दार–एस–सलामदेखि माडागास्कर

यात्रा
६ दिन ७ रातमा सकिएको हिन्द महासागरको यात्रा । पानीजहाजको एक साइडमा बसेका खसीबाख्रा र अर्को साइडका गाई–गोरुहरू साक्षी । र, म– रुवान्डा, बुरुन्डी हुँदै तान्जानियाबाट कोमरोस छिचोल्दै माडागासकर जान लागेको एक नेपाली यात्री ।
नाेयल बास्ताेला

२०११ जुलाईको पहिलो साता । यात्राका केही साथी छन् । रुवान्डाको ब्रासिएस मन्याङगेरी । हुतु बुबा र तुत्सी आमाको टुहुरो छोरा । तान्जानिया बसेर पढेको, अंग्रेजीमा दख्खल भएको । मायोटीमा बसेकी प्रेमिकालाई कमरोसको अन्जुवानमा भेट्न जान लागेको ।

यात्राको अर्को साथी मालबाहक पानीजहाजको कप्तान किमरो । जहाजको कुक जुमा । अन्य केही चालकदलका सदस्यहरू । तान्जानियाबाट समुद्रको बाटो कोमरोसको मरोनीमा व्यापार गर्न हिँडेका बुरुन्डी र युगान्डाका केही युवा । मरियम– समुद्री मालबाहक जहाज । ६ दिन ७ रातमा सकिएको हिन्द महासागरको यात्रा । पानी जहाजको एक साइडमा बसेका खसीबाख्रा र अर्को साइडका गाई–गोरुहरू साक्षी । र, म– रुवान्डा, बुरुन्डी हुँदै तान्जानियबाट कोमरोस छिचोल्दै माडागासकर जान लागेको एक नेपाली यात्री ।
...
हो, मन्याङगेरी हो तिमी फेरि सपनामा आएर भन्दै थियौ– पश्चिममा आधारित प्रणाली डराउनेहरूको एक समूह हो । यसलाई पाताल भन्ने महाविद्वान्हरू पनि यही संसारमा छन् । यसको गरिमा गाउँदै हिँड्ने वरिष्ठ लेखक पनि यही छन् । अरूको गुणगान गाउँदै, सपना बाँड्दै हिँड्ने तर काम र कुरो एकतिर गर्ने राजनीतिज्ञहरू पनि यहीँ छन् (हामीलाई भन्छन् यान्की गो होम तर, आफैं यान्की बन्दै उही खाडलमा होमिन्छन्) तर, हामीलाई कसैले प्रेम गर्दैनन् । उचाल्छन् र खिस्स घाँटीबाट मुस्कुराउँछन् । अनि भन्छन् तिमीहरू त बहादुर हौ । फुस्ल्याउँछन् र सबै कुम्ल्याउँछन्, शोषकहरूले झैं । के हामी गरिब हौँ त ?


तिमी मेरो सपनामा बडबडाउँदै थियौ । अनि अचानक चिच्यायौं सपनामा जस्तै विपनामा पनि । किन देखापर्छन् तिम्रो मस्तिष्कमा ती नामहरू ?


डा. लिभिङ स्टोन, हेनरी मोर्टन स्टान्ले त्यसै जन्मेका होइनन् भन्दै थियौ तिमी । यिनीहरूलाई त पठाइएको हो रे, उपनिवेशका मोहोरा बनाइएका हुन् रे । उपनिवेश सभ्यताको महान् गीत यही माटोमा फुलाइएको रे ।


ओहो कति गहिरो थियो, कति पीडादायी थियो तिम्रो आर्तनाद । आँखाका आँसु रित्तिएर, मुखको थुक सुकाएर तिमी केही भन्न खोज्दै थियौ ? तिमी के भन्न खोज्दै थियौ ? म सपनाको कल्पनाले उत्तेजित हुँदै थिए । अचानक मैले सुनें । तिमी सकिनसकी बरबराउँदै थियौं– सही हो नोयल सही हो । त्यो कालो कविले लखेको रंगीन कविता सुन्दर बुट्टामा भरिएको थियो । साँच्चिकै त्यो कवि थियो । नाइलको झिलमा पौडिने त्यो कवि, उभिराका पहाडबाट तागंनिकाको अथाह गहिराइ नाप्दा नाप्दा आफैं डुबेछ । कता हरायो त्यो कविको कालो देह, कता हरायो त्यो कविको अन्तरआत्मा !


म फेरि झस्किएछु ।
तिम्रो नाम लिँदै बरबराउँदै थिएँ । यस मन्याङगेरी यस, तिमी सही थियौ म पनि गलत थिइनँ । भर्खरै हेर न, नियम र कानुनहरू बनाइएका छन् । शक्तिबाट झूटोलाई सत्यमा परिवर्तन गरिँदै छ । अफ्रिकालीहरूले आफ्नो नायक खोजेका छन् ।


मेरो कुरै नसुनीकन मन्याङगेरी चिच्याउँछ । मरोनी अब छिट्टै आउँछ । हो किमारो हो म अफ्रिकन हुँ । म काले हुँ । मेरो कपाल नै कालो छ । म हुँ रास्ताम्यान । म गर्वका साथ भन्छु म काले हुँ । श्वैतश्यामल दन्त्यकथामा वीरताका साथ हराउने वीर लडाकु हुँ म ।
हो किमारो हो । पश्चिमेलीहरू अब छिट्टै यहाँ काम गर्न आउनेछन् । तिमी ठूलो जहाज बनाउँदै छौ ।


पश्चिमेलीहरू त्यही जहाज चढेर यहाँ आउनेछन् । म कुनै धर्म मान्दिनँ । मानवता नै मेरो धर्म हो । सेरनगेटीमा जनवारको मातृत्व हो मेरो– धर्म । के जनावरहरूको धर्म हुन्छ ? धर्म त भोको पेटलाई मात्रै थाहा हुन्छ । भोको पेटलाई धर्म सिकाउन किन आउँछन् धर्म प्रचारकहरू ? के धर्मलाई मात्रै थाहा छ र शान्ति, आत्मज्ञान ? मैले सोधें मसाइकी ती नवयुवतीको मातृत्वसँग जो आफ्नो बालकसँगै झुपडीमा उभिएकी थिइन् ।


जनावरहरू पनि जीवन त बाँचिरहेका छन् । उनीहरू पनि सुख र दुःख भोग गरिरहेका छन्, श्वास लिइरहेका छन् । त्यतिमात्रै कहाँ हो र एउटै सूर्यको उज्यालोमा र चन्द्रमाको शीतल छायामा मग्न भएर बाँचिरहेका छन् ।


अचानक म झस्किन्छु । सिलिङमा एकतमासले पंखा घुमिरहेछ । त्यो पंखा मैमाथि खसेजस्तो आभास हुन्छ । आकाश खस्यो भने के होला भन्ने कल्पनाले म डराउँछु । त्रसित हुन्छु र फेरि निदाउन पुगेछु । सपनामा पनि कति धेरै सपना देखेको ? यो कस्तो सपना ? के सपनाका सपना पनि सम्झनयोग्य हुन्छन् ? सपनाको सपनालाई पच्छ्याउँदै म दौडिरहेछु । अनि अब म बोल्न थाल्छु ।


