फातसुङको राजनीति

मलाई उपन्यासको राजनीतिसित आपत्ति छ, यसको भाषा र शैलीसित असाध्यै प्रेम छ । उपन्यासले दार्जिलिङे भाषाको मिठास त दियो तर गोर्खाहरूको पहिचानको संकटको मर्म दिएन, मलाई यति नै भन्न मन लागेको हो ।
मनोज बोगटी

फातसुङ’ गोर्खाल्यान्डको कथा होइन  । पहिलो वाक्य नै यही लेख्न अनिवार्य छ  ।

यो वाक्यले बोकेको सस्पेन्स निकै चाखलाग्दो छ । हुन त यो स्टाइल नयनराज पाण्डेको ‘लु’ को हो । ‘लु’ मा ‘इलैया मर्‍यो’ भनेर रेडियोलालले आरम्भमा नै सारा सस्पेन्स खोलिदिएको छ । त्यही स्टाइल ‘फातसुङ’ को पनि हो । किनभने ‘रिपदेन मर्‍यो रे’ बाट सुरु भएको आख्यान पढ्ने सबैलाई लागेको छ, यो गोर्खाल्यान्डको कथा हो । राज्यसत्ताले निर्माण गरेको गोर्खा र गोर्खाल्यान्डविरोधी भाष्य (न्यारेटिभ) स्थापित गर्न खेलिएको नेपाली भाषी लेप्चा लेखकको सफलतम राजनीति हो ‘फातसुङ’ ।

२००६ मा किरण देसाईले गोर्खाल्यान्ड आन्दोलनलाई ‘खराब’ देखाएर म्यान बुकर प्राइज भेटिन् । देसाईको ‘दी इनहेरिटेन्स अफ लस’ बारे दार्जिलिङमा उबेला खुब चर्चा चल्यो । दार्जिलिङका लेखकहरूले मन दुखाएर भन्न थाले, ‘हाम्रा लेखकहरूले नलेखेपछि देसाईहरूले हाम्रो आन्दोलनबारे बनाउने न्याराटिभ यस्तो हुनु स्वाभाविक हो ।’ देसाईको किताब पढ्नेहरूलाई थाहा छ, गोर्खाल्यान्ड आन्दोलनले दार्जिलिङका गैरबासिन्दा गैरगोर्खालाई यातनाबाहेक केही दिएन । आन्दोलनको लिटरेरी न्याराटिभ योभन्दा माथि र ठूलो नै छैन । देसाईले आफ्ना पाठकलाई दिएको विचार र खेलेको राजनीति यति हो ।


बंगाली लेखक परिमल भट्टाचार्यले बंगालीभाषीहरूले दार्जिलिङ र दार्जिलिङको आन्दोलनलाई हेर्ने दृष्टिकोण किरण देसाईकै न्यारेटिभ वरिपरि रहेको खुलाउन ‘नो पाथ इन दार्जिलिङ इज स्ट्रेट’ लेखेका छन् । उनीहरू ठान्छन्, ‘दार्जिलिङ हाम्रो हो, त्यहाँका मानिसहरू हाम्रा होइनन् ।’ गोर्खाहरूको पहिचानको संकट, संघर्ष, राजनीतिक मर्म र आन्दोलनले ताकेको ‘लोकेसन’ खुट्याउन नसक्नेहरूलाई लाग्छ, ‘गोर्खाल्यान्ड आन्दोलनले केवल सपना लुट्यो, त्योभन्दा बढ्ता आन्दोलनको कुनै अर्थ नै छैन ।’


गोर्खाल्यान्डको आन्दोलनमाथि व्यक्त गरिने यी खाले भाष्य राज्यसत्ताले निर्माण गरेको हो । राज्यसत्ता निरन्तर भन्दै आइरहेको छ, ‘छुट्टै राज्य गोर्खाल्यान्ड विदेशीहरूको आन्दोलन हो । हामी हाम्रो भूमि विदेशीहरूको हातमा सुम्पने छैनौं ।’ इतिहासबारे राज्य र केन्द्र सरकार दुवै मौन छन् । किरण देसाईजस्ता लेखकले राज्यसत्ताको यही भाष्यलाई प्रमुखता दिएपछि आन्दोलनको मर्म मिलाएर केलाउने हाम्रै लेखकको प्रतीक्षामा दार्जिलिङ २०१९ सम्म बसेको हो । २०१९ को मई महिनादेखि नेपालबाट एउटा हल्ला खुब चल्यो । हल्लाको सबैभन्दा प्रभावकारी वाक्य थियो, ‘दार्जिलिङले अब अर्को इन्द्रबहादुर राई पायो, गोर्खाल्यान्ड आन्दोलन लेख्ने लेखक जन्मिए ।’ त्यो हल्ला दार्जिलिङसम्म नै आइपुग्यो । हो, त्यो हल्ला छुदेन काविमो र ‘फातसुङ’ कै हो । दार्जिलिङे गोदोले पर्खिएको लेखक छुदेन काविमो नै हुन् । ‘फातसुङ’ को राजनीति केलाउन अघि सारा सस्पेन्स खोलिदिऊँ– ‘फातसुङ’ दी इनहेरिटेन्स अफ लसकै नेपाली वैचारिकी हो । छुदेन काविमोचाहिँ किरण देसाईको नेपाली संस्करण ।

भारत स्वाधीन हुनुभन्दा ४० वर्षअघि दार्जिलिङमा नेबुला (नेपाली–भोटिया–लेप्चा) भन्ने संगठन खोलियो । अंग्रेजहरूले होलिडे डेस्टिनेसन र चिया व्यापारबाट पैसा फलाउने हरियो बोटका रूपमा स्याहारेको दार्जिलिङलाई सेड्युल डिस्ट्रिक्ट बनाइएको थियो । पछिबाट पछौटे क्षेत्र पनि बनाइयो । सन् १९०५ मा मा बंगाल विभाजन भयो । नेबुलाले यही मौकामा १९०७ मा भारतका मुख्यसचिव जोहन मर्ले, गभर्नर जनरल मिन्टोलाई लेख्यो– दार्जिलिङलाई स्वायत्त प्रशासन दिइयोस् । तर दिइएन ।
त्यसपछि पनि भोटे, लेप्चा, नेपालीको हिल मेन्स एसोसिएसन खोलियो । यसले पनि १९१७ मा भारत सरकारसित दार्जिलिङलाई अलग प्रशासनिक एकाइ दिइयोस् भन्ने माग गर्‍यो । तर, दिइएन । ब्रिटिसले ट्राइबल मानेका दार्जिलिङवासीले बंगालबाट दार्जिलिङलाई छुट्याइदिने अपिल निरन्तर गरे । तर, सुनुवाइ भएन ।


बरु दार्जिलिङलाई अंशत बहिर्भूत क्षेत्र पो बनाइयो । यद्यपि, १९३७ मा पनि ‘कि त दार्जिलिङलाई राज्य बनाऊ कि त चिफ कमिस्नर्स प्रोभिन्स बनाऊ’ भन्ने आवाज उठ्यो । त्यो पनि सुनिएन । अंग्रेज गएपछि कहिले भुटान, कहिले नेपालसित घरीघरी जोडिने यो भूभागलाई बंगालले देखरेख गर्‍यो । हुँदाहुँदै हुँदाहुँदै भारत स्वाधीन बन्यो । १९५० मा संविधान बन्यो । संघीय प्रणालीतिर हिँडेको देशलाई दार्जिलिङको राजनैतिक दल अखिल भारतीय गोर्खा लिगले १९५२ मा दार्जिलिङ, तराई र डुवर्स मिलाएर छुट्टै राज्य बनाइयोस् भन्ने माग गर्‍यो। तर सुनवाइ भएन ।


यसबीच अनेकौं संगठन बने, अनेकौं नेता आए । अनेकौं दाबी गरिए, अनेकौं आवाज उठे । ती सबैलाई भारत सरकार र बंगाल सरकारले दबाउँदै आए । बंगालबाट छुट्टिने दार्जिलिङका गोर्खाहरूको आन्दोलनलाई १९०७ देखि नै दबाउँदै ल्याइयो । त्यसपछि गोर्खा लिगले दार्जिलिङबाहेक पनि तराई र डुवर्स मिलाएर छुट्टै राज्य बनाउने माग गर्नेबित्तिकै बंगालमा सरकार सम्हालिरहेका कांग्रेसका मुख्यमन्त्री विधानचन्द्र रोयको होस उड्यो । बंगालीभाषी हरेक प्रशासक, मन्त्री वा साधारण नागरिकले अंग्रेजले छोडेको दार्जिलिङ ‘हाम्रो हो’ भन्ने ठान्छन् । दार्जिलिङका बासिन्दालाई चाहिँ ‘विदेशी’ । यसका अनेकौं कारणहरू छन् । एउटा बलियो कारण हो यहाँका बासिन्दाले बोल्ने नेपाली भाषा । नेपाली भाषालाई घृणाले कसैले हेर्छ भने ती बंगाली प्रशासक नै हुन् । किनभने उनीहरूलाई नेपाली भाषा बोल्नेबित्तिकै दार्जिलिङका बासिन्दा नेपालबाट आएका हुन् भन्ने लाग्छ । दार्जिलिङको सामाजिकता बंगालसित मिल्दैन । यहाँ लेप्चा, भोटे, छेत्री, बाहुन, कामी, मगर अर्थात् सबै जातगोष्ठी मिलेर बस्छन् । सबैले नेपाली बोल्छन् र आफूहरूलाई ‘गोर्खा जाति’ मान्छन् । नेबुलादेखि हिल मेन्ससम्म, गोर्खा लिगदेखि गोरामुमोसम्म दार्जिलिङले बँचाएको भनेको यही जातीय एकता हो । यही एकता नै आन्दोलनको शक्ति पनि हो ।
सबै जातगोष्ठी मिलेर जब गोर्खा भन्ने शब्द अघि आउँछ, बंगाल सरकारको मनमा ढ्यांग्रो बज्छ । यो एकता नै हो, जसमा एक दिन बंगालबाट दार्जिलिङ चुँडाउने क्षमता छ । बीसी रोयले यही ‘एकता’ र ‘क्षमता’ तोड्न सुरु गरे ।

