२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गितार, ब्लू एप्रोन र देवदूत

कुमारजी उवाच
कुमार नगरकोटी

झ्यालखाना
भोड्का बुबाको फेभरेट दारु थियो  । त्यही दारु पिउँदै उहाँले एक साँझ भन्नुभयो, ‘हेर नाथे कुमार ! मेरो सरुवा भइरहन्छ  ।

गितार, ब्लू एप्रोन र देवदूत

कहिले काँ, कहिले काँ ! पुलिसको जागिर यस्तै हो । न घरको ठेगान, न घाटको ! तेरो पढाइ बिग्रने भयो । त्यसैले तँलाई अब मैले होस्टेलमा राख्ने भएँ । तँ अब बोर्डिङ स्कुलमा पढ्ने भइस् !’
रुकुमको चौरजहारी । भर्खरै मात्र ५ कक्षा उत्तीर्ण गरेको थिएँ ।
दाङको दीपेन्द्र प्रहरी आवासीय विद्यालयमा बुबाले भर्ना गरिदिनुभयो । दूरदराजको होस्टलमा बसी मैले पुनः ३, ४, ५ कक्षा उत्तीर्ण गर्नुपर्‍यो । गरें । होस्टल किड बनें ।


त्यसो त मनुष्यको मस्तिष्क झ्यालखानामैत्री नै छ । हरेक मनुष्य मस्तिष्कको झ्यालखानामा कैदी–बन्दी छ । आफू वरपरका मान्छेहरूलाई हेर्दा चाल पाउँछु ः ती अनेक आदर्श, धारणा, वाद, दर्शन इत्यादिको झ्यालखानामा जन्मकैदको सजाय पाएका अभियुक्तझैं लाग्छन् । किन्तु झ्यालखानामा पनि आँखीझ्याल त अवश्य पनि हुँदो हो, जहाँबाट जीवन–जगत्का रहस्यहरू चियाउन सकियोस् ।
खैर ! दाङको झ्यालखानामा मैले ३ वर्षको सजाय काटें ।
मेरो ५ कक्षाको दोस्रो प्रमाणपत्र अवलोकन गर्दै बुबाले एक साँझ फेरि भन्नुभयो, ‘नाथे कुमार ! आगे अध्ययनका लागि तँलाई मैले अब हेडक्वार्टर पठाउने भएँ । तँ हेडक्वार्टर जाने भइस् !’
हेडक्वार्टर अर्थात् ठूलो झ्यालखाना !
दाङको क्षेत्रीय झ्यालखानाबाट ट्रान्सफर भई म साँगाको केन्द्रीय झ्यालखानामा पुगें । र, त्यहाँ मैले ब्लू एप्रोन लगाई क्लासरुममा प्रवेश गर्ने देवदूतहरू देखें ।
अन्यथा नठान्नुहोला ! गुरुहरूलाई मैले देवदूत भनेको हुँ । ज्ञान र विद्याका देवदूत !
स्टाफ–च्याम्बरबाट जब ब्लू एप्रोन पहिरिएका देवदूतहरू हातमा चक र डस्टर बोकी फुत्तफुत्त निस्केको दृश्य देखिन्थ्यो, त्यसले मलाई निकै आनन्द दिलाउँथ्यो । उक्त देवदृश्यले मेरो मन हर्थ्यो ।
देवदूतहरूलाई ब्लू एप्रोन खुब सुहाउँथ्यो । तिनै देवदूतहरूमाझ थिए एक प्रिय देवदूत जसलाई हामी प्रेमपूर्वक गुरुङ सर भनी पुकार्थ्यौं ः गुड मर्निङ गुरुङ सर ! हाउ आर यु गुरुङ सर ? मे आई स्पिक समथिङ गुरुङ सर ? ह्याभ अ नाइस डे गुरुङ सर । थ्याङ्क यु, गुडबाई गुरुङ सर ।


