२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लेन्समा लिमी

गोरख विष्ट

म हुम्लाकै स्थानीय भए पनि माथिल्लो हुम्लाका लागि भने एक पर्यटकजस्तै हुँ  । म पहिलो पटक २०११ मा ग्रेट हिमालय ट्रेलको एउटा फामट्रिपमा लिमी पुगेको थिएँ  ।

लेन्समा लिमी

त्यतिबेला मैले लिमीबारे केही जान्ने ब्झ्नुे अवसर पाएँ । समय अभावका कारण नेपालबाटै मानसरोवर र कैलाश पर्वत देख्न सकिने ठाउँ लिमीको लाप्चा जान सकेनौं । लिमीको ल्यान्डस्केप हेरे पनि यहाँको संस्कृतिबारे बुझ्न नपाएकाले मलाई फेरि लिमी कहिले जान पाइएला भन्ने मनमा खेल्न थालेको थियो । लिमी उपत्यका एक रहस्यमयी ठाउँ रहेछ । जति जान्यो त्यति जान्न र जति हेर्‍यो त्यति हेर्न मन लाग्ने !


एक दशकपहिलेसम्म पनि हुम्ला एउटा सामान्य गन्तव्य मात्र थियो । केही पश्चिमा पर्यटकहरू लिमी र कैलाश मानसरोवर जानका लागि हुम्ला आउने आउँथे । पछिल्ला वर्षमा भने यो पर्यटकीय हिसाबले हटकेकका रूपमा विकसित भइरहेको छ । हुम्ला कैलाश मानसरोवर प्रवेश गर्ने सबैभन्दा छोटो र सजिलो गन्तव्य भएकाले भारतीय तीर्थयात्रीका लागि त यो एउटा सपनाको संसार भएको छ । हाल भारतीय पर्यटकबाहेकको पनि रोजाइमा पर्न थालेको छ । हुम्लामा सैपाल बेस क्याम्प, सिमकोट रारा, सिमकोट खप्तड, निम्बा भ्याली, चाङ्ला बेसक्याम्पजस्ता पदमार्ग भए पनि सिमकोट हिल्सा कैलाशपछिको चर्चित रुट सिमकोट लिमी उपत्यका नै हो ।


तिब्बतसँग जोडिएको लिमी नेपालको अन्तिम उपत्यका हो । यहाँ बसोबास गर्ने सबै तिब्बती भाषा बोल्छन् । यहाँको संस्कृति पनि पश्चिम तिब्बतसँग ठ्याक्कै मिल्दोजुल्दो छ । दसौं शताब्दीतिर पुर्खाहरू तिब्बतबाट यहाँ आएको इतिहासले बताउँछ । लिमी उपत्यका चारैतिर हिमाल र पहाडहरूले घेरिएको छ । उपत्यकामा तीनवटा गाउँ छन्– जाङ, हल्जी र तिला । हल्जीमा रहेको हल्जी गुम्बा दसौं शताब्दीमा स्थापना गरिएको इतिहासले देखाउँछ । सबैभन्दा पुरानो गुम्बा भए पनि यसको महत्त्वमा भने कमी आएको छैन । लिमीको हल्जी गुम्बा र यसको बनावट हेर्दा लाग्छ यदि कहीं साँच्चैको सांग्रिला छ भने यही हो ।


समयसँगै लिमीमा केही परिपर्तनहरू पक्कै पनि आए तर लिमीले आफ्नो कला र संस्कृति बिर्सेको छैन । लिमीमा अहिले पनि तिब्बतका कैयन् काल्पनिक कथाहरू जीवितै रहेको देख्न पाइन्छ । त्यही भएर त होला संसारभरका अध्येताहरूलाई यो ठाउँले आकर्षित गरिरहेको छ ।


