कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

'गायब' योगमायाको नाममा

नारायणी देवकोटा

कला, साहित्य र राजनीतिमा रुचि राख्ने काठमाडौंवासीका लागि ‘योगमाया’ एउटा नाटकको नाम हो, जुन शिल्पी नाटकघर बत्तीसपुतलीमा चलिरहेको छ  । त्यसभन्दा अलि अगाडि बढेर कुरा गर्दा ‘योगमाया’ एउटा उपन्यासको नाम हो, जसलाई नीलम कार्की (निहारिका) ले लेखेकी हुन्  ।

'गायब' योगमायाको नाममा

यस उपन्यासले गत वर्ष मदन पुरस्कार प्राप्त गरेको थियो । महिलावादीहरूका लागि ‘योगमाया’ नेपालको महिला आन्दोलनकी एक गुरु र धरोहर दुवै हुन् । सामाजिक न्यायका लागि उनले जुन तहबाट विद्रोह गरिन्, त्यसरी विद्रोह फेरि भएको छैन । उपन्यास, नाटक र महिलावादीहरूले भन्ने गरेको, बुझ्ने गरेको नाम एउटै व्यक्तिको हो ।


यो लेखको सुरुआत योगमायाको बारेमा छोटो जानकारी लेख्न चाहन्छु (आज पनि योगमायाबारे धेरै पाठकलाई थोरै मात्र जानकारी छ भन्ने मेरो बुझाइ छ) । नेपालका कथित उच्च जातिको समुदायमा सतीप्रथा जारी रहेको बेला, छोरीको विवाह महिनावारी नहुँदै गर्नुपर्ने सामाजिक मान्यता भएको समयमा, जातीय विभेद चरमोत्कर्षमा पुगेको बेलामा, भोजपुरको दिङ्ला गाउँकी एक विवाहित ब्राह्मण किशोरी विवाह भएको घरमा बुहारीलाई गरिने बुहार्तन खप्न नसकेपछि जात नमिल्ने मान्छेसँग दोस्रो विवाह गरेर गाउँ छोडेर भाग्छिन् (हिँड्छिन्) ।

महिलालाई श्रीमान्को चितामा जिउँदै जलाउने समयमा एउटी किशोरी श्रीमान् छोडेर अर्कैसँग भाग्नु सानो कुरा थिएन । गाउँ छोडेर गएकी उनी वर्षौंपछि गाउँ फर्किंदा एउटी छोरीकी आमा मात्रै भएर फर्किन्नन्, ज्ञानको कुण्ड बनेर फर्किन्छिन् । गाउँमा सतीलाई जलाउँदै गर्दा, दलितलाई अमानवीय व्यवहार गर्दा, तत्कालीन सरकारले चर्को कुत उठाउँदा, स्थानीय ठालुहरू धर्मको नाममा र सत्ता नाममा दमन गर्दा उनी विरोध गर्न थाल्छिन् ।


उनको उक्त विरोध धर्मको आडमा थियो । उनले आफूलाई धार्मिक व्यक्तिको रूपमा परिचित गराएकी थिइन् र उनले धर्म राज्यको कुरालाई जोड दिन्थिन् । उनले किन धर्म राज्य भनिन् होला भन्ने कुराको धेरै उत्तर पाउन सकिएला तर तत्कालीन समाजमा विद्रोहको सम्भावना धर्मकै आडमा मात्रै सम्भव थियो भन्ने कुरा नकार्न सकिन्न । साँच्चिकै उनी धार्मिक प्रवृत्तिकी हुनु पनि स्वाभाविक थियो वा दुवै कुरालाई उनले एकसाथ लिएकी थिइन् भन्न पनि सकिन्छ । उनले धर्मराज्यको कुरालाई भजनजस्ता कविता मार्फत प्रस्तुत गर्थिन् । जसलाई उनको मृत्युको दशकौँ पछिसम्म योगवाणी र हजुरवाणीका रूपमा गाइन्थ्यो ।


