३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इतिहासको लौरी : वर्तमानमा विचरण

पुस्तक
वर्तमानको मुद्दा सम्बोधन गर्न इतिहास पर्गेल्नेमा सुजित मैनाली पनि मिसिएका छन्  । इतिहासको टेको समाए पनि ‘शिलान्यास’ समकालीन राजनीतिक मुद्दामाथिको बहस हो  ।
रामचन्द्र श्रेष्ठ

हरेक मान्छे विगतको पदचिह्न र भविष्यको परिकल्पनासहित वर्तमानमा विचरण गर्छ । वर्तमान घटनाहरूको जरा खोज्न विगतका परिघटनाहरू खोतल्नुपर्छ । हुन त, एकथरी चिन्तकहरू वर्तमानमाथि इतिहासको छाया पार्नुहुन्न भन्ने जिकिर पनि गर्छन् तथापि विगतको अध्ययनबिना वर्तमान बुझिँदैन ।

इतिहासको लौरी : वर्तमानमा विचरण

सायद यहीं बोधले हुनुपर्छ, सुजित मैनाली पछिल्लो समय नेपाली राजनीतिमा हावी भइरहेका विषयबारे इतिहासको आँखाबाट विचरण गर्न उत्सुक छन् । उनको यही उत्सुकता, अभिप्रेरणा र प्रयास हो– ‘शिलान्यास ः नेपाल निर्माणको नालीबेली ।’
पछिल्लो समय समावेशी, समानुपातिक, अग्राधिकार, संघीयता, पहिचानजस्ता शब्दहरूले नेपाली राजनीतिक मञ्चमा प्रशस्त हस्तक्षेप गरे । ती मुद्दाको जगमा थियो नेपाली इतिहासको पुनर्मूल्यांकनको प्रयत्न । यही क्रममा स्थापित मान्यतामाथि तिखा प्रहारहरू हुन थाले । पूर्वस्थापित कैयौं मान्यता भत्कन थाले । यस सिललिसामा आधुनिक नेपालको निर्माण कथालाई नै खोतलखातल पारियो । अनि यसका नेतृत्वकर्ता पृथ्वीनारायण शाहबारे निर्मित भाष्यमाथि प्रश्नचिह्न खडा भए । वसन्त थापा र मोहन मैनाली सम्पादित ‘मधेस : समस्या र समाधान’, सस्के लालको ‘नेपालीय हुनलाई’, युग पाठकको ‘माङ्गेना’, ‘मधेस मन्थन जर्नल’ लगायत पुस्तक, अनुसन्धानात्मक जर्नल लेख तथा कैयौं अखबारी लेखनहरूले पृथ्वीनारायणमाथि प्रश्न गरिरहे । सात सालको पूर्वार्द्धदेखि लेख्य परम्परामा आउन थालेको र पञ्चायतकालमा बढी मलजल गरिएको एकखाले इतिहास लेखनमाथि प्रश्न उठ्न थाल्यो । यी बहसको सारमा नेपाली राज्यनिर्माणको यथार्थ बुझ्ने प्रयत्न देखिन्छ ।
वर्तमानको मुद्दा सम्बोधन गर्न इतिहास पर्गेल्ने सिलसिलामा सुजित मैनाली पनि मिसिएका छन् । इतिहासको टेको समाए पनि ‘शिलान्यास’ मूलतः समकालीन राजनीतिक मुद्दामाथिको बहस हो । त्यसैले यो विशुद्ध इतिहास नभई इतिहासको आलोकबाट गरिएको राजनीतिक विवेचना हो । पुस्तक लेखनको निहित उद्देश्य यही हो भन्दा लेखकले असहमति नजनाउलान् ।
जग, अविच्छिन्न स्वतन्त्रता र विष्टको बाहुनवाद गरी तीन खण्ड र त्यसअन्तर्गतका छब्बीस शीर्षकमा रहेर सुजित आफ्ना मान्यता स्थापित गर्न र तथ्यको सहाराले बलियो पार्न प्रयासरत देखिन्छन् । ‘शिलान्यास’ मार्फत नेपाली राजनीतिक इतिहासको बहसमा सुजितले गरेका प्रयासलाई विभिन्न कोणबाट केलाउन सकिन्छ ।