लामो पर्खाइपछि गत वर्ष लिमी सांस्कृतिक महोत्सव हुँदै छ भन्ने थाहा पाएँ । यो थाहा पाएपछि लिमीका लागि निस्कन मलाई समय लागेन । एक जना साथी लिएर उडें नेपालगन्ज । म जहिले पनि हुम्ला, मुगु, डोल्पालगायतका पहाडी जिल्लाको यात्रा गर्दा एक दुई दिन पहिले नेपालगन्ज जाने गर्दछु । किनकि मौसमका कारण कुनै पनि बेला प्लेनरुट बन्द हुन सक्छ । नभन्दै नेपालगन्जमा थप एक दिन बसेर म हुम्ला सदरमुकाम सिमकोट उडें । सिमकोट नेपालगन्जबाट प्लेनमा करिब ४५ र सुर्खेतबाट ३५ मिनेटमा पुग्न सकिन्छ । सिमकोट पुग्नेबित्तिकै एयटा नयाँ अनुभूति हुन्छ मलाई ।


झन् असोज–कात्तिकको सिमकोट ! सफा नीलो आकाश, वरिपरि हिमाल, बीचमा एउटा सानो बजार अनि बजारको बीचैमा जहाजको धावनमार्ग । सिमकोटको छेवैको सदा हरियो रहने रानी वन, फापर चिनो कागुनु पाक्नेबेलाको बहुरंग, देख्दा नै मन आनन्दित हुन्छ । सिमकोट पुगेर तल्लो हुम्ला हुँदै रारा र खप्तडसम्म जान सकिन्छ । तल्लो हुम्लामा स्यामनिजम प्रयोगमा छ भने माथिल्लो हुम्लामा बुद्धिजम । स्यामनिम र खसीजम (खस संस्कृति) बारे जान्न र बुझ्न मन छ भने तल्लो हुम्लातिर जानुपर्ने हुन्छ । लिमी उपत्यका जान मात्र सिमकोटबाट ४ दिन लाग्छ र लिमी उपत्यका परिक्रमा गर्न भने करिब १२ दिनको खाँचो पर्छ ।

सिमकोटबाट ४०–४५ मिनेटमा लाग्ना पुगिन्छ । जहाँबाट सिमकोट एकै नजरमा छर्लङ्ग देख्न देखिन्छ । माथिका हिमाल, तलतिर बगिरहेको कर्णाली नदी अनि किनारका बस्तीहरू राम्रैसँग देख्न सकिने भएकाले सिमकोट पुगिसकेपछि प्रायः सबै एक पटक लाग्ना पुग्ने गर्छन् । यसैगरी लाग्नाबाट ओरालो लागेर हामी धारापोरीलगायतका गाउँ हुँदै कर्णालीको तीरैतीर लाग्यौं लिमीतिर । बाटोमा भेटिएका भेडा–बाख्राका बथानहरू, लपक्कै परेका खेतबारी र झरनाहरूले मन लोभ्याइरहे । लिमीका लागि बाटो सल्ली काँदबाट छुट्टिन्छ । दायाँ लिमी र बायाँ जाँदा याल्बाङ हुँदै हिल्सा पुगिन्छ ।


सल्लीबाट दायाँ जाँदा एउटा अर्को खोला पछ्याउनुपर्छ । यो बाटो मेरो एकदम मन पर्ने बाटो मध्य एक हो । कडा चट्टानका टुप्पाबाट झरिरहेका झरनाहरू, खोला किनारमा फुलिरहेका कैयौंथरीका फूलहरू, आफ्नो पेट भर्न मस्त चरिरहेका याक, झोबा घोडा, भेडाका बथानहरूले बाटो काटेको महसुस पनि गर्न दिएनन् । जब बिस्तारै सल्लो, ओक, भोजपत्रको जंगल सकिएर सुक्खा भूमिको सुरुआत हुन्छ तब लिमीको भूगोलको अनुमान लाउन सकिन्छ ।

बिस्तारै प्रकृतिको आनन्द लिंदै फोटोग्राफी गर्दै छुङ्सा पुगेको महसुसै भएन । आजको बसाइ छुङ्सामै बस्नुपर्ने थियो यो जस्ट न्यालुला पासको तल हो । यहाँ होटलको व्यवस्था छैन । कि त क्याम्पिङ कि गोठालाहरूसँग बस्नुपर्छ । यतिबेला म र मेरो टिम गोठालाहरूसँग बस्यौं । अर्को दिन बिहान हामी अलि सबेरै उकालो लाग्नुपर्ने थियो ।