हो किमारो हो । हो मन्याङगेरी हो । हामी कालो हुनुमा हामी गर्व गर्छौं किनकि हामी प्रकृतिलाई माया गर्छौं । हामी त सभ्यताको पाठ जंगलमा पढ्छौं अनि सभ्यताका महान् विद्वान्हरू पठशालाका किताबहरू बोकेर हामीकहाँ आउँछन् । तिनीहरूको रगत यति सफा छ कि हामीकहाँ आउँदा विभिन्न किसिमका भ्याक्सिन लगाएर आउने गर्छन् । फेरि मन्याङगेरी बोल्न थाल्छ, ‘कालो रातमा तिनीहरू टल्किन्छन् । तर हामी कालो रातमा हराउँछौं । अन्धकार पनि हामीसँग डराउँछ ।


तर, तिनीहरू अन्धकारलाई पनि गोली ठोक्छन् । अँध्यारो रातमा उज्यालोको खोजीमा तिनीहरू बम बर्साउँछन् । अनि ती कविहरू लेख्न थाल्छन् : अफ्रिकाको डायरी, अनि ती पत्रकारहरू कुपोषणमा जन्मिएका बालकहरूलाई तस्बिरमा कैद गर्छन् । बालक गुमाएर भावशून्य भएका आमाका आँखाहरू तिनीहरूका लागि हेडलाइन बन्ने गर्छन् । अंगालोमा बाँधिएका प्रेमी–प्रेमिकाहरू तिनका लागि वेश्यावृत्ति गरिरहेका बनिदिन्छन् । सैनिकका भीमकाय आँखा तिनहरूका लागि संसार हेर्ने नयाँ चस्मा बनिदिन्छ ।


हाम्रो आमाशयमा गोली र सभ्यताको अपाच्य खाना पसाइन्छ । जंगलबाट आउने मोहक बतासमा उनीहरू रोगका कीटाणु देख्छन् र बतासमा मिसाउँछन् बारुदको तिख्खर गन्ध । तर उनीहरूलाई थाहा छैन, हामी अझै पनि खुला आकाशमा रामाउँछौं । तर तिनीहरू चाहन्छन् सभ्यताको नाममा हामी कैदी बनिदिऊँ । घरभित्र लुकेर बसेका तिनीहरू भन्छन् हामी शक्तिशाली छौं । अनि कल्पना गर्छन् सुन्दर इतिहासको ।


के इतिहासभन्दा माथिको सभ्यता पनि पढाइन्छ र ? तिनीहरूको सभ्यताको भारी बोक्ने गधा बनिदिन्छौं हामी ।
मौनता भंग गर्दै किमारोको बाक्लो ओठ मुस्कुराउँछ । मरियमले आफ्नो रफ्तार केही कम गर्छे । ढोकामा देखिएको नवआगुन्तक मुस्कुराउँदै सोध्छ, कोमरोस कहिले आउँछ ? ‘हिँडेपछि आउँछ, आउँछ अवश्य नै आउँछ,’ मरियमको ह्यान्डल घुमाउँदै किमारो मुस्कुराउँछ (हिन्द महासागरका ज्वारहरू जुलाईको भेलमा उर्लिएर आउन थाल्छन्) ।


सेता दाँत देखाउँदै किमारो फेरी सुरु हुन्छ । ‘तिनीहरूका सपना सेता हुन्छन् । हाम्रा सपना काला हुन्छन् । तर, हामी मृत्युवरण गरिदिन्छौं र पो तिनीहरू अमर हुन्छन् इतिहासका किताबमा । लुटेर खान भन्दा लुटाएर खुवाउनको आनन्द नै बेग्लै हुन्छ ।’ तिम्रो त्यो बियरको स्वागतले म प्रवाभित भएको होइन– म त प्रवाभित एउटा गरिब देशको नागरिकले गरिब देशको नागरिकलाई सम्मान गरेकोमा भएको हुँ । हामी सबै मानव हौं होइन त ? फेरि त्यहाँ गरिब र धनीबीच भेदभाव किन हुने गर्दछ ?


मलाई सपनाबाट बिउँझाउँदै किमारो फेरि भन्छ– ‘ट्राभलिङ इज ब्युटिफुल । लिभिङ इन द सेल । वाकिङ ओन द रोड ।’ किमारोको कुरा सुनेर म त मुस्कुराउन पो थालेछु ।


‘एस माई फ्रेन्ड्स एस । बिसाइदिऊ जीवनका अध्यायहरू यो अथाह सागरमा । कुँजिएका ज्वारहरूमा फैलाइदिऊ मीठो बास्ना, तिनीहरू धेरै भोका छन् ।’


किमारो अझै बोल्दै जान्छ– ‘हामी के नै गर्न सक्छौ र ? न त हामीसँग धर्तीको शक्ति न त हामीसँग अर्ती दिने बुद्धि छ । हाम्रा विलौनासँग यिनीहरू लड्न सक्दैनन् । मन्याङगेरी तिनीहरूलाई भनिदेऊ हाम्रोजस्तो प्रेम तिनीहरूले बाँड्न सक्दैनन् । साङ्ग्लोमा बाँधिएको तिनीहरूको प्रेम हाम्रोभन्दा स्वतन्त्र छ । डरको साङ्ग्लोले आफैंलाई बाँध्ने तिनीहरू हामीहरूलाई पाशविक साङ्ग्लोमा बाँधेर राख्न खोज्छन् । किनकि हामी त जनावर हौं । रिस उठाए भने प्रतिकार गर्दछौं । भोक लागे खान खोज्छौं, छलकपट आउँदैन हामीलाई । हामी त कंगो, नाइल, जाम्बेजी, रुभुमजस्तै बग्छौं । किन रोक्न खोज्छन् यिनीहरू बगेको पानीलाई ।


किमारोका यी वचन सुनेर मन्याङगेरीका आँखाहरू भरिन्छन् । आँखाका डिलमा पुगेका आँसुलाई आँखाभित्रै पठाउँदै मन्याङगेरी लामो श्वास तान्छ । बोल्न खोज्छ तर बोली उसको घाँटीमै कतै रोकिन्छ उसका आँखामा आँसु रोकिएजस्तै । आँखाभरि मायाको पातालो संसार बोकेर ऊ मायोटीतिर उडेजस्तो अनुभव गर्छ ।


हिन्द महासागरका हिच्कोले खाएका ज्वारभाटाहरू अब शान्त बन्ने प्रयास गर्छन् । क्षितिजको घाम डुब्दै जाँदा पूर्वमा जुनेली रात लिएर कोही उदाउँदै थियो । गाढा नीलो सागरमा क्षितिजको लालिमा प्रस्ट देखिन्थ्यो ।


मौनताको श्वास हामीले लिन पाएकै थिएनौं ।
अचानक देखिएका सागरका तरंगले मरियमको मौनतालाई भंग गरे ।
कोही चिच्यायो– समथिङ फल डाउन ! समथिङ फल डाउन !!