भाष्यमाथि हस्तक्षेप
माथि चर्चा गरिएजस्तै पछिल्लो समय नेपाली राज्यको स्रोत, संरचना र चरित्रबारे व्यापक टिप्पणी भए । त्यस क्रममा अनेकन पुस्तक र अनुसन्धानात्मक लेखदेखि नियमित अखबारी लेखनले एक खालको भाष्य निर्माण गर्दै लगे । त्यो थियो– नेपाली समाज बहुल थियो तर राज्य एकल भयो । राज्यसंयन्त्र एकल जाति, एकल भाषा र एकल क्षेत्रको कब्जामा रह्यो । यसले अन्य समुदायलाई बहिष्करण गर्‍यो । बहिष्करणको यो जग पृथ्वीनारायण शाहको ‘विस्तारवादी’ नीतिबाटै आरम्भ भएको थियो । नेपालको इतिहासमाथि आलोचनात्मक चिन्तन राख्ने क्रममा निर्माण भएको यो भाष्य राजनीतिक आन्दोलनसँग प्रत्यक्ष गाँसियो । यसले पहिचानको आन्दोलनलाई वैधता र वैचारिकता प्रदान गर्न उल्लेख्य भूमिका खेल्यो । ‘शिलान्यास’ मा सुजित यो भाष्यमाथि हस्तक्षेप गर्ने ध्याउन्नमा छन् ।
‘जग’ यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण खण्ड हो । सुजित मुख्य चार प्रश्नलाई उभ्याउँदै डिस्कोर्समा हस्तक्षेप गर्न तम्तयार हुन्छन् । एक, पृथ्वीनारायणको आधुनिक नेपाल निर्माण प्रक्रिया कति राजनीतिक र नैतिक चेतले युक्त थियो ? दुई, के आधुनिक नेपालको निर्माण प्रक्रिया पूर्णतया हिन्दूकरण थियो ? तीन, के आधुनिक नेपालको निर्माण खस भाषाको आधिपत्य र अन्य भाषालाई कमजोर बनाउन थियो ? चार, के आधुनिक नेपाल निर्माण प्रक्रिया नश्लवादी थियो ? र यसले अन्य समुदायका मानिसलाई के कति बहिष्करण गर्‍यो ?
प्रश्नको उत्तर खोज्ने क्रममा उनले प्रशस्त सूचना र तथ्यसहित १६ पाठ लेखेका छन् । सारमा सुजितको प्रस्थापनालाई यसरी उल्लेख गर्न सकिन्छ :
- पृथ्वीनारायण बलियो राज्यको शासक बन्न इच्छुक थिए । बलियो राज्य निर्माणका लागि उनले राज्य विस्तार गर्न थाले । राज्य विस्तारका लागि उनले राज्यप्रतिको निष्ठालाई जोड दिए । उनले सार्वभौमसत्ता भूअखण्डतासँग जोडिएको हुन्छ भन्ने आधुनिक राज्यको सिद्धान्तलाई आत्मसात गरेका थिए ।
- बलियो राज्य विस्तारलाई निरन्तरता दिनका लागि सम्पूर्ण जमिन राज्यको मातहत हो भन्ने मान्यता स्थापित गरियो । सेनालाई तलबको रूपमा जमिन नै दिएर थप राज्य जित्नको लागि अभिप्रेरित गरियो । यसरी नेपाली राज्य–संयन्त्रलाई ‘लडाइँ लडिरहने यन्त्र’ बनाइयो ।
- पृथ्वीनारायण शाहले नै हिन्दूकरणलाई जोड दिएका होइनन् । उनीभन्दा अघि सेनराजाहरूको पालामा पनि हिन्दू धर्मलाई बलियो संरक्षण प्राप्त थियो । (पृष्ठ ३०)
- पृथ्वीनारायण व्यावहारिक शासक हुन् । उनले धार्मिक बहुसंस्कृतिवादलाई अँगालेका थिए । काठमाडौंबाट निकाला गरिएका इसाईहरू गोरखाविरोधी गतिविधिमा संग्लग्न भएकैले मात्र निकालिएका थिए, धार्मिक कारणले होइन । (पृष्ठ ४६)
- पृथ्वीनारायणभन्दा पहिलेदेखि नै खसभाषा सम्पर्क भाषा बनिसकेको थियो । सहजताका कारण मात्र नेपाली भाषालाई राज्यले अंगिकार गर्‍यो ।
- पृथ्वीनारायणलाई राज्यविस्तारमा मगर, गुरुङ, नेवारलगायतले सहयोग गरेका छन् । उनको समय र पछि पनि विभिन्न समुदायका मानिस राज्यसंयन्त्रमा सहभागी भएका छन् । अर्कोतर्फ स्वजातीय प्रहार पनि झेल्नुपरेको तथ्य छ । जस्तै, कान्छा भाइ शूरप्रताप कास्कीको शरणमा गएका छन् ।
- पृथ्वीनारायणले सबै जातिका मानिसलाई सेनामा समावेश गरेका थिए । उनी ‘जातीय र नश्लीय चौघेराभन्दा माथि उठेका व्यवहारवादी शासक’ थिए । (पृष्ठ ८४)
मसिना–मसिना सूचनाको विशाल भण्डार सुजित मैनालीको शक्ति हो । सूचनाको भरिपूर्ण प्रयोगले पृथ्वीनारायणमाथि लगाइएका आरोपका जग कमजोर छन् भन्ने पुष्टि गर्नु सुजितको अभीष्ट हो ।

