अर्को गाडीको प्रतीक्षा

रञ्जु दाहाल

भर्खरै बनेको हनुमन्ते खोलाको पक्की पुल तर्दै गर्दा म अकस्मात् झल्याँस्स भएँ । ओहो ! मैले छेउको पसलमा ‘घरमा दुई जार पानी लगिदिनुस् है’ भन्नै बिर्सिएछु ! परेन त अब फसाद ! अब घरका सबै उठेर पानी पिउन खोज्नेछन् । टेबलमा एक जगमात्र पानी छ । हिजै सिद्दिएको थियो, यति अबेला के भन्न जानु भन्ठानेँ । अघि घरबाट निस्कँदा भनेर हिँड्छु भनेको, भुसुक्कै बिर्सेछु !

घडी हेर्छु— बिहानको छ बजेर दश मिनेट गइसकेछ । यो समयमा घरबाट स्कुटरमै निस्कँदा पनि तीनकुनेमा रहेको मैले अध्यापन गर्ने क्याम्पसमा पुग्दा ६ः२५ हुन्छ । ६ः३० देखि त कक्षा नै सुरु गर्नु परिगयो । आज त्यै स्कुटर पनि छैन । माइक्रोबस चढेर जाँदा उसै दस–पन्ध्र मिनेट ढिलो । फर्किएर पानी भन्न जाऊँ त झन् अर्को २०–२५ मिनेट ढिलो हुनेछ ।


रोजगार र घरबार एकसाथ चहर्‍याउन थाल्छन् । दुवै उत्तिकै महत्त्वपूर्ण छन् । दुवैमा आज म गैरजिम्मेवार हुने भएँ । मेरो ब्रह्मले भन्यो, ‘गल्ती गरिहालिस् ! गाली खानुको अभ्यस्तता छँदै छ क्यार ! अब अहिलेको प्राथमिकता कार्यस्थल नै बना !’ म अगाडि बढ्छु– लेफ्ट–राइट, कदम बढाऊ, यो युगका कर्णधार हो ! नयाँ ठिमी चोकबाट रत्नपार्क जाने दस नम्बरको माइक्रोबसमा चढ्छु । यहाँबाट यो माइक्रो चल्न थालेदेखियताका यात्रुहरूले पूर्वतिरको भरिभराउ गाडीको प्रतीक्षा गर्नुपर्दैन । अर्थात्, उभिएर, च्यापिएर, धक्कमधक्का खाएर यात्रा गर्नुको बाध्यता केही हलुका भएको छ । प्रत्येक दुई मिनेटमा माइक्रो छुट्छ । एउटा भरिएको रहेछ भने अर्कोमा चढे भइहाल्यो । आज भने हिँड्न लागेकै माइक्रोमा सिट खाली रहेछ । झ्यालनेरको सिटमा बसेपछि लाग्छ– मेरो यात्रा सकियो, अब मेरो होइन माइक्रोको यात्रा सुरु हुँदै छ ।


रिले दौडजसरी हानाथाप गर्दै गाडीहरू एकअर्कोलाई ओभरटेक गर्दै छन् । ट्रिपर एक इन्च पनि पछि पर्न चाहँदैन । माइक्रो र कारहरू हाम्रो बाटो किन छेक्छस् ? भनेझैँ ट्याँट्याँ, टुँटुँ हर्न बजाइरहन्छन् । सानै भए पनि ठूलाहरूसँग टक्कर लिउँलाझैँ गर्न छाड्दैनन् स्कुटर र मोटरसाइकलहरू पनि । भक्तपुरबाट काठमाडौँ छिर्ने यो एक मात्रजस्तो सडक–मार्ग साह्रै व्यस्त छ एकाबिहानै । सडकमाथि गुड्ने बस, माइक्रो, मोटरसाइकलमा सवार यात्रुहरू व्यस्त छन् । जीवनजस्तै छ सडक पनि अस्तव्यस्त ! चेत गुमेको छ मेरो सायद, नाडीमा घडी हुँदाहुँदै पनि ब्याग खोतलेर समय हेर्न मोबाइल निकाल्छु । मोबाइल र मेरा चार आँखा हुन्छन् ।