त्यो चीत्कारको आभालाई पच्छ्याउँदै हामी तल हेर्न थाल्यौ । बाख्राहरू नुनिलो पानीको स्वाद लिन तर्सिरहेका थिए र हिन्दको त्यो अथाह गहिराइलाई एकोहोरो हेरिरहेका थिए । गाई–गोरुहरू पनि एक अर्कालाई सिङले घोच्न छाडेर शिथिल भएका थिए ।
हामीले छिट्टै नै एकअर्कासँग बिदा माग्यौं । यो कस्तो निद्रा हो सपनामा पनि निदाउने ?


भोलिपल्ट मरोनीबाट कार्तला देखिसकेका थियौ । न केही खासखुस न केही गुनगुन । सबै आ–आफ्नै थकाइ र निराशामा मरोनीको कार्तलालाई इसारा गरिरहेका थिए र गन्तव्यको आगमनमा मुस्कुराउने कोसिस गर्दै थिए ।


जुमा आएर मेरो निद्रा भंग भयो । मेरो निद्रा भंग गरेकोमा उसले मुस्कुराउँदै भन्न थाल्यो, ‘तिमीलाई थाहा छ ? हिन्द महासागरमा कार्तला किन यसरी उभिएको ?’ जुमाको कुरा सुन्दै नसुनी म आफ्नो कल्पनामा फेरि हराएछु । कास म पनि जुमा जस्तै सधैं मुस्कुराउन सक्दो हुँ ?’ जुमा कतिखेर आयो कतिखेर गयो मैले पत्तो पाइनँ ।


मभित्र अझै पनि मन्याङगेरी र किमारोको ह्याङओभर बाँकी थियो । किमारोको भन्दा मन्याङगेरीका यादहरू कडा थिए, समुद्रको नुनिलो पानीजस्तै ।


मन्याङगेरीलाई सम्झिँदै म बडबडाउन थालेछु । ‘मन्याङगेरी, तिमी त सपनाको समुद्रमा पनि पौडिन सक्ने कुशल पौडीबाज हौ । को सक्छ र यहाँ पौडिन ? कविहरू त कल्पनामा पनि गोता लगाउन सक्दैनन् । मदिराको उन्मादमा पनि लेखकहरू तिम्रो भावना बुझ्न सक्दैनन् तैपनि लेखेजस्तो गर्छन् तर, तिनीहरू सभ्यताको पार्टीमा तिखो स्वरमा चिच्याउँदै मुस्कुराउँछनु– द अफ्रिकन फुल । रंगमञ्चका दर्शकले तालि बजाएजसरी पार्टीमा आवाज गुन्जन्छ– बट वी लभ अन्डरडग ।’


फेरि पनि म भन्छु तिमी त साँच्चिकै मनमोहक मादकता बोकेर फुल्ने अफ्रिकन फूल हो । तिम्रो नाममा शब्दहरू ओकलेर म महान् बन्न सक्दिनँ । हजारौं शब्दकोशबाट शब्दहरू सापटी लिएर पनि म तिम्रो बयान गर्न सक्दिनँ । म त तिम्रो अगाडि हरपल गौण नै हुन्छु । भन मन्याङगेरी फूलको रक्षा गर्न नसक्ने काँडाको अर्थ नै के हुन्छ र ? हो मन्याङगेरी हो नतर्साऊ अब मलाई... म नालाएक काँडा हुँ । फगत काँडा हुँ, सिङ नभएको काँडा ।


‘जाम्बो नोयल एन्ड मन्याङगेरी’ हामी किमारो आएको थाहा पाउँदैनौ । मन्याङगेरी र म किमारोलाई एकै साथ सोध्छौ ‘हवारी’ ।
किमारो जवाफमा बोल्न थाल्छ, ‘किन मन्याङगेरी किन ? त्यो काँडाले काँडालाई किन टोक्छ ? त्यो सिङले सिङलाई किन घोच्छ ?’ मरियममा आलश्य भएका गाईहरू हेर्दै उसले भन्यो ।


‘किन हामी एक अर्कालाई घृणा गर्छौं ? नोयल तिमीले मलाई सोधेका थियौ गरिब देशले गरिब देशलाई किन माया गर्दैन भनेर ? हामी विभक्त पारिएका छौं । धनको नाममा, छालाको नाममा, धर्मका नाममा र सिमानाको नाममा हामी विभक्त पारिएका छौ । र अझै पनि विभक्त पारिनेछौ । गल्ती हाम्रो पनि छ । दुई छाक खान पाउँदासाथ हामी घर खोज्न थाल्छौ अनि बैंक खोज्न थाल्छौ त्यसपछि हामी शक्तिको भक्ति गर्न थाल्छौ । मदिराको मातमा हामी पाशविक नृत्य नाच्न थाल्छौ । औपनिवेशिक मानिसकता लिएर हामी स्वतन्त्रताको नारा घन्काउँछौं ।’


किमारो धाराप्रवाह बोल्दै जान्छ । ‘मन्याङगेरी ब्रासिएस, मृत्युलाई कसले जित्न सक्छ र ? तर तिनीहरूले मृत्युलाई जित्न भन्दै अमर शब्द पैदा गरेका छन् । जाने त उहीँ हो एक्लै एक्लै । जन्मिने पनि यहीँ हो, यही धर्तीमा हो... । घृणा र प्रेम जे बोकेर जन्मिए पनि पाइला टेक्ने जमिन यही हो । हो मन्याङगेरी हो... हो ब्रासिएस मन्याङगेरी । तिमीले उत्तम बाटो रोज्यौं । जीवनका अनेकन मोडहरूमा आफ्नो अस्तित्वलाई सागरबाट उर्लिने छालले नुहाइदियौ । पवित्र बनाइदियौ । अन्धकारमय रातमा प्रेमको उज्यालो दियो बाल्यौ ।’
तिम्रो गमनसँगै मरियम सागर किनारमा अलपत्र पर्‍यो । आफ्नै पदचाप पहिल्यान नसकेर मरियम, हिन्द महासागरको बलौटे किनारमा थान्को लाग्यो ।


नतर्साऊ अब तिमी मलाई यी सपनाहरूमा... म त सपनासँग पनि डराउन थालिसकें । विपनासँग पनि भागिहिँड्न थालेको छु । प्रेम र घृणाबीच पनि भेद छुट्याउन सकिनँ । कालो र सेतोका भाषा नै बुझ्न सकिनँ ।


हिमाली टुप्पाबाट प्रसारित हुने चिसो बतास तराईका मैदानमा किन पुग्दैन मन्याङगेरी ? घाँटी नै न्याकिरहने यी सपनाबाट मुक्ति दिलाइदेऊ । निद्रा नै बिथोल्ने यी भयंकर सपनबाट छुट्कारा दिलाइदेऊ ?‘आशाको जीवनमामृत्युको आभामानआऊ तिमी,लिएर नौलो कथा ।’
.......
अचानक म झस्किन्छु अनि सोच्छु गहिरो निद्राबाट ब्युँझिएर– यो कस्तो रंगमञ्चको यात्रा थियो । समयले त धेरै घाउहरू भरिदिन्छ रे ! अतीतका कडा स्मृतिहरू भुलाइदिन्छ रे ! तर मैले सकिनँ मन्याङगेरी । आज पनि म याद गर्छु । तान्जानियाबाट कोमरोस हुँदै फेरि अर्को मालबाहक पानी जहाज चढेर माडागास्करको महाजंगा पुगेको । यो यात्रा खाली खाली थियो किनकि जहाज पनि खाली खाली थियो । म आज पनि सोच्छु संसार यात्रामा कहिले काही फेरि पनि त्यही बाटो दोहोर्‍याउन नसकिने रहेछ । के तपाईंलाई थाहा छ लालुपाते फूलको पातलाई बीचबाट दोबारेमा माडागास्करको नक्सा बन्छ?