उहाँको नामचैं थियो बिक्रम । बिक्रम गुरुङ । र, उहाँ अरु गुरुहरूभन्दा भिन्न हुनुहुन्थ्यो । त्यसैले मेरा अभिन्न हुनुहुन्थ्यो ।
झ्यालखानाको नयाँ वातावरण, नयाँ हावापानी र नयाँ साथीहरूमाझ म प्रायः खिन्न भइरहन्थें । घरको याद आउँथ्यो, खिन्न हुन्थें । छुटेका पुराना सखाहरूको सम्झना आउँथ्यो, खिन्न हुन्थें । झरीमा चिल्ड्रेन पार्कका झार एवं फूलहरू निथ्रुक्क भिज्थे, खिन्न हुन्थे । शिशिर याममा डर्मिटरी, चिलाउनेका रूख र घण्टाघर घना कुहिरोमा विलीन हुन्थे, खिन्न भइजान्थें ।
मसित टाइपराइटर थियो । माइक्रोस्कोप थियो । नयाँ युनिफर्म र नयाँ किताबहरू थिए । तैपनि मन खिन्न भइरहन्थ्यो । यस्तो बेला क्लासरुममा गुरुङ सर भन्नुहुन्थ्यो, ‘चिल्ड्रेन, लेट्स सिङ अ सङ ।’ त्यसपछि उहाँ भेङ्गा बोयज् ब्यान्डको लिरिक्स ब्ल्याकबोर्डमा लेख्नुहुन्थ्यो र हामीलाई नोटबुकमा सार्न लगाउनुहुन्थ्यो ।
हामी नोटबुकमा गीत सार्थ्यौं । अनि गीतमा साथ दिन भन्दै उहाँ गाउन थाल्नुहुन्थ्यो,
ऽऽऽ शालालाला इन द मर्निङ,
शालालाला इन द सनसाइन ऽऽऽ

र हामी गाउँथ्यौं
ऽऽऽ शालालाला इन द मर्निङ,
शालालाला इन द सनसाइन ऽऽऽ ।
देवदूतको मीठो आवाजसितै मेरो मन कल्पनाका नदीमा सललल बग्न थाल्यो ।

कन्ट्री रोड्स, टेक मी होम !
गुरुङ सरको पिरियड हामी अधीरतापूर्वक प्रतीक्षा गरी बस्थ्यौं । उहाँ प्रायः गितार बोकी आउनुहुन्थ्यो र हामीलाई सम्बोधन गर्नुहुन्थ्यो, ‘गुड मर्निङ चिल्ड्रेन । वी स्याल रक एन्ड रोल टुडे ।’
अंग्रेजी विषय पढाउने भएर होला, उहाँ अकसर अंग्रेजी गीत नै गाउनुहुन्थ्यो । उहाँको मोहनीमय आवाजमा हामीहरू मन्त्रमुग्ध हुन्थ्यौं । उहाँको पिरियडमा मलाई हाम्रो क्लासरुम कुनै परीकथाको गाउँमा परिणत भएको जस्तो लाग्थ्यो ।
जोन डेन्भरको ‘कन्ट्री रोड्स’ र इगल्स ब्यान्डको ‘होटल क्यालिफोर्निया’ मैले उहाँकै रुद्रघन्टीबाट निस्केको सुमधुर आवाजमा पहिलोपल्ट सुनेको हुँ । मलाई संगीतको तिर्खा जगाउने उहाँ नै हुनुहुन्थ्यो । संगीतको अनन्त सागरमा मलाई नौका बिहार गर्न प्रेरित गर्ने उहाँ नै हुनुहुन्थ्यो ।
गितारका तारहरूमा औंला चलाउँदै जब आँखा चिम्लेर उहाँ जोन डेन्भरको कन्ट्री सङ गाउनुहुन्थ्यो, तब मेरो मनमस्तिष्कमा एउटा यस्तो मान्छेको परिकल्पना आउँथ्यो जो आफ्नो घर खोज्दै यो जगत्मा यत्रतत्र भट्की हिँडेको छ ।
त्यो परिकल्पित मान्छे म नै थिइनँ र ?
गुरुङ सरलगायत प्रिन्सिपल जर्ज–जोनको घर पोखरा थियो । मेरा सबै साथीहरूको आ–आफ्नो घर थियो । चाडपर्वमा उनीहरू घर जान्थे । तर म होस्टलमा बस्थें । झ्यालखानाको आँखीझ्यालबाट कतै घर देखिई पो हाल्छ कि भनी चियाउँथें, किन्तु घर कतै देखिँदैनथियो । केवल डेरा र रैनबसेराहरू देखिइन्थे ।
अचेल पनि कतै देहात, पर्वत र जंगलका बाटोहरूमा हिँड्दा गुरुङ सरले झैं आँखा चिम्ली म ‘एकला चलो रे’ को भावमा जोन डेन्भरको गीत गाउँछु :
ऽऽऽ लाइफ इज ओल्ड दिअर
ओल्डर द्यान द ट्रिज
योङ्गर द्यान द माउन्टेन्स
ग्रोइङ लाइक अ ब्रिज ऽऽऽ
कन्ट्री रोड्स, टेक मी होम ! हु द प्लेस आई बिलङ ! जहाँ जीवन रूख र दुःखभन्दा प्राचीन छ । र, पर्वतभन्दा नवीन छ । जहाँ बतास पनि हतास–हतास चल्छ । र, मलाई कुरी बसेका लेकाली गोरेटाहरू, मेरो घर कता छ ?