१९५१ अघि दार्जिलिङमा नेपालीभाषी मोठ जनसंख्याको ९४ प्रतिशत थिए । १९५१ मा जनगणना भयो । यो जनगणनामा दार्जिलिङको मोठ जनसंख्यामा नेपालीभाषी १९.९६ प्रतिशत मात्रै देखाइयो । रोयको कूटनीति सफल भयो । गोर्खाहरूले थाहासमेत पाएनन् ।त्यसअघि ‘भोटे, लाप्चे, नेपाली हामी सबै गोर्खाली’ भन्ने नाराले बनिएको गोर्खा सामाजिकता थियो । जनगणनामा सबैले आफ्नो भाषा नेपाली लेख्थे । ५१ पछि लेप्चाले लेप्चा, भोटेले भोटे, गोर्खाले नेपाली लेख्ने भए । व्यवहारमा नेपाली बोल्ने तर सरकारी रूपमा आआफ्नै भाषी । गोर्खाहरू पहिलोपल्ट भाषिक रूपले सरकारी दस्तावेजमा विभाजित भए ।
भाषिक रूपले टुक्रिएको जातगोष्ठीलाई ममता बनर्जीको सरकारले जातजातमा टुक्राएको छ । यहाँको सबै जातलाई विकास बोर्ड दिइएको छ । हिजोसम्म नेपालीभाषीको रूपमा समग्र गोर्खाहरूको पहिचान सुनिश्चित गर्न छुट्टै राज्यको दाबी गर्नेहरू अहिले ‘नेपाली भाषीहरूले हामीलाई सांस्कृतिक रूपले दमन गर्‍यो’ भनिरहेका छन् । ‘गोर्खाहरूले विभेद गर्‍यो’ भनिरहेका छन् । यही हो सरकारले निर्माण गरेको न्यारेटिभ । जसको मनौवैज्ञानिक बाटोमा ‘फातसुङ’ को राजनीति हिँडेको छ ।

१९८० मा सुवास घिसिङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खोले । राज्यको नाम तोके ‘गोर्खाल्यान्ड’ । घिसिङसित अघिल्लो कागजी संघर्षको इतिहास थियो । इतिहासले मैदानमा उत्रिएरै आन्दोलन नगरी नहुने संकेत गरेपछि घिसिङले नरमपन्थी र चरमपन्थी दुवै संगठन तयार गरे । र सुरु गरे आन्दोलन । नरमपन्थीलाई आफूले नेतृत्व गरे, चरमपन्थी छत्र सुब्बालाई दिए ।
सुवास घिसिङ कोलकाता दिल्ली, छत्र सुब्बा जंगल । घिसिङ कलमले लड्ने, छत्र भरुवा बन्दुकले । घिसिङलाई लागेको थियो, विश्वमा गोर्खाहरूको बहादुरीको जुन ‘मिथ’ छ, त्यसलाई समेत प्रयोग गरिनुपर्छ । तर बंगाल सरकारमा दबाब बनाउन बहादुर गोर्खाहरूको जंगी संगठन गोर्खाल्यान्ड भोलिन्टियर सेल र उपन्यासमा भएको (जीभीसी) बनाउनेबित्तिकै बंगाल सरकारले दार्जिलिङमा सेर्न्ट्ल रिजर्ब फोर्स (सीआरपी) हुल्यो ।


छत्र सुब्बाको जंगी संगठनबारे राष्ट्रीय मिडियाले देशलाई देशहितको टेकोमा सतर्क गरायो । बंगालको मार्क्सवादी कम्युनिस्ट पार्टीको सरकारले गोर्खाल्यान्ड आन्दोलनलाई दबाउन पुलिस र सीआरपी दुवैको जमेर प्रयोग गर्‍यो । विदेशीको लाञ्छना लगाएर आन्दोलन दबाएपछि नेपाल–भारत मैत्री सन्धि १९५० ले गोर्खाहरूको राष्ट्रीय परिचयमा संकट ल्याएको बुझे घिसिङले । यसको धारा ७ र ८ बाट नेपालबाट छिरेकालाई बंगाल र भारतले दार्जिलिङवासी देखेको हुन सक्ने घिसिङको बुझाइ हो । त्यही सन्धिपत्र जलाइयो । १९८६ मा कालेबुङमा सन्धि जलाउने २७ जनालाई गोली हानियो । यो गोर्खाल्यान्ड आन्दोलनको चरमोत्कर्ष हो । ‘फातसुङ’ मा यो कथा पार्श्वमा नै छ । लटरपटरमा कथा बंग्यााएर छत्र सुब्बाका साथीहरूले पाएको दुःख देखाउने हतार लेखकलाई छ ।


अच्चकाली दबाबका कारण घिसिङले आन्दोलन लामो टिकाउन सकेनन्, उनलाई सम्झौता गर्न बाध्य बनाइयो । सोझै छुट्टै राज्य गठनको परिस्थिति बनाउन नसकिने भयो । घिसिङले ‘स्टेप बाई स्टेप’ अघि बढ्न सम्झौता गरे र ‘दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप)’ गठन गरे । उनको दोस्रो ‘स्टेप’ थियो– छैटौं अनुसूची । जो अहिले पनि भारतको सदनमा बहुमत समर्थन पर्खेर बसेको छ । यद्यपि, घिसिङको सम्झौताले चरम असन्तुष्टि जन्मायो । विपक्ष रिसाए । छत्र सुब्बा रिसाए । त्यही असन्तुष्टिहरूलाई राज्य सरकारले घिसिङविरुद्ध संगठित बन्ने स्पेस दियो । आन्दोलन दब्यो । घिसिङले छत्र सुब्बालाई बुझाउने कोसिस गरे । तर, छत्र मानेनन् । अब फेरि जंगी आन्दोलन गर्नुको अर्थ थियो, सधैँलाई मुद्दा र जनशक्ति गुमाउनु । किनभने केन्द्र र राज्य दुवै छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलन दबाउन हिंसामा उत्रन तयार थिए । भिड्न नसक्ने देखेपछि घिसिङ पछि हटे । यसबीच सयौँ आन्दोलनकारी मारिइसकेका थिए । छत्रलाई खुला छाडौं त हिंसा बढ्ने, घिसिङसित रहेको विकल्प दबाउन मात्र थियो । उनको महत्त्वाकांक्षा छत्र सुब्बालाई दबाएर छैटौं अनुसूचीको खुड्किलो उक्लिनु बन्यो । छत्र सुब्बा घिसिङले गोर्खाल्यान्डसित दागोपाप साटेको भन्दै अडिग बसिदिए ।


त्यसैकारण छत्र सुब्बालाई दबाउन अर्को जीभीसी (काउन्टर फोर्स) बनाइयो र त्यसको नाइके बने (एनटी मोक्तान) । अनेकौं जालझेल गरेर छत्र सुब्बालाई पक्राउ गरियो । राजनैतिक बन्दी छत्र सुब्बा धेरै वर्षपछि जेलमुक्त भएपछि अहिले अध्यात्ममा लीन छन् । आन्दोलनको नामसमेत लिन मान्दैनन् । काविमोको ‘फातसुङ’ त्यही छत्र सुब्बा र एनटी मोक्तानबीचको (उपन्यासमा उनीहरू चिफ र एनबी छन्) संघर्षको कथा हो । ‘फातसुङ’ को क्लाइमेक्समा यही दुई समूहको द्वन्द्व छ । आन्दोलनलाई पार्श्वमा राखेर यी दुईबीचको द्वन्द्वलाई देखाएर छुदेन काविमोले कुन माटोको कथामा लय हालिरहेका हुन् त ? आफ्नैहरूबीच ‘लडाइँ’ पार्ने आन्दोलनका नायक को हो ? ‘फातसुङ’ बोलेको छैन ।