प्रकाशित : जेष्ठ २५, २०७६ ११:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नारायणहिटीका तीन पर्व

इतिहास
यादव देवकोटा

तीनै हत्यामा दागीहरू या त छोरा छन् या छोरासरहका आफ्नै भतिजा । मुख्य संयोग, यी तीनै हत्याकाण्ड नारायणहिटीमा भएका थिए । हत्या सत्तासीन शक्तिशाली राजा या प्रधानमन्त्रीको भएको थियो । यो आलेख नारायणहिटीमा घटित विभिन्न समयकालका यी चर्चित तीन हत्या प्रकरणहरूमा केन्द्रित छ ।

अ)‘झ्यालबाट मेरा आँखा हलभित्र सर्रर पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखें । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेको देखें । त्यो रगताम्ये माहोलमा सुरुमा त तिरिमिरी भयो । ...भित्र पस्दा मनै भरङ्ग हुने दृश्य थियो । यत्रतत्र रगत लतपतिएको देखिन्थ्यो । भुइँभरि रगतका धब्बा थिए । त्यही रगतमा लतपतिएको अवस्थामा एउटा टोपी देखियो । महाराजधिराजको टोपी !..छेउको भित्तामा गिदी र कपाल टाँसिएको भयानक दृश्य थियो । भित्तैभरि रगतको छिटा लागेको देखिन्थ्यो । हेर्दै जाँदा भर्‍याङबाट बगेको रगत तल जमिनसम्मै पुगेर आहाल बनेको रहेछ । त्यहाँबाट एकदमै नमीठो दुर्गन्ध आयो ।’

आ) ‘त्यसपछि पुत्र...ले पिताका आज्ञा मानी केही विचार नगरी वेगले जाई छोपी सुतिरहन्या पुरुषकन केही नहेरी खड्गले प्रहार गरि छिन्न भिन्न गर्‍या । त्यसैबेला ठूलो शब्द गरि धारा बह्यो र राजपुत्र खुशीभै खड्ग धुन जाँदा दुवै धारादेखि रक्त बहाई देखाया । पितृहत्या गर्न्याको मुख हेर्नु छैन भनि हिति मंगल(नारायण हिटी) फर्किगयाको हो भनि भन्दछन् अझतक । ...राजपुत्र त्यस ठाउँ छाडि इक्षुमति पुग्दा सबै किरामात्रै बगाई ल्यायाको हुनाले तुखुचा भनि भन्दछन् ।’

इ) ‘खुट्टामा तेल दल्न लगाई आफु ठूलो तकियामा घोप्टो परि ‘राम नाम’ लेख्न लागेका उनी सुब्बा वलवानसिंह अंग्रेजी पढ्न लेख्न र बोल्न पनि सक्ने भएबाट उनैलाई अखबार पढ्न लगाएर सुनि पनि रहेका थिए । त्यहीबेला एक्कासी तीन भतिजाहरू हातहतियारसहित भित्र पसेको देखि ‘किन आयौ ?’ भनि उनले प्रश्न गरे ।


‘स्वास्नीको कमारो भई फरियाभित्रबाट राजकाज गर्ने जोईटिङ्ग्रेलाई सजाय दिन आएको’ भनि गोली हाने । सो गोली चिउँडोमा लाग्यो । अर्का भतिजाले हानेको गोली छातिमा लाग्यो । तेस्रा भतिजाले हानेको गोली भूँडीमा लाग्यो । त्यसरी तुरुन्तै मरेका उनको लास त्यसरी गोली दाग्ने तीन शमशेर दाजुभाई र सुब्बा वलवानसिंहसमेत भई गारतलाई देखाउन लतार्दै–घिसार्दै बरण्डाबाट भूइँमा झारे ।’
..
उल्लिखित कथाजस्तो लाग्ने दर्दनाक र अत्यासलाग्दो घटना भोग्ने नेपालीहरू नै थिए । त्यो पनि सत्ता सुरक्षाको कसिलो घेरामा बसेका शासकहरू । घटनाहरू मञ्चित भएका थिए १५ सय वर्षभित्रका फरक फरक रातहरूमा । अनौंठो संयोग, पहिलो र तेस्रो घटना लगभग एकै समयमा भएको थियो रातको नौ र दस बजेको बीचमा । उसो त संयोगहरू अनेकन् छन् । तीनै हत्यामा दागीहरू या त छोरा छन् या छोरासरहका आफ्नै भतिजा । मुख्य संयोग, यी तीनै हत्याकाण्ड नारायणहिटीमा भएको थियो । हत्या सत्तासीन शक्तिशाली राजा या प्रधानमन्त्रीको भएको थियो । यो आलेख नारायणहिटीमा घटित विभिन्न समयकालका यी चर्चित तीन हत्याप्रकरणहरूमा केन्द्रित रहनेछ ।


पहिलो हत्या (विसं २०५८ जेठ १९ गते)– सार्वजनिक ‘प्रतिवेदन’ र हत्याकाण्डका ‘प्रत्यक्षदर्शी’ हरूबाट द्वितीय स्रोतमार्फत आएको विवरणअनुसार युवराज दीपेन्द्रले गरेका थिए । भनिन्छ, उनले हत्या गरेका थिए आफ्नै पिता, माता, भाइ, बहिनी, नातेदारहरू र आफैंको पनि (विवरण अ, सन्दर्भस्रोत–राना, सुन्दरप्रताप–दरबारको दुःखान्त, पृ २२, २६३, २६४, २६६) । दोस्रो हत्या (विसं ५११–५६२ को बीचमा (?))– गोपालराजवंशावली/भाषावंशावलीका अनुसार मानदेवले गरेका थिए (विवरण आ, सन्दर्भस्रोत– भाषा वंशावली, भाग १, पृ ७५) । उनले हत्या गरेका थिए आफ्नै पिता धर्मदेवको । तेस्रो हत्या (विसं १९४२ माघ मंसिर ९ गते)– राणाकालीन लिखित सामग्रीहरूका अनुसार डम्बरशमशेर, खड्गशमशेर र भीमशमशेरले गरेका थिए तर हत्याप्रकरणको निर्देशक थिए वीरशमशेर । हत्याकाण्डमा मारिएका श्री ३ महाराजसमेतको पगरीधारी प्रधानमन्त्री रणोद्वीपसिंहका सहोदर कान्छा भाइ धीरशमशेर(सान्नानी) का छोरा अर्थात् उनका भतिजाहरू थिए हत्याराहरू । (विवरण इ, सन्दर्भ स्रोत–जवरा, पुरुषोत्तमशमशेर–श्री ३ हरूको तथ्य बृत्तान्त, भाग १, पृ २७७) ।


