । उहाँले फोन पत्ता लगाउन सकिन्थ्यो नि भनेर प्रश्न गर्नुभयो । हाम्रो अभियान उहाँको किताबमाथि मात्रै थिएन । मैले उहाँलाई बताएँ । हामी कति जनाको नम्बर पत्ता लगाउँदै जाने ? जनमानसमा लाञ्छना, भेदभाव, जातीय विभेदरूपी नकारात्मक सन्देश दिनप्रति दिन प्रसार भइरहेको थियो । विद्यालयमा पढ्ने हाम्रो समुदायका बालबालिकाहरूमा नकारात्मक सन्देश प्रवाह भइरहेको थियो । विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएकै थियो ।

- हाम्रो अभियानमा हामी सुरुमै कानुनको सहारामा गएका होइनौं । पहिले त हामीले लेखक र निर्देशकको धारणा नै बुझ्न खोज्यौं । उहाँहरूबाट समुदायको चित्त बुझाउने खाले कुनै धारणा आएन । उल्टै सामाजिक सञ्जालमार्फत ‘हामी ठीक छौँ’, ‘यो हाम्रो अधिकार हो’ भन्ने कुरा व्यक्त भएको पाएपछि सर्वोच्चमा सार्वजनिक सरोकारको मुद्दा दर्ता गरेका थियौँ । सरस्वती प्रतीक्षाजीलगायत केही प्रगतीवादी लेखकले बादीहरू उपन्यास, फिल्मको कुरा लिएर अदालत जानु हुँदैन थियो भनेको पाइयो । हाम्रो अभियान गलत थियो भने किन राष्ट्रिय मानवअधिकार आयोगले पत्राचार गरी धारणा माग्यो ? किन अदालतले मुद्दा खारेज नगरी अन्तरिम आदेश जारी गर्‍यो ?

- सर्वोच्च अदालतले ०७५ फागुन १५ मा गरेको फैसलाबाट बादी समुदाय पूर्ण सन्तुष्ट छ । हामी अदालतको फैसलाको पूर्ण स्वागत गर्दछौं । यो हाम्रो गौरव हो र समाजमा हुने लाञ्छना भेदभाव र विभेदविरुद्धको एउटा उदाहरण र कानुनी दस्तावेज पनि हो । आदेशको निर्णयादेशको २२ देखि ३६ सम्मको बुँदाले बादी समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने शब्दावलीको प्रयोगमा र लेखनमा पूर्ण रूपमा रोक लगाएको छ जसले बादी समुदायमा गरिने लाञ्छना, भेदभाव र विभेदको नियन्त्रण भई अन्त हुनेछ भन्ने विश्वास छ ।

- सरस्वतीजीले लेखमा ‘हामीसित तपाईंसँग गर्नुपर्ने केही कुरा छैन, हामी कानुनी उपचार खोज्ने निर्णयमा पुगिसक्यौँ’ भनेर मैले भन्यो भनी लेख्नुभएको छ । यो कुरा सरासर झूटो छ । उहाँले नै काठमाडौं आउँछु भनेर साउन २१ गते १ बजे सुन्धारामा भेट्ने तय गरेपछि हामी प्रतीक्षामा थियौं । निर्धारित समयमा उहाँको फोन नआएपछि मैले नै फोन गर्दा उहाँले ‘अब तपाईंहरूसँग भेट्नुको कुनै औचित्य छैन । कुनै कार्यक्रम, कुनै बहसमा अवश्य भेट्नेछौं’ भनेर धम्कीपूर्ण लवजमा बोल्नुभयो । त्यसो भए ठीकै छ भनेर मैले फोन राखें । तर, हामीलाई भेट्न भनेर काठमाडौं आएको मान्छे हामीसँग मिटिङ रद्द गरेर बादी समुदायक उत्थान विकास समितिमा जानुको रहस्य के हो ?

- उहाँले मदन पुरस्कारका प्रतिस्पर्धीहरूले बादी अगुवाहरूलाई उचालेको भनी आरोप लगाउनुभएको छ । मैले यसको प्रमाण दिएर पुष्टि गर्नुस् भनेर धेरै पटक भनें । उहाँले कुनै जवाफ दिनुभएको छैन । एनजीओ/आईएनजीओले उचालेर डलर पचाउनलाई सुन्धारामा बसेर मासुभात खाई मोज गरी अभियान चलाएको आरोप पनि लगाउनुभयो । म फेरि पनि भन्छु, लेखकीय नैतिकता छ भने यी आरोप प्रमाणित गरी देखाउनुस् ।

- सरस्वतीजीले बादी नेतृत्व अभियन्ता उमा बादी आएर हाम्रो प्रतिकार गर्नुहुन्थ्यो भनेर लेख्नुभएछ । यो केवल उहाँको कल्पना मात्र हो । यो समुदायमा भ्रम फैलाउने र समुदायमा भएको एकतालाई खल्बलाउने प्रयास मात्र हो । यदि कोही साँच्चिकै हाम्रो अभियानको विपक्षमा छ भने हाम्रो अभियान सकिएको छैन, बादीहरूलाई यो अभियानको प्रतिकारमा निकालेर देखाउनुहोस् । ‘नथिया’ को विमोचन कसरी भयो ? त्यही दिन उहाँलाई कसरी धनगढीबाट बोलाइयो भन्ने थाहा छ । विमोचन अघि उहाँले किताब पढ्नु भएको थियो ?

- उपन्यास लेख्दै गर्दा कति जनासँग अन्तर्वार्ता लिएँ भन्नुभएको छ । एउटा विश्वविद्यालयको शोधपत्र हो भनेर अन्तर्वार्ता लिनुभयो । म यो कुरा लेख्छु तपाईंका नाम पनि प्रकाशित गर्छु भनेर रञ्जिता नेपाली (बादी) लगायतसँग सहमति लिनुभएको छ ? छ भने सार्वजनिक गर्नुहोस् होइन भने व्यक्तिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन गर्नुभयो ? कुन कानुन र कुन अधिकारले उहाँहरूको वास्तविक नाम उल्लेख गरी जातीय विभेद, लाञ्छना र भेदभाव गर्ने अधिकार दियो ?

प्रकाशित : जेष्ठ २५, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?