गुरुमन्त्र
पहिलो गुरुमन्त्रबारे चर्चा गरौं ।
गुरुङ सरले एक दिन भन्नुभयो, ‘मानिस त्यति असल हुँदैन जति तिमीहरू देख्ने गर्छौं । र, त्यति खराब पनि हुँदैन जति तिमीहरू सोच्ने गर्छौ ।’
त्यसपछि गुरु ‘मौनं शरणं गच्छामि’ हुनुभयो । हामी भुराहरू एकार्कालाई हेरी वाल्ल पर्थ्यौं । गुरुले के भन्न खोज्नुभएको होला ? कस्तो कन्ट्राडिक्टरी गुरुमन्त्र !
गुरु सायद हामीलाई भन्न चाहनुहुन्थ्यो ः मानव देव र दाव दुवैको संयोग हो । एउटै मान्छे तिमीलाई कहिले देवतुल्य लाग्छ र कहिले दानवतुल्य । तसर्थ कसैलाई देव र दानव भनी किटान गर्ने तिमी को हौ ? तिम्रो हैसियत के हो । त्यसैले माई डियर चिल्ड्रेन ! डोन्ट बी जजमेन्ट ! दी जेन्टल !

केही समयको सन्नाटापछि ‘शब्दम शरणम् गच्छामी’ को मुडमा आएपछि गुरुङ सरले हामीहरूलाई सोध्नुभयो, ‘चिल्ड्रेन, ह्वाट डु यू वन्ना बी इन लाइफ ?’ साथीहरूले पालैपालो जीवनमा आफू के बन्ने हो, बताए । पाइलट, ब्यारिस्टर, स्पोर्ट्सम्यान, बिजनेसम्यान आदि इत्यादि । युजुअल स्टफ !
जस्तो कि वीरेन्द्र थापाले उत्साहका साथ आफू त इन्जिनियर भइन्छ भन्यो । राकेश नेपालीले फिल्मको भिलेन बन्ने आकांक्षा जाहेर गर्‍यो । विकास संग्रौला जर्नलिस्ट बन्ने भयो । अनिल कार्की, छिरिङ तोप्ला उक्याब र विकल्प पोखरेल डाक्टर बन्न चाहे । दाँत दुखेर सधैं क्लिनिक धाउने दीपक थापाचैं डेन्टिस्ट भइछाड्ने भयो ।
मेरो पालो आएपछि मैले भनें :
– आई बन्ना बी अ सिङ्गर, लाइक यु !
रियल्ली !
यस सर, रियल्ली ।
सम्पूर्ण विद्यार्थीले आ–आफ्नो जीवनको लक्ष्य बताइसकेपछि गुरुङ सरले भन्नुभयो, ‘लाइफ इज अ च्वाइस, चिल्ड्रेन । जीवन एक छनोट हो । यू ह्याभ टु रिज्वाइस योर च्याइस । बट द फर्स्ट च्वाइस इज टु बी अ गुड ह्युमन बिइङ्स । असल मनुष्य बन्नु तिमीहरूको पहिलो छनोट हुनुपर्छ । अल द बेस्ट ।’
यो दोस्रो गुरुमन्त्र थियो ।

जे होस् ! सो होस् ! अब गुरुमन्त्रलाई थाती राखी हामी अहिले के भयौं या के भएनौं भन्नेबारे थोरै
चर्चा गरौं ।
जस्तो कि गुरुङ सरकै गितार समाती गीत गाउने मेरो सपना थियो । म गायक बन्न चाहन्थें । स्कुलका विभिन्न कार्यक्रमहरूमा मैले गीत पनि गाएँ । साथी एवं गुरुहरूबाट प्रशंसित भएँ । अचेल पनि पुराना साथीहरू भेटघाटमा मसित गुनासो गर्छन्, ‘गायक बन्नुपर्ने मान्छे, तिमी त लेखक पो भएछौ ! गितार हुनुपर्ने हातमा कलम बोक्न थालेछौ । तिमी त कुमार गएगुज्रेका भएछौ ।’
म फगत फिस्स मुस्कुराउँछु ।
बचपनका ती साथीहरू गुरुङ सरको क्लासमा जे जे बन्छु भनेका थिए, सो सो भए । वीरेन्द्र थापा इन्जिनियर नै बन्यो । राकेश नेपाली भिलेन बन्छु भन्थ्यो । ऊ मैले निर्देशन गरेको तर कहिल्यै रिलिज नभएको ‘आँसु’ नामक फिल्मको भिलेन नै बन्यो । विकास संग्रौला जर्नलिस्ट त बन्यो नै, ‘पल्पसा क्याफे’ उपन्यासलाई अंग्रेजीमा ट्रान्सलेट गरेर ट्रान्सलेटर पनि भयो । ‘अनलाइक्ली स्टोरी टेलर्स’ नामक उपन्यास लेखेर नोभलिस्ट पनि भयो ।
छिरिङ तोप्ला उक्याब र अनिल कार्की डाक्टर बने ।
भनाइको तात्पर्य के मात्र हो भने बालसाथीहरूले गुरुङ सरसित वाचा गरेअनुसार आ–आफ्नो लक्ष्य हासिल गरे । मै बबुरो मात्र तोर्पेठिस निस्केछु । गोब्रेस्वाँठ भएछु !
भनिहालें, म गायक बन्न चाहन्थें । कलम होइन गितार समाउन चाहन्थें । जीवन, जगत्का गीत गाउँदै संगीतले तीर्थयात्रामा जान चाहन्थें । त्यसका निम्ति गितार पनि किनेकै हुँ । रियाज पनि गरेकै हुँ । शास्त्रीय संगीत सिक्न गएकै हुँ । राग र आलापहरूको निरन्तर अभ्यास गरेकै हुँ । स्टुडियोमा गई गीत रेकर्ड पनि गरेकै हुँ । तर जोगी–साधु–संन्यासीहरूसित संगत गरी गाँजा–भाङ–धतुरो तान्न थालेपछि र घाटहरूमा रम्न थालेपछि गायन पनि छुट्यो र गितार पनि ।
गितार समात्ने हातले हुक्का र चिलिम समात्न थालेपछि चिलिमच्वाँट हुनु थियो, सो भएँ । त्यस्तो बेला गुरुमन्त्र होस् या गायत्री मन्त्र, बालै भएन ।