पहिलो र दोस्रो प्रकरणमा आरोपित छोराहरूले नै हत्या गरेको बारे प्रकाशित विवरणहरू पूर्णतया सन्देहात्मक छन् । दोस्रोलाई तथ्यहरूले झन्डै अस्वीकार नै गर्छ । पछिबाट सिर्जित आख्यानको स्तरमा मात्रै सीमित देखाउँछ । पहिलोलाई आम जनमानसले अस्वीकार गर्छ । किन पनि भने, आजसम्म जति विवरणहरू, पुस्तकहरू आएका छन्, घटनाको प्रथम साक्षी कोही पनि अघि सरेका छैनन् । प्रत्यक्षदर्शीको बयान भन्दै आएका भनिएका पुस्तकमा लेखिएको छ– गोली हान्नेलाई त मैले देखिनँ । फलानोले भनेअनुसार । यसो भयो अरे । उसो पो अरे । नागरिकहरूसँग पनि त्यस्तै अरे र सुनिन्छ भन्ने खालका अनेकन विश्वासहरू छन् २०५८ सालको हत्याकाण्डका बारेमा । तर अरेहरू तथ्य हैनन् । तथ्यहरू अझैं सन्त्रासको कार्पेटमुनि पो छ कि भनेर नागरिकहरू हरेक जेठ १९ मा सन्त्रस्त हुन्छन् घटना सम्झनेबित्तिकै ।


तेस्रोमा भने कुनै विवादहरू छैनन् । रणोद्वीपको हत्या गरेर सत्तामा पुग्ने बाटोमा लागेका वीरशमशेरले नारायणहिटीमा गोली चलेपछि सतर्क भएको ‘विजुली गारत’ लाई दुवै हातले पेस्तोल ताक्दै ‘कसैले हतियार उठाउने प्रयास गरेमा मात्र पनि हत्या गरिदिनेछु । महाराजको मृत्यु भैसक्यो । श्री ५ महाराजाधिराजबाट मलाई महाराजको पद बक्सिसकेको छ । तसर्थ अर्को अदेश मैले नदिएसम्म आफ्नो ठाउँमा बसिरहनु ।’ त्यसपछि उनी श्री ३ महाराज भए ।


पछि, रणोद्वीपका एक हत्यारा भीमशमशेर पनि श्री ३ महाराज भए ।
तेस्रो घटनामा जस्तै पहिलो घटनामा पनि हत्यारा आरोपित दीपेन्द्रले दुवै हातमा हतियार भिरेका थिए भन्छन्, लेख्नेहरू । उनीसँग त स्वचालित एम–१६ राइफल, एमपी–५ सब–मेसिनगन, पिस्तोल र ट्वेल्भ–बोर बन्दुक गरी चार हतियार थिए । लिच्छविकालीन घटनामा भने खड्ग प्रहार गरेर मानदेवले धर्मदेवको हत्या गरेको आख्यानजस्ता वंशावलीहरूले लेखेका छन् । ती विवरण किन विश्वसनीय खालका छैनन् भन्ने व्याख्या तल आउने नै छ ।

नारायणहिटी

शतरुद्र पर्वतमुनिका जलाशय नारायणका ‘आज्ञा पाई’ धर्मागत देवले स्थापना गरेको धारो नारायण हिति (नारायण धारो) नामले परिचित हुनगएको थियो । नारायणस्थानका विष्णुको स्वप्नादेश अनुसार कीर्ति (लिच्छविकालमा धारालाई कीर्ति पनि भनिन्थ्यो) निमार्ण गरि नजिकै नारायण अर्थात् विष्णुको मूर्ति पनि स्थापना गरेका थिए धर्मागत(?) देवले । त्यसै कारण त्यसको नाम नारायण हिटी रहन गएको थियो । पछि त्यही स्थानमा रहेको खाली जमिन शिवरामसिंह बस्न्यातका छोरा धोकलसिंह बस्न्यातलाई दिइएको थियो । हिटी भएको स्थानमा बनाइएको दरबार हुनाले त्यसलाई हिटी दरबार भन्ने गरिएको थियो । उनीपछि त्यो सम्पत्ति चौतारिया खलकको अधीनमा पुग्यो । अहिलेको नारायणहिटी दरबारतर्फ चौतारिया प्राण शाहले कब्जा जमाए भने हिटीतर्फ उनका भाइ पुष्कर शाहले । त्यहीं बसिरहेका चौतारिया (प्रधानमन्त्री) फत्तेजङ्ग शाह कोतपर्वमा मारिएपछि उनका बाँकी बचेका परिवार भागेर मुग्लान पसे र उक्त दरवार जङ्गबहादुरका भाइहरू रणोद्वीप र धीरशमशेरले कब्जा जमाए । नारायणहिटीतर्फ रणोद्दीपसिहंले कब्जा जमाएका थिए ।


विसं १९३३ मा उनी सत्तामा गएपछि रणसुर विष्ट (?) लाई डिजाइन गराउन लगाई भव्य नारायणहिटी दरबार बनाए । नाबालाक श्री ५ (पृथ्वीवीरविक्रम) को सुरक्षा हनुमानढोकामा भन्दा मेरै निवासमा राम्रो हुन्छ भनी रणोद्दीपसिंहले महाराजाधिराजलाई त्यहीं (नारायणहिटी) लगेर राखेका थिए । रणोद्दीपको हत्यापछि उक्त दरबार वीरशमशेरको अधीनमा गयो । श्री ५ महाराजाधिराजले पनि भर्खरै रणोद्दीपको हत्या भएको घरमा शान्तिस्वस्ति नगरी बस्न ठीक हुँदैन भनी केही दिन बागदरबारमै बस्न गए । उनीहरू केही दिन बागदरबारमा बसी हनुमानढोकामा सरे (राणा, प्रमोदशमशेर–राणाशासनको वृत्तान्त, पृ १४७) ।


प्रसंगवश, विसं २०५८ को हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले पनि हत्याकाण्ड मच्चिएको त्रिभुवन सदन भत्काउन लगाएका थिए । रणोद्दीप मारिएको भवन जगैदेखि भत्काई, अनेकौं स्वस्ति शान्ति, होम गराई विसं १९४२ माघदेखि जोगलाल स्थापितद्वरा डिजाइन गराई नयाँ दरबार निर्माण गराइयो । हनुमानढोका राजदरबार ज्यादै साँघुरो, जीर्ण भएकाले वीरशमशेरले पृथ्वीवीरविक्रमलाई हनुमानढोकाबाट नारायणटिही सारे र राजकाज पनि त्यसैबखतबाट नारायणहिटी सर्‍यो (जबरा, पुरुषोत्तमशमशेर–राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, पृ ३६) । त्यही नारायणहिटीमा १९९० को भूकम्पमा परी त्रिभुवनकी छोरीहरूको निधन भएको थियो । पछि त्यहाँ आगलागीसमेत भएको थियो ।