उपन्यासको आधा हिस्सामा आन्दोलनको पार्श्व छ । तर केन्द्रीय कथा छत्र सुब्बा र एनटी मोक्तानबीचकै द्वन्द्व हो, जो गोर्खाल्यान्डको होइन रणनीतिक असमझदारीबाट जन्मिएको नेतृत्व वर्चस्व, रणनीतिक आधारबिना क्रान्तिकारी बन्ने महत्त्वाकांक्षाले निर्माण गरेको द्वन्द्व हो । गोर्खाल्यान्डको आन्दोलनलाई सपना लुट्ने आन्दोलनको रूपमा व्याख्या गर्न चाहिने कथा भनेको छत्र सुब्बा र एनटी मोक्तानबीचको द्वन्द्व नै हो । उपन्यासमा खास आन्दोलन आंशिक मात्र छ ।


छुदेनको उपन्यास प्रकाशित भइरहेको समय दार्जिलिङको राजनीति सुवास घिसिङकै बाटोमा छ । सत्ताले ल्याएको जातजातको विभाजनले आन्दोलन बाधित गर्ने सत्ताको चलखेल जिउँदै छ । यद्यपि आन्दोलन सकिएको छैन । यतिखेर आन्दोलनहरू हानिकारक हुन् र यसले हाम्रो सपना लुट्यो भन्ने डिस्कोर्सको अर्थ के निस्किन्छ ? लक्ष्य प्राप्तिको लागि गरिएका सारा आन्दोलनको बलिदानलाई अपव्याख्या गरेर झिनामसिना संकटलाई सतहमा ल्याइनुको अर्थ के हो ? मलाई लाग्छ, यसको उत्तर छुदेन काविमोको वैचारिकी केलाउनेहरूले थाहा पाउनेछन् ।


आन्दोलन प्राप्तिसम्म पुग्दा नपुग्दै अझ धेरै अन्तरविरोध जन्मिएलान्, सामाजिक मूल्यहरू नष्ट होलान् । तर ती त सपना प्राप्तिका लागि भएको सामाजिक लगानी हो । समाजको बलिदान हो । यसको अपव्याख्या ‘फातसुङ’ ले गर्न मिल्छ ? ‘फातसुङ’ को राजनीति सत्ताको विभेदकारी न्यारेटिभको बाटो जानीजानी हिँडिरहेको हो कि ? उपन्यासमा वर्णित आन्दोलन र गोर्खाल्यान्ड आन्दोलनको कुनै सोलोडोलो चरित्र मिल्दैन । कुनै पनि संघर्षले असाध्य संकटहरू निर्माण गर्छन् । सरकारले दबाएको आन्दोलनले दार्जिलिङे समाजका हरेक मूल्यमा फेरबदल ल्याउनु स्वाभाविक हो । लेखकले सत्ताखेलको अभीष्ट केलाउने कि ?


असफलताले दार्जिलिङलाई अर्थिक रूपले कमजोर बनायो । नेतृत्वप्रति सन्देह जन्मायो । दबाब र हिंसाले नेतृत्वमा पनि राज्यसत्तासित मिलेरै अघि बढ्ने मनोविज्ञान तयार पार्‍यो । अहिले घिसिङको निर्णय तत्कालीन संकट व्यवस्थापन रहेको प्रमाणित भइसकेको छ । स्पष्ट छ, असफलताको पार्श्वमा सत्ताको दमन लुकेको छ । त्यो अन्तर्यलाई लेखकले नै बाहिर ल्याउने हो । र, निरन्तर आन्दोलनको लागि दिशानिर्देश गर्ने हो । सत्तासित हिंसात्मक आन्दोलनलाई देशद्रोही बनाउने पर्याप्त ‘स्पेस’ रहेकाले पनि बचेरै रणनीति तयार गर्नुपर्ने स्थिति घिसिङलाई आइपर्‍यो, यसलाई मात्र आख्यानमा टिप्नुको राजनीति के हो त ? क्रूर सत्ताको दमनप्रति मौन, दमनले उत्पन्न गरेको बाध्यात्मक नियतिचाहिँ दोषी ?


निःसन्देह आन्दोलनका चुकहरू छन् । त्यो चुकबाट लिइएको शिक्षाले आन्दोलनलाई डोर्‍याउने हो । चुकलाई केन्द्रमा राखेर पात्रलाई चरित्र दिनु र पाठबाट पाठकलाई आन्दोलनबारे दिने नकारात्मकता दिनु ‘फातसुङ’ को राजनीति हो । काविमोले असफल आन्दोलनले ल्याएका दुःख संकटलाई निराशाको रूपमा व्याख्या गरेका छन् । धोकाको रूपमा व्याख्या गरेका छन् । ‘दार्जिलिङे जनताका सपनाको व्यापार नेतृत्वले गरेको’ देखाउन उपन्यासमा अनेकौं कथा हालिएको छ । तर सत्ताले आन्दोलन दबाउन गरेको चलखेलबारे न कुनै शैली तयार गरिएको छ न किस्सा । आख्यानको अन्तर्यमा जुन लेखकीय मौनता छ, त्यो राजनीतिले नेपालका पाठकहरूलाई त मनोरञ्जन दियो होला, दार्जिलिङका संघर्षशील बासिन्दाहरूलाई ?


असफलताको कारक नेतृत्व कि सत्ताको सफल कूटनीति ? यो प्रश्नको जबाब ‘फातसुङ’ का कुनै पात्रसित छैन । किनभने ‘फातसुङ’ गोर्खाल्यान्डको कथा नै होइन । पात्रहरूलाई जुन–जुन भूगोल, समय, चरित्र र मनोविज्ञान दिइएको छ, त्यसको उद्देश्य हो– नेताले आफ्नो स्वार्थका लागि जनसपनाको व्यापार गरेको देखाउनु । आन्दोलनलाई दबाएर सरकारले स्थापित गरेको मनोविज्ञान नै यही हो ।


हरेक असफलताको डिजाइन यही मनोविज्ञान आन्दोलन क्षेत्रमा स्थापित गर्न सत्ताले तयार गरेको छ । यद्यपि, आन्दोलनलाई केन्द्र र राज्य शक्तिले कुन उद्देश्यको निम्ति दबायो, यसलाई देख्ने चेत लेखकमा नै हुन्छ । तर, जब माटोको कथा भनेर आख्यान सुरु गरिन्छ, पढ्नेले कुन माटो भनेर सोध्यो भने, छुदेन काविमोको पात्रले दिने जवाब हो– ‘फातसुङ’ ।


‘फातसुङ’ अर्थात ‘दार्जिलिङ लेप्चाहरूको किपट (माटो) हो’ भन्ने डिस्कोर्स । १९८६ मा चौथो श्रेणी पढ्ने विद्यार्थीको दिमागमा न जातपातबारे विभेदको ज्ञान थियो न दार्जिलिङ कसको भूमि हो ? भन्ने प्रश्न । १९०५ को नेबुलादेखि २००७ को गोर्खा जनमुक्ति मोर्चासम्म दार्जिलिङका सबै जातगोष्ठी ‘गोर्खा’ को छातामुनि बसेर गोर्खाल्यान्डका निम्ति आन्दोलनरत छन् । गोर्खाहरूले यो भूमि ‘हाम्रो हो’ भन्दै आइरहेको छ । सत्ताले ‘तिमेरको होइन’ भन्दै आइरहेको छ । बीचमा इतिहास गायब छ र आन्दोलन यहीँबीच छ । त्यही कथा ‘फातसुङ’ मा गायब छ ।


दार्जिलिङ सांस्कृतिक विविधताले बाँचेको नमूना समाज हो । दार्जिलिङ न जातको नामले विभाजित थियो, न धर्मको नामले । न भाषाको नामले विभाजित थियो, न संस्कृतिको नामले । गोर्खा छातामुनि सबै संस्कृति, भाषा, जात, धर्मको आआफ्नै मर्यादा थियो, अहिले पनि छ ।तर, राज्य सरकारले लेप्चाहरूलाई ‘तिमीहरू नै दार्जिलिङको भूमिपुत्र हौ’ भन्दै लेप्चा विकास बोर्ड थमाएर जातजातमा विभाजन ल्याउने कुटनीति अघि सार्‍यो । लेप्चा विकास बोर्डले प्रचार पर्चामा राज्य सरकारकै भाषामा ‘दार्जिलिङमा अनुप्रवेशकारी नेपालीहरूको चलखेलले हामीलाई अल्पसंख्यक बनायो’ समेत लेख्यो । छुदेनको एक पात्रले ‘चाहिएको राज्य सबैलाई हो, दार्जिलिङ नै माग्दा के बिग्रन्थ्यो ?’ भनेजस्तो । अहिलेको विकास बोर्ड ‘फातसुङ’ का लाछिरिङहरूले थापेका हुन् । आन्दोलन ठीक दमनमा परिसक्दा लाछिरिङहरूले सिपिएमकोसित भेट्छन् र भन्छन्, ‘तिब्बतीहरू आए लाप्चेहरूको लिखित कथा मारिदिए, भोटाङेहरू आए लाप्चेहरूको राजा मारिदिए, ब्रिटिश आए लाप्चेहरूको भाषा मारिदिए, अब अझै...’


