१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रिसमाथिको राजनीति

निबन्ध
कुमारी लामा

तपाईं धेरै रिसाउन थाल्नुभएको छ आजकल’ एक आत्मीय मित्रको गुनासो । साँच्चै ?’ अकस्मात् पाएको कमेन्टले अलिकति झस्कन्छु । ‘पहिला त यस्तो हुनुहुन्नथ्यो,’ उनको दाबी । उनीसँग छुट्टिएपछि भने असहजता बढेको छ । आफैंतिर हेर्छु, घोत्लिन्छु । उनको ‘पहिला त यस्तो हुनुहुन्नथ्यो’ ले नराम्ररी लखेट्दै छ । पहिला कस्तो थिएँ म ?

रिसमाथिको राजनीति

पहिला, प्रश्न गर्दिनथें । धेरै कुरा देख्दिन पनि थें । कति कुरा यस्तै हो भनी स्विकारिदिन्थें । तर आजकल प्रश्न गर्न थालेको छु । प्रस्ट देख्छु विभेद, विसंगति र बेथिति । सायद त्यसैले आजकल म बढी नै रिसाउन थालेकी छु ।


नचाहँदा पनि धेरै घटनाहरू ठोक्किन आइजान्छन् आजकल । त्यसैले चाहेर पनि म अलग बस्न सक्दिनँ । भर्खर एउटा घटना नजिक भएँ । दिक्कदारीसँगै भित्रभित्रै मुर्मुरिएँ । तर रिस देखाउन सक्ने अवस्था थिएन ।


साढे दुई दशकअगाडि उसले स्वास्नी र चिचिला छोराछोरी छाडी हिँड्यो । मन पराएर ल्याएकी दुलही थिई ऊ खासमा । गाउँको नामी परिवारकी छोरी । माया प्रेम भनेर हिँडिदिएकी थिई । केही वर्षमा त्यो प्रेमिल समय टुट्यो । हातमा लागे नानीहरू । लोग्ने फुक्काफाल भई अर्की टिपी हिँडिदियो । त्यस अर्कीपछि फेरि अर्की पनि टिप्न भ्यायो । उसले जतिवटी फेरबदल गरे पनि यी लालाबालासहितकी आमाले घर र नानीहरू छाडी हिँड्ने कता ? त्यही पनि निकै अघिको समय । स्वास्नीको त के नानीहरूको पनि त वास्ता गरेन उसले । अब ती आमाले कति हन्डर ठक्कर खाइन् होला आफैं विचार गर्नुस् ।


यी त भए ती संघर्ष गरेर अघि बढेकी आमाको विगतका कुरा । यस्ता घटना त छ्याप्छ्यापती छन् हामीछेउ । मेरो सरोकार खासमा यसैसँग जोडिएको एक अर्को पाटोतिरको हो । उनै आमाकी छोरीले मनमा ईख राखेर बेस्सरी दुःख गरेर पढिन् । उनको मिहिनेत र परिश्रमले गर्दा आज उनको राम्रो व्यवस्था छ । साथै आमाका लागि राम्रो चाँजोपाँजो पनि मिलाएकी छन् । केही समयअघि उनको बिहेको कुरो चल्यो । बिहेमा उही बेपत्तिएको बाउको खोजी भयो । आमाको पीडा देख्दै हुर्किएकी छोरीले त धेरै अघि नै त्यागेकी हो बाउ । तर फेरि आज आफ्नो कर्म चलाउन उही बिचल्ली पारी हिँडेको मानिस खोज्नुपर्ने भो । उनले नमान्दैमा नहुने । देखाउनका लागि भए पनि त्यही व्यक्तिलाई उनीहरूले बोलाई लोकको अघि उभ्याउनुपर्‍यो ।