पछि महेन्द्रले वीरशमशेरकालीन दरबार भत्काउन लगाई पहिले रहेको ४ सय ४४ रोपनी जमिन विस्तार गरी थप अधिग्रहण गरेर ७ सय ५३ रोपनी जमिनमा विस्तार गरे । उनैले विसं २०२० सालमा कलकत्तास्थित तत्कालीन समयमा एसियाकै सबैभन्दा ठूलो वास्तु कम्पनी मानिने चटर्जी एन्ड पोल्कका सञ्चालक अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको डिजाइनमा आधुनिक शैलीको राजदरबार बनाउन लगाए । चन्द्रशमशेरले ५० लाखमा सिंहदरबार बनाएर दुई करोडमा राज्यलाई बेची डेढ करोड नाफा कमाएझैं राजा महेन्द्रले पनि ७ करोडमा नारायणहिटी राज्यलाई बेचे (जबरा, उही, पृ ४४) ।


त्यही नारायणहिटी दरबारमा विसं २०५८ जेठ १९ गते भएको भयानक गोलीकण्डमा परेर तत्कालीन राजा वीरेन्द्रको पूरै परिवारको वंशनाश मात्रै भएन त्यसैका कारण अविश्वास र आशंकाहरूको ‘खराउ’ माथि उभिएर श्रीपेच पहिरेका ज्ञानेन्द्र शाहको बहुलठ्ठीपूर्ण कदमका कारण नेपालबाट राजतन्त्र समाप्त भएर गणतान्त्रिक युगमा प्रवेश गर्‍यो ।

धर्मदेवको हत्या
लिच्छविकालका प्रख्यात राजा थिए मानदेव । उनको (५११–५६२) जीवनकालमा भएको भनिएको घटना त्यसको झन्डै नौ सय वर्षपछि लेखिएको मानिएको ‘गोपालराजवंशावली’ मा मानदेवबाट नारायणहिटीमा पिताको हत्या भएको विवरण उल्लेख भएको पाइन्छ । जसलाई निकै पछिबाट लिखित मानिएको भाषावंशावलीले थप कथा हालेर लम्ब्याएको देखिन्छ । मानदेवका पिता थिए धर्मदेव । मानदेवले पिताको हत्या उल्लेख गर्ने दुवै उल्लिखित वंशावलीले भने मानदेवले उनका पिता धर्मदेवको हैन विश्व (बृष) देवको हत्या गरेको उल्लेख गर्छ । यताबाट हेर्दा, दुवै वंशावलीकारहरूमा या त मानदेवको पिताको नाममा दुविधा रहेको या त विश्वदेवको छोरामा भन्ने तथ्य प्रकाशमा आउँछ । मानदेव र उनीपछिका राजाहरूका राज्यकालमा लिखित अभिलेखहरूले भने बृषदेवको छोरा शङ्करदेव, शङ्करदेवका छोरा धर्मदेव र धर्मदेवका छोरा मानदेव भएको उल्लेख गरेको पाइन्छ (मानदेवको चाँगुनारायणको अभिलेख) । केही सामग्रीमा भने मानदेव धर्मदेवको धर्मपुत्र भएको उल्लेख भएको पाइन्छ–तत अवंसजप्रतिपालित पुत्र।।राजा श्रीमानदेव वर्ष ३९।। अर्थात् त्यसपछि त्यस वंशमा नजन्मेका (अर्कै कुलमा जन्मेका) धर्मपुत्र पालिएका राजा श्रीमानदेव भए (वज्राचार्य, धनवज्र–गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, पृ १३८,१४२) ।


राजा श्रीविश्वदेव वर्ष १००। ...तस्य मृत्ति स्वपुत्रेण रात्रे पनालिकास्थाने शिरश्छित्वा पितात्रा कृतम् । तस्य पुत्र श्रीमानदेव वर्ष ४१ तेन अज्ञातेन पिता बध कृत्य (राजा श्रीविशव(वृष)देवः वर्ष १००।.. राति प्रणालिकास्थान (ढुङ्गधारा) मा छोराद्वारा शिर काटिएको हुँदा तिनको मृत्यु भयो, बाबुको आज्ञाद्वारा यो गरिएको थियो । तिनका छोरा श्रीमानदेव भए, वर्ष ४१ । तिनले थाहा नपाई बाबुको बध गरे) (मल्ल र वज्राचार्य–द गोपालराजवंशावलीका विभिन्न पृष्ठ) । यसरी गोपलाराजवंशावलीले मानदेवले धर्मदेवको नभई विश्वदेवको हत्या गरेको उल्लेख गर्छ ।
...
भाषावंशावलीले विश्वदेवको बयान गर्दागर्दै लेख्छ– ‘केही दिनपछि आफ्ना पुर्खाको कीर्ति धर्मागत देवले नामले बनायाका नारायण धारा बन्द भइ जाँदा ती राजाले मनमा बहुतै फिकर गरि मेरा पुर्खाले जलाशयन नारायणका आज्ञा पाई बसायाको स्थान हो भनी अब म पनि तिनै नारायणका स्थानमा जाई सेवा भक्ति गर्नुपर्‍यो भनी शतरुद्र पर्वतमुनिका अदि जलशयन नारायणका स्थानमा जाई सेवा भक्ति स्तुति गर्दा ‘ज्योतिकहरूसित बुझी काम गर’ भनी स्वप्नमा पाई ती राजाले ज्योतिक ब्राम्हण जान्न्या बोलाई सोद्धा कष्टप्रमाण आयो र ज्योतिकहरूले बिन्ति गर्न नसकी बोलाई सोध्दा नबोलि रहृया । राजाले केही सन्देह मान्नुपर्दैन यर्थाथ बताउनु हवस् भन्दा हे महाराज–द्वात्रिशललक्षणसंयुक्तं नरबलिं दद्यात् भने ।


कोही दिनपछि राजाले आफ्ना मनमा विचार गर्दा प्रजाहरूमा कोही लक्षणले युक्त भया पनि विना अपराध जीवघात गर्नु मेरा कुलको धर्म होइन । मेरा पुत्र पनि लक्षणले युक्त छ तपनि मछेउ पनि युक्त छ भन्दछन् । तसर्थ आफ्ना पुर्खाको कीर्ति थाम्नानिमित्त विना अपराधि अरु मानिस खोजी जीवघात गर्नु चाँहि त आफ्नै जीवघात गर्नु योग्य हो भनि ती राजाले यस्ता नराधिपति प्रभुतव सुख र नवसागर रानी अति सुशीलाकन त्याग गरि पुत्र मानदेवकन बोलाई गुप्तभेद नबताई ‘हे पुत्र आजका चौंथो दिनमा हाम्रा धारामाथि सम्पूर्ण शरीर छोपी रात्रिमा सुतिरहन्या पुरुष एक जन होला । त्यसकन तैंले जाई मुख नहेरी शीघ्रले कटी आउनु । तब हाम्रो धारामा पानी बहला भनी अह्राया । चौंथो दिनमा आफूले धर्मले सुतिरहन गया (पृ ७५) ।’