छुट्टै राज्य गोर्खाल्यान्ड वास्तवमा लेप्चा गोर्खाहरूको यही पहिचानको निम्ति पनि थियो । यही कुरा ‘फातसुङ’ ले बोलेको छैन । यसकारण ‘फातसुङ’ मा सत्ताले उत्पन्न गरेको न्यारेटिभको अन्तरघुलन छ । ठिम्याएर पढ्नेले थाहा पाउँछ, किताबको नाम ‘फातसुङ’ ले नै आफ्नो माटोको दाबी गरेको छ । जातजातमा विभाजन विमल गुरुङले गरेको आन्दोलनलाई विफल बनाउने बंगाल सरकारको कूटनीति हो । यही विभाजनले तयार पारेको मनोविज्ञान ‘फातसुङ’ को केही अंशमा छ । ‘फातसुङ’ लेप्चाहरूको माटोको कथा हुनसक्छ, गोर्खाल्यान्डको कथा होइन । दार्जिलिङले पर्खिएको छुदेनजस्तो लेखक फेरि किरण देसाईकै अवतारमा कसरी निस्किन सक्छ ? ‘फातसुङ’ को नाममा फेरि कसरी ‘दी इनहेरिटेन्स अफ लस’ नेपाली भाषामा लेखिन सकिन्छ ? मझैं गोर्खाले गर्ने प्रश्न यही हो ।

‘फातसुङ’ लाई ‘गोर्खाल्यान्डको कथा होइन’ भन्ने मानेर पढियो भने पर्याप्त रमाइलो दिने कुरामा म निश्चित छु । ‘गोर्खाल्यान्ड’ इतिहास र वर्तमानको संघर्ष हो, आख्यान होइन । छुदेनको ‘फातसुङ’ आख्यान हो । त्यो आख्यान गोर्खाल्यान्ड आन्दोलनबारे लेखिएको होइन । कुरा यत्ति हो । यद्यपि, छुदेनको राजनारायण प्रधानीय भाषाले सबैलाई लट्ठ पार्न सक्छ । यतिको पाठकमैत्री भाषामा आएको उपन्यास यही पहिलो हो दार्जिलिङमा । नेपाली आख्यान क्षेत्रमा आख्यानकारहरूबीच नै पनि खतरा पैदा गर्दै अघि बढिरहेका लेखक हुन्– छुदेन । मलाई उपन्यासको राजनीतिसित आपत्ति छ, यसको भाषा र शैलीसित असाध्यै प्रेम छ । उपन्यासले दार्जिलिङे भाषाको मिठास त दियो तर गोर्खाहरूको पहिचानको संकटको मर्म दिएन, मलाई यति नै भन्न मन लागेको हो।

प्रकाशित : असार ७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

वर्किङ भिसा

नीलम कार्की निहारिका

निकै खुसियाली छ, छोरीको भिसा लागेको घरमा  । हर्षको वर्षा  ।

भिसाका लागि निकै पूर्वतयारी गर्नुपरेको थियो । व्यक्तिगत तयारीमाथि थुप्रै तालिमहरू । त्यो पनि अति अनुभवी प्रशिक्षकबाट ।
‘अन्तरवार्ताको निम्ति पाइला राख्नासाथ सर्वप्रथम सबैलाई झुकेर अभिवादन गर्नू, बस्ने बेलामा अनुशासित भै बस्नू ! उपरखुट्टी लाउने भूल त गर्दै नगर्नू, अति बिस्तारै बोल्नू ! नुन–बेसार अड्कलेर तरकारीमा हालेझै ! ठिक्क– चर्को हुनुभएन । बिलुनो भए केही फरक पर्दैन । सोधेको मात्र जवाफ दिनू, त्यो पनि अति छोटकरीमा । बरु मुखले नबोली टाउको मात्र हल्लाए पनि हुन्छ, केही फरक पर्दैन ।’ तालिमकै क्रममा प्रशिक्षकबाट सिकाइएका कुरा थिए यावत् ।


‘कति गाह्रो रहेछ । भो, म त कहिले नदिने त्यस्तो अन्तरवार्ता ।’ अघिदेखि कुरा सुनेर बसेको भदा पर्नेले भनेको थियो ।
‘जाऊ उता, छोरामान्छे भएर यसरी आइमाई कुरा सुनिबस्नु हुन्न । तिमीले त अन्तरवार्ता दिने होइन, लिने हो नि ! तिमी त अरूबाट भिसा लिने होइन, अरूलाई भिसा दिने मान्छे पो हो त !’ भाउजू पर्नेचाहिँले भनेकी थिइन्, हाँस्दै प्याट्ट पिटेर ।
अगाडि बढेको थियो प्रशिक्षण, ‘सीता, तिमी अलि लजाएजस्तो पनि गर्नू । चञ्चल हुने, यताउता पल्याकपुलुक हेर्ने त गर्दै नगर्नू, सुधी हुनू । घरको के–के काम गर्न आउँछ भनी सोध्नेछन् । सबै काम आउँछ भन्नू । विशेष ख्याल हिँडाइमा राख्नू । बिस्तारै– सबै कुरा बिस्तारै हुनुपर्छ, अति बिस्तारै ।’


योभन्दा अघि निवेदन दिएकोमा दुई पटक भिसा रिजेक्सन भएको थियो । पहिलो पटक अन्तरवार्ता दिएपछि नै राहदानी पक्कै खाली आउन्न भन्नेमा विश्वस्त थिए । तर त्यसबेला कुन मापदण्डमा नम्बर पुगेन भन्ने सन्दर्भमा थाहा नै भएन । एक्कासि अनुत्तीर्ण भएको नतिजा आएको थियो । दोस्रो पटक अझ मिहिनेत गरेको पनि हो, तर त्यस पटक पनि नतिजा नकारात्मक नै आयो ।
दोस्रो पटकको आवेदन पनि अस्वीकृत हुनुको कारण पनि किटेरै थाहा पाउन नसके पनि घुइरो–घुइरो सुनेको कुरा– ‘रूपले अलि धोका दियो रे ! रङले । उम्मेदवार अलि कन्सौली भई रे । अनि कोही भन्थे– वजनले पनि मार खायो । तौल बेसी । केटीको हाइट पाँच फिट दुई इन्च, वजन १६० पाउन्ड । शरीरजस्तै शिक्षामा पनि मालिकको भन्दा बेसी भो रे !’ सुन्नमा आयो– ‘मालिकभन्दा बढी पढेका नोकरले टाउकामा टेक्छन् ।’