बाउ त उभ्याउनैपर्ने रहेछ नचाहँदा पनि ! हामीले आत्मसात गरेको संस्कार र संस्कृति कति डरलाग्दो छ । त्याग्न चाहेर पनि त त्याग्न नमिल्ने रैछ त ! आमाबाट मात्र कर्म चलाउन आनाकानी गरिदिन्छ हाम्रो संस्कार । पुरुषको ठाउँ त जहिल्यै सुरक्षित र बलियो । बाफ रे ! जहिले पनि आफ्नो ठाउँ दाबी गर्न पाउने । संस्कार र संस्कृतिको नाममा महिलालाई दोस्रो तहमा राखिएको एक ज्वलन्त उदाहरण हो यो । त्यस नाटकको साक्षी भइरहँदा मेरो मन पोलिरह्यो । महिलाको अस्तित्वलाई फ्याट्टै नगन्ने यस्ता संस्कारहरूको साक्षी हुँदा रिस उठ्दैन त ? तर स्वास्नी मान्छेले रिसाउन मनाही छ भनी पाठ घोकाइरहन्छ यही समाज । त्यसैले अलिकति त घोत्लिनैपर्‍यो यो रिस राजनीतिबारे ।
.....
डेबिड एल. गिटोमोरको ‘रेसलिङ विद रौद्र इन संस्कृत पोएटिकस : जेन्डर, पोलुसन एन्ड शास्त्र’ नामक एक प्राज्ञिक लेखले टाउको रन्न पारिरहेको छ । त्यसमाथि मेरी साथीले औँल्याइदिएको मेरो बढेको रिसका कुराले टाउको रन्काइमा अझ थपथाप पारेको छ । खासमा गिटोमोरले रिसमाथि कसरी लिङ्गीय राजनीति भयो भनी हाम्रा शास्त्रहरूमा भएका केही उदाहरणसहित प्रस्ट्याएका छन् । रिस त अन्य धेरै स्वाभाविक मानवीय गुणजस्तै मानिसले आफूसँग लिई आएको एक गुण हो । तर ‘रिस’ पनि लैङ्गिक विभेदको मारमा परेको देख्दा भने निकै चकित हुन्छु ।


गजब के भने, मानवजन्य गुण त लिङ्गभन्दा परको कुरा हो तर पितृसत्तात्मक प्रवृत्तिको काइतेपना त्यहाँ देखिन्छ जब यस्ता स्वाभाविक गुण या दोषमा पनि महिला या पुरुष भनी कित्ताकाट गर्ने गरिदिन्छन् । हामी धेरैले सुने भोगेकै कुरा, छोरी अलि सन्किई, रिसाई या हाडाङहुडुङ गरी भने त्यस्तो अवस्थाका लागि एक हरफ प्रतिक्रिया तयार हुन्छ प्रत्येक अभिभावकको मुखमा, ‘छोरीमान्छे भएर यसरी रिसाउनु हुन्न ।’ रिसाउन पनि अर्को लिङ्गी भएर जन्मनुपर्नेजस्तो !


छोरीलाई सम्झाउने मुख्य जिम्मा पाएका आमाहरूले बोल्ने यो पूर्वतयार भाषा आमाहरू निर्मित भने पक्कै होइन । उनी त केवल पितृसत्तात्मक निर्देशनका पालक हुन् । उनीहरूलाई संस्कार र मूल्य मान्यताको नाममा त्यसैको भारी बोकाइएको छ । उनीहरू आफैं पनि चालै नपाई लामो समयदेखि त्यही संस्कार र मान्यताको फन्दामा जकडिइरहेका छन् । शास्त्रहरू नै फलाकिबस्छ विभेदकारी नियम कायदा । त्यही अनुसरण गर्ने समाज र मानिसहरू त्यस प्रवृत्तिबाट कसरी अछुत हुनु त ।


मेरी आत्मीय मित्रले ममा बढ्दै गरेको सन्काहापना र आक्रोश औँल्याइन् । किन कि उनलाई म रिसाएको हैन शान्त भएको मन पर्छ । उनी अर्थात् समाजलाई मेरो शालीनता मन पर्छ न कि मेरो रिस । समाजले महिला सधैँ शान्त, सहनशील र मौन बसेको मन पराउँछ । मन पराउने मात्र होइन असल महिलाका गुणहरू यी यी हुन् भनी लामो सूची पनि तयार गरिदिएको छ । र उनीहरूलाई रटाइरहन्छ ‘रिसाउन मनाही छ ।’ आजकलको भाषामा भन्नुपर्दा उनीहरू सधैँ कुल हुनुपर्छ ।


त्यही कुल हुनुपर्ने मान्यताको पेलानमा छन् आजका महिलाहरू । असल महिलामा हुनुपर्ने गुण बोक्दाबोक्दा उनीहरू सिद्रा भइसकेको कसले देख्ने । समाज, संस्कार, मान्यता र संस्कृतिको ठेक्का महिलाको मात्र ? यही प्रश्नले गाँज्दा रिस उठ्दैन भन्या ? फेरि पनि रिसाउन मनाही छ । रौद्रता ठीक होइन महिलाका लागि भन्ने कुरो यति जब्बर भएर सबैको मनमा बस्नुको जरा कति हो कति लामो रैछ । हाम्रा शास्त्रहरूले नै रिसलाई राक्षसी प्रवृत्तिसँग जोडिदिएपछि रिस उठे पनि रिस देखाउने कुरै भएन । किन कि राक्षस बन्नु कसलाई मन पर्छ र !