समाजमा भएको उक्त विभेदको विरोध उनले आफ्नो कुटीको भजन र गाउँमा मात्र सीमित राखिनन् । काठमाडौंमा राणाको दरबारमा उक्त विभेद अन्त्यको माग राख्दै पत्र पठाइन् । पत्रको सुनुवाइ नभएपछि उनी आफैं पनि काठमाडौं आएर प्रधानमन्त्रीसँग भेट गरिन् र ती मागहरू पूरा गर्न दबाबस्वरूप आत्मदाह गर्ने घोषणा पनि गरिन् । राणा सरकारले उनको मागको सुनुवाइ गर्नका लागि सामाजिक रूपमा त्यति सहज थिएन भन्ने कुरा अहिले पनि नेपाली समाजमा रहेको विभेदलाई हेरेर भन्न सकिन्छ ।

त्यसभन्दा पनि राणा सरकारलाई उनीहरूको माग कुनै माग पनि लागेन होला । योगमाया र उनका अनुयायीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएपछि आत्मदाहका लागि सामूहिक चिता तयार गरे । उक्त कुरा थाहा पाएपछि सरकारले सामूहिक आत्मदाह रोक्ने कोसिसस्वरूप थुनछेक गर्‍यो । तर, छोडेपछि त्यसबखतको विभेदपूर्ण समाजमा बाँच्न उचित नभएको भन्दै आफ्ना ६८ जना अनुयायीसहित विक्रम संवत् १९९८ को असारमा योगमायाले अरुण नदीमा हेलिएर आत्मदाह गरेकी थिइन् ।


शिल्पी नाटकघरमा योगमाया नाटक चल्ने तयारी हुँदै गर्दा मेरा साथीहरूले फेसबुकमा मलाई ट्याग गर्न थालेका थिए । ‘योगमाया’ को बारेमा अहिले आम रूपमा बुझ्ने जसरी नै मैले बुझिरहेकी थिएँ, एउटा नाटक, एउटा उपन्यास र महिलाका अधिकारका लागि लडेकी एउटी नेताको रूपमा । तर मेरो मनमा सधैँ आइरहने प्रश्न थियो, यत्रो विद्रोहको कुरालाई किन नेपालको इतिहासमा उल्लेख नै गरिएन होला ? यही प्रश्नको उत्तर खोज्न नाटक हेर्न जानुभन्दा अगाडि नेपाल अध्ययन केन्द्रले २०५७ सालमा प्रकाशन गरेको ‘योगमाया’ को बारेमा लेखिएका लेखहरूको संग्रह पुनः पढेँ ।


उक्त किताबभित्रका धेरै लेखहरू उनले लेखेको साहित्य (जसलाई पछि हजुरवाणीको रूपमा प्रकाशन पनि गरिएको थियो) भित्रको क्रान्तिकारिताको बारेमा समीक्षा गरिएको छ । पारिजात र मानवशास्त्री बारबारा निम्रीको लेखले नेपालको इतिहासलाई एक पटक फर्केर हेर्न मन लाग्छ । योगमायाबारे मानवशास्त्री बारबरा निम्रीले पारिजातलाई सुनाउँदा, पारिजात भनिदिन्छिन् ‘दिङ्लातिरको दन्त्यकथा सुनेर आइछौ ।’

आफ्नो उक्त टिप्पणीबारे पारिजातले आफूले योगमाया नामकी महिलाले नेपाली समाजभित्रको अन्याय सहन नसकिने निष्कर्ष निकालेर आफ्ना अनुयायीसहित आत्मदाह गरेको विषयमा साँच्चिकै थाहा नपाएको र बारबराको कुरा सुनेपछि त्रिवि केन्द्रीय पुस्तकालयबाट उक्त विषयमा केही पढ्ने सामग्री खोजेर ल्याएको कुरा लेख्दै भनेकी छन्, ‘इतिहासको यत्रो घटना पोखराले सेती लुकाएको जस्तो लुकाइएको छ ।’


सोही किताबभित्र निम्रीले काठमाडौंका लेखक, साहित्यकारहरूले योगमायाको कुनै प्रसंग उल्लेख नगरेको कुरा स्मरण गर्दै सन् १९९३ मा प्रकाशित लेखमा लेखेकी छन्, ‘त्यस विद्रोहले तत्कालीन नेपालको राणा शासन र ब्राह्मणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो । तर, त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्ण रूपले विस्मृतिको अन्धकारमा छोडिएको छ ।’


बारबराले उक्त लेख लेखेको २६ वर्षपछि शिल्पीमा नाटक हेर्न गएकी पत्रकार निर्मला शर्माकी छोरीले आफ्नी आमासँग भनिछन्, ‘सामाजिक परिवर्तनमा योगमायाको यति ठूलो भूमिका रहेछ । तर पाठ्यक्रम र इतिहासमा त्यति पढ्न पाइँदैन किन होला ? हामीजस्ता युवाहरूले किन थाहा नपाएको होला ?’


महिलावादीहरू भन्छन्, “आजसम्मको मानव इतिहास ‘हिज’ हरूको ‘स्टोरी’ मात्रै हो । ‘हर’ हरूको स्टोरी त लेखिएकै छैन र महिलाले गरेका कामहरूलाई इतिहासका पानाबाट गुमनाम गरिएको छ ।” महिलावादी भएर भन्ने हो भने योगमायाको योगदानलाई नेपालका पुरुषवादी सत्ता र इतिहासकारले गुमनाम गराए भन्दा कुनै फरक पर्दैन । समाजशास्त्री भएर सोच्दा यो किन योगमायालाई नेपालको इतिहासमा गुमनाम गराइयो होला ? भन्ने प्रश्नका केही उत्तर पाइन्छ । पहिलो त उनको विद्रोहलाई उनका हजुरवाणीको आधारमा मात्रै हेरियो र उनलाई एक लेखक कवियत्रीको रूपमा अर्थ्याइयो । दोस्रो यो त विद्रोह थियो भन्ने आधारमा घटनालाई बाहिर नै ल्याइएन । किन ल्याइएन भने यो राज्य विप्लपको कुरा थिएन यो त भइरहेको राज्यभित्र सुधार मात्रै खोजिएको कुरा थियो त्यो पनि महिला, दलितमाथिको शोषणको अन्त्य ।


तेस्रो सायद इतिहासकारहरूलाई एउटी महिलाले गरेको विद्रोह विद्रोहभन्दा आत्महत्या लाग्यो वा महिलाले पनि विद्रोह गर्छन् भन्ने कुरा इतिहासकारहरूले स्विकार्न सकेनन् । चौथो केही अपवादलाई छोडेर भन्दा नेपालको इतिहास लेखन जित्नेहरूको वरिपरि केन्द्रित छ । पहिला त्यो राजा महाराजाको वरपर थियो, पछिल्ला वर्षमा मन्त्री प्रधानमन्त्री भएका मान्छेको वरपर छ । जित्नेहरूको मात्र इतिहास हुने सोचले आत्मदाह गर्नेहरूको कुरा कुनै लेख्नलायक ठानिएन ! महिलाको नेतृत्वको कुरा गर्दा बेलाबेला मानिसहरू भन्छन्, ‘क्षमता दक्षता हुनुपर्‍यो नि ।’

समाजको एउटा वर्गले एकलौटी रूपमा परिभाषित गरिएका क्षमता दक्षता महिलाका नहोलन् र ती नहुनुका यावत् कारणहरू होलान् । जो यहाँ लेख्न सम्भव छैन । तर ती आम दक्षता र क्षमताभन्दा पनि माथि उठेर समाजको जग नै हल्लाउने काम पनि भएको थियो इतिहासमा । तिनै इतिहासका पानाहरू नै पनि गायब किन हुन्छन् भन्ने कुरा डरलाग्दो कुरा हो । नीलम कार्कीले इतिहासमा हराएका तिनै पानाहरूको खोजी गरेकी छन् उपन्यासमार्फत । नाटक निर्देशक टंक चौलागाईंले अनि शिल्पी नाटकघरमा ती पानाको पुनः स्मरण गराइरहेका छन् यतिबेला नाटकमार्फत । र, मिथिला शर्मालगायतका कलाकारले आफ्नो अभिनयमार्फत ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?