इफ यू मिस द ट्रेन !
एक दिन गितारको तार कस्दै गुरुङ सरले भन्नुभयो ः
आज कसैको बर्थ डे पर्‍या छ ?
पर्‍या छ सर । कसैले भन्यो ।
कसको पर्‍या छ ?
मेरै पर्‍या छ ।
तिम्रा लागि गीत गाउँछु, ओके ?
त्यसपछि गुरुङ सरले गीत गाउन थाल्नुभयो ‘ ऽऽऽइफ यू मिट द ट्रेन आई एम गन ऽऽऽ यू विल नो द्याट आई एम गन यू क्यान हियर द ह्विसल ब्लो द हन्ड्रेड माइल्स ऽऽऽ कमन चिल्ड्रेन, सिङ विथ मी ! सिङ एभ्रिबडी !’ हामीले उहाँलाई पछ्याउँदै स्वरमा स्वर मिलाई गयौं ।
त्यो नै उहाँले गाउनुभएको अन्तिम गीत थियो । ब्लू एप्रोन लगाएका गुरुङ सर घण्टी बजेपछि गितार बोकी क्लासरुमबाट जानुभयो । र, फर्केर कहिल्यै आउनुभएन ।

मंसिरमा हुने वार्षिक परीक्षा आयो र हामीलाई तर्साएर गयो ।
त्यसलगत्तै दुईमहिने जाडो बिदामा म नेपालगन्जको राँझा गएँ । रिक्सा, टाँगा चढी बजारतिर गई भक्कु फिल्म हेरें । मीनपसासको होमवर्क सिध्याएँ । र, पुनः साझा बस चढी झ्यालखाना फर्कें ।
नयाँ क्लासरुम । केही नयाँ साथी ।
ब्लू एप्रोन पहिरिई हातमा चक र डस्टर बोकी ज्ञान एवं विद्याका देवदूतहरू स्टाफ–च्याम्बरबाट फुत्त–फुत्त निस्के । ती देवदूतहरूमाझ गुरुङ सरलाई खोजें । देखिनँ । उहाँ कहीं–कतै हुनुहुन्थेन । खिन्न भएँ ।
अंग्रेजी पिरियडमा जर्ज–जोन नयाँ गुरुलाई लिएर हाम्रो क्लासरुममा छिर्नुभयो । र, नवागन्तुकको परिचय दिँदै प्रिन्सिपलले भन्नुभयो, ‘अब तिमीहरूलाई उहाँले नै अंग्रेजी पढाउनुहुनेछ ।’ हामीमध्ये कसैले सोध्यो ः
गुरुङ सरले हामीलाई छाड्नुभा’हो ?
उहाँले तिमीहरूलाई होइन, स्कुल छाड्नुभा’हो ।
गुरुङ सर काँ जानु’भो ?
उहाँ हङकङ जानु’भो ।