शिक्षा घटाउन त मिल्ने कुरा भएन, तर शरीरको तौल घटाउनका लागि व्यायाम गरी र खानाको कडा पाबन्दीमा बसी सीता । उत्तीर्ण हुनको निम्ति योग्यता बढाउनुपर्ने बुँदामा अरू थप तालिम पनि दिइएको थियो । उठ्न, बस्न, हाँस्न, बोल्न । सुन्दरता बढाउन निकै पटक ब्युटिपार्लर पनि धाएकी थिई सीता ।
यो पटक पनि रिजेक्सन हुने हो कि भनी बढी चिन्तित र सतर्क थिए घरका सदस्य र शुभचिन्तक । सिकेको कुरा अक्षरशः पालना गरेर अन्तरवार्ता दिएकी थिई सीताले । पक्कै प्रयोगात्मक प्रश्नको पनि प्राप्ताङ्क जोडियो । मौखिक र प्रयोगात्मक गरी कुल मिलाएर ऊ उत्तीर्ण भई । तात्पर्य, स्वीकृति भयो ।
लाग्यो भिसा ड्याम्मै ! आयो खुसी झ्याम्मै !
सीताको भिसा लाग्यो भन्ने थाहा पाएपछि आफन्तीको जिज्ञासा ह्वात्तै बढेको छ ।
– ‘कहाँ ?’ अर्थात् सम्पन्नता ।
– ‘कहिले ?’ अर्थात् उडान दिन समय ।
– मालिकको योग्यताप्रतिको चासो अर्थात् पाउने सुविधाको अड्कलबाजी ।
– ‘जम्मा सदस्य ?’ अर्थात् भिसा पाएकीले सेवा पुर्‍याउनुपर्ने व्यक्ति सङ्ख्या ।
बिदाइको दिन नजिकै जाँदा, दैलोमा नातेदार, आफन्तका जुत्ता–चप्पलको भीड हुन लाग्यो । सीतालाई बीचमा पारेर गोलबद्ध बसेका हुन्छन् जिज्ञासुहरू कोठाभरि ।
प्रत्यक्ष भएर प्रश्न गर्छन्, उत्तर खोज्छन् । सुरुसुरुमा प्रशिक्षकबाट पाइरहेका हुन्छन् जवाफ ।
‘तलब ?’ प्रथम प्रश्न ।
‘तलबको के कुरा भो र ? मीठो खान, राम्रो लाउन पाइन्छ । त्यति मात्र हो र ? चलसम्पत्तिको तालाचाबी मात्र होइन, मालिकको घरघडेरी पनि आफ्नो नाममा राख्न पाइन्छ । सुन–हीराका गरगहना लाउन पाइन्छ । उत्तरदायित्वमा केवल इमानदार भएर संरक्षण गरिदिनुपर्छ,’ जवाफ ।
‘डिउटी आवर ?’ दोस्रो प्रश्न ।
‘त्यो त, बिहान आँखा खुले झिसमिसेदेखि साँझ साहेब ननिदाउँदासम्म ।’ उत्तर ।
‘काम के–के होला ?’ तेस्रो प्रश्न ।
‘घरायसी सप्पै । दैलो–भान्सा । मानमनितो । सप्पै–सप्पै,’ उत्तर ।
‘मानमनितो को–कसको ?’ थप प्रश्न ।
‘कसको गर्न पर्छ मनितो, त्यति पनि थाहा छैन र ? मालिकसँग जोडिएका सबैको,’ लामो केश भएकी एक आगन्तुकको जवाफ प्वाक्क ।
‘तिमीलाई कसले सोधेको छ र ? जुग जमानाअनुसार फरक भयो कि भनेर पो सोधेकी,’ अलि रिसाउादै प्रश्नकर्ता ।
‘संस्कार किन फेरिनु ? सप्पैको । वृद्ध–वृद्धा, आमा–बुबाको त स्वाभाविक नै भो, गन्ती गर्नुपरेन । साहेबका दाजुभाइ, दिदीबहिनी, भाञ्जाभाञ्जी । यसरी एकमुष्टमा भनूँ न, उताका नातेदारजति जम्मै ।’
‘छरछिमेकी, साथीभाइ पनि, होइन त ?’ प्रशिक्षकले नै जवाफ दिइरहनुपर्ने अनिवार्यता रहँदैन । फेरि पनि जवाफ एक सहभागी आफन्तबाट नै ।
‘मान–सम्मान आफूले गर्ने मात्र हो कि आफूले पनि पाइन्छ कोहीबाट ?’ सानी छोरी काखमा लिएकीबाट प्रश्न ।
‘अनुभवी आफैँ छौ, होइन ? आजसम्म तिमीले पाएकी छौ ?’ उल्टै प्रश्न ।
‘काम सघाउन अरू सहयोगी पनि छन् ?’ अझ थपमाथि थप प्रश्न छोरीकी आमाको ।
‘त्यो हुन पनि सक्छ, नहुन पनि । स्थायी कामदार पाएपछि पहिला कोही भए त्यसको बिदा हुन पनि सक्छ । यसै भन्न सकिन्नँ ।’ सीताको छेउमै बसेकीबाट जवाफ ।
‘स्थायी हो ?’ प्रश्न दराजसामुन्ने बसेकीबाट ।
‘अहिलेसम्मलाई स्थायी नै भनिएको हो । तर के भन्न सकिन्छ ! अब रिझाउन सक्छिन्–सक्दिनन्, हाम्री सीतामैयाँको कुरा । सबैमा लागू हुने त्यही होइन र ?’ प्रश्नसहितको यो उत्तर प्रशिक्षक दिदीबाट ।
‘तर अरूको हेर्दा पनि ढुक्क भैहाल्न कहाँ सकिन्छ र ? भिसा लाग्यो भन्दैमा स्थायी नै कसरी भन्नू ? मैयाँले वर्क परमिट पाइन्, यसरी बुझ्नू
अहिलेलाई !’ थप उत्तर उनैबाट ।
‘यसरी नेगेटिभ सोचिहाल्न मिल्दैन,’ प्रतिक्रिया, उपस्थित सीताको काकी पर्नेको ।
‘कसरी सोच्नू, त तिमी नै भन । तिमी के भन्छौ, तिमी सहनशीला सुशीलाले ? तिम्रो एक जीवन त आफ्नो मालिकको मदिरापानको पछि लाग्दैमा सकिने भो । अँ बिर्सिएको अर्को काम, त्यही मदिरापानको रखवाली पनि एक हो । सुधार्ने जिम्मा जो पाएपछि गर्नु त पर्‍यो । त्यसै कारण भनिएको होला काम यही र यति भन्ने छैन ।’ बहसको बीउ खाटमा आडेस लाएर बसेकी हरियो साडी लाएकीबाट ।
‘मेरो विचारमा यसमा सधैँ मालिकको मात्र दोष रहन्न । कामदारकै कारण पनि त करार भङ्ग हुन सक्छ,’ अघिको करार सम्बन्धमा एक विचार, कुनापट्टि कुर्ता लाएर बसेकीबाट ।
‘यस्ता अपवादको कुरा बीचमा लिएर नआऊ । हाम्री सीतामैयाँको स्थायी होस् भन्ने कामना पो गर्ने हो यतिबेला । के अपशकुन बोलेको होला यस्तो खुसीको बेला प्वाक्क ?’ कन्चटतिर केश पालेकी अलि पाकी महिलाबाट ।
‘अँ, म अपशकुन भएँ अब । तिम्रै सानिमाको अघिल्लो वर्ष भिसा लागेर धुमधाम बिदा भै गाको होइन । छ महिनामै भिसा रद्द भएर फर्किनुपरेको बिर्सियो ?’ क्रोधित आवाज कुर्तावालीबाट ।
‘उसको कुरा बेग्लै हो । त्यसको मालिकलाई अर्कै कामदार मन परेको रैछ । घरकाले करकाप गरेर उनलाई भिसा स्पोन्सर गरेर लगे । मनको कुरा परेछ त्यहाँ भनूँ न,’ जवाफ सीताछेउमै बसेकीबाट ।
‘जब कुरा आफ्नोको पर्छ त्यहाँ मनको हुन जान्छ, होइन ?’ टी–टेबलमा कुइनो टेकी खुट्टा पसारेर बसेकीबाट ।
‘यस्तै हो, कहीँ मनका कुरा, कहीँ कुरा तनका,’ जीउ तानेर छन छन चुरा बजाउँदै सहमति–असहमतिमा अर्की सहभागी महिलाबाट ।
‘अनि ती भाञ्जीको ? तिनको पनि त स्थायी भएन त । प्रोभिजनलमै फालिएको होइनन् ?’ उही चर्को आवाज कुनापट्टितिरबाट नै ।
‘कम्ता अल्छी थिई । घरको काम सिन्को नभाँच्ने । घाम लाग्दासम्म सुत्ने । उठेर काममा जाने । बाहिर जागिर गरेर थुप्रो कमाउँछु भन्ने घमण्ड । बेडमा चिया चाहिन्थ्यो रे । बिहानको अखबार हेर्दै चिया पिउनुपर्ने । लुगा इस्त्री गरेर राखिएको हुनुपर्ने । साँझ पनि समयमा घर नआउने । मिटिङ रे । कहिले अफिसको टुर रे । कहिले त अलिअलि पिएर आउने रे ! यस्तालाई को राख्छ स्थायी ?’ मालिकको पक्षमा सफाइ पेस कोही एकबाट ।
‘मेरो मालिकको जस्तो बानी पो रै छ,’ हाँस्दै फेरि जीउ तान्दै उठेर अघिकै उही चुराको छन छनवाली ।
‘घरमालिकले भित्र्याउने आम्दानीभन्दा ऊ आफूले बाहिर काम गरेर पाउने तलब बढी भन्ने घमण्ड । पढाइमा पनि तेज थिई । केटीको त के कुरा, क्लासका केटाहरू सप्पैलाई जित्थी । हक्की निडर केटाजस्तो बानी पनि क्या,’ मालिककै पक्षमा थप सफाइ ।
‘केटालाई जित्ने के आश्चर्यको कुरा हो र ? जित्न हुन्न र ? स्वभाव हक्की हुनु हुन्न र ?’ यतिञ्जेल नबोली पलेँटी कसेर बसेकी निकै पातलो स्वर भएकी महिला बोलेपछि सबैको ध्यान आकर्षण उसैप्रति ।
त्यस कोठामा फेरि केही महिला थपिए । अनि एक छिनको समय अभिवादनको लेनदेनले लियो । दुई मुठा सालको पात र पात गाँस्ने सिन्का पनि भित्रियो ।


‘घरायसी कामदार भनेको कामदार नै हो । बाहिर अर्को ओभरटाइम गर्न छ भने पहिला घरको काम निब्टाउनु पर्दैन ? आफ्नो नियुक्ति केमा छ, पहिला त्यो हेर्नुपर्‍यो नि ! भित्रको काम नसकी बाहिर–बाहिर हिँड्ने हो भने कुन कामदारको हुन्छ र स्थायी जागिर ?’ केही पछि रोकिएको कुरोको मेलापातको मुठा फुकाउँदै एक जनाबाट जोडियो ।
‘तिमीहरू जेसुकै भन, स्थायी भन्ने त कहिले हुन्न । न अनुभवले खारेर हुन्छ, न त त्याग–सम्झौताले नै । जति हाड घोटेर पीठो गराए पनि सधैँ करार सकिने त्रास मात्र । स्थायी हुनु त कता हो, करार हुँदै हप्ता, दिन, घण्टाको गन्तीमा जान कत्तिबेर लाउन्न । करार सकिन केही निहुँ नै चाहिन्न । हजुरआमा बनिसकेकाहरू त जागिरबाट निकालिएको यही आँखाले देखेको छ,’ थपियो नङमा पालिस लाउँदै गरेकीबाट ।
‘फेरि अपवादको कुरा गर्नुभो मैयाँ । त्यो बुढियाको पनि गल्ती थियो भो । कम्ता मुखाले थिइन !’ प्रतिक्रिया, पालिस लाउनेकी भाउजूबाट ।
‘कति सहनु तिनले ? हजुरआमा हुँदासम्म पनि बोल्न नसके कहिले बोल्ने ?’ पालिस लाउनेकै तर्कको पक्षमा ।
‘त्यत्रो जीवनभरि त सहेकी थिइन्, अब के न्याय चाहिएको नि ? मर्ने बेला हरियो काँक्रो ! देखिन् नि तमासा । तरुनी कामदार ल्याए रे,’ सहानुभूतिसँगै एउटी ढोकानिरबाट ।
‘ती हिजोका अर्काका कुरा छाड, अहिलेको कुरा गरौँ ! घरमूली कस्तो छ ?’ अर्को प्रश्न कुर्ता लाएकीबाट प्रशिक्षार्थीसँग ।
‘कसको ? हाम्रो सीतामैयाँको ?’ प्रतिप्रश्न ।
‘हो । सीताको ।’