स्वाभाविकताको लेपन
नेपाली इतिहास अध्ययनमा दुईथरी अतिवादी विचार देखिन्छन्– पूर्णतया भक्ति वा पूर्णतया निषेध । पृथ्वीनारायणबारे पनि यिनै दुई अति देखिन्छन् । पृथ्वीनारायणलाई हत्यारा (कीर्तिपुरमा चार डाला नाक), अन्य समुदायप्रति असहिष्णु र असली हिन्दुस्ताना निर्माणका लागि अन्य धर्मप्रति पूर्वाग्रहीको आक्षेप लगाइएको छ ।
यी आरोपबारेको बहसमा सुजितले दुईथरी मान्यता निर्माण गरेका छन् । एक, पृथ्वीनारायणलाई लगाइएको आरोप जायज छैनन् । उनले थालेको भनिएका थुप्रै कर्म उनीभन्दा अगाडिदेखि स्थापित भइसकेको थियो वा उनी आफैँले गरेका थिएनन् । जस्तै, पृथ्वीनारायणलाई लाग्ने मुख्य आरोप हो नेपाल राज्य निर्माणको उनको अभियान हिन्दू राज्यको निर्माण थियो । सुजितका अनुसार पृथ्वीनारायणको मूल अभीष्ट धार्मिक नभई राजनीतिक थियो । यद्यपि उनी हिन्दू भएकैले राज्यले हिन्दू चरित्र धारण गर्‍यो । उनी नभई त्यतिबेलाका अन्य शक्तिशाली शासकले राज्य विस्तार गरेकै भए पनि त्यो राज्य हिन्दू नै हुने सुजितको तर्क छ । तर्क गर्छन्, ‘सेन र मल्लराजाहरू गोरखाका राजाहरूजस्तै हिन्दू नै थिए । मकवानपुर, विजयपुर र चौदन्डीका सेनराजाहरू आफूलाई हिन्दूपति भनी चिनाउँथे ।’ (पृष्ठ २९)
सुजितले निर्माण गरेको अर्को मान्यता हो । राज्य विस्तारको क्रममा पृथ्वीनारायणले गरेका कतिपय कर्म स्वाभाविक हो । उनीमाथिको आरोप र आक्षेपलाई सुजितले स्वाभाविकताको लेपन लगाएका छन् । संसारका हरेक राज्यको निर्माण युद्ध र रक्तपातबाटै भएका छन् । ‘हिंसाबिना राज्यस्थापनाको परिकल्पना गर्नु जग नहालीकन आलिसान महल ठड्याउने सपना देख्नुसरह हो’ (पृष्ठ १३) लेखकले पृथ्वीनारायणका हिंसालाई स्वाभाविक स्थापित गर्ने प्रयत्न गरेका छन् । पृथ्वीनारायण पनि राज्य निर्माणको क्रममा थिए । त्यतिबेला भएका केही घटना अरू केही होइन राज्य निर्माणको क्रममा भइहाल्ने स्वाभाविक घटना हो । उनले विभिन्न जातीय समुदायका ठालुहरूले चलाएको शासन प्रणाली अन्त्य गरेर विशाल राज्यको निर्माण गरे । त्यतिबेला देखिएको उनको नश्लीय अनुहार तत्कालीन समकालीन चरित्र नै हो । त्यसैले यो स्वाभाविक नै हो । ‘जग’ खण्डका हरेक पाठ पृथ्वीनारायणका कदमहरूलाई स्वाभाविकताको लेपन लगाउन उद्यत छन् ।