मलाई अंग्रेजी क्लास नरमाइलो लाग्न थाल्यो ।
गुरुङ सरको अभाव खट्कन थाल्यो । कानमा उहाँको आवाज गुन्जन थाल्यो ः ‘इफ यू मिस द ट्रेन आई एम अन, यू विल नो द्याट आई एम गन ऽऽऽ यू क्यान हियर अ ह्विसल ब्लो अ हन्ड्रेड माइल्स ऽऽऽ’
मेरो बालमनको एकान्त प्रदेशमा बजेको ह्विसल म सुन्थें र कल्पना गर्थें त्यो ट्रेनको कुनै डिब्बामा गुरुङ सर बस्नुभएको छ । उहाँले ब्लू एप्रोन लगाउनुभएको छ । र, उहाँको हातमा गितार छ ।
यसरी गुरुङ सर मेरो जीवनबाट जानुभएको थियो । सदासदाका निम्ति ।
साह्रै न्यास्रो लाग्दा मेरी गुरुङसेनी आमालाई चिठ्ठी लेख्ने गर्थें ः मेरो फेभरेट टिचरले मलाई छाडेर जानुभयो । ट्रेनमा । ह्विसल बजाउँदै । झ्यालखानामा म एक्लो छु । आमा, उहाँ पनि तपाईंजस्तै गुरुङ हुनुहुन्थ्यो । उहाँले झैं तपाईंले चैं मलाई कहिल्यै नछाड्नुहोला ।

ब्लू एप्रोन, ट्रेन र गितार मैले गुरुङ सरलाई सम्झने विम्ब बन्यो । तर कालान्तरमा त्यो बिम्ब धूमिल हुँदै गयो । उहाँको याद मेरो मनको ब्ल्याक बोर्डबाट क्रमशः मेटिइन थाल्यो ।
हजारौं पिरियडहरू बितेर गए । समयले घन्टी बजाइरह्यो ।
झ्यालखानाको बन्दी जीवन सकियो । कलेज, विश्वविद्यालयजस्ता अरू झ्यालखानातिर आँखा डुलाउने इच्छा भएन । बरु दारुमहल, घाट, पुस्तकालय, आर्ट–ग्यालरी, तान्त्रिक गल्लीहरू मेरा पाठशाला भए । दर्शनशास्त्र, मनोविज्ञान, कलातिर रुचि बढाएँ ।
किताबहरूलाई हितैषी बनाएँ ।
नोटबुक र डायरीहरूमा कथा, कविताहरू लेखें । कतिलाई जलाएर आगो तापें त कतिलाई ‘खाली सिसी पुराना कागज’ वालाहरूलाई बेचें । र, रक्सी खाएँ ।
एकै पटक आध्यात्मिक, अराजक एवं एब्सर्ड जिन्दगी भोगचलन गर्थें । घाट र पाटीहरूमा सुत्दा यदाकदा सपनामा ट्रेन देख्थें । गितार, ब्लू एप्रोन र देवदूत देख्थें । तर ब्रह्ममुहूर्तमा ब्युझँदा बिर्सिसक्थें ।

चिहान
मलाई लाग्छ, हरेक मान्छेको मनभित्र एउटा परित्यक्त चिहान हुन्छ । जहाँ अतीतका तपसिल यादहरू पुरिएका, गाढिएका हुन्छन् । मेरो मनभित्र पनि चिहान थियो । त्यो चिहानमा एउटा देवदूत वर्षौंदेखि निदाइरहेको थियो । जसलाई –अघि नै भनियो/लेखियो– मैले बिर्सिसकेको थिएँ । एक दिन त्यो चिहानमा उक्त देवदूत बौरियो । माटो खोस्रन लाल्यो ।


माफ गर्नुहोला । मेरो भाषा अलि बढी नै काव्यमय हुन गएजस्तो छ । कस्मेटिकल्ली मेटाफोरिक भएजस्तो छ । भन्न मन लागेको कुरालाई यसरी सहज पाराले राखूँ क्यारे ! यसरी ः एक दिन गायक अरुण थापाबारे कुनै पत्रिकामा आलेख पढिरहेको थिएँ । त्यसमा दुई गीत –‘भुलूँ भुलूँ लाग्यो मलाई’ र ‘आँखाको निद खोसी लाने’– बारे एक ठाउँमा चर्चा गरिएको थियो जसको गीतकार एवं संगीतकारको नाम पनि बकाइदाका साथ उल्लेख गरिएको थियो ः विक्रम गुरुङ ।
म झस्कें । केही बेर घोरिएँ ।


यी दुई मेरा प्रिय गीत थिए जसलाई मैले धेरैपटक गाएको थिएँ एकान्तमा, गल्ली र घाटहरूमा । तर विक्रम गुरुङ ? के यी गीतका रचयिता तिनै देवदूत थिए जो मेरा मनको चिहानमा माटो खोस्रिरहेका थिए ? म सशंकित भएँ । अन्योलमा परें ।
एक मनले भन्थ्यो ः ती गीतका सर्जक मेरै गुरु हुनुपर्छ । र, अर्को मनले भन्थ्यो ः होइन होला । विक्रम गुरुङ नाम गरेका मानिस कैयौं छन् । फेरि पनि वर्षहरू बितेर गए । समयले घण्टी बजाइरह्यो । मनको चिहानमा ब्युँझन बौरिन खोजेको देवदूत कोल्टो फेरेर फेरि निदायो ।