‘कुनचाहिँ घरमूलीको कुरा गरेको ? धेरै पो हुन्छन् घरमुली,’ प्रतिप्रश्न नै चुरा छनछनवालीको ।
‘सोधाइ नै गलत छ । उनी एक जनाका लागि मात्र हो र ? फरक–फरक धेरै भूमिकामा धेरैवटा हात बनेर पो जाँदै छन्,’ नङपालिस लाउँदै गरेकीबाट ।
‘त्यसमा पनि मुख्य, जसका लागि उनी जाँदै छन् ऊचाहिँ कस्ता छन् भन्या ?’ सुरुमा जसको जिज्ञासा उसैबाट फेरि प्रश्न ।
‘कस्तो हुनु ? आजभोलि दारीजुँगा राख्ने चलन त्यति हुन्न क्यारे । चिल्लो, गोरो हुनुपर्छ अनुहार ।’ उत्तरमा सबै हाँसे गलल ।
सीता भने बिल्कुल मौन ।
‘ह्या के कुरा गरेको, त्यो त हामीलाई पनि थाहा भएकै कुरा हो नि,’ जवाफदेखि अझ थप असन्तुष्टि ।
‘जे–जस्तो भए पनि के फरक पर्छ ? आखिर घरमूली भनेको मूली नै हो । ठीक छन् होला । हाम्री मैयाँभन्दा पढेको, धनीमानी होलान् । उमेरले पनि सीतामैयाँभन्दा पक्का नै होलान्,’ चुरा छनछनवालीबाट ।
‘कतिलाई त गँजेडी, रक्स्या अझ स्त्रीलम्पट परेर हैरान हुन्छ । यिनका मालिकको पिउने बानी छ छैन ?’ टपरी गाँस्दै गरेकीबाट ।


‘छैन छैन,’ अलि अकमकिँदै प्रशिक्षक ।
‘अरू केही त्यस्तो आनीबानी ?’
‘के कुरा गरेका यतिबेला ? केही छैन, सबै राम्रो छ । केही त्यस्तो छ भने पनि सुधार गर्नुपर्छ । सुधार्ने जिम्मा पाएकाले सुधार्ने हो । जागिर केका लागि त नत्र !’ पाकी महिलाबाट ।
‘छुट के छ उनलाई ? अधिकार के ?’ पाउजु छमछम गर्दै नवप्रवेशीबाट नयाँ प्रश्न ।
‘सबै छुट छ, सर्वाधिकार । आफूलाई आफ्नो अधिकारबाहेक सबै छुट । होइन त आन्टी ?’ प्रशिक्षकतर्फ हेरेर, त्यहाँ भएका मध्य उचाइको हिसाबले पनि सबैभन्दा फुच्चीचाहिँबाट ।
प्रशिक्षकले पनि टाउको हल्लाई, फुच्चीको कुरामा सहमत भएको सङ्केतमा ।
‘लौ त सुखी हुनू, सधैँ खुसी हुनू,’ आशिषवचन बोलेर उठ्न खोज्दै एउटी वृद्धा ।
‘हुनुपर्छ । अँध्यारो मुख लाउने अधिकार भए पो खुशी नहुनु । खुशी हुनै पर्छ । आफ्नो हृदयमा पीडा भए पनि अरू खुसी छन् भने आफ्नो पीडा दबाएर हाँसिदिनुपर्छ । खुसी भैदिनुपर्छ । आफू दुःखी नै भए पनि खुसी भएझैँ गरिदिनुपर्छ ।’ प्रतिक्रिया, बसेकै स्थानबाट अघि पातमुठा बोकी आएकीबाट ।
‘वास्तवमा कुरा नबुझेर हो । कामदार लगेर कम्ता अधिकार दिएका हुन्छन् ! सर्वस्वसहित, कुल थाम्ने जिम्मासमेत दिन्छन् । सदुपयोग गर्न सक्नुपर्‍यो नि । कुल सार्ने जिम्मा, श्रीसम्पत्तिको चाबी । खिया लाग्न दिनु हुन्न बाबै । श्रीवृद्धि गरिदिनुपर्छ,’ पात गाँस्ने सिन्का लिँदै गालामा कालो पोतो बसेकीबाट ।


‘जति कुरा गरे पनि यथार्थमा अब हाम्री सीताको प्रोभिजनल समय आरम्भ हुँदै छ । नियुक्ति त पाएकी छौ । अब जति सक्यो खुबी देखाउनू, दिन–रात एक गरेर रिझाउनू, यहाँको नाम राख्नू ! तिम्रो भिसासँगै अरूको पनि भविष्य जोडिएको छ । यो गाउँ–ठाउँको, यो खानदानको समेत मूल्याङ्कन हुनेछ तिम्रो कामबाट । हाम्री सीतामैयाँले राम्रो नाम कमाए आफ्नो ठाउँको, खानदानको अरूको पनि भिसा लाग्न सजिलो हुन्छ ।’ पालिस लगाइसकेर सुकाउँदै गरेकीबाट हाँस्दै ।
‘स्थायी हुनलाई प्रोभिजलनको मूल्याङ्कनमा खरो उत्रिनु नै पर्छ है !’ थप चुरा छनछनवाली ।
‘अहिलेसम्म कति एकै कुरा समाएर गनगन गरेको ? करार नै भए पनि रिन्यू भैहाल्छ नि । मालिक रिझाउने आफ्नै कला त हो ।’ पाउजु छमछमवाली ।