समयभन्दा पहिले आफ्नै अनुहार देख्छु मोबाइलको स्क्रिनमा । हत्तेरिका ! लिपिस्टिक लगाउनै बिर्सिएछु ! कस्तो बेहोसी भएछु आज म । आज के भन्नु ! आजकल जे पनि बिर्सिन्छु ! कुरा हिजो र आजको मात्र कहाँ हो र ! मैले थाहै नपाउँदैदेखि प्रशस्तै गल्ती गर्दै आएकी छु । सानु छँदा बाहिर ननिस्किऊँ, मेरै गल्ती– ‘कत्ति घरमै झोक्राइराखेकी !’ बाहिर जाऊँ, त्यो पनि मेरो गल्ती– ‘छोरीमान्छे भएर के लखरलखर हिँडिराखेकी !’ नुहाइधुवाइ, सरसफाइ नगरूँ, ‘कम्ता अल्छी भा’छे अचेल !’ जाँगरिली भइदिऊँ, ‘तरुनी भा’की हेर न ! नक्कलै बढी छ यसको !’


बुबाको टोपी हराउनु, आमाले राखेको सामान ठाउँमा नभेट्नु, दाजुभाइका खेल्ने, पढ्ने सामग्री सरसफाइको क्रममा पन्छाउनु, सबै मेरै टाउकोमा ट्वाक्क भइरहे । पराईघर आएपछि झन् त्यसको श्रेणी ह्वात्तै बढ्यो । श्रीमान् समयमा अफिस नपुग्नु, छोराको मोबाइलमा चार्ज सकिनु, छोरीको लुगाको रङ उड्नु, काँच फुट्नु, केबुल टेलिभिजनको लाइन काटिनु, ल्यापटप, कम्प्युटर बिग्रिनु, घरमा बिरालो पस्नु, गौँथली नबस्नु, आकाशमा बादल लाग्नु, वसन्त ऋतुअगावै बारीमा आँपका पात झर्नु, घरको छतमा पानी जम्नु, यस्तैयस्तै क्रमहरू थपिँदै गए मैले गर्ने गरेका एकपछि अर्का गल्तीहरूको लहरमा ।


अनगिन्ती गल्तीहरूको शृङ्खलामा यही माइक्रोजस्तै घ्यारघ्यार, घ्यारघ्यार जीवनको गाडी दौडिइरहेछ । मैले गरेका गल्तीहरूको लेखाजोखा गर्ने मेसिन हुने हो भने अहिलेको अत्याधुनिक युगको कम्प्युटर र मोबाइलजस्तै ह्याङ हुन्थ्यो होला हगि ! वास्तविक हिसाब निकाल्न त के समर्थ हुन्थ्यो होला र त्यो पनि !


मैले चालेका गलत पाइलाहरूदेखि डराएर नै होला सायद, गन्तव्य नै आफैँ यात्रारत छजस्तो लाग्छ । सर्दै छ परपर मेरा पाइलाहरूले भेट्टाउनै नसक्ने गरी । आँखा खुलै छन् । लाग्छ, यिनले विश्राम नलिईकन हेर्दै छन्— एकपछि अर्को गजधम्म ठडिएका सहरिया नाङ्गा ठूलाठूला भवनहरूलाई । तर, मेरा खुला आँखाहरू भने माइक्रोको सिटबाट मेरो आफ्नै घरभित्रकी ‘मलाई’ नै नियाल्दै छन् ।
कस्तो अचम्म ! कहिलेकाहीँ खुला, चहकिला आँखाले पनि आफूअगाडिको प्रकृतिलाई नदेख्दारहेछन् । फराकिलो सडककै अगाडिका आँखा पनि ती सबलाई नजरअन्दाज गरेर आफ्नै जिन्दगीका भीर, पाखा, खोँच, झुपडी अनि बन्द ढोकाभित्र अल्झिएको गन्तव्यहीन गन्तव्यलाई नियालिरहेछन् ।


आज उठ्न ढिला गरेँ । ४ः३० भइसकेको थियो ब्युझँदा । त्यसैले हतार भयो । ४ बजे उठेकी भए सबै भ्याउँथेँ । नुहाइधुवाइ गरेर पूजापाठ सक्दा पाँच बजिहाल्यो । दाल र तरकारी त पकाइदिएँ तर चामलमा पानी मिलाएर प्रेसरकुकुरमा राखिदिन भने भ्याइनँ । अब छोरी भोकै स्कुल जाने भई !