सिमकोटबाट लिमी जाँदा २ ओटा पासहरू छन् न्यालुला र नाराला । न्यालुला हाम्रा बाटोमा पर्छ जो ५ हजार मिटरको पास हो । भने नाराला हिल्सा भएर लिमी आउनेले चढ्नुपर्छ । न्यालुला पुग्नुभन्दा पहिले सेलिमा सो नामको एउटा सुन्दर ताल भेटिन्छ । यो सबैको थकाइ मेटाउने बिसौनीजस्तै हो । पासमा पुग्न हामीलाई करिब चार घण्टा लाग्यो । मौसम सफा भएको दिन न्यालुलाबाट कैलाश पर्वतसमेत देख्न सकिन्छ तर आज पानी पर्लाजस्तै गरी बादलले छोपेकाले खासै केही देख्न पाइएन ।


हामी अलि हतारमा हिँडिरहेका थियौं किनकि लिमी महोत्सव भोलिबाटै सुरु हुने समाचार मैले पाएको थिएँ । तर अझै एक दिन लाग्थ्यो लिमी उपत्यकाको हल्जी गाउँ पुग्न । हामी ओरालो झरेर बास बस्न तलुङ पुग्नुपर्ने थियो । हामी तलुङ पुग्दा करिब बेलुकाको ६ बजिसकेको थियो । तलुङतालको किनारैकिनारको बाटो बेलुका भोक लागेको बेला कमता लामो त लागेन ।

ताल बल्लतल्ल सकिएको के थियो एउटा खोला भेटियो । बास बस्ने ठाउँ खोलापारि भएकाले खोला तर्नैर्पर्ने थियो । हिउँको चिसो पानी बेलुकापख बढेको खोलाले झन्डै मेरो सहयोगीलाई बगाएन । बिचरा घोडको पुच्छर समातेर बाँच्यो । खोला तर्दाको चिसाले मेरो आँखामा पनी तुरुक्कै आँसु आयो । जेनतेन बास बस्न पुगियो फेरि खर्कमा । हेर्न जति रमाइलो छ त्यति नै गारो हिँड्नलाई ।

जेनतेन हामी अर्को दिन मध्याह्नतिर हल्जी गाउँ पुग्यौं । महोत्सव हल्जी गुम्कामै भैरहेको रहेछ । हामी हल्जी पुग्दा सांस्कृतिक कार्यक्रम आधी सकिसकेको रहेछ । हतारहतार मैले मेरो क्यामरा निकाले र बाँकी सबै कैद गर्न छुटाएन । यो नाम्खा गाउँपालिकाले आयोजना गरको महोत्सव रहेछ, इसिमोडको सहयोगमा । यो महोत्सव हरेक वर्ष सेप्टेम्बरमा हुने बताइएको छ ।


यसपालि मेरो यात्रा यतिमै सकिएन । मेरो अर्को धोको पनि पूरा गर्ने अवसर मिल्यो । त्यो थियो लिमी लाप्चा जाने । लिमी लाप्चा भनेको लिमीबाट तिब्बत सीमातिरको नेपालको अन्तिम भूभाग हो । यो अन्तिम भूभाग मात्र नभई मानसरोवर कैलाश यहाँबाट स्पस्ट देखिने हुनाले यो एक भ्यू पोइन्ट पनि हो । तिब्बतको सीमा क्षेत्र बन्द भए या कसैले भिसा नपाइएको खण्डमा यहाँबाट नै कैलाश मानसरोबरको दर्शन गर्न सकिने ठाउँ भएकाले पनि मलाई यहाँ गएर फोटो खिच्ने धोको थियो । लिमीबाट यहाँसम्म मोटर बाटो बनिसकेको छ ।



प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?