त्यसपछि मानदेवले गई मुख नहेरी विश्वदेवको हत्या गरेको र पछिबाट धारामा राजा काटिएको र पानी आएको हल्ला सुनेपछि मानदेव आफूले काटेको लास ठाउँ गई छोपिएको अवस्थाको शव निकाली हेर्दा आफ्नै पितालाई देखि ‘...धर्म कीर्तिका लहर छाडी विपरित गर्न्या विश्वदेव नाम बाबुका देह मेरा हातले त्याग गराया (भाषावंशावली, पृ ७६)’ भनी पछुतो मानेको उल्लेख छ ।
यसरी भाषावंशावलीकारमा मानदेवका पितृवंशजको नै यथार्थ ज्ञान थिएन भन्ने देखाउँछ भने मानदेवले नै लेखाएको अभिलेखमा उनका पिता धर्मदेवको मृत्युबारे गोपालराज र भाषा वंशावलीले उल्लेख गरेको कुराको कुनै संकेत पाइँदैन ।


...
मानदेवको चाँगुनारायणको अभिलेखले धर्मदेवको आकस्मिक तवरले निधन भएको उल्लेख गरेको छ– ‘सत्कर्मबाट निरन्तर आईरहेका कीर्तिका कारणले सारा संसारलाई झलमल्ल पारेर बगैंचामा गएझैं राजा (धर्मदेव) स्वर्ग जानुभयो । रानी राज्यवती राजासँग विछोड हुनुभन्दा पहिले देवताहरूलाई भोजन गराउन लाग्नुभएको थियो । त्यसबेला (राजाको मृत्यु भएपछि) पीरले आकुल–ब्याकुल भएर रानी लत्र्याँस पर्नुभयो । नोकर–चाकर पनि विलखवन्दमा परे । रानीको ध्यान नै गडबड भयो । ...फर्केर आई लामो सास फेरि गहभरि आँसु लिएर सुंक्क सुंक्क गर्दै उहाँ महारानी (राज्यवती) ले छोरा (मानदेव) लाई माया गर्दै यसो भन्नुभयो– तिम्रो बुबाको स्वर्गवास भयो भयो, हा छोरा ! (धनवज्र, वज्राचार्य–लिच्छविकालका अभिलेख, पृ १५,१६) ।


त्यसको व्याख्या गर्दै धनवज्रले लेख्नुभएको छ– यस स्तम्भलेखनको वर्णनअनुसार धर्मदेवको अकस्मात मृत्यु भएको देखिन्छ । सो मृत्यु कसरी कहाँ भयो, यताबाट खुल्दैन । यसरी धर्मदेवको मृत्यु कसरी भयो भन्ने कुरा यस स्तम्भलेखनमा खुलाएर लेखिएको छैन भन्ने स्पष्ट छ । यसमा कुनै रहस्य छ कि भन्ने देखिन्छ । यसै हुँदा पछिका गोपालवंशावली आदिले मानदेवले अज्ञानवश बाबुको वध गरे भन्ने कल्पित कथा जोड्न पुगेका छन् (वज्राचार्य, उही, पृ २१/२२) ।


यस सम्बन्धमा इतिहासकार बाबुराम आचार्यले भने फरक धारणा उल्लेख गरेको पाइन्छ–राजा धर्मदेवको देहावसान आफ्नै कालगतिले भएको हो ? वा यिनको सरल तथा शान्त स्वभावबाट लाभ उठाई यिनको अधिनमा रहँदै आएका कुनै सामन्तले यिनको हत्या गराइदिएका हुन् ? निश्चित रूपले केही भन्न सकिंँदैन । तापनि तात्कालिक वस्तुस्थितिमाथि विचार गर्दा दोस्रो विकल्पको नै बढी सम्भावना रहेको पाइन्छ (आचार्य–नेपालको संक्षिप्त वृत्तान्त, पृ १५) ।


गेपालराजवंशावलीको विवरणमाथि टिप्पणी गर्दै इतिहासका अध्येता योगेश राज लेख्छन्–गोपालराजवंशावली लेखिंदासम्म (सन् १३९८ सम्म) राजा मानदेवले गरेको भनिएको पितृहत्या प्रसंगले एउटा आख्यानको रूप लिइसकेको देखिन्छ । त्यसैले टिपोटमा सय वर्षका बूढा राजा ढुङ्गेधारामा गएर पल्टिनु, मानदेवका तपका प्रभावले चैत्य उत्पन्न हुनुजस्ता केही अविश्वसनीय तत्त्व परेका हुन् । यहाँ बूढो बाबुलाई मार्ने कामलाई भवितब्यको रूप दिने जमर्को गरेको स्पष्ट पाइन्छ । भक्तपुरका मैथिल वंशावलीकारको पारिवारिक पृष्ठभूमि र हिन्दू राजनैतिक व्यवस्थाप्रतिको उनले पछि देखाएको बफादारी हेर्दा त्यो प्रयत्न सहजै बुझ्न सकिन्छ । वंशावलीकारले मानदेवलाई निर्दोष देखाउन फट्याइँ गरेका छन् । जस्तो, बाबुकै आज्ञाले पितृहत्या गरे भनिएको छ । यसरी सुनियोजित सम्पादन हुँदै हामीसम्म आइपुगेका ऐतिहासिक सामग्रीमाथि टेकेर सत्यको भेउ पउन गाह्रो हुन्छ (सन्ध्या संरचनाःहिन्दूनेवारहरूको मृत्युचेतना, पृ १५९) ।


यसरी मानदेवको चाँगु अभिलेखमा उनका पिताको मृत्यु अपर्झट भएको र आमाबाट उनले पिताको मृत्युको खबर परेको उल्लेख हुनु तर नारायणहिटीमा भएको भनिएको हत्याको कुनै उल्लेख नहुन तर निकै पछि लेखिएका सामग्रीमा पिताको आज्ञाले मानदेवले पिताको हत्या भएको उल्लखे हुनुले अनेकन संशय पैदा गरे पनि यथार्थ तथ्य नभेटिएसम्म यसै भन्न मुस्किल छ । एकाइसौं शताब्दीमा हाम्रै समयमा भएको दरबार हत्यकाण्डको त यथार्थ तथ्य हाम्रासामु उपस्थित हुन नसकेको अवस्थामा छैटौं शताब्दीको घटनाको तथ्य हामीमा खुल्न नसक्नु कुनै अनौठो विषय भने होइन नै । यताबाट हेर्दा स्थानीयहरूमा रहेको पुस्तान्तरबाट सरिआएको अनुश्रुतिले बताउने बुढेसकालसम्म सन्तान नभएपछि धर्मपुत्र पालिएका मानदेवले सय वर्ष पुग्दासम्म धर्मपिताको निधन नभएपछि उनको हत्या गरी सत्तामा उदाएको घटनालाई धर्मभीरु ग्रन्थकारले मानव बलिप्रथा, तिलस्मी देवकथा र राजपरम्परामा पितृ हत्या नदोहोरियोस् भनेर पितृ आज्ञाको खास्टो ओढाउने दुःख गरेका त थिएनन् भन्ने प्रश्न उठाउन भने मद्दतै गर्छ ।