दिदीहजुर नुहाएर पूजाकोठामा पुग्नेबित्तिकै खनिनुभएथ्यो ममाथि, ‘हिँड्न लागेजस्तो छ ! भगवान्लाई भोकै राखेर खै कसरी खान सक्छन् यिनीहरू ? धूपबत्ती केही भएको छैन ।’


भित्रबाटै कराएँ, ‘मैले धूपबत्ती गरिसकेँ त !’
बिर्सिएछु— कान सुन्नुहुन्न उहाँ । मैले कराइरहनुको कुनै अर्थ छैन । सायद तेल सकिएर निभ्यो होला दियो । होस्, मैले बालेकै हुँ क्यारे !
तल कोठाबाट श्रीमान् कराउनुभयो, ‘खै मेरो नागरिकता ? कता राखिदिएको हो ?’


हातमा पानी र चिया लिएर हाजिर भएँ उहाँको सामुन्ने । उहाँलाई नै हेरिरहेको रहेछ उहाँको नागरिकताले । ‘यत्ति पनि नदेख्ने ?’ भन्ने भाव मुखाकृतिमा आयो तर खिसिक्क हाँसेर हत्तपत्त छोपिदिएँ । र, नागरिकता उहाँको हातमा थमाइदिएँ ।
‘ठेगानमा राखे पो त !’ उल्टै गाली खाएँ । गल्ती मेरै थियो, छरपष्ट कागजपत्रहरू मिलाएर किन राखिदिनुपरेको नि !


उल्टा पाइलाले नै धर्ती टेकेँ कि क्या हो पहिलोपल्ट ? मेरा कुनै पनि चाल सही ढंगका हुनै सकेनन् । गलत पाइलाहरू चाल्न खै कुन अवचेतन मनले अह्रायो ? कुन समाज र संस्कारले भरिदियो मभित्र यत्तिविधि अवगुणहरूको लस्कर ? अचेल किन मेरै पाइलाहरूले पीडाबोध गराउँदै छन्, मेरो चेतन मनलाई ?


हिजो अचारमा नुन कम भएछ । आधा उमेर बितिसक्दा पनि नुन अड्कल्न आएन । बिजुलीको लाइन काटियो राति । विकल्प केही सोचिनछु । ‘घरै अन्धकार बनाएपछि कहाँबाट हुन्छ लक्ष्मीको बास !’ दुई–चार दिनदेखि घरमा मुसाको दौडादौडी छ ।
‘झ्यालढोका सबै ह्वाङ्ङ राखेपछि छिर्दैन त ?’ अस्तिको हावाले कौसीको गमला तल आँगनमा झारेछ र फुटेछ । ‘राख्ने ढङ्ग छैन । टाउको फुटेन धन्न !’ छोरीको रिजल्ट त्यति राम्रो आएन । ‘यसो बसेर पढाउने फुर्सद निकाले पो !’ छोरोले खाजा खाएन, ‘टाइममा पकाएर दिए पो खान्थ्यो !’ खाना छिट्टै पकाऊँ, ‘कति चाँडै ? काम सक्न पाए पुग्यो हगि !’ ढिलो गरौँ, ‘हाम्रो समयको नि ख्याल गर्ने गरे हुन्थ्यो !’