फोसिल समय
मेरो दोस्रो कथासंग्रह ‘फोसिल’ को विमोचन हुने दिन । पब्लिकेसन नेपालयको वातानुकूलित आरशाला कक्ष । जहाँ गायक आभास ‘पलेंटी शृंखला’ नामक सांगीतिक कार्यक्रम चलाउँछन् । दिनमा किताब विमोचन भयो, रातमा ककटेल पार्टी । रुफटपमा । आकाशमा ताराहरू । महफिल–ए–ग्यादरिङमा दारुमस्त सिताराहरू ।
म एउटा कर्नरमा नेपथ्य–गायक अमृत गुरुङसित साधु–गुफ्तगुमा चुर्लुम्म डुबेको थिएँ । कुरैकुरामा उनले मलाई सोधे, ‘तपाईंको किताब विमोचन भएको यो साँझ कुनै गुरुलाई सम्झनुपर्‍यो भने कसलाई सम्झनुहुन्छ ?’ मैले ‘गुरुङ सर’ भनें ।
‘गुरुङ त म पनि गुरुङ नै हुँ । तर म सर होइन क्यारे !’ उनले भने । ‘तपाईंका गुरुङ सरको नामचाहिँ के हो नि ?’
विक्रम गुरुङ । –मैले भनें ।
विक्रम गुरुङ ? उनी केही दच्किए ।
हो विक्रम गुरुङ । मेरो इंग्लिस टिचर ।
उहाँले तपाईंलाई कहाँ, कैले पढाउनुभयो ?
सिक्स क्लासमा । पुलिस स्कुलमा ।
त्यसपछि अमृत गुरुङसित मैले गितार, ब्लू एप्रोन र देवदूतबारे चर्चा गरें । जतिन्जेल म कुरा गर्दै गएँ, त्यति–त्यति उनी मलाई घोर आश्चर्य एवं शंकामिश्रित नजरले हेर्न थाले ।


जब मैले अरुण थापाको दुई गीतको प्रसंग निकाल्दै ती गीत लेख्ने र म्युजिक भर्ने मेरै गुरु हुन् कि होइनन्, अन्योलमा छु भनी बताएँ, तब उनले केही सोचमग्न हुँदै भने ः
गुरुको अनुहार कत्तिको सम्झन सक्नुहुन्छ ?
धमिलो मात्र ।
तस्बिर देखाए चिन्न सक्नुहुन्छ ?
चिन्छु । किन नचिन्नु ?
गुरुङले मलाई लगभग तानेर अर्को कर्नरमा पुर्‍याए जहाँ नेपालयका किरणकृष्ण श्रेष्ठ आफ्ना साथीहरू बसी पार्टीको आनन्द लिइरहेका थिए । अर्को सेलफोनमा फोटो ग्यालेरी खोल्न लगाउँदै नेपथ्य–गायकले भने, ‘लौ, कुमारजीलाई उहाँले गुरुसित भेट गराइदिनुपर्‍यो ।’ किरणकृष्ण वाल्ल परे । सबै ‘को गुरु ?’