मुद्दाको नरमीकरण
सुजितको अर्को महत्त्वपूर्ण प्रयास हो– राजनीतिक मञ्चमा तातेका मुद्दालाई नरम बनाउनु । बहिष्करण, विभेद, राज्यको केन्द्रीकृत सोचलाई सुजित सिधै नकार्दैनन् । तर ती मुद्दालाई धेरै चर्काउन नहुने जिकिर गर्छन् । यी मुद्दाको विरोध गर्दैनन् तर पूर्णसत्य पनि मान्दैनन् । जस्तै उनी भन्छन्, हिन्दूत्वको आडमा राष्ट्रिय पहिचान बनाइएको साँचो हो तर यो नेपाली शासकको मौलिक अवधारणा होइन । (पृष्ठ ४७)
अंग्रेजसँगको युद्ध र सुगौली सन्धिपछि नेपाली राजनीतिमा शक्ति हत्याउने दाउपेच चल्यो । भारदारहरूबीच शक्ति संघर्ष चल्यो । शक्ति गुमाएका भारदारहरू बहिष्कृत भए र बहिष्करणको खाडल फराकिलो हुन थाल्यो (आधुनिक नेपाल ः राजनीतिक स्वार्थको उपज) । यसरी बहिष्करणको नवीनतम व्याख्या गर्ने सुजितका हरेक पाठहरूको कोसिस नै तातेको विषयलाई नरम बनाउनु हो ।
नेपालमाथि विदेशी हस्तक्षेपलाई पनि उनी यसरी नै नरम बनाउँछन् । नेपाली शासकले व्यावहारिक ज्ञानको उपयोग गर्दै देशको सार्वभौमिकतालाई सुरक्षित राख्न सफल भएको उनको मत छ । तर क्रान्ति र आन्दोलनको परिवेशमा देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुँदै विदेशी शक्ति बढी चलखेल गरेको छ भन्ने उनको ठहर छ । लेख्छन्– त्यसैले क्रमिक सुधार नै आवश्यक हो आमूल परिवर्तन रुमानी चाहना हो, कुनै पनि नेपालीले त्यस्तो रुमानी चाहना राख्नु हुँदैन । (पृष्ठ २१०) उनको सार छ— अहिलेको संविधानले यसरी उठेका सबै मुद्दाहरूलाई सम्बोधन गरिसकेको छ त्यसको पूर्णतया कार्यान्वयन आवश्यक छ ।

अविच्छिन्न स्वतन्त्रताको वकालत
नेपाली राज्य अर्धऔपनिवेशिक भएको एकखाले दृष्टिकोण रहेको छ । मूलतः सुगौली सन्धिले थोपरेको अनेकन बन्देज, गोर्खा भर्ती, नेपाली राजनीतिमा हस्तक्षेप र आर्थिक हिसाबले परनिर्भरताका कारण नेपाल औपनिवेशिक भएको जिकिर गरिन्छ । तर सुजित मैनाली नेपालको स्वतन्त्रता र सार्वभौमिकता विविध युद्धका बाबजुद पनि अविच्छिन्न भएको वकालत गर्छन् । पुस्तकको दोस्रो परिच्छेद यसैमा केन्द्रित छ ।
नेपालले अंग्रेजसँग मात्र नभएर चीनसँग पनि युद्ध गर्‍यो । कतिपय अवस्थामा देशको अस्तित्व नै संकटमा पर्‍यो । तर नेपाली शासकवर्गले अनेकन जुक्ति र व्यावहारिकताका बलमा देशको स्वतन्त्रता बचाउन सक्षम भइरह्यो । त्यो सक्षमताको निरन्तरता पछिल्लो नाकाबन्दीसम्म रह्यो । बेलाबेलामा विदेशी हस्तक्षेपका लक्षण देखापरे पनि नेपाल सार्वभौमिकता अक्षुण्ण राख्न सक्षम छ भन्ने उनको जिकिर हो ।
सूचना र तथ्यको विशाल भण्डार नै ‘शिलान्यास’ को सामर्थ्य हो । एक खालको इतिहासदृष्टिले प्रभावित पारिरहेको समयलाई हस्तक्षेप गर्ने प्रयास अर्को कदम हो । तर, सुजितका केही सीमा छन् ।

नेपथ्यमा प्रस्थापना
सूचनाको विशाल भण्डार नै सुजितको एउटा चुनौती हो । सूचनाको यो विशाल भण्डार ठाउँ ठाउँमा सूचनाको जंगल बनेको छ, जसले उनको खास प्रस्थापनालाई ओझेलमा पारेको छ । जस्तै, ‘सरकारी नियुक्ति’ समावेशी थियो भन्ने पुष्टि गर्न उनले अनेकन नामहरू जम्मा पारेका छन् । तर ती नामको अन्तर्यसम्म पुगेका छैनन्, जसले गर्दा उनको विश्लेषणले सामाजिक सम्बन्धका अनेकन पाटालाई छुने प्रयत्नसमेत गरेको पाइँदैन । पढ्दै जाँदा बेला बेलामा यस्तो लाग्छ उनी सूचनाप्रति बढी मोहित छन् तर आफ्ना प्रस्थापनाप्रति कम लगाव छ ।
सूचना आफैंमा ज्ञान होइन । सूचनाको संश्लेषणले नै ज्ञान उत्पादन गर्ने हो । सूचनाको बाक्लो भीडले पनि प्रस्थापना पुष्टि गर्ने होइन । खासमा सूचनाहरूलाई प्रशोधन गरिनुपर्छ । प्रशोधन निश्चित दर्शन र ध्येयको आधारमा हुन्छ । सूचनाको एककोणीय प्रक्षेपण सुजितको सीमा हो वा ध्येय ? सीमा संशोधनीय हुन्छ ध्येय आलोचनायोग्य ।