‘सम्झौता गर्नुपर्छ । आफूलाई बिर्सनुपर्छ । आफूलाई मन पर्नु– नपर्ने भन्ने केही रहन्न । अरूलाई के मन पर्छ, के मन पर्दैन, त्यहाँबाट सुरु हुनुपर्छ बिहान । रात त्यहाँबाट अन्त्य हुनुपर्छ । आफूलाई आफ्ना आकाङ्क्षालाई त ठ्याक्कै पूर्णविराम लाउनुपर्छ । म होइन, हामी पनि होइन, तिमी–उनी–तिनीहरू अर्थात् उहाँहरू मात्र । उहाँ नै प्रमुख हो । सर्वेसर्वा । मेरो अस्तित्व, मेरो अहम् मेरो शिक्षा, मेरो विज्ञता अर्थात् आफूलाई सम्पूर्ण भुल्नुपर्छ । स्वअस्तित्व खोजी कहिले नगरे !’ अघिसम्म एकशब्द नबोली गम्भीर बसेकी मोटीघाटी खाइलाग्दीबाट ।
‘एक सुन्दर पक्ष छ,’ हँसिलो अनुहारमा एक अविवाहित ।
‘के हो त्यो ?’ जिज्ञासा सबैको ।
‘आमा बन्न पाइन्छ,’ भनिरहँदा धपक्क बलेको मुहार ।
‘के नौलो कुरा हो र !’ तत्काल रिसाउँदै एक ।
‘यो पनि थाहा छ, आफूले गर्भ बोकेर, जन्म दिएर पनि आफू सरोगेट मात्र भइन पनि सक्छ । पूर्ण मातृत्व बन्न पाउने–नपाउने, पूर्णआमा बन्न पाउने–नपाउने आशङ्का पनि सधैँ रहन्छ । त्यो भविष्यले देखाउँछ । या भाग्यले तय गर्छ,’ साडीको फेरो मिलाउँदै उनै ।
‘सबै कुरा भाग्यले नै तय गर्ने हो त ?’ जिज्ञासा उमेर र उचाइ दुवैले अलि फुच्चीबाट ।
‘सम्पूर्ण मान्छेको त नहोला । होला, आइमाईमान्छेको भने भाग्यले नै तय गर्ने पक्का हो,’ पात गाँस्दै गरेकीबाट ।
‘यसको कुरा नसुन, यसै भाँड्न खोज्छे अर्काको मन,’ पात गाँस्दै गरेकी अर्कीचाहिँ ।
‘सुविधा के–के छ ?’ प्रसङ्ग फेरिएर प्रश्न ।
‘दिन–दिन सेवासुविधा बढ्नेछ । हिजो र आजमै फरक पर्दै छ । हजुरआमाको भन्दा आमाको पालामा फरक । आमाकोमा भन्दा छोरीकोमा फरक । आजभन्दा भोलि झन् फरक । परिवर्तन एकै पटक कहाँ होला र ? हिजो मालिकसँगै सती जाने दिन थियो । नीति–नियम फरक पर्दै छ । सुविधा थपिँदै छ, पहिचान बढ्दै त छ ।’ अब अलि नरम भएर ।
‘अरू सुविधा ?’ थप प्रश्न छमछमबाट ।
‘आफू पनि मालिककै सम्पत्ति भनिन पाइन्छ । मालिकलाई निम्त्याइएको सभा–पार्टीमा जान पाइन्छ । उसको एकै ओछ्यानमा सुत्न पाइन्छ । उसले खाएको थालीमा खान पाइन्छ । उसको मानसँगै आफ्नो मान बढ्छ । कति ठाउँमा मालिकसँगै नमस्कार पनि पाइन्छ, होइन त आन्टी ?’ अघि सरेर प्रश्नको जवाफ दिँदै दोस्री फुच्चीचाहिँ ।
उनीहरू रहेको त्यस कोठामा थपिए सीताका तीन सखीहरू । दाहिने हात माथि उठाएर सीतालाई ‘हाई’ गरेपछि पलेँटी कसेर बसे गलैँचामाथि ।
सुपोमाथि कागजको दुनामा अचार र सेल लिएर आए दुईवटी । एक–एक भाग बाँडे सबैलाई । एक निस्की खाली सुपो लिएर, एउटी बसी त्यहीँ नै ।
‘कला पनि त सिक्नुपर्छ,’ केही सम्झिएर अघिकै प्रश्नकर्ता पाउजुको छमछमले भलाकुसारीलाई निरन्तरता दिइन् ।
‘कस्तो कला ?’ जिज्ञासा छनछनको ।
‘अभिनय,’ उत्तर छमछमको ।
‘कस्तो अभिनय ?’ अब जिज्ञासा अन्यबाट ।
‘जतिसुकै ठूलो क्रोधमा पनि रिस नउठेजस्तो । जटिल काममा गाह्रो नभएजस्तो । भोक लागे पनि अघाएजस्तो । बिरामी भए पनि स्वस्थजस्तो । सबै जस्तो ! जस्तो !! जस्तो !!! माया नलागे पनि माया लागेजस्तो ।’ आँखा झिम्क्याउँदै छमछम ।
‘कला त अरू पनि त चाहिन्छ,’ थप कुरा टी–टेबलनिर रहेकीबाट ।
‘अझ अरू कस्ता कला ?’ थप कुरामा जिज्ञासा पलङनिरकीको ।
‘सबै कलामा निपुण हुनुपर्छ ।’
‘कस्तो, सबै भनेको ? के के ?’
‘पाककला । शिल्पकला । बिहानदेखि । दिवाकला । रात्रिकला ।’ जवाफ, टेबलमा तबलाझैँ बजाउँदै ।
‘के हो यो बिहान, दिवा र रात्रिकला ?’ च्यातिएको सालको पात अझ च्यात्दै ।
‘बिहान गर्ने धन्दा बिहानकला, दिनमा गर्ने जति दिवाकला । रातको काम रात्रिकला । बुझ्नेले बुझेकी छ, भैहाल्यो नि,’ सीतातर्फ हेर्दै मुस्कुराएर छमछम ।
‘अब सीताले थप पढ्न पाउँछिन् ?’ नाताले फुपू तर सहपाठी ।
‘त्यो पनि हुन पनि सक्छ, नहुन पनि । मालिकको रुचि, आदेश र आफ्नो समयको कुरा हो । समय भनेको आफ्नो त्यही बिहान, त्यही दिवा, रात्रिबाट घटाउने या बचाउने हो । बस्, त्यो समयको जोड–घटाउमा आफूबाहेक अरू कोहीलाई हानि हुन भएन,’ प्रशिक्षक दिदी ।


‘अनि त्यहाँभन्दा बाहिर अर्को काम गर्न पाइन्छ ? आफ्नो योग्याताअनुसार केही थप आर्थिक आर्जन या आफ्नो स्वाभिमानको,’ फेरि उनै फुपू सहपाठी ।
‘त्यो पनि पछि नै तय हुन्छ,’ फेरि उनै प्रशिक्षक ।
‘सीता मैयाँले यतिसम्म विद्यालय, विश्वविद्यालयमा लिएका प्रमाणपत्रहरूको यो रोजगारसँग अब कुनै सरोकार राख्दैन,’ सीताको घरमा लिएर आएकी नयाँ कामदारबाट ।
‘विद्यालयमा पढाउने जागिर त सुरु भैसकेको थियो । विद्यार्थीबाट पनि मन पराइएकी गुरुआमा हो सीता मैयाँ । तर त्यो अनुभवले यो जागिरसँग कुनै साइनो राख्दैन । नहुनु पनि स्वाभाविक हो । किताबी ज्ञान र अरू भिन्न कुरा हुन्,’ फेरि दाजुले ल्याएकी एमए पास घरेलु कामदारले नै थपिन् ।
‘अँ, कोरी–बाटी चिटिक्क, लाली पाउडर, सबै चाहिन्छ । सधैँ फ्रेस सुन्दर हुनुपर्छ । देख्दै दिक्कलाग्दी हुन हुन्न । यो पनि एक लच्छिन हो,’ एक आफन्ती उठ्दै । तीन सखीहरू कुलोको फेरो समाउन नसकेर अलमलमा छन् ।
‘के नौलो हो र ? हामीले पाएको जस्तो नै हो रछ सीता मैयाँले पाएको भिसा पनि । के–के न नौलो होला भनी सुन्न, हेर्न भनी आकी म । मालिक भनेका मालिक नै हुँदा रहेछन्, कामदार भनेको कामदार !’ अघिदेखि सुनी मात्र बसेकी पल्लो घरकी कामदार महिला बोली ।
कुराकानीमा सक्रिय सहभागी भएका या नभएर श्रोता मात्र बनी सुनिबसेका आफन्तहरूको उपस्थिति पातलिन लाग्यो । कारण आ–आफ्ना घर फर्किने बेला भयो । कोहीले भने– छोराछोरी स्कूलबाट आउने समय भो रे ! कोहीका श्रीमान् कामबाट आउँदा स्वास्नी घरमा हुनैपर्ने रे ! कोहीको, घरमा चियाखाजा दिने बेला भो रे ! यस्तै–यस्तै थिए उनीहरू जानुको कारण ।
छमछम, छनछन ढोकामा पुगेरसमेत अलमल गरिरहनुबाट प्रस्ट हुन्थ्यो– उनीहरूलाई अझ बसिरहन मन भने अवश्य थियो । कोठामा बाँकी रहे छ–सात आफन्ती, भेट्न थपिएका तीन सखीहरू र प्रशिक्षक लमी दिदी मात्र ।
सीतालाई बिदा गरी पठाउँदासँगै दिइने सर–समान बोकी आएको मिनी ट्रक घर सामुन्ने रोकिन्छ । त्यहाँ रहेका सबैको आँखा त्यसतर्फ पर्छ ।
‘घरको सहायक, घरायसी कामदारमा नियुक्ति भएको भए पनि जाने ठाउँ नयाँ हो । सबै सरसमान नयाँ–नयाँ चाहियो । सकेसम्म किमती पनि,’ झर्दै गरेको पलंग हेर्दै एक आफन्ती ।
‘सिङ्गो मान्छे नै लाने हुन्, मान्छे दिएपछि पनि अरू केही दिनुपर्छ ?’ झ्यालबाट बाहिर हेर्दै एक सखी । बस्दाबस्दै सखीहरू पनि विषय–प्रसङ्गसँग परिचित भइसकेका थिए ।
‘त्यसो भनेर कहाँ होला ?’ अर्की सखी ।


‘त्यहाँ यो जाने ठाउँमा खाने थाल, सुत्ने ओछ्यान, बस्ने सोफा केही छैन र ?’ अझ अर्की सखी ।
‘हुनु या नहुनु एक ठाउँमा तर लिएर जानु आफ्नै सुविधाका लागि भनुम् । चाहिने समान दिएर पठाएपछि ढुक्क भो । दिन पाउँदा एक पटकलाई हात माथि पनि पर्ने भो । त्यसपछि सधैँ केही थाप्न नपरे पनि यतापट्टिको हात तल त हो । एक पटक हात माथि पार्न पाउँदा के कन्जुसाइँ गर्ने ? होइन त हजुर ?’ सखीहरूतर्फ हेरेर हाँस्दै पात गाँसिरहेकी एक आफन्त ।
‘राज गर्छिन् मैयाँले राज, चिन्ता गर्नु पर्दैन,’ सीताको मलिन अनुहार हेरेर प्रशिक्षक दिदी ।
‘काम गर्नू ! काम गरेर मरिन्न । केही परे सहनू, सहेर मरिन्न । सबैको मान–मर्यादा गर्नू ! आफूले त्यहाँबाट, माया–सम्मान भने पाउन सकिन्छ सकिन्न, भाग्य आफ्नो–आफ्नो । कर्तव्य कहिले नछाड्नू !’ त्यहाँमध्ये उमेरले सबैभन्दा पाकीचाहिँबाट ।
उनीहरू एकपछि अर्को बोल्दै जान्छन्– ‘भोजन पाइन्छ । भोक रहन्छ–रहन्न, भन्न सकिन्न । भोक र भोजनको तालमेल रहन पनि सक्छ, नरहन पनि । भाग्यकै कुरा हो । ओछ्यान नरम मिल्छ, तर निद र ओछ्यानको तालमेल मिल्छ–मिल्दैन, सबै–सबै भाग्यकै कुरा,’ सखी ।
‘भाग्यमा लेखी लिएर आएको कुरा नभोगी सुख ?’
‘चिठ्ठा थाहा छ । राफल चिठ्ठा । भाग्य चिठ्ठा क्या ! यो भिसा लाग्नु पनि एकहिसाबले त्यही हो भन्छु म त ।’
‘आहा ! किमती पहिरन । महँगा गहना । हाय हाय ! मेरी सखी यी पनि सबै भाग्यकै कुरा ।’ निधारमा उल्टो हात राख्दै एक ।
एक छिन मौनता ।
‘वैराग्यको पोखरी पनि जम्नुपर्ने हो कि या अथाह उमङ्ग–उल्लासको नदी बनी बग्न कसले जानेको छ र ? सबै कर्मकै खेलो !’
पात गाँस्न सकियो । कुराको पनि बिट मारे, कर्मको भरोसामा ।