२६ वर्षपछि मैले मेरा गुरुलाई भेटें । किरणकृष्ण श्रेष्ठको सेलफोन–ग्यालरीमा ।
देवदूतको अनुहार त्यति फेरिएको रहेनछ । क्लिन सेभ्ड हुनुहुन्थ्यो, त्यस्तै हुनुहुँदो रहेछ । केवल कपाल फुलेछ । ग्रेसफुल्ली बूढो हुनुभएछ । हङकङमै हुनुहुँदो रहेछ । त्यहीं आफ्नो जीवनको क्रिम उमेर ढिलाउनुभएछ । नेपाल आउँदा काठमान्डुमा अमृत गुरुङलाई भेट्नुहुनुहुँदो रहेछ । र, पोखरामा पुराना साथीहरू सरुभक्त र तीर्थ श्रेष्ठहरूलाई भेटघाट गर्न मन पराउनुहुँदो रहेछ ।
अरुण थापा त अल्पायुमै बितरे गइहाले । गुरुङ सर तिनै दिवंगत साथीको यादमा गितारका तार सुमसुमाउँदै घण्टौं पनि गुनगुनाउनुहुनुहुँदो रहेछ ः
‘ऽऽऽ कसरी भन्नु मैले जीवन हो घामपानी/बित्नलाई बितिदिन्छ एकाहोरो जिन्दगानी ऽऽऽ कसैलाई हाँसो धेरै/कसैलाई आँसु धेरै ऽऽऽ एकनास छैन हो, सम्झे अनौठो कहानी ऽऽऽ’
‘फोसिल’ विमोचनको केही दिनपश्चात् ‘साप्ताहिक’ पत्रिकामा अमृत गुरुङको तस्बिर छापियो ः फ्राइडे फेसअन्तर्गत । तस्बिरमा उनी ‘फोसिल’ पढिरहेका थिए । क्याप्सनमा लेखिएको थियो ः अमृत गुरुङ प्लेनमा नगरकोटीको ‘फोसिल’ पढ्दै ।
त्यसको केही महिनापछि एउटा भेटमा अमृत गुरुङलाई सोधें, ‘प्लेनमा ‘फोसिल’ पढी तपाईं कता जाँदै हुनुहुन्थ्यो ?’ उनले भने, ‘हङकङ ।’ अनि मुस्कुराउँदै थपे, ‘मैले ‘फोसिल’ तपाईंको गुरुलाई उपहार दिएँ । उहाँ निकै खुसी हुनुभयो । उहाँले ममार्फत, तपाईंलाई आशीर्वाद पठाउनुभएको छ ।’
अमृत गुरुङलाई घर्लप्प अँगालो हाली मैले उनको कानमा भनें, ‘थ्याङ्क यू सो मच, माई फ्रेन्ड । तपाईंलाई जुनीभरको धन्यवाद ।’


यसरी गुरुङ सरसित मेरो भावात्मक सम्पर्क भएको थियो । अमृत गुरुङ हाम्रो सम्पर्क सेतु बनेका थिए । यद्यपि गुरुङ सरसित मेरो अझै पनि भौतिक भेटघाटचाहिँ भएको छैन । उहाँ अचेल हङकङमै हुनुहुन्छ । झ्यालखानाको मेरो बाल्यकाललाई गीत सुनाएर सेलिब्रेट गर्ने, हातमा गितार अनि देहमा ब्लू एप्रोन पहिरिने देवदूत अवकाशको जीवन बिताइरहनुभएको छ ।
केही दिनअघि गुरुङ सरबारे उनका बाल्यकालीन साथी र हामी सबैका प्रिय लेखक सरुभक्तसित केही जिज्ञासा राखेको थिएँ । टेलिफोनमा । यो स्मृति–लेखका बाँकी हरफ र अनुच्छेदहरू अब उहाँले नै न्यारेट गर्नुहुनेछ । उहाँकै शब्दमा ।
तपाईं सरुभक्त दाइलाई सुन्नुस् । मस्तसित । म भने यहीं अस्त हुन्छु ।

सरुभक्त उवाच
विक्रम गुरुङ मेरो बाल्यकालदेखिको साथी हो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा हामीले ५ कक्षादेखि सँगै पढेका हौं । सँगै एसएलसी दिएका हौं । कलेज जीवन पनि सँगसँगै बितायौं । त्रिभुवन विश्वविद्यालयमा सँगै स्नातकोत्तर पढ्यौं । एउटै रुम सेयर गर्‍यौं ।
हेलो, कुमार भाइ ! सुन्दै हुनुहुन्छ ? मेरो बोली बुझिन्छ ? तपाईंको फोन आउँदा गाडीमा थिएँ । अहिले ओर्लेको छु । यता नेटवर्क पनि खराब छ ।
विक्रम तपाईंको इंग्लिस टिचर रहेछ । जान्न पाउँदा मलाई खुसी लागेको छ । उसले तपाईंलाई कति क्लासमा पो पढाएको थियो रे !
यो चवालीस सालतिरको कुरा होजस्तो लाग्छ । आजकल मिति, साल ठम्याउन मलाई गाह्रै पर्छ । जे होस्, मास्टर्सको अध्ययन सकिएपछि हामी आ–आफ्नो बाटो लाग्यौं । ऊ इंग्लिस टिचर बनेर पुलिस स्कुल गयौ । उसले त्यहाँ तपाईंलाई भेट्यो ।


म भने कवि, प्रेमी र पागल बन्न जियोलजी, दर्शनशास्त्र, विज्ञान र साहित्यको संसारमा गएँ । मैले आफूलाई त्यहाँ भेटें ।
वास्तवमा मलाई गीतकार बनाउने विक्रम गुरुङ नै हो । मेरो ६० वटा गीतहरूको संग्रह ‘मनभरि माटोभरि’ छापिदिने पनि ऊ नै हो । आज म गीतकारको हैसियतमा जे जस्तो छु, यो विक्रमकै देन हो । उसको प्रेरणा र हौसला नहुँदो हो त मैले सायदै कुनै गीत लेख्थें ।
हेलो, सुन्दै हुनुहुन्छ ?
ऊ ज्यादै सुन्दर गीतहरू रच्थ्यो । गितारका तारहरूबाट हृदयस्पर्शी धुनहरू निकाल्थ्यो । उसको आवाजमा जादुई आकर्षण थियो । तर के गर्नु ? सार्वजनिक रूपमा उसले धेरै गाएन । गीत लेखन र म्युजिक कम्पोजमा नै ऊ बढी रमायो ।
तपाईंले मैले रचेको ‘कुरूप अनुहार’ बोलको गीत सुन्नुभएको छ । जसलाई अमृत गुरुङले गाएका छन् । त्यसको कम्पोजर विक्रम नै हो । युट्युबमा पाइएला । सुन्नुस् न !
ऊ र म मिलेर पाँच/पाँचवटा गीतको संयुक्त एल्बम निकाल्ने हाम्रो योजना छ । एल्बमको नाम पनि जुरिसकेको छ, ‘एक युगपछि’ । उसको र मेरो मित्रता पनि त युगौं भयो । त्यो एल्बम हाम्रो मित्रताको अर्काइभ हुनेछ । हेरौं, के हुन्छ ? ऊ उता हङकङमा छ, म छु यता पोखरामा ।
तपाईंले ‘हङकङ पोखरा’ बोलको गीत त अवश्य पनि सुन्नुभएको होला ! जसलाई ‘कन्दरा’ ब्यान्डका प्यारा भाइ विवेक श्रेष्ठले गाएका छन् । वास्तवमा त्यो गीत मैले विक्रमकै असीम सम्झनामा लेखेको हुँ । पञ्चासेको एउटा लजमा । जहाँ म, कवि तीर्थ श्रेष्ठ र विक्रम प्रायः जाने गर्थ्यौं । त्यो लजमा हामीले सुन्दर पल–क्षण बिताएका छौं ।
उक्त गीतमा एउटा अन्तरा यस्तो छ ः ‘ऽऽऽ बिदेसिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा ऽऽऽ ।’ यी पंक्तिमा मेरो त्यही साथीका याद र स्मृतिहरू लुकेका छन्, जसको कर्ममा बिदेसिनु लेखिएको थियो ।
हेलो, सुन्दै त हुनुहुन्छ नि !
पोखरामा मञ्चन भएको मेरो पहिलो नाटक ‘डढेलोले खाएको वन’ मा संगीत कम्पोज गर्ने विक्रम नै थियो । त्यो नाटकमा त उसले अभिनयसमेत गरेको थियो ।


कहिलेकाहीँ लाग्छ, उसले यसरी गुमसुम, अज्ञात र अपरिचित भई बस्नुहुने थिएन । ऊ आफैंले धेरै गीत गाएन । बरु अरुण थापालाई गाउन सधैं प्रेरित गरिरह्यो । उसले अरुण थापाकै लागि ‘आँखाको निद खोसी लाने’ र ‘भुलूँ भुलूँ लाग्यो मलाई’ जस्ता कालजयी गीत लेख्यो मात्र होइन, ती गीतमा संगीत पनि भरिदियो ।
वास्तवमा गुमनाम अरुण थापालाई ‘द अरुण थापा’ बनाउनमा विक्रमको ठूलो योगदान छ । यो कुरा संसारलाई कमै मात्र थाहा छ । विक्रमको साथ, माया र हौसला नपाएको भए अरुण थापाका जति पनि अमर गीतहरू छन्, ती हामीले पाउने थिएनौं । तर विक्रम हङकङ गयो । यता अरुण थापाको कस्तो दारुण मृत्यु भयो, हामी सबैलाई थाहा छँदैछ । यी सब प्रसंगमा म कुनै दिन मेमोयर लेख्नेछु सायद ।
विक्रम साह्रै जीवन्त मान्छे हो । ज्यादै सहयोगी, मायालु र मिलनसार । म उसको आत्मालाई चिन्छु । त्यसैले त म उसको आत्मीय साथी हुँ । थिएँ र सदा रहनेछु । त्यस्तो साथी जीवनमा मुस्किलले पाइन्छ । उसको आत्मा गीतको डेरा हो । संगीतको रैन बसेरा हो ।
अब त ऊ बूढो भैसकेको छ । म पनि त कहाँ तन्नेरी रहें ? हामीले सँगसँगै बचपन बिताएका थियौं । बरु बुढ्यौली पनि सँगसँगै बिताउने इच्छा छ । म तिनै बुढ्यौली दिनहरू पर्खी बसेको छु ।
हेलो, सुन्दै हुनुहुन्छ ?

प्रकाशित : असार ७, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?