खलासी भाइ नम्र स्वरमा बोलाउँछ, ‘दिदी, झर्ने होइन ?’
उसको अनुहारमा एकटकले हेर्छु । प्रायः यति मीठो बोली ड्राइभर–खलासीको सुन्न विरलै पाइन्छ ।
मेरा खुला आँखाहरूले कोटेश्वरको व्यस्त चोक हेरिसकेछन् । झन्डै नाक नै ठोकिएलाजस्तो तीनकुनेको न्यौपाने टावर पनि छलिइसकेछ । अन्तर्राष्ट्रिय सभा भवनतिर हेरेँ कि हेरिनँ कुन्नि, बानेश्वरको ट्राफिक सिठ्ठीले पनि ब्युँझाएनछ मेरो चेतनालाई । मैनबत्ती चोक भनूँ या माइतीघर मण्डला, त्यसलाई चिरिप्प फन्को मारेर भद्रकालीको भोक हड्तालचोक छिचोलिएछ ।


सहिदगेटमा चार सहिदको काँधमा युगौँदेखि बसेका राजा त्रिभुवनलाई समेत देखिनछु । म त रत्नपार्कको कामचलाउ बसपार्कमा पो पुगिसकेछु !


माइक्रोका सबै यात्रुहरू मलाई मात्र छाडेर झरिसकेछन् ! खसाँली मुसुक्क मुस्कुराउँछ । म गल्ती नै गल्तीकी प्रतिमूर्ति ! मैले गरेका सम्पूर्ण गल्तीहरूलाई माफ गर्दिन सक्ने ऊ मात्रै छ यसबेला । आत्मीयता उर्लेर आउँछ अन्तरमनदेखि ।


माइक्रोबाट झरेर पैसा दिँदै गर्दा उसको मन्द मुस्कानले फेरि चस्स छुन्छ मलाई । मानौँ, मैलेजस्तो गल्तीहरू उसले पनि गर्ने गरेको छ र भोगिरहेको छ समयले उसलाई पनि मलाईजस्तै !


प्रतिउत्तरमा मुस्कुराउँदै भन्छु, ‘यस्तो हुन्छ भाइ कहिलेकाहीँ !’
ऊ पुनः मुस्कुराउँछ । ठान्छु, सहमति जनायो मेरो भनाइप्रति ।
क्याम्पसबाट फोन आउँछ, ‘म्याम, आज आउनुहुन्न र ?’
‘आउँदै छु । ढिला भएँ, भन्नै भुलेछु ! क्लास मिलाइदिँदै गर्नुस् न है !’


बिहानको सात बजेको छ ! एकाबिहानै व्यस्त छ रत्नपार्कर् ! धेरै समयपछि म उसको व्यस्ततासँग मिसिएकी छु । मेरा व्यस्तताहरू रत्नपार्कसँग घुलमेल भएर हराउँछन् । मन अकस्मात् फुरुङ्ङ हुन्छ ।


यत्तिबेला, यहाँ मेरो गल्ती औँल्याइदिने कोही छैनन् । छिनभरकै लागि सही, म पूर्ण स्वतन्त्र छु ।
फर्किएर जानु त छँदै छ ! अर्को गाडी कुर्नु पनि छँदै छ । केही छिनमा कुनै न कुनै गाडीले पुर्‍याइदिने नै छ— उही दुनियाँमा ।
म मुस्कुराइरहन्छु— यौटा स्वतन्त्र मुस्कान !!
क्षणिक मुस्कान !!!

रञ्जु दाहाल

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

३४ दिने बस यात्राको सम्झना

विकास रौनियार

काठमाडौंमा भर्खर एसएलसी सकेर कानुन पढ्न थालेको थिएँ । प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी थिएँ । सेन्ट जेभियर स्कुलको भूतपूर्व विद्यार्थी संगठन गोदावरी अलुम्नाई असोसिएसन (जीएए) का कार्यक्रमहरूमा सक्रिय थिएँ ।

त्यही बेला योङ मेन क्रिस्टियन असोसिअसनले इन्टरनेसनल क्याम्प काउन्सेलर प्रोग्रामका लागि तीन महिना न्युयोर्क राज्यको स्प्रिङ भ्यालीमा भ्याकेसन क्याम्प फर द ब्लाइन्ड (भीसीबी) मा जाने अवसर दियो । रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपतिको दोस्रो कार्यकालमा थिए । प्रख्यात गायिका म्याडोना र माइकल ज्याक्सन संसारभर हिट थिए । माइकल जे फोकसको ‘ब्याक टु द फ्युचर’ ले बक्स अफिस रेकर्ड तोडेको समय थियो । र, ‘वी आर द वर्ल्ड’ गीतले अफ्रिकाका कुपोषणपीडितहरूका लागि कलाकारहरू एकजुट भएर निकै नै सहयोग जुटाएको बेला थियो ।