उडानका लागि साइत जुराउने जिम्मा पाएका मूल पण्डितले राम्रो दिन–लग्न ठहर्‍याएर आफ्नो कम फत्ते गरिसकेका हुन्छन् ।
अब उडान भर्न बाँकी छ ।
सीताको भिसा लागेपश्चात् असीम खुसी छाएको घरमा, चिन्ता पनि हुन्छ । र, त्यो चिन्ता परेको हुन्छ बाबु–आमाको भागमा ।
करण– टिकट सस्तो छैन । त्यसमाथि बिदाइको खर्च बेग्लै । त्यो त समाधान गरे । बिदा गरी पठाउने दिन सङ्घारमा आइपुग्दा फेरि पिरचिन्ता आकासिएको छ बाबु–आमामा ।
कारण– बन्दोबस्त गर्नेले छोरी जाने ठाउँ अति उत्तम छ त भनेका थिए तर भोगाइमा कस्तो पर्ने हो ? कस्तो हुने हो व्यवहार त्यहाँ ? दुःख नदेखाइएकी–नदेखेकी छोरीले अब काम गरिखान सक्ने हो होइन ?
हुन त एकसरो चित बुझाएर नै भिसा दरखास्त हालिएको हो । भिसा नलाग्दासम्म लागोस् भनेर छटपटाएको पनि हो । देवीदेवता भाकेको पनि हो । बिदा गरी पठाउन त छ, तर सहज कत्ति छैन ।
आमा–बाबु एक–अर्काको अनुहारमा हेर्छन् । दुवैको टिलपिल आँखा बोल्छ मनग्गे । छातीको पीडा लामो सुसेल्छन् । छोरीको आमा–बाबु हुनुमा दुःखद अनुभव पनि गर्छन् यतिबेला ।
‘अब बाँकी छोरी सीताकै भाग्य !’ फेरि त्यस्तै लामो सुस्केरासँगै मन दह्रो पारेर दर्द बिसाउँछ ।
घरकै अनुभवीबाट फेरि छुटपुट शीर्षकमा सिकाउने काम हुन्छ ।
हजुरआमा– ‘सबेरै उठ्नू, सबैभन्दा पहिला !’
सीता– ‘निदले छाडेन, बिउँझिना भने ?’
आमा– ‘आम्मै, त्यसरी कहाँ चल्छ ? हुँदैन । चनाखो भएर कुकुर निद्रा सुत्नुपर्छ ।’
आमाको कुरा चित्त नपरे पनि सीताले जवाफ दिइन, चुपचाप सुनिरही ।
आमाबाट थप– ‘शिर निहुर्‍याएर हिँड्न पर्छ ।’


सीताले सुनिरही । हजुरआमा– ‘यताका हाम्रा कुरा केही गर्नुहुन्न । राम्रा पनि नराम्रा पनि । धेरै जान्ने हुनुहुन्न । तँबाट गल्ती भए, हामी यताको खलकलाई छोएर गाली गर्न पनि सक्छन् उनीहरूले । नबोली सुनिरहनुपर्छ । घरकाले कुरा गरेको बखत जान्ने भएर अघि सरेर बोल्न पनि हुन्न । एउटा मन्त्र जप्नू– गालीले कोही मर्दैन ।’
‘हो, मेरी हजुरआमा, यहाँले सोह्रैआना ठीक भन्नुभो । तथानाम गालीले कोहीलाई सिध्याउने भए मेरी आमा यतिबेला मेरोसामु हुने थिइनन् होला !’ हजुरआमा बोलिरहँदा सीताले आफ्नी आमाको अनुहारतर्फ हेर्छे अनि आफ्नो मनसँग बोल्छे ।
हजुरआमा निरन्तर बोलिरहँदा सीता स्वयम्सँगको भलाकुसारीमा मस्त हुन्छे, ‘मालिकलाई मन पर्‍यो भने सीता, तेरो भिसा लम्बिन सक्छ । स्थायी हुन्छ । होइन भने होस गर्नू सीता, होस ।’


हजुरआमा– ‘तर सहनु ओखती हो । अलिकति सहिदिनुपर्छ । जति सहन सक्यो उति सुमधुर हुन्छ सम्बन्ध । अनि सबै ठीकठाक चल्छ । आफ्नै आमालाई हेर्, आजसम्म चर्को बोलेकी छ कि, हामी कसैलाई मुख फर्काएकी छ कि, कसैको मानमनितोमा कम गरेकी छ कि ? जस्तोसुकै परे पनि मेरी बुहारीको अनुहारमा रिस कहिले देखेकी छस् ? अँध्यारो अनुहार लाएर बसेको भेटेकी छस् ? आज मेरो ज्यानले सकेन भनेको सुनेकी छस् कि ? हो, यस्तै भए हुन्छ, आफ्नी आमाजस्तै हुनू !’
खराब सपनाबाट ब्युँझिएर जुर्मुराएर उठेझैँ सीता एक्कासि उठ्छे र च्याँठ्ठिएर बोल्छे– ‘नाइँ, म जान्नँ म त्यस्तो वर्किङ भिसामा ।’


आमाचाहिँ आत्तिएर– ‘होइन के बतुराउँछे यो ?’
‘म बतुराएकी होइन, होसहवासका साथ बोल्दै छु– म जान्नँ वर्किङ भिसामा ।’
हजुरआमाले आँखा तर्छिन्, ‘के रे ? भिसा रे ? के भिसा रे ?’
‘वर्किङ भिसा’ सीताको जवाफ, हजुरआमाको काननिर– ‘कामदार भिसा’ अझ स्पष्ट पर्छे ।
आमा क्षणमै नम्र भएर– ‘कस्ले कान भर्‍यो, हाम्री ज्ञानीलाई ? अस्ति आएका थिए नि त्यही छँडुलीहरूको काम होला । अर्काका कुरा सुनेर डराउन पर्दैन ।’ आमा एक छिन रोकिएर फेरि– ‘अलिअलि डर त लाग्छ नै । अठ्ठाईस वर्षअघि म पनि माइती छाडेर यस्तै डराई–डराई, रुँदै–रुँदै आएकी थिएँ यो घरमा । यी... जीवन काटेँ त ।’
सीता– ‘जीवन काट्नु र जीवन बाँच्नुमा फरक छ आमा, मेरी आमा । म हजुरले जस्तो जीवन काट्न होइन, जीवन बाँच्न चाहन्छु । त्यसैले त भन्छु– म जान्नँ त्यस्तो भिसामा ।’


भित्रबाट बाबु कौसीमा निस्किन्छन् । शब्दमा केही नभने पनि त्यो अनुहार धेरै कुरा बोलिरहेछ ।
सीता बाबुको सम्मुख पनि अति निडर हुँदै आमातर्फ हेरेर भन्छे– ‘जसरी हजुरबुबाले हजुरआमालाई, बुबाले हजुरलाई लिएर आई यो घरमा घरेलु कामदार बनाउनुभयो आज फेरि उसैगरी, खाने थाली र सुत्ने ओछ्यानसहित मलाई कामदारको रूपमा पठाउन लाग्नु हुँदै छ... हुँदैन आमा हुँदैन, फेरि पनि उही हजुरको जस्तो उही पुनरावृत्ति, उही वर्किङ भिसा हुँदैन ।’
आमा–बाबु एक–अर्काका अनुहार ताक्छन् ।
दुवै मौन ! अति मलिन ।
छोरी सीताको अटल निर्णय– ‘अन्तिम निर्क्योलमा पुगेकी छु । आएका हरसमस्यासँग जुध्दै सहलगानीको पचास–पचास पार्टनरसिपमा काम गर्न इच्छुक छु म । तर जति नै तलब–सुविधा भए पनि सय प्रतिशतको वर्किङ भिसामा जाँदै जान्नँ ।’

नीलम कार्की निहारिका

प्रकाशित : असार ७, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्