कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आत्मकथा : कति प्रासंगिक !

कुमार शर्मा

लेखक कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’ मा दुई पात्रहरू ‘टेलिफोन’ यानिकी निशाचर लेडी र ‘टाइपराइटर’ यानिकी दिवंगत बुढाथोकीबीचको एउटा संवाद छ  । एक प्रसंगमा पात्र निशाचर लेडी भन्छिन्, ‘जीवनीलाई एउटा ज्यादै निम्नकोटिको बदनाम नाम दिइएको हुन्छ, आत्मकथा  ।

आत्मकथा : कति प्रासंगिक !

लेडी थप्छिन् ‘जीवनीलाई सर्वप्रथम कुनचाहिं स्वाँठले आत्मकथाको नाम दियो, त्यसको त म हत्या गर्न चाहन्थें । आत्माको अस्तित्वबारे जसलाई छेउटुप्पाको कुनै सामान्यज्ञान नै छैन, त्यसले कसरी आत्मकथा लेख्न सक्छ ?


‘आत्माले कसरी कथा लेख्दो हो ?’
माथिका वाक्यहरू नगरकोटीको एक पात्रले उपन्यासमा बोले पनि हामी पाठकमध्य जो कोहीले पनि नगरकोटीलाई पढेका छौं, उनलाई केही नजिकबाट बुझ्ने प्रयत्न गरेका छौं, खास कठिनाइबिना नै हामी भन्न सक्छौं कि माथिको धारणा धेरैहदसम्म नगरकोटी आफैंको हो । पात्रलाई त उनले केवल आवाज दिएका हुन् । भावना उनको आफ्नै हो ।
विसं २०७२ भदौमा ‘मिस्टिका’ बजारमा आयो । त्यसको ठीक दुई वर्षपछि २०७४ भदौमै आयो ‘दोचा’, अ कुमार नगरकोटी मेमोयर । मेमोयर, संस्मरण जे भने पनि हो त यो आत्मकथा नै । आखिर यो दुई वर्षमा त्यस्तो के भयो, आत्मकथालाई निम्नकोटीको दर्जा दिने नगरकोटी स्वयम् आफैं एउटा मेमोयर लेख्न पुगे ?

आत्मकथा किन लेखिन्छन् या तिनको लेखनपछाडि लेखकको के उद्देश्य हुन्छ, यो मूल बहसको विषय होइन । अरूले जस्तै लेखकहरूले पनि आफ्नो लेखनमा स्वविवेक प्रयोग गर्छन् । आत्मकथा लेखन पनि साहित्यिक सिर्जनशीलताको एउटा अभ्यास हो । तर आत्मकथालाई लिएर पाठकहरूमाझ अलि बेग्लै किसिमका अपेक्षा हुन्छन् ।उदाहरणका लागि कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठका आत्मकथा केही समयअघि बजारमा आए । समाजका यस्ता व्यक्तित्वको, जसको मूल पेसा लेखन होइन तर आफ्नो क्षेत्रमा एउटा अलग पहिचान बनाएका, आत्मकथामा पाठकको अपेक्षा उनीहरूले जीवनमा गरेका संघर्ष, झेल्नुपरेका उतारचढाव र समग्रमा उनीहरूको जीवन कथाबारे थाहा पाउनु हुन्छ । उनीहरूको बारेमा थप जान्ने ध्येय हुन्छ । यस्ता आत्मकथाको हकमा पुस्तकमा प्रयोग गरिएको भाषा, लेखनशैली, विषयवस्तुको प्रस्तुति आदि कुरा गौण भइदिन्छन् । तर यदि आत्मकथा लेख्ने मान्छे आफैं एक व्यावसायिक लेखक पनि हो भने त्यहाँ पाठकहरूको अपेक्षा केही बढेर जान्छ । भाषा, लेखनशैली, प्रस्तुति अब गौण हैन, झन् महत्त्वपूर्ण हुन जान्छन् ।