रणोद्दीपसिंहको हत्या
जङ्गबहादुरको मृत्युपछि उनका छोराहरू र उनका कान्छा भाइ धीरशमशेरका छोराहरूबीच सत्ता खिचातानी चर्किंदै गएको थियो । जङ्गबहादुरका छोराहरूले उनको निधनपछि नै जङ्गबहादुरले बाँधेको रोलक्रमअनुसार रणोद्दीपमा सत्ता जान नदिई आफैं हातलागी गर्ने योजना बनाएका थिए । धीरशमशेरका छोराहरू भने धीरशमशेरको मृत्युपछि जङ्गबहादुरका सन्तान बलियो हुँदै गएको र उनीहरूको लामो रोल सकिँदासम्म आफूहरूकोमा सत्ता नै नआइपुग्ने अत्यासले जतिसक्दो चाँडो सत्ता हातलागी गर्ने ध्याउन्नमा लागेका थिए । त्यही माँचोमा मारिएका थिए रणोद्दीपसिंह र उदाएका थिए धीरशमशेरका छोराहरू श्री ३ महाराजको रोलक्रममा । जसलाई बयालीस सालको पर्व या शमशेर र जङ्ग खलकको पर्वका रूपमा लिने गरिन्छ ।


विसं १९४२ मा रावलपिण्डीमा हुने विशेष सैनिक समारोह हेर्न र मार्चपास समारोहमा भाग लिन नेपाली उच्च सैनिक अधिकृतलाई ब्रिटिस सरकारले आमन्त्रण गर्‍यो । त्यसै वर्ष डिसेम्बर महिनामा दिल्लीको सैनिक छाउनीमा हुने सैनिक अभ्यास र मार्चपासमा चार पल्टन नेपाली फौज त्यहाँ पठाइदिन भायसरायले नेपाली दरबारमा लेखी पठाएबमोजिम वीरशमशेरको नेतृत्वमा जान फौज तयार गरियो (प्रमोदशमशेर, उही, पृ. १३२) । तत्कालीन पुकज रणवीरजङ्गले ‘रावलपिण्डी जाने दिन मात्र गोली गट्ठा जिम्मा लगाउनुपर्ला’ भन्दा रणोद्दीपले ‘सान्नानीको छोरालाई गोली गट्ठा जिम्मा लगाउन किन नहुने’ भनी हातहतियार जिम्मा लगाइदिए । चार पल्टनको हतियार हात लागेपछि सोही दिन वीरशमशेरका माहिला भाइ खड्गशमशेरले– ‘विद्रोह गर्ने मौका अहिले नै हो, हामीले मौका चुकाउनु हुँदैन’ भने । वीरशमशेर अन्कनाएपछि ‘त्यसो भए विद्रोह म गर्छु, हजुर चुप लागी राज हवस्’ भनी खड्गशमशेरले भनेपछि वीरशमशेरले पनि विद्रोहको आँट गरे । र, रणोद्दीपको हत्या भयो ।

दरबार हत्याकाण्ड
२०५८ जेठ १९ को मध्यराति अकस्मात छिमेकी कोठामा बस्ने साथीले ढोका ढक्ढक्याएपछि रिसाउँदै ढोका खोल्दा साथीले भन्यो– दरबारमा गोली चल्यो रे ! नयाँबजारको डेराबाट सडकमा निस्कँदा मध्यरात सडकभरि मानिसहरू ओइरिइसकेका थिए । केही साथीहरूसँग मिलेर नारायणहिटीको चक्कर मार्दासम्म नारायणहिटी बाहिरको घेरामा खासै चालचुल थिएन, बरु मध्यरात सडकमा गाडीहरू भने अप्रत्याशित तवरले साइरन बजाउँदै बत्तिएका थिए । त्यसको केही दिन अन्योल र अत्यासको कर्फ्युमाथि सरकारी कर्फ्यु थपिएर झन् उदेकलाग्दो सन्नाटा र अत्यासले नागरिकको चैनमाथि शासन जमायो । त्यसपछिका अठार वर्षमा समयको गति यति तीव्रत्तर तवरले बत्तियो कि नेपालीहरूले एउटा आख्यानात्मक विवरणजस्तो अपत्यारिलो समय आफ्नै भोगाइबाट रित्याए ।
अकस्मात राजगद्दी आरोहण गरेका ज्ञानेन्द्र शाहले ०१७ सालको पिताको पथ पच्छाउन खोज्दा राजनीतिक दलहरूलाई सशस्त्र युद्धरत माओवादीसँग नजिक्यायो । भारतीय अग्रसरतासमेतमा भएको बाह्रबुँदे सम्झौताले देश आन्दोलनको उत्कर्षमा होमियो र शान्तिप्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै गणतन्त्रमा प्रवेश गर्‍यो ।

तर, बितेका अठार वर्षहरूमा समेत नारायणहिटीको अहिलेसम्मको अन्तिम हत्याकाण्डबारे जनताको जिज्ञासा र आशंकाहरूले उचित निष्कर्ष पाउन सकेको छैन । मन परेकी युवतीसँग बिहे गर्नमा रानी ऐश्वर्यले युवराज दीपेन्द्रलाई सख्त मनाही गरेपछि दीपेन्द्रले थामिनै नसक्नै गरी मदिरा र नशालु ‘कालो पदार्थ’ खाएको अवस्थामा गह्रुँगा चार थान हतियार भिरेर शाही परिवार नष्ट गरेको भनिएको घटनापछि आएका विवरणहरू विश्वसनीय देखिएका छैनन् ।


दीपेन्द्रलाई मोहरा बनाएर नारायाणहिटी कत्लेआम मञ्चन गरिएको भन्नेहरू एकातिर छन् भने दीपेन्द्रको हत्या र त्यसमा उब्जेका प्राविधिक प्रश्नहरूको उचित जवाफ आएको छैन । वीरेन्द्रको परिवार समूल नष्ट भएपछि बाँकी रहेका दीपेन्द्रमाथि आखिरी फायर अर्को कोही मानिसले गरेको थियो भन्ने सवालहरू आज पनि उत्तिकै शक्तिशाली छ । तर, पन्ध्र सय वर्षअघि नारायणहिटीमा मानदेवले गरेको भनिएको पिताको हत्याजस्तै अठार वर्षअघि नारायणहिटीमा दीपेन्द्रले गरेको भनिएको हत्याकाण्डको तथ्यहरूसँग चहकिलो जम्काभेट नहुनु नेपाली इतिहासको गम्भीर अवसादको विषय हो ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT