१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेवाः मुस्मां

हिमेश

गुठी विधेयकको विरोधमा सहभागी भइरहेको एउटा समूह छ– नेवाः मुस्मां । अर्थात्, नेवार मुस्लिम समाज । केही दिनअगाडि मात्र गठन भएको यो समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा छ ।

नेवाः मुस्मां

मानिसको स्वभाव नै हुँदो रहेछ, आफू को हो र के हो भनेर खोज्ने । पहिचानको खोजी भन्दा हुन्छ यसलाई । अहिले सरकारले ल्याएको गुठी विधेयकको चारैतर्फबाट विरोध भइरहेको छ । विशेषतः उपत्यकाका नेवार समुदाय यस विधेयकको खुला विरोधमा छन् र यसलाई लिएर दिनहुँ कुनै न कुनै प्रकारले विरोध गरिरहेका छन् । यस्तै विरोध कार्यक्रममा सहभागी भइरहेको एउटा समूह हो, नेवाः मुस्लिम समाज । अर्थात्, नेवार मुस्लिम समाज ।


नेपाल भाषामा भन्दा ‘नेवाः मुस्मां’ हुन्छ, नेवार मुसलमानलाई । उनीहरूले केही दिनअगाडि मात्र गठन गरेको हो, यो समाज । अहिले यही समाज आफ्नो वास्तविक पहिचान खोज्ने प्रयासमा पनि छ । मानवशास्त्री र सामाजशास्त्रीका लागि मात्र यो कम्तीको रुचिको विषय होइन, सबैका लागि उत्तिकै कौतूहलपूर्ण छ र यसले पनि देखाउने गर्छ, हामी र हाम्रो देशमा वास्तवमै कति विविधता छ र मौलिक रूपमा यो कति परिस्कृत र फरक पनि छ ।


यहाँनिर पहिलो प्रश्न हुने गर्छ, नेवार के हो त ? प्रायः के भनिन्छ भने यो जाति होइन, यो त एउटै भाषा बोल्ने समूह हो । फरक समय तथा कालमा जो जाति काठमाडौं उपत्यका छिरे र त्यसले यो भाषालाई अपनाएर आफूलाई यहाँकै बनाए, तिनै नेवार भए र हुन् । इतिहासकार तुलसीराम वैद्य भन्थे, नेवारलाई एकै स्थानमा राख्ने एउटै तत्त्व भनेको भाषा मात्र हो ।


नेवारभित्र फरक संस्कृति र संस्कार मात्र छैन, फरक धर्म पनि छ । नेवारले अभ्यास गर्दै आएका धर्ममा बढी हिन्दु र बौद्ध नै हो । त्यसपछि इसाई धर्म पनि आउँछ । नेवारमा इस्लाम धर्म मान्ने पनि छन्, यसको कम मात्र चर्चा हुन्छ । अब यिनै नेवार मुसलमानले आफ्नो पहिचानका लागि समूह गठन गरेपछि यो विषयमा अब स्वाभाविक रूपमा उत्तिकै चर्चा हुनेछ, त्योभन्दा बढी बहस पनि हुनेछ । त्यस समाजका अध्यक्ष निसार उद्दिन हुन् । यो समाजले तत्काल प्रमुख रूपमा दुई काम गर्न खोजेको छ ।


पहिलो, अब चाँडै हुने राष्ट्रिय जनगणनामा समाजले आफूहरूलाई नेवार मुसलमानका रूपमा पहिचान लेखाउनेछ । दोस्रो काम, यो समुदायका युवा पुस्तामा नेपाल भाषा बोल्ने र बुझ्न कम हुन थालेकाले अब चाँडै भाषा सिकाउने काम पनि हुनेछ । मूलतः उनीहरू नेपाल भाषामै बोलचाल गर्ने हुन् । अहिलेका बाजेबज्यैको पुस्तासम्म मज्जाले नेपाल भाषामै कुरा गरिरहेका हुन्छन् । नाति पुस्तामा आएर मात्र केही समस्या भएको हो, भाषालाई लिएर ।


पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि हिन्दु र बौद्ध धर्म मान्ने नेवारलाई चलाउन खोजेनन्, उनी विशेषतः इसाई धर्म मान्नेप्रति कठोर भए । त्यो बेलाका इसाई नेवार देश निष्कासनमै परे र पुगे, भारतको बेतियासम्म । अझै पनि त्यहाँ इसाई नेवारको नयाँ पुस्तामाझ काठमाडौंका केही न केही संस्कृति बाँकी छ । इस्लाम मान्नेलाई भने पृथ्वीनारायणले राज्यले दिने सुविधा कटौती गरे । उनीहरूले देश नै भने छाड्नु परेन । पछि जंगबहादुरका पालामा जारी भएको मुलुकी ऐनमा भने नेवार मुसलमानलाई पानी नचल्ने बनाइयो । तर त्यो कानुन न थियो, समाजले त्यसलाई स्विकार्ने काम भने गरेन । ‘नेवारभित्रै अरू समुदायले मुसलमानलाई कहिले पनि त्यसरी पानी नचल्ने जातका रूपमा लिएनन् । यसको सबैभन्दा ठूलो प्रमाण हो, अरू नेवार र मुसलमान नेवारको घरको धुरी जोडिएको हुन्छ । यो भनेको समानताको प्रतीक नै हो,’ नेवार मुसलमानबारे लामो समय अध्ययन गरेका रास जोशी मान्छन् ।


घना नेवार बस्तीकै बीचमा कहीं न कहीं कतै न कतै मुसलमानको एउटा घर त हुन्थ्यो नै । अधिकांश नेवारको पूजामा देवतालाई चढाउने भनेको हाँसको फुल हो । पूजामा कुखुराको फुल अहिले पनि चल्दैन । केही समयअगाडिसम्म पनि हाँसको फुल बेच्ने काम मुसलमानकै हुन्थ्यो र टोलटोलमा फुल बेच्ने क्रममा उनीहरू भन्थे, ‘खे माला... ?’ अर्थात् हाँसको फुल चाहिन्छ कि ? त्यति मात्र होइन, केही वर्षअगाडिसम्म पनि नेवार मुसलमानबीच भएको घरको अंशबन्डा र अरू कानुनी काम नेपाल भाषामै हुने गरेको थियो ।


अब प्रश्न उठ्छ, कहिलेदेखि काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भयो त ? दाबी त के गरिन्छ भने लिच्छिविकालमै काठमाडौं उपत्यकामा मुसलमानहरूको प्रवेश भइसकेको थियो । तर लिखित इतिहास सुरु हुन्छ, राजा रत्न मल्लदेखि । उनको पालामा व्यापार गर्ने उद्देश्यले कश्मीरका केही मुसलमान यहाँ आए । ती व्यापारीको मुख्य गन्तव्य तिब्बत थियो तर समयको अन्तरमा उनीहरू काठमाडौंमै रोकिए । इतिहासले भन्छ, नेपाल र कश्मीरबीचको सम्बन्ध निकै पुरानो हो । ती कश्मीरी मुसलमानले सुरुमा अत्तर र बहुमूल्य ढुंगाको व्यापार गरेका थिए ।

तिनै मुसलमानले रत्न मल्ललाई बाज उपहार दिएको पनि भनिन्छ । केही मुसलमान प्रताप मल्लको पालामा पनि आए । हाम्रोमा इतिहास र मिथकबीच अन्तर छुट्याउन निकै गाह्रो छ । कथाजस्तै गरेर अहिलेसम्म पनि सुनाउँदै आइएको के छ भने यी मुसलमानले प्रताप मल्ललाई एउटा जादु देखाए र त्यसबाट उनी खुबै प्रभावित भए । त्यस जादुका क्रममा रानीपोखरीको हात्ती नै केही समयका लागि गायब गरिदिएका थिए । पछि प्रताप मल्लले त्यसैकारण जमलतिर मस्जिद बनाउन जग्गा दिएको पनि भनिन्छ ।


यी दुई फरक कालखण्डमा भित्रिएका मुसलमानसँगै अत्तर र बहुमूल्य ढुंगाको व्यापार मात्र भित्रिएन, जादु, झारफुक विद्या, घोडचढी, उस्ताजसहितको गायन पनि भित्रियो । कालान्तरमा उनीहरूले बोल्ने पनि नेपाल भाषा भयो । उनीहरूको घर पनि पारम्परिक नेवारकै जस्तो हुन थाल्यो । उनीहरूको अर्को प्रभाव नेवारको खाना, आभूषण र लुगामा पनि उत्तिकै पर्‍यो ।

‘मुसलमानको ताबिजबाटै नेवारको लोकप्रिय गहना ताय बनेको हो । उनीहरूले नै काठमाडौंमा चुरा पोते, मेहेन्दी पनि ल्याए,’ जोशी मान्छन् । उनले ०७१/०७२ तिर गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा हजारको हाराहारीमा नेवार मुसलमान छन्, जसले आफ्नो नाम पछाडि प्रायः सय्यद, ख्वाजा, पट्ठान, मियाँ र खान प्रयोग गर्छन् । भित्री नेवारको बस्तीमध्ये उनीहरू काठमाडौंमा प्रायः जनबहाल, छत्रपाटी, वटु र इन्द्रचोकमा छन् । ललितपुरमा गाबहाल र मंगलबजारतिर छन् । यस्तै भक्तपुरमा भने गोलमढीको वरिपरि ।


उनीहरू अरू नेवारजस्तै यहाँका चाडपर्वमा सहभागी हुन्छन् । घरमै समयबजी ज्वर्ने र खाने पनि गर्छन् । चटामुरी पनि खान्छन्, छ्वयला पनि खान्छन्, आलुका परिकारको मज्जा पनि लिन्छन् । भोजतिर पनि सजिलै सहभागी हुन्छन् । फरक धेरै अर्थमा मासुमा हुन्छ । नेवार मुसलमान पनि हलाल गरिएको मासु मात्र खान्छन् ।

त्यसैले उनीहरूले मुसलमानले चलाएका पसलबाट मात्रै मासु किन्ने गर्छन्, हलाल गरिएका । अहिले अधिकांश नेवार मुसलमानको व्यापार भनेको चुरापोतेकै हो र यसको केन्द्रविन्दु रहेको छ, इन्द्रचोकको प्रसिद्ध राखी बजार । केसम्म भनिन्छ, भने यसको खास नाम इराकी बजार थियो, किनभने केही मुसलमानका पुस्ता इराकबाट आएका थिए । पछि यसको नाम राखी बजार भयो । मीठो संयोग के भने यस बजारका अधिकांश ग्राहक भने हिन्दु हुने गर्छन् । चुरा–पोते शौभाग्यको प्रतीक मानिन्छ र त्यसका लागि हिन्दुहरू मुसलमानको बजारमा निर्भर छन् ।


यहाँनिर थप्नुपर्ने एउटा अर्को विषय पनि छ । यो संयोगले फुटबलसँग जोडिएको छ । राणा शासनको अन्त्यतिर नेपालमा फुटबल भित्रिएको थियो । पछि त्यो आम जनताले रुचाएको खेल पनि भयो । राणा शासनको अन्त्यसँगै टोलटोलमा फुटबल टिम बन्न सुरु भयो । यसै क्रममा इन्द्रचोकमा पनि एउटा टिम बनेको थियो, जसका सबै खेलाडी मुसलमान थिए । त्यो टिमले खुबै तहल्का मच्चाएको पनि थियो, लामो समयसम्म । यसकै एक खेलाडी हुन्, अफताब उद्दिन ।


सन् १९६३ मा नेपालले आगा खाँ गोल्डकप खेलेको थियो र यसलाई नै नेपाल सहभागी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिन्छ । यसको आयोजना गरेको थियो, अहिलेको बंगलादेशले । त्यति बेला बंगलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । त्यस टिममा पनि परे, तिनै उद्दिन । उनी डिफेन्डर थिए । अहिले पनि उनलाई भेट्नुपर्छ, एउटा मुसलमानको छवि जुन मनमा आउँछ, त्यो उनमा पाइन्न । बरु उनी देखिन्छन्, ठ्याक्कै आम नेवारजस्तै । यस्तै मुसलमानहरू अहिले आफ्नो पहिचानको खोजीमा छन्, नेवाः मुस्मांका रूपमा ।


twitter : @himeshratna

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?