वास्तवमा मेरो साथीको धारणा त नितान्त रूपमा हाम्रो समाजको धारण हो । समाजको धारणा संस्कार र मान्यतामा अडिएको हुन्छ । अनि फेरि प्रश्न उठ्छ ती संस्कारलाई वैधता कसले दियो ? निश्चय नै जो शक्तिशाली थियो उसैले । फेरि अर्को प्रश्न । को थिए र अझै छन् त शक्तिशाली ? निसन्धेह पुरुष या पितृसत्ता । कुरो को चुरो यही त छ । महिलाको रिस, प्रेम, बोली–वचन, सुन्दरता, सबै सबैको निर्धारण त अरू कसैको इसारा या अनुकूलतामा चल्ने रहेछ । त्यसैले महिलाको रिसमाथिको बन्देज त स्वाभाविक भयो । यही लामो समयदेखि चलिआएको प्रचलनको पक्षधर हाम्रो समाजलाई महिलाले रिसाएको मन कसरी पर्नु ?


रिसको लिङ्गीय भागबन्डाभित्रको राजनीतिसँग पाइलापाइलामा ठोक्किन पुग्छौँ हामी । हालै एउटी मित्र घरेलु हिंसा सहँदासहँदा आजित भएर प्रहरीमा उजुर गर्न पुगिन् । उनको उजुरीमाथि खिल्ली उडाएझैँ उल्टै पीडक पक्षबाट अनेकन लाल्छनाहरू उनीमाथि नै थोपरिए । एउटा असाध्यै हास्यास्पद दाबी रह्यो पीडक पक्षको कि उनी ‘चोथाले’ छिन् । उनको त्यही चोथाले स्वभावले गर्दा नै घटना अघि बढेको हो रे ।


‘चोथाले’ शब्द मुख लाग्ने, झगडा गर्ने या रिसाउने महिलाहरूका लागि प्रयोग हुन्छ । यसको अर्थ महिला चुपचाप बस्नु भन्ने नै हुन्छ । ती मित्र जसले पीडकको हिंसालाई सहेर चुपचाप बसेको भए ऊ चोथाले हुन्न थिई । यो त केवल एक प्रतिनिधि घटना भयो । यस्ता घटनाहरू त हाम्रो समाजमा छ्याप्छ्याप्ती भइरहेका छन् । लोग्नेको चुटाइ खाने अधिकंश महिलालाई परिवारले भनेको सुनिन्छ, ‘त्यसरी मुख चलाउँछौ, अनि चुटिहाल्छ नि !’ कति विभेदी छ यो वाक्य । महिलाले गर्न पाउने एउटै कुरा हो, सहने । यही वाक्यले भन्दै छ महिलाले मुख खोलेको, प्रतिकार गरेको या आक्रोशित भएको पटक्कै राम्रो मान्दैन हाम्रो समाज । बोली र रिस त केवल पुरुषहरूका पेवाजस्ता । त्यसैले त होला हात, लात, गाली, सबै सहेर चुपचाप बस् भनी महिलामाथि अघोषित उर्दी जारी गरिदिन्छ समाज ।


रिसजस्तो स्वाभाविक मानवीय गुणमाथि पनि छेकथुन गरी महिलालाई कज्याउने भरपर्दो कायदा खिपेको छ समाजले । झगडा गर्ने, या अलि बढी रिसाउने महिलाहरूलाई चोथाले मात्र हैन चण्डाल्नी भनेको पनि हामी सबैले सुनेकै छौँ । चण्डालले फोहोरी, असोमती, क्रोधीलगायतका अनेकन नकारात्मक अर्थ दिन्छ । लामो समयदेखि यही पाठबाट दीक्षित आमा, छोरी, बुहारीहरू असोमती र चण्डाल्नी बन्न पक्कै मन पराउँदैनन् । खासमा असोमती नहुनका लागि भयंकर ठूलो कष्ट पनि त बेहोर्नु पर्दैन ।


रिस लुकाउनु र चुपचाप बसिदिनु त हो, बस् । त्यसैले होला धेरैजसो आमा, दिदीबहिनीहरू रिसलाई दबाउँदै चुपचाप बसिरहेकै देखिन्छन् । रिसजस्तो स्वाभाविक मानवीय गुणलाई पनि महिलाले देखाउनुहुन्न भन्नु संस्कार र मान्यताका नाममा समाजले गरेको उपद्रव मात्र हो । महिलाहरूलाई कज्याई सधैँ ठेगानमा राख्न पितृसत्तात्मक समाजले गरेको रिसमाथिको राजनीति मात्र हो ।

प्रकाशित : जेष्ठ २५, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?