सन् १९८६ को जुनदेखि अगस्टसम्म भीसीबीको शिविरमा विदेशी कोउन्सलरको रूपमा कार्य गर्ने मौका मिलेको थियो । सकिएपछि परिश्रमिक पनि ४ सय डलर पाएको थिएँ । शिविरको अवधि सकिएपछि म र मेरो डेनमार्कको साथी ओवाले पूरा अमेरिका ग्रेहाउन्ड बसमा अमेरिकाको पश्चिमी सहरहरूदेखि पूर्वी सहरहरू करिब ८ हजार किलोमिटरभन्दा बढी सडक यात्रा गर्ने योजना बनायौं ।

योजनाअनुसारै हामी पहिले न्युयोर्कबाट लस एन्जलसका लागि एकदमै सस्तो शुल्क ९० डलर तिरेर ‘पिपल्स एक्सप्रेस’ को विमान चढेर पुग्यौं । करिब दुई हप्ता लस एन्जलसमा घुमेपश्चात् हामीले पहिले नै २ सय २० डलर तिरेर किनेको एकमहिने ग्रेहाउन्ड बस पासले एक महिने अमेरिकाको ‘गो इस्ट’ यात्रा सुरु गर्‍यौं । हामी होटलमा नसुतेर पैसा बचाउनका लागि रात्रि बसमात्र चढेर बिहान पूर्वतिरका सहरमा मात्रै लाग्थ्यौं ।


पहिलो रातभरि बस चढेर बिहानीपख झिसमिसेमै क्यासिनोका लागि प्रख्यात सहर लास भेगास पुग्यौं र बिहानै क्यासिनो केही घण्टा क्यासिनोमा जुवा खेलेर बितायौं । त्यसपछि अरिजोनाको ग्रान्ड क्यानोन पार्क गयौं । त्यहाँको अनुपम प्रकृतिमा ट्रेक गरेर रमायौं । रोचक के थियो भने म नेपालको पहाडमा उकालो चढ्नुपर्ने घुमेको मान्छे तर त्यहाँ त ट्रेकको सुरुआतमै ओरालो लाग्नुपर्ने । त्यसपछि हामी मेक्सिकोको सिमाना नजिकको एल पासो, अमरिलो (जुन सहरले संसारकै सबभन्दा बोरिङ सहरको रूपमा आफूलाई चिनाउनमा गर्व गर्थ्यो) हुँदै डल्लास पुग्यौं ।

त्यहाँ हामी एक परिचित नेपाली वकिल साब गिरीशराज पन्तको परिवारसँग दुई दिन बितायौं । त्यहाँ मात्र हामीले खाटमा सुत्न पाएका थियौं नभए अरू रात सबै बसमै । त्यसपछि हामी एल्बिस प्रेस्न्लीको सहर मेम्फिस हुँदै क्यानाडाको सिमाना नजिक लेक मिसिगन नजिकको क्लिब ल्यान्ड पनि गयौं । फिलाडेल्फिया हुँदै न्युयोर्क फर्किंदा करिब ३४ दिनको भुल्नै नसकिने धेरै अनुभवहरूको धनी भइसकेका थियौं ।


त्यसपछि ओव आफ्नो देश डेनमार्क फर्कियो । मचाहिँ बेलायतमा एक महिना बिताएर नेपाल फर्की कानुनको पढाइ जारी राखें तर सायद अमेरिकामा फोटो खिच्दै गरेको भ्रमणले फोटोग्राफीको रुचिमा यति वृद्धि गराइदियो कि कानुन पढेर वकालत गर्न छोडेर फोटो पत्रकारितामा पूर्ण समय दिएर संसारको सबैभन्दा उत्तम पेसा फोटो पत्रकारितामा लाग्न पुगें ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्