राज्यसत्ता कि राज्यसंयन्त्र ?
राज्यसत्ता र राज्यसंयन्त्र शब्दावलीको प्रयोगमा सुजितले होसियारी अपनाएका छैनन्, जसले गर्दा उनका केही जिकिर फितला बन्न पुगेका छन् । जस्तै कि सेनामा विभिन्न जातिको समावेशीकरण पुष्टि गर्न उनले विभिन्न नाम उल्लेख गरेका छन् । तर, राज्यसंयन्त्रमा सहभागी हुँदैमा राज्य शक्तिको बाँडफाँड भएको मान्न सकिन्न । खासमा राज्य बलियो गराउनका लागि पनि विविध, जाति र भाषीलाई समेटिन्छ । पञ्चायती व्यवस्थामा पनि मन्त्रिमण्डलसम्म समेटिएको हुन्थ्यो तर राजकीय शक्तिको अभ्यासमा भने केन्द्रीकरण नै थियो । राज्यसंयन्त्रमा सहभागितालाई राज्यसत्ताको सहभागिताको रूपमा व्याख्या गर्दा सत्यको नजिक पुग्न सकिँदैन ।

नेवार : राष्ट्र कि जाति ?
बेलामा बेलामा सुजित आफ्नो अनुकूलतामा सूचनाको उपयोग गरिरहेको देखिन्छन् । नेवारको सन्दर्भमा उनीमा यस्तै समस्या देखिन्छ । जब जात व्यवस्थाको चर्चा गर्नुपर्ने हुन्छ उनी काठमाडौंमा नेवारमा जात व्यवस्था पहिलादेखि नै विद्यमान भएको सूचना पस्कन्छन् । त्यतिबेला नेवारका विभिन्न थरहरूको प्रदर्शन गरेर नेवार एउटै नरहेको तथ्य प्रस्तुत गर्छन् । तर पृथ्वीनारायणको राज्य अभ्यासलाई समावेशी देखाउन त्यहीं एकाध थरहरूलाई देखाउँछन् । नेवार जातिले नै राज्य संयन्त्रको सुविधा प्राप्त गरेको लेखिदिन्छन् । नेवार जाति होइन राष्ट्र हो भन्ने तथ्य बिर्सन्छन् ।
कुनै बेला आधुनिक मान्यताको राष्ट्र–राज्य सरह अभ्यास गरेको नेवारभित्र पनि वर्ग र वर्ण व्यवस्था थियो भन्नेमा सुजित स्पष्ट छन् । तर, त्यसलाई पर्गेल्न चुकेका छन् । के यो वर्ग र वर्ण व्यवस्थालाई नजरअन्दाज गरिनुको परिणाम हो ?
नेपाली इतिहास लेखनमा हस्तक्षेप गर्न प्रयासरत सुजित कतिपय बेलामा प्राज्ञिक लेखनबाट चिप्लिन्छन् । विष्टले कम्तीमा ‘दिव्योपदेश’ पढेकै भए पनि हुन्थ्यो भन्ने आग्रह प्रकट गर्छन् । ‘अपरिपक्व जगमा उभिएकै कारण विघटन भइसकेको तात्कालिक सोभियत संघको चर्चा नगरौं’ (पृष्ठ १२) भनेर विशद विषयलाई हलुका ढंगले प्रस्तुत गर्छन् । त्यस्तै, ‘जतिसुकै फूलबुट्टा जडेर तर्क गरे पनि यो सत्य कसैले ओझेल पार्न सक्दैन’ (पृष्ठ २८) जस्तो कमसल भाषा प्रयोग गर्छन् ।
सीमितता र आग्रहका केही पुटसहित सुजित समकालीन नेपाली राजनीतिक डिस्कोर्समा हस्तक्षेप गर्न लालयित छन् । इतिहासको लौरो टेकेर वर्तमानको विचरण गर्ने उनको यो शैली स्वागतयोग्य छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?