कुनै पनि एउटा लेखकका सिर्जनात्मक कृतिहरूलाई समष्टिगत रूपले बृहत् दृष्टिबाट हेर्ने, अध्ययन गर्ने हो भने त्यसबाट लेखकको बारेमा हामीले एउटा मोटामोटी चित्र बनाउन सक्छौं । आख्यान नै सही, त्यसमा सर्जकले खडा गरेका पात्रहरू, उनीहरूको औपन्यासिक चित्रण, उनीहरूले बोल्ने संवाद, त्यहाँ देखाइएको समाज र परिवेश—यी सब कुराहरूले प्रत्यक्ष या परोक्ष रूपमा लेखकबारे केही इंगित गरिरहेको हुन्छ । लेखकले बाँचेको समाज र उसले देखेको बृहत् जगत्, समाज र जीवनप्रतिको उसको धारणा, उसको चिन्तन, उसको आग्रह—यी सबै तत्त्वहरू कुनै न कुनै रूपमा उक्त लेखकको सिर्जनामा हामी भेट्न सक्छौं ।

प्रख्यात कोलम्बियन लेखक ग्याब्रियल गार्सिया मार्खेजको पहिलो कृति ‘लिफ स्ट्रोम’ (१९५५) देखि सुप्रसिद्ध कृति ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ (१९६७) हुँदै ‘अफ लभ एन्ड अदर डिमन्स’ (१९९४) सम्म आइपुग्दासम्म मार्खेजको बारेमा पाठकहरूको मनमा एउटा सबल चित्र बनिसकेको हुन्छ । आफूले बाँचेको समाजको मात्र होइन, समग्रमा पूरा दक्षिण अमेरिकी महादेशको वर्तमान र इतिहासमाथिको चिन्तन, सुन्दा र पढ्दा अनौठो लाग्ने ‘म्याजिक रियालिज्म’ मार्फत सिंगो महादेशको मानव सभ्यताको झल्को दिने विम्ब, आफ्ना पात्रहरू मार्फत सम्पूर्ण समाजको (खासगरी ल्याटिन अमेरिकी) मनोदशाको चित्रण–मार्खेजलाई पढ्ने क्रममा भेटिने यी सबै विवरणहरूले उपन्यासको मूल कथासँगै एउटा अर्को समानान्तर कथा पनि भनिरहेको हुन्छ । मार्खेजको कथा । उनको भित्री आत्माको कथा जुन उनका हरेक उपन्यासहरूमा पत्रपत्र गरेर उजागर हुँदै जान्छ ।
सन् २००२ मा मार्खेजको आत्मकथा ‘लिभिङ टु टेल द टेल’ बजारमा आउनु पाठकका लागि धेरै हदसम्म प्राविधिक कुरा मात्र रह्यो । एक साहित्यिक अंकजस्तो । किनभने त्यतिन्जेलसम्म मार्खेजले आफ्नो आत्माको कथा भनिसकेका थिए, आफ्ना उपन्यासहरू मार्फत । विगत चार दशकदेखि निरन्तर उपन्यास लेखिरहेका टर्कीका सुप्रसिद्ध लेखक ओर्हान पामुकले आफ्नो आत्मकथा अझै लेख्न बाँकी छ । तर उनका ‘माई नेम इज रेड’, ‘स्नो’ तथा ‘अ स्ट्रेन्जनेस इन माई माइन्ड’ जस्ता केही प्रतिनिधि पुस्तक पढेका गम्भीर पाठकहरूले पामुकको भित्री चिन्तनको भेउ पाइसकेका हुन्छन् । आधुनिक टर्कीको इतिहास तथा संस्कृति र खासगरेर इस्तानबुल सहरलाई केन्द्रमा राखेर कथा मार्फत गरिएको मन्थनले पामुकको एउटा कथा भनिरहेको हुन्छ । मानौं पामुकको हरेक उपन्यास उनको बृहत् आत्मकथाको एक च्याप्टर हो । यदि भविष्यमा उनले आत्मकथा नै लेख्ने निर्णय गरेछन् भने पनि उनले आफ्नो कथा भने भनिसकेका हुनेछन् । उनका तमाम उपन्यास त्यसको साक्षी हुनेछ ।

त्यसो भए के आत्मकथा लेखन, विशेषगरी आख्यानकारहरूको हकमा, अप्रासंगिक नै हो त ? यसको सोझो उत्तर भने छैन । धेरै साहित्यकारहरूले कुनै एक निश्चित विषयमा केन्द्रित भएर या जीवनको कुनै एक कालखण्डको बारेमा मात्रै ध्यानमा राखेर पनि आत्मकथा लेखेका छन् । जीवनको सुरुआतदेखि वर्तमान अवस्थासम्मको यात्राबारे बेस्वादिलो वर्णनभन्दा कुनै एक कुरामा केन्द्रित भएर लेखिएका संस्मरण सायद पाठकका लागि बढी रुचिकर हुन्छन् । हाम्रै नेपाली साहित्यबाट उदाहरण लिऊँ । आख्यानकार नयनराज पाण्डेको संस्मरण ‘यार’ । यसमा पाण्डेले जिन्दगी जिउने क्रममा जोडिन र छुट्टिन पुगेका यारहरू र उनीहरूसँगको दोस्तीका किस्साहरूलाई मात्र केलाएका छन्, आफ्नो जीवनको सांगोपांगो व्याख्या गरेका छैनन् । ‘यार’ पाठकहरूबीच प्रिय रहनुको मूल कारक तत्त्व पनि सायद यही हो ।


यारमा केवल दोस्तीयारीको बारेमा मात्र चर्चा गरे पनि आफ्नो समाज, विशेषगरी समग्र मधेसप्रतिको चिन्तन, त्यस क्षेत्र तथा त्यहाँ बसोबास गर्ने मानिसको जीवनमा सामाजिक र राजनीतिक परिस्थितिले पार्ने असरबारे प्रकाशपूर्ण चित्रण— हामीले उनका अघिल्ला उपन्यासहरूमा यी तत्त्वहरू भेट्न सक्छौं । पाण्डेको संस्मरण ‘यार’ पढेर जति हामी उनीबारे बुझ्न सक्छौं, त्यति नै या त्योभन्दा बढी हामी बुझ्न सक्छौं उनका ‘उलार’ र ‘लू’ जस्ता उपन्यास पढेर । र दोस्रो बुझाइ पहिलोभन्दा गम्भीर र दीर्घकालीन हुने सम्भावनालाई कुनै हालतमा नकार्न सकिंदैन ।

केही समयअघि अर्को एउटा संस्मरण पनि बजारमा आयो । लामो समय नेपाली टेलिफिल्म र सिनेमाको संसारमा काम गरेका कलाकार तथा लेखक ब्रजेश खनालको संस्मरण ‘साइड हिरो’ । आफ्नो संस्मरणमा टेलिफिल्म र ठूलो पर्दाको संसारमा तीन दशक लामो अनुभवको बारेमा लेखकले चर्चा त गरेका छन् तर नेपाली टेलिफिल्म र सिनेमाको संसारबारे बृहत् चिन्तन गर्नबाट भने चुकेका छन् । मुख्य नायक बन्ने सपना बोकेर आएको एक कलाकार कसरी कालान्तरमा एउटा साइड हिरोको रूपमा मात्र सीमित हुन पुग्यो— ब्रजेशको पुस्तक यसैको विस्तृत स्पष्टीकरण हो ।


कलाकारका साथसाथै लेखक तथा आख्यानकार पनि भएको नाताले ब्रजेशको संस्मरणमा भाषा, शैली र प्रस्तुतिको हकमा पनि पाठकहरूलाई पृथकताको अपेक्षा हुनु स्वाभाविक कुरा हो । तर संस्मरण लेखकको बाल्यकालबाट ‘क्रोनोलोजिकल’ तरिकाले मात्र अगाडि बढ्छ, सामान्य शैली तथा प्रस्तुतिका साथ । संस्मरणमा नेपाली सिने संसारको बारेमा कलाकार ब्रजेशको गम्भीर ‘इन्साइट’, ‘रिफ्लेक्सन’ भेटिंदैन । पुस्तक साइड हिरोमा सीमित हुनुपरेको कुण्ठाको वरिपरि घुमिरहन्छ । पुस्तक पढिसकेर पाठकले उनीमाथि सहानुभूति देखाउनु एउटा कुरा तर संस्मरणको उद्देश्य नै पाठकबाट सहानुभूति बटुल्न खोज्नु अलग कुरा हो ।


भारतीय सिनेमा तथा नाटकका चर्चित अभिनेता नसिरुद्दीन शाहले आफ्नो मेमोयर ‘एन्ड देन वान डे’ मा सुरुआतका संघर्षकालीन समयसम्म मात्रको चर्चा गरेका छन् । उक्त संस्मरणमा शाहले बाल्यकालको कुरा गरेका छन्, नेसनल स्कुल अफ ड्रामामा अध्ययन गर्दाको आफ्नो अनुभवको कुरा गरेका छन्, पिता र पतिको रूपमा आफूबाट भएको गम्भीर त्रुटिको कुरा गरेका छन्, तर पछिका वर्षमा आफूले पाएको सफलताको कुरा भने गरेका छैनन् । धेरैलाई यस कुराले अचम्म पनि पार्‍यो । शाहको मान्यता थियो, ‘मेरो सफलताको कथा त मिडियाले धेरैचोटि सुनाइसकेको छ । धेरैलाई थाहा भैसकेको छ । यही कुरा मैले फेरि आफ्नो संस्मरणमा लेखें भने त्यसमा केही नयाँ रहँदैन । यसर्थ, आफ्नो आत्मकथामा म संघर्षको कुरा गर्न चाहन्थें, व्यक्तिगत जीवनमा भएका केही गल्तीहरूबारे कुरा गर्न चाहन्थें जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।’


साहित्यको बृहत् संसारमा केही अलग तरिकाले पनि संस्मरणहरू लेखिएका छन् । अहिले अस्ट्रेलियाको एडिलेड सहरमा बसोबास गर्ने दक्षिण अफ्रिकी लेखक जोन म्याक्सवेल (जेएम) कोइत्जेले तीन पुस्तक ट्रिलोजीको रूपमा लेखेका छन् । ‘बोयहुड’, ‘युथ’ र ‘समरटाइम’ लाई फिक्सनलाइज्ड मेमोयरको रूपमा वर्गीकरण गरिएको छ । मतलब उनले आफ्नो जिन्दगीको विभिन्न कालखण्डलाई प्रतिनिधित्व गर्ने गरी संस्मरण लेखेका छन्, आख्यानको शैलीमा । झट्ट पढ्दा यी पुस्तक आख्यानजस्ता लाग्छन्, तर यिनका पात्र र परिवेशहरू लेखकले आफ्नै जीवनबाट लिएका छन् । दुई पटकको बुकर विजेता तथा साहित्यतर्फको नोबेल पुरस्कार पनि पाइसकेका कोइत्जेलाई परम्परागत शैलीमा आफ्नो संस्मरण लेख्ने सुविधा पक्कै थियो । तर उनले आख्यान शैलीमा आफ्नो संस्मरण लेखे । र यही पृथक् प्रस्तुतिको कारण उनको फिक्सनलाइज्ड मेमोयरको ट्रिलोजी अरू परम्परागत शैलीमा लेखिएका संस्मरणहरूभन्दा बढी रोचक र रसिक छन् ।


कोइत्जेका संस्मरणहरूमा हामी उनका बाल्यावस्था, किशोरावस्था तथा युवावस्थाका विभिन्न पहलुहरूका चर्चा भेट्छौं । अलि गहिरिएर अध्ययन गर्ने हो भने दक्षिण अफ्रिकाको रंगभेद नीति, त्यसले बर्षौंसम्म त्यहाँको समाजमा पारेको असर र जनताबीच ल्याएको फाटो र रंगभेदको अन्त्यसँगै त्यहाँको समाजमा आएको क्रमिक परिवर्तनबारे लेखकको गम्भीर धारणा र चिन्तन कोइत्जेका संस्मरणमा भन्दा बढी उनका उपन्यासहरूमा पाउँछौं । ‘लाइफ एन्ड टाइम्स अफ माइकल के’ र ‘डिस्ग्रेस’ उपन्यास यसका उदाहरण हुन् । दुवै उपन्यास बुकर पुरस्कारले सुसज्जित छन् ।

‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ मा बीपीले
आफ्नो जेल जीवन र राजनीतिक जीवनका अनेकन उतारचढावको चर्चा गरेका छन् । नेपालको तत्कालीन राजनीतिक तथा सामाजिक अवस्थाबारे चिन्तन गरेका छन् । बीपीका संस्मरणहरूले बीपीबारे धेरै कुरा बताउँछन् । तर के उनका उपन्यास र कथाहरूले उनीबारे कम बताउँछन् ? समाजवाद बीपीको राजनीतिक सिद्धान्त थियो तर करिब करिब उनका हरेक उपन्यासमा हामी समाजवादका छिटा पाउँछौं । प्रजातन्त्रसँगै नेपालको बदलिंदो समाजप्रति उनको धारणा, उनको प्रगतिशील सोच, महिला सशक्तीकरणको विषयमा उनको विचार र समग्रमा उनको समाजवादको अवधारणा— यी सबै तत्त्वहरू हामी उनको उपन्यास ‘तीन घुम्ती’ मा पाउन सक्छौं । उपन्यासमा इन्द्रमायाको कथा छ । तर इन्द्रमायाको कथा पढ्ने क्रममा बीपीको गहिरो चिन्तन पनि हामी संगै भेट्छौं । ’तीन घुम्ती’ एउटा प्रतिनिधि उदाहरण मात्र हो । तर यही कुरा हामी उनका हरेक कथा, उपन्यासमा भेट्न सक्छौं ।


कुनै एक लेखकको जन्म कहाँ, कहिले भयो, उनको प्रारम्भिक शिक्षा कस्तो रह्यो, लेखन यात्रामा के कस्ता कुराको प्रभाव रह्यो— यी लेखकका व्यक्तिगत विवरण हुन् । कुनै पाठक विशेषलाई लेखकका यस्ता ‘सूचनामूलक’ विवरणको पनि छुट्टै अर्थ रहला तर यस्ता सूचनाहरूले पाठकको बृहत् सोचाइलाई ‘इनलाइटन’ गर्दैन, गर्ने क्षमता राख्दैन । अफगानिस्तानको नाम मात्र सुनेको, उक्त देशको बारेमा अरू खास केही थाहा नभएको, एकचोटि ‘गुगल’ पनि नगरेको पाठकले यदि अफगान–अमेरिकन लेखक खालेद होसेनीका तीन उपन्यास ‘द काइट रनर’, ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’ र ‘एन्ड द माउनटेन्स एकोड’ पढ्यो भने तेस्रो पुस्तक पढेर सकिंदासम्म उसलाई अफगानिस्तानको बारेमा धेरै कुरा थाहा भैसकेको हुन्छ । सन् ७० को दशकमा तत्कालीन सोभियत संघले अफगानिस्तानमा गरेको सैनिक आक्रमणसँगै त्यहाँ आएको परिवर्तन, तालिवान हुँदै अहिलेको आधुनिक अफगानिस्तानसम्म आइपुग्दा समाज र राजनीतिमा आएको परिवर्तन, लामो गृहयुद्धले समाज र मानिसमा पारेको असर— यी कुराहरूबारे पाठक जानकार भैसकेको हुन्छ ।


उपन्यासमा हामी पात्र भेट्छौं, तिनका परिवेश र संवाद भेट्छौं । कथा र उपकथा भेट्छौं । लेखकलाई भने कथा सुनाउने न्यारेटरको रूपमा भेट्छौं । कतै पृष्ठभूमिमा बसेर उनी आवाज दिइरहेका हुन्छन् । तर सायद लेखक स्वयम् भने बिर्सिन्छन् कि अरूका कथा सुनाउँदा सुनाउँदै उनीहरूले आफूलाई पनि रित्याइरहेका हुन्छन् । आफ्नो आत्माको कथा बताईरहेका हुन्छन्, क्रमश ।


संसारका हरेक कुनाका लेखक, कलाकार तथा समाजका अन्य व्यक्तित्वलाई पाठकका सामु आफ्नो कथा भन्ने चाहना हुनु कुनै नौलो कुरा होइन । आफ्नो आत्मकथा कसरी प्रस्तुत गर्ने भन्ने कुरा उनीहरूको व्यक्तिगत चाहनाका साथै क्षमताको पनि कुरा होला । तर प्रश्न फेरि पनि उठ्छ, खासगरी आख्यानकारहरूको हकमा । एक आख्यान लेखक जो निरन्तर आफ्ना कथा, उपन्यासहरूमा पोखिइरहेको हुन्छ, जसको चिन्तन र जीवन दृष्टिकोण उपन्यासको पत्रपत्रमा भेटिन्छ, जसले आफ्नो गम्भीर विचार पात्र र कथाको मध्यमबाट भनिरहेको हुन्छ, त्यस्तो फिक्सन राइटरको हकमा आत्मकथा कति प्रासंगिक, कति अप्रासंगिक ?

कुमार